कार्की आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने सरकारको निर्णय
काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारको प्रवक्ताको जिम्मेवारी पाएका छन् ।
आजमात्रै बनेको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पोखरेललाई सरकारको प्रवक्ता चयन गरेको हो ।
यसैगरी सरकारका प्रवक्ता पोखरेलले भदौ २३ र २४ गते प्रदर्शनमा भएका घटनाहरुको जाँचबुझ गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले नेपाल सरकार समक्ष पेस गरेको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने समेत निर्णय भएको जानकारी गराए ।
यी हुन् आज भएका मन्त्रिपरिषद् बैठकका चारवटा निर्णयहरु ः
१. जसमा २०८२ भदौ २३ र २४ गते ज्यान गुमाएका ज्ञातअज्ञात शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्ने ।
२. सरकारको प्रवक्तामा शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई तोक्ने ।
३. सरकारको शासकीय सुधारका लागि १०० कार्यसूची स्वीकृत गर्ने ।
४. भदौ २३ र २४ गते प्रदर्शनमा भएका घटनाहरुको जाँचबुझ गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले नेपाल सरकार समक्ष पेस गरेको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न देहाय बमोजिम गर्ने ।
गृहमन्त्री सुदन गुरुङले गरे पदबहाली
काठमाडौं । नवनियुुक्त गृहमन्त्री सुदन गुरुङले पदबहाली गरेका छन् । शुक्रबार नियुक्त मन्त्रीले शपथ ग्रहणपछि आफ्नो मन्त्रालयमा पद बहाली गरेका हुन् ।
यसअघि गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबाट उनी चर्चामा आएका थिए ।
गत भदौ २३ र २४ को जेनजी आन्दोलनपश्चात् एकाएक चर्चामा आएका सुदन गुरुङ गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट विजयी भएका थिए ।
नवनियुक्त अर्थमन्त्री स्वर्णिम वाग्लेले गरे तीनवटा महत्वपूर्ण निर्णय
काठमाडौं । नवनियुक्त अर्थमन्त्री स्वर्णिम वाग्लेले पदभार ग्रहण गरेका छन् । शुक्रबार राष्ट्रपतिबाट सपथ ग्रहरण गरेलगत्तै दिउँसो मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।
नवनियुक्त अर्थमन्त्री स्वर्णिम वाग्ले तनहुँ–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । अर्थमन्त्री स्वर्णिम वाग्लेले पदभार ग्रहण गर्दै तीन निर्णय गरेका छन् । सिंहदरबारमा पदभार ग्रहण लगत्तै उनले आर्थिक स्थितिपत्र सार्वजनिक गर्ने, १५ वटा ऐन खारेज गर्ने र आर्थिक कानुनी सुधारको मार्गचित्र बनाउने निर्णय गरेका हुन् ।
निर्णयमा तत्काल स्थितिपत्र तयार गर्दै निर्वाचन वाचा कार्यान्वयनको १०० दिने अर्धवार्षक र वार्षिक कार्ययोजना बनाउने उल्लेख छ । यस्तै, राजश्व अनुसन्धान विभाग लगायत १५ वटा ऐन खारेज गर्ने निर्णय मन्त्री वाग्लेले गरेका छन् ।
यस्तै, निजी उद्यम व्यवसाय सुरक्षा एवं प्रवद्र्धन र ठूला विकासे आयोजनासँग सम्बन्धित कानुन बनाउने उनको निर्णय छ ।
१. चैत्र १२, २०८२ सम्मको ‘आर्थिक स्थितिपत्र’ तत्काल तयार गर्दै निर्वाचन वाचा कार्यान्वयनको १०० दिने, अर्धवार्षिक र वार्षिक कार्ययोजना बनाउने ।
२. उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१ को प्रतिवेदनमा सिफारिस भएको राजश्व अनुसन्धान विभाग लगायत १५ वटा ऐन खारेज गर्ने ।
३. निजी उद्यम–व्यवसाय सुरक्षा एवं प्रवद्र्धन र ठुला विकास आयोजना सहजीकरण लगायत नयाँ विधेयक वा तिनको संशोधनको प्राथमिकीकरण तय गर्दैं वृहत आर्थिक–कानूनी सुधारको मार्गचित्र बनाउने ।
जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन होस: सुशीला कार्की
काठमाडौं । निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई सामाजिक सञ्जालमार्फत हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेकी छन् ।
जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारको नेतृत्व गरेकी कार्कीले ३५ वर्षीय युवालाई आफ्नो उत्तराधिकारीका रूपमा पाउँदा आफूलाई थप खुसी लागेको बताएकी हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेकी छन,‘नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई । ३५ वर्षीय युवालाई आफ्नो उत्तराधिकारीका रूपमा पाउँदा मलाई थप हर्षित बनाएको छजोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन गर्न सफलता मिलोस, अपार शुभकामना ।’
बालेनलाई बधाई दिँदै नरेन्द्र मोदीले भने : नजिकबाट सहकार्य गर्न उत्सुक छु
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । मोदीले सामाजिक सञ्जाल एक्समार्फत बालेनलाई बधाई दिएका हुन् ।
उनले लेखेका छन्, ‘नेपालको प्रधानमन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएकोमा श्री बालेन्द्र शाहलाई हार्दिक बधाई ।’
मोदीले बालेनको नियुक्तिले नेपाली जनता उनको नेतृत्वमाथि राखेको विश्वास प्रतिबिम्बित गरेको उल्लेख गरेका छन् ।
‘हाम्रा दुवै देशका जनताको पारस्परिक हितका लागि भारत–नेपाल मित्रता र सहकार्यलाई अझ उच्च स्तरमा पुर्याउन तपाईंसँग नजिकबाट सहकार्य गर्न म उत्सुक छु’, मोदीले लेखेका छन् ।
साथै, दुई देशबीचको मैत्री सम्बन्ध र सहकार्यलाई अझ उचाइमा पुर्याउन मिलेर काम गर्ने अपेक्षा व्यक्त गरिएको छ ।
सन्देशमा नेपाल–भारत सम्बन्धलाई दुवै देशका जनताको पारस्परिक हितका लागि थप सुदृढ बनाउने प्रतिबद्धता समेत जनाइएको छ ।
सडक विभागको लापरवाहीले पत्रकार पौडेल दाजुभाइ घाइते, उपचारको पूर्ण व्यवस्था गर्न महासंघको माग
सर्लाही । महोत्तरीमा सडक विस्तारको क्रममा ढलेको रुखले पत्रकार प्रेमनाथ पौडेल र उनका दाजु घाइते भएका छन्। नेपाल पत्रकार महासंघ सर्लाही शाखाले यस घटनालाई सडक विभागको लापरवाहीका कारण भएको ठहर गर्दै घाइते पत्रकार दाजुभाइको उपचारको पूर्ण व्यवस्था गर्न जोडदार माग गरेको छ ।
महासंघले बिहिबार जारी गरेको प्रेस विज्ञप्तिमा घाइते पौडेल दाजुभाइको सम्पूर्ण उपचार र उचित क्षतिपूर्ति सुनिश्चित गर्न प्रशासनसँग आग्रह गरिएको छ ।
हरिवन नगरपालिका–४ निवासी पौडेल दाजुभाइ बुधबार सर्लाहीबाट बर्दिवासतर्फ जाँदै गर्दा महोत्तरीको लक्ष्मीनियाँ चोक नजिक पूर्व–पश्चिम लोकमार्गमा दुर्घटनामा परेका थिए। सडक विभागले काट्दै गरेको रुख अचानक ढलेर उनीहरूको सवार प्रदेश २–०३–०१८ प ५४२९ नम्बरको मोटरसाइकलमाथि खस्दा दुवै जना सख्त घाइते भएका हुन् ।
तत्काल सडक विभागका कामदारहरूले उद्धार गरी बर्दिवासस्थित जनसेवा अस्पताल पु¥याएका थिए। प्रेस विज्ञप्तिअनुसार, पौडेलको दाहिने कुहिनामा गहिरो चोट लागेको र कम्मरमुनी दाहिने खुट्टाको हड्डी भाँचिएको छ । प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि काठमाडौं लगिएको छ।
महासंघले घटनामा सडक विभागको पूर्ण जिम्मेवारी रहेको भन्दै दोषी कर्मचारी र कामदारमाथि छानबिन गरी कारबाही गर्न प्रशासनसँग माग गरेको छ । साथै, घाइते पत्रकार दाजुभाइको शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गरिएको छ ।
बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रतिनिधि सभाका सदस्य बालेन्द्र शाह (बालेन)लाई प्रधानमन्त्री पदमा नियुक्त गरेका छन् ।
शुक्रबार उनले नेपालको संविधानको धारा ७६ (उपधारा १) बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् ।
राष्ट्रपति भवन, महाराजगञ्जबाट जारी विज्ञप्तिमा भनिएको् छ, ‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रतिनिधि सभाका माननीय सदस्य श्री वालेन्द्र शाहज्यूलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्नु भएको छ ।’
उनी नेपालको ४३औँ प्रधानमन्त्री बनेका हुन् । शाहको नियुक्तिसँगै मन्त्रिपरिषद् विस्तारको तयारी पनि भइरहेको छ ।
आजै दिउँसो १२ः३४ बजे उनले पद तथा गोपनीयताको शपथ लिँदै छन् । राष्ट्रपति पौडेलले शीतलनिवासमा एक समारोहबीच उनलाई शपथ गराउनेछन् ।
संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गरिएको हो ।
नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको पहिलोपटक हो ।
प्रतिपक्षमा रहेर प्रश्न गर्ने र सरकारलाई समर्थन गर्ने छौँ : हर्क साम्पाङ
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले सरकारलाई सहयोग गर्ने तर प्रतिपक्षमै रहेर प्रश्न उठाउने बताएका छन् । सिंहदरबारस्थित संसद् भवन परिसरमा सपथ ग्रहणका लागि पुगेका राईले सञ्चारकर्मीसँग कुराकानी गर्दै आफूहरू देशको हितमा सरकारलाई सहयोग गर्ने पक्षमा रहेको स्पष्ट पारे।
उनले भने, “हामी प्रतिपक्षमा बसेर सरकारलाई प्रश्न पनि गर्छौं र आवश्यक सहयोग पनि गर्छौं। सरकारले गर्नुपर्ने काममा प्रतिपक्षकै भूमिकाबाट साथ दिनेछौं।”
अध्यक्ष राईले राजनीतिमा लाग्ने व्यक्तिले सर्वोच्च पदमा पुग्ने लक्ष्य राख्नुपर्ने बताउँदै आफूलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारे।
उनले जनताको निर्णयलाई सम्मानपूर्वक स्वीकार गर्नुपर्नेमा जोड दिँदै भने, “जनताले जे निर्णय गर्छन्, त्यसलाई सहर्ष स्वीकार र सम्मान गर्नुपर्छ।”
नवनिर्वाचित २७४ जना सांसदले लिए शपथ
काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित २७४ जना सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित २७४ जना सदस्यहरुलाई शपथ गराएका हुन् ।
नवनिर्वाचित सासंदहरु थरीथरी भेषभूषामामा शपथ लिन सिंहदरबारस्थित संसद् भवनको हलमा पुगेका थिए ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ अनुसार सदस्यले प्रतिनिधिसभा वा त्यसको कुनै समितिको बैठकमा भाग लिनुअघि प्रतिनिधिसभाको अध्यक्षता गर्ने व्यक्तिसमक्ष शपथ लिनुपर्ने व्यवस्था रहेको छ
पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य १५ रुपैयाँले बढ्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बुधबार विज्ञप्तिमार्फत पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य १५ रुपैयाँ बढाइएको जानकारी दिएको हो ।
युद्धका कारण १५ दिन (१६ देखि ३१ मार्च सम्म) मा ५ रुपैयाँ अब घाटा हुने देखिएको निगमले जनाएको छ । पछिल्लो समयको मूल्य वृद्धिको प्रक्षेपणलाई आधार मान्दा आगामी १५ दिनमा थप १५ अर्ब घाटा हुने देखिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा भएको आकस्मिक मूल्य वृद्धिका कारण उत्पन्न भएको विषम परिस्थितिमा निगम सबै उपभोक्ता तथा सरोकारवालाहरूसँग सहयोगको आह्वान गर्दै पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययिता अपनाउन अनुरोध समेत गरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य कम हुनासाथ तत्काल मूल्य घटाइने समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।