आइतबार, २१ भदौ २०८३

/frontend/images/redline.png
https://www.jawaaf.com/storage/01M1RMNEDNPBF7Q6VWHXDTA9AW.jpg

बेत्रावतीबाट जीवित उद्धार गरिएकी महिलाको छाउनी अस्पतालमा उपचार हुँदै

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको ११औँ दिनमा नुवाकोटको बेत्रावती बजारबाट एक महिलाको जीवित उद्धार गरिएको छ ।

नुवाकोटको विदुर नगरपालिका–१० निवासी ६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई बेत्रावती बजारस्थित आनन्द श्रेष्ठको घरबाट सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले शनिबार उद्धार गरेको हो । उनलाई सेनाको हेलिकोप्टरमार्फत काठमाडौंस्थित छाउनी अस्पतालमा ल्याइएको शसस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता नरेन्द्र बहादुर कार्कीले जानकारी दिए । 

‘६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई उद्धार गरी उपचारका लागि छाउनी अस्पताल ल्याएका छौं । उहाँको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरुले जाँच गरिरहनुभएको छ,’ उनले भने । 

सशस्त्र प्रहरीका इन्सपेक्टर सुमन विकको कमान्डमा खटिएको टोलीले श्रेष्ठलाई अचेत अवस्थामा फेला पारेको थियो ।

भोटेकोशी बाढीको ११ दिनपछि पनि जीवित व्यक्तिको उद्धार हुनुले उद्धार अभियानमा आशाको अर्को किरण थपिएको छ ।

प्रकाशित मितिः शनिबार, २० भदौ २०८३
https://www.jawaaf.com/storage/01M1RCMQ7VX0STEA80JREVQXMJ.jpg

त्रिशूली–१ जलविद्युत् आयोजनाबाट एक चिनियाँ नागरिकको उद्धार

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–४ टनेलबाट एक जना चिनियाँ नागरिकको उद्धार गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार नेपाली सेना र दक्षिण कोरियाली विपद् विज्ञ टोलीले केहीबेरअघि टनेलभित्रबाट ती चिनियाँ नागरिकको सकुशल उद्धार गरेको हो । 

उद्धार गरिएका व्यक्तिलाई थप उपचार तथा स्वास्थ्य परीक्षणका लागि नुवाकोटको त्रिशूलीस्थित मैथिल ब्यारेकतर्फ ल्याइँदैछ । 

भोटेकोशी बाढी गएको ११ औँ दिनमा टनेलभित्र फसेका चिनियाँ नागरिकको उद्धार गरिएको हो । 

प्रकाशित मितिः शनिबार, २० भदौ २०८३
https://www.jawaaf.com/storage/01M1NMCSJKEZEPX31QK759686F.jpg

जीवितै उद्धार गरिएकामध्ये महर्जनको अवस्था जटिल, साहको अवस्था सामान्य

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जना कर्मचारीको शुक्रबार बिहान जीवितै उद्धार गरिएको छ ।

उद्धार गरिएकामध्ये एक जनाको अवस्था सामान्य र अर्का एक जनाको स्वास्थ्य अवस्था जटिल रहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ । 

जटिल अवस्थामा रहेका आयोजनाका मेकानिकल सुपरभाइजर कबीर महर्जनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत तत्काल काठमाडौं ल्याई छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरेर उपचार सुरु गरिएको छ । 

महर्जनलाई दोस्रो पटकमा सुरुङबाट बाहिर निकालिएको थियो । यसअघि सुरुमा उद्धार गरिएका मेकानिकल फोरम्यान सञ्जय साहको स्वास्थ्य अवस्था भने सामान्य तथा स्थिर रहेको छ ।

अवस्था सामान्य भएपनि स्वास्थ्यमा कुनै जटिलता नआओस् भनेर थप परीक्षण तथा निगरानीका लागि उनलाई पनि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमै ल्याइँदै छ ।

नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा प्राविधिक विज्ञहरूको संयुक्त टोलीले शुक्रबार बिहानै सुरुङभित्र जोखिमपूर्ण अपरेसन चलाएर उनीहरूको उद्धार गरेको हो ।

बाढीपछि आयोजनाको सुरुङभित्र कामदारहरू फसेको आशंका भएलगत्तै सुरक्षाकर्मीको टोलीले लगातार खोज तथा उद्धार कार्य जारी राखेको थियो । सुरुङभित्र अझै अन्य व्यक्तिहरू पनि फसेको हुनसक्ने आशंकामा संयुक्त टोलीले खोजी कार्यलाई निरन्तरता दिइरहेको छ ।  

प्रकाशित मितिः शुक्रबार, १९ भदौ २०८३
https://www.jawaaf.com/storage/01M1JPW582J1FXMQQKRK0NGHRM.png

साइबर ठगीविरुद्ध व्हाट्सएपको नयाँ कदम, थपियो उन्नत सुरक्षा सुविधा

काठमाडौं । व्हाट्सएपले प्रयोगकर्ताको अकाउन्ट ह्याक हुने जोखिम कम गर्न नयाँ सुरक्षा सुविधाहरू सार्वजनिक गरेको छ । कम्पनीले अकाउन्ट टेकओभर, फिसिङ र अन्य अनलाइन ठगीबाट जोगाउन थप बलियो सुरक्षा उपाय ल्याएको जनाएको छ ।

नयाँ अपडेटअन्तर्गत अब प्रयोगकर्ताले दुई–चरणीय प्रमाणीकरणमा प्रयोग हुने ६ अंकको पिनको सट्टा अक्षर, अंक र विशेष चिन्ह समावेश भएको लामो पासवर्ड राख्न सक्नेछन् । यसले पासवर्ड अनुमान गर्न अझ कठिन बनाउने कम्पनीको विश्वास छ । त्यसैगरी, अब एउटै व्हाट्सएप अकाउन्टमा एकभन्दा बढी पासकी थप्न सकिने सुविधा पनि उपलब्ध हुनेछ ।

आईओएस र एन्ड्रोइड दुवै उपकरण प्रयोग गर्ने प्रयोगकर्ताका लागि यो सुविधा उपयोगी हुने कम्पनीले जनाएको छ । सन् २०२४ मा सुरु गरिएको पासकी प्रणालीले पासवर्डको सट्टा फेस आईडी वा फिङ्गरप्रिन्ट प्रयोग गरेर लगइन गर्न मिल्ने सुविधा दिन्छ । यसले प्रयोगकर्ता नाम र पासवर्ड चोरी गरेर गरिने फिसिङ आक्रमणको जोखिम उल्लेखनीय रूपमा घटाउने बताइएको छ ।

यसका साथै, अपरिचित नम्बरबाट आउने कलका बारेमा थप जानकारी देखाउने सुविधा पनि थपिएको छ, जसले शंकास्पद कल पहिचान गर्न प्रयोगकर्तालाई सहयोग गर्ने कम्पनीको भनाइ छ ।

हालका वर्षहरूमा अनलाइन ठगी र ह्याकिङका घटना बढ्दै गएपछि व्हाट्सएपसहित सिग्नल र टेलिग्रामजस्ता मेसेजिङ प्लेटफर्महरूले प्रयोगकर्ताको सुरक्षा मजबुत बनाउन यस्ता नयाँ सुरक्षा सुविधा थप्ने क्रम तीव्र बनाएका छन् । एएनआई

प्रकाशित मितिः बिहिबार, १८ भदौ २०८३
https://www.jawaaf.com/storage/01M1GGXHF8AA5Q6K6ZHTEXK283.jpeg

प्रिमियर लिगकै कीर्तिमानी १२५ मिलियन पाउन्डमा एन्जो फर्नान्डेज म्यानचेस्टर सिटीमा

काठमाडौं । अर्जेन्टिनाका स्टार मिडफिल्डर एन्जो फर्नान्डेज प्रिमियर लिगकै कीर्तिमानी १२ करोड ५० लाख पाउन्डमा म्यानचेस्टर सिटीमा आबद्ध भएका छन् । क्लबले मंगलबार उनीसँग सन् २०३१ सम्मको सम्झौता भएको औपचारिक घोषणा गरेको हो ।

२५ वर्षीय फर्नान्डेज सन् २०२३ देखि २०२६ सम्म चेल्सीमा बिताएको सफल यात्रापछि सिटी पुगेका हुन् । चेल्सीका लागि उनले युइएफए कन्फरेन्स लिग र २०२५को फिफा क्लब विश्वकप जितेका थिए ।

ईएसपीएनका अनुसार १२५ मिलियन पाउन्ड (करिब १६ करोड ९० लाख अमेरिकी डलर) मा भएको यो सम्झौता गत सिजन लिभरपुलले न्यूक्यासल युनाइटेडबाट अलेक्जेन्डर इसाकलाई अनुबन्ध गर्दा तिरेको प्रिमियर लिगकै कीर्तिमानी शुल्क बराबर हो । सम्झौतापछि फर्नान्डेजले मेडिकल परीक्षण पनि पूरा गरेका थिए ।

फर्नान्डेजले आफ्नो व्यावसायिक करिअर अर्जेन्टिनाको डेफेन्सा इ जस्टिसिया र रिभर प्लेटबाट सुरु गरेका थिए । रिभर प्लेटमा चार प्रमुख उपाधि जितेपछि उनी पोर्चुगलको बेन्फिकामा पुगेका थिए, जहाँ उनले प्रिमेरा लिगाको उपाधि जिते ।

अन्तर्राष्ट्रिय फुटबलमा पनि उनको उपलब्धि उल्लेखनीय छ । उनले अर्जेन्टिनाका लागि २०२२ को फिफा विश्वकप र २०२४ को कोपा अमेरिका जितेका छन् । हालै सम्पन्न २०२६ फिफा विश्वकपमा भने अर्जेन्टिना स्पेनसँग फाइनलमा पराजित हुँदै उपविजेतामा सीमित भएको थियो ।

सिटीमा आबद्ध भएपछि फर्नान्डेजले विश्वकै उत्कृष्ट क्लबमध्ये एकको हिस्सा बनेकोमा खुसी लागेको बताए । ‘म्यानचेस्टर सिटी पछिल्ला वर्षमा इंग्ल्यान्डको सबैभन्दा सफल क्लब हो । यहाँ आएर टोलीलाई थप उपाधि जिताउन योगदान दिन तयार छु,‘उनले क्लबमार्फत जारी वक्तव्यमा भने ।

क्लबका फुटबल निर्देशक ह्युगो भियानाले फर्नान्डेजलाई प्राविधिक रूपमा उत्कृष्ट, मेहनती र बहुआयामिक मिडफिल्डरको संज्ञा दिँदै उनको आगमनले सिटीको टोली थप बलियो हुने विश्वास व्यक्त गरेका छन् । एएनआई

प्रकाशित मितिः बुधबार, १७ भदौ २०८३
https://www.jawaaf.com/storage/01M1G7NAAKQBTGH1706QAWYA58.jpg

हेलिकप्टरमार्फत एक बेलायती नागरिकसहित ११९ जनाको उद्धार

काठमाडौं । नेपाली सेनाले बाढीपहिरो प्रभावित क्षेत्रमा हवाई तथा जमिनी खोज–उद्धार, राहत तथा स्वास्थ्य सेवा कार्यलाई तीव्र बनाएको छ । 

मंगलबार साँझ ७ बजेसम्म नेपाली सेनाले हेलिकप्टरमार्फत एक बेलायती नागरिकसहित ११९ जनाको उद्धार गरेको छ । हालसम्म हवाई माध्यमबाट २७३ जना विदेशी नागरिकसहित ३ हजार ८९१ जनाको उद्धार गरिएको सेनाले जनाएको छ ।

सेनाका अनुसार धुन्चे, कोलोनी, बेत्रावती र त्रिशूली–३एमा गरी २ हजार ५ सय केजी राहत सामग्री हवाई माध्यमबाट ढुवानी गरिएको छ ।

चिलिमे हाइड्रोमा विदेशीसहित २६ जनाको संयुक्त खोज तथा उद्धार टोली टनेलभित्र करिब १५० मिटर प्रवेश गरे पनि त्यसपछि भिरालो भाग सुरु भएको र टनेल पूर्ण रूपमा पुरिएको अवस्थामा फेला परेको सेनाले जनाएको छ ।

त्यस्तै, अपर त्रिशूली–१ को हाँकूमा संयुक्त टोली करिब १६० मिटरभित्र पुगेपछि टनेल टालिएको अवस्थामा फेला परेको सेनाले जनाएको छ ।

त्रिशूली–३एमा टनेल हेड पहिचान गरी तीन वटा एक्स्काभेटरमार्फत माटो हटाउने काम भइरहेको छ। कम्प्रेसर र रक ब्रेकर प्रयोग गरी इनलेट टनेलमा बनाइएको होलबाट अत्यधिक पानी आएको र उक्त स्थानबाट प्रवेश गर्न असम्भव देखिएपछि आउटलेटतर्फबाट पुनः होल पार्ने काम जारी छ ।

प्रकाशित मितिः बुधबार, १७ भदौ २०८३
https://www.jawaaf.com/storage/01M1E49VM4G355HV09NTNY7V8A.jpeg

हवाई साधनमार्फत २३ जनाको उद्धार

काठमाडौं । रसुवा, नुवाकोट, धादिङ, चितवन तथा नवलपरासी पूर्वका बाढी प्रभावित क्षेत्रमा हवाई तथा जमिनी खोज तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ । नेपाली सेनाले आज (मंगलबार) बिहान ११ बजेसम्म हवाई साधनमार्फत २३ जनाको उद्धार गरेको गरेको हो । 

बाढीपछि जलविद्युत् आयोजनाका टनेलमा फसेका व्यक्तिको खोज तथा उद्धारका लागि स्वदेशी तथा विदेशी विशेषज्ञसहितका संयुक्त टोली परिचालन गरिएको छ ।

चिलिमे हाइड्रोमा उद्धार टोलीले टनेलभित्र करिब ५० मिटर प्रवेश गरी खोजी गरेको छ । 

त्यस्तै, लाङटाङ हाइड्रोमा टोली करिब १५० मिटर र अपर त्रिशूली–१ हाइड्रोमा करिब २०० मिटरसम्म टनेलभित्र प्रवेश गरी खोजी तथा उद्धार कार्य भइरहेको छ । 

त्रिशूली–३ ‘ए’ आयोजनामा टनेल हेड फेला परेको छ । टनेलभित्र कम्प्रेसरमार्फत हावा पठाउने काम भइरहेको छ भने पानी निकाल्ने कार्य पनि जारी छ । तीनवटा एक्साभेटर प्रयोग गरी टनेलको पछाडितर्फको वैकल्पिक मार्ग करिब १५ मिटर खोलिएको छ । 

यसअघि बाढीपछि तत्काल उद्धारका क्रममा विभिन्न जलविद्युत् आयोजनाको क्षेत्रबाट २७९ जनाको जीवित उद्धार गरि सकेको छ । रसुवागढीबाट २ जना, माथिल्लो त्रिशूली–१ बाट ३३ जना, माथिल्लो त्रिशूली–३ ‘ए’ बाट २२१ जना, माथिल्लो त्रिशूली–३ ‘बी’ बाट २ जना, मैलुङबाट ९ जना, नुवाकोट सौर्य विद्युत् आयोजनाबाट ४ जना, त्रिशूली जलविद्युत् आयोजनाबाट ३ जना र देवघाट जलविद्युत् आयोजनाबाट ५ जनाको उद्धार गरेको थियो । 

प्रकाशित मितिः मङ्गलबार, १६ भदौ २०८३
https://www.jawaaf.com/storage/01M1DSNBJ6GDV0HCPP9SCNEGDS.jpg

बाढीपीडितको उद्धार र राहतका लागि पाथीभरा समितिले १० लाख दिने

ताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समितिले भोटेकोशीमा आएको बाढीबाट प्रभावित परिवारको उद्धार तथा राहतका लागि १० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ । समितिले सोमबार रसुवा,भोटेकोशीमा आएको बाढीबाट प्रभावित परिवारको उद्धार तथा राहतका लागि १० लाख कोषमा जम्म गर्ने निर्णय गरेको हो । 

साथै समितिले विपद्को समयमा प्रभावित नागरिकको उद्धार तथा राहतका आर्थिक सहायता सम्बन्धी कार्यविधि बनाई लागू गर्ने निर्णयसमेत गरेको जनाएको छ ।

त्यस्तै ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले रसुवा र भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप कोषमा ६ लाख ५१ हजार ७६४ रुपैयाँ जम्मा गरेको छ ।

गाउँपालिकाको ६८औँ कार्यपालिका बैठकले विपद् व्यवस्थापन कोष, जनप्रतिनिधिको १५ दिनको सेवासुविधा र कर्मचारीको आधारभूत तलबको १० प्रतिशत रकम संकलन गरी कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

गाउँपालिका अध्यक्ष दिपेन्द्र पोमु(दिपेन)का अनुसार गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट एक लाख, गाउँपालिकाका रहेको २८ जना जनप्रतिनिधिहरुको १५ दिनको सेवासुविधा वापतको एक लाख ७७ हजार ४५७ रुपैयाँ कोषमा जम्मा गरिएको गाउँपालिकाले जनाएको छ । 

त्यस्तै गाउँपालिका भित्र रहेका १०२ जना कर्मचारीहरुको आफ्नो आधारभुत तलब मानको दश प्रतिशतले हुन आउने ३ लाख ७४ हजार ३०७ रुपैयाँ गरी ६ लाख ५१ हजार ७६४ रुपैयाँ कोषमा जम्मा गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय राजवंशीले बताए ।

प्रकाशित मितिः मङ्गलबार, १६ भदौ २०८३
https://www.jawaaf.com/storage/01M1B31J366M8V4FJJV3QR14MG.jpg

भोटेकोशी बाढी : ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीपछि जारी खोज, उद्धार तथा राहतसम्बन्धी पछिल्लो विवरणअनुसार हालसम्म ९०३ जनाको शव फेला परेको छ भने ४ हजार २४७ जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

हालसम्म १० हजार ४५१ जना नागरीकका उद्धार गरिएको प्राधिकरणले जनाएको छ । 

प्राधिकरणका अनुसार फेला परेका शवमध्ये रसुवामा २४, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६२, नवलपरासी पूर्वमा २०७, नवलपरासी पश्चिममा १५१, तनहुँमा ३७ र चितवनमा २७२ जना रहेका छन् । 

सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५ तथा अध्यागमन कार्यालयका ३ जना रहेका छन् । 

त्यस्तै, जलविद्युत् आयोजनाबाट ९३३ जना, मकवानपुरबाट ६५ जना तथा सम्पर्कविहीन विदेशी नागरिक ५९२ जना रहेको प्राधिकरणले जनाएको छ । नेपाल घुम्न आएका विदेशमा बस्ने नेपाली नागरिकमध्ये १२७ जना पनि सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ । लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना पनि सम्पर्कविहीन रहेको जनाइएको छ ।

प्रकाशित मितिः सोमबार, १५ भदौ २०८३
https://www.jawaaf.com/storage/01M19C9K6BMVEEX2ZB2J1CZAFQ.jpeg

चिनियाँ ट्रान्सपोर्ट विमानमार्फत काठमाडौं आइपुग्यो आपतलीन राहत सामग्री

काठमाडौं । भोटेकोशी बाढीका कारण चपेटामा परेको नेपाललाई चीन सरकारले राहत सामग्री उपलब्ध गराएको छ । 

५० टन आपत्कालीन राहत सामग्री लिएर आइतबार विहान चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुईवटा वाई २० ठूला ट्रान्सपोर्ट विमान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।

विमानमार्फत आपत्कालीन राहत सामग्रीका साथै चार जना चिनियाँ सुरुङ उद्धार विशेषज्ञ पनि आवश्यक उद्धार उपकरणसहित नेपाल आइपुगेका छन्।

नेपाल सरकारका तर्फबाट विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले राहत सामग्री बुझ्नुका साथै नेपाल आएको टोलीलाई स्वागत गरेका थिए । 

सो अवसरमा नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ र प्रतिनिधिसभा सदस्य धर्म केसी पनि विमानस्थल पुगेका थिए ।

चीनको छङ्दुस्थित सुवाङलिउ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेका दुई विमानले ५० टन तौल बराबरका १३ हजार २०० थान आपत्कालीन राहत सामग्री ल्याएको हो । जसमा त्रिपाल, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, ड्राइफुड, बिस्कुट र प्राथमिक उपचार किट रहेका छन् ।

प्रकाशित मितिः आइतबार, १४ भदौ २०८३