भदौ २३ गते ‘जेनजी शहीद दिवस’ मनाउने सरकारको निर्णय
काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले भदौ २३ गतेलाई ‘जेनजी शहीद दिवस’ का रूपमा मनाउने निर्णय गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले बाढीबाट ज्यान गुमाएकाहरूको सम्मानमा राष्ट्रिय शोक मनाउने निर्णय पनि गरेको छ ।
रसुवा बाढीबाट ज्यान गुमाएकाहरूको १३ औँ दिनको पुण्यतिथिका दिन राष्ट्रिय शोकको घोषणासहित सोमबार राष्ट्रिय शोक मनाउने र सो दिन देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरिएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
१. एसियाली विकास बैंकबाट भोटेकोशी बाढी प्रभावित जनताको जीवनरक्षा तथा तत्कालीन आपतकालीन उद्धार तथा राहत कार्यका लागि प्राप्त हुने ५ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने ।
२.रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित व्यक्ति, उद्योग, व्यपार तथा व्यवसायलाई तत्काल सुचारू गर्न एकीकृत व्यवसाय पुनस्र्थापन योजना अन्तर्गत राहत, कर तथा महसुल लगायत अन्य सहुलियत तथा सुविधान उपलब्ध गर्ने ।
३.साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत कूल २५ हजार मेट्रिकटन परिणामको चिनी १ प्रतिशत भन्सार महसुल लिई आयात गर्न स्वीकृति प्रदान गर्ने ।
४.रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको खोज तथा उद्धार खटिएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता, खाजा खर्च, घाइते भएमा निःशुल्क औषधि उपचार, मृत्यु भएमा निजको परिवारलाई प्रतिमृतक १० लाख राहत उपलब्ध गराउने ।
५.विसं २०८३ साल भदौ २३ गते जेनजी शहीद दिवसको अवसरमा नेपाल राज्यभर सार्वजनिक बिदा दिने ।
६.संवत् २०८३ साल भदौ १० गते नेपाल–चीन सीमा रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय भीषण बाढीको कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मानस्वरुप उक्त घटना भएको १३ औं दिनको पुण्यतिथीको दिन अर्थात् भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने । उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास एवं नियोगहरूमा नेपाली झण्डा आधा झुकाउने ।
७.नेपाल प्रशासन सेवा समूहिकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा श्री नारायणप्रसाद भट्टलाई बढुवा गर्ने र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कोशी प्रदेशको मुख्यसचिव पदमा पदस्थापन गर्ने ।
भोटेकोशी बाढी : तिब्बती अधिकार समुहद्वारा चीनसँग पारदर्शिता र जवाफदेहिताको माग
काठमाडौं । भोटेकोशीमा आएको भिषण बाढीपछि तिब्बती अधिकारकर्मी र वातावरणविद्हरूले चीनसँग पारदर्शिता कायम गर्न, सीमापार जलसम्बन्धी तथ्यांक समयमै सार्वजनिक गर्न र भविष्यमा यस्ता विपद् रोक्न जवाफदेही बन्न माग गरेका छन् ।
भारतको हिमाचल प्रदेशको धर्मशालामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा अन्तर्राष्ट्रिय तिब्बत नेटवर्क (आइटिएन ) र स्टुडेन्ट्स फर अ फ्री तिब्बत–इन्डियाले तिब्बतको क्यिरोङ क्षेत्रमा भएको हिमताल तथा हिमपहिरोसम्बन्धी घटनाको विश्वसनीय सूचना प्राप्त गर्न कठिनाइ भएको बताएका हुन् । उनीहरूले चीनले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई प्रभावित क्षेत्रमा निर्बाध पहुँच दिनुपर्ने पनि माग गरेका छन् ।
तिब्बत नीति संस्थान (सीटीए) अन्तर्गत वातावरण तथा विकास डेस्ककी अनुसन्धानकर्ता धोनदुप वाङ्मोले चीनले नेपाल र भारतजस्ता तल्लो तटीय मुलुकसँग पर्याप्त सूचना साझा नगरेको आरोप लगाइन् ।
चीनले जवाफदेहिता नलिए भविष्यमा पनि यस्ता विपद् दोहोरिन सक्ने भन्दै उनले सीमापार नदीको जलस्तर र हिमताल जोखिमसम्बन्धी जानकारी खुला रूपमा उपलब्ध गराउनुपर्ने बताइन् । अन्तर्राष्ट्रिय तिब्बत नेटवर्ककी वरिष्ठ वातावरण अनुसन्धानकर्ता लोबसाङ याङ्त्सोले तिब्बतबाट बग्ने ब्रह्मपुत्र नदीमा चीनले निर्माण गरिरहेको विश्वकै सबैभन्दा ठूलो जलविद्युत् आयोजना भारतका लागि चेतावनी हुन सक्ने टिप्पणी गरिन् । नेपालमा देखिएको विपद्ले सीमापार नदी व्यवस्थापनमा समयमै सूचना आदानप्रदानको आवश्यकता झन् स्पष्ट पारेको उनको भनाइ छ ।
अधिकार समूहहरूले बेइजिङले बाढीसम्बन्धी जानकारी साझा गर्ने वा आफन्तसँग सम्पर्क गर्न खोज्ने तिब्बतीहरूलाई दण्डित नगर्न पनि आग्रह गरेका छन् । साथै नेपाल, भारत र बंगलादेशलाई सीमापार जलविज्ञानसम्बन्धी तथ्यांक र पूर्वसूचना समयमै उपलब्ध गराउन माग गरेका छन् ।
यता चीनले भने बाढीसम्बन्धी भिडियो सेन्सर गरेको र सूचना लुकाएको आरोप अस्वीकार गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले चीनको सूचना सार्वजनिक गर्ने प्रणाली खुला र पारदर्शी रहेको तथा विपद्लाई आधार बनाएर गरिने आरोपहरू तथ्यहीन रहेको बताएका छन् । एएनआई
चीनतर्फ कसरी हुँदैछ खोज तथा उद्धार कार्य ?
काठमाडौं । दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा रहेको जिरोङ सीमा नाका जोड्ने मुख्य सडक पुनः सञ्चालनमा ल्याउन उद्धारकर्मीहरूले प्राकृतिक अवरोधसँग जुधिरहेका छन्।
बुधबार आएको भीषण पहिरोका कारण नाकासम्म पुग्ने स्थलमार्ग अवरुद्ध भएको थियो।
उत्तरी नेपालमा हिमनदीको विनाशकारी बाढीका कारण आएको पहिरोपछि ठूलो स्तरको उद्धार तथा खोजी अभियान जारी छ।
हिमनदी खस्दा बरफ, चट्टान, हिलो र पानीको ठूलो भेल चीन–नेपाल सीमा क्षेत्रतर्फ बगेको थियो। केही मिनेटमै आएको उक्त भेलले ठूलो क्षति पु¥याएको थियो।
क्षेत्रीय सरकारले आइतबार बिहान दिएको जानकारीअनुसार शनिबार साँझ ६ बजेसम्म जिरोङ नाकामा आएको भीषण पहिरोमा १६ जनाको मृत्यु भएको र ५४६ जना अझै बेपत्ता छन्।
यस्तै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नेपालमा पहिरोका कारण मृत्यु हुनेको संख्या नौं सय नाघेको छ ।
चीनको आपत्कालीन व्यवस्थापन मन्त्रालयले आइतबार राज्य स्वामित्वको इन्जिनियरिङ तथा उद्धार संस्था चाइना एनेङबाट ११० जना उद्धारकर्मी र २८ वटा भारी उपकरण घटनास्थलमा पठाएको छ।
उनीहरूले यस क्षेत्रको प्रमुख सडक सम्पर्कका रूपमा रहेको जी२१६ राष्ट्रिय राजमार्गका क्षतिग्रस्त खण्डबाट भग्नावशेष हटाउने काम गरिरहेका छन्।
सोमबार दिउँसो १२ बजेसम्म सडकका क्षतिग्रस्त खण्ड पूर्ण रूपमा खुलाउनुपर्ने स्थानबाट करिब १.१ किलोमिटर दूरीसम्म अवरोध हटाउने काम अघि बढिसकेको छ।
उद्धारकर्मीका अनुसार सोमबारको दिन सम्पूर्ण उद्धार तथा सडक खुलाउने अभियानका लागि महत्वपूर्ण चरण हो। उक्त क्षेत्रमा काम गर्ने स्थान अत्यन्तै साँघुरो छ।
चट्टान खस्ने र पहिरो जाने जोखिम, तीव्र गतिमा बगिरहेको पानीले सडकको आधार कटान गर्ने समस्या तथा नदीको साँघुरो खोँचमा ठूलो मेसिन प्रयोग गर्न कठिनाइ जस्ता चुनौती रहेका छन्।
यी चुनौतीलाई ध्यानमा राख्दै उद्धार टोलीले काम गर्ने प्रक्रियामा समेत परिवर्तन गरेको छ। घटनास्थलमा रहेका उद्धारकर्मीका अनुसार सामग्री बोकेर आउने सबै ट्रकले निर्देशनअनुसार पहिले यू–टर्न लिनुपर्ने, त्यसपछि काम भइरहेको स्थानसम्म रिभर्स गरेर ढुंगा झार्नुपर्ने र त्यसपछि एक्स्काभेटरमार्फत ती ढुंगा प्रयोग गरी सडक भर्ने काम गरिनेछ।
हाल घटनास्थलमा रहेको चाइना एनेङको आपत्कालीन उद्धार टोलीले बिहान ७ बजेदेखि मध्यरातसम्म निरन्तर काम गर्नेछ। त्यसपछि मौसमको अवस्था हेरेर थप जनशक्ति परिचालन गर्ने तथा कामको गति र कार्यतालिका समायोजन गरिने उद्धार टोलीले जनाएको छ। सीसीटीभीप्लस)
मृत्युको मुखबाट बाँचेर आएका रावल भन्छन् : टनेल भित्र रहेका सथिहरुको उद्धार भएको छैन
काठमाडौं । अपर त्रिशुली २१६ मा कार्यरत सव–इन्जिनियर महेश रावल र उमेश रावलले आफ्नै आँखा अगाडि साथिहरुलाई बाढीको भेलले बगाएको भाबुकता व्यक्त गरेका छन् ।
शनिबार राजधानीको संवाद डबलीमा भएको कार्यक्रममा बोल्दै राज्यले बाहिर देखिएकाकाहरुको उद्धारसँगै सुरुङभित्र फसेकाहरुको पनि खोजीकार्यमा तिब्रता दिन आग्रहसमेत गरेका छन् ।
हाइड्रो पावरमा सब–इन्जिनियरकारुपमा कार्यारत अछाम पञ्चदेवाल विनायक नगरपालिका ७ पुल्लेतोलाका उमेश रावलले आफूहरु भोटेकोशीको भेलबाट केही मिनेटको अन्तरले मात्रै बाँच्न सफल भएको बताए । आफूहरु बाँचेर आउन सफल भएपनि आफ्नै आँखा अगडि साथिहरुलाई भेलले बगाउँदा निकै नै पीडा भएको जनाए । अपर त्रिशुली २१६ मा ड्याम, पावर हाउस र टनेल गरेर ३ हजार बढी कर्मचारी कामदार कार्यरत रहेकोमा १ हजारबढी सम्पर्कविहीन रहेको हुनसक्ने बताए ।
‘सपनाजस्तै लाग्छ त्यो क्षण, बाढी आउने केही जानकारी थिएन, एक्कासी स्वाँस्वाँ र सुँसु गरेको आवाज आएपछि बाहिर निस्कदा त विशाल भेल देखा पर्यो, कयौं साथिहरुलाई बगायो, केही हामी भिरमा घाँस समाएर उम्मकन सफल भयौं,’ रावलले भने ।
बाढीबाट क्षणभरको अन्तरमा बाँच्न सफल सोही आयोजनामा सब–इन्जिनियरकोरुपमा कार्यारत अछाम पुल्लेतोलाकै सुरुङमा कार्यारत महेश रावलले केही भाग्न सफल भएपनि धेरै साथिहरु सुरुङभित्रै फसिरहेको जानकारी दिए । उनिहरुको उद्धारको पहल चाँडो गर्न आग्रह गर्दै भने, ‘म लगायत केही साथिहरुमात्रै भाग्न सफल भयौं, धेरै सुरुङभित्रै फस्नु भएको छ, उहाँहरुको जीवन रक्षाका लागि खोज तथा उद्धारको पहल गर्दा सकुशल हुने सम्भावना बाँकी छ ।’
चिनियाँ राष्ट्रपतिले नेपाललाई पठाए शोक सन्देश
काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले शुक्रबार नेपालका राष्ट्रपति रामचन्द्र पौडेललाई हालै नेपालमा भएको पहिरो विपद्प्रति शोक सन्देश पठाएका छन्।
आफ्नो सन्देशमा सीले चीन र नेपालबीचको केरुङ–रसुवा सीमा नाकामा हालै गएको भीषण पहिरोमा ठूलो मानवीय क्षति हुनुका साथै मानिसहरू बेपत्ता भएको र सम्पत्तिमा क्षति पुगेको उल्लेख गरेका छन्।
चिनियाँ सरकार र जनताका तर्फबाट सीले मृतकहरूप्रति गहिरो समवेदना तथा शोकसन्तप्त परिवार, घाइते र विपद् प्रभावित क्षेत्रका मानिसहरूप्रति हार्दिक सहानुभूति व्यक्त गरेका छन्।
सीले चीनले बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धार, प्रभावित मानिसहरूको स्थानान्तरण तथा पुनःस्थापना, घाइतेहरूको तत्काल उपचार, मानवीय क्षति न्यूनीकरण र थप विपद् हुन नदिन हरसम्भव प्रयास गरिरहेको बताएका छन्।
चीन र नेपाल हिमाल र नदीद्वारा जोडिएका तथा साझा भविष्य भएका मुलुक रहेको उल्लेख गर्दै सीले नेपालका उद्धार प्रयासमा सक्रिय रूपमा सहयोग गर्न र आफ्नो क्षमताले भ्याएसम्म आवश्यक सहयोग तथा समर्थन उपलब्ध गराउन चीन तयार रहेको बताएका छन्।
दुवै देशका जनताले मिलेर विपद्लाई पार गर्दै यथाशीघ्र आफ्नो घर पुनर्निर्माण गर्न सक्ने विश्वास पनि सीले व्यक्त गरेका छन्।
सोही दिन चिनियाँ प्रधानमन्त्री ली छ्याङले पनि नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई शोक सन्देश पठाएका छन्।
भोटेकोशी बाढी धादिङको गल्छी पुग्यो, उद्धारका लागि तीन हेलिकप्टर परिचालन
काठमाडौं । रसुवाबाट प्रवेश गरेको ठूलो बाढी धादिङको गल्छीसम्म आइपुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका उपसचिव, प्रवक्ता तथा सूचना अधिकारी शान्ति महतका अनुसार बाढी नेपाल प्रवेश गरेको करिब आधा घण्टापछि गल्छीसम्म पुगेको जानकारी प्राप्त भएको हो ।
महतका अनुसार बाढीका कारण नेपाल टेलिकम (एनटीसी) र एनसेलका टावरमा क्षति पुगेकाले सञ्चार सम्पर्क प्रभावित भएको छ । दुवै दूरसञ्चार कम्पनीसँग समन्वय गरी टावर मर्मतको काम भइरहेको उनले जानकारी दिइन् ।
बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको यकिन विवरण भने अझै प्राप्त हुन सकेको छैन । केही स्थानमा उद्धार आवश्यक परेको जानकारी आएपछि नेपाली सेनाका तीनवटा हेलिकप्टर तत्काल परिचालन गरिएको महतले बताइन् । स्वास्थ्यकर्मीसहितको हेलिकप्टरसमेत प्रभावित क्षेत्रमा पुगेको उनले जानकारी दिइन् ।
‘क्षतिको विस्तृत विवरण आइसकेको छैन। एक–दुईवटा घटनामा उद्धार गर्नुपर्ने जानकारी आएपछि हेलिकप्टर तत्काल पठाएका छौँ,’ महतले भनिन् ।
प्राधिकरणले प्रारम्भिक रूपमा बाढी हिमपग्लाइका कारण आएको हुनसक्ने अनुमान गरेको छ । महतका अनुसार नदी केही समयअघि हिमपहिरोका कारण थुनिएको र थुनिएको नदी अचानक खुलेपछि ठूलो बाढी आएको प्रारम्भिक जानकारी प्राप्त भएको हो ।
यद्यपि बाढीको वास्तविक कारणबारे आधिकारिक पुष्टि हुन बाँकी रहेको उनले स्पष्ट पारिन् ।
उनका अनुसार बाढी नेपालमा बिहान ८ः४० बजे प्रवेश गरेको थियो भने प्राधिकरणले रसुवाबाट करिब बिहान ९ बजे घटनाबारे जानकारी प्राप्त गरेको थियो ।
महतले सीमापारबाट आउने यस्ता विपद्का घटनाबारे पूर्वसूचना प्राप्त गर्न चीनसँग थप समन्वय आवश्यक रहेको बताइन् । नदीको माथिल्लो भाग चीनतर्फ रहेकाले नेपालमा बाढी प्रवेश गरेपछि मात्रै जानकारी प्राप्त हुने अवस्था रहेको उनको भनाइ छ ।
यस्ता घटना बढ्दै गएकाले नेपाल र चीनबीच समझदारीपत्र (एमओयू) गरी सीमा–पार विपद् सूचना तथा पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको उनले बताइन् ।
बाढीको अवस्थाबारे छलफल गर्न प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय परिषद्को बैठक बसिरहेको महतले जानकारी दिइन् । यसअघि गृहमन्त्रीको अध्यक्षतामा कमान्ड पोस्टको बैठक सम्पन्न भइसकेको छ ।
उनका अनुसार नीतिगत तथा ठूलो निर्णय आवश्यक पर्ने अवस्था आएमा राष्ट्रिय परिषद्बाट निर्णय हुनेछ । अहिले भने स्थानीय प्रशासन, स्थानीय तह तथा गैरसरकारी संस्थालगायतका निकायलाई उद्धार तथा राहतका लागि परिचालन गरिएको छ ।
त्यस्तै, निजी क्षेत्र, हेलिकप्टर कम्पनी तथा राफ्टिङ एसोसिएसनसँग भएका सम्झौताअनुसार उनीहरूलाई अन्यत्र परिचालन नगरी आवश्यकताअनुसार विपद् प्रभावित क्षेत्रमा परिचालन गर्ने तयारी गरिएको छ ।
प्राधिकरणले प्रभावित क्षेत्रमा खोज तथा उद्धारलाई प्राथमिकतामा राख्दै थप विवरण संकलन तथा आवश्यक समन्वय गरिरहेको जनाएको छ ।
यो सरकारले जनताको जीवनस्तर उकास्न सक्दैन : पूर्व मन्त्री किराती
इलाम । श्रम संस्कृति पार्टीका केन्द्रीय श्रमदाता तथा पूर्वपर्यटनमन्त्री सुदन किरातीले जनताको जीवनस्तर सुधार गर्न नसक्ने शासनको कुनै अर्थ नरहने बताएका छन् ।
इलाममा आयोजित जनहातेमालो भेटघाट तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै किरातीले आफूहरू सत्ता र पदका लागि नभई श्रम तथा उत्पादनमार्फत जनताको जीवनस्तर परिवर्तन गर्ने अभियानमा रहेको बताए । किरातीले नेपालमा उत्पादन बढाउन सके देशको आर्थिक अवस्था सुधार गर्न सकिने बताए ।
‘प्लेन र मोबाइल बनाउन नसकिएला, तर टमाटर, प्याज, धनियाँ र अदुवा फलाउन सक्छौँ,’ उनले भने, ‘सरकारी ड्रेस लगाएर श्रमदाता खेतबारीमा जाने र उत्पादन बढाउने अभियान चलाउँछौँ ।’
किसानले उत्पादन गरेका वस्तुलाई बजारको समस्या हुन नदिने दाबी गर्दै उनले किसानका उत्पादनलाई कम्पनीमार्फत बजारसम्म पु¥याउने र उचित मूल्यको ग्यारेन्टी गर्ने बताए । ‘किसानको उत्पादनको बजार सुनिश्चित गर्ने कम्पनी निर्माण गर्छौँ,’ उनले भने ।
नेपाल विकासमा पछि पर्नुको कारण विज्ञान र प्रविधिलाई आत्मसात् गर्न नसक्नु रहेको किरातीको भनाइ थियो । उनले सामाजिक विभेदको उदाहरण दिँदै सीप र श्रम गर्ने मानिसलाई सम्मान गर्न नसक्दा देश अघि बढ्न नसकेको टिप्पणी गरे । सरकारको कार्यशैलीप्रति व्यंग्य गर्दै किरातीले अहिलेको सरकारको ‘चाबी एम्बुलेन्स चालकको हातमा परेको’ जस्तो भएको बताए ।
‘जता बाटो खाली देख्यो उतै कुद्छ, ट्राफिक लाइट हेर्दैन र गुडेपछि रोक्न पनि जान्दैन,’ उनले भने, ‘श्रम संस्कृति पार्टी भने सबैलाई मिलाएर, नियम मानेर चल्ने बसको चालक हो ।’
आफूलाई मुख्यमन्त्री बनाउने प्रस्ताव आए पनि पदभन्दा जनताको समस्या समाधान महत्वपूर्ण रहेको उनले बताए । ‘मलाई मुख्यमन्त्री बनाउने भन्नुभयो, तर म आफैँ मन्त्री बन्ने र जनताको समस्या नबन्ने हो भने त्यसको अर्थ हुँदैन,’ किरातीले भने ।
उनले श्रम संस्कृतिलाई कमजोर बनाउन विभिन्न प्रयास भइरहेको दाबी गर्दै पार्टीका नेता–कार्यकर्तालाई त्यस्ता गतिविधिबाट सचेत रहन आग्रह गरे । ‘हामी बगेको पानी हौँ, गन्तव्यमा पुगेरै छाड्छौँ,’ उनले भने, ‘पछाडि फर्किने समय छैन ।
फोहोर व्यवस्थापनलगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने मेयर्स फोरमको निर्णय
काठमाडौँ । काठमाडौँ उपत्यका मेयर्स फोरमले फोहोर व्यवस्थापनलगायतका समसामयिक विषयमा प्रधानमन्त्री बालेन्द्र शाहको ध्यानाकर्षण गराउने निर्णय गरेको छ।
फोरमको मंगलबार बसेको आकस्मिक बैठकले उक्त निर्णय गरेको फोरमका अध्यक्ष चिरीबाबु महर्जनले जानकरी दिए ।
प्रधानमन्त्रीसँग जतिसक्दो चाँडो भेटघाटको समय मिलाएर उपत्यकाको फोहोर व्यवस्थापन, सडकबत्तीको शुल्क व्यवस्थापन, स्थानीय तहले प्रयोग गरिरहेको जग्गाको भोगाधिकार तथा फोहोर व्यवस्थापनका लागि आवश्यक जग्गा व्यवस्थापनलगायतका विषयमा ध्यानाकर्षण गराउने निर्णय गरेको हो।
बैठकले गत भदौ ५ गते सिंहदरबारमा भएको फोहोर व्यवस्थापनसम्बन्धी बैठकका क्रममा फोरमका पदाधिकारी तथा सदस्यहरूमाथि रास्वपाकी सांसद आशिका तामाङले गरेको व्यवहारप्रति पनि घोर आपत्ति जनाएको छ।
काठमाडौँ उपत्यकाभित्र रहेका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको सञ्जालका रूपमा रहेको फोरमले उपत्यकाको फोहोर व्यवस्थापनका विषयमा यसअघि पनि पटक–पटक छलफल गर्दै आएको जनाएको छ।
फोरमले प्रधानमन्त्री शाह काठमाडौँ महानगरपालिकाको प्रमुख रहेका समयदेखि नै तत्कालीन सरकार र नेप वेस्टबीच उपत्यकाको फोहोर व्यवस्थापनका लागि भएको सम्झौता कार्यान्वयन गर्न वा सम्झौता खारेज गरी फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानका लागि मार्ग प्रशस्त गर्न माग गर्दै आएको जनाएको छ।
फोरमका अध्यक्ष चिरीबाबु महर्जनद्वारा जारी विज्ञप्तिमा उपत्यकाभित्रको फोहोर व्यवस्थापन तीनै तहका सरकारको साझा सरोकारको विषय रहेको उल्लेख गरिएको छ। उपत्यकाको फोहोर व्यवस्थापन समस्या दीर्घकालीन रूपमा समाधान गर्न स्थानीय सरकार सधैँ प्रतिबद्ध रहेको पनि फोरमले जनाएको छ।
मन्त्री श्रेष्ठले गरे धरान सबस्टेशनको स्थलगत अनुगमन
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री माननीय विराज भक्त श्रेष्ठले शनिबार धरान सबस्टेशनको स्थलगत अनुगमन गरेका छन् ।
धरान सबस्टेशनबाट धरान उपमहानगरपालिका, बराह क्षेत्रसँगै उदयपुरसम्म विद्युत् सेवा प्रवाह हुँदै आएको छ ।
धरानको विद्युत् आपूर्तिलाई थप भरपर्दो र सुदृढ बनाउन नयाँ ट्रान्सफर्मर जडान तथा सबस्टेशन स्तरोन्नतिको काम अघि बढाइएको छ ।
अनुगमनका क्रममा मन्त्री श्रेष्ठले प्राप्त भइसकेका ट्रान्सफर्मर तत्काल जडान गरी बाँकी कामसमेत तीव्र गतिमा अघि बढाउन तथा धरानवासीलाई नियमित र गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
धरानको दीर्घकालीन विद्युत् समस्या समाधान गर्दै भरपर्दो विद्युत् सेवा सुनिश्चित हुने अपेक्षा गरिएको छ ।
बाबा रामदेवसँग अभिनेत्री कंगनाको आग्रह : मेरो जवानी र बेडरुमको सपना नदेख्नुस
काठमाडौं । बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की सांसद कंगना रनौत र योगगुरु बाबा रामदेव बीच सामाजिक सञ्जालमार्फत तीखा आरोप–प्रत्यारोप भएको छ । आफ्ना विवादास्पद अभिव्यक्तिलाई लिएर रामदेवले गरेको टिप्पणीपछि कंगनाले इन्स्टाग्राममार्फत कडा जवाफ दिएकी हुन् ।
उक्त विवाद कंगनाले केही युवा प्रदर्शनकारीलाई ‘जेनेरेसन गटर’ भनेको अभिव्यक्तिबाट सुरु भएको थियो । त्यसपछि उनले आफ्नो भनाइ सबै युवाप्रति लक्षित नभई आफूलाई ‘कक्रोच’ भन्ने केही व्यक्तिप्रति मात्रै लक्षित रहेको स्पष्ट पारेकी थिइन् ।
उनका अनुसार, ‘यदि कसैले आफूलाई कक्रोच भन्छ भने कक्रोच गटरमै बस्छ भन्ने कुरा स्वाभाविक हो । मैले सबै युवालाई गटरको भनेकी होइन, केही व्यक्तिलाई मात्रै संकेत गरेकी हुँ ।’ यसै विषयमा सञ्चारकर्मीसँग कुरा गर्दै बाबा रामदेवले कंगनाको टिप्पणीको आलोचना गरेका थिए ।
समाचारको स्क्रिनसट साझा गर्दै कंगनाले रामदेवको भनाइ उद्धृत गरिन । जसमा रामदेवले ‘उनको विगत कस्तो थियो र युवावस्था कस्तो थियो ?’ भन्ने प्रश्न उठाएको उल्लेख थियो ।
यसको जवाफमा कंगनाले इन्स्टाग्राममा लेखेकीछन,‘बाबाजी, मेरो जवानी वा बेडरुमको सपना नदेख्नुस् । हल्ला र अफवाहका आधारमा अनुमान लगाउन सकिन्छ, तर ममाथि सर्वोच्च अदालतले झुटा वा भ्रामक प्रभावकारिता दाबी गरेको भन्दै फटकार लगाएको छैन ।’
उनले थप लेखेकीछन,‘मलाई चरित्रको पाठ नपढाउनुस् । मेरो चरित्र तपाईंभन्दा धेरै राम्रो छ, यहाँ कुनै ठगी भएको छैन ।’ कंगनाको टिप्पणी सन् २०२४ मा पतञ्जलि आयुर्वेदको भ्रामक विज्ञापनसम्बन्धी मुद्दातर्फ लक्षित थियो ।
उक्त मुद्दामा बाबा रामदेव र आचार्य बालकृष्णले सर्वोच्च अदालतमा शपथपत्रमार्फत बिना शर्त माफी माग्दै भविष्यमा यस्ता भ्रामक औषधीय दाबी वा आधुनिक चिकित्साविरुद्ध अपमानजनक टिप्पणी नगर्ने प्रतिबद्धता जनाएका थिए । एएनआई