अनिल सिन्हाले सम्हाले पर्यटन मन्त्रालयको जिम्मेवारी
काठमाडौं । सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पनि जिम्मेवारी पाएका अनिलकुमार सिन्हाले पदभार ग्रहण गरेका छन् । आइतबार मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहणपछि बोल्दै मन्त्री सिन्हाले मन्त्रालयको जिम्मेवारी अत्यन्तै चुनौतीपूर्ण रहेको बताए । उनले भने, ‘यो जिम्मेवारी चुनौतिपूर्ण छ । यसका लागि समय, लगनशीलता र सबैको साथ आवश्यक छ । संस्कृति, पर्यटन र नागरिक उड्डयनजस्ता विषयलाई सञ्चारमाध्यमले जसरी प्रस्तुत गर्छन्, जनताले पनि त्यही रूपमा बुझ्ने गर्छन् ।’
उनले आफ्नो पहिलो प्राथमिकताका रूपमा हिमाली क्षेत्रहरूमा थुप्रिएको फोहोर व्यवस्थापनलाई अघि बढाइने बताए ।
‘हिमाली क्षेत्रमा अत्यधिक फोहोर जम्मा भएको विषयमा अदालतबाट समेत आदेश जारी भएको छ । सो आदेशको पालना गर्न हामीले तत्काल काम गर्नुपर्छ,’ उनले भने ।
शुक्रबार विस्तार भएको मन्त्रिपरिषद्मा मौजुदा मन्त्रीहरूको पनि जिम्मेवारी हेरफेर गर्दै प्रधानमन्त्री सुशीला कार्कीले सिन्हालाई पर्यटन मन्त्रालयको पनि जिम्मेवारी तोकेकी थिइन् । सिन्हाले यसअघि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्दै आएका छन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन निर्माण अलपत्र, अस्पताल निर्माणलाई बन्धक राख्नु हुँदैन :कुलमान घिसिङ
पोखरा । कास्कीको पोखरामा निर्माणाधीन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालको मेडिकल भवन निर्माण पाँच वर्षमा पनि निर्माण हुन सकेको छैन । माघ २०७७मा २० महिनाभित्रमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का समझौता भएको हालसम्म ५१ प्रतिशत मात्र भौतिक प्रगति रहेको छ । तेस्रो पटक थपिएको समयावधि पनि गत साउनमा सकिएको छ ।
शहरी विकास मन्त्रालय मातहतको संघीय शहरी भवन कार्यालय पोखराबाट निर्माणाधीन उक्त भवन १० करोड ५५ लाख (कर बाहेक)मा निर्माण गर्न लागिएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार भवन निर्माणस्थलको अनुगमन गरी निर्माण प्रगतिका बारेमा जानकारी लिएका छन् । मन्त्री घिसिङले भवन निर्माण सम्पन्न हुने समय तालिकालगायतका विषयमा महाशाखा प्रमुख, प्रतिष्ठानका उपकुलपति र निर्माण व्यवसायीसँग छलफल गरेका थिए ।
अस्पतालजस्तो जनताको प्रत्यक्ष स्वास्थ्य जोडिएको संवेदनशील संरचना निर्माणमा ढिलाइ भएको प्रति आक्रोश व्यक्त गर्दै घिसिङले अब निर्माणलाई बन्धक बनाएर यथास्थितिमा राख्न नसकिने बताए । उनले तत्काल निर्माण सुरु नगरे ठेक्का तोडी निर्माण व्यवसायीलाई कारबाही गर्ने र नयाँ प्रक्रियामा जाने चेतावनी दिनुभयो । उहाँले एक हप्ताभित्र निर्माणले गति नलिएमा ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाउन कार्यालयलाई निर्देशन दिए ।
यसैगरी, प्रतिष्ठानका उपकूलपति भरत खत्रीले भवन नहुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या परिरहेकाले तत्काल भवन निर्माण गरिनु पर्ने र गर्न नसकेमा ठेक्का तोडी नयाँ प्रक्रियामा जानु पर्ने बताए ।
जसपाद्वारा १ नं. प्रदेश समिति र किरात राष्ट्रिय समितिको पुनर्गठन
धरान । जनता समाजवादी पार्टी (जसपा) ले १ नं. प्रदेश समिति तथा किरात राष्ट्रिय समितिको पुनर्गठन गरेको छ । धरान–१५ स्थित छथहरे समाजको सामुदायिक भवनमा हिजो शुक्रबार आयोजित विस्तारित कार्यक्रममा दुवै समितिको नयाँ नेतृत्व चयन गरिएको हो ।
कार्यक्रममार्फत गणेश राईको अध्यक्षतामा ४८ सदस्यीय जसपा १ नं. प्रदेश समिति पुनर्गठन गरिएको नवगठित समितिका मुख्य–सचिव नगेन्द्र पारघरी लिम्बुले जानकारी दिए। समितिको उपाध्यक्षमा डिल्ली सुब्बा, मीरा कार्की र मोहम्मद नसरुल चयन भएका छन् । त्यस्तै सचिवमा गणेश राई खालिङ, रन्जित साम्पाङ राई र कुमार सुनुवार चयन भएका छन् भने कोषाध्यक्षमा मनकला लङ्वा लिम्बु चयन भएकी छन् ।
प्रदेश समितिका सदस्यहरूमा दिनेश राई, फूर्वा याङ्जी शेर्पा, यमबहादुर लिम्बु, हरीचन्द्र तुम्बा, आईतमान सम्वाहाम्फे, हरिराज लोवा, दुर्गा राई, गौरीशंकर उदास, विजय राई, दीपक माझी, मोहन विक, दीपचन्द्र राई, विर कुमार राई, हेमराज थुलुङ राई, बालानन्द ढकाल, मनी राई, कुमार भण्डारी, दाजङवो शेर्पा, पेमा डोल्मा तामाङ, किशान खजुम, घिकिन तामाङ, बलबहादुर आङ्देम्बे, जसहाङ सावादेन, अग्नीप्रसाद राई, बच्चु राई, लक्ष्मी सुब्बा, विनीता राजवंशी, राजेस देवान, एल.बी. सुब्बा, मञ्जु देवी शर्मा, जीवन सुच्चा राई, हर्कलक्ष्मी राई, सुमन राई र दुर्गा गुरुङ चयन भएका छन् ।
सोही कार्यक्रममा जनता समाजवादी पार्टी किरात राष्ट्रिय समितिको पनि पुनर्गठन गरिएको छ। समितिको अध्यक्षमा प्रशन्न कुमार राई चयन भएका छन्। उपाध्यक्षमा सिता राई र अगमसेर राई, मुख्य–सचिवमा राष्ट्र राई, सचिवमा पूर्णराज राई तथा कोषाध्यक्षमा कौशिला राई चयन भएका छन् ।
किरात राष्ट्रिय समितिका सदस्यहरूमा देवनाथ राई, सज्जिता राई, विदुर कुमार राई, नवराज चर्मकार, बाबुराम राउत, विर्खबहादुर राई, मनुकला राई, निर्दोष राई, लक्ष्मण राई, धनचन्द्र राई, भगवती राई, उत्तम राई, गिरिराज राई, किसन राई, प्रितिराज राई, कृतिमान मगर, अजना राई, मोहन विक, दयाराम राई, लेखक राई, ममता राई, धनीराम राई, रक्षामान राई, मनाराम राई, रेसम राई चयन भएका छन् ।
त्यसैगरी समितिको सल्लाहकार संयोजकमा निल कुमार राई र सदस्यमा गोपाल राई चयन भएका छन् ।
त्रिवि परिसरमा श्रम संस्कृति पार्टीको सरसफाइ, बगैंचा निर्माणको तयारी
काठमाडौं । श्रम संस्कृति पार्टीले त्रिभुवन विश्वविद्यालय (त्रिवि) कीर्तिपुर परिसरमा सरसफाइ अभियान सञ्चालन गरेको छ । शनिबार पार्टीका कार्यकर्ताहरूले श्रमदान गर्दै त्रिवि कीर्तिपुर क्षेत्रको सरसफाइ गरेका हुन् ।
कार्यक्रममा श्रम संस्कृति पार्टीका केन्द्रीय सह–कोषाध्यक्ष जितेन बन्तवा राईले पछिल्लो ५३ दिनदेखि निरन्तर रूपमा काम भइरहेको जानकारी दिए । उनका अनुसार ४३२ रोपनी क्षेत्रफलमा फैलिएको घना जंगल र झाडी हटाउने काम सम्पन्न भएको छ ।
राईले भने, ‘पहिले यो क्षेत्र चितुवा बस्न सक्ने जस्तो झाडीले ढाकिएको थियो भने लागूऔषध प्रयोग गर्नेहरूको थलोसमेत बनेको थियो । हामीले करिब ५३–५४ दिनको निरन्तर श्रमदानबाट सबै झाडी फाडेर हटाएका छौं । अब दोस्रो चरणमा सरसफाइको काम हुन्छ । त्यसपछि गार्डेन निर्माण र वृक्षरोपण गरिनेछ ।’
उनका अनुसार ४३२ रोपनी क्षेत्रफलमा विभिन्न किसिमका गार्डेन निर्माणका लागि डिजाइन तयार पार्ने काम भइरहेको छ । शनिबार मात्रै देशभरका ७७ वटै जिल्लाबाट करिब ४०० जनाको सहभागितामा श्रमदान कार्यक्रम सम्पन्न भएको उनले बताए । श्रम संस्कृति पार्टीले श्रम, सरसफाइ र वातावरण संरक्षणलाई प्राथमिकतामा राख्दै यस्ता अभियानलाई निरन्तरता दिने जनाएको छ ।
दमकमा ‘राष्ट्रिय परिवर्तन पार्टी’को औपचारिक घोषण गरिँदै
काठमाडौं । जेनजी आन्दोलनका घाइते, शहीद परिवार र युवा पुस्ता मिलेर निर्माण भएको ‘राष्ट्रिय परिवर्तन पार्टी’को आज (शनिबार) औपचारिक घोषण सभा गरिँदैछ ।
घोषणा सभा दमकको आदिवासी रङ्गशालामा हुन लागेको राष्ट्रिय परिवर्तन पार्टीका अध्यक्ष राजेश पोर्तेलले जानकारी दिए । जेनजी युनाईटेड समूहका जेनजीहरु ‘राष्ट्रिय परिवर्तन पार्टी’मा समाहित भएको र पार्टीको औपचारिक घोषणा सभा गर्न लागिएको हो ।
घोषणा सभामा विभिन्न दलका नेताहरुलाई पनि आमन्त्रण गरिएको छ । जहाँ हजारौँको संख्यामा जेनजी र स्थानीयहरु उपस्थित हुने राष्ट्रिय परिवर्तन पार्टीको दाबी रहेको छ ।
एमालेको महाधिवेशनमा घन्कियो सुदूरपश्चिमको देउडा
काठमाडौं । भक्तपुरको सल्लाघारीमा सुरु भएको नेकपा एमालेको एघारौँ महाधिवेशनमा सुदूरपश्चिमको मौलिक सांस्कृतिक पहिचान देउडा गीत नृत्यले विशेष रौनक थपेको छ । देशभरबाट सहभागी नेता तथा कार्यकर्ता देउडाको तालमा झुम्मिँदा महाधिवेशन स्थल उत्सवमय बनेको छ ।
महाधिवेशनको व्यस्त राजनीतिक कार्यक्रमबीच सुदूरपश्चिमबाट आएका प्रतिनिधिहरूले देउडा प्रस्तुत गरेपछि अन्य प्रदेशका नेताकार्यकर्ताहरू पनि सहभागी हुँदै सांस्कृतिक मेलमिलापको दृश्य देखिएको हो । देउडाको भाकाले थकान हटाएको र आपसी आत्मीयता बढाएको सहभागीहरूको भनाइ छ ।
सल्लाघारी परिसरमा गुञ्जिएको देउडाले महाधिवेशनलाई केवल राजनीतिक छलफलको थलो मात्र नभई नेपालको बहुसांस्कृतिक पहिचान प्रस्तुत गर्ने साझा मञ्चका रूपमा स्थापित गरेको देखिन्छ । विभिन्न भेषभूषा र मौलिक लयले सुदूरपश्चिमको संस्कृति भक्तपुरमा प्रत्यक्ष अनुभूति गराएको छ ।
महाधिवेशनमा सांस्कृतिक प्रस्तुतिलाई प्राथमिकता दिइनु पार्टीभित्रको विविधता, एकता र राष्ट्रिय पहिचानलाई सम्मान गर्ने अभ्यासको रूपमा लिइएको छ । देउडामार्फत देखिएको यो सांस्कृतिक एकताले महाधिवेशनको समग्र वातावरणलाई थप सकारात्मक र जीवित बनाएको छ । यहाँ लखौँ पूर्व तथा पश्चिमका जनता एक मुठि भएको दृश्य पनि देख्न सकिन्छ ।
नेताहरूले बिचौलियाहरूलाई टाउकोमा राख्दा नागरिकहरूले दुःख पाए : मन्त्री इङनाम
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री कुमारसिंह इङनामले नेताहरूले बिचौलियाहरूलाई टाउकोमा राख्दा नागरिकहरूले दुःख पाएको बताएका छन् । शुक्रवार पदभार ग्रहण गर्दै उनले नेताहरूले कमीशन खानको लागि बिचौलियाहरूलाई टाउको वा गोजीमा राखेर हिँड्ने गरेकाले नागरिकहरूले दुःख पाएको बताए ।
उनले भने, ‘नेपाल पहिलादेखि नै कृषिकर्म गर्दै आएको देश हो । कृषि सहजताका साथ गर्न सक्ने अवस्थामा पनि छौँ । तर यसको उपयोग हुन सकेन । यसमा केही दोषहरू छन् । उत्पादन भएको सामानलाई बजारीकरण गर्न सकेनौ । दोस्रो कुरा हामीले बिचौलियाहरूलाई धेरै प्राथमिकता दियौँ, नेताहरू पनि आफै लागे बिचौलियाहरूलाई टाउकोमा राख्न, गोजीमा राखेर हिडे । कमीशन खानको लागि नेताहरूले बाटो बिराए । यसले गर्दा नागरिकहरूले दुःख पाएका हुन् ।’
यस्तै, उनले कुनै नेतामाथि व्यक्तिगत रूपमा आरोप नलगाएको भन्दै नेताको काम नेतृत्व दिने, जनताको हितको लागि काम गर्ने भएपनि त्यस्तो केही पनि नभएको बताए । उनले भने, ‘अर्को कुरा देशमा रोजगारीको राम्रो अवसर नभएको हुनाले युवाहरू विदेश गएको र त्यसकारणले पनि जमिनहरू बाझो हुदैँ गएको छ । यसमा सबै दोष नेताको छ । मैले कुनै नेतामाथि व्यक्तिगत रूपमा आरोप लगाएको होइन् । नेताको काम नेतृत्व दिने हो जनताको हित कसरी हुन्छ भनेर सोच्ने हो । तर यस्तो कामहरू केही पनि गरेको देखिएन् ।’
एमाले महाधिवेशन अन्तिम चरणमा, उद्घाटन स्थल ‘नमूना’ बनाइएको दाबी
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । पोलिटब्युरो सदस्य एवं मञ्च व्यवस्थापनका संयोजक विनोद श्रेष्ठले ११ औं महाधिवेशनलाई भव्य रूपमा सम्पन्न गर्नको लागि सबै कार्यहरू लगभग सकिएको जानकारी दिए ।
महाधिवेशनको पूर्वसन्ध्यामा शुक्रवार अपराह्न पत्रकार सम्मेलनको आयोजना गर्दै उनले महाधिवेशन भव्य तरिकाले सम्पन्न गर्ने र मञ्च पनि सन्देशमूलक बनाउने हिसाबले तयार गरेको बताए । उनले भने, ‘महाधिवेशन भव्य तरिकाले सम्पन्न गर्ने हिसाबले हामीले काम गरेका छौ । मञ्च कस्तो बनाउने भन्ने कुरामा मञ्चले आफैँ पनि केही सन्देश दिनुपर्छ भन्ने हिसाबले बनाएका छौँ ।’
यस्तै, उनले भक्तपुर पुरातात्त्विक सहर, मन्दिरहरूको सहर विश्व सम्पदा सूचीमा अंकित रहेको सहर भएको हिसाबले यसलाई प्रवर्धन गर्न पनि भक्तपुरमा महाधिवेशन गरेको र मञ्चमा पनि चाँगुनारायण मन्दिरको प्रतिमा राखेको बताए ।
उनले भने, ‘भक्तपुर जहाँ पुरातात्त्विक सहर, मन्दिरहरूको सहर विश्व सम्पदा सूचीमा अंकित रहेको सहरलाई पनि प्रमोशन गर्न खोजीरहेका छौ । यस कार्यक्रममार्फत युगौँ सम्म छाप रहोस भनेर मञ्चमा चाँगुनारायण मन्दिरको प्रतिमा पनि राखेका छौ । महाधिवेशनबाट थाहा नभएको मान्छेले पनि यो मन्दिरको बारेमा थाहा पाउन सक्छन् ।’
यसका साथै, उनले काठमाडौँका मन्दिरहरू–पशुपतिनाथ, स्वयम्भूनाथ, ललितपुरको कृष्ण मन्दिर र भक्तपुरको न्यातापोल मन्दिरदेखि सबै मन्दिरको प्रतिमा पनि मञ्चमा राखेको बताए । नेकपा एमाले सिद्धान्त मात्र नभइ सांस्कृतिक विषयमा पनि काम गर्छ भन्ने सन्देश दिन चाहेको उनले बताए । जनपरिचालन समितिका सचिव डा.राजन भट्टराईले महाधिवेशन स्थलमा उल्लेख्य मात्रामा स्वयंसेवक परिचालन गरिने जानकारी दिए ।
नवनियुक्त चार मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौं । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रपतिको कार्यालय शीतल निवासमा चार मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
कुमार इङनाम, माधव चौलागाई, राजेन्द्र सिंह भण्डारी र श्रद्धा श्रेष्ठले मन्त्री पदको शपथ लिएका हुन् । इङनामलाई भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण ,चौलागाईलाई वन तथा वातावरण,भण्डारीलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा र श्रेष्ठलाई महिला तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
भण्डारी नेपाल प्रहरीका पूर्वएआईजी हुन् । इङनाम काठमाडौं स्कुल अफ लका प्रोफेसर हुन् भने श्रद्धा पर्यटन बोर्डको कर्मचारी हुन् । वन मन्त्री बन्न लागेका चौलागाई पेशाले जनस्वास्थ्यविद् हुन् ।
मुस्ताङमा हिउँ चितुवाको आक्रमणले १९ वटा भेडा–च्याङ्ग्रा मारिए
मुस्ताङ । हिमाली जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका–२, मार्फास्थित सन्तोष परियारको गोठमा हिउँ चितुवा पसेर एकै रातमा ठूलो क्षति पुर्याएको छ।
परियारका अनुसार गोठमा रहेका ४५ वटा भेडा–च्याङ्ग्रा मध्ये १६ वटा भेडा र ३ वटा च्याङ्ग्रा हिउँ चितुवाको आक्रमणमा परेर मारिएका छन्।
गोठभित्रै भएको यो आक्रमणसँगै करिब रु ५,७०,००० बराबरको आर्थिक क्षति भएको उनले बताए ।
करिब बिहान ४ बजे गोठ वरपर कुनै गतिविधि नदेखिएकाले हिउँ चितुवा सहजै भित्र पस्न सफल भएको मार्फाका स्थानिय सुरेन्द्र हिराचनले बताए ।
स्थानीयहरूका अनुसार पछिल्ला वर्षहरूमा पहाडी–हिमाली क्षेत्रमा हिउँ चितुवाद्वारा घरेलु पशुमा आक्रमण बढ्दो छ ।
यस्ता घटनाबाट बच्न गोठ सुरक्षाको सुदृढ व्यवस्था, फक्स लाईट जडान र कृषक तथा गोठालाको निगरानी आवश्यक रहेको नागरिक वैज्ञानिक मिलन विकले सुझाव दिए ।