एमालेको महाधिवेशनमा घन्कियो सुदूरपश्चिमको देउडा
काठमाडौं । भक्तपुरको सल्लाघारीमा सुरु भएको नेकपा एमालेको एघारौँ महाधिवेशनमा सुदूरपश्चिमको मौलिक सांस्कृतिक पहिचान देउडा गीत नृत्यले विशेष रौनक थपेको छ । देशभरबाट सहभागी नेता तथा कार्यकर्ता देउडाको तालमा झुम्मिँदा महाधिवेशन स्थल उत्सवमय बनेको छ ।
महाधिवेशनको व्यस्त राजनीतिक कार्यक्रमबीच सुदूरपश्चिमबाट आएका प्रतिनिधिहरूले देउडा प्रस्तुत गरेपछि अन्य प्रदेशका नेताकार्यकर्ताहरू पनि सहभागी हुँदै सांस्कृतिक मेलमिलापको दृश्य देखिएको हो । देउडाको भाकाले थकान हटाएको र आपसी आत्मीयता बढाएको सहभागीहरूको भनाइ छ ।
सल्लाघारी परिसरमा गुञ्जिएको देउडाले महाधिवेशनलाई केवल राजनीतिक छलफलको थलो मात्र नभई नेपालको बहुसांस्कृतिक पहिचान प्रस्तुत गर्ने साझा मञ्चका रूपमा स्थापित गरेको देखिन्छ । विभिन्न भेषभूषा र मौलिक लयले सुदूरपश्चिमको संस्कृति भक्तपुरमा प्रत्यक्ष अनुभूति गराएको छ ।
महाधिवेशनमा सांस्कृतिक प्रस्तुतिलाई प्राथमिकता दिइनु पार्टीभित्रको विविधता, एकता र राष्ट्रिय पहिचानलाई सम्मान गर्ने अभ्यासको रूपमा लिइएको छ । देउडामार्फत देखिएको यो सांस्कृतिक एकताले महाधिवेशनको समग्र वातावरणलाई थप सकारात्मक र जीवित बनाएको छ । यहाँ लखौँ पूर्व तथा पश्चिमका जनता एक मुठि भएको दृश्य पनि देख्न सकिन्छ ।
मिथिला शर्मा अभिनीत ‘गयो गयो उमेर...बाँचौँ रमेर’को म्युजिक भिडियो सार्वजनिक
काठमाडौँ । वरिष्ठ कलाकार मिथिला शर्मा अभिनीत ‘गयो गयो उमेर...बाँचौँ रमेर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । शनिवार काठमाडौँमा आयोजित एक विशेष समारोहकाबिच उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।
म्युजिक भिडियो सार्वजनिक समारोहमा बोल्दै कलाकार मिथिला शर्माले गीतले आफूलाई विगतका दिनहरूको सम्झना गराएको बताइन् ।
उनले भनिन्, ‘यो गीतमा काम गर्दा पहिला–पहिला भ्रमणमा जाँदा पाएको अनुभूति फेरि महसुस गरेँ । सबै मानिसभित्र आ–आफ्नै प्रतिभा लुकेको हुन्छ । प्रतिभा सबैसँग हुन्छ, त्यसलाई अगाडि ल्याउन बालबालिकाका लागि आमा-बुवाको सहयोग आवश्यक हुन्छ भने त्यस्तै छोराछोरीले पनि आमाबुवालाई सहयोग गर्नुपर्छ ।’
आफ्नो कला यात्राबारे बोल्दै शर्माले समय कसरी बित्यो भन्ने थाहा नै नहुने अनुभव सुनाइन् । उनले भनिन्, ‘म कला क्षेत्रमा लागेर हुर्किँदै गर्दा आशीर्वाद दिने र साथ दिने सबैलाई सम्झँदै गर्दा कति समय बित्यो भन्ने नै थाहा भएन । कसरी नाचेँ, कसरी गाएँ, कसरी हिँडेँ भन्ने सम्झँदै जाँदा समय निकै छिटो बित्दो रहेछ ।’ ‘गयो उमेर’ बोलको गीतले उमेर, समय र जीवनका अनुभूतिहरूलाई प्रस्तुत गरेको छ ।
दोस्रो हप्तामा ‘अभिमन्यु’ : शो खोज्दै दर्शक
काठमाडौं । फरेन मार्केटमा ऐतिहासिक शो पाएको चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ घरेलु बजारमा आजबाट दोस्रो सातामा प्रवेश गरेको छ । गत बिहीबार रिलिज भएको यो चलचित्र आजबाट दोस्रो सातामा प्रवेश गरेको हो ।
दोस्रो सातामा प्रवेश गरे पनि शो भने धेरै छैन । तर, पाएका शोमा भने दर्शकको अकुपेन्सी राम्रो रहेको छ । त्यसैले ठाउँठाउँबाट दर्शकले निर्माण टिमका सदस्यलाई सिनेमा हेर्न पाइएन, शो छैन, शो चाहियो भन्दै सामाजिक सञ्जालमा मेन्सन गरिरहेका छन् ।
पब्लिक रिभ्यू र समीक्षक दुवैको रिभ्यु राम्रो आएपछि सिनेमा दर्शकले हेर्न खोजिरहेको तर नपाएपछि सामाजिक सञ्जालमा गुनासो गरिरहेका छन् । निर्माणपक्षले रिभ्यु राम्रो आउँदा र चलचित्र राम्रो छ भनेर सबैले भन्दा पनि अपेक्षा अनुसार शो नहुनु र धेरै दर्शक नहुनुले नयाँ काम र चुनौती किन मोल्ने भन्ने प्रश्न उब्जाएको बताएको छ ।
सुशान्त गौतमले निर्देशन गरेको ‘अभिमन्यु’को क्रिएटिभ निर्देशक मदन थापा छन् । यस चलचित्रमा मुकेश खनालको लेखन रहेको छ । चलचित्रमा कामेश्वर चौरसिया, लक्ष्मी बर्देवा, किरण श्रेष्ठ, सरिता गिरी, गौमाया गुरुङ, शिशिर बाङदेललगायत कलाकार मुख्य भूमिकामा छन् ।
‘अभिमन्यु ः च्याप्टर १’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् । सिनेमाको लाइन प्रोड्युसरमा जीवन शाक्य रहेका छन् ।
शरद महतो डिओपी रहेको यस चलचित्रमा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन, मदन घिमिरे सम्पादक रहेका छन् ।
कन्टेन्ट क्रिएटर एलिजे जमाली बन्ने भइन् ‘मिसेस भोग नेपाल सीजन ३’ को शोस्टपर
काठमाडौं । सामाजिक सञ्जालकी लोकप्रिय कन्टेन्ट क्रिएटर एलिजे जमाली प्रायः चर्चामा रहिरहने नाम हो । नेपाली कन्टेन्ट क्रिएटर आयुष सिंह ठकुरीसंग वैवाहिक वन्धनमा बाँधिएर काठमाडौंमै बस्न थालेपछि उनी सामाजिक सञ्जालमा थप सक्रिय भैरहेकी छिन् ।
यसैबीच, हालसम्म आफ्नो सोसल मिडिया प्लेटफर्मबाट कन्टेन्ट क्रिएट गर्नुबाहेक केही सोसल वर्क तथा सोसल मिडियामार्फत नै ब्राण्ड इण्डोर्समेन्ट गर्दै आएकी एलिजे जमाली पहिलो पटक एउटा सामाजिक उद्देश्य बोकेको नेपाली सौन्दर्य प्रतियोगितामा आवद्ध भएकी छिन् ।
हाउस अफ फेसन नेपालले पछिल्लो दुई वर्षदेखि आयोजना गर्दै आइरहेको ‘मिसेस भोग नेपाल’ को तेस्रो संस्करण अर्थात सीजन ३ मा एलिजे जमाली शोस्टपरको रुपमा अनुबन्धित भएकी छिन् ।
हाउस अफ फेसन नेपालकी अध्यक्ष ओशिमा बानुले कलाकर्मीलाई दिएको जानकारी अनुसार यी लोकप्रिय कन्टेन्ट क्रिएटर शगुन ज्वेलर्स प्रिजेन्ट्स मिसेज भोग नेपाल सीजन– ३ मा शोस्टपरको रूपमा सहभागि हुनेछिन् । आयोजक संस्थाले केही दिनअघि जमालीसंग शोस्टपरका लागि सहभागिता जनाउने उदेश्यसहितको सम्झौता–पत्रमा हस्ताक्षरसमेत गरिसकेको छ ।
हाउस अफ फेसन नेपालले ‘क्राउन योर कन्फिडेन्स’ भन्ने विषयवस्तुमा आधारित मिसेज भोग नेपालको तेस्रो सीजनका लागि डिजिटल मिडियाकी सेलिब्रेटी तथा सार्वजनिक हस्ती अलिजे जमालीलाई ग्राण्ड फिनालेको आधिकारिक शोस्टपरको रूपमा स्वागत गरेको हो ।
यो प्रतियोगितामा शोस्टपरको रुपमा आवद्ध भएसंगै उनले अनलाइनमार्फत गर्दै आइरहेको महिला सशक्तिकरण तथा आत्म–सम्मान प्रवद्र्धनमा केन्द्रित हुनेछ, जसले मिसेज भोग नेपालको विवाहित महिलालाई जीवनका हरेक क्षेत्रमा सम्मान र उत्सव मनाउने प्रतिबद्धतासंग पूर्ण रूपमा मेल खाने आयोजक संस्थाको भनाइ छ ।
‘जमालीको उपस्थिति केवल ग्ल्यामरको लागि मात्र नभई, उनले व्यक्त गर्ने शक्तिशाली सन्देशका कारण पनि कार्यक्रमको प्रमुख आकर्षण हुने अपेक्षा गरिएको छ, आयोजक संस्थाकी प्रमुख ओशिमा बानुको भनाइ छ ।
यसैबीच, हाउस अफ फेसन नेपालले तेस्रो संस्करणको मिसेज भोग नेपाल सीजन ३ को अडिसन मिति घोषणा घोषणा गरेको छ । आयोजक संस्थाले दिएको जानकारी अनुसार यो प्रतिष्ठित प्रतियोगिताको अडिसन यही पुस १२ गते अर्थात डिसेम्बर २७ का दिन गरिने भएको छ ।
‘यस वर्षको हाम्रो अभियान हो ‘क्राउन योर कन्फिडेन्स’, जसले हरेक महिलाको शक्ति, साहस र विशेषतालाई सम्मान गर्दै उत्सव मनाउने उद्देश्य राखेको छ, आयोजक संस्थाले आफ्नो सूचनामा भनेको छ, ‘सीटहरू सीमित छन्, त्यसैले आफ्नो अवसर लिनुहोस् अग्रसर हुनुहोस्, आफूमाथि विश्वास गर्नुहोस्, र तपाईं बन्नैपर्ने महिला बन्नुहोस् ।’
‘झिँगेदाउ–२’ को छायाँकन खोपासी जुजु गाउँबाट सुरु
काठमाडौं । बहुप्रतिक्षित नेपाली चलचित्र ‘झिँगेदाउ–२’ को छायांकन औपचारिक रुपमा सुरु भएको छ । सोमबार काभ्रेको पनौती नगरपालिका–१० स्थित खोपासी जुजु गाउँबाट छायांकन सुरु गरिएको हो ।
ज्ञानेन्द्र देउजाको निर्देशनमा बन्ने चलचित्रको पहिलो क्ल्याप गीता अधिकारी र संस्कृत अधिकारी अभिनित दृश्यबाट गरिएको निर्माण टिमले जनाएको छ । कपनगढी सिनेमा प्रालिको प्रस्तुतिमा बन्न लागेको यो चलचित्रको छायांकन विष्णु घिमिरे ‘कल्पित’ ले गरिरहेका छन् ।
चलचित्रका निर्माता सुलभ प्रतिक देउजा र समिक्षा देउजा, निर्माण नियन्त्रक ईश्वर घिमिरे हुन् । स्थानीय संस्कृति, कथा र परिवेशलाई समेट्दै निर्माण टिमले निरन्तर छायांकन अघि बढाइने निर्माण टिमको भनाइ छ ।
'काजी’ को फस्ट लुक सार्वजनिक, चैत २७ गते रिलिज हुँदै
काठमाडौं । लक्ष्मण रिजालको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘काजी’ले प्रदर्शन मिति तय गरेको छ । फस्ट लुक सार्वजनिक गर्दै निर्माण टिमले आज रिलिज डेट लक गरेको हो ।
‘काजी’ चैत २७ गते रिलिज हुनेछ । आगामी नयाँ वर्षको बिदा भेट्नेगरी ‘काजी’ चैत २७ गते आउने भएको हो ।
रामप्रसाद रिजालको प्रस्तुति रहेको चलचित्रको आज सार्वजनिक गरिएको फस्ट लुकमा सिनेमाका मुख्य पात्र विपिन कार्की छन् । उनी योङ एण्ड हेन्डम देखिएका छन् । चिटिक्क पारेर कोरेको कपाल र दारीमा रहेका उनले सर्ट लगाएका छन् । उनी केही गम्भीर मुद्रामा केही सोचिरहेको र केही हेरिरहेको जस्तो देखिन्छन् ।
पोस्टरमा केकी अधिकारीलाई विपीनले आफ्नो मुटुमा राखेको जस्तो देखिएको छ भने सँगै खाना खाइहेको पुराना दिन सम्झिरहेको जस्तो देखिन्छ । पोस्टरले सिनेमा पारिवारिक लभस्टोरीमा केन्द्रित रहेको अनुमान लगाउन सकिन्छ ।
विपिन र केकीसँगै यो सिनेमामा गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउवाला गौतम, सन्दिपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरि, बुद्धी सागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा बाल कलाकार दिक्षिता अर्याललगायतको अभिनय छ ।
यो सिनेमाबाट लक्ष्मण रिजाल ८ वर्षपछि निर्देशनमा फर्किएका छन् । आफूले खोजेको जस्तै स्क्रिप्ट पाएकाले निर्देशनमा कमव्याक गरेको उनले बताएका छन् । उनले यसअघि ‘कसम’, ‘धुँवा यो नसा’, ‘अलविदा’, ‘कायरा’ लगायतका सिनेमा निर्देशन तथा ‘डिसेम्बर फल्स’ र ‘गणपति’को निर्माण गरेका थिए ।
रिजाल एण्ड रिजल प्रोडक्सनको व्यानरमा निर्माण रहेको सिनेमालाई राम प्रसाद रिजालले निर्माण गरेका छन् ।
चलचित्रमा प्रदीप भारद्धाजको लेखन रहेको छ । सिनेमालाई चिन्तन राजभण्डारीले खिचेका छन् । सिनेमाका लागि गीतसंगीत कालिप्रसाद बास्कोटाले तयार पारेका छन् ।
सिनेमाको प्रोड्क्सन डिजाइनर ओजस्वी ओझा हुन् । रगं संयोजक श्याम कुँवर, लोकेशन साउन्ड÷साउन्ड डिजाइन सागर अर्याल, ब्याक्ग्राउन्ड स्कोर सुजिल कर्माचार्यको रहनेछ । क्रिएटिभ हेड रोनाल्ड श्रेष्ठ, नृत्य निर्देशक कविराज गहतरजको रहनेछ ।
प्रोडक्सन हेड प्रकाश हमाल छन् भने सम्पादन सुपरभाइजर बनिश शाह छन् । सम्पादक बिपिन मल्ल रहेका छन् ।
कार्यकारी निर्माता असिम काफ्ले, निर्माता नेहान रिजाल, बिकाश राज जोशी रहेका छन् । वितरक श्रीराम बालाजी फिल्म्स रहेको छ ।
नेपाल आइडल विजेताद्वय करण र गङ्गाको ‘राधिका’मा पहिलो सहकार्य
काठमाडौँ । नेपाल आइडलका विजेताद्वय करण परियार र गङ्गा सोनामको स्वर रहेको ‘राधिका’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतकार भोलानाथ पाठकको शब्द सृजना रहेको गीतमा नेपाल आइडल सिजन ५ का बिजेता करण र सिजन ६ का विजेता गंगाले स्वर भरेका छन् ।
जसमा मोडलद्धय स्मारिका ढकाल र बद्री प्रसाद तिवारीको रोमान्टिक अभिनय देख्न सकिन्छ । लेखु सहयात्रीको सङ्गीतमा तयार गीतको भिडियोको निर्देशन कृष्णदेव रुपाखेतीले गरेका हुन् । पुनम श्रेष्ठको कोरियाग्राफीमा तयार भिडियोले प्रेम र रोमान्सका रमाइला किस्सालाई देखाएको छ ।
राधा कडरिया निर्माता रहेको भिडियोमा मीन रावलको सम्पादन छ तथा उत्सब दाहालको छायांकन रहेको छ । गीतकार पाठकले प्रेमिल मुड जगाउने प्रकारको गीत भएकाले दर्शकले मन पराउने विश्वास व्यक्त गरे । गीत गायनमा करण र गङ्गाको पहिलो सहकार्य हो ।
निर्देशक कृष्ण देव रुपाखेतीले अडियो नै अब्बल रहेको र गीतको भाव अनुसारको गुणस्तरीय भिडियो निर्माणमा कुनै पनि कम्परमाइज नगरेको दाबी गरे ।
भिडियो लिङ्क :
<iframe width="100%" height="315" src="https://www.youtube.com/embed/LExdWAq0lhE?si=1L0S0uWHWqRQ9Og8" title="YouTube video player" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share" referrerpolicy="strict-origin-when-cross-origin" allowfullscreen></iframe>
'हर्ष' लाई रुवाउने सिनेमा मात्र भनेर बुझ्नु गलत हुन्छ : वर्षा राउत
काठमाडौं । करियरका हिसाबले अभिनेत्री वर्षा राउत आफ्नो नेपाली रजतपट यात्राको दशौं वर्षमा हिँडिरहेकी छन् । ‘नाइँ नभन्नू ल ४’बाट आफ्नो करियर सुरु गरेकी वर्षा यो अवधिमा ‘गर्ल नेक्स्ट डोर’ र गृहिणीको भूमिकामा बढी देखिएकी छन् ।
एकता पौडेलको डेब्यु निर्देशन रहेको सिनेमामा उनले वंश परम्परा धान्नैपर्ने पुरातन सोचको चेपुवामा परेकी बुहारीको भूमिकामा अभिनय गरेकी छन् । धेरैजसो मल्टिस्टार सिनेमामा देखिएकी वर्षा यो सिनेमामा भने केन्द्रीय भूमिकामा देखिँदै छिन् । धेरैपछि कुनै सिनेमाको केन्द्रीय पात्रका रूपमा आउन पाउँदा उनी उत्साहित छिन् ।
यस्तो अवस्थामा दर्शकले आफूलाई तहगत रूपमा मूल्यांकन गर्ने उनले बताइन् । ‘केन्द्रीय भूमिका भएपछि दर्शकले मेरो कामलाई अलि ध्यान दिएर हेर्नुहुन्छ भन्ने लागेको छ। दर्शकहरूले वर्षाले यसमा कत्तिको काम गरिन्, अघिल्ला सिनेमाभन्दा कत्तिको सुधार गरिन् भनेर विचार गर्नुहुन्छ भन्ने अपेक्षा राखेकी छु,’उनले भनिन् ।
उनले पछिल्लो पटक ‘ऐँचो पैँचो’ सिनेमाबाट निकै राम्रो प्रशंसा पाएकी थिइन्। वर्षा विवाहित भएकाले उनीसँगका अन्तरवार्तामा श्रीमान–श्रीमती, परिवार र बच्चासम्बन्धी प्रसंग प्रायः उठ्ने गर्छ ।
यस हिसाबले उनले यो सिनेमामा निर्वाह गरेको पात्रमा वास्तविक भोगाइ मिसिएको छ कि भन्ने धेरैको जिज्ञासा हुन सक्छ । यसमा वर्षाले वास्तविक जीवनभन्दा अलग, आफूले निर्देशकले खोजेको चरित्रलाई उतारेको बताइन् ।
‘मैले एउटा पात्र निर्वाह गरेकी हुँ। त्यसैले व्यक्तिगत जीवनले फरक पर्छ कि पर्दैन भन्ने हुँदैन। सन्तान हुँदा–नहुँदा त्यो पात्रले के–कस्तो भोगाइ भोग्छ भन्ने देखिन्छ,’उनले भनिन्, ‘निर्देशकले दिएको इसेन्सअनुसार आफूलाई पात्रमा ढाल्ने कोशिस गरेकी छु ।’
कथा सुनेपछि पात्रमा न्याय गर्न सक्ने आत्मविश्वास आएपछि सिनेमामा जोडिएकी वर्षाले ‘हर्ष’ले दर्शकलाई खुशीको आँसु दिने बताइन् । उनका अनुसार यसलाई केवल रुवाउने सिनेमा भनेर बुझ्नु हुँदैन ।
‘यसले पारिवारिक कथा पेस गर्छ भन्ने कुरा ट्रेलरले देखाइसकेको छ । त्यसैले ’रुवाउने मात्र हो कि’ भन्ने लागेको हुन सक्छ । तर त्यो होइन । यसले आँसु त झारिदिन्छ, तर हर्षका,’उनले भनिन् ।
सिनेमाका पात्रहरूसँग दर्शकले आफूलाई जोड्न सक्ने भएकाले उनी सिनेमाप्रति आशावादी छिन् । पछिल्लो समय पारिवारिक सिनेमा हेर्न दर्शक ठूलो संख्यामा हल आउन थालेकाले पनि उनी सकारात्मक नतिजाप्रति ढुक्क छिन् ।
‘अहिले नेपाली सिनेमाले एकदमै राम्रो गरिरहेका छन् । धेरैजसो सफल सिनेमाले दर्शकलाई रुवाएको छ, मन छोएको छ । हाम्रो सिनेमाले हर्षित पार्दै रुवाउनेछ जस्तो लाग्छ । दर्शकले यसमा आफ्नो परिवारसँग जोडिएको अनुभूति गर्नुहुनेछ,’उनले भनिन् ।
एकता पौडेलको डेब्यु निर्देशनमा निर्माण भएको सिनेमामा वर्षालाई अभिनेता खगेन्द्र लामिछानेसँग जोडीको रूपमा देख्न सकिन्छ । वर्षाले यो जोडीलाई दर्शकले मन पराउने विश्वास व्यक्त गरिन् । सिनेमा मंसिर १२ गते अल–नेपाल रिलिज हुँदैछ।
सगरमाथाको कथामा तयार भएको ‘जेरी अन टप’ आजदेखि प्रदर्शनमा
काठमाडौँ I विश्वकै सर्वोच्च शिखर सगरमाथा नेपालमा छ। यसको कथालाई लिएर हलिउडमा चलचित्र र वृत्तचित्र बनिसकेका छन् । नेपालमै रहेको सगरमाथासँग जोडिएको कथामा नेपाली चलचित्र भने बल्ल तयार भएको छ । सगरमाथा आरोहण र त्यसक्रमको प्रेमकथामा आधारित रहेर तयार गरिएको नेपाली चलचित्र ‘जेरी अन टप’ ले सगरमाथालाई मुख्य विषय बनाएको छ ।
चलचित्रले नेपालको पर्यटकीयस्थलको प्रवर्द्धन गर्नुका साथै सुन्दरतालाई विश्वभर पुर्याउन थप मद्दत गर्ने अभिनेता अनमोल केसीले बताए। आजदेखि प्रदर्शनमा आएको उक्त चलचित्रको दर्शक प्रतिक्रिया बुझ्न चलचित्र भवन पुगेका अभिनेता केसीले चलचित्र निर्माणको मुख्य चुनौती नै सगरमाथाको विषय रहेको बताए।
उनले भने, 'हामीले चलचित्रको कथा तयार गर्दा नै नेपाली स्रोत र साधनले सगरमाथालाई कसरी चित्रण गर्न सकिन्छ भनेर धेरै छलफल गरेका थियौँ । किनकि प्राविधिक रुपमा हामीले त्यहाँ छायाङ्कन गर्न सहज छैन, फेरी हामीले नेपाली बजारलाई मध्यनजर गर्दै चलचित्रमा लगानी लगाउनुपर्छ । तर, हामी सबैको मेहनतले आज हामीले चलचित्र तयार गर्न सफल भएका छौँ ।' चलचित्रमा अभिनेता केसीले सगरमाथा चढ्ने युवाको भूमिका निर्वाह गरेका छन्।
चलचित्रमा देखिँदा स्वाभाविक लागोस भनेर उनले र चलचित्रमा सगरमाथा चढ्न सघाउने ‘गाइड’ बनेकी अभिनेत्री जसिता गुरुङले एक महिना प्रशिक्षण पनि लिएका थिए।
'हामीले दृश्यमा सगरमाथाको सुन्दरतासँगै त्यहाँ देखिने कलाकार र अन्य पक्ष स्वभाविक लागोस् भनेर शेर्पा दाइहरूकै निगरानीमा काम गरेका थियौँ । हामीले सक्दो लगानी र मेहनतले चलचित्र तयार गरेका छौँ । यसले एउटा पारिवारिक प्रेम कथासँगै हाम्रै देशमा रहेको सगरमाथाको विशेषतालाई चलचित्रमा ल्याएको छ,' अभिनेता केसीले भने।
चलचित्र ‘जारी २’ को प्रिमियर सम्पन्न, आजबाट देशभर प्रदर्शनमा
काठमाडौं । आज शुक्रवारबाट यस वर्षको बहुप्रतिक्षित सिनेमा ‘जारी २ ः सङ अफ च्याब्रुङ’ प्रदर्शनमा आएको छ । यो सिनेमाको रिलिजको पूर्वसन्ध्यामा हिजो कमलपोखरीस्थित बिग मूभिजमा प्रिमियर शोको आयोजना गरिएको थियो ।
कवि उपेन्द्र सुब्बाको निर्देशनमा निर्माण भएको सिनेको प्रिमियर शोमा सिनेमाकर्मी र रंगपत्रकारको बाक्लो उपस्थिति रहेको थियो ।
प्रिमियर शोमा पुगेका अधिकांशले लिम्बु संस्कृतिमा आधारित सिनेमा उत्कृष्ट बनेको प्रतिक्रिया दिएका थिएका छन् । यो सिनेमाले माओवादी जनयुद्ध ताका कसरी धर्म संस्कृति संकटमा परेको थियो भन्ने पक्षलाई उत्कृष्ट ढंगले प्रस्तुत गरेको प्रतिक्रिया उपस्थित दर्शकहरुको थियो ।
यो सिनेमा हेर्न निर्माता रोहित अधिकारी, सरोज न्यौपाने, रौनक विक्रम कडेल, अर्जुन कुमार, निर्देशक दीपक प्रसाद आचार्य काकु, अभिनेता आयुष्मान देशराज जोशी, दिव्यदेव, विपिन कार्की, अभिनेत्री अरुणा कार्की, पुजा चन्द, केकी अधिकारी र ’जारी २’ टिमबाट निर्देशक उपेन्द्र सुब्बा, निर्माता रामबाबु गुरुङ, मणिराम पोखरेल,, अभिनेता दयाहाङ राई, विजय बराल, अभिनेत्री मिरुना मगर र ऋचा शर्मा बिग मूभिज पुगेका थिए । विशेषगरी अभिनेत्री मिरुना मगरको लिम्बु संस्कृति झल्किने ड्रेसअपले सबैको ध्यान खिचेको थियो ।
सिनेमा हेर्न विघठित प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर पनि पुगेकी थिइन् ।
उनले सिनेमा हेरिसकेपछि मिडियासँग प्रतिक्रिया दिँदै भनिन्, ‘मैले जारीको पहिलो भाग पनि हेरेकी थिए । आज दोस्रो भाग पनि हेर्न पाए । निकै खुशी लाग्यो । यो सिनेमाले राम्रो सन्देश दिएको छ । त्यसमाथी पहिलो भाग फरक कालखण्डको सेटअपमा निर्माण गरिएको छ । जसलाई निर्देशकले सुन्दर ढंगले पस्किनु भएको छ । मलाई मन पर्यो । दर्शकलाई पनि मन पर्ने छ । सवैले एक पटक हुर्नु होला ।’
आजबाट विश्वव्यापी प्रदर्शनमा आएको सिनेमाले नेपालमा उच्च शोसहित आक्रामक व्यापार गर्ने देखिएको छ । विशेषगरी पूवी नेपालका हलमा सिनेमाको व्यापार आक्रामक देखिएको छ । उपेन्द्र सुब्बा लिखित तथा निर्देशित सिनेमालाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन् । सिनेमामा दयाहाङ राई, मिरुना मगर तथा विजय बरालको प्रमुख भूमिका रहेको छ ।
बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्म यो वर्ष व्यापार गर्ने फिल्मको श्रेणीमा राखिएको छ । सिनेमामा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको पनि अभिनय छ ।


