मन्त्रिपरिषद् बैठक : मुख्य पाँच निर्णय यस्ता छन्
काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै नेपाल सरकार सञ्चार तथा सूचना प्रविधिमन्त्री बिक्रम तिमिल्सिनाले ५ वटा निर्णयहरु सुनाएका थिए ।
यस्ता छन् मुख्य निर्णयहरू:
१.नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोकत्वमा अर्थ सचिव घनश्याम उपाध्याय र भूवन कुमार दाहाल, काठमाडौं सदस्य रहनेगरी सिफारिस समिति गठन गर्ने ।
२.नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिने ।
३.प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृत दिने ।
४.मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृत दिने ।
५.समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष पदमा डिल्लीराज आचार्य, प्युठान र सदस्य पदमा नवराज सिम्खडा धादिङ र रोशनबहादुर शाक्य ललितपुरलाई नियुक्ति र मनोनयन गर्ने ।
नेप्सेमा दोहोरो अंकको गिरावट, होटल र पर्यटन बाहेक सबै उपसमूह घटे
काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार पनि धितोपत्र बजारमा गिरावट आएको छ। अघिल्लो दिन सोमबार घटेर बन्द भएको नेप्से परिसूचकले यस दिन पनि सोही लयलाई निरन्तरता दिँदै १७.९१ अंकले घटेर २८०७.३१ विन्दुमा झरेको छ। नेप्से परिसूचकसँगै सेन्सेटिभ इण्डेक्स ३.०७ अंक, फ्लोट इण्डेक्स १.११ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स पनि १.०१ अंकले ओरालो लागेका छन्।
बजारमा आएको यो गिरावटले लगानीकर्तामा केही दबाब सृजना गरेको देखिएको छ। परिसूचक घटे पनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा सामान्य वृद्धि भएको छ। सोमबार ५ अर्ब ४३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा मंगलबार ३४७ कम्पनीका १ करोड ३० लाख १९ हजार कित्ता शेयर ५ अर्ब ७७ करोड ४३ लाख १७ हजार रुपैयाँमा खरिदबिक्री भएका छन्। कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर ३७ करोड ७ लाख रुपैयाँसहित अग्रस्थानमा रह्यो भने रिलायन्स स्पिनिङ्ग मिल्सको ३० करोड र नेशनल हाइड्रोपावरको साढे २३ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।
बजार ओरालो लागे पनि सूर्यकुण्ड हाइड्रो, पाल्पा सिमेन्ट र शिखर पावर डेभलपमेन्टको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य करिब १५ प्रतिशतले बढ्दा दोल्ती पावरका लगानीकर्ताले भने सर्वाधिक ८.७१ प्रतिशत गुमाएका छन्।
समूहगत रूपमा हेर्दा १३ उपसमूहमध्ये होटल तथा पर्यटन उपसमूह मात्र १.१६ प्रतिशतले बढेको छ भने बाँकी १२ वटा उपसमूहका परिसूचक घटेका छन्, जसमा अन्य, जलविद्युत र वित्त उपसमूहमा १ प्रतिशतभन्दा बढीको गिरावट देखिएको छ।
बिहीबारसम्म ‘हिट वेभ’को संभावना, सतर्कता अपनाउन आग्रह
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार वैशाख १० गते बिहीबारसम्म तराई र पहाडका विभिन्न जिल्लाहरूमा तातो दिन तथा तातो लहर (हिट वेभ) को सम्भावना रहेको छ । नागरिकहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।
मौसमविद् रोजन लामिछानेका अनुसार कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासीमा मध्यम तातो लहरको सम्भावना छ ।
त्यस्तै मधेश प्रदेशका सम्पूर्ण भू–भाग, बाग्मती र गण्डकी प्रदेशका तराई तथा पहाडी क्षेत्रहरू, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भेग तथा खोच र उपत्यकाहरूमा समेत तातो दिन हुने सम्भावना रहेको छ। अन्य क्षेत्रहरूमा पनि तापक्रम क्रमशः बढ्ने अनुमान गरिएको छ ।
मौसमविद् लामिछानेका अनुसार तातो हावा र तातो लहरका कारण थकान लाग्ने, कमजोरी हुने, अत्यधिक तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउडिने, रिङ्गटा लाग्ने, बेहोस हुने, मांसपेशी दुख्ने तथा वान्ता हुने जस्ता स्वास्थ्य समस्या देखिन सक्छन् ।
त्यसैले गर्मीबाट बच्न घरभित्र वा शीतल स्थानमा बस्ने, चर्को घाममा बाहिर ननिस्कने, आवश्यक परे टाउको छोप्ने वा छाता प्रयोग गर्ने, बिहान वा साँझको समय बाहिरी काम गर्ने, हल्का कपडा लगाउने तथा प्रशस्त पानी र फलफूलको रस सेवन गर्न सुझाव दिइएको छ ।
स्वास्थ्यमा समस्या देखिए नजिकको स्वास्थ्य संस्थासँग सम्पर्क गरी आवश्यक सल्लाह लिन पनि अनुरोध गरिएको छ ।
हर्क साम्पाङले सार्वजनिक गरे ३३ बुँदे प्रतिबद्धता पत्र, गृहमन्त्रीलाई राजीनामा दिन सुझाव
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले ३३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत उक्त प्रतिबद्धता सार्वजनिक गरिएको हो ।
प्रतिबद्धता पत्रमा असंलग्न परराष्ट्र नीतिलाई कायम र सुदृढ गर्दै देशलाई विदेशी हस्तक्षेपबाट जोगाउनुपर्नेमा जोड दिइएको छ । एमसीसी, एसपीपी वा ‘बफर स्टेट’ जस्ता अवधारणासँग जोडिने कुनै पनि सन्धि, सम्झौता वा रणनीतिमा प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता नजनाउने धारणा पार्टीले राखेको छ ।
‘असंलग्न परराष्ट्र नीतिलाई कायम र सुदृढ गर्दै देशलाई विदेशी हस्तक्षेपबाट गर्ने पर्छ भन्ने मानेता छ । एमसिसी एसपीपी सुन्नमा आएको बफर स्टेट जस्ता सन्धि सम्झौता, तालमेल रणनीति युद्धसँग प्रत्यक्ष वा अप्रत्यक्ष जोडिने खालको घोषणा नगर्न सुझाव दिन चाहन्छौं,’ उनले भने ।
सीमा सुरक्षालाई प्राथमिकतामा राख्दै छिमेकी मुलुकसँग नियमित संवाद, निरीक्षण तथा परीक्षण प्रणालीमार्फत सीमाको रक्षा गर्नुपर्ने उल्लेख गरिएको छ ।
सीमावर्ती क्षेत्रका नागरिकलाई आधारभूत सेवा सुविधाको प्रत्याभूति गरिने, आवश्यक परे नेपाली सेनालाई सुरक्षामा परिचालन गरिने तथा अवैध निर्माण कार्यहरू रोक्न पहल गरिने प्रतिबद्धता पत्रमा उल्लेख छ ।
‘सिमा रक्षामा जोड् दिने, छिमेकी मुलुकसँग नियमित छलफलमा परीक्षण र निरीक्षक कार्यमा अघि सारी सीमाको रक्ष गर्दै सबै मुलुकसँग जोडिएका सीमावर्ती क्षेत्र सेवा सुविधामा प्रत्याभूति गर्ने, नेपाली सेनालाई सुरक्षामा लगाउने, साथै अवैध तरीकाले भइरहेको निर्माण कार्यहरू रोक्ने र रोक्न लगाउने,’ प्रतिबद्धता पत्रमा उल्लेख छ ।
त्यसैगरी, भौतिक पूर्वाधार, आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक विकासका लागि आफ्नै मौलिक शैली, आधुनिक प्रविधि र स्वदेशी स्रोत(साधनको उपयोग गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने नीति अघि सारिएको छ ।
दैनिक उपभोग्य वस्तु जस्तै नुन, तेल, पेट्रोलियम र ऊर्जाको मूल्य नियन्त्रण गर्दै जनजीवन सहज बनाउने, महँगी नियन्त्रण गर्ने तथा आवश्यक परे राज्यले हस्तक्षेपकारी भूमिका खेल्ने प्रतिबद्धता पनि सार्वजनिक गरिएको छ ।
त्यस्तै साम्पाङले गृहमन्त्री सुधन गुरुङलाई राजीनामा दिनका लागि पनि सुझाव दिएका छन् । उनले गुरुङले मार्गप्रशस्त गर्नु नै उपयुक्त हुने बताएका हुन् ।
साम्पाङले हप्ताको तीन दिन किताबी ज्ञान र चार दिन श्रम, सीप तथा उत्पादनमूलक व्यावहारिक शिक्षा दिने नीति बनाउनुपर्ने, कृषिलाई शिक्षा र उद्योगको आधार मान्ने, सिँचाइ, मल र बिउ किसानको पहुँचमा पु¥याउनुपर्ने, एक परिवार, एक रोजगार’को नीति लागू गर्नुपर्नेलगायतको सुझाव दिएका छन्।
शेयर विवादबारे गृहमन्त्री सुधन गुरुङको स्पष्टीकरणः ‘हल्ला होइन, प्रमाणका आधारमा निर्णय हुनुपर्छ’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफ्नो नाम जोडिएको शेयरसम्बन्धी विवादबारे सामाजिक सञ्जाल फेसबुकमार्फत विस्तृत स्पष्टीकरण दिएका छन् । पछिल्ला दिनमा विभिन्न आरोप र चर्चा भइरहेका सन्दर्भमा उनले तथ्य र प्रमाणका आधारमा विषय बुझ्न आग्रह गरेका हुन् ।
गुरुङले २५ लाखको शेयर लुकाइएको भन्ने आरोपलाई अस्वीकार गर्दै आफूले धितोपत्र बजारमा कारोबार हुने २ करोडभन्दा बढीको लगानी सम्पत्ति विवरणमै स्पष्ट उल्लेख गरिसकेको बताए । उनका अनुसार स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा गरिएको लगानी पनि सोही समूहभित्र समेटिएको हो, जुन लुकाइएको नभई वर्गीकरणको विषय मात्र भएको दाबी गरे ।
उनले मन्त्री हुनुअघि शेयर किनिएको भन्ने आरोपप्रति प्रतिक्रिया दिँदै शेयरमा लगानी गर्नु अपराध नभएको उल्लेख गरे । सम्पूर्ण कारोबार बैंकिङ च्यानलमार्फत भएको र त्यसको स्पष्ट अभिलेख उपलब्ध रहेको उनको भनाइ छ ।
स्रोतबारे स्पष्ट पार्दै उनले लगानीका लागि प्रयोग गरिएको रकम ऋणमार्फत जुटाइएको र २०८०÷०५÷२९ मा गरिएको तमसुकअनुसार सो रकम बैंकिङ माध्यमबाट आएको बताएका छन् । ‘पैसा कहाँबाट आयो भन्ने कुरा अनुमानको होइन, कागज र बैंक रेकर्डले पुष्टि गर्ने विषय हो,’ उनले उल्लेख गरेका छन् ।
‘विवादित व्यक्तिसँग साझेदारी’ भन्ने आरोपप्रति उनले एउटै कम्पनीमा सयौँ–हजारौँ शेयरधनी हुने भएकाले सेयर खरिद गर्नु सबैसँग साझेदारी गर्नु नभएको तर्क गरे । सोही आधारमा सबै लगानीकर्तालाई दोषी ठहर गर्न नमिल्ने उनको भनाइ छ ।
त्यस्तै ‘कन्फ्लिक्ट अफ इन्टरेस्ट’ सम्बन्धी आरोपबारे उनले छानबिनको जिम्मा गृह मन्त्रालयमा नभई अर्थ मन्त्रालयअन्तर्गतको सम्पत्ति शुद्धिकरण विभागमा रहेको र सोही निकायले प्रक्रिया अनुसार विषय हेरिरहेको बताएका छन् । उनले छानबिन प्रक्रियामा कुनै हस्तक्षेप नगरेको दाबी पनि गरेका छन् ।
पृष्ठभूमि नजाँची लगानी भन्ने विषयमा उनले व्यापारिक लगानीमा जोखिम स्वाभाविक हुने र भविष्यका सबै अवस्था पहिल्यै थाहा नहुने बताएका छन् । पछिका घटनालाई अघिल्लो निर्णयसँग जोडेर दोषारोपण गर्नु उचित नभएको उनको भनाइ छ ।
कानुनी रूपमा संवेदनशील विषय भएकाले तुरुन्त प्रतिक्रिया नदिएको पनि उनले स्पष्ट पारेका छन् । ‘हल्ला छिटो फैलिन्छ, तर सत्य प्रमाणसहित मात्र आउँछ,’ उनले उल्लेख गरेका छन् ।
उनले आरोप र सत्य फरक विषय भएको उल्लेख गर्दै निर्णय प्रमाणका आधारमा हुनुपर्ने धारणा राखेका छन् । साथै, पार्टीले गर्ने हरेक निर्णयको पालना गर्ने र अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
मन्त्री गुरुङलाई बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग
काठमाडौं । गृहमन्त्री सुधन गुरुङमाथि उठेका गम्भीर आरोपहरूको विषयमा तत्काल कारबाहीको माग गर्दै जेनजी मुभमेन्ट नेपालले सरकारको ध्यानाकर्षण गराएको छ । संगठनले आइतबार जारी गरेको प्रेस वक्तव्यमा मन्त्री गुरुङलाई पदबाट बर्खास्त गरी पक्राउ गर्न तथा निष्पक्ष अनुसन्धान अघि बढाउन माग गरिएको हो ।
वक्तव्यमा पदमै बसेर छानबिन गर्नु सम्भव नहुने उल्लेख गर्दै यसले स्पष्ट रूपमा स्वार्थको द्वन्द्व सिर्जना गर्ने बताइएको छ । मन्त्री पदमा रहँदा आफ्नैविरुद्ध निष्पक्ष छानबिन हुन नसक्ने भन्दै संगठनले यसलाई आधारभूत नैतिकता र कानुनी सिद्धान्तविपरीत ठहर गरेको छ ।
त्यसैगरी, वक्तव्यमा बालेन शाह नेतृत्वको सरकारप्रति लक्षित गर्दै क्याबिनेट गठनलाई गम्भीर राजनीतिक र नैतिक निर्णयका रूपमा लिनुपर्ने उल्लेख गरिएको छ । हचुवाको भरमा मन्त्री नियुक्त गर्ने र पछि हटाउने प्रवृत्तिलाई अस्वीकार्य बताउँदै जिम्मेवार नेतृत्वले परिपक्वता, दूरदर्शिता र जवाफदेहिता प्रदर्शन गर्नुपर्नेमा जोड दिइएको छ ।
संगठनले वर्तमान सरकारलाई ७६ जना शहीदहरूको बलिदानबाट प्राप्त जनादेशको प्रतिनिधि भएको उल्लेख गर्दै जनताको त्यागमाथि सस्तो राजनीति नगर्न चेतावनी दिएको छ । सुशासन, पारदर्शिता र जवाफदेहितामा कुनै सम्झौता स्वीकार्य नहुने पनि वक्तव्यमा उल्लेख गरिएको छ ।
जेनजी मुभमेन्टले न्याय प्रक्रिया स्वतन्त्र, निष्पक्ष र दबाबमुक्त हुनुपर्नेमा पुनः जोड दिँदै दोषी जो–कोही भए पनि कानुनको कठघरामा उभिनुपर्ने बताएको छ । पद, शक्ति वा राजनीतिक संरक्षणका आधारमा कसैलाई पनि उन्मुक्ति दिन नहुने चेतावनीसमेत दिएको छ । उक्त वक्तव्य जेनजी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाहद्वारा जारी गरिएको हो ।
बेइजिङ हाफ म्याराथनमा अनर कम्पनीको रोबोटले जित्यो उपाधि
काठमाडौं । प्रविधि क्षेत्रमा ठूलो फड्को मार्दै चीनको अग्रणी स्मार्ट उपकरण निर्माता कम्पनी अनर द्वारा विकसित मानवरूपी रोबोट ‘लाइटनिङ’ले बेइजिङ स्थीत ई–टाउन ह्युमनोइड रोबोट हाफ म्याराथनको उपाधि जितेको छ ।
आइतबार सम्पन्न उक्त प्रतिस्पर्धामा लाइटनिङले ५० मिनेट २६ सेकेन्डको उत्कृष्ट समय निकाल्दै स्वर्ण पदक जितेको हो । बेइजिङको यिझुआङ जिल्ला (ई–टाउन) मा आइतबार बिहान ७ः३० बजे सुरु भएको यो म्याराथन २१.०९७५ किलोमिटर लामो थियो । यस प्रतिस्पर्धामा स्वायत्त नेभिगेसन र रिमोट कन्ट्रोल गरी दुईवटा विधा समावेश गरिएको थियो । दुवै विधाका रोबोटहरूले एउटै मार्गमा प्रतिस्पर्धा गरे तापनि नतिजा गणना गर्दा स्वायत्त नेभिगेसनलाई १.० र रिमोट कन्ट्रोललाई १.२ को भारित गुणांक दिइएको थियो ।
यस प्रतिस्पर्धामा अनर कम्पनीका रोबोटहरूले वर्चस्व जमाउँदै शीर्ष तीनवटै स्थान हासिल गर्न सफल भए । अनरको चितियान दासेङ टोलीले पहिलो स्थान हासिल ग¥यो भने लेइतिङ सान्दियान टोली ५० मिनेट ५६ सेकेन्डका साथ दोस्रो र सिङहुओ लियाओयुआन टोली ५३ मिनेट १ सेकेन्डमा दौड पुरा गर्दै तेस्रो भयो । शीर्ष तीनवटै विजेताहरू स्वायत्त नेभिगेसन विधाका थिए ।
अर्कोतर्फ, रिमोट कन्ट्रोल विधाबाट अनरकै जुइयिङ चितु टोलीको रोबोटले सबैभन्दा छिटो ४८ मिनेट १९ सेकेन्डमा निर्धारित दूरी पार गरेको थियो । तर, खेलको भारित नियमअनुसार यसको नेट समय ५७ मिनेट कायम गरिएपछि यो शीर्ष तीनमा पर्न सकेन ।
यस वर्षको प्रतिस्पर्धामा सहभागी टोलीहरूको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । गत वर्ष २० टोली सहभागी भएकोमा यस वर्ष १०० भन्दा बढी टोलीहरूले भाग लिएका थिए । गत वर्षको विजेता तियाङगोङ अल्ट्रा रोबोटले २ घण्टा ४० मिनेटमा दौड पुरा गरेको थियो, जसको तुलनामा यस वर्षको नतिजाले रोबोटिक प्रविधि, सन्तुलन, र एल्गोरिदममा भएको तीव्र विकासलाई दर्शाउँछ ।
सहभागी रोबोटहरूले पहिलेको तुलनामा अझ स्थिर चाल, लामो समयसम्म टिक्ने क्षमता र परिष्कृत दौड शैली प्रदर्शन गरेका थिए । यो सफलताले भविष्यमा मानवरूपी रोबोटको प्रयोग खेलकुद र अन्य शारीरिक श्रमका क्षेत्रमा अझ प्रभावकारी हुने संकेत गरेको छ । सीसीटीभी
‘फस्ट फ्लस’को चिया टिपाइ धमाधम, गुणस्तरीय उत्पादनको संभावना
इलाम । पूर्वी नेपालको प्रमुख चिया उत्पादन क्षेत्र इलाममा यसवर्ष चियाको पहिलो टिपाई अर्थात् ‘फस्ट फ्लस’ धमाधम भइरहेकोे छ ।
फागुन र चैत महिनाको पहिलो सातामै वर्षा भएकाले मौसम अनुकूल बनेको छ, जसले चिया किसानहरूलाई उत्पादनमा सहयोग पु¥याएको छ । समयमै परेको पानीका कारण चियाका बोटहरूमा नयाँ मुना राम्रोसँग पलाएका छन्, जसले गुणस्तरीय चिया उत्पादनको सम्भावना बढाएको छ ।
फस्ट फ्लस सिजनमा उत्पादन हुने चिया गुणस्तरका हिसाबले सबैभन्दा उत्कृष्ट मानिन्छ । कोमल पात र विशिष्ट सुगन्धका कारण यस प्रकारको चिया अन्तर्राष्ट्रिय बजारमा उच्च मागमा रहने गर्दछ ।
उत्पादनको मात्रा कम भए पनि यसको मूल्य अन्य सिजनको तुलनामा बढी हुने भएकाले किसान र उद्योगीहरूका लागि यो समय विशेष महत्वपूर्ण मानिन्छ ।
चिया टिपाई सुरु भएसँगै जिल्लाका केही चिया कारखानाले हरियो पत्ती प्रशोधन गर्न थालेका छन् । इलाम अर्थोडक्स चिया उत्पादनका लागि देशकै अग्रणी जिल्ला मानिन्छ । यहाँ वार्षिक रूपमा करिब ६० लाख किलो तयारी चिया उत्पादन हुने तथ्यांक रहेको छ ।
जिल्लामा हाल ठूला र साना गरि १०० बढि चिया कारखाना सञ्चालनमा छन् । साथै, करिब १२ हजार किसान चिया खेतीमा संलग्न छन्, जसले उत्पादन गरेको हरियो पत्ती कारखानामा बिक्री गर्दै आएको केन्द्रिय चिया सहकारी संघका महासचिव रबिन राईले जानकारी दिए ।
इलाममा विभिन्न प्रकारका चिया उत्पादन हुने गरेका छन्, जसमा गोल्डन, गोल्डन फ्लस, सिल्भर, गोल्डन ब्ल्याक, ग्रिन लगायतका चिया प्रमुख छन् ।
चियाले आन्तरिक बजारसँगै अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो पहिचान बनाएका छन् । विशेष गरी फस्ट फ्लस चियाले विदेशी बजारमा उच्च मूल्य पाउने भएकाले यसको निर्यात सम्भावना उच्च रहेको छ ।
रेडपाण्डा अध्ययन र अवलोकन गर्न आउनेको संख्या बढ्यो, विदेशीलाई विशेष चासो
इलाम । विश्वका सिमित देशमा मात्रै पाइने रेडपाण्डा हेर्न इलामका उच्च पहाडी क्षेत्रमा पर्यटक पुग्ने क्रम बढेको छ ।
सन्दकपुर गाँउपालिकाको दोबाटेमा अमेरिका, अस्टे«लिया, न्यूजिजल्याण्ड, भारत, बंगलादेशका पर्यटकहरु रेडपाण्डा अध्ययनमा पुग्ने गरेका छन् ।
दोबाटेबाट नजिकै रहेको कैयाकट्टामा पनि रेडपाण्डा हेर्न आउने पर्यटकको संख्या बढ्दो छ । सिंहलिला कंचनजंघा क्षेत्रमा पर्ने इलामको उत्तरी क्षेत्र रेडपाण्डाको बासस्थान हो ।
नेपाल, भारत, भुटान, चीन र म्यानमारमा मात्रै पाइने रेडपाण्डा हेर्नकै लागी बिभन्न मुलकका पर्यटकहरु इलामका उच्च पहाडी क्षेत्रमा पुग्ने गरेका इलामका पर्यटनकर्मी तथा पत्रकार सुजन तिम्सीनाले जानकारी दिए ।
रेडपाण्डाको संरक्षण र पर्यटन प्रवद्र्धनमा रेडपाण्डा नेटवर्क सक्रिय रहेको छ । इलामको सूर्योदय नगरपालिका १ को थुम्के, माईजोगमाई गाउँपालिकाको आहालभञ्ज्याङ्ग, सन्दकपुर गाउँपालिकाको टप्पु, छिन्टापु, दोबाटे, कैयाकट्टा, जौबारी, गैरीबास र चोयाटार क्षेत्रमा रेडपाण्डा पाइन्छ । यहाँ रेडपाण्डाको माध्यमबाट पर्यटन प्रवद्र्धनको काम भएपछि बिदेशी पर्यटक पुग्ने गरेका छन् ।
रेडपाण्डाको बढी बसोबास भएको क्षेत्र सन्दकपुर गाउँपालिका हो । जसका कारण रामसार क्षेत्र माईपोखरीबाट जौबारी जोड्ने ५२ किलोमिटर लामो पदमार्गलाई गाउँपालिकाले रेडपाण्डा पदमार्ग घोषणा गरि पर्यटन प्रवद्र्धन गर्दै आएको छ ।
सन्दकपुरमा रेडपाण्डासँगै सयौँ प्रजातीका चराहरु, ध्वाँसे चितुवा, चरिबाघ, मुनाल लगायतका वन्यन्तुहरुको अध्ययन गर्न पाइन्छ । जसका कारण तेस्रो मुलकका पर्यटकहरुको आकर्षण इलामका उच्च पहाडी क्षेत्रमा बढेको हो ।
विद्यार्थी संगठनमाथि प्रतिबन्ध असम्भव : रामकुमारी झाक्री
काठमाडौं । राष्ट्रिय सभाकी सदस्य रामकुमारी झाक्रीले विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने सरकारी प्रयास कानुनी रूपमा सम्भव नभएको बताएकी छन् । विद्यार्थी संगठनमाथि लगाउन खोजिएको प्रतिबन्धविरुद्ध आयोजित वृहत् संवाद कार्यक्रममा बोल्दै उनले वर्तमान संविधान जीवित रहँदासम्म यस्ता संगठनमाथि प्रतिबन्ध लगाउन नसकिने स्पष्ट पारिन् ।
उनले भनिन्, ‘आजको दुनियाँमा कानुनी रूपमा लगाइने प्रतिबन्ध वास्तवमा प्रभावकारी हुँदैन । २०४७ सालको संवैधानिक व्यवस्थाले संघ–संस्था, विचार र राजनीतिमाथि प्रतिबन्ध नलगाउने सिद्धान्त स्थापित गरेको थियो । २०६२÷६३ को जनआन्दोलनपछि बनेको वर्तमान संविधान खारेज नगरेसम्म विद्यार्थी संगठनमाथि कानुनी रूपमा प्रतिबन्ध लगाउनु सम्भव छैन ।’
झाक्रीले प्रतिबन्धको प्रयासले उल्टै अनिश्चितता र अन्योल सिर्जना गर्ने बताइन् । ‘प्रतिबन्ध नलागे पनि घटनाहरू घटिरहन्छन् । त्यस्ता घटनाबारे स्पष्ट दृष्टिकोण दिन नसक्ने अवस्था आउँछ । हामी कहाँ उभिने भन्ने नै अन्योल हुन्छ । यस्ता परिस्थितिमा हामी साक्षी मात्र बन्न बाध्य हुन्छौं, आफ्नो धारणा राख्न, विश्लेषण गर्न र स्पष्ट अभिव्यक्ति दिन सक्दैनौं,’ उनले भनिन् ।
उनले यस प्रकारका अवस्थाले लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाउने पनि उल्लेख गरिन् ।
कार्यक्रममा सहभागी अन्य वक्ताहरूले पनि विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने प्रयास लोकतान्त्रिक मूल्य मान्यताविपरीत हुने धारणा राखेका थिए ।