कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
काठमाडौं । जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलन सम्बन्धी जाँचबुझ गर्न गठित कार्की आयोगको प्रतिवेदन हालसम्म सार्वजनिक नगरिएको भन्दै गम्भीर आपत्ति जनाएको छ ।
जेनजी मुभमेन्ट नेपालले मंगलबार (आज) जारी गरेको प्रेस वक्तव्यमा प्रतिवेदन सार्वजनिक नगर्नु पारदर्शिता, उत्तरदायित्व र सुशासनको सिद्धान्तविपरीत भएको आरोप लगाइएको छ ।
‘देशको राजनीतिक नयाँ दिशाबोध गर्ने विश्वास गरिएको उक्त प्रतिवेदन लुकाएर राख्नु स्वीकार्य हुन सक्दैन,’ वक्तव्यमा उल्लेख गरिएको छ ।
आन्दोलनले सरकारमाथि राज्यसत्ताको दुरुपयोग भएको गम्भीर आरोप लगाउँदै सत्यतथ्य सार्वजनिक गर्ने जनअधिकारबाट नागरिकलाई वञ्चित गरिएको दाबी गरेको छ ।
जेनजी मुभमेन्ट नेपालले सरकारलाई यही १३ गतेभित्र प्रतिवेदन सार्वजनिक गर्न अल्टिमेटम समेत दिएको छ । उक्त समयसीमाभित्र माग पूरा नभए शीतल निवास घेराउसहित सशक्त आन्दोलन गर्ने चेतावनी दिइएको छ ।
वक्तव्यमा आन्दोलनका क्रममा उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवारी सरकार स्वयंले लिनुपर्ने उल्लेख गरिएको छ ।
आन्दोलनले लोकतान्त्रिक मूल्य–मान्यता र जनअधिकारको रक्षा गर्न निरन्तर प्रतिबद्ध रहने बताउँदै आवश्यक परे थप कडा कदम चाल्ने चेतावनी पनि दिएको छ ।
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
काठमाडौं । अमेरिका र इरानबीचको विरोधाभासपूर्ण बयानबाजीका कारण सोमबार अन्तर्राष्ट्रिय ऊर्जा बजारमा व्यापक अस्थिरता देखिएको छ । कच्चा तेल र प्राकृतिक ग्यासको मूल्यमा एकै दिनमा भारी गिरावट र पुनः वृद्धि देखिएपछि लगानीकर्ताहरूमा अन्योल सिर्जना भएको छ ।
सोमबार कारोबारको सुरुवाती समयमा मध्यपूर्वमा बढ्दो तनावका कारण ब्रेन्ट क्रुडको मूल्यप्रति ब्यारेल ११३ अमेरिकी डलर नाघेको थियो । तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग अघिल्लो दुई दिनमा धेरै राम्रो र फलदायी कुराकानी भएको र इरानी पावर स्टेशनहरूमा गर्ने भनिएको आक्रमण पाँच दिनका लागि पछि सारिएको बताएपछि बजारमा नाटकीय परिवर्तन आयो ।
ट्रम्पको बयानलगत्तै लण्डनमा कारोबार हुने ब्रेन्ट क्रुडको मूल्य १० प्रतिशतभन्दा बढीले घटेर प्रति ब्यारेल १०० डलरभन्दा तल झरेको थियो । तर, यो राहत धेरै समय टिक्न सकेन ।
इरानले अमेरिकासँग कुनै पनि प्रकारको वार्ता वा सम्पर्क भएको कुरालाई तुरुन्तै खण्डन गरेपछि बजार फेरि तातियो । इरानको खण्डनपछि ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल १०५ डलरसम्म पुग्यो र अन्त्यमा १०१ डलर आसपासमा रहेर कारोबार भयो ।
त्यस्तै, अमेरिकी बजारमा वेस्ट टेक्सास इन्टरमिडिएट क्रुडको मूल्य पनि प्रति ब्यारेल ९८ डलरबाट घटेर ८४.३७ डलरसम्म पुगेको थियो ।
तेलसँगै युरोपेली प्राकृतिक ग्यासको मूल्यमा पनि यस्तै उतारचढाव देखियो । युरोपको बेन्चमार्क मानिने डच ‘टीटीएफ’ अप्रिल ग्यास फ्युचर्सप्रति मेगावाट–घण्टा ६३ युरोबाट घटेर ट्रम्पको बयानपछि ५४ युरोमा झरेको थियो । तर इरानको खण्डनपछि यो पुनः ५६ युरो आसपास पुग्यो ।
मुद्रास्फीतिको जोखिम
बजार विश्लेषकहरूका अनुसार ऊर्जा बजार अहिले पूर्ण रूपमा भू–राजनीतिक घटनाक्रममा निर्भर छ । अमेरिका र इरानबीचको यो खिचातानीले गर्दा आउने दिनमा मूल्य अझै अस्थिर रहने देखिएको छ ।
यदि यो तनाव बढ्दै गएमा ऊर्जा आयातमा बढी निर्भर रहेका मुलुकहरू, विशेषगरी युरोपेली अर्थतन्त्रहरूले चर्को महँगी (मुद्रास्फीति) को सामना गर्नुपर्ने चेतावनी विज्ञहरूले दिएका छन् । तेल र ग्यासको मूल्य बढ्दा आयातित वस्तुको लागत बढ्ने र यसले विश्वव्यापी अर्थतन्त्रमै दबाब सिर्जना गर्ने देखिन्छ । सीसीटीभी
इलामको सन्दकपुरमा ‘रेडपाण्डा महोत्सव’ हुँदै, विश्वभरका पर्यटक भित्र्याउने लक्ष्य
काठमाडौं । पूर्वी नेपालको प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुर गाउँपालिकामा तेस्रो ‘रेडपाण्डा महोत्सव’ आयोजना हुने भएको छ । यही चैत २० गतेदेखि २३ गतेसम्म सञ्चालन हुने महोत्सवले दुर्लभ वन्यजन्तु रेडपाण्डाको संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
सोमबार काठमाडौंमा एक अन्तरक्रिया एवम पत्रकार भेटघाटको कार्यक्रमको आयोजना गरी महोत्सवका विषयमा जानकारी गराइयो । कार्यक्रममा महोत्सव आयोजक समितिका संयोजक सनम राईले महोत्सवको उद्देश्य रेडपाण्डा लगायतका लोपोन्मुख वन्यजन्तुको संरक्षणबारे जनचेतना अभिवृद्धि गर्नु तथा क्षेत्रीय पर्यटनलाई प्रवद्र्धन गर्नु रहेको जानकारी दिए ।
महोत्सव विशेषगरी ‘रेडपाण्डा ट्रेल’ मा आधारित पदमार्ग पर्यटनलाई केन्द्रमा राखेर आयोजना गर्न लागिएको उनले जानकारी दिए ।
४० किलोमिटर लामो रेडपाण्डा पदमार्गले इलामको माईपोखरीदेखि जौबारीसम्मका विभिन्न पर्यटकीय स्थललाई जोड्ने गर्दछ । यस मार्गमा रेडपाण्डासहित विभिन्न वन्यजन्तु, चराचुरुङ्गी तथा जैविक विविधताको अध्ययन अवलोकन गर्न सकिने व्यवस्था रहेको कार्यक्रममा जानकारी गराइयो ।
महोत्सव अवधिमा पर्यटकहरूले सन्दकपुर डाँडाबाट सूर्योदय र सूर्यास्तको अवलोकन, हिमश्रृंखलाको मनोरम दृश्य, जङ्गल सफारी, स्थानीय संस्कृति तथा परिकारको अनुभव लिन पाउनेछन्। साथै, माईपोखरी जस्ता रामसार सूचीमा सूचीकृत क्षेत्रको अवलोकन, चराचुरुङ्गी तथा वनस्पतिको अध्ययनजस्ता गतिविधि पनि समेटिने छन् ।
आयोजक सन्दकपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिल कुमार लिम्बुले महोत्सव सफल बनाउन विभिन्न सहयोगी संस्थाहरुसँग सहयोगको अपेक्षा गरिएको जानकारी दिए । उनले रेडपाण्डा अवलोकन गर्दै गाउँपालिकाभित्रका प्रमुख गन्तब्यहरुको प्रवद्र्धनमा महोत्सवले सहयोग पुर्याउने अपेक्षा गरिएको बताए । विगतका महोत्सवले पर्यटन विकासमा थप टेवा पुगेको जानकारी दिए ।
महोत्सवमा आन्तरिक तथा बाह्य गरी करिब १० हजार आन्तरिक तथा विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । सन्दकपुर क्षेत्र भारतसँग सिमाना जोडिएको हुँदा भारतीय पर्यटकको आगमन पनि उल्लेख्य रहने अपेक्षा गरिएको छ । महोत्सवमा विश्वभरका पर्यटकहरुलाई सन्दकपुर भ्रमण गर्न आब्हान गरिएको छ ।
कार्यक्रममा महोत्सव समितिका सदस्य केशव धौराली र सुजन तिम्सिनाले महोत्सवको महत्व र पालिका भित्रका गन्तब्य स्थलहरुका बारेमा जानकारी दिए । संचारकर्मी समेत रहेका तिम्सिनाले विश्वमै दुर्लभ मानिएको रेडपाण्डाको महत्व र पर्यटन प्रवद्र्धन गर्नुको औचित्यबारे प्रष्ट पारे ।
यसअघि आयोजना गरिएका रेडपाण्डा महोत्सवहरूले स्थानीय स्तरमा पर्यटन व्यवसाय विस्तार, रोजगारी सिर्जना तथा वातावरण संरक्षणप्रति जागरण ल्याउन सहयोग पुगेको जनाइएको छ । आगामी वर्षहरूमा पनि महोत्सवलाई निरन्तरता दिने योजना रहेको गाउँपालिकाले जनाएको छ ।
प्राकृतिक सौन्दर्य, हिमाली दृश्य, जैविक विविधता र सांस्कृतिक सम्पदाले भरिपूर्ण सन्दकपुर क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने लक्ष्यका साथ महोत्सव आयोजना गर्न लागिएको हो। कलाकार कृष्ण मल्लले सन्दकपुर र माइपोखरीको भ्रमण गर्न सबैलाई आब्हान गरे ।
पदमार्गमा आधारित पर्यटन महोत्सव यस वर्ष सन्दकपुर गाउँपालिका–४ को कालपोखरीमा महोत्सवको आयोजना हुने संयोजक राईले बताए । महोत्सवको मुख्य आयोजक सन्दकपुर गाउँपालिका हो । महोत्सवको मुख्य उद्देश्य लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको संरक्षण गरि पर्यटन प्रवद्र्धन गर्नु हो । पालिकाभित्रको रामसार क्षेत्र माईपोखरीबाट ढापपोखरी हुँदै जौबारी जोड्ने पदमार्गको प्रवद्र्धनका लागि महोत्सवका दुई संस्करण आयोजना भइसकेका छन् ।
११ करोड बढी खर्चमा ५ वर्षमा निर्माण भएको पदमार्ग क्षेत्रमा रेडपाण्डा सहितका वन्यजन्तु, सयौ प्रजातीका चराको अध्ययन गर्न पाइन्छ । १५ बढी पर्यटकीय गन्तव्य रहेको रेडपाण्डा पदमार्गबारे जानकारी दिने र पर्यटनको व्यापारमा महोत्सव केन्द्रित हुने गाउँपालिकाले जनाएको छ ।
चार दिनसम्म आयोजना हुने महोत्सव पुग्ने पर्यटकहरुले आदिवासी जनजातिको सस्कृति, सिमसार, पोखरीहरु, प्राकृतिक सुन्दरता, विश्वको अग्लो सगरमाथा सहित ६० बढी हिमश्रङ्खला, सयौँ प्रजातीका चराहरु, रेडपाण्डा सहितका लोपोन्मुख वन्यजन्तु अध्ययनसँगै पदयात्रा पनि गर्न पाउनेछन् ।
सामरी खोलामा मापदण्ड विपरीत उत्खनन, अनुगमनपछि कारबाहीको तयारी
हेटौंडा । मकवानपुरगढी गाउँपालिका क्षेत्रअन्तर्गत पर्ने सामरी खोलामा तोकिएको मापदण्ड विपरीत ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन भइरहेको गुनासो बढेपछि सरोकारवाला निकायले संयुक्त रूपमा स्थलगत अनुगमन गरेका छन् ।
स्थानीयवासीले लामो समयदेखि एक्स्काभेटर प्रयोग गरी भइरहेको तीव्र उत्खननले खोलाको स्वरूप बिग्रँदै गएको, पानी धमिलो भएको तथा वातावरणीय असर देखिन थालेको भन्दै गुनासो गर्दै आएका थिए ।
सोही आधारमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङतान तथा सुरक्षा निकायका प्रमुखसहितको टोलीले अनुगमन गरेको हो ।
अनुगमनका क्रममा खोलाको विभिन्न भाग निरीक्षण गर्दै भइरहेको उत्खनन, प्रयोग भएका उपकरण तथा मापदण्ड पालना अवस्थाबारे जानकारी लिइएको थियो । विशेषगरी गहिराइसम्बन्धी मापदण्ड उल्लङ्घन गम्भीर रूपमा देखिएको टोलीले जनाएको छ ।
प्रारम्भिक वातावरणीय परीक्षण आईई अनुसार अधिकतम एक मिटर गहिराइसम्म मात्र उत्खनन गर्न पाइने व्यवस्था भएपनि स्थलमै दुई मिटरभन्दा बढी गहिराइसम्म खनिएको भेटिएको प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिए। ‘तोकिएको मापदण्डभन्दा बढी गहिराइमा उत्खनन भएको देखियो, यो गम्भीर विषय हो,’ उनले भने ।
त्यस्तै, निरन्तर एक्स्काभेटर प्रयोगका कारण खोलाको पानी धमिलो बनेको, जलचरमा असर परेको तथा किनार कटान र बाढीको जोखिम बढ्ने सम्भावना रहेको स्थानीयले बताएका छन ्। तोकिएको परिमाणभन्दा बढी उत्खनन भइरहेको र नियमन कमजोर हुँदा स्रोतको जथाभाबी दोहन भइरहेको उनीहरूको गुनासो छ ।
गाउँपालिकाले वडा नम्बर ५ र ६ अन्तर्गत पर्ने सामरी खोलाबाट नदीजन्य पदार्थ सङ्कलनका लागि ठेक्का सम्झौता गरेको छ । हाल वडा नम्बर–६ को सोल्टीमोर क्षेत्रमा तीव्र उत्खनन भइरहेको छ । तर, ठेक्का सम्झौता तथा वातावरणीय मापदण्ड पूर्ण रूपमा कार्यान्वयन नभएको आरोप लाग्दै आएको छ ।
यस विषयमा प्रमुख जिल्ला अधिकारी अधिकारीले प्राविधिक नाप जाँचपछि मात्र वास्तविक उत्खननको परिमाण र मापदण्ड उल्लङ्घनको स्तर यकिन हुने बताए । ‘प्राविधिक टोलीले मापन गरेपछि मात्र स्पष्ट हुन्छ,’ उनले भने ।
अनुगमनबाट देखिएका प्रारम्भिक तथ्यका आधारमा आवश्यक कारबाही प्रक्रिया अघि बढाइने पनि उनले जनाए ।
गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतानले मापदण्ड कार्यान्वयनमा आफूहरू प्रतिबद्ध रहेको बताउँदै अनुगमन प्रतिवेदनका आधारमा सुधारका कदम चालिने र ठेक्का लिने पक्षले सम्झौता उल्लङ्घन गरे कारबाही गरिने स्पष्ट पारे ।
उता, भिजन कन्ट्रक्शनले भने गाउँपालिकाको मापदण्डअनुसार नै उत्खनन गरिएको दाबी गरेको छ। कम्पनीका अनुसार गाउँपालिकाले करिब ९९ हजार घनमिटर नदीजन्य पदार्थ उत्खनन गर्न ठेक्का दिएको छ, जसबाट ३ करोड १३ लाख रुपैयाँ राजश्व सङ्कलन हुने लक्ष्य राखिएको छ । सो रकममध्ये ७० प्रतिशत अर्थात् २ करोड १९ लाख १० हजार रुपैयाँ अग्रिम रूपमा जम्मा गरिसकेको कम्पनीले जनाएको छ भने बाँकी रकम वैशाखमा बुझाइने बताइएको छ ।
सामरी खोलामा भइरहेको उत्खननले प्राकृतिक स्रोतको दिगो व्यवस्थापन, वातावरण संरक्षण तथा स्थानीय तहको नियमन क्षमतामाथि प्रश्न उठाएको छ। अनुगमन टोलीले विस्तृत प्राविधिक प्रतिवेदन तयार पार्ने र सोही आधारमा थप निर्णय तथा कारबाही अघि बढाइने जनाएको छ ।
खाद्यान्नमा बढ्दो परनिर्भरताः आठ महिनामा २८ अर्बको चामल आयात, तरकारी र फलफूलको हिस्सा पनि ठूलो
काठमाडौं । पछिल्लो समय नेपालको खाद्यान्न आयातमा परनिर्भरता झन् बढ्दै गएको पाइएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनाको तथ्यांकअनुसार धान–चामल, मकै, स्याउ र तरकारी जस्ता दैनिक उपभोग्य वस्तुहरूको आयातमा अघिल्लो वर्षको तुलनामा उल्लेख्य वृद्धि भएको छ ।
भन्सार विभागको तुलनात्मक तथ्यांकअनुसार यस अवधिमा सबैभन्दा बढी आयात हुने खाद्य वस्तुमा चामल (धान, चामल र बासमतीसहित) अग्रस्थानमा रहेको छ । गत आर्थिक वर्ष २०८१/८२ को पहिलो आठ महिनामा २४ अर्ब ३६ करोड रुपैयाँको चामल आयात भएकोमा यस वर्ष १४.६ प्रतिशतले वृद्धि भई २७ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्षको तुलनामा ३ अर्ब ५५ करोड रुपैयाँले बढी हो ।
त्यस्तै, फलफूलतर्फ स्याउको आयातमा पनि १५.५ प्रतिशतको बढोत्तरी देखिएको छ । गत वर्ष ७ अर्ब २ करोडको स्याउ भित्रिएकोमा यस वर्ष ८ अर्ब ११ करोड रुपैयाँ बराबरको स्याउ आयात भएको छ । अन्न बालीअन्तर्गत मकैको आयात पनि ७ अर्ब ९० करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १ अर्ब २ करोड (१४.८ प्रतिशत) ले बढी हो ।
भान्सामा दैनिक प्रयोग हुने आलु र प्याजको आयात तथ्यांक पनि उस्तै चुनौतीपूर्ण छ । आठ महिनाको अवधिमा ६ अर्ब ७९ करोड रुपैयाँको आलु आयात भएको छ, जुन गत वर्षको तुलनामा १४.३ प्रतिशतले बढी हो । सबैभन्दा उच्च प्रतिशतको वृद्धि प्याजमा देखिएको छ । प्याजको आयात १९.७ प्रतिशतले बढेर ४ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ ।
यी तथ्यांकहरूले नेपाल कृषिप्रधान देश भएतापनि आधारभूत खाद्यान्नमा समेत विदेशी बजारमा निर्भर हुनुपर्ने अवस्थालाई थप प्रष्ट पारेका छन् । उत्पादन बढाउने सरकारी नीति र दाबीका बाबजुद आयातको ग्राफ उकालो लाग्नुले मुलुकको व्यापार घाटा न्यूनिकरणमा ठूलो चुनौती थपिएको छ । विशेषगरी चामल, मकै र तरकारी जस्ता वस्तुमा भएको यो वृद्धिले स्वदेशी उत्पादन र बजार व्यवस्थापनमा गम्भीर प्रश्न खडा गरेको छ ।
हर्मुज जलसन्धि अनिश्चितकालका लागि बन्द गर्ने इरानको धम्की
काठमाडौं । अमेरिका र इजरायलसँगको द्वन्द्व चौथो हप्तामा प्रवेश गरेसँगै इरानले विश्वकै महत्वपूर्ण व्यापारिक मार्ग मानिने हर्मुज जलसन्धि अनिश्चितकालका लागि बन्द गर्ने धम्की दिएको छ । इरानी सशस्त्र बलको मुख्यालयले यदि अमेरिकाले इरानको ऊर्जा सुविधाहरूमा बमबारी गरेमा प्रतिशोधस्वरुप जलसन्धि बन्द गर्ने चेतावनी दिएको हो ।
इरानी संसदका सभामुख मोहम्मद बाकर कालीबाफले अमेरिकालाई चेतावनी दिँदै यदि इरानको ऊर्जा पूर्वाधारमा आक्रमण भएमा यस क्षेत्रमा रहेका अमेरिकी सैन्य बजेट लगानी गर्ने वित्तीय संस्थाहरू र पूर्वाधारहरूलाई वैध निशाना बनाइने बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा लेख्दै भनेका छन,‘हाम्रो ऊर्जा केन्द्रमा प्रहार भएमा यस क्षेत्रका सबै तेल र ऊर्जा सुविधाहरू नष्ट गरिनेछ र तेलको मूल्य लामो समयसम्म उच्च रहनेछ ।’
उनले अमेरिकी ट्रेजरी बण्ड खरिद गर्नेहरूलाई समेत सचेत गराउँदै ती क्षेत्रमा निगरानी गरिरहेको उल्लेख गरेका छन् । यसअघि अमेरिकी राष्ट्रपतिले ४८ घण्टाभित्र हर्मुज जलसन्धि ढुवानीका लागि नखुलाइए इरानी पूर्वाधारमा बमबारी गर्ने चेतावनी दिएका थिए । अमेरिकी सेन्ट्रकमले अन्तर्राष्ट्रिय जहाज सञ्चालनमा बाधा पुरÞ्याउने इरानी नौसैनिक लक्ष्यहरूलाई नष्ट गरिरहेको जनाएको छ ।
यसैबीच, इजरायली रक्षा बल (आईडीएफ) ले सोमबार तेहरानका विभिन्न रणनीतिक स्थानहरूमा नयाँ चरणको हवाई आक्रमण सुरु गरेको छ । आईडीएफका अनुसार तेहरानमा रहेका सैन्य तालिम केन्द्र, मिसाइल भण्डारण गृह, हतियार उत्पादन स्थल र गुप्तचर मन्त्रालयको मुख्यालयमा क्षति पुरÞ्याइएको छ । इरानले इजरायलमा गरेको पछिल्लो ब्यालिस्टिक मिसाइल आक्रमणका कारण मध्य इजरायलमा १५ जना घाइते भएका छन् भने कैयौं घर र सडकमा क्षति पुगेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानलाई ‘सभ्यता र स्वतन्त्र विश्वको शत्रु’को संज्ञा दिँदै अमेरिका र इजरायलले इरानी आतंकवादी शासनविरुद्ध कडा शक्ति प्रयोग गरिरहने बताएका छन् ।
पछिल्लो समय विकसित यी घटनाक्रमले मध्यपूर्वमा ठूलो युद्धको खतरा बढाइदिएको छ, जसले विश्वको ऊर्जा आपूर्ति र आर्थिक स्थिरतामा गम्भीर असर पार्ने देखिएको छ ।
इरानलाई ट्रम्पको ४८ घण्टाको अल्टिमेटमः हर्मुज जलमार्ग नखोले विद्युत केन्द्र ध्वस्त पार्ने धम्की
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिँदै ४८ घण्टाभित्र हर्मुज जलमार्ग पूर्ण रूपमा र विना कुनै अवरोध नखोले इरानका विद्युत केन्द्रहरू ध्वस्त पारिदिने धम्की दिएका छन् । सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा आइतबार पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले भनेकाछन, ‘यदि इरानले अहिलेको समयबाट ठीक ४८ घण्टाभित्र हर्मुज जलमार्ग पूर्ण रूपमा खोल्दैन भने, संयुक्त राज्य अमेरिकाले इरानका विभिन्न विद्युत केन्द्रहरूमा आक्रमण गरी तिनलाई नामेट पारिदिनेछ, जसको सुरुवात सबैभन्दा ठूलो विद्युत केन्द्रबाट हुनेछ ।’
यता अमेरिकी सेन्ट्रल कमाण्डले पनि अमेरिकी नागरिक र छिमेकी राष्ट्रहरूविरुद्ध शक्ति प्रदर्शन गर्ने इरानको क्षमतालाई निस्तेज पार्नु नै आफूहरूको स्पष्ट सैन्य उद्देश्य रहेको बताएको छ । यसैबीच, इरानले पनि अमेरिका र इजरायललाई कडा जवाफ दिएको छ । इरानी रिभोलुसनरी गाड्र्सको एयरोस्पेस फोर्सका प्रमुख मेजर जनरल सैयद माजिद मुसावीले इरानले इजरायली आकाशमाथि क्षेप्यास्त्र प्रभुत्व कायम गरेको दाबी गर्दै अबका आक्रमणहरूले अमेरिकी र इजरायली कमाण्डरहरूलाई स्तब्ध बनाउने चेतावनी दिएका छन् ।
उनले इजरायलको दक्षिणी आकाश घण्टौंसम्म उज्यालो रहने भन्दै नयाँ प्रविधिका क्षेप्यास्त्र प्रहार गर्ने संकेत गरे । इरानी संसदका सभामुख एम.बी. कालीबाफले इजरायलको डिमोना जस्तो उच्च सुरक्षा भएको क्षेत्रमा समेत क्षेप्यास्त्र रोक्न असफल हुनुले इजरायली आकाश रक्षाहीन रहेको पुष्टि गरेको र युद्ध अब नयाँ चरणमा प्रवेश गरेको बताएका छन् । अर्कोतर्फ, इजरायली वायुसेनाले दक्षिणी शहर अरादमा ब्यालिस्टिक क्षेप्यास्त्र खसेको र आफ्नो रक्षा प्रणाली किन असफल भयो भन्नेबारे अनुसन्धान थालेको छ । इजरायली सञ्चारमाध्यमका अनुसार उक्त क्षेप्यास्त्र रोक्न गरिएका दुईवटा प्रयासहरू विफल भएका थिए । एएनआई
इरानमा स्थल सेना परिचालनका लागि अमेरिकी पेन्टागनको व्यापक सैन्य तयारी
काठमाडौं । अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले इरानमा सम्भावित स्थल सेना परिचालनका लागि व्यापक रणनीतिहरू तयार पारेको छ । विभिन्न स्रोतहरूलाई उद्धृत गर्दै सीबीएस न्यूजले जनाए अनुसार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इजरायलबीचको जारी द्वन्द्वका सन्दर्भमा थप सैन्य कदम चाल्ने सम्भावनालाई दृष्टिगत गर्दै उच्च सैन्य कमाण्डरहरूले पूर्व तयारीका लागि विशेष रणनीतिहरू अघि सारेका हुन् ।
राष्ट्रपति ट्रम्पले मध्यपूर्वमा स्थल सेना तैनाथ गर्ने विषयमा विचार गरिरहनुभएको भए तापनि कुन निश्चित परिस्थितिमा उनीहरूको प्रयोग गर्ने भन्नेबारे अहिलेसम्म ठोस निर्णय भने भइसकेको छैन । संवेदशनशील सैन्य योजना भएकाले यसबारे जानकारी दिने अधिकारीहरूले नाम गोप्य राखेका छन् ।
बिहीबार ओभल अफिसमा सञ्चारकर्मीहरूले सोधेको प्रश्नको जवाफ दिँदै राष्ट्रपति ट्रम्पले आफूले तत्काल कतै पनि सेना पठाउन नलागेको बताउनुभएको थियो । यद्यपि, उहाँले “यदि सेना पठाउने नै भए पनि आफूले सञ्चारमाध्यमलाई जानकारी नदिने“ स्पष्ट पार्नुभयो ।
यसै विषयमा ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले पेन्टागनको मुख्य जिम्मेवारी नै कमाण्डर–इन–चीफ (राष्ट्रपति) लाई जुनसुकै संकटको समयमा अधिकतम सैन्य विकल्पहरू प्रदान गर्नु रहेको बताउनुभएको छ । उहाँका अनुसार यी तयारीहरू हुनुको अर्थ अन्तिम निर्णय भइसकेको भन्ने होइन ।
यसैबीच, अमेरिकी सेनाले सम्भावित आक्रमणको समयमा इरानी सैन्य अधिकारी तथा अर्धसैनिक सदस्यहरूलाई नियन्त्रणमा लिने र उनीहरूलाई थुनामा राख्ने प्रक्रियाका विषयमा समेत आवश्यक छलफल र योजना बनाएको रिपोर्टमा उल्लेख छ । यस योजना अन्तर्गत पक्राउ परेका व्यक्तिहरूलाई कुन स्थानमा राख्ने र कसरी व्यवस्थापन गर्ने भन्ने प्राविधिक पक्षहरूमा समेत छलफल भएको छ ।
हाल अमेरिकाले आफ्नो ८२ औं एयरबोर्न डिभिजन, मरीन एक्सपिडिसनरी युनिट र ग्लोबल रेस्पोन्स फोर्सलाई यस क्षेत्रमा तैनाथ गर्नका लागि उच्च सतर्कतामा राखेको छ । हजारौंको संख्यामा मरीन कमाण्डोहरू अहिले मध्यपूर्वको दिशामा प्रस्थान गरिसकेका छन् ।
क्यालिफोर्नियाबाट करिब २,२०० मरीन सैनिक बोकेका तीनवटा नौसेनाका जहाजहरू भर्खरै प्रस्थान गरेका छन्, जुन द्वन्द्व सुरु भएयता पठाइएको दोस्रो यस्तै टोली हो । यी गतिविधिहरूले पेन्टागनले राष्ट्रपतिलाई सैन्य विकल्पहरू विस्तार गर्न र जारी द्वन्द्वका बीच उच्च स्तरको तयारी कायम राख्न खोजेको संकेत गर्दछ । एएनआई
इरानको आणविक भण्डार नियन्त्रणमा लिने रणनीतिमा ट्रम्प प्रशासन
काठमाडौं । डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले इरानको आणविक सामग्री सुरक्षित गर्ने वा नियन्त्रणमा लिने रणनीतिबारे आन्तरिक परामर्श गरिरहेको खबर सार्वजनिक भएको छ ।
अमेरिकी राज्य नियन्त्रित सञ्चारमाध्यमका अनुसार, इरान को आणविक भण्डार नियन्त्रणमा लिन सकिने सम्भावित विकल्पहरूबारे उच्चस्तरीय छलफल भइरहेको छ । यद्यपि, कुनै पनि सैन्य वा विशेष अपरेसनबारे अन्तिम निर्णय भने अझै गरिएको छैन र यसको समयसीमा पनि स्पष्ट छैन ।
रिपोर्टका अनुसार योजना मुख्यत विशेष सैनिक (स्पेशल फोर्स) प्रयोग गरेर लक्षित अपरेसन सञ्चालन गर्ने सम्भावनामा केन्द्रित छ । यस्तो अपरेसनमार्फत इरानको संवेदनशील आणविक सामग्री कब्जा गर्ने वा सुरक्षित स्थानमा सार्ने विकल्पमा छलफल भइरहेको जनाइएको छ ।
यदि यस्तो अपरेसन अघि बढाइयो भने, यसले प्रत्यक्ष सैन्य टकरावको खतरा बढाउने र क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बनाउने अनुमान गरिएको छ ।
मुस्ताङका उच्च भेगमा भारी हिमपात
मुस्ताङ । विगत केही दिनदेखिको लगातारको वर्षासँगै मुस्ताङका उच्च हिमाली क्षेत्रहरूमा भारी हिमपात भएको छ । हिजो शुक्रबारदेखि सुरु भएको हिमपातका कारण उपल्लो मुस्ताङ र मुक्तिनाथ क्षेत्रको तापक्रम ह्वात्तै घटेको हो ।
हिमपातका कारण विशेषगरी लोमान्थाङ, छोसेर, लोघेकर दामोदरकुण्ड र मुक्तिनाथ क्षेत्रका गाउँहरू प्रभावित भएका छन् ।
कागबेनी–कोरला सडक खण्डका कतिपय स्थानमा बाक्लो हिउँ जमेकाले सवारी साधन सञ्चालनमा कठिनाइ भएको छ । प्रशासनले पदयात्री र तीर्थयात्रीहरूलाई सतर्क रहन आग्रह गरेको छ ।
लामो समयको खडेरीपछि भएको यो हिमपातले स्याउ, जौ र आलु खेती गर्ने किसानहरूलाई भने उत्साहित बनाएको छ । हिउँले जमिनमा ओस कायम राख्ने र कीराहरू नष्ट गर्ने भएकाले उत्पादन बढ्ने आशा गरिएको छ ।
स्थानीय प्रशासनले उच्च हिमाली क्षेत्रमा यात्रा नगर्न र घरभित्रै सुरक्षित रहन सर्वसाधारणलाई सूचित गरेको छ ।


