नेपालमा बर्डफ्लुको महामारी : १ लाख ३० हजारभन्दा बढी पंक्षी नष्ट
काठमाडौं । नेपालमा बर्डफ्लुको संक्रमणले उग्र रूप लिएको छ । नेपाल सरकारको द्रुत प्रतिकार्य टोली र राष्ट्रिय पशु स्वास्थ्य सूचना प्रणालीद्वारा सार्वजनिक गरिएको पछिल्लो प्रतिवेदन अनुसार, २०८३ वैशाख १ गतेसम्म मुलुकका विभिन्न ६ जिल्लामा संक्रमण फैलिसकेको छ ।
यस आर्थिक वर्षको पहिलो संक्रमण गत २०८२ चैत ४ गते कोशी प्रदेशको मोरङ जिल्लाअन्तर्गत सुन्दरहरैँचा–४ र उर्लाबारी–८ बाट सुरु भएको थियो, जुन अहिले अन्य प्रमुख पोल्ट्री क्षेत्रहरूमा समेत विस्तार भएको छ ।
हालसम्मको तथ्याङ्क अनुसार देशका कुल ३३ वटा पोल्ट्री फार्महरूमा बर्डफ्लु पुष्टि भइसकेको छ । संक्रमण थप फैलिन नदिन र नियन्त्रण गर्नका लागि सरकारले हालसम्म देशभर कुल १ लाख ३० हजार ९१२ वटा पंक्षी नष्ट गरिसकेको छ । पंक्षीका साथै २ लाख ३७ हजार ५६२ वटा अण्डा र ३३ हजार ४४५ केजी दाना समेत सुरक्षाका साथ खाल्डोमा पुरेर नष्ट गरिएको छ ।
जिल्लागत रूपमा हेर्दा सुनसरीमा सबैभन्दा बढी १७ वटा फार्म प्रभावित भएका छन् भने पक्षी नष्ट गरिएको संख्याका आधारमा मोरङ जिल्ला सबैभन्दा बढी मारमा परेको छ, जहाँ १० वटा फार्मका ५३ हजार ७२१ पक्षी मारिएका छन् ।
संक्रमण फैलिएका अन्य जिल्लाहरूमा चितवन, झापा, बारा र नवलपरासी (पश्चिम) रहेका छन् । चितवनको एउटै फार्ममा १८ हजार ८६३ पक्षी नष्ट गरिएको छ भने झापाका ३ फार्ममा १५ हजार ३९० पक्षी मारिएका छन् ।
त्यसैगरी बारामा २ हजार ८६५ र नवलपरासी (पश्चिम) मा २०८ वटा पक्षी नष्ट गरिएको छ । रोगलाई अन्य जिल्लाहरूमा फैलिन नदिन सरकारका तीनै तहका सरकारबीच समन्वय गरी सुरक्षाकर्मीको सहयोगमा नियन्त्रणका उपायहरू अपनाइएको छ । संक्रमण देखिएको क्षेत्रलाई सिल गरी स्रोतमै रोग नियन्त्रण गर्ने र आवश्यक हस्तक्षेपकारी कदमहरू चालिएको सम्बन्धित निकायले जनाएको छ ।
चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब वर्षौंसम्म एउटै बोटबाट धान फल्ने
काठमाडौं । हजारौं वर्षदेखि किसानहरूले हरेक सिजनमा धानको बीउ रोप्दै आएका छन् । तर अब यो परम्परा बदलिने संकेत देखिएको छ ।
चिनियाँ वैज्ञानिकहरूले यस्तो बहुवर्षीय धानको विकास गरिरहेका छन जुन एक पटक रोपेपछि वर्षौंसम्म फलिरहनेछ ।
चिनियाँ एकेडेमी अफ साइन्सेसका अनुसन्धानकर्ताहरूको टोलीले जंगली धानमा दीर्घायु जीन पहिचान गरेको हो । उनीहरूले उक्त जीनलाई आधुनिक खेती गरिने धानमा सफलतापूर्वक प्रत्यारोपण गरेका छन् । यसबाट धानको यस्तो नयाँ प्रजाति तयार भएको छ, जुन फसल काटिसकेपछि पनि मर्दैन ।
चीनको दक्षिणी टापु प्रान्त हाइनानमा गरिएको परीक्षणमा यी धानका बोटहरूमा अद्भुत जीवनशक्ति देखिएको छ । धान पाकेर काटिसकेपछि पनि बोट सुकेर जानुको सट्टा फेरि नयाँ पालुवा र मुनाहरू पलाउने गरेका छन् ।
यस अनुसन्धानका प्रमुख वैज्ञानिक हान बिन भन्नुहुन्छ, ‘हाम्रो धानले वर्षमा दुई देखि तीन पटकसम्म उत्पादन दिन्छ । अहिलेसम्मको परीक्षणमा एउटै बोट दुई वर्षसम्म जीवित रहन सफल भएको छ । धानको बाला पाकेपछि, त्यसको छेउबाट फेरि नयाँ मुनाहरू निस्कन्छन् । यसमा रहेको दीर्घायु जीनले यसलाई सधैं जवान राख्न मद्दत गर्छ ।
वैज्ञानिकहरूका अनुसार यो बहुवर्षीय धान विशेषगरी पहाडी र भिरालो जमिनका लागि निकै उपयोगी हुनेछ, जहाँ ठूला कृषि मेसिनरीहरू लैजान कठिन हुन्छ । यसले किसानको लागत र मिहिनेत दुवै बचाउने अपेक्षा गरिएको छ ।
यस सम्बन्धी अध्ययन प्रतिवेदन मार्चको अन्त्यमा प्रसिद्ध वैज्ञानिक जर्नल साइन्समा प्रकाशित भएको थियो । यो सफलताले भविष्यमा विश्वको खाद्य सुरक्षामा ठूलो योगदान पु¥याउने विश्वास गरिएको छ । सीसीटीभी
रौं भेटिएपछि एसियन बिस्कुटलाई २ लाख रुपैयाँ जरिवाना
काठमाडौं । सुनसरीको दुहबीमा रहेको एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रा.लि. ले उत्पादन गरेको बिस्कुटमा रौं भेटिएपछि सरकारले उक्त उद्योगलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार, उद्योगद्वारा उत्पादित डाइजेस्टिभ नट्स बिस्कुटमा रौं भेटिएको भन्दै विभागमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा विभागको विराटनगरस्थित कार्यालय र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, मोरङको संयुक्त टोलीले उद्योगको उत्पादन स्थलमा पुगेर अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा टोलीले उजुरी परेको ब्रान्डको बिस्कुटको नमुना संकलन गरी परीक्षणका लागि प्रयोगशालामा पठाएको थियो । अनुसन्धानका क्रममा कैफियत देखिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५’ बमोजिम कारबाही गरिएको विभागले जनाएको छ ।
उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३५ को खण्ड ‘ङ’ बमोजिमको कसुर देखिएकाले सोही ऐनको दफा ३९ को उपदफा (१) को खण्ड ‘ख’ बमोजिम उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको हो ।
विभागकी वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बाल कुमारी शर्माले प्रमाणित गरेको विवरण अनुसार, उद्योगलाई जरिवाना बापतको रकम सात दिनभित्र सरकारी खातामा जम्मा गरी सोको प्रमाण पेश गर्न आदेश दिइएको छ । विभागले उजुरीका साथ प्राप्त भएका बिस्कुटका तस्बिरहरू पनि सार्वजनिक गर्दै उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने उद्योगलाई कारबाही गरिएको जानकारी दिएको छ ।
१३ वर्षपछिको प्रतीक्षा अन्त्यस् वीरगन्जको ‘लाइफलाइन’ मानिने मुख्य सडक विस्तार सुरु
रौतहट । मुलुककै प्रमुख व्यापारिक नाका वीरगन्जको मुहार फेर्ने लक्ष्यका साथ लामो समयदेखि प्रतीक्षित मुख्य सडक (मेनरोड) विस्तारको कार्य आइतबार बिहानदेखि औपचारिक रूपमा सुरु भएको छ। त्रिभुवन राजपथ अन्तर्गत पर्ने गण्डक चोकदेखि मितेरी पुलसम्मको खण्डलाई सडकको मध्यभागबाट दायाँ–बायाँ २५र२५ मिटर कायम गर्ने गरी सडक डिभिजन कार्यालय हेटौँडाले डोजर चलाउन थालेको हो।
विगत १३ वर्षदेखि विभिन्न कानुनी झमेलाका कारण यो आयोजना अलपत्र परेको थियो। २०६९ सालमै विस्तारको योजना अघि सारिए पनि स्थानीय घरधनीहरूको विरोध र अदालतमा दायर मुद्दाहरूका कारण काम अघि बढ्न सकेको थिएन। सडक विस्तार गर्दा आफ्ना संरचना भत्किने भन्दै करिब १ हजार २ सय घरधनीहरूले २०७६ सालमा मुआब्जा र वैकल्पिक मार्गको माग गर्दै रिट दायर गरेका थिए।
तर, गत २०८१ फागुन २८ गते सर्वोच्च अदालतले उक्त रिट खारेज गर्दै सरकारको पक्षमा फैसला सुनाएपछि विस्तारका लागि कानुनी बाटो खुला भएको हो। अदालतको अन्तिम फैसलासँगै सडक डिभिजनले प्रक्रियागत तयारी पुरा गरी काम सुरु गरेको हो।
सडक डिभिजन कार्यालय हेटौँडाका नायब सुब्बा राजकुमार अर्यालका अनुसार, सडक सीमाभित्र पर्ने घर, टहरा र अन्य अवैध संरचनाहरू हटाउन हेटौँडाबाट विशेष रूपमा डोजर, जेसीबी र एक्साभेटरहरू ल्याइएको छ। आइतबार बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा संरचना भत्काउने काम भइरहेको छ। सम्भावित तनावलाई मध्यनजर गर्दै महानगरपालिकाको टोली र ठुलो सङ्ख्यामा सुरक्षा निकायलाई परिचालन गरिएको छ।
गण्डकदेखि मितेरी पुलसम्मको यो सडक विस्तार भएपछि वीरगन्जको ट्राफिक जामको समस्या समाधान हुने र व्यापारिक आवागमन सहज हुने विश्वास गरिएको छ। २५र२५ मिटर विस्तार भएपछि यो सडकले आधुनिक स्वरूप पाउनेछ, जसले वीर गन्जलाई एउटा व्यवस्थित व्यापारिक केन्द्रको रूपमा स्थापित गर्न मद्दत पुग्ने देखिन्छ।
लामो समयको अन्योल चिर्दै सुरु भएको यो कामले वीरगन्जवासीमा उत्साह र केही प्रभावित घरधनीहरूमा भने चिन्ता थपिदिएको छ। यद्यपि, नगरको दीर्घकालीन विकासका लागि यो कदम अपरिहार्य रहेको सरोकारवालाहरूको तर्क छ।
पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान
काठमाडौं । हर्कराज राई (साम्पाङ) को उपस्थितिमा शनिबार पशुपतिनाथ मन्दिर परिसरमा श्रमदान कार्यक्रम सम्पन्न गरिएको छ ।
श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्यसमेत रहेका साम्पाङको सहभागितामा आयोजित उक्त कार्यक्रममा सरसफाइका साथै विभिन्न श्रमजन्य कामहरू सम्पन्न गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै साम्पाङले देशमा सरसफाइलाई तीन तहमा बुझ्नुपर्ने धारणा राखे । उनले मन, तन र वातावरणको सरसफाइ आवश्यक रहेको उल्लेख गर्दै सबै नागरिक तीनै क्षेत्रमा सक्रिय हुनुपर्ने बताए ।
‘हामीले सरसफाइ गर्नुपर्छ । सरसफाइ यो देशमा तीन खालको छ–मन, तन र वातावरणको । यी तीनवटै तहका व्यक्ति वा निकायहरु सरसफाइमा लाग्नुपर्छ,’ उनले भने ।
सो क्रममा पशुपति क्षेत्रमा सरसफाइका साथै आवश्यक श्रमजन्य कामहरु टोलीबाट भएको छ ।
एसपीपी–एमसिसी खारेज र हिन्दु राष्ट्र पुन:स्थापना गर्न दुर्गा प्रसाईँद्वारा सरकारलाई आग्रह
काठमाडौं । मेडिकल व्यवसायी तथा सामाजिक अभियान्ता दुर्गा प्रसाईँले वर्तमान सरकारसँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) र मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) खारेज गर्ने निर्णय गर्न आग्रह गरेका छन् ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रसाईँले एसपीपी र एमसिसी खारेज नगरेको भन्दै सरकारको आलोचना गरेका हुन् । उनले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको प्रसंग उल्लेख गर्दै वर्तमान सरकारलाई ती सम्झौता खारेज गर्न दबाब दिएका छन् ।
उनले सरकारसँग क्याबिनेटबाट निर्णय गरेर हिन्दु राष्ट्र पुनः स्थापना गर्नसमेत माग गरेका छन् । ‘सरकारलाई के भन्छु भने क्याबिनेटबाट निर्णय गरेर हिन्दु राज्य कायम गरियोस्। तपाईँहरूसँग बहुमत छ, निर्णय गर्नुस,’ उनले भने ।
प्रसाईँले राजसंस्था पुनःस्थापनाको मागसमेत अघि सारेका छन् । उनले भने, ‘हिन्दु राष्ट्र ल्याइदिनुस राजसंस्था ल्याइदिनुस् । यदि यस्तो निर्णय हुन्छ भने चुनाव नै आवश्यक पर्दैन, म सडकमा उभिन्छु ।’
त्यस्तै उनले सर्वदलीय सरकार गठन गरी संविधान संशोधन गर्नुपर्ने धारणा पनि राखेका छन् । विवादित विषयहरू मिलाएर मात्र निर्वाचनमा जानुपर्ने उनको भनाइ छ । ‘पहिला संविधान संशोधन गरौँ, सर्वपक्षीय सरकार बनाऔँ, नमिलेका कुरा मिलाऔँ अनि मात्र चुनावमा जाऔँ भन्ने मेरो धारणा थियो,’ उनले भने, ‘तर हतारमा चुनाव गराइयो ।’
उनले अहिलेको राजनीतिक अवस्था प्रति असन्तुष्टि व्यक्त गर्दै सरकारलाई जनताको अपेक्षाअनुसार निर्णय गर्न आग्रह गरेका छन् ।
निष्पक्ष र पारदर्शी पत्रकारितामा जोड दिन राज्यमन्त्री चेम्जोङको आग्रह
उर्लाबारी । कोशी प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङले निष्पक्ष, जिम्मेवार र पारदर्शी पत्रकारितालाई सुदृढ बनाउन सञ्चारकर्मीलाई आग्रह गरेकी छन् । भ्रामक समाचारले समाजमा भ्रम सिर्जना गर्ने भन्दै उनले तथ्यपरक र उत्तरदायी पत्रकारितामा जोड दिनुपर्ने बताइन् ।
मोरङको उर्लाबारीस्थित सञ्चार क्लब नेपालको २२औँ वार्षिक साधारणसभाको उद्घाटन तथा पत्रकार सम्मान कार्यक्रममा बोल्दै चेम्जोङले स्वतन्त्र प्रेसलाई लोकतन्त्रको आधारस्तम्भका रूपमा व्याख्या गरिन् । ‘प्रेसमाथि अंकुश लागे निरंकुशता जन्मिन्छ,’ उनले भनिन्, ‘त्यसैले स्वतन्त्रता र जिम्मेवारी सँगसँगै अघि बढ्नुपर्छ ।’
उनले संविधानले सुनिश्चित गरेको अधिकार कार्यान्वयनका लागि समानुपातिक र समावेशी प्रणालीलाई अझ मजबुत बनाउनुपर्ने धारणा राखिन् । नीति निर्माण तहमा सबै वर्गको प्रतिनिधित्व सुनिश्चित हुनुपर्नेमा उनले जोड दिइन् ।
उर्लाबारी नगरपालिकाका प्रमुख गङ्गाप्रसाद खरेलले तीन तहका सरकारबीच स्पष्ट कार्यविभाजन र समन्वय आवश्यक रहेको बताए । एउटै योजनामा संघ, प्रदेश र स्थानीय तहबाट छुट्टाछुट्टै बजेट विनियोजन हुँदा कार्यान्वयनमा जटिलता देखिएको उनको भनाइ थियो ।
सोही अवसरमा सञ्चार क्लबले चार पत्रकारलाई विभिन्न विधाका पुरस्कार प्रदान गरेको छ। सञ्चार क्लब पत्रकारिता पुरस्कार ‘क्रेजी डटकम’ साप्ताहिकका सम्पादक–प्रकाशक सन्तोष राईलाई प्रदान गरिएको छ । दुर्गाराज पोमु (लिम्बू) स्मृति पत्रकारिता पुरस्कार अलकापुरी नेपाल साप्ताहिकका सम्पादक–प्रकाशक दुर्गाप्रसाद खतिवडाले प्राप्त गरेका छन् ।
त्यस्तै, लीला गोमा आचार्य स्मृति पत्रकारिता पुरस्कार नयाँनयाँ खबर अनलाइन, मिक्लाजुङका सञ्चालक सन्तोष गौतमलाई तथा दाताराम–पद्मावती खतिवडा स्मृति पत्रकारिता पुरस्कार स्वतन्त्र पत्रकार केशव निरौलालाई प्रदान गरिएको छ । सबै पुरस्कारको राशि जनही १० हजार एक रुपैयाँ रहेको क्लबले जनाएको छ ।
क्लबले विभिन्न अक्षयकोषमा योगदान पुर्याउने दुर्गाप्रसाद खतिवडा, जयधर्म आचार्य र लोलिम पोमुलाई पनि सम्मान गरेको छ ।
कार्यक्रममा उर्लाबारी उद्योग वाणिज्य सङ्घका अध्यक्ष तारामान सेरेङ, नेकपा उर्लाबारी नगर कमिटी अध्यक्ष गजेन्द्र दङ्गाललगायतले शुभकामना मन्तव्य राखेका थिए । साथै, विभिन्न राजनीतिक दलका स्थानीय नेताहरू, जनप्रतिनिधि तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
मोतीलाल योञ्जन तामाङ ‘वेस्ट पुलिस अफ दी मन्थ’ घोषित
विराटनगर । कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले झापाको भद्रपुरस्थित वडा प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) मोतीलाल योञ्जन तामाङलाई २०८२ साल चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी (वेस्ट पुलिस अफ दी मन्थ) घोषित गरेको छ ।
विभागीय मूल्यमान्यता, आदेश निर्देशनको पूर्ण पालना गर्दै उच्च मनोबल र साहसका साथ पदीय जिम्मेवारी निर्वाह गरेको मूल्याङ्कनका आधारमा उनलाई उक्त सम्मान प्रदान गरिएको हो । इन्स्पेक्टर तामाङले ‘अपरेसन ब्राउन’अन्तर्गत भद्रपुर क्षेत्रमा लागु औषध नियन्त्रणलाई अभियानकै रूपमा सञ्चालन गर्दै चैत्र महिनाभर उल्लेखनीय सफलता हासिल गरेका थिए ।
उक्त अभियानअन्तर्गत लागु औषध सम्बन्धी १५ वटा मुद्दामा संलग्न ३२ जना अभियुक्तलाई पक्राउ गरिएको थियो । पक्राउ परेकाहरूको साथबाट ३४६ ग्राम ५७ मिलिग्राम ब्राउन सुगर, नगद ३ लाख रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।
त्यसै गरी, भन्सार छलीका करिब १० लाख ४७ हजार रुपैयाँ बराबरका विभिन्न अवैध सामान पनि नियन्त्रणमा लिइएको थियो । सोही अवधिमा विभिन्न मुद्दामा फरार रहेका ९ जना प्रतिवादीलाई समेत पक्राउ गर्न उनी नेतृत्वको प्रहरी सफल भएको थियो ।
इन्स्पेक्टर तामाङले जेनजी आन्दोलनका क्रममा पूर्ण रूपमा क्षति पुगेको वडा प्रहरी कार्यालय भद्रपुरको भवन, ब्यारेक तथा कार्यालय पुनस्र्थापनामा पनि सक्रिय भूमिका निर्वाह गरेका थिए । स्थानीय तह, विभिन्न संघ संस्था तथा स्थानीयसँग समन्वय गर्दै आवश्यक फर्निचर, विद्युत् सामग्री व्यवस्थापन तथा मेची बिट पुनः स्थापनामा उनले नेतृत्वदायी भूमिका खेलेका थिए ।
त्यसै गरी, प्रहरी चौकी मेचीपारिका लागि नयाँ जग्गा प्राप्ति, वडा प्रहरी कार्यालय भद्रपुरको नयाँ भवन निर्माणका लागि पहल तथा सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरी शान्ति सुरक्षाप्रति जनविश्वास अभिवृद्धि गर्न योगदान दिएको प्रहरीले जनाएको छ । कार्यसम्पादनको समग्र मूल्याङ्कनका आधारमा तामाङलाई कोसी प्रदेशका प्रहरी प्रमुख डिआइजी विनोद घिमिरेले चैत्र महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित गरेका हुन् ।
धितोपत्र कारोबारका लागि नयाँ मूल्य सीमा र सर्किट ब्रेकर सम्बन्धी व्यवस्था लागु हुँदै
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आगामी सोमबारदेखि धितोपत्र कारोबारका लागि नयाँ मूल्य सीमा र सर्किट ब्रेकर सम्बन्धी व्यवस्था लागू हुने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट ‘धितोपत्र कारोबार सञ्चालन (चौथो संशोधन) विनियमावली, २०८२’ स्वीकृत भएसँगै नेप्सेले यो नयाँ व्यवस्था कार्यान्वयनमा ल्याउन लागेको हो ।
नयाँ व्यवस्थाअनुसार अब सूचीकृत कम्पनीहरूको शेयर मूल्य एकैदिन १५ प्रतिशतसम्म घटबढ हुन सक्नेछ । यसअघि यस्तो सीमा १० प्रतिशत मात्र रहेको थियो । बजारलाई थप चलायमान बनाउन र मूल्य निर्धारण प्रक्रियालाई यथार्थपरक बनाउन यो सीमा बढाइएको नेप्सेले जनाएको छ ।
प्रि–ओपन सेसन र सर्किट ब्रेकरमा परिवर्तन
नयाँ विनियमावलीले बजार खुल्नुअघिको प्रि–ओपन सेसनको मूल्य सीमामा पनि परिवर्तन गरिएको छ । यसअघि २ प्रतिशत रहेको यस्तो सीमालाई बढाएर ५ प्रतिशत कायम गरिएको छ । यसले बजार खुल्ने बित्तिकै हुने अस्वाभाविक उतारचढावलाई नियन्त्रण गर्ने अपेक्षा गरिएको छ ।
यसैगरी, नेप्से परिसूचक (इन्डेक्स) मा आधारित सर्किट ब्रेकर प्रणालीलाई पनि सरलीकृत गरिएको छ । अब तीन तहको सट्टा दुई तहको मात्र सर्किट ब्रेकर रहनेछ । कारोबार सुरु भएको दुई घण्टाभित्र बजार सूचक ५ प्रतिशतले घटबढ भएमा १५ मिनेटका लागि कारोबार रोकिनेछ । यदि सूचक ८ प्रतिशतले घटबढ भएमा उक्त दिनको सम्पूर्ण कारोबार बन्द गरिनेछ । यसअघि ४, ५ र ६ प्रतिशतको तीन तहको जटिल सर्किट प्रणाली रहेको थियो । नयाँ व्यवस्थाले बजारको अवरोध कम गरी कारोबारलाई सहज बनाउने लक्ष्य लिएको छ ।
लगानीकर्तालाई के फाइदा हुन्छ ?
नेप्सेका अनुसार मूल्य दायरा बढेसँगै सेयरको वास्तविक माग र आपूर्ति अनुसार मूल्य छिटो समायोजन हुन मद्दत पुग्नेछ । यसले कृत्रिम रूपमा मूल्य रोकिने समस्या हटाउनुका साथै लगानीकर्तालाई छिटो प्रवेश र बर्हिगमनको अवसर प्रदान गर्नेछ । कारोबारको मात्रा बढ्ने र बजार थप गतिशील हुने विश्वास गरिएको छ ।
नियामक निकाय सेबोनले बजारलाई आधुनिक र लचिलो बनाउन यो कदम चालेको भए पनि, बढेको मूल्य सीमाका कारण हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै लगानीकर्ताले सतर्कतापूर्वक लगानी व्यवस्थापन गर्नुपर्ने सुझाव विज्ञहरूको छ ।
हर्मुज जलमार्ग खुला गर्ने घोषणाले अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि
काठमाडौं । इरानले विश्व व्यापारको महत्वपूर्ण जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’ पुनः खुला गर्ने घोषणा गरेसँगै अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा उच्च वृद्धि भएको छ । न्यूयोर्क मर्केन्टाइल एक्सचेन्जमा भएको कारोबारमा जुन महिनाका लागि तय भएको सुनको मूल्य करिब २ प्रतिशतले बढेको छ ।
मे महिनाका लागि तय भएको चाँदीको मूल्यमा ४ प्रतिशतभन्दा बढीको उछाल आएको छ । इरानको यो घोषणाले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भने तीव्र गिरावट ल्याएको छ । विश्लेषकहरूका अनुसार तेलको मूल्य घट्दा अल्पकालीन रूपमा मुद्रास्फीतिको दबाब कम हुने र बजारमा सकारात्मक उत्साह बढ्ने देखिएको छ ।
यसै बीच, अमेरिकी डलर कमजोर बन्नु र तेलको मूल्यमा आएको भारी गिरावटले लगानीकर्ताहरूलाई सुन र चाँदीतर्फ आकर्षित गरेको हो । डलर कमजोर हुँदा बहुमूल्य धातुहरूको माग बढ्ने भएकाले मूल्यमा तीव्र वृद्धि देखिएको हो ।
इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले सामाजिक सञ्जाल एक्स मार्फत लेबनानमा भएको युद्धविरामको भावना अनुरुप हर्मोज जलसन्धि सबै व्यावसायिक जहाजहरूका लागि खुला गरिएको जानकारी दिएका छन् । उनले युद्धविरामको बाँकी अवधिसम्मका लागि यो मार्ग पूर्ण रूपमा खुला रहने घोषणा गरेका छन् । ‘लेबनानमा भएको युद्धविरामसँगै हर्मोज जलसन्धिबाट हुने सबै व्यावसायिक पारवहन अब पूर्ण रूपमा खुला गरिएको छ ।’