सर्लाहीमा वडाध्यक्ष पक्राउपछि स्थानीय आक्रोशित, गोडैता बजार बन्द
सर्लाही । सर्लाहीमा प्रहरीकै निर्देशनमा विवाद मिलाउन पुगेका वडाध्यक्षलाई उल्टै दोषी बनाएर पक्राउ गरिएको भन्दै गोडैता नगरपालिका–७ का स्थानीयवासी आक्रोशित बनेका छन्।
प्रहरीका अनुसार वडाध्यक्ष विनेश कुमार दासमाथि प्रहरी चौकीमा आक्रमण र प्रहरी कुटपिट गरेको आरोप लगाइएको छ। मंगलबार इलाका प्रहरी कार्यालय कर्मैया अगाडिबाट उनलाई पक्राउ गरिएको सर्लाही प्रहरीका सूचना अधिकारी डीएसपी सरोज राईले जानकारी दिए।
उनका अनुसार, असोज १७ गते साँझ गोडैता प्रहरी चौकीमाथि ढुंगामुढा र कुटपिट हुँदा वडाध्यक्षकै नेतृत्वमा समूह पुगेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।
वडाध्यक्ष दासलाई हाल जिल्ला प्रहरी कार्यालय मलंगवाको हिरासतमा राखिएको र कुटपीट, अङ्गभङ्ग, ज्यान मार्ने उद्योग तथा आपराधिक उपद्रो सम्बन्धी मुद्दामा बुधबार सर्लाही जिल्ला अदालतबाट म्याद थप गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आक्रमणबाट गोडैता प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) अवधेश प्रसाद यादवका दाँत भाँचिएका छन्। अन्य पाँच जना प्रहरी समेत घाइते भएका छन्।
ढुंगामुढा र बाँसको प्रहारका कारण तीनवटा मोटरसाइकल क्षतिग्रस्त भएको प्रहरीले दाबी गरेको छ।
विवाद दुर्गा पूजाका लागि चन्दा उठाउने विषयमा भएको बताइएको छ। गोडैता–७ का कारिल यादवलाई सर्लाहीकै रामनगर गाउँपालिका–५ का अनिल राय यादवलगायतले कुटपिट गरेपछि विवाद उत्पन्न भएको थियो।
प्रत्यक्षदर्शीका अनुसार, दुई पक्षबीच विवाद भएपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी योगेन्द्र कुमार खड्काले फोनमार्फत वडाध्यक्ष दासलाई विवाद मिलाउन चौकीमा जान अनुरोध गरेका थिए।
तर, उनी पुगेपछि प्रहरीले भिडियो खिचेर पछि त्यही फुटेजका केही अंशका आधारमा वडाध्यक्षमाथि आक्रमणको आरोप लगाएको दाबी गरिएको छ।
वडाध्यक्ष दासको पक्राउको विरोधमा बुधबार बिहानैदेखि गोडैता बजार पूर्ण रूपमा बन्द गरिएको छ। स्थानीयले निष्पक्ष छानबिन र वडाध्यक्षको तत्काल रिहाइको माग गर्दै प्रदर्शन गरेका छन्।
स्थानीयको भनाइमा प्रहरीको रिपोर्ट एकतर्फी छ, त्यसैले घटनाको निष्पक्ष अनुसन्धान गरी वास्तविक दोषी पहिचान गर्नुपर्ने माग गरिएको छ।
बाढीपहिरोबाट क्षति पुगेका सडकको पुनर्निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । असोज १८ देखि २० गते सम्म र त्यस अगाडिको बाढीपहिरोका कारण क्षति पुगेका सडक संरचनाको पुनर्निर्माणका लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस वर्षको मनसुनजन्य विपद्बाट क्षति पुगेका मुख्य राजमार्ग, वैकल्पिक सडक, बेलिब्रिज र स्थायी पुल पुनर्निर्माणका लागि १० अर्ब ६८ करोड रुपैयाँ लाग्ने अनुमान गरेको छ । गत वर्षको विपद्बाट क्षति पुगेका संरचना पुनर्निर्माणका लागि १ अर्ब ७० करोड रुपैयाँ बाँकी रहेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले बाढिपहिरोबाट क्षति पुगेर अवरुद्ध भएका सडक सञ्चालन उच्च प्राथमिकतामा राखी मातहतका निकायले काम गरिरहेको बताए । अवरुद्ध सडक सञ्चालन जतिसक्दो छिट्टो सञ्चालनका लागि उपकरण र जनशक्ति परिचालन गरिएको र कामको आफू एवम् मन्त्रालयकातर्फबाट निममित अनुगमन भइरहेको मन्त्री घिसिङले उल्लेख गरेका छन् ।
यस वर्षको मनसुनजन्य विपद्बाट सबैभन्दा बढी क्षति मेची राजमार्गमा पुगेको छ । मेची राजमार्गको पुनर्निर्माणका लागि डेढ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । क्षति भएका कोशी, मध्यपहाडी, हुलाकी, अरनिको, कान्ति, नारायणघाट—मुग्लिङलगायतका राजमार्गको पुनर्निर्माणका लागि झण्डै तीन अर्ब ७७ करोड रुपैयाँ लाग्ने अनुमान छ ।
त्यस्तै, क्षति पुगेका १७ वटा स्थायी पुल पुनर्निर्माणमा चार अर्ब ५२ करोड रुपैयाँ लाग्ने अनुमान छ । क्षति पुगेका र सडक सञ्चालनका लागि राख्नु पर्ने नयाँ पर्ने बेलिब्रिजका लागि ८० करोड रुपैयाँ लाग्ने अनुमान छ । बैकल्पिक सडक पुनर्निर्माणका लागि एक अर्ब ५९ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
जेनजी अलायन्सद्वारा अख्तियार प्रमुखको राजीनामा माग, आयोगमा निवेदन दर्ता
काठमाडौं । जेनजी पुस्ताका युवाहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सम्पूर्ण आयुक्तहरूको राजीनामा माग गरेका छन् ।
जेनजी मुभमेन्ट अलायन्सले आयोगका प्रमुखहित सम्पूर्ण आयुक्तहरूको राजीनामा माग्दै मंगलबार आयोगको कार्यालय पुगेर पत्र समेत बुझाएका छन् ।
राई वाइडबडी घोटाला लगायतका भ्रष्टाचार मुद्दामा मुछिएको र उनको नेतृत्वमा आयोगको निष्पक्षतामाथि शंका उब्जिएको आरोप लगाउदै जेनजी मुभमेन्ट अलायन्सले अख्तियारको कार्यालय टङ्गाल पुगेर निवेदन दर्ता गराएको हो।
संसद् नभएको अवस्थामा महाभियोग संभव नभएकाले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने मागसहित जेनजी अलायन्स टङ्गाल पुगेको हो । अलायन्सले खुला आवेदन प्रक्रियामार्फत योग्यता र क्षमता भएका नयाँ प्रमुख आयुक्त नियुक्त गर्न अन्तरिम सरकारसँग माग गर्दै राजीनामा नआए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिएको छ ।
एलाइन्सको तर्फबाट हिजो इमेलमार्फत राईलाई पद छोड्न दबाबमूलक पत्र पठाइएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका राईसहितका आयुक्तहरूले भ्रष्टाचारको निष्पक्ष छानबिन गर्नेमा शंका रहेको भन्दै जेनजीहरूले निष्पक्ष मान्छे ल्याउनुपर्नेमा जोड दिएका छन् ।
ऊर्जामन्त्री कुलमान घिसिङ विद्युत् भार प्रेषण केन्द्रको अनुगमनमा
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था र शहरी विकासमन्त्री कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरण मातहतको विद्युत् भार प्रेषण केन्द्रको अनुगमन गरेका छन् ।
काठमाडौंको स्यूचाटारस्थित केन्द्रको सोमबार साँझ अनुगमन गरी मन्त्री घिसिङले देशभरको विद्युत उत्पादन, प्रसारण र वितरण प्रणालीको अवस्था, ग्रिड सञ्चालन, विद्युत् माग तथा आपूर्ति व्यवस्थापन, विद्युत् निर्यात, बाढी पहिरोबाट क्षति भएका विद्युत् आयोजनाहरु लगायतका विषयमा जानकारी लिएका थिए ।
देशका विभिन्न ठाउँबाट छिनछिनमा बत्ति जाने गरेको गुनासो आइरहेको भन्दै प्राधिकरणका पूर्वकार्यकारी निर्देशकसमेत रहेका मन्त्री घिसिङले विद्युत प्रणालीलाई अझ भरपर्दो, गुणस्तरीय, सुरक्षित र आधुनिक बनाउन अल्पकालीन, मध्यकालीन र दीर्घकालीन बनाउन आवश्यक नीतिगत एवम् प्रविधिक सुधारका विषयमा छलफल गरेका थिए ।
बाढी, पहिरोले क्षति पुर्याएका संरचनाको मर्मतसम्भार गरी तत्काल विद्युत् सेवा चालू गराउनु पर्ने बताउँदै घिसिङले छिनछिनमा वत्ति जाने गुनासो तत्काल सम्बोधनलाई उच्च प्राथमिकतामा राखी सोही वमोजिम मातहतका कार्यालयलाई तयारी अवस्थामा राख्न आग्रह गरे ।
उनले विद्युतगृह, प्रसारण लाइन तथा सबस्टेसनलाई पूर्ण क्षमतामा चलाउन,विद्युत् आपूर्तिका लागि महत्वपूर्ण मानिएका मस्र्याङ्दी करिडोर २२० केभी, हेटौंडा—ढल्केबर ४०० केभी प्रसारण निर्माणमा विशेष ध्यान दिन, आगामी हिउँदयामको विद्युत् व्यवस्थापनमा लाग्न प्राधिकरण व्यवस्थापनलाई आग्रह गरे ।
प्राधिकरणका कार्यकारी मनोज सिलवाल र केन्द्रका निर्देशक चन्दन कुमार घोषले विद्युत् उत्पादन, माग, आपूर्ति, निर्यात, प्रणाली सञ्चालनको अवस्था तथा समस्यालगायतका विषयमा जानकारी गराएका थिए ।
कार्यकारी निर्देशक सिलवालले बाढी, पहिरोले क्षति पुर्याएका संरचना मर्मत गरी विद्युत् सेवा चालू गराउन टोली तयारी अवस्थामा राखी सोही वमोजिम काम भइरहेको बताए ।
दैनिक एक हजार मेगावाट विद्युत निर्यात, १५ अर्बको विद्युत निर्यात
देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् दैनिक रुपमा औसतमा एक हजार मेगावाट निर्यात भइरहेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिएका छन् । चालू आर्थिक वर्ष २०८२ ÷८२को साउनदेखि हालसम्म करिब १५ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात भएको छ ।
भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिश्पर्धी दरमा र द्धिपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री भइरहेको ।
भारतको प्रसारण संरचनाको प्रयोग गरी बंगलादेशमा पनि दैनिक रुपमा ४० मेगावाट विद्युत् निर्यात भइरहेको छ । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा र बंगलादेशसम्म अमेरिकी डलरमा हुने गरेको छ ।
त्यसैले विद्युत् बिक्रीबाट भारु र डलर आम्दानी भइरहेको छ । प्राधिकरणले भारत र बंगलादेश गरी ११६५ मेगावाट विद्युत् निर्यात स्वीकृति पाएको छ ।
जेन–जी मुभमेन्ट अलायन्सले माग्यो सम्पूर्ण आयुक्तहरुको राजीनामा
काठमाडौं । विभिन्न जेन–जी समुह र व्यक्तिहरु आबद्ध भएका जेन–जी मुभमेन्ट अलायन्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईसहित सम्पूर्ण आयुक्तहरुको तत्काल स्वेच्छिक राजीनामा माग गरेका छन् ।
जेन–जी मुभमेन्ट अलायन्सले एक विज्ञप्ती जारी गर्दै आयोगका प्रमुख लगायत अन्य आयुक्तको नियुक्ति प्रक्रिया निरंकुश ढङ्गले पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको सरकारले संसदिय सुनुवाइ बिनै गरेको भन्दै उनीहरुको स्वेच्छिक राजीनामा माग गरेका हुन् ।
२०८२ साल भाद्र २३ गतेबाट जने–जी द्वारा सुरु गरिएको आन्दोलनका मुख्य मागहरु भ्रष्ट्राचार र दण्डहिनताको अन्त्य भएको हुनाले यी मागहरु पुरा गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निष्पक्ष स्वतन्त्र र सक्षम पदाधिकारीले नेतृत्व गर्न अत्यावश्यक रहेको पनि उनीहरुको भनाई छ ।
विशेष अदालतको फैसला पूर्णपाठमा समेत प्रमुख आयुक्तको स्वार्थद्वन्द र सिङ्गो आयोगको अभियोजन प्रणालीमाथि नै प्रश्न गर्दै चयनात्मक अभियोजन गरेको बताइएकाले आयोगका प्रमुख आयुक्त सहित सम्पुर्ण आयुक्तहरुको निष्पक्षतामाथि ठूलो प्रश्न उठाएको उनीहरुको भनाई छ ।
हाल आयोगका प्रमुखलगायत अन्य आयुक्तलाई पदबाट निष्कासन गर्न महाअभियोग लगाउनुपर्ने तर त्यसका लागि संघीय संसद नभएका कारण सम्पुर्ण आयुक्तको पदलाई रिक्त बनाउन प्रमुख आयुक्त लगायत अन्य आयुक्तको राजीनामा अति आवश्यक रहेको हुनाले जेन–जी मुभमेन्ट अलायन्सले उनीहरुको राजीनामा माग गरेको हो ।
साथै, उनीहरुले अन्तरिम सरकारलाई खुला अवेदन प्रकृया मार्फत सबै योग्यता भएका तथा सक्षम नागरिकले आवेदन दिन सक्ने गरी निष्पक्ष नियुक्ती समिती गठन गरी रिक्त भएका आयोगका पदहरुका लागी नयाँ आयुक्तहरु नियुक्ती गर्न पनि अनुरोध गरेका छन् ।
मंगल ग्रहमा प्राचीन जीवनका सम्भावित संकेत भेटियो
काठमाडौं । मंगल ग्रहमा प्राचीन जीवनका सम्भावित संकेत भेटिएको एक नयाँ अध्ययनले सुझाएको छ । नासाको नेतृत्वमा गरिएको अनुसन्धानमा इम्पेरियल कलेज लन्डनका वैज्ञानिकहरूले महत्त्वपूर्ण सन्दर्भ उपलब्ध गराएका हुन् ।
अध्ययनले मंगलको जेझेरो क्रेटरमा रहेको ‘ब्राइट एन्जल’ संरचनामा खनिज र कार्बनिक पदार्थको उपस्थिति देखाएको छ । जसले ग्रहमा कहिल्यै बासयोग्य अवस्था र सूक्ष्मजीव प्रक्रियाहरू रहेको संकेत गर्दछ ।
अनुसन्धान टोलीका सदस्य प्रा.सञ्जीव गुप्ताले यो खोजलाई ‘जीवनका सम्भावित बायोसिग्नेचर’ भने पनि यसलाई प्रत्यक्ष जीवनको खोज ठान्न नमिल्ने बताएका छन् । ‘यसलाई सुनिश्चित गर्न, ढुंगाका नमूनालाई पृथ्वीमा ल्याएर थप विश्लेषण आवश्यक छ,’ उनले भने ।
नासाको मार्स २०२० मिसनअन्तर्गत २०२१ देखि जेझेरो क्रेटरमा रहेका पर्सेभेरेन्स रोभरले अनुसन्धान गरिरहेको छ । करिब ४५ किलोमिटर फराकिलो यो क्रेटर अतीतमा ठूलो ताल र नदी डेल्टाले भरिएको थियो भन्ने मानिन्छ, जसलाई जीवनका संकेत खोज्न प्रमुख स्थल मानिएको छ ।
पर्सेभेरेन्स रोभरको मुख्य उद्देश्य मंगलका ढुंगा र माटोका नमूना संकलन गरी भविष्यमा पृथ्वीमा ल्याई विस्तृत परीक्षण गर्नु हो । यस अध्ययनले मंगल ग्रहमा एक समय शान्त तालको वातावरण रहन सक्ने सम्भावनालाई अझ मजबुत पारेको छ ।(एएनआइ)
विपत्तिको बीचमा मुख्यमन्त्री काठमाडौँमा, प्रदेश सरकार सक्रिय रहेको दाबी
विराटनगर । लगातारको वर्षाले कोशी प्रदेशका विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएको छ। विशेष गरी इलाम जिल्लामा सबैभन्दा बढी मानवीय क्षति भएको छ ।
इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार, शनिवार राति सुतिरहेका बासिन्दा विपत्तिको मारमा परेर ३७ जनाले ज्यान गुमाएका छन्। प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार झापा, पाँचथर, मोरङ, उदयपुर र खोटाङ जिल्लामा पनि मृत्युका घटना भएका छन्।
प्रदेशभर हालसम्म ५ हजार ९२५ घरका २६ हजार ९८४ जना विस्थापित भएको प्रहरी तथ्यांकमा उल्लेख छ। धेरै जना घाइतेको उपचार भइरहेको छ भने केही अझै बेपत्ता रहेका छन्।
यसबीच, सबैभन्दा बढी क्षति व्यहोरेको प्रदेशकै मुख्यमन्त्री हिक्मत कुमार कार्की भने विपत्तिका समयमा काठमाडौँमै रहेका थिए।
प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री एवं सरकारका प्रवक्ता रेवती भण्डारीका अनुसार, हवाई उडान अवरुद्ध हुँदा मुख्यमन्त्री फर्कन नसकेको बताए।
भण्डारीले भने, “मुख्यमन्त्रीकै निर्देशन अनुसार हामी कार्यरत छौँ। जनप्रतिनिधि जनताको बीचमै छन् र राहत कार्य तीव्र रूपमा भइरहेको छ।”
उनका अनुसार, कोशी प्रदेश सरकारले तत्काल आवश्यक राहत सामग्री प्रभावित जिल्लामा पठाइसकेको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासँग समन्वय गरी उद्धार तथा राहत कार्य सञ्चालन भइरहेको पनि उनले जानकारी दिए।
भण्डारीले थपे, “हाम्रो मन्त्रालयले सबै १४ जिल्लाका विपद् व्यवस्थापन संयन्त्रसँग समन्वय गर्दै काम गरिरहेको छ। अप्रत्याशित क्षति भए पनि जोखिमा रहेका क्षेत्रमा केन्द्रित भएर प्रतिकार्य अघि बढाइएको छ।”
उनका अनुसार, पीडितको विस्तृत विवरण प्राप्त भएपछि राहत वितरण र पुनःस्थापनाको कार्य सुरु गरिनेछ, र मन्त्रालयका कर्मचारीहरूलाई आवश्यक सामग्री पठाउन तयारी अवस्थामा राखिएको छ।
बाढी पहिरोका कारण भएको क्षतिप्रति प्रधानमन्त्री कार्कीद्वारा दुःख व्यक्त
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भारी वर्षाका कारण इलामल गायतका स्थानमा भएको विपद् र जनधनको क्षतिप्रति दुःख व्यक्त गरेकी छन्।
सोमबार सामाजिक सञ्जालमार्फत उनले कठिन घडीमा, दिवङ्गत आत्माको चिरशान्तिको कामनासहित शोकसन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गर्दै राहत र उद्धारमा अहोरात्र खटिनुहुने सबैप्रति उच्च कदर गरेकी छन्।
उनले लेखेकी छिन,‘अत्याधिक वर्षाका कारण ईलाम लगायतका स्थानमा भएको विपद् र जनधनको क्षतिले मलाई दुखी तुल्याएको छ। यस कठिन घडीमा, दिवंगत आत्माहरूको चिरशान्तिको कामनासहित शोकसन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गर्न चाहन्छु। यस घडीमा, राहत र उद्धार कार्यमा अहोरात्र खटिनुहुने सबैको उच्च कदर गर्दछु। विपत्तिको सामना गर्ने क्रममा नेपाली जनताले देखाउनुभएको धैर्य र सहयोग सराहनीय छ, जसका लागि म हृदयदेखि धन्यवाद व्यक्त गर्न चाहन्छु। साथै प्रभावित क्षेत्रहरूमा राहत वितरण जारी रहेको जानकारी गराउँदछु।’
आज कोजाग्रत पूर्णिमा : दशैंलाई विदा, लक्ष्मीको स्वागत
काठमाडौं । बडादशैं पर्व सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित आजदेखि समापन हुँदैछ ।
आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडा दशैँ पर्व समापन हुन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको पनि आजै गर्नुपर्ने हुन्छ ।
अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि समाप्त हुने शास्त्रीय विधान छ । अखिल बलिपूर्ति गरेपछि आजै साँझ जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि पवित्र तीर्थस्थलमा लगी सेलाइन्छ ।
माता दुर्गाका तीनवटा रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भएपनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ ।
लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ । यो पूर्णिमालाई कौमुदी पनि भनिन्छ । महालक्ष्मीसँगै आज हात्तीमा चढेका इन्द्रको पनि पूजा गर्नुपर्छ ।
मापदण्ड अनुसार राहत र निःशुल्क उपचार गर्न निर्देशन
काठमाडौं । देशभर जारी लगातारको भारी वर्षाका कारण उत्पन्न मनसुनजन्य विपद्को प्रभाव न्यूनीकरण गर्न मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठक आइतबार बसेको छ । बैठकले विपद् व्यवस्थापन तथा प्रतिकार्यका लागि आठ वटा महत्वपूर्ण निर्णयहरू गरेको छ ।
असोज १७ देखि देशका विभिन्न स्थानमा परेको अविरल वर्षा र त्यसबाट भएका जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै बैठकले मृतकप्रति श्रद्धाञ्जली तथा पीडित परिवारप्रति समवेदना व्यक्त गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ ।
प्रतिकार्य कमाण्ड पोष्ट बैठकले स्थानीय तहसँग समन्वय गरी मृतकका परिवारलाई मापदण्डअनुसार राहत उपलब्ध गराउन र घाइतेहरूको निःशुल्क उपचार सुनिश्चित गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिने निर्णय गरेको छ ।
मनसुनजन्य विपद्बाट प्रभावित व्यक्तिहरुको खोज, उद्धार, राहत र पुनस्र्थापनाका कार्यलाई निरन्तरता दिने निर्णयसँगै प्रारम्भिक क्षति विवरण संकलन गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाउन समेत सम्बन्धित निकायहरूलाई आग्रह गरिएको छ ।
सडक, खानेपानी, विद्युत्, सञ्चारलगायत अत्यावश्यक सेवा पुनः सञ्चालन गर्न सम्बन्धित निकायहरूलाई तत्काल कदम चाल्न निर्देशन दिइएको छ ।
यस्तै, जोखिमयुक्त सडकमा रात्रीकालीन बस सेवा तत्काल बन्द गर्न र अत्यावश्यक सेवाका सवारी साधनको आवागमन स्थानीय प्रशासनको सिफारिसमा सञ्चालन गर्न सकिने निर्णय गरिएको छ ।
बैठकले विपद् व्यवस्थापनमा सक्रिय सुरक्षाकर्मी, जनप्रतिनिधि, स्वयंसेवक, गैरसरकारी संस्था, सञ्चारकर्मी तथा जनसमुदायप्रति आभार व्यक्त गरेको छ ।