तोकिएको समयमा निर्वाचन गरेर युवाको हातमा सत्ता सुम्पिन्छौं : प्रधानमन्त्री कार्की
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले युवा शक्तिको हातमा सत्ता सुम्पिनका लागि फागुन २१ गते आम निर्वाचन सम्पन्न गर्ने सम्पूर्ण तयारीमा जुटेको बताएकी छिन् । बिहीबार वसन्तपुरमा आयोजित २२औँ राष्ट्रिय ज्यापु दिवस समारोहलाई सम्बोधन गर्दै उनले घोषित मितिमा निर्वाचन सम्पन्न गर्ने लक्ष्यकासाथ सरकार सम्पूर्ण रुपले तयारीमा जुटेको बताउँदै यस अभियानलाई सफल पार्न सबै नेपालीको सहयोगको अपेक्षा राखिन् ।
उनले भनिन्,‘सरकारले आउँदो फागुन २१ गते आम निर्वाचन गराई युवा शक्तिको हातमा सत्ता सुम्पिएर मुलुकलाई तिव्र विकासको मार्गमा अग्रसर गराउनुपर्ने हाम्रो दायित्व हो । तसर्थ घोषित मितिमा निर्वाचन सम्पन्न गर्ने लक्ष्यकासाथ सरकार सम्पूर्ण रुपले तयारीमा जुटेको छ । यस अभियानलाई सफल पार्न सबै नेपालीको सहयोगको अपेक्षा गर्दछु ।’
त्यस्तै उनले जेनजी आन्दोलनसँगै घटेका घट्नाहरुबाट पाठ सिक्दै मुलुकको युवा शक्तिको मागपूरा गर्न सबैले कटिबद्ध भएर लाग्न जरुरी रहेको बताइन् । ‘भदौं २३ र २४ गतेको जेनजी आन्दोलनसँगै घटेका घट्नाहरुबाट पाठ सिक्दै मुलुकको युवा शक्तिले भ्रष्टाचारको अन्त्य, सुशासनको पुर्नस्थापना, आम नागरिकलाई रोजगारीको माग गरेको छ । ति चाहना पूरा गर्न सबैले कटिबद्ध भएर आ–आफ्नो ठाउँबाट लाग्न जरुरी छ,’उनले भनिन् ।
काठमाडौंमा परम्परागत चाडपर्व तथा संस्कृति प्रवद्र्धन गर्न गुठी तथा स्थानीय तहको भूमिका विशेष रहेको उनले धारणा राखिन् ।
मुख्यमन्त्री सरोज कुमार यादवले दिए राजिनामा
जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले राजीनामा दिएका छन्। बुधबार (आज) बसेको मधेश प्रदेश सभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहे पनि उनले बैठकमै आफ्नो धारणा राख्दै राजीनामाको घोषणा गरेका हुन्।
विश्वासको मत पाउने सम्भावना कमजोर देखिएपछि मत प्रयोजन सुरु हुनुअघि नै उनले पदबाट हट्ने निर्णय गरेका हुन्। मुख्यमन्त्री यादवले धारणा राखिरहँदा ७ राजनीतिक दलका सांसदहरू बैठकबहिरिएका थिए।
यादवले आफ्नो राजनीतिक प्रतिवेदनमा ती ७ दलको गतिविधि प्रति कडा आलोचना गर्दै भनेका थिए कि, आफू मुख्यमन्त्री बनेको समयदेखि नै उनीहरूले गरेका क्रियाकलापहरू “असंविधानिक, अराजक र अशोभनीय” छन्।
उनी आजै आफ्नाे राजीनामा पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाउने जानकारी दिएका छन्।
विवेकशील–साझा र रास्वपाबीच एकता, मङ्सिर १४ मा घोषणासभा
काठमाडौं । विवेकशील–साझा पार्टीसँग एकीकरण गर्ने प्रस्ताव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिले स्वीकृत गर्दै आगामी मङ्सिर १४ गते राष्ट्रिय सभागृहमा ‘एकता घोषणासभा’ आयोजना गर्ने निर्णय गरेको छ।
रास्वपाको शुक्रबार साँझ बसेको विशेष भर्चुअल बैठकले विवेकशील–साझा पार्टीसँग आइतबार राष्ट्रिय सभागृहमा ‘एकता घोषणासभा’ आयोजना गर्ने निर्णय गरेको हो।
रास्वपा प्रवक्ता मनिष झाका अनुसार बैठकले असल शासन र समृद्धिसँग सम्बद्ध, सुसंस्कृत तथा परिवर्तनकामी सबै राजनीतिक शक्तिसँग मुद्दागत र सांगठनिक सहकार्यका पृथक विधि अवलम्बन गर्दै संवाद प्रक्रियालाई अझ सुदृढ बनाउने निर्णय छ। यसैअनुरूप केन्द्रीय समितिले राष्ट्रिय स्वतन्त्र पार्टीको ‘उच्च संवाद समिति’लाई दिएको निर्देशनका आधारमा पार्टी सचिवालयले गठन गरेको संयन्त्र ‘सङ्घीय नेतृत्व मञ्च’ लाई पनि अनुमोदन गरिएको उनले जानकारी दिए।
०८२ को मंसिर भित्रै महाधिवेशन गरौं भन्ने डा. शेखर कोइराला मात्रै हुन् : उपसभापति गुरुङ
विराटनगर । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीभित्र हाल उठिरहेको महाधिवेशनसम्बन्धी बहसबारे टिप्पणी गर्दै २०८२ मंसिरभित्रै महाधिवेशन हुनुपर्छ भन्ने स्पष्ट माग डा. शेखर कोइरालाले मात्र गरेको दाबी गरेका छन् ।
नेपाल वित्तीय संस्था कर्मचारी संघ, कृषि विकास बैंक केन्द्रीय समितिको आठौं परिषद् सभालाई विराटनगरमा सम्बोधन गर्दै उनले भदौ २२ गतेअघिसम्म केन्द्रीय समितिमा कसैले महाधिवेशन समयमै गर्नुपर्ने कुरा नउठाएको र पदावधि बढ्ला कि भन्ने आशामा सबै मौन बसेको बताए ।
जेनजी आन्दोलनपछि पार्टीभित्र अचानक बहस बढेको उल्लेख गर्दै उनले महाधिवेशन समयमै गर्ने कुरा अघि उठेको भए त्यो जायज मानिन सक्ने धारणा राखे । गुरुङले सिंहदरबारसहित संरचना जलाउने तत्त्वलाई जेनजी आन्दोलनसँग जोड्नु गलत भएको उल्लेख गर्दै देशमा अस्थिरता सिर्जना गर्ने समूह सक्रिय रहेको दाबी गरे । उनले २०६२ सालअघि ग्रामीण जीवनका कठिनाइ स्मरण गर्दै पछिल्ला वर्षमा सडक, टेलिफोन र पूर्वाधार विकास भए पनि नकारात्मकता मात्र फैलाउनेहरू सक्रिय रहेको बताए ।
वर्तमान निर्वाचन प्रणालीले देशलाई निकास नदिने भन्दै उनले संविधान संशोधन नगरी निर्वाचनमा जान नहुने तर्क प्रस्तुत गरे । जेनजी आन्दोलनपछि प्रहरीको मनोबल कमजोर भएको र यस्तो अवस्थामा निर्वाचन सम्भावना न्यून रहेको उल्लेख गर्दै उनले सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा जोड दिए ।
यसैबीच, कांग्रेस–सम्बद्ध एनटियुसीले कात्तिक २१–२२ को बैठकपछि १६ बुँदे धारणा सार्वजनिक गरेको र विराटनगरमा राष्ट्रिय भेला आयोजना गरेर ट्रेड युनियन अधिकार खोस्ने प्रयास भए एनटियुसी अग्रसर हुने चेतावनी महासचिव अजयकुमार राईले दिएका छन् । उनले विदेशमा रहेका श्रमिकले आफ्नो कार्यस्थलबाटै आगामी निर्वाचनमा मताधिकार पाउनुपर्ने मागसमेत राखे ।
गाउँमै उद्यम गर्ने एक दम्पतीको उदाहरणीय प्रयास
रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–४ प्रीतिका एक दम्पती आफ्नो सीप र श्रमबाट गाउँमा नै उद्यम सिर्जना गर्न निरन्तर लागेका छन् । प्रीतिका गुञ्जनबहादुर सार्की र उनकी पत्नी मिना सार्कीले आफ्नो पुर्खाले गर्दै आएको परम्परागत जुत्ता बनाउने पेसालाई आधुनिकीकरण गर्दै गाउँमा जुत्ता–चप्पल र ब्याग उद्योग सञ्चालन गर्दै आएका छन् ।
गाउँमा नै बसेर केही गरौँला भनेर लागेको यो जोडीले काठमाडौंका उद्योगबाट आउने भन्दा पनि गुणस्तरीय र राम्रो फिनिसिङ सहितको सामान उत्पादन गरिरहेको छ । उद्योग पनि विस्तार भएको छ ।
अहिले १० वटा मेसिन छन् । उत्पादित सामानको बजार भने समस्या छ । सामान बजारमा जाने हो भने ठुलै परिमाणमा उत्पादन गर्न सक्ने अवस्थामा आफूहरू पुगेको मिना बताउँछिन् । ‘सामान उत्पादन गर्न सकिन्छ, तर बजार खोज्न सकिएन, हामीलाई बजारकै समस्या भयो’, उनले भनिन् ।
अहिले उत्पादित जुत्ता र ब्याग स्थानीय स्तरमा मात्रै बिक्री हुने गरेको उनले बताइन् । सो कारखानामा छालाका पार्टी तथा स्कूल जुत्ताहरू, स्पोर्ट सुज, विभिन्न डिजाइनका लेडिज जुत्ता, चप्पलका साथै ब्याग समेत उत्पादन हुने गर्दछ । २०७५ सालदेखि कारखानाबाट नियमित रूपमा जुत्ता, चप्पल र ब्याग उत्पादन हुँदै आएको छ ।
अहिले कारखानामा परिवारका सदस्यहरूले नै काम गर्दै आएका छन् । गुञ्जसँगै पत्नी मिना पनि डिजाइन र सिलाइको सबै काम गर्छिन् । छोराछोरीले पनि भ्याएको बेलामा काममा सहयोग गर्दै आएका छन् ।
पर्याप्त बजार हुने हो भने ठूलो स्केलमा उत्पादन पनि गर्न सकिने र अन्यलाई पनि रोजगारी दिन सकिने मिना बताउँछिन् । ‘हामीले बजार नै व्यवस्थापन गर्न सकेनौँ, त्यस कामको लागि सहयोग चाहिएको छ, कम्तीमा रामेछापको सदरमुकाम मन्थली र दोलखाको चरिकोटकाका व्यापारीले मात्रै हाम्रो सामान लिइदिने हो भने भनि हामीलाई ठुलो सहयोग हुन्थ्यो, हामी काठमाडौंको भन्दा अझ कम मूल्यमा त्यहाँको भन्दा गुणस्तरीय सामान दिन सक्छौँ’, उनले भनिन् ।
एउटा परिवारको मात्र उद्योग बनेको कारखानाको उत्पादनलाई बजारीकरणमा सरोकारवालाले सहयोग र सहजीकरण गरिदिने हो भने उद्योग प्रवर्धनमा सहयोग भई बाहिर जाने पैसा गाउँमा पुग्ने र रोजगारी प्रवर्धनमा पनि सहयोग पुग्ने देखिन्छ ।
कोशी एक्सिलेंस अवार्ड–२०२६ : तीन नयाँ विधासहित तयारी सुरु
इटहरी । आगामी फागुन ७ गते इटहरीस्थित सोल्टी वेस्टेन्ड होटेलमा आयोजना हुने ‘कोशी एक्सिलेंस अवार्ड–२०२६’ का लागि तयारी औपचारिक रूपमा सुरु भएको छ।
कोशी प्रदेशकै सबैभन्दा ठुलो र प्रतिष्ठित अवार्डका रूपमा स्थापित यो कार्यक्रम कोशी प्रदेशमा जन्मिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तित्वलाई सम्मानित गर्दै आएको छ।
आयोजकका अनुसार यस वर्ष अवार्डलाई अझ परिष्कृत, प्रभावशाली र राष्ट्रियस्तरमै आकर्षक बनाउन तीन नयाँ विधा थपिएको छ। कार्यक्रमको प्रस्तुति, व्यवस्थापन र सम्मान प्रक्रियामा समेत नवीनता ल्याइँदै अवार्डलाई देशभरबाटै ध्यान तान्ने स्तरमा उकास्ने तयारी गरिएको छ।
यो अवार्ड गतशाल नयन एड्भरटाइजिङ मिडिया प्रालिद्वारा सञ्चालित हुँदै आएको थियो। तर यस वर्षदेखि नवनिर्मित नयन मिडिया फाउन्डेशनमार्फत कार्यक्रम आयोजना हुने फाउन्डेसनका अध्यक्ष पवन अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। अध्यक्ष अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘हामीले अवार्डको संरचना, विधा विस्तार, निर्णायक छनोट प्रक्रिया र समग्र व्यवस्थापनलाई अझ बढी व्यवस्थित, पारदर्शी र मर्यादित बनाएका छौँ । यो अब कोशीको मात्र नभई नेपालकै प्रतिष्ठित अवार्ड बन्नेछ ।’
गत वर्ष शिक्षा, स्वास्थ्य, सञ्चार, साहित्य, पर्यटन, कृषि, कर्पोरेट, बैंकिङ, खेलकुद, सामाजिक, स्टार्टअप, टेक्नोलोजी, इन्स्योरेन्स लगायत करिब दर्जनभन्दा बढी विधामा अवार्ड प्रदान गरिएको थियो।
यस वर्ष भने अटोमोबाइल, सङ्गीत र क्यापिटल मार्केट नामका गरी तीन नयाँ विधा थपिएको छ। अघिल्लो वर्षकै कार्यक्रममा ती क्षेत्रका तर्फबाट अवार्ड समावेश गर्नुपर्ने माग बढेपछि विधा थपिएको फाउन्डेसनले जनाएको छ ।
अवार्डलाई थप विश्वासिलो, मर्यादित र राष्ट्रियस्तरको बनाउने उद्देश्यले उच्चस्तरीय निर्णायक समिति गठन गरिएको छ। नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर महाप्रसाद अधिकारीलाई प्रमुख सल्लाहकार र संविधानसभा सदस्य पवन शारडाको संयोजकत्वमा चार सदस्यीय निर्णायक मण्डल गठन गरिएको अध्यक्ष अधिकारीले बताए।
समितिले अवार्ड प्राप्तकर्ता छनोट प्रक्रियालाई तीव्र र पारदर्शी ढङ्गले अघि बढाइरहेको जनाएको छ। कोशी प्रदेश सरकारले ‘भ्रमण वर्ष–२०८२’ को तयारीलाई अघि बढाइरहेको सन्दर्भमा अवार्ड कार्यक्रमले प्रदेशको पर्यटन, व्यापार र सामाजिक–सांस्कृतिक पहिचान प्रवर्धनमा महत्त्वपूर्ण योगदान पु¥याउने आयोजकको विश्वास छ। अध्यक्ष अधिकारीका शब्दमा—‘यो कार्यक्रमले व्यापारसँगै पर्यटन प्रवर्धनमा पनि टेवा पु¥याउनेछ। कोशी पर्यटनलाई राष्ट्रिय स्तरमै चिनाउने हाम्रो लक्ष्य छ।’
गत वर्षका अवार्ड विजेताहरू
शिक्षा : प्राडा टङ्क न्यौपाने
स्वास्थ्य : ज्ञानेन्द्रमान सिंह कार्की
साहित्य : झमककुमारी घिमिरे
बैंकिङ : ज्ञानेन्द्र ढुङ्गाना (तत्कालीन सिइओ, नबिल बैंक)
पर्यटन : भविष श्रेष्ठ
कर्पोरेट : महेश जाजु
आइटी : राजन लम्साल
स्टार्टअप : आयुष भगत
कृषि उद्यम : शान्ता बास्कोटा
सामाजिक अभियन्ता : गीता गौतम
खेलकुद : दिलिप राई
पत्रकारिता : विष्णु निस्ठुरी
त्यस्तै विशेष योगदानकर्तामध्ये— पूर्व गर्भनर महाप्रसाद अधिकारी, नेपालकै पहिलो महिला मुख्यसचिव लीला गडतौला, टाइम्स पब्लिकेशनका सिइओ पुरुषोत्तम दाहाल, मजदुर नेता भीमराई ज्वाला, पर्यटनकर्मी सुनिल भुसाल, माया घर नेपाल, कामधेनु दुग्ध विकास सहकारी लगायत अन्य व्यक्तित्व तथा संस्थालाई विशिष्ट सम्मान प्रदान गरिएको थियो।
गत वर्षको कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिकमतकुमार कार्की, मन्त्रीहरू, प्रदेश सचिव, स्थानीय जनप्रतिनिधि तथा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
यस वर्षको कार्यक्रमलाई प्रदेश–मात्र नभई राष्ट्रिय स्तरमै प्रभावशाली बनाउने लक्ष्यसहित तयारी अघि बढाइएको आयोजकले जनाएको छ। कार्यक्रमको व्यवस्थापन इटहरीस्थित काफल्सले गरिरहेको छ।
अवार्ड कार्यक्रम एक राष्ट्रिय टेलिभिजन र कोशी प्रदेशका तीन टेलिभिजनसहित विभिन्न अनलाइन पोर्टलमार्फत एकैसाथ प्रत्यक्ष प्रसारण गरिने आयोजकले जनाएको छ।
जेनजीआन्दोलनले नेपाली राजनीतिको चेतना खोलिदिएको छ : सन्तोष परियार
काठमाडौँ । प्रगतिशीललोकतान्त्रिक पार्टीका नेता सन्तोष परियारले जेनजीआन्दोलनले नेपाली राजनीतिको चेतनाखोलिदिएको बताएका छन् । आइतबार प्रगतिशीललोकतान्त्रिक पार्टीको एकता सभामाबोल्दै उनले समावेशीबनाउननसक्दाकुनतहको आन्दोलन र विद्रोह हुन सक्दो रहेछ भन्ने कुरा जेनजीआन्दोलनले प्रमाणित गरेको बताएकाहुन् ।
‘जेनजीआन्दोलनले समकालिन नेपाली राजनीतिको चेतनाखोलिदिएको छ । समावेशीबनाउननसक्दा पुस्तौपुस्तालाई हामीले छोड्दाखेरी कुनतहको आन्दोलन हुन सक्दो रहेछ भन्ने कुरा भदौं २३ र २४ को आन्दोलनले प्रमाणित गरेको छ ।’
त्यस्तै उनले आजको घोषणासभा कुनै एउटा पार्टी बनाउने मात्रनभई देश संकटको घडीमा भएको अवस्थामा सबै लोकतान्त्रि,प्रगतिशीलहरु र राष्ट्रको चिन्तागर्नेहरु एकठाउँमा आउनेदिनभएको बताए ।
उनले भने,‘आजको यो घोषणासभा कुनै एउटा पार्टी बनाउने मात्रहोइन् । यो संकटको घडीमा सबै लोकतान्त्रि,प्रगतिशीलहरु र यो राष्ट्रको चिन्तागर्नेहरु र राष्ट्र बचाउनुपर्छ भन्नेहरु एकठाउँमा आउनेदिनहो ।’
त्यस्तै उनले संविधानप्रदत्तलोकतान्त्रिकअधिकार खोसिने हो कि भन्ने खतरा रहेको बताउँदै संविधानमाथिपनि धेरै संकट मुर्झाएकोधारणा राखे । आफ्नो पुस्ताको सबैभन्दा ठुलो चुनौतीभनेकै राज्यको गुमेको विश्वास फर्काउने रहेको उनको भनाई छ ।
सुदन गुरुङको धम्कीपूर्ण व्यवहारप्रति श्रेष्ठको आपत्ति
रौतहट । बारा क्षेत्र नम्बर ४ को निवर्तमान प्रतिनिधि सभा सदस्य कृष्ण कुमार श्रेष्ठ (किसान) ले आफ्ना कर्मचारी तथा कामदारप्रति भएको धम्कीपूर्ण व्यवहारको आपत्ति व्यक्त गरेका छन् ।
उनले सामाजिक संजाल फेसबुकमा जितपुरसिमरा उपमहानगरपालिका–४ औराहास्थित आफ्नो जलेको घरमा सुदन गुरुङ प्रवेशगरी धम्कीपूर्ण व्यवहार गरेको लेखेका छन् ।
भदौ २४ गते जलाइएको घर पुनर्निर्माण गरिरहेका आफ्ना कर्मचारी तथा कामदारलाई धम्क्याउँदै फेरि जलाउँछु भन्ने चेतावनी दिएको श्रेष्ठले सामाजिक संजालमा उल्लेख गरेका छन् ।
मंसिर ३ र ४ मा सिमरामा भएका घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । एमाले नेता श्रेष्ठले जेनजीका नाममा भइरहेको आतंक रोकी शान्ति सुरक्षाको प्रत्याभूति दिन सरकारसमक्ष माग गरेका छन् । उनले सिमरा घटनाका घाइतेहरूको उपचारको उचित व्यवस्था मिलाउन पनि सरकारसँग माग समेत गरेका छन् ।
जसपा-कम्युनिष्ट एकताको चर्चा 'भ्रामक': अध्यक्ष राई
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय अध्यक्ष अशोककुमार राईले आफ्नो पार्टी र नेपाली कम्युनिष्ट पार्टी बीच 'एकताका लागि सबै कुरा मिलिसकेको र हस्ताक्षर मात्र बाँकी रहेको' भन्ने चर्चा भ्रामक रहेको स्पष्ट पारेका छन् ।
अध्यक्ष राईले आज आफ्नो फेसबुकमार्फत एक सन्देश जारी गर्दै ती चर्चाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै पार्टी एकताको कुनै प्रकारको सहमति नभएको जनाएका हुन् ।
“पार्टीको औपचारिक निर्णय बिना कुनै पनि व्यक्तिको निजी इच्छा वा धारणाको आधारमा पार्टी एकता सम्भव हुँदैन,” उनले फेसबुक सन्देशमा स्पष्ट पारेका छन्।
अध्यक्ष राईले पार्टीभित्र आवश्यक छलफल र निर्णय प्रक्रिया पूरा नगरी सार्वजनिक गरिएका यस्ता अभिव्यक्तिहरूले कार्यकर्ता तथा समर्थकहरू माझ भ्रम सिर्जना गर्न खोजेको र पार्टीभित्र विभाजनको वातावरण पैदा गर्न खोजिएको भन्दै आपत्ति प्रकट गरेका छन् ।
उनले अनधिकृत रूपमा यस्ता विषयहरू सार्वजनिक गर्ने कार्य नगर्न चेतावनी दिएका छन् ।
अध्यक्ष राईले जसपाका सम्पूर्ण सदस्य तथा समर्थकहरूलाई एकता, अनुशासन र स्पष्टताका साथ काम गर्न अपिल गरेका छन् ।
औपचारिक निर्णय नभएका विषयमा भ्रम छर्ने कार्यबाट टाढा रहन आग्रह गर्दै उनले जसपा आफ्ना सिद्धान्त र प्रक्रियामा दृढतापूर्वक अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
मन्त्रीपरिषद् जनजाति समुदायका प्रतिनिधिको नाम अस्वीकार गरिनु राम्रो संकेत होइन्’
काठमाडौं । आदिवासी जनजाति आयोगको अध्यक्ष रामबहादुर थापामगरले वर्तमान मन्त्रीपरिषद् निर्माणमा आदिवासी जनजाति समुदायको प्रतिनिधिको नाम अस्वीकृत गरिएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
मंगलबार जेनजी आन्दोलन र आदिवासी जनजातिको सरोकार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले मन्त्रीपरिषद् निर्माणमा आदिवासी जनजाति समुदायको प्रतिनिधिको नाम अस्वीकृत गरेर राज्यले जुन व्यवहार देखायो त्यसले बलिदानको संघर्षमा अग्रपङ्क्तिमा रहेका आदिवासी जनजाति समुदाय राज्यव्यवस्था परिवर्तनबाट आएको प्रतिफलबाट सँधै पछि छ भन्ने पुष्टि गरेको बताए ।
उनले भने,‘राज्यसत्ताको दमन र उत्पीडनको विरुद्ध आदिवासी जनजाति समुदायले आफ्नो पहिचान र प्रतिनिधित्वको लागि विभिन्न संघर्ष र आन्दोलन गरे । सडकदेखि सशस्त्र सङ्घर्षसम्म गरे । राज्यव्यवस्था परिवर्तन र सुशासनको हरेक आन्दोलन र सङ्घर्षमा यो समुदाय अग्रपङ्क्तिमा रहेर बलिदान गर्यो । भर्खरै भएको जेनजी आन्दोलनमा भएका शहीदमध्ये दुई तिहाइभन्दा बढी आदिवासी जनजाति समुदायको रहेको तथ्यले यसैलाई पुष्टि गर्दछ । तर, विडम्बना, राज्यको व्यवस्था र अवस्था परिवर्तनको आन्दोलन र बलिदानको सङ्घर्षमा अग्रपङ्क्तिमा रहेका आदिवासी जनजाति समुदाय राज्यव्यवस्था परिवर्तनबाट आएको प्रतिफलबाट सँगै पछि रह्यो । राज्यको यो व्यवहार वर्तमान मन्त्रीपरिषद् निर्माणमा आदिवासी जनजाति समुदायकै प्रतिनिधिको नाम अस्वीकृत भएको उदाहरणले पुष्टि गरेकै छ ।’
नेपालको संविधानमा धेरै विषय राम्रो हुँदाहुँदै पनि यसको कार्यान्वयन पक्षसँग असन्तुष्टि व्यक्त गर्दै राज्यव्यवस्था भन्दा पनि नेपाली जनताको कष्टकर अवस्था परिवर्तनको लागि जेनजी आन्दोलन भएको भन्दै उनले यथास्थितिको राज्य व्यवस्था विरुद्ध जनताद्धारा गरिने हरेक आन्दोलन प्रगतिशील नै हुन्छ भन्ने मान्यता रहेको बताए ।
उनले जनप्रतिनिधि नभएको अवस्थामा सरकारलाई जनसमुदायबाट निरन्तर निगरानी गर्न सकिएन भने परिणाम उल्टो आउने सम्भावना रहेको भन्दै यसको लागि आयोग निरन्तर निगरानी गरिरहेको र गरिरहने प्रतिबद्धता व्यक्त गरे ।
जेनजी आन्दोलनले उठाएको भ्रष्टाचार, बेथिति र नेपोटिजमको विरुद्धको आवाजलाई आयोगको समर्थन रहेको उनको भनाई छ । कार्यक्रममा सरोकारवाला साथै जेनजी पुस्ताका प्रतिनिधिलगायतले आदिवासी जनजातिप्रति राज्यको दृष्टिकोणमा परिवर्तन जरुरी रहेको औँल्याएका थिए ।