शुक्रबार, २७ चैत २०८२

/frontend/images/redline.png
https://www.jawaaf.com/storage/01KM7BBTYJAH88DH5JF73RGRKP.jpg

इरानको चेतावनीः विश्वभरका पर्यटकीय क्षेत्रहरू अब ‘असुरक्षित’

काठमाडौं । इरानले आफ्ना शत्रुहरूलाई लक्षित गर्दै विश्वभरका पर्यटकीय र मनोरञ्जन स्थलहरूमा प्रतिशोधात्मक आक्रमण विस्तार गर्ने धम्की दिएको छ । अल जजीराका अनुसार, इरानी सेनाका मुख्य प्रवक्ता जनरल अबोलफजल शेकार्चीले पार्क, मनोरञ्जन क्षेत्र र पर्यटकीय गन्तव्यहरू इरानका शत्रुहरूका लागि सुरक्षित नरहने चेतावनी दिएका हुन् ।

यो धम्कीसँगै इरानले मध्यपूर्वभन्दा बाहिर पनि ‘असिमेट्रिक’ (छापामार शैलीका) आक्रमणहरू गरेर दबाब बढाउन सक्ने भन्दै विश्वभर चिन्ता थपिएको छ । इजरायलले यसै साताको सुरुमा इरानको विशाल ‘साउथ पार्स’ अफशोर प्राकृतिक ग्यास क्षेत्रमा बमबारी गरेपछि इरानले खाडी अरब मुलुकका ऊर्जा केन्द्रहरूमा आक्रमण तीव्र पारेको छ ।

अल जजीराका अनुसार, शुक्रबार बिहान कुवेतको मिना अल–अहमदी तेल प्रशोधन केन्द्रमा इरानले दुई चरणमा ड्रोन आक्रमण गरेको छ । आक्रमणका कारण त्यहाँ भिषण आगलागी भएको बताइएको छ । दैनिक ७ लाख ३० हजार ब्यारेल तेल प्रशोधन गर्ने क्षमता भएको यो प्रशोधन केन्द्र मध्यपूर्वको ठूला प्रशोधन केन्द्रहरूमध्ये एक हो ।

कच्चा तेलको अभाव र अमेरिकालाई जवाफ

यसैबीच, अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले वाशिंगटनले समुद्रमा इरानी तेलमाथिको प्रतिबन्ध खुकुलो पार्न सक्ने संकेत गरेपछि इरानले कडा जवाफ दिएको छ । इरानी तेल मन्त्रालयका प्रवक्ता सामन घोड्दुसीले भनेका छन,‘हाल इरानसँग अन्तर्राष्ट्रिय बजारमा आपूर्ति गर्नका लागि कुनै पनि अतिरिक्त कच्चा तेल बाँकी छैन । अमेरिकी अर्थमन्त्रीको भनाइ केवल खरिदकर्ताहरूलाई आशा दिने उद्देश्यले आएको हो ।’

युएईलाई कडा चेतावनी

इरानले संयुक्त अरब इमिरेट्स (युएई) लाई पनि कडा चेतावनी दिएको छ । यदि युएईको भूमि प्रयोग गरेर फारसको खाडीमा रहेका इरानी टापुहरूमा पुनः आक्रमण भएमा इरानले युएईको ‘रास अल–खैमाह’ शहरमा ’ध्वंसात्मक प्रहार’ गर्ने चेतावनी दिएको छ ।
रणनीतिक रूपमा महत्त्वपूर्ण हर्मुज जलमार्ग नजिकै रहेका यी टापुहरूबाट विश्वको झण्डै पाँच भागको एक भाग तेल र ग्यास ढुवानी हुने गर्दछ । यसै महिनाको सुरुमा युएईले रास अल–खैमाहको अल–हाम्रा गाउँ क्षेत्रमा एउटा ड्रोन खसालेको दाबी गरेको थियो । इजरायल र इरानबीच बढ्दो तनावले अहिले सम्पूर्ण खाडी क्षेत्र र विश्वकै सुरक्षा व्यवस्थामा चुनौती थपेको छ । एएनआई

प्रकाशित मितिः शनिबार, ०७ चैत २०८२
https://www.jawaaf.com/storage/01KM78BNJMHEEKQ4YQ2EPPJ270.jfif

आज ६१औँ अन्तर्राष्ट्रिय जातीय तथा रंगभेद उन्मूलन दिवस

काठमाडौं । आज ६१औँ अन्तर्राष्ट्रिय जातीय तथा रंगभेद उन्मूलन दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

दिवसका अवसरमा आज काठमाडौँमा राष्ट्रिय दलित आयोगसहित सङ्घसंस्थाले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । नेपालमा यो वर्ष ‘दलित समुदायको न्यायमा पहुँचका लागि राज्य संरचनाको प्रभावकारी परिचालन’ भन्ने नारासहित यो दिवस मनाउन लागिएको राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले जानकारी दिए ।

उनका अनुसार आयोगले दलित गैरसरकारी संस्थासहित अन्य नागरिक संस्थाहरूसँगको सहकार्यमा आज बबरमहलदेखि बुद्ध नगरसम्म सचेतनामूलक ¥याली निकालिने छ भने बुद्ध नगरमा पुगेर सभामा परिणत हुनेछ । कार्यक्रममा बिहान ११ बजेबाट हुने आयोगले जनाएको छ ।
त्यस्तै, दिवसकै अवसरमा दलित मुक्ति आन्दोलनका क्रममा ज्यान गुमाएका सम्पूर्ण सहिद तथा योद्धाहरूको स्मरणमा साँझ ५ः३० बजे माइतीघर मण्डलामा दीप प्रज्वलन कार्यक्रम राखिएको छ । संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिको अगुवाइमा उक्त कार्यक्रम राखिएको हो ।

सन् १९६० को दशकमा ल्याटिन अमेरिकी मुलुकमा गोरा शासकद्वारा लादिएको उपनिवेशवाद, जातिभेद तथा रङविरोधी संघर्षमा मारिएकाहरूको सम्झनामा मनाइन्छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् १९६६ मा २१ मार्चलाई ‘अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस’का रूपमा मनाउन अन्तर्राष्ट्रिय जगतलाई आह्वान गरेको थियो ।

नेपालमा सन् २००१ देखि यो दिवस मनाइँदै आएको छ । नेपालले सन् १९७१ मा यसलाई पक्ष राष्ट्रको रूपमा अनुमोदन गरेको थियो । २०६२र०६३ मा लोकतन्त्र बहाली भएपछि २०६३ साल जेठ २१ मा पुनस्र्थापित प्रतिनिधि सभाको बैठकले नेपाललाई छुवाछूत मुक्त राष्ट्र घोषणा गर्यो। त्यसको पाँच वर्षपछि २०६८ जेठ १० गते ‘जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन, २०६८’ संसदबाट पारित भएको थियो ।

जातीय विभेद गर्नु कानुनतः दण्डनीय भए पनि व्यावहारिक रूपमा कानुन कार्यान्वयन फितलो हुँदा दलित समुदायले विभेद खेपिरहेका छन् ।

प्रकाशित मितिः शनिबार, ०७ चैत २०८२
https://www.jawaaf.com/storage/01KM37EZ5TRM3255Q9XTZFAB2H.jpg

आगामी तीन दिन देशका विभिन्न भागमा वर्षा, हिमपात र भीषण हावाहुरीको सम्भावना

काठमाडौं । आगामी तीन दिन देशका विभिन्न भागमा भारी वर्षा, हिमपात र भीषण हावाहुरीको सम्भावना रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन अनुरोध समेत गरेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमानलाई उद्धृत गर्दै प्राधिकरणले चैत ६ गते शुक्रबारदेखि मौसममा उल्लेख्य बदलाव आउने जानकारी दिएको हो।
शनिबार पूर्वी नेपालका विराटनगर, धनकुटा, धरान र आसपासका जिल्लामा झन्डै ११९ किलोमिटर प्रतिघण्टाको वेगमा तीव्र हावाहुरी चल्ने प्रक्षेपण गरिएको छ। प्रि–मनसुनको अवधि भएकाले यस्तो शक्तिशाली हावाहुरीले रुख ढाल्ने, कमजोर संरचना र घरका छाना उडाउने तथा विद्युत् र सञ्चार सेवा प्रभावित पार्न सक्ने जोखिम रहेको छ।
शुक्रबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक(दुई स्थानमा भारी वर्षा र हिमपात हुने सम्भावना रहेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले जोखिमबाट बच्न विशेष काम नपरी यात्रामा ननिस्कन र सुरक्षित स्थानमा आश्रय लिन सर्वसाधारणलाई अपिल गरेको छ।

प्रकाशित मितिः बिहिबार, ०५ चैत २०८२
https://www.jawaaf.com/storage/01KKZNXZC97W1K6VWGHJ9KH1G4.jpg

पश्चिम एशिया द्वन्द्वले विश्वभर करीब ३२ करोड मानिस भोकमरीको जोखिममा

काठमाडौं । पश्चिम एशियामा जारी द्वन्द्वका कारण विश्वभर करीब ३२ करोड मानिस भोकमरीको जोखिममा रहेको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले उल्लेख गरेको छ । संयुक्त राज्य अमेरिका, इजरायल र इरानबीच जारी द्वन्द्वले विश्वव्यापी भोकमरी अभूतपूर्व स्तरमा पुग्ने खतरा बढाएको भन्दै डब्लुएफपीले गम्भीर चिन्ता व्यक्त गरेको हो ।

डब्लुएफपीका अनुसार चरम द्वन्द्व र विभिन्न स्थानमा देखिएको अनिकालको संयुक्त प्रभावका कारण हाल विश्वभर करिब ३२ करोड मानिस तीव्र खाद्य असुरक्षाको अवस्थामा छन् । यस्तो अवस्थामा मध्यपूर्वको युद्ध तेस्रो सातामा प्रवेश गरिसकेको र यसले खाद्य तथा इन्धन मूल्यमा ठूलो असर पारिरहेको चेतावनी दिइएको छ ।

जेनेभामा आयोजित पत्रकार सम्मेलनमा डब्लुएफपीका उपकार्यकारी निर्देशक कार्ल स्काउले युद्ध लम्बिएर जुनसम्म पुग्ने र तेलको मूल्य प्रति ब्यारेल १०० डलरभन्दा माथि रहने हो भने थप ४ करोड ५० लाख मानिस भोकमरीको चपेटामा पर्न सक्ने बताए । उनका अनुसार यस संकटको सबैभन्दा ठूलो असर पहिले नै कमजोर अवस्थामा रहेका जनसंख्यामा पर्नेछ ।

“जीवनयापन खर्चमा आएको नयाँ वृद्धिलाई उनीहरूले धान्न सक्ने अवस्था छैन,” स्काउले भने । यो द्वन्द्व फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि चर्किएको हो । त्यसपछि इरानले प्रतिकार गर्दै इजरायल र खाडी क्षेत्रका देशहरूमा आक्रमण गरेको थियो भने इरान समर्थित हिज्बुल्लाहको संलग्नतासँगै लेबनान पनि द्वन्द्वमा तानिएको छ ।

हाल डब्लुएफपीले लेबनानमा हजारौँ मानिसलाई तातो खाना र रोटी वितरण गरिरहेको छ । आगामी तीन महिनासम्म राहत कार्य सञ्चालन गर्न संस्थाले तत्काल ७७ मिलियन अमेरिकी डलर थप सहयोगको अपिल गरेको छ ।

डब्लुएफपीका अनुसार हालको युद्ध सुरु हुनु अघि नै विश्व खाद्य संकट गम्भीर अवस्थामा थियो । पछिल्लो पाँच वर्षमा तीव्र खाद्य असुरक्षा तीन गुणाले बढेको र गत वर्ष अन्तर्राष्ट्रिय सहयोगमा ४० प्रतिशत कटौती हुँदा राहत कार्यमा ठूलो चुनौती थपिएको स्काउले बताए ।
युद्धका कारण इन्धन मूल्य वृद्धि, ढुवानी लागत बढ्नु र आपूर्ति श्रृंखला लम्बिनुले राहत कार्य झन् महँगो बनेको छ । ढुवानी खर्च १८ प्रतिशतले बढेको र सवारी साधनहरू महँगो इन्धनमा निर्भर हुनुपरेको अवस्था छ ।

यस संकटले युद्ध क्षेत्रभन्दा टाढाका देशहरूमा पनि कृषि उत्पादनमा असर पार्ने खतरा बढेको छ । विशेषगरी हर्मुज जलमार्ग हुँदै रासायनिक मल निर्यातमा अवरोध हुँदा सोमालिया र केन्याजस्ता अफ्रिकी देशहरूमा रोपाइँ सिजन प्रभावित हुन सक्ने चेतावनी दिइएको छ । सोमालियामा त अवस्था झन् गम्भीर बन्दै गएको छ । लगातार दुई पटकको खडेरीका कारण त्यहाँ अनिकालको संकेत देखिएको छ । पर्याप्त बजेट अभावका कारण डब्लुएफपीले त्यहाँ ७ लाख मानिसलाई सहयोग गर्न नसकेको जनाएको छ ।

यस्तै, सुडानमा अनिकालको अवस्थामा रहेका नागरिकका लागि खाद्य सहायता कटौती गरिएको छ भने अफगानिस्तानमा तीव्र कुपोषणका शिकार बालबालिकामध्ये चार जनामध्ये एक जनालाई मात्रै सहयोग गर्न सकिएको छ । “सहयोग अभावकै कारण अफगानिस्तानमा मानिसहरूको मृत्यु भइरहेको छ,” स्काउले चेतावनी दिँदै विश्व समुदायसँग थप मानवीय सहायता उपलब्ध गराउन आग्रह गरेका छन् । एएनआई

प्रकाशित मितिः बुधबार, ०४ चैत २०८२
https://www.jawaaf.com/storage/01KKXC1SNWZVT4XFSFDPGGTFSX.jpg

रास्वपाको सरकारलाई हामीले खबरदारी गर्न सक्नुपर्छ : डा.वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले रास्वपाले पाएको ४८ प्रतिशत भोट असाध्यै गरुङ्गो वैधता भएको भन्दै त्यसलाई सम्हालेर ऐतिहासिक बोध गर्नुपर्ने बताएका छन् ।

मंगलबार ललितपुरमा आयोजित रास्वपाका सांसदहरुको अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले जनताको मतादेशले सबैलाई ऐतिहासिक बोध हुने बताएका हुन् ।

उनले भने, ‘अहिले हाम्रो स्थिति लगभग दुई तिहाई छ । १८४ सिट प्राविधिक कारणले पुगेन । एक दुई सिटबारे स्पष्ट हँुदै जाला । तर पपुलर भोटका हिसाबले हामीले ५१ लाख अर्थात ४८ प्रतिशत भोट हासिल गरेका छौं । यो जनादेश, मतादेश जे भने पनि असाध्यै गरुङ्गो वैधता लिएका छौं र त्यसलाई सम्हालेर वा जोगाएर यो आशा भरोसालाई निभाएर त्यो ऐतिहासिक बोध हामीले लिनुपर्छ ।’

उनले सांसदको मूख्य भूमिका कानुन बनाउने भएपनि आफ्ना निर्वाचित क्षेत्रका जनताका गुनासा सुन्ने र सरकारलाई खवरदारी गर्नु रहेको बताए ।

‘हामी विधायक सांसदको भूमिकामा छौं, सांसदको मूल काम के हो? के गर्ने हुने? के गर्न नहुने ? सहायक काम के हो? बुझ्न जरुरी छ विज्ञहरुले प्रष्ट पार्नुहुन्छ, मूल काम हामी कानुन बनाउन आएको हौैं र सरकारको कामको समीक्षा, अनुगमन, निगरानी गर्ने वाच डग हौं, हाम्रै सरकार बनेपनि औंला उठाउनु, खवरदारी गर्नुपर्छ । आफ्ना निर्वाचित क्षेत्रका जनताका गुनासा सुन्नुपर्छ र उहाँहरुको मुद्दाहरु बुलन्द रुपमा उठाउनुपर्छ,’ उनले भने।

यस्तै, रास्वपाका केन्द्रिय उपसभापति डोल प्रसाद अर्यालले अघिल्लो सदनमा रास्वपाका सांसदहरुले संख्या कम भएकाले नै सोचे जस्तो डेलिभरी गर्न नसकेको बताए ।

‘अघिल्लो पटकको सदनमा रास्वपाका सांसदहरुले सकेसम्म सबै प्रयासहरु गरे तर त्यतिवेला संख्याको अपुग भयो र सोचे जस्तो डेलिभरी गर्न सकेनौं । हाम्रा छोराछोरीहरु देशमा सुशाषन भएन्, भष्ट्राचार भयो, हामीहरुलाई बस्न लायक देश बनाइदिनु भनेर स्कुलको लुगामा झोला बोकेर सडकमा निस्किए । हाम्रो संख्या पुगेको भए ति छोराछोरी स्कुलमा रमाउने थिए,’ उनले भने ।

प्रकाशित मितिः मङ्गलबार, ०३ चैत २०८२
https://www.jawaaf.com/storage/01KKTPCRM99257N61TVCK7C4FJ.jpg

हर्मुज जलमार्गमा जहाज सुरक्षाका लागि अन्तर्राष्ट्रिय गठबन्धन बनाउन ट्रम्पको पहल

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा बढ्दो तनावका बीच हर्मुज जलमार्ग हुँदै पासहुने जहाजहरूको सुरक्षाका लागि विभिन्न देशलाई समेटेर अन्तर्राष्ट्रिय गठबन्धन बनाउन पहल गरेका छन् ।

उनले हर्मुज जलमार्ग हुँदै तेल आयातमा अत्यधिक निर्भर रहेका करिब सात देशलाई जहाज सुरक्षाका लागि संयुक्त प्रयासमा सहभागी हुन आग्रह गरेको बताएका छन् । राष्ट्रपति ट्रम्पले आइतबार दिएको अभिव्यक्तिमा ती देशहरूको नाम भने खुलाएका छैनन् । उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै विश्वका धेरै मुलुकले तेल आपूर्ति गर्ने प्रमुख मार्ग भएकाले हर्मुज मार्गको सुरक्षा सम्बन्धित देशहरूले नै सुनिश्चित गर्नुपर्ने र त्यसमा अमेरिकाले सहयोग गर्ने बताएका छन् ।

“हर्मुज मार्ग हुँदै तेल प्राप्त गर्ने विश्वका देशहरूले उक्त मार्गको सुरक्षा गर्नुपर्छ, र अमेरिकाले त्यसमा ठूलो सहयोग गर्नेछ,” ट्रम्पले पोस्टमा लेखेका छन् । साथै उनले सम्बन्धित देशहरूसँग समन्वय गरेर जहाजहरूको आवतजावत सहज बनाउने उल्लेख गरेका छन् ।

अमेरिकी सञ्चारमाध्यम द वाल स्ट्रीट जर्नलको एक रिपोर्टका अनुसार ट्रम्प प्रशासनले विभिन्न देशको सहमतिमा हर्मुज जल मार्गमा जहाजहरूको सुरक्षाका लागि गठबन्धन गठन गर्ने योजना बनाइरहेको छ । अमेरिकी अधिकारीहरूका अनुसार यो अभियान इरानविरुद्ध सम्भावित सैन्य कारबाही अघि वा पछि सुरु गर्ने विषयमा अझै छलफल भइरहेको छ । हर्मुज मार्ग विश्व व्यापारका लागि अत्यन्त महत्वपूर्ण मार्ग मानिन्छ । विश्वमा कारोबार हुने कच्चा तेलको करिब २० प्रतिशत यही मार्ग हुँदै ओसारपसार हुने अनुमान गरिएको छ । हाल मध्यपूर्वमा बढ्दो तनावका कारण यस मार्गको सुरक्षाबारे अन्तर्राष्ट्रिय चिन्ता बढेको छ ।

यता बेलायतका प्रधानमन्त्री केइर स्ट्रारर्मरले पनि आइतबार ट्रम्पसँग टेलिफोन वार्ता गर्दै मध्यपूर्वको अवस्थाबारे छलफल गरेका छन् । बेलायती प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार वार्तामा हर्मुज जलडमरू बन्द हुँदा विश्वव्यापी ढुवानी र व्यापारमा परेको असरबारे छलफल भएको थियो ।

स्टार्मरले विश्वव्यापी ढुवानी सहज बनाउन र बढ्दो लागत कम गर्न उक्त जलमार्ग पुनः सञ्चालनमा ल्याउनु अत्यन्त आवश्यक रहेको बताएका छन् । दुबै नेताले क्षेत्रीय अवस्थाबारे निरन्तर सम्पर्कमा रहने सहमति पनि गरेका छन् ।

यसअघि बेलायतका ऊर्जा मन्त्री एड मिलबन्दले पनि हर्मुज जलडमरू पुनः सञ्चालनमा ल्याउन विभिन्न विकल्पहरूबारे बेलायतले आफ्ना सहयोगी देशहरूसँग छलफल गरिरहेको बताएका थिए । उनका अनुसार द्वन्द अन्त्य गर्नु नै जलडमरू पुनः खुलाउने सबैभन्दा प्रभावकारी उपाय हो ।

यता अष्ट्रेलियाले भने तेल बोकेका ट्यांकरहरूको सुरक्षाका लागि हर्मुजमा नौसैनिक जहाज नपठाउने स्पष्ट पारेको छ । अष्ट्रेलियाकी पूर्वाधार तथा यातायात मन्त्री क्याथरिन किङले सोमबार दिएको अभिव्यक्तिमा अष्ट्रेलियाले सो क्षेत्रमा सैन्य जहाज नपठाउने बताएकी हुन् । सीसीटीभी

प्रकाशित मितिः सोमबार, ०२ चैत २०८२
https://www.jawaaf.com/storage/01KKRRFK37ABCHQAMS4C8A82DK.png

प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौं : उज्यालो नेपाल पार्टी

काठमाडौं । उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचन, २०८२ को समग्र समीक्षा तथा आगामी राजनीतिक कार्यदिशा निर्धारण गर्न दुई दिने विशेष समीक्षा कार्यक्रम गरेको छ ।

फागुन २९ र ३० गते पार्टीको केन्द्रीय कार्यालयमा भएको छलफलमा अधिकांश वक्ताहरुले प्राप्त जनमतलाई हारको रूपमा नलिई भविष्यको उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्नुपर्ने धारणा राखेका थिए ।

पार्टीका अध्यक्ष कुलमान घिसिङको अध्यक्षतामा सञ्चालित छलफलमा केन्द्रीय समिति सदस्यहरू, प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारहरू, प्रदेश संयोजकहरू, जिल्ला संयोजकहरू तथा विभिन्न तहका जिम्मेवार नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

पहिलो दिन उम्मेदवार, प्रदेश तथा जिल्ला संयोजकहरूबीच भएको गहन छलफलमा निर्वाचनका क्रममा प्राप्त अनुभव, जनसम्पर्कको स्वरूप, संगठन विस्तारका सम्भावना, मतदाताको मनोविज्ञान, प्रचारप्रसारका चुनौतीहरू तथा छोटो समयमा पार्टीले निर्माण गरेको राष्ट्रिय उपस्थितिबारे विस्तृत समीक्षा गरिएको थियो ।

सहभागीहरूले अत्यन्त सीमित समय, न्यून स्रोतसाधन तथा प्रारम्भिक संगठनात्मक अवस्थाका बाबजुद पनि उज्यालो नेपाल पार्टीले देशव्यापी रूपमा सम्मानजनक मत प्राप्त गर्न सफल भएकोमा सन्तुष्टि व्यक्त गर्दै यसलाई भविष्यको मजबुत राजनीतिक आधारशिलाको रूपमा लिएको प्रवक्ता डा.राजु थापाले जानकारी दिए ।

प्रवक्ता थापाका अनुसार दोस्रो दिन केन्द्रीय समिति सदस्यहरूबीच भएको छलफलमा पहिलो दिनका समीक्षाहरू प्रस्तुत भएपछि आगामी दिनमा पार्टीलाई थप व्यवस्थित, वैचारिक रूपमा स्पष्ट, संगठनात्मक रूपमा सुदृढ तथा जनतासँग प्रत्यक्ष जोडिएको राष्ट्रिय मूलधारको शक्तिको रूपमा विकास गर्ने साझा निष्कर्ष निकालिएको थियो ।

बैठकले पार्टीको संगठन निर्माण, सचिवालय, विभाग, आयोग, सल्लाहकार समिति, प्रवास समिति तथा प्रदेश, जिल्ला र स्थानीय तहसम्मका संरचनाहरूलाई व्यवस्थित, दिगो र कार्यमुखी बनाउनेमा विशेष जोड दिएको थियो ।

छलफलका क्रममा पार्टीभित्र प्रशिक्षण, वैचारिक एकरूपता, साझा सन्देश प्रवाह, डिजिटल उपस्थिति सुदृढीकरण, मिडिया परिचालन, युवा तथा महिला सहभागिता वृद्धि, समावेशी प्रतिनिधित्व, सदस्यता विस्तार, आर्थिक सुदृढीकरण तथा जनआधारित अभियानहरूलाई तीव्रता दिने विषयमा सहमति जुटेको पनि थापाले जानकारी दिए ।

सहभागीहरूले उज्यालो नेपाल पार्टीलाई केवल चुनावी शक्तिका रूपमा मात्र नभई जनविश्वास, सुशासन, समृद्धि र सामाजिक न्यायको दीर्घकालीन राजनीतिक अभियानका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष कुलमान घिसिङले प्राप्त जनमतलाई हारको रूपमा नलिई भविष्यको उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्नुपर्ने बताउनु भएको थियो ।

उनले चुनौतीपूर्ण परिस्थितिमा पनि पार्टीले देशभर उल्लेखनीय सद्भाव, विश्वास तथा जनसमर्थन प्राप्त गरेको उल्लेख गर्दै अब यसै आधारमा संगठन विस्तार, सदस्यता अभिवृद्धि, डिजिटल अभियान, स्थानीय जनसम्पर्क तथा आगामी प्रदेश तथा स्थानीय तह निर्वाचनको तयारीलाई तीव्रता दिने स्पष्ट पारेका थिए ।

अध्यक्ष घिसिङले उज्यालो नेपाल पार्टी कुनै जाति, क्षेत्र वा समूह विशेषको नभई सम्पूर्ण नेपाली जनताको साझा, समावेशी तथा जिम्मेवार राजनीतिक विकल्प भएको मनन गर्दै पार्टीप्रति विश्वास राखी मतदान गर्नुहुने सम्पूर्ण मतदाता, उम्मेदवार, नेता, कार्यकर्ता, समर्थक तथा शुभेच्छुकहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गरे ।

साथै, आगामी दिनमा अझ सशक्त, अनुशासित, जनमुखी तथा परिणाममुखी ढङ्गले अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
बैठकले समीक्षा कार्यक्रमबाट प्राप्त सुझाव, अनुभव तथा निष्कर्षहरूलाई आधार बनाई देशव्यापी संगठन सुदृढीकरण, जनतासँग निरन्तर संवाद, विकासमुखी एजेन्डा निर्माण, रचनात्मक खबरदारी तथा मुलधारको राष्ट्रिय राजनीतिक शक्ति निर्माणको दिशामा दृढतापूर्वक अघि बढ्ने निर्णय गरेको छ ।

यसैगरी बैठकले निर्वाचन शान्तिपूर्ण तथा सफलतापूर्वक सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने वर्तमान सरकारलाई धन्यवाद दिने, राष्ट्रिय स्वतन्त्र पार्टीलाई ऐतिहासिक सफलताका लागि बधाई ज्ञापन गर्ने तथा आगामी सरकारलाई सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्ने निर्णय समेत गरेको छ

प्रकाशित मितिः आइतबार, ०१ चैत २०८२
https://www.jawaaf.com/storage/01KKR3SQVB8D9YS9M39PTCBJ02.jpg

सभापति लामिछाने अस्वस्थ्य हुँदा रास्वपा सचिवालय बैठक ढिलाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक केही  ढिला सुरु हुने भएको छ । आइतबार बिहान बैठक बस्ने भनिए पनि केही प्राविधिक र व्यवहारिक कारणले बैठक बस्न ढिला हुने प्रवक्ता मनिष झाले जानकारी दिए ।
‘रास्वपाको सचिवालय बैठक आज आव्हान गरिएको छ । बैठक केही प्राविधिक र व्यवहारीक कारणले विलम्व हुने भएको छ,’ उनले भने । पार्टी सभापति रवि लामिछानेको स्वास्थ्य समस्याका कारण बैठकमा उपस्थित नभई बैठक भर्चुअलरुपमा सहभागि हुने पनि झाले बताए ।
उनले भने, ‘पार्टी सभापतिको स्वास्थ्य अवस्था अझै पनि सामान्य भइसकेको छैन । तसर्थ उहाँसँग छलफल भइरहेको छ । भर्चुअलरुपमा बैठकमा सहभागि हुने उहाँको बाध्यत्मककारी अवस्था हामीले बुझ्नुपर्ने देखिएको छ । साथै केही सचिवालय सदस्यहरुको पनि निर्वाचनको अभियान र संघर्षपूर्ण समयपश्चात जुन उपलव्धि भएको छ त्यसपछि चिकित्सकहरुको सल्लाहअनुसार उहाँहरुले आराम गर्नुपर्ने बाध्यकारी अवस्था रहेको छ ।’
उनले समानुपातिक सूचीका नामहरु टुङगाएर आज नै निर्वाचन आयोगमा बुझाउने पनि बताए । ‘केही सूचीहरुको क्रममा आन्तरिक प्रशासनिक प्रक्रिया वा अभ्यासहरु र प्रक्रियागतरुपमा टुङगाएर आज नै निर्वाचन आयोगमा बुझाउने तयारीमा छौं । निर्वाचन आयोगले तोकेको र दिएको समय सीमा भित्र नै रास्वपाले त्यो सूची उपलव्भ गराउने छ,’ उनले भने ।

प्रकाशित मितिः आइतबार, ०१ चैत २०८२
https://www.jawaaf.com/storage/01KKQRY2ECBWRHV0N0E6P0SJAP.jpg

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेन्जी मुभमेन्ट नेपालको माग

काठमाडौं । जेन्जी मुभमेन्ट नेपालले भाद्र २३ र २४ गते भएको आन्दोलनका घटनाबारे छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।
शनिबार एक विज्ञप्ति जारी गर्दै जेन्जी आन्दोलनमा भएका हत्या, आगजनी र हिंसात्मक घटनाको सत्य तथ्य बाहिर ल्याई दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गरेका छन् । सङ्गठनले प्रतिवेदन सार्वजनिक नगरेसम्म देशमा न्याय र स्थायित्व स्थापित हुन नसक्ने जनाएको छ ।

पारदर्शिता र उत्तरदायित्वको माग गदै आन्दोलनको प्रतिवेदन नै गोप्य राखिनु पूर्ण रूपमा अस्वीकार्य हुने बताइएको छ । सत्य लुकाएर वा दोषीलाई संरक्षण गरेर कुनै पनि राजनीतिक प्रक्रिया अघि बढाउन खोजिनु जनभावना र लोकतान्त्रिक मूल्यविरुद्ध हुने सङ्गठनको भनाई छ ।

जेन्जी मुभमेन्ट नेपालले जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भएपछि मात्रै नयाँ सरकार गठन गर्नुपर्ने स्पष्ट धारणा राखेको छ ।
जेन्जी मुभमेन्ट नेपालले आज माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन आयोजना गरिने बताइएको छ । साथै देशभर एकैसाथ विरोध प्रदर्शन गर्न सर्वसाधारणलाई सहभागी हुन सङ्गठनले अपिल समेत गरेको छ ।

प्रकाशित मितिः आइतबार, ०१ चैत २०८२
https://www.jawaaf.com/storage/01KKNFR95ZACSYG2SZVG5MAS97.jpg

अमेरिकी बमबारीमा इरानको खार्ग टापुका सैन्य केन्द्र पूर्ण रूपमा नष्ट भएको ट्रम्पको दाबी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार सामाजिक सञ्जाल टुथ सोसल मार्फत इरानको खार्ग टापुमा भएका सबै सैन्य लक्ष्यहरू ‘पूर्ण रूपमा नष्ट’ भएको बताएका छन् ।

उनले लेखेका छन,‘अहिले केही क्षणअघि मेरो निर्देशनमा, अमेरिकी सेन्ट्रल कमाण्डले मध्यपूर्वको इतिहासकै एक शक्तिशाली बमबारी सञ्चालन ग¥यो र इरानको क्राउन ज्वेल, खार्ग टापुमा रहेका सबै सैन्य लक्ष्यहरू पूर्ण रूपमा नष्ट गरियो ।’

राष्ट्रपतिले थपे,‘मैले टापुमा रहेको तेल पूर्वाधार नष्ट नगर्ने निर्णय गरेको छु । तर यदि इरान वा अरू कसैले हर्मुज स्ट्रेटमार्फत जहाजहरूको स्वतन्त्र र सुरक्षित मार्गमा हस्तक्षेप गर्ने प्रयास गर्यो भने म यो निर्णय तत्काल पुनर्विचार गर्नेछु ।’

इरानी खाताम अल–अन्बिय्या सेन्ट्रल हेडक्वार्टरका प्रवक्ताले शनिबार चेतावनी दिएका छन् कि ‘ऊर्जा पूर्वाधार र बन्दरगाहमा सबैभन्दा सानो हमला भए पनि भयंकर र नाशकारी प्रतिक्रिया हुनेछ ।’

उनीहरूले भनेका छन,‘यदि यस्तो आक्रमण भयो भने, क्षेत्रका सबै तेल र ग्यास पूर्वाधार, जसमा अमेरिका र उसका पश्चिमी सहयोगीहरूको हिस्सेदारी छ, जलेर नष्ट गरिनेछ ।’ इरानको किनारदेखि करिब २४ किलोमिटर टाढा अवस्थित खार्ग टापु, देशको ९० प्रतिशत तेल निर्यातको टर्मिनलको रूपमा प्रयोग हुन्छ ।

यस घटनाले क्षेत्रीय तनावलाई थप बढाउने र अन्तर्राष्ट्रिय समुद्री मार्ग सुरक्षा सम्बन्धी चिन्ता बढाउने अनुमान गरिएको छ ।

प्रकाशित मितिः शनिबार, ३० फागुन २०८२