आइतबार, २१ भदौ २०८३

/frontend/images/redline.png
https://www.jawaaf.com/storage/01M1896VRR1PRH0GAMQ18K8Z3X.jpg

त्रिशूली–३‘ए’ मा गरिएको ड्रिलिङमा आंशिक सफलता, अक्सिजन पठाउने प्रयास

काठमाडौं । बाढीका कारण लेदो र माटोले पुरिएको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङ मार्गमा उद्धारका लागि भइरहेको ड्रिलिङ कार्यमा आंशिक सफलता प्राप्त भएको छ ।

बिहानैदेखि प्राविधिकसहितको सुरक्षाकर्मी टोलीले पुरिएको सुरुङमा जमेको लेदो पन्छाउँदै ड्रिलिङमार्फत मार्ग खोल्ने प्रयास गरिरहेको थियो । सो क्रममा केहीबेर अघि सुरुङको माथिल्लो भागमा रहेको ‘क्राउन’ पहिचान घटनास्थलबाट जानकारी प्राप्त भएको छ ।

क्यामेरा र अक्सिजन सुरुङभित्र पठाउने कार्य सुरु भएको बताइएको छ । क्यामेरामार्फत सुरुङभित्रको अवस्थाबारे जानकारी लिन तथा सम्भावित रूपमा भित्र रहेका व्यक्तिसम्म अक्सिजन पु¥याउन यो प्रयास महत्त्वपूर्ण मानिएको छ ।

उद्धार टोलीले प्वालमार्फत पनि अक्सिजन तथा आवश्यक उपकरण पठाउने र सुरुङमा थुप्रिएको लेदो हटाउँदै उद्धारको बाटो खोल्ने प्रयास जारी राखेको छ ।

प्रतिकूल मौसम र चुनौतीपूर्ण भौगोलिक अवस्थाका बिच प्राविधिक तथा सुरक्षाकर्मीको टोलीले उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ ।

प्रकाशित मितिः आइतबार, १४ भदौ २०८३
https://www.jawaaf.com/storage/01M1893FD7PPKW39C0ZJAGJ556.jpg

तमोर नदीमा बेल ब्रिज निर्माण सम्पन्न

ताप्लेजुङ । तमोर नदीमा बेल ब्रिज निर्माण सम्पन्न गरिएको छ । यातायात सञ्चालन गर्नका लागी ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा तमोर इनर्जी प्रालिले बेल ब्रिज निर्माण गरेको हो ।  

फक्ताङ्लुङ गाउँपालिका–५ तापेथोक र वडा ६ लेलेप जोड्ने तमोर नदीमा मोटर गुड्ने (मोटरेवल) बेल ब्रिज निर्माण गरिएको हो । कुल सात करोड ८५ लाख १९ हजार १७६ रुपियाँको लागतमा बेल ब्रिज निर्माण गरिएको माथिल्लो तमोर जलविद्युत आयोजनाले जनाएको छ । 

आयोजनाका अनुसार बेल ब्रिजको लम्बाई ५४।८ मिटर र चौडाइ ४।५ मिटर रहेको छ । उक्त पुल निर्माण भएसँगै फक्ताङ्लुङको वडा ४ इखाबु, वडा ६ लेलेप र वडा ७ ओलाङ्चुङगोलासम्म यातायात सञ्चालनका लागि सहज भएको गाउँपालिकाले जनाएको छ । 

तमोर इनर्जी प्रालिको प्रवर्धनमा २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत आयोजना निर्माण भइरहेको छ ।

प्रकाशित मितिः आइतबार, १४ भदौ २०८३
https://www.jawaaf.com/storage/01M184N6EJJZ2P99PWDBRJQME6.jpg

प्रतिकूल मौसमबिच माथिल्लो त्रिशूली– ३ ‘ए’ मा रातभर खटियो उद्धार टोली

काठमाडौं । प्रतिकूल मौसम र रातको अँध्यारोका बिच पनि बाढीका कारण माथिल्लो त्रिशुली— ३ ‘ए’ जलविद्युत आयोजनामा फसेका मानिसहरूको उद्धारको कोसिस भइरहेको छ । 

अविरल वर्षा र अप्ठ्यारो परिस्थितिबिच प्रभावित क्षेत्रमा नेपाली सेनासहितको उद्धार टोली रातभर खटिएर खोज तथा उद्धारको अथक प्रयास गरिरहेका छन् ।

रातको अँध्यारो र प्रतिकूल मौसमका कारण सिर्जित जोखिमलाई पन्छाउन उच्च क्षमताका फ्लडलाइटहरू जडान गरी कार्यस्थलमा काम जारी राखिएको छ । 

घटनास्थलमा थुप्रिएको पहिरो र माटो पन्छाउनका लागि जेसीबीलगायतका भारी एक्स्क्याभेटरहरू निरन्तर प्रयोग गरिएका छन्, जसबाट बाटो खोल्ने र पुरिएका सम्भावित स्थानहरूसम्म पुग्ने कोसिस भइरहेको छ । 

उद्धार टोलीले अत्याधुनिक ‘सर्च क्यामेरा’ तथा विशेष मोनिटर प्रयोग गरी सूक्ष्मरुपमा खोज्ने प्रयास गरिरहेका छन् । 

प्राविधिक टोलीहरू आपत्कालीन उपकरण तथा प्राथमिक उपचार बाकससहित स्थलगत समन्वयमा जुटेका छन् ।

प्रकाशित मितिः आइतबार, १४ भदौ २०८३
https://www.jawaaf.com/storage/01M16N3MQGDN0WJ2R9TSD65STQ.jpeg

रसुवा भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ६२६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीद्वारा सार्वजनिक गरिएको अद्यावधिक तथ्याङ्क अनुसार बाढी प्रभावित विभिन्न क्षेत्रहरूबाट २ हजार ३०१ जनाको उद्धार तथा प्राथमिक उपचार गरिएको छ भने २७ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेका छन् । 

विपद् व्यवस्थापन तथा खोजतलासका क्रममा विभिन्न जिल्लाका नदी तटीय क्षेत्रबाट शवहरू फेला परेका हुन् । प्रहरीका अनुसार सबैभन्दा धेरै चितवनमा २३३, नवलपरासी पूर्वमा १५८, गोरखामा ५४, धादिङमा ४९, नवलपरासी पश्चिममा ४७, नुवाकोटमा ४१, तनहुँमा ३१ र रसुवामा १३ जनाको शव संकलन गरिएको छ ।

यसैगरी बाढी प्रभावित क्षेत्रबाट हालसम्म २ हजार ३०१ जनाको सकुशल उद्धार गरिएको छ, जसमा नुवाकोटबाट १ हजार ६२२ जना, रसुवाबाट ६७६ जना र धादिङबाट ३ जना रहेका छन् । उद्धार गरिएका घाइतेहरूमध्ये काठमाडौं उपत्यकाका विभिन्न अस्पतालहरूमा उपचाररत तथा उपचारपछि डिस्चार्ज हुनेको संख्या १४० पुगेको छ ।

प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन हालसम्म ४ हजार ८५४ जना प्रहरी कर्मचारी प्रत्यक्ष रूपमा परिचालित छन् । सम्पर्कविहीन सुरक्षाकर्मी तथा अन्य नागरिकहरूको खोजी कार्य तीव्र गतिमा जारी रहेको नेपाल प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः शनिबार, १३ भदौ २०८३
https://www.jawaaf.com/storage/01M16A8D10RMGV4D7DR3JK8805.jpg

जलविद्युत्को सुरुङभित्र फसेकाहरूको उद्धारको प्रयास जारी

काठमाडौं । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि सरकारले दुई दिनदेखि निरन्तर प्रयास गरिरहेको जनाएको छ ।

उद्धार कार्यअन्तर्गत शनिबार बिहानैदेखि सुरुङको प्रवेशद्वार खोल्ने कामलाई थप तीव्रता दिइएको छ ।

सुरुङभित्र मानिसहरू फसेको सूचना आएपछि सरकारले प्राथमिकताका साथ उद्धार टोली परिचालन गरेको हो । टोलीले सुरुङको प्रवेशद्वारमा थुप्रिएको लेदो तथा भग्नावशेष हटाउँदै भित्र जाने बाटो खुलाउने प्रयास गरिरहेको छ ।

सुरुङको मुख खोल्ने तथा खोजी कार्यलाई तीव्र बनाउन शुक्रबार रातिदेखि नै नेपाली सेनाका ६२ जना तथा सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका गरी २० जना सुरक्षाकर्मी संलग्न ८२ सदस्यीय संयुक्त टोली निरन्तर खटिएको छ । प्रतिकूल मौसमका कारण उद्धार कार्य भने चुनौतीपूर्ण बनेको छ ।

यसैबीच, उद्धारमा सहयोग गर्न भारतबाट आएको टोली त्रिशूली पुगेको छ । भारतीय टोलीले हेलिकप्टरमार्फत चिलिमे र लाङटाङ क्षेत्रको प्रारम्भिक हवाई अनुगमन (रेकी) गरी अवस्थाको मूल्यांकन गर्ने र आवश्यकताअनुसार थप उद्धार कार्य अघि बढाउने योजना बनाएको छ ।

प्रकाशित मितिः शनिबार, १३ भदौ २०८३
https://www.jawaaf.com/storage/01M15QDVTSTP3AXVMZ5HTRB8SQ.jpeg

गाईजात्रा पर्व आज मनाइँदै

काठमाडौं । आज गाईजात्रा पर्व मनाइँदै छ । यो पर्व काठमाडौं उपत्यकामा विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाउने गरिन्छ ।

परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने गरिन्छ । 

विशेषगरी काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर नगर तथा टोल परिक्रमा गराउने प्रचलन छ ।

गाईजात्राका क्रममा श्रद्धालुले सहभागीलाई दूध, फलफूल, रोटी, चिउरा, दहीलगायत खाद्य सामग्री तथा अन्न र द्रव्य दान गर्ने परम्परा छ । धार्मिक मान्यताअनुसार यसरी नगरपरिक्रमा गराउँदा वर्षभरि दिवङ्गत भएका आफन्तले गाईको पुच्छर समाई वैतरणी नदी पार गर्ने विश्वास गरिन्छ ।

गाईजात्राको ऐतिहासिक सम्बन्ध काठमाडौंका राजा प्रताप मल्लसँग जोडिएको छ । पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई संसारमा सबैले कुनै न कुनै रूपमा शोक बेहोर्नुपर्छ भन्ने अनुभूति गराउन राजा प्रताप मल्लले यो पर्व सुरु गराएको ऐतिहासिक तथ्य पाइन्छ ।

गाईजात्राले रानीको शोक कम गर्न नसकेपछि विभिन्न प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम आयोजना गर्न राजाले आदेश दिएको जनश्रुति छ । त्यसैबाट गाईजात्रामा हाँस्यव्यङ्ग्य तथा सामाजिक विकृतिमाथि व्यङ्ग्य गर्ने परम्पराको विकास भएको मानिन्छ ।

प्रकाशित मितिः शनिबार, १३ भदौ २०८३
https://www.jawaaf.com/storage/01M1491CMKXW1DEKW8WB7N4D7Q.jpg

रसुवा बाढी : टेम्पो चालकको सूचनाले २८ तीर्थयात्रीले जोगाएका थिए ज्यान

काठमाडौं । भारत विशाखापट्टनम डीएलडीए अध्यक्ष गाडु वेङ्कटप्पासहित तीर्थयात्रीहरूको एक समूहले नेपालमा आएको विनाशकारी बाढीबाट झिनो अन्तरले ज्यान जोगाएको छ ।

घटनाअघि भएका लगातारका ढिलाइ र समयमै गराइएको जानकारीका कारण उनीहरू उक्त विपत्तिबाट जोगिन सफल भएका हुन् ।

वेङ्कटप्पाका भाइ गरुडप्पाल नायडुका अनुसार कैलाश मानसरोवर यात्राका लागि निजी ट्राभल अपरेटरमार्फत २८ जना तीर्थयात्रीको समूह अगस्ट २४ मा भागलपुर विमानस्थलबाट प्रस्थान गरेको थियो। समूहमा उनीहरूको परिवारका आठ जना सदस्य पनि थिए।

एएनआईसँग कुरा गर्दै नायडुले समूह काठमाडौं पुगेपछि भिसा प्राप्त गर्न ढिलाइ भएका कारण तीन दिन त्यहीँ बस्नुपरेको बताए। भिसा प्राप्त भएपछि उनीहरू मानसरोवरतर्फको यात्रामा निस्किएका थिए।

उनले भने, ‘बाटोमा उनीहरू शौचालय प्रयोग गर्न र चिया पिउन रोकिएका थिए, जसका कारण केही समय ढिलो भयो। उनीहरूको गाडी चीनको सीमास्थित पुलबाट करिब ५० देखि १०० मिटर मात्र टाढा पुगेको बेला अचानक ठूलो शक्तिका साथ पहिरो खस्यो।’

नायडुका अनुसार विपरीत दिशाबाट आइरहेका एक टेम्पो चालकले उनीहरूलाई सचेत गराएका थिए। त्यसपछि बस चालकले तत्कालै गाडीलाई अग्लो स्थानतर्फ लगे र यात्रुहरूलाई सुरक्षित स्थानमा पुर्‍याए।

उनले भने, ‘घटना भएको लगत्तै उनीहरू सम्पर्कविहीनजस्तै भएका थिए। घटनाबाट केही सम्हालिएपछि मेरो भाइले हामीलाई फोन गरेर आफूहरू सुरक्षित क्षेत्रमा रहेको र सबैजना ठीक रहेको जानकारी दिए।’

उनका अनुसार तीर्थयात्रीहरूले आफ्नै आँखाअगाडि अन्य तीनवटा बस बाढीले बगाएको देखेका थिए र ती बसमा रहेका यात्रुहरूको अझैसम्म खोजी हुन सकेको छैन।

नायडुले भने, ‘ती मानिसहरू अझै फेला परेका छैनन्। हामी सबैजना सुरक्षित अवस्थामा फेला परून् भन्ने हार्दिक आशा गर्दछौँ।’

उनले परिवारका आठ जना सदस्य हाल काठमाडौंमा सुरक्षित रहेको र ट्राभल अपरेटरले उनीहरूको हेरचाह गरिरहेको बताए। उनीहरू शुक्रबार राति अबेर घर फर्किने अपेक्षा गरिएको छ।

घटनापछि परिवारमा उत्पन्न चिन्ताको क्षण सम्झँदै नायडुले विपत्तिबारे समाचारहरू हेरेपछि परिवार निकै चिन्तित भएको बताए।

उनले भने, ‘उनीहरूले आफ्नै अगाडि मानिसहरूलाई बाढीले बगाएको देखेका कारण निकै त्रसित भएका थिए। सुरुमा उनीहरू बोल्नसमेत डराएका थिए। साँझसम्ममा उनीहरू सम्हालिए र घटनाबारे विस्तृत जानकारी दिए ।’

नायडुले थपे, ‘हामी त्यहाँ अलपत्र परेका सबैजना सुरक्षित रूपमा आफ्नो घर पुगून् भन्ने आशा गर्छौँ। उनीहरू आज राति १० बजेपछि घर आइपुग्ने अपेक्षा गरिएको छ।’

यसैबीच, नेपाल प्रहरीले शुक्रबार हिमाली देशमा बाढीको जोखिम रहेको र त्रिशूली क्षेत्रबाट मानिसहरूलाई सुरक्षित स्थानमा सारिरहेको छ। प्रहरीका अनुसार बुधबार आएको विनाशकारी भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ४७५ पुगेको छ ।

प्रकाशित मितिः शुक्रबार, १२ भदौ २०८३
https://www.jawaaf.com/storage/01M147ZJ25JXRB8AX2P0TGNMA3.jpeg

चिनियाँ राष्ट्रपतिले नेपाललाई पठाए शोक सन्देश

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले शुक्रबार नेपालका राष्ट्रपति रामचन्द्र पौडेललाई हालै नेपालमा भएको पहिरो विपद्प्रति शोक सन्देश पठाएका छन्।

आफ्नो सन्देशमा सीले चीन र नेपालबीचको केरुङ–रसुवा सीमा नाकामा हालै गएको भीषण पहिरोमा ठूलो मानवीय क्षति हुनुका साथै मानिसहरू बेपत्ता भएको र सम्पत्तिमा क्षति पुगेको उल्लेख गरेका छन्।

चिनियाँ सरकार र जनताका तर्फबाट सीले मृतकहरूप्रति गहिरो समवेदना तथा शोकसन्तप्त परिवार, घाइते र विपद् प्रभावित क्षेत्रका मानिसहरूप्रति हार्दिक सहानुभूति व्यक्त गरेका छन्।

सीले चीनले बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धार, प्रभावित मानिसहरूको स्थानान्तरण तथा पुनःस्थापना, घाइतेहरूको तत्काल उपचार, मानवीय क्षति न्यूनीकरण र थप विपद् हुन नदिन हरसम्भव प्रयास गरिरहेको बताएका छन्।

चीन र नेपाल हिमाल र नदीद्वारा जोडिएका तथा साझा भविष्य भएका मुलुक रहेको उल्लेख गर्दै सीले नेपालका उद्धार प्रयासमा सक्रिय रूपमा सहयोग गर्न र आफ्नो क्षमताले भ्याएसम्म आवश्यक सहयोग तथा समर्थन उपलब्ध गराउन चीन तयार रहेको बताएका छन्।

दुवै देशका जनताले मिलेर विपद्लाई पार गर्दै यथाशीघ्र आफ्नो घर पुनर्निर्माण गर्न सक्ने विश्वास पनि सीले व्यक्त गरेका छन्।

सोही दिन चिनियाँ प्रधानमन्त्री ली छ्याङले पनि नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई शोक सन्देश पठाएका छन्।

प्रकाशित मितिः शुक्रबार, १२ भदौ २०८३
https://www.jawaaf.com/storage/01M135T8Q1HD89AZS6DKSRE6H7.jpg

रसुवा बाढी : बेपत्ता ताप्लेजुङका ३ जना सम्पर्कमा, २ अझै बेपत्ता

ताप्लेजुङ । त्रिशूली र भोटेकोशीसहितका नदीहरूमा आएको बाढीका कारण सम्पर्कविहीन भएका ताप्लेजुङका पाँच जनामध्ये तीन जना परिवारको सम्पर्कमा आएका छन् भने दुई जना अझै बेपत्ता छन् । 

रसुवास्थित जलविद्युत आयोजनामा कार्यरत आठराई त्रिवेणी गाउँपालिका–१, निघुरादिनका पासाङतेञ्जी शेर्पा, ङिमासाङ्गे शेर्पा र पासाङ शेर्पा शुक्रबार बिहान ३ बजे परिवारको सम्पर्कमा आएका हुन् । उनीहरू सकुशल सम्पर्कमा आइसकेको आठराई त्रिवेणी गाउँ कार्यपालिका सदस्य शान्ता गुरुङले जानकारी दिइन् । 

बाढीपछि सम्पर्कविहीन भएका अन्य दुई जना भने शुक्रबार बिहानसम्म पनि परिवारको सम्पर्कमा आउन सकेका छैनन् । नुवाकोटस्थित त्रिशूली–३ ‘बी’ जलविद्युत परियोजनामा कार्यरत पाथीभरा याङवरक गाउँपालिका–२, थेचम्बुका भीष्म चापागाईँ र फुङलिङ नगरपालिका–९, हाङदेवाका दुर्गा भट्टराई (दिवस) सम्पर्कविहीन रहेका हुन् ।

सम्पर्कविहीन रहेका दुवै जनाको खोजी तथा सम्पर्कको प्रयास भइरहेको परिवारजनले जनाएका छन् ।

प्रकाशित मितिः शुक्रबार, १२ भदौ २०८३
https://www.jawaaf.com/storage/01M135JX3PBMFG31JA9TDDKWVD.jpeg

रसुवा–भोटेकोशी बाढी अपडेट : मृतकको संख्या ४६९ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशी तथा आसपासका नदीहरूमा आएको भीषण बाढीका कारण हालसम्म ४६९ जनाको शव फेला परेको छ । नेपाल प्रहरीद्वारा जारी पछिल्लो अद्यावधिक विवरणअनुसार विपद्मा परेर २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेका छन् । 

बाढी प्रभावित क्षेत्रहरूमा खोजी तथा उद्धारका लागि ४ हजार ३४८ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ। हालसम्म १ हजार ५४५ जनाको उद्धार तथा घाइतेहरूको व्यवस्थापन गरिएको छ भने काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालहरूमा उपचाररत तथा डिस्चार्ज हुने घाइतेको संख्या ८४ पुगेको छ । 

प्रहरीका अनुसार फेला परेका शवहरूमध्ये सबैभन्दा धेरै चितवनमा १७८ जना, नवलपरासी (पूर्व) मा ११० जना, गोरखामा ४४ जना, नुवाकोटमा ३७ जना, धादिङमा ३३ जना, तनहुँमा २८ जना, नवलपरासी (पश्चिम) मा २७ जना र रसुवामा १२ जना रहेका छन् ।

यस्तै, बाढी प्रभावित विभिन्न जिल्लाहरूबाट हालसम्म कुल १ हजार ५४५ जना घाइते तथा नागरिकहरूको उद्धार गरिएको छ । जसमा नुवाकोटबाट ८९८ जना, रसुवाबाट ६४४ जना र धादिङबाट ३ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालहरूमा उपचाररत तथा डिस्चार्ज हुने घाइतेको संख्या ८४ पुगेको छ ।

बाढी प्रभावित क्षेत्रहरूमा खोजी, उद्धार तथा राहत व्यवस्थापनका लागि हालसम्म ४ हजार ३४८ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ भने बेपत्ताहरूको खोजी कार्य तीव्र रूपमा जारी रहेको छ ।

प्रकाशित मितिः शुक्रबार, १२ भदौ २०८३