रामकुमारी झाँक्रीले भनिन् : एक पटक ओलीलाई नै विश्वास गरौं
काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले एमालेको ११ औं महाधिवेशनलाई पार्टी मात्र नभई नेपालको लोकतान्त्रिक शक्ति र जनताको उत्सव भएको बताएकी छन् ।उनले यो महाधिवेशनबाट केपी शर्मा ओलीलाई नै विश्वास गरेर नेतृत्वमा पुर्याउनुपर्ने बताइन् ।
झाँक्रीले महाधिवेशनले युवाहरूलाई नेतृत्वतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गर्दै भनिन्, ‘यो महाधिवेशनले बहुसंख्यक युवाहरुलाई पार्टीमा नेतृत्वतर्फ ल्याउने पहल विधिबाट हुनेछ । वर्तमान नेपाली समाजमा नेतृत्वको हिसाबले आशा र विश्वास दिने नेताको रूपमा नेकपा एमालेको नेतृत्वमा कमरेड केपी शर्मा ओली नै छन् । उहाँलाई एकपटक विश्वास गरौँ ।’
उनले नेपाली समाजमा भर्खरै भएका घटनालाई नयाँ ढंगले पार्टीले जनताको विश्वास उठाउँदै अघि बढिरहेको बताइन् । ‘यो महाधिवेशनले सबैमा आशा, उत्साह र जीवनको सम्पूर्ण विश्वासलाई पुनर्जीवित गरेको छ । नेपाली समाजमा भर्खरै भएका घटनालाई नयाँ ढंगले पार्टीले जनताको विश्वास उठाउँदै अघि बढाइरहेको छ । यसै कारण महाधिवेशन राष्ट्रिय महोत्सव हो ।’
एमाले निर्णायक राष्ट्रिय शक्ति बन्छ, स्टन्टबाजीमा विश्वास गर्दैनौं : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले जस्तो देशभक्त र नेपाली जनताको हितमा समर्पित पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकास गर्ने दृढ संकल्पका साथ पार्टी अघि बढिरहेको बताएका छन् ।
शनिबार महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकास गर्ने दृढ संकल्पका साथ पार्टी अघि बढिरहेको बताएका हुन् ।
उनले भने, ‘नेकपा एमाले जस्तो देशभक्त नेपाली जनताको हितमा समर्पित पार्टीलाई अब निर्णायक राष्ट्रिय शक्तिको रुपमा विकास गर्ने दृढ संकल्पका साथ हामी अघि बढिरहेका छौ । यस काममा मार्गदर्शन गर्न जनताको बहुदलिय जनवाद छ । त्यस मार्गदर्शनमा समृद्ध नेपाल र सुखी नेपालीको गन्तव्य तय गरेर अघि बढिरहेका छौ ।’
उनले उक्त संकल्प कुनै राजनीतिक स्टन्टबाजीका लागि नभई व्यवहारमा साकार पार्ने उद्देश्यसहित गरिएको स्पष्ट पारे।
‘देशभक्त नेपाली जनताको हितमा समर्पित पार्टीलाई अब निर्णायक राष्ट्रिय शक्तिको रुपमा विकास गर्ने दृढ संकल्पका पोल्टिकल स्टनबाजीको लागि होइन । यो साकार पार्नका लागि गरिएको संकल्प हो । यसलाई नेकपा एमालेले साकार पारिछाड्ने छ,’ उनले भने ।
उनका अनुसार यस यात्रामा पार्टीलाई मार्गदर्शन गर्ने सिद्धान्त जनताको बहुदलीय जनवाद हो । सोही मार्गदर्शनअनुसार ‘समृद्ध नेपाल, सुखी नेपाली’को गन्तव्य तय गरी अघि बढिरहेको उनले बताए।
अध्यक्ष ओलीले आंशिक वा सीमित जनतालाई मात्र नभई सम्पूर्ण नेपाली जनतालाई समृद्ध बनाउने लक्ष्य एमालेको रहेको उल्लेख गरे । ‘हाम्रो उद्देश्य सिंगो देशलाई समृद्ध बनाउने हो,’ उनले भने ।
ओलीले यो संकल्प नेकपा एमालेले अवश्य साकार पार्ने विश्वास व्यक्त गर्दै पार्टीका कार्यकर्ता पंक्तिदेखि सुशासन, विकास, समृद्धि र सुख चाहने सम्पूर्ण देशप्रेमी नेपालीको साथ र सहयोग रहने अपेक्षा व्यक्त गरे ।
जेन-जी आन्दोलनलाई सन्तुलित रूपमा विश्लेषण गर्नुपर्छ : जसपा अध्यक्ष अशोक राई
धरान । जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय अध्यक्ष अशोक राईले जेन–जी आन्दोलनलाई विभिन्न दलहरूले आ–आफ्नै ढङ्गले व्याख्या गरिरहेको अवस्थामा यसलाई सन्तुलित र निष्पक्ष रूपमा विश्लेषण गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । केही दलहरूले जेन-जी आन्दोलनलाई प्रतिगामी गतिविधि भने पनि त्यसलाई एकोहोरो रूपमा मूल्याङ्कन गर्न नमिल्ने उनको भनाइ छ ।
शुक्रवार सुनसरीको धरान–१५ स्थित छथहरे समाजको सामुदायिक भवनमा आयोजित जनता समाजवादी पार्टी प्रदेश नं. १ तथा किरात राष्ट्रिय समितिको पुनर्गठन कार्यक्रममा बोल्दै अध्यक्ष राईले लामो समयसम्म सत्ता सञ्चालन गरेका दलहरू र तिनका प्रशासनहरूले भ्रष्टाचार, कुशासन र विलासी जीवनशैलीका कारण समाजमा असन्तोषको ‘बारुद’ जम्मा गरेको बताए ।
“कोठाभरि बारुद जम्मा गरेर राख्ने पनि दोषी हुन् । त्यसमा आगो लाग्दा आगो लगाउनेलाई मात्र दोष दिन मिल्लदैन,” उनले भने ।
उनले भदौ २३ र २४ गते उक्त असन्तोष विस्फोट हुँदा कतिपय नहुनु पर्ने विध्वंस भएको र त्यस्ता गतिविधिलाई प्रगतिशील भन्न नसकिने स्पष्ट पारे । तर भ्रष्टाचारविरुद्धको जनआक्रोश, सुशासनको अभाव, नेताहरूको विलासी जीवनशैली र अस्थिर राजनीतिक अवस्थाविरुद्ध जेन-जी युवाहरूले सडकमा आवाज उठाउनु सही र जायज भएको उनको धारणा थियो ।
“भ्रष्टाचार मुर्दावाद, स्थिर सरकार चाहिन्छ, अस्थिर सरकार हट्नुपर्छ भन्ने मागसहित युवाहरूले दिएको अभिव्यक्ति सही थियो । त्यसकारण जेन-जी आन्दोलनलाई केवल प्रतिगामी मात्र भन्न मिल्लदैन,” उनले भने ।
पार्टीभित्रका केही केन्द्रीय नेता तथा प्रदेश अध्यक्षले पार्टी परित्याग गरेको सन्दर्भमा अध्यक्ष राईले भने जिल्लास्तरका नेतृत्वहरू पार्टीको विचारमा दृढ रहे पनि प्रदेश नेतृत्व सम्हाल्ने व्यक्तिहरू अस्थिर बनेको टिप्पणी गरे ।
“पार्टीको विचारभन्दा कतै दायाँबायाँ नहटेका जिल्ला अध्यक्षहरू बलिया छन् तर प्रदेश नेतृत्व गर्नुपर्ने व्यक्ति बतासले पत्कर उडाएजस्तै कहाँ पुगे,” उनले आलोचना गरे ।
अर्को पार्टीमा प्रवेशलाई केही नेताहरूले वामपन्थी एकीकरण र ध्रुवीकरणले पहिचान प्राप्तिको रूपमा व्याख्या गरेकोप्रति टिप्पणी गर्दै अध्यक्ष राईले पहिचानको पक्षमा दृढ उभिएको पार्टी छोड्नु आत्मपहिचान बिर्सिनु सरह भएको बताए ।
“विचारभन्दा स्वार्थ हाबी भयो भने मान्छे आफैँ विलाएर जान्छ,” उनले भने । इतिहासमा पुष्पलाल र बी.पी. कोइरालालाई समेत धेरै नेताहरूले छोडेको उदाहरण दिँदै अन्तत उहाँहरूको विचारले नै विभिन्न आन्दोलनको नेतृत्व गरेको उनले स्मरण गराए ।
कार्यक्रमको अन्त्यमा अध्यक्ष राईले नेता-कार्यकर्तालाई इतिहास निर्माण गम्भीर जिम्मेवारी भएको उल्लेख गर्दै विचार, आस्था र निष्ठामा दृढ रहन आग्रह गरे ।
“हामी हिँडिरहेको बाटो भावी पुस्ताले पनि हिँड्ने बाटो हो । यही बाटोले नेपाललाई एकजुट बनाउँछ,” उनले भने ।
नेताहरूले बिचौलियाहरूलाई टाउकोमा राख्दा नागरिकहरूले दुःख पाए : मन्त्री इङनाम
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री कुमारसिंह इङनामले नेताहरूले बिचौलियाहरूलाई टाउकोमा राख्दा नागरिकहरूले दुःख पाएको बताएका छन् । शुक्रवार पदभार ग्रहण गर्दै उनले नेताहरूले कमीशन खानको लागि बिचौलियाहरूलाई टाउको वा गोजीमा राखेर हिँड्ने गरेकाले नागरिकहरूले दुःख पाएको बताए ।
उनले भने, ‘नेपाल पहिलादेखि नै कृषिकर्म गर्दै आएको देश हो । कृषि सहजताका साथ गर्न सक्ने अवस्थामा पनि छौँ । तर यसको उपयोग हुन सकेन । यसमा केही दोषहरू छन् । उत्पादन भएको सामानलाई बजारीकरण गर्न सकेनौ । दोस्रो कुरा हामीले बिचौलियाहरूलाई धेरै प्राथमिकता दियौँ, नेताहरू पनि आफै लागे बिचौलियाहरूलाई टाउकोमा राख्न, गोजीमा राखेर हिडे । कमीशन खानको लागि नेताहरूले बाटो बिराए । यसले गर्दा नागरिकहरूले दुःख पाएका हुन् ।’
यस्तै, उनले कुनै नेतामाथि व्यक्तिगत रूपमा आरोप नलगाएको भन्दै नेताको काम नेतृत्व दिने, जनताको हितको लागि काम गर्ने भएपनि त्यस्तो केही पनि नभएको बताए । उनले भने, ‘अर्को कुरा देशमा रोजगारीको राम्रो अवसर नभएको हुनाले युवाहरू विदेश गएको र त्यसकारणले पनि जमिनहरू बाझो हुदैँ गएको छ । यसमा सबै दोष नेताको छ । मैले कुनै नेतामाथि व्यक्तिगत रूपमा आरोप लगाएको होइन् । नेताको काम नेतृत्व दिने हो जनताको हित कसरी हुन्छ भनेर सोच्ने हो । तर यस्तो कामहरू केही पनि गरेको देखिएन् ।’
अबको चुनावमा सहि ब्यक्ती र नेतृत्व चुन्न मन्त्री घिसिङको आग्रह
रौतहट । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले अबको तीन महिनाभित्र हुने चुनावमा सहि ब्यक्तीलाई चुन्न आग्रह गरेका छन् । निर्वाचनबाट आएका सहि ब्यक्तीबाट चुनिएको नेतृत्व पनि सहि हुने उनको भनाइ छ ।
रौतहटको चन्द्रपुर नगरपालिका–९ स्थित जन्मोत्सव पार्कमा शुक्रबार तराई विकास तथा सञ्चार केन्द्रले गरेको कार्यक्रममा बोल्दै उनले देश परिवर्तनका लागि सहि ब्यक्ती र नेतृत्वको आवश्यकता रहेको बताए । पूराना ब्यक्ती भन्दा पनि सहि ब्यक्ती राजनीतिमा आउन आवश्यक रहेको उनले औँल्याए ।
अबको तीन महिना भित्रमा चुनाव हुने दाबी गर्दै जेनजी आन्दोलनको परिवर्तनबाट नै अन्तरिम सरकार बनेको उल्लेख गरे । ‘आगामी दिनमा चुनावमा जानुपर्ने छ, उनले भने; ‘अबको चुनावमा सहि ब्यक्ती र नेतृत्व आउँनुपर्छ ।’
कर्मचारी भएर काम गर्दा ऊर्जा क्षेत्रमा उल्लेखनीय प्रगति गर्न सफल भएको दाबी गर्दै उनले मुलुक अँध्यारोबाट उज्यालोतर्फ अघि बढेको बताए ।
कर्मचारी भएर काम गरिसकेकाले देशमा परिवर्तन गर्नका लागि नै आफू राजनीतिमा होमिएको मन्त्री घिसिङले बताए ।
उनले आगामी निर्वाचनमा आफूहरूलाई विजयी गराए देशमा परिवर्तन आउने बताए । बारा, पर्सा र रौतहटको पूर्वाधार क्षेत्रमा भएको कामको अनुगमन समेत मन्त्री घिसिङले गरेका थिए ।
विविध समस्याका कारण पुल–सडकजस्ता महत्वपूर्ण पूर्वाधारहरू अधुरो रहने र जनताले सास्ती भोग्नुपरेको उल्लेख गर्दै उनले निर्माण व्यवसायीहरूले पनि समयमै काम नसकाएको आरोप लगाए । वर्तमान सरकार, शासन सुधार, सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त प्रणाली निर्माणका लागि प्रतिबद्ध रहेको उनले उल्लेख गरे ।
ध्यान र योगलाई व्यवहारिक बनाउन पाठ्यक्रममा समावेश गर्नुपर्छ : मन्त्री पुन
काठमाडौं । शिक्षामन्त्री महावीर पुनले ध्यान र योग मनाउने मात्र नभई व्यहारिक बनाउन पाठ्यक्रममा नै समावेश गर्ने तयारी गरिरहेको बताएका छन् । मंगलबार बसेको दोस्रो विश्व ध्यान दिवस तथा ११ औँ राष्ट्रिय योग दिवस २०८२ मूल समारोह समितिको बैठकमा बोल्दै उनले ध्यान र योगलाई पाठ्यक्रममा समावेश गर्न छलफल गरिरहेको जानकारी दिएका हुन् ।
उनले भने, ‘ध्यान र योग गर्ने कुरालाई कसरी व्यहारिक बनाउने भन्ने कुरा हो । पाठ्यक्रममा कसरी समावेश गर्ने भन्ने कुराहरुमा दुई÷तीन चरणका छलफल भएका पनि छन् । त्यसका साथै कक्षामा पाठ पढाएर मात्र यो हुने होइन् । ध्यान, र योगलाई व्यहारिकरुपमा लागु गर्न शुक्रबार हुने अतिरिक्त क्रियाकलापको सूचीमा राख्ने र सिकाउनु पर्छ ।’
उनले विद्यालयमा हरेक शुक्रबार ध्यान र योगलाइ निरन्तर दिन शिक्षकहरुलाई पनि ज्ञान नभएको भन्दै शिक्षकका लागि तालिमको व्यवस्था गर्नुपर्ने बताए ।
‘कतिपय विद्यालयमा ध्यान कसरी गर्ने भन्नेबारे शिक्षकहरुलाई पनि थाहा छैन । शिक्षकहरुलाई पनि कक्षा सुरु गर्नुभन्दा अगाडि एक मिनेट ध्यान बस्ने र सिकाउने गर्नुपर्छ । त्यसका लागि यस क्षेत्रमा लागेका संस्थाहरुले शिक्षकका लागि तालिमको व्यवस्था गर्नुपर्छ । त्यसका शिक्षा मन्त्रालयले पनि सहयोग गर्छ,’ उनले भने ।
यस्तै उनले नैतिक शिक्षा पाठ्यक्रमा पढेर मात्र नहुने भन्दै व्यवहारमा लागु गर्नुपर्ने बताए ।
‘नैतिक शिक्षा भन्ने कुरा किताबमा पढेर मात्र नैतिकवान हुने होइन । यो त व्यवहारमा लागु गर्ने कुरा हो । यो सानो उमेरदेखि गर्नुपर्ने कुरा हो । नैतिक बाल कक्षादेखि कक्षा १,२,३,४,५ कक्षासम्ममा नैतिकवान बनाउन सकियो भने नैतिक बने तर ठूलो भएर ९, १० कक्षामा नैतिक शिक्षा पढाएर नैतिक हुँदैनन्,’ उनले भने ।
आर्थिक विपन्नताका कारण नेपालीले दुःख भोगिरहेका छन् : मन्त्री पुन
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आर्थिक विपन्नतालाई नेपालमा निरन्तर भइरहेका समस्याहरूको मुख्य कारणका रूपमा बताएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आर्थिक कमजोरीकै कारण रोजगारी सिर्जना, सडक निर्माण, अस्पताल–विद्यालयको निर्माण तथा सञ्चालनमा कठिनाइ आइरहेको बताए।
मन्त्री पुनले भने, “आर्थिक विपन्नताले गर्दा देश विकास हुन सकेको छैन। रोजगारी छैन, बाटो–घाटो राम्रो बन्दै छैन, अस्पताल–विद्यालयको अवस्था कमजोर छ। यसै आर्थिक अभावका कारण नेपालीले धेरै दुःख पाएका हुन् । आर्थिक विपन्नतालाई सम्पन्नतामा रूपान्तरण कसरी गर्न सकिन्छ भन्ने बुझ्न इतिहास पनि हेर्नुपर्छ ।”
उनका अनुसार, नेपालमा कुनै पनि काम अघि बढाउन खोज्दा ‘पैसा छैन’ भन्ने कुरा आफू मन्त्रालयमा प्रवेश गरेको पहिलो दिनदेखि नै देखिएको छ। यो समस्या आजको मात्र नभई धेरै पहिलेदेखि चल्दै आएको उनले स्पष्ट पारे ।
मन्त्री पुनले नेपालीहरूले भोगेको कठिनाइ केवल आर्थिक मात्र नभई समाजकै कार्यशैली र सोचसँग पनि जोडिएको बताए ।
उनले भने,“कुनै-कुनै नेपालीले सुख पाएका होलान्, तर अधिकांश नेपालीले दुःख पाएका छन्। त्यसमा हाम्रो आफ्नै भूमिका पनि छ। नेपालीको ढंग नपुगेर समस्या भएको हो । यो कुनै एक व्यक्तिको होइन, सम्पूर्ण समाजको ढंग सुध्रिनुपर्ने कुरा हो ।”
मन्त्री पुनले नेपालमा विज्ञान र प्रविधिको विकास पर्याप्त नहुँदा देशका प्रतिभाहरू विदेशीन बाध्य भएको बताए । उनका अनुसार, “अर्थतन्त्र प्रविधिसँग प्रत्यक्ष जोडिएको हुन्छ। प्रविधिको पर्याप्त विकास नहुँदा अर्थतन्त्र पनि अघि बढ्न सकेको छैन ।”
मन्त्री पुनले आर्थिक विपन्नता समाधान गर्न शिक्षा, विज्ञान, प्रविधि र व्यवस्थापनमा सुधार अनिवार्य रहेको पनि बताए ।
भिडियो लिङ्क :
<iframe width="100%" height="315" src="https://www.youtube.com/embed/rtjjSXgdqpY?si=RoAEILwbaxCEN-E_" title="YouTube video player" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share" referrerpolicy="strict-origin-when-cross-origin" allowfullscreen></iframe>
स्वर सम्राट नारायण गोपालको गीतले आज पनि उपस्थित महसुस हुन्छ : उपप्रमुख डंगोल
काठमाडौं । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले कलाकारप्रति सम्मान र उनीहरूले पु¥याएको योगदानको पुस्तान्तरण आवश्यक रहेको बताएकी छन् ।
स्वर सम्राट नारायण गोपालको ३५ औँ पुण्यस्मृतिको अवसरमा आयोजित गीत–गंगा भवन उद्घाटन सम्मान तथा सांगीतिक कार्यक्रम–२०८२ कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले कलाकारको मूल्य र सिर्जनालाई जोगाइराख्न राज्य तथा समाज दुवै जिम्मेवार हुनुपर्ने बताएकी हुन् ।
‘हामीले सधैं कलाकारहरूलाई सम्मान गर्नुपर्छ । कलाकारहरूले पुर्याउनु भएको योगदानलाई सम्मान गर्दै जाँदा ती कलाहरू पनि पुस्तान्तरण हुँदै जानुपर्छ ।’
उनले स्वर सम्राट नारायण गोपाल केवल गायक मात्र नभई जनमानसका गहिरा भावनाहरू गीतमार्फत अभिव्यक्त गर्ने असाधारण कलाकार रहेको उल्लेख गरिन् ।
‘उहाँले पीडा मात्र होइन, हाम्रो जीवनका विभिन्न भावनाहरू उजागर गर्नुभयो । कलाकारिताले जनमानसको मन छुने क्षमता हुनुपर्छ भनिन्छ, उहाँ त्यही मनलाई छुन सक्ने कलाकार हुनुहुन्थ्यो,’डंगोलले भनिन् ।
उपप्रमुख डंगोलले नारायण गोपालको गीतले आज पनि उनलाई उपस्थित महसुस गराउँछ भन्दै कलाकारको कृतित्व कहिल्यै मर्न नजाने बताइन् ।
‘उहाँको गीतको आभासले उहाँ हामीसँगै हुनुहुन्छ जस्तो लाग्छ । मानिसले त छोडेर जानै पर्दछ, तर महान कलाकारहरू संसार छोडे पनि उनीहरूको कलाकारिता सदैव जीवित रहन्छ,’उनले भनिन् ।
माङमालुङ चिया बगानका पीडित अदालत जाने, संचालकले करोडौँ भ्रष्टाचार गरेको आरोप
काठमाडौं । माङमालुङ चिया बगानका संचालकले करोडौँको हिनामिना गरेपछि पीडितहरु न्यायको लागि आदालत जाने तयारी गरेका छन् । शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै गिरिबन्धु टि स्टेटमा जस्तै नीतिगतरुपमै चिया बगान सकाएर भ्रष्टाचार गरेको आरोपसमेत लगाएका छन् ।
माङमालुङ चिया बगान बचाउ अभियानका उपत्यका संयोजक हिमाल राईले अरु शेयर धनीहरुलाई जानकारी नदिइ र विधिसम्मत प्रक्रिया नपुर्याइ केन्द्र प्रसाईको योजनामा बगानको ८० रोपनी जग्गा विक्री गर्नु गैर कानुनी भएको बताए ।
उनले भने,‘बगानका अध्यक्ष किरण राई, कार्यकारी निर्देशक केदार लामिछाने, सदस्यहरु केन्द्र प्रसाई, मनिकुमार भण्डारीसमेतले हामी सयौँ सेयरधनीको लगानी कुम्ल्याउने षड्यन्त्र गरेका छन् ।’
सञ्चालक केन्द्र प्रसाईं योजनामा ‘माई होम माई गार्डेन’ शीर्षकमा सयौँ व्यक्तिहरूबाट रकम असुलउपर गरि त्यसको कुनै लगतसम्म नराखिएको सेयरधनी आङकाजी शेर्पा र गोम्बा शेर्पाले बताए ।
संस्थापक शेयर धनी बुद्धिबहादुर राई(बीबी राई)ले सञ्चालक समितिले लामो समयदेखि आर्थिक अपारदर्शीता देखाएपछि त्यसको छानबिनका लागि ‘व्यवस्थापकीय सुझाव समिति–२०८० असार २३’ गठन गरेको जनाए ।
राईले आफ्नै संयोजकत्वमा जीवराज भट्टराई, कृष्ण राज थापा, अरुण कुमार अधिकारी र छत्र राई गरेर ५ सदस्यीय समितिले छानबिन गरेको बताए ।
२०८० असारमा सुरु गरेर ०८० असोज १० गते छानविन सकी सञ्चालक समितिलाई प्रतिवेदन बुझाएको बताउँदै राईले भने,‘किरण राई अध्यक्ष र कार्यकारी निर्देशक केदार लामिछाने नेतृत्वको सञ्चालक समितिले आब २०७२–७३ देखि आब २०७८–७९सम्म ९ करोड २१ लाख ६० हजार ३ सय ७५ बराबरको आयव्यय अपारदर्शी भएको देखिएको छ ।’
शेयरधनी नवल खड्काले बारम्बार आफूहरूले सञ्चालक समितिलाई पारदर्शी बन्न आग्रह गर्दा पनि उनीहरूले आफ्नो गलत कार्यलाई सच्याउनुको सट्टा बढाउँदै गएको बताए ।
४ सय ९३ जना शेयर सदस्यहरुको पसिनाको लगानीमा सञ्चालकले ठूलो मात्रामा आर्थिक अनियमितता गरेको बताउँदै खड्काले भने ‘आजको मितिसम्म त १५ करोड बढी नीतिगतरुपमै अपचलन गरि भ्रष्टाचार गरिसकेको देखिन्छ ।’ ‘हामीले पटक-पटक सच्चिन आग्रह गर्दा पनि हाम्रो भनाईलाई बेवास्ता मात्रै गरेनन, बरु उल्टै धाक र रवाफ देखाउने कार्यले पत्रकार सम्मेलनदेखि न्यायालयको ढोका ढकढकाउन बाध्य बनाए’ खड्काले थपे ।
सेयरधनी बसन्त कुमार राईले सञ्चालक समिति र व्यवस्थापन पक्षले कम्पनीको आर्थिक कारोबार बैङ्किङ प्रणालीबाट नगर्नुदेखि विभिन्न अवैध कार्यले कम्पनीलाई धराशायी बनाउन लागेको बताए ।
उनले यस्ता विभिन्न कार्यले आक्रोशित बनाएको बताउँदै भने,‘विल र भर्पाई विना नै लेखा परीक्षण गराउनु, व्यक्तिगत ऋण लेनदेन गर्दा कुनै पनि प्रक्रिया विधि पूरा नगरिनु, जग्गा विक्री गर्दा पनि विधि मिच्नु, करोडौँ रुपैयाँ मजदुरका ज्यालाका नाममा भुक्तानी दिदा कुनैपनि भर्पाई नहुनु, एउटै व्यक्तिको नाममा पटकपटक चेक जारी गर्नु, लेखा समितिले दिएको सुझावलाई बेवास्ता गर्नु, कम्पनी सचिवको व्यवस्था नगरिनु, कार्यकारी निदेर्शकको काम कर्तव्य र अधिकारको व्यवस्था नगरिनु, कर्मचारीका नियमावली नहुनु लगायतका कार्यहरूले प्रष्टरुपमा आर्थिक र नीतिगत भ्रष्टाचार गरेको ठहरिन्छ ।’
सेयरधनी हरिविक्रम राईले २०५१–५२ सालदेखि माङमालुङ चिया बगानबाट उत्पादित प्राकृतिक अर्थाेडक्स चियालाई विश्वव्यापीकरण गर्दै देशको अर्थतन्त्रलाई मजबुत बनाउने स्वच्छ भावना र उद्देश्यका साथ करोडौँ लगानी गरेको बताए ।
सञ्चालकहरूबाट भएका आर्थिक अनियमितता, व्यवस्थापकीय कमजोरी,विधि र प्रक्रिया उल्लङ्घन जस्ता कार्यहरूको प्रकोपबाट कम्पनी बचाउन आफूहरू लागि परेको उनले जनाए । त्यसका लागि सम्बन्धित निकायहरूदेखि न्यायालयसम्म जाने उद्घोष गरे ।
तोकिएको समयमा निर्वाचन गरेर युवाको हातमा सत्ता सुम्पिन्छौं : प्रधानमन्त्री कार्की
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले युवा शक्तिको हातमा सत्ता सुम्पिनका लागि फागुन २१ गते आम निर्वाचन सम्पन्न गर्ने सम्पूर्ण तयारीमा जुटेको बताएकी छिन् । बिहीबार वसन्तपुरमा आयोजित २२औँ राष्ट्रिय ज्यापु दिवस समारोहलाई सम्बोधन गर्दै उनले घोषित मितिमा निर्वाचन सम्पन्न गर्ने लक्ष्यकासाथ सरकार सम्पूर्ण रुपले तयारीमा जुटेको बताउँदै यस अभियानलाई सफल पार्न सबै नेपालीको सहयोगको अपेक्षा राखिन् ।
उनले भनिन्,‘सरकारले आउँदो फागुन २१ गते आम निर्वाचन गराई युवा शक्तिको हातमा सत्ता सुम्पिएर मुलुकलाई तिव्र विकासको मार्गमा अग्रसर गराउनुपर्ने हाम्रो दायित्व हो । तसर्थ घोषित मितिमा निर्वाचन सम्पन्न गर्ने लक्ष्यकासाथ सरकार सम्पूर्ण रुपले तयारीमा जुटेको छ । यस अभियानलाई सफल पार्न सबै नेपालीको सहयोगको अपेक्षा गर्दछु ।’
त्यस्तै उनले जेनजी आन्दोलनसँगै घटेका घट्नाहरुबाट पाठ सिक्दै मुलुकको युवा शक्तिको मागपूरा गर्न सबैले कटिबद्ध भएर लाग्न जरुरी रहेको बताइन् । ‘भदौं २३ र २४ गतेको जेनजी आन्दोलनसँगै घटेका घट्नाहरुबाट पाठ सिक्दै मुलुकको युवा शक्तिले भ्रष्टाचारको अन्त्य, सुशासनको पुर्नस्थापना, आम नागरिकलाई रोजगारीको माग गरेको छ । ति चाहना पूरा गर्न सबैले कटिबद्ध भएर आ–आफ्नो ठाउँबाट लाग्न जरुरी छ,’उनले भनिन् ।
काठमाडौंमा परम्परागत चाडपर्व तथा संस्कृति प्रवद्र्धन गर्न गुठी तथा स्थानीय तहको भूमिका विशेष रहेको उनले धारणा राखिन् ।