वसन्त ऋतुका फूलहरूले चीनका पार्कहरु भरिभराउ
एजेन्सी । पूर्वी चीनका पार्कहरूमा वसन्त ऋतुका फूलहरूले आगन्तुकहरूलाई निकै आकर्षित गरिरहेको छ । वसन्त ऋतुको हावा चलिरहेको बेला ढकमक्क फुलेका रंगीविरङ्गी फूलहरू हेर्नका लागि विभिन्न गतिविधिहरूले आगन्तुकहरूलाई थप आकर्षित गरिरहेको हो ।
वेन्झाउको माआन्ची पार्कमा, आगन्तुकहरुले ७५ विभिन्न प्रजातिका २७०,००० ट्युलिपले सजिएका मार्गहरूमा टहलिरहेका भेटिन्छन् । पार्कमा ‘फूल देवीहरू’ परम्परागत हान पोशाकमा सजिएका युवतीहरू फोटो खिच्न र रमाउन व्यस्त देखिन्छन् ।
सांगीतिक कार्यक्रमहरु पनि भइरहेका जसले फूल अवलोकन सिजनको पहिलो दिन नै लगभग २५,००० पर्यटकहरू ल्याउन सहयोग पुगेको छ । यता, सांघाईमा एक महिना लामो चेरी फेस्टिवल आयोजना भइरहेको छ। पार्कमा पूर्ण रूपमा फुलेका चेरीका रूखहरू सजिएका भेटिन्छन् ।(सीसीटीभीप्लस)
‘लालीबजार’ मा ‘अडिसन’ दिएर अभिनय गर्न छनोट भएकी हुँ : स्वस्तिमा
काठमाडौं । पछिल्लो समयकी नम्बर वान अभिनेत्रीको रुपमा पहिचान स्थापित गरेकी स्वस्तिमा खड्काले अभिनय गर्न थालेको एक दशकपछिको यात्रामा पहिलोपटक ‘अडिसन’ मार्फत फिल्म ‘लालीबजार’ मा अभिनेत्रीको रुपमा अनुबन्धित भएको बताएकी छिन् ।
षट्कोण आर्टसले निर्माण गरेको उक्त फिल्म ‘लालीबजार’ को पहिलो गीत ‘मायालाई के दिउँ म बैना’ सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अभिनेत्री खड्काले फिल्म निर्माण गर्ने समूह प्रतिको विश्वास र उक्त फिल्ममा उठान गरिएको विषय वस्तुका कारण ‘अडिसन’ दिएको बताइन् ।
‘मैले अभिनय गर्न थालेको दर्शवर्ष पार गरेपछि पहिलोपटक अडिसन दिएर भूमिका प्राप्त गरेकी हुँ । किनकि मैले जुन भूमिका निभाएकी छु, त्यो निकै गम्भीर र मेरो लागि चुनौतिपूर्ण थियो । एउटा कलाकारका लागि यस्तो भूमिका निर्वाह गर्न पाउनु अवसर र चुनौती दुवै हो । मैले निर्वाह गरेको भूमिकाको बारेमा धेरै खुलाउन मिल्दैन तर मैले अहिलेसम्म गरेको काम भन्दा भिन्न छ’, अभिनेत्री खड्काले भनिन् ।
उक्त फिल्ममा अभिनेत्री खड्कासँगै अभिनेता रवीन्द्रसिंह बानियाँ, बालकलाकार समाइरा थापा, मुकुन्द श्रेष्ठ, डेब्यु कलाकार विशाल देवकोटा, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी लगायतको अभिनय रहेको छ । यसै फिल्ममार्फत विशाल देवकोटा र प्रसंशा सुवेदीले अभिनय यात्रा सुरुआत गरेका छन् । फिल्ममा यम थापाको निर्देशनसँगै कथा लेखन रहेको छ ।
‘मसँग भएको कथा मैले षट्कोण आट्र्समा सुनाएपछि हाम्रो सहकार्य जुरेको हो । खासमा पहिला मैले कथा दिने सोच बनाएको थिएँ, तर मलाई नै निर्देशन गर्न प्रस्ताव गर्नुभयो । मैले यसलाई आफ्नो निर्देशकीय यात्राको निकै महत्वपूर्ण अवसर मानेको छु, मेरो आगामी यात्राले यसले नै तय गर्नेछ’, निर्देशक थापाले भने ।
फिल्मको पटकथा तथा संवाद निर्देशक थापासँगै अर्का निर्देशक प्रदीप भट्टराईले संयुक्त रुपमा तयार गरेका छन् । आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने उक्त फिल्मलाई दीपेश खत्री र रविन्द्रसिंह बानियाँले संयुक्त रुपमा निर्माण गरेका हुन् ।
‘झिंगेदाउ २’ को छायांकन सम्पन्न ,आउने फुलपातीमा प्रदर्शन गर्ने तयारी
काठमाडौं । निर्देशक ज्ञानेन्द्र देउजाको चर्चित फिल्म ‘झिंगेदाउ’ को दोस्रो श्रृंखलाको छायांकन सम्पन्न भएको छ । ६३ दिनको सुटिङ्पछि आज बुधबार फिल्म छायांकन सम्पन्न भएको हो । यसको अन्तिम छायांकन चितवनको देवघाटमा भएको निर्देशक ज्ञानेन्द्र देउजाले जानकारी दिएका छन् ।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले साढे तीन करोडको लगानीमा फिल्म सम्पन्न गर्ने योजना भएतापनि हलसम्म जाँदा ४ करोडको लगानी हुने जानकारी दिए । उनले भने, ‘ ६३ दिनको सुटिङ्पछि आज फिल्म छायांकन सम्पन्न भएको छ । पहिलासाढे तीन करोडमा फिल्म सकाउने हामीले अनुमान गरेको थियौं तर हलसम्म पुग्दा ४ करोडको खर्च आउने देखिएको छ ।’
यसको पहिलो भाग साहित्यकार भीमनिधि तिवारीको औपन्यासिक कृतिमा आधारित रहेपनि दोस्रो भाग भने फेन्टासी शैलीमा निर्माण भएको पनि उनको भनाई छ । साथै, उनले यो सामाजिक सन्देश दिने पारिवारिक कथा वस्तुमा आधारित फिल्म भएको भन्दै यसले ६०, ६५ वर्ष अगाडिको काठमाडौंलाई देखाउने प्रयास गरेको बताए ।
‘यो फिल्म सामाजिक सन्देश दिने पारिवारिक कथा वस्तुमा आधारित छ । यसबाट हामीले ६०, ६५ वर्ष अगाडिको काठमाडौंलाई देखाउन खोजेका छौ’ उनले भने । उनका अनुसार ‘झिंगेदाउ २’ लाई २०८३ सालको फुलपातीको दिन प्रदर्शनमा ल्याउने तयारी भैरहेको छ । कथा देउजाकै हो भने पटकथा तथा संवाद परिच्छेद सेन, गोविन्द फुयाँल र शिशिर चालिसेले लेखेका हुन् । साथै, फिल्ममा विष्णु घिमिरे कल्पितको छायांकन, रोशन श्रेष्ठको एक्सन, रामजी लामिछानेको नृत्य, अर्जुन पोखरेलको संगीत, मित्र गुरुङको सम्पादन रहेको छ ।
फिल्मको सुटिङ् पनौती, काठमाडौं, पाटन, भक्तपुर, साँखु, तनहूँ, बन्दीपुर, देवघाट, दोलखा, चित्लाङ, पालुङ लगायतका ठाउँमा खिचिएको छ । दोस्रो श्रृंखलामा सरोज खनाल, आर्यन सिग्देल, महेश त्रिपाठी, केकी अधिकारी, आँचल शर्मा, कुशल विष्ट, बसुन्धरा भुसाल, चैत्यदेवी, हिउँवाला गौतम, विजय देउजा, आशा भुसाल, अभयराज बराल, आशिष पुरुषको अभिनय रहेको छ ।
फिल्मको अघिल्लो भागले घरेलु बक्सअफिसमा साढे चार करोड हाराहारीमा कमाइ गरेको थियो ।
वैशाख १८ गतेलाई तय गर्दै ‘लालीबजार’ टिजर सार्वजनिक
काठमाडौं । षट्कोण आर्टसको निर्माणमा बनेको फिल्म ‘लालीबजार’ प्रदर्शन मिति आगामी वर्ष विसं २०८३ वैशाख १८ गतेलाई तय गर्दै टिजर सार्वजनिक गरिएको छ ।
सार्वजानिक टिजरमा फिल्मको मुख्य पात्रलाई समेटेर कथासार बारे जानकारी दिईएको छ । बर्दियाको राजापुरमा छायांकन गरिएको उक्त फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी लगायतको अभिनय रहेको छ ।
यसै फिल्ममार्फत विशाल देवकोटा र प्रसंशा सुवेदीले डेब्यु गर्दैछन् । निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार भएको फिल्म ‘लालीबजार’ को पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रुपमा तयार गरेका हुन् ।
अभिनेत्री खड्काको नियमित भन्दा फरक भूमिकाले ‘लालीबजार’ प्रति दर्शकको उत्सुकता बढिरहेको छ । फिल्ममा कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन् ।
फिल्ममा क्रिएटिभ निर्देशक जेबी रुवाली, द्वन्द्व निर्देशक सम्राट बस्नेत, छायांकन निर्देशक सुशन प्रजापती, सम्पादक मित्रदेव गुरुङ, प्रोडक्सन हेड रुपकप्रताप अधिकारी, कलर रेनिश फागो, भिएफएक्स समिर श्रेष्ठ र सत्यम राना, ब्याकग्राउण्ड म्युजिक र मिक्सिङ रोहित शाक्य र शैलेश श्रेष्ठ, कला निर्देशक उमेश चौधरी, कस्ट्युम डिजाइनर र स्टाइलिस जानकी कडायत, मेकअप काव्या थापा, सङ्गीत प्रकाश सपूत, खेम सेन्चुरी र जयन जे वाइवाको रहेको छ ।
फागुन १ बाट रिलिज हुने सिनेमा ‘श्री बुकुरोः द होम कलिङ’को नयाँ गीत सार्वजनिक
काठमाडौं । आगामी फागुन १ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘श्री बुकुरोः द होम कलिङ’ले आफ्नो प्रचारलाई तीव्र बनाएको छ । पोस्टर र ट्रेलर सार्वजनिक गरिसकेको सिनेमाले शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा नयाँ गीत सार्वजनिक गरेको हो ।
सार्वजनिक गरिएको ‘ए साइला दाई’ बोलको गीतमा बसन्त सापकोटाको शब्द तथा संगीत रहेको छ भने गीतमा सविन सुबेदी र युक्ती बिमलीको स्वर रहेको छ । गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार आशीर्वाद क्षेत्री र निकिता आचार्यको आकर्षक नृत्य प्रस्तुत गरिएको छ ।
सुदीप भूपाल सिंहको लेखन तथा निर्देशनमा बनेको यो सिनेमा पारिवारिक कथावस्तुमा आधारित रहेको छ । सिनेमामा आशीर्वाद र निकितासँगै लक्ष्मी गिरी, प्रतीक राज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मि भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्मालगायत कलाकारहरूको अभिनय रहेको छ ।
फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको सिनेमालाई रुबी सेन सिंहले निर्माण गरेकी हुन् । सिनेमाको छायांकन सञ्जय लामा र राजेश श्रेष्ठले गरेका छन् । त्यसैगरी सुरज तामाङ र प्रवीण सिंहको कोरियोग्राफी, आईड्रिम एनिमेसनको भिएफएक्स, मनोरञ्जन श्रेष्ठको कलर ग्रेडिङ, विक्रम कार्कीको ब्याकग्राउन्ड स्कोर तथा बनिष शाह, चन्दन दत्त र परिच्छेद सेनको सम्पादन रहेको छ । सिनेमाका गीतमा रञ्जीत गजमेर र बसन्त सापकोटाले संगीत दिएका छन् ।
अरिजित सिंहले अब चलचित्रमा गीत नगाउने
काठमाडौं । चर्चित भारतीय गायक अरिजित सिंहले ‘प्लेब्याक सिंगिङ’ बाट सन्यास लिएको घोषणा गरेका छन् । उनले मंगलबार साँझ सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफूले अब फिल्मका लागि प्लेब्याक गायन नगर्ने बताएका हुन् ।
नयाँ वर्षको शुभकामना दिँदै अरिजितले लेखेका छन्, ‘यो यात्रामा मलाई साथ, माया र समर्थन दिने सबैलाई धन्यवाद । म अबदेखि प्लेब्याक गायकका रूपमा कुनै नयाँ काम लिने छैन । यो यात्रालाई यहीँ समाप्त गर्दैछु । यो एक सुन्दर अनुभव रह्यो ।’
अरिजित सिंह भारतीय फिल्म उद्योगका सफल र चर्चित गायक हुन् । उनका नेपालमा पनि लाखौं फ्यान छन् । संगीतकार समेत रहेका उनले गीत संगीतमा अन्य काम गर्नेछन् वा छैनन् ? त्यो भने केही खुलाएका छैनन् ।
उनका ‘तुम हि हो’, ‘जनम जनम’, ‘अपना बना ले’, ‘ओ माही’, ‘अगर तुम साथ हो’, ‘मस्त मगन’, ‘मुस्कुराने की वजह तुम हो’ लगायत थुप्रै गीत चर्चित छन् । अरिजित सिंहले दुई वर्षअघि काठमाडौंमा समेत भव्य कन्सर्ट गरेका थिए ।
उनले २०१३ को फिल्म ‘आशिकी २’ को ‘तुम ही हो’ गीत अरिजित सिंहको करियरमा एउटा टर्निङ प्वाइन्ट साबित भएको थियो ।
अरिजितको यो घोषणापछि सामाजिक सञ्जालमा प्रशंसकहरूले आश्चर्य र भावुक प्रतिक्रिया दिएका छन् । धेरैले उनको योगदानको प्रशंसा गर्दै आगामी यात्राका लागि शुभकामना व्यक्त गरेका छन् ।
वृत्तचित्र ‘मुक्कुमलुङहरु’ को पहिलो प्रदर्शन
काठमाडौं । पाथिभरा अर्थात् मुक्कुमलुङ क्षेत्रमा निर्माणाधीन केबलकार र त्यसविरुद्ध भइरहेको आन्दोलनलाई केन्द्रमा राखेर निर्माण गरिएको वृत्तचित्र ‘मुक्कुमलुङहरुः आदिवासीको आस्थामाथि आक्रमण’ को पहिलो प्रदर्शन सम्पन्न भएको छ ।
मन्डला नाटकघरमा आयोजित उक्त प्रदर्शन कार्यक्रममा विभिन्न क्षेत्रका वक्ताहरूले वृत्तचित्र र आन्दोलनका सन्दर्भमा आफ्ना धारणा राखेका थिए।
करिब एक घन्टा लामो वृत्तचित्रले मुक्कुमलुङ धार्मिक स्थलको ऐतिहासिक र सांस्कृतिक महत्वसँगै त्यसप्रति आदिवासी समुदायको गहिरो अपनत्वलाई उजागर गरेको छ।
साथै, केबलकार निर्माणप्रति राज्यको रवैयाविरुद्ध आवाज उठाइरहेका व्यक्तिहरूको संघर्ष र दृष्टिकोणलाई दस्तावेजीकरण गरिएको छ। वृत्तचित्रले केबलकार परियोजनाले जीवजन्तु, वनस्पति तथा समग्र पर्यावरणमा पार्न सक्ने प्रभावमाथि पनि प्रश्न उठाएको छ।
कार्यक्रममा बोल्दै लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले भाषा, संस्कृति र इतिहासबाट वञ्चित पारिएका समुदायहरूको संघर्षको कथा वृत्तचित्रले प्रभावकारी रूपमा बोलेको उल्लेख गरे।
त्यसैगरी, किरात राई यायोख्याका उपाध्यक्ष युवराज राईले संविधानका सुन्दर प्रावधानहरू व्यवहारमा आदिवासी समुदायको हितमा कार्यान्वयन हुन नसकेको अनुभव साझा गरे।
किरात याक्थुङ चुम्लुङका महासचिव निरन्ती तुम्बापोले वृत्तचित्रजस्ता दस्तावेजहरू स्वयं प्रमाण भएको बताउँदै, यस्ता प्रमाणहरू मुक्कुमलुङ संरक्षणविरुद्ध उभिनेहरूलाई देखाउन सकिए धारणा परिवर्तन हुन सक्ने सम्भावना रहेको प्रश्न उठाए।
कार्यक्रममा लेखक खगेन्द्र संग्रौला, किरात राई यायोख्याका उपाध्यक्ष युवराज राई तथा किरात याक्थुङ चुम्लुङका महासचिव निरन्ती तुम्बापोले वृत्तचित्रमाथि आफ्ना विचार प्रस्तुत गरेका थिए।
रबिनकुमार नाल्वो र जीवनप्रकाश शेर्मा सहभागी रहेको यस वृत्तचित्रमा मच्छेदेवी गुरुङको सहनिर्देशन तथा भानु बोखिमको निर्देशन रहेको छ।
हिमपातपछि अवरुद्ध कर्णाली राजमार्ग पुनः सञ्चालनमा (तस्बिरहरु)
मुगु । माघ १० गते राति परेको भारी हिमपातका कारण कर्णाली राजमार्गअन्तर्गत जुम्लाको भुलभुलेदेखि घुच्चिलेख, सात मोड हुँदै झाडनाउलासम्मको सडक खण्ड अवरुद्ध बनेको थियो।
हिउँ जमेर सडक पूर्ण रूपमा बन्द भएपछि सवारी आवागमन ठप्प भएको थियो। सडक डिभिजन कार्यालय जुम्लाको पहलमा माघ ११ र १२ गते जेसीबी मेसिन प्रयोग गरी सडकमा जमेको हिउँ हटाइएपछि कर्णाली राजमार्ग उक्त खण्ड पूर्ण रूपमा सञ्चालनमा आएको छ।
सडक सुचारु भएसँगै जुम्ला–मुगु आवतजावत सहज बनेको छ भने यात्रु तथा स्थानीयवासीले राहत महसुस गरेका छन्। यसअघि हिमपातका कारण अलपत्र परेका सवारी साधनहरू समेत गन्तव्यतर्फ लागेका छन्।
‘ऊनको स्वीटर’ लाई अब युट्युबमा हेर्न सकिने
काठमाडौं । सफल र चर्चित नेपाली चलचित्र ‘ऊनको स्वीटर’ अन्ततः डिजिटल प्लेटफर्म युट्युबमा निःशुल्क हेर्न सकिने गरी सार्वजनिक भएको छ । निर्माण कम्पनी आर्टमाण्डुले आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत यस चलचित्रलाई विश्वभरका दर्शकका लागि उपलब्ध गराएको हो ।
यो चलचित्रले नेपालमा करिब १२ करोड रुपैयाँ आम्दानी गर्न सफल भएको थियो । नेपालमा ४० भन्दा बढी हलमा ५१ दिन पार गरेको यस चलचित्रले भारतमा पनि उस्तै अभूतपूर्व सफलता प्राप्त गरेको थियो । भारतका विभिन्न सहरका ४० वटा हलमा रिलिज भएको ‘ऊनको स्वीटर’ ले त्यहाँ पनि ५१ दिनको ऐतिहासिक यात्रा तय गरेको थियो ।
भारतमा सिक्किमको गान्तोकसहित पूर्वोत्तरका विभिन्न सहरहरू दार्जिलिङ, कालिम्पोङ र आसाम हुँदै मुम्बई, दिल्ली, पुणे, बैंगलोर र केरलासम्म पुगेको थियो । फरक भाषा र परिवेश भए तापनि चलचित्रले व्यक्त गर्ने भावनात्मक गहिराइले भारतीय दर्शकको मन जित्न सफल भयो ।
समय र स्थानका कारण हलसम्म पुग्न नसकेका देश–विदेशका धेरै दर्शकहरूले चलचित्र रि–रिलिजको निरन्तर माग गरिरहेका थिए । दर्शकहरूप्रति रहेको त्यही जिम्मेवारीलाई सम्मान गर्दै आर्टमाण्डुले यसलाई युट्युबमा ल्याएको छ । यो फिल्ममा विपिन कार्की, मिरूना मगर, एलेक्स पारस, परीक्षा लिम्बु र सुनिल पोखरेलको मुख्य अभिनय रहेको छ ।
‘प्रवासी जीवन’ को पहिलो गीत ‘ज्यान भो लट्टाई, चङ्गा भो मन’ सार्वजनिक
काठमाडौँ । अभिनेता राजेश हमाल अभिनित फिल्म ‘प्रवासी जीवन’ को पहिलो गीत सार्वजनिक गरिएको छ । अमेरिकाको रमणीय दृश्यमा छायांकन गरिएको ‘ज्यान भो लट्टाई, चङ्गा भो मन’ बोलको गीतमा फिल्मका अभिनेता श्याम क्षेत्री, एञ्जेला बस्नेत, लोकेश भित्रीकोटी लगायतका कलाकारको अभिनय रहेको छ । सार्वजनिक गीतमा प्रस्ताप दासको स्वर, नवीन कार्कीको सङ्गीत र डिपी खनालको शब्द रहेको छ ।
नेपालबाट आफ्नो उज्जवल भविष्य र स्थायित्वका लागि संयुक्तराज्य अमेरिका पुगेका नेपालीले त्यहाँ गर्नु पर्ने सङ्घर्ष सहितको प्रवासी जीवनको कथा बोकेको उक्त फिल्मलाई श्याम क्षेत्री र राम अधिकारीले संयुक्त रुपमा निर्देशन गरेका छन् । प्रवासमा पुग्ने जो कोहिले यो कथामा आफू वा आफ्नो वरपरको दृश्यलाई पाउने निर्देशक क्षेत्रीले बताए ।
उनले भने,‘फिल्मले प्रवासी जीवनको एउटा नदेखिएको सरल झैँ लाग्ने गम्भीर समस्यालाई चित्रण गरेको छ ।’ उनले मानसिक स्वास्थ्य समस्या र समाधानको विषयलाई केन्द्रीत गरेर फिल्म तयार परेकोले प्रवासीको जीवनलाई नजिकबाट बुझ्न फिल्म फलदायी हुने बताए ।
फिल्ममा स्वयम् निर्देशक श्यामसँगै राजेश हमाल, सरिता लामिछाने, बुद्धी तामाङ, महादेव त्रिपाठी, एञ्जेला बस्नेत, गगन सुबेदि, लोकेश भित्रीकोटी, दिव्या न्यौपाने, अबिगेल लुहार, प्रासु गिरि, शिखा अधिकारीसँगै स्वयम् निर्देशक क्षेत्रीले महत्वपूर्ण भूमिकामा अभिनय गरेका छन् ।
‘सिजल एण्ड सिस्टर फाउन्डेसन फर नेपाल’ को सहकार्यसमेत रहेको उक्त फिल्मको सम्पूर्ण छायाङ्कन अमेरिकाको रमणीय दृश्यमा गरिएको छ ।
छायाँकार समेत रहेका रविन आचार्य निर्माता रहेको उक्त श्याम क्षेत्री प्रोडक्सन र नेशनल मिडिया प्रोडक्सनले संयुक्त रुपमा निर्माण भएको हो । उक्त फिल्मको कथा, पटकथा तथा संवाद स्वयम् निर्देशक क्षेत्रीले नै तयार गरेका हुन् ।
यसमा अमृत बिसुवाले छायाङ्कन, राम अधिकारीले सम्पादन, सुवास सिन्चुरीले पाश्र्व सङ्गीत, देवी खतिवडाले शृङ्गार, राज शङ्कर र प्रतिक सार्कीले ध्वनी मुद्रण, नवीन कार्कीले सङ्गीत सिर्जना गरेका छन् भने प्रमोद खरेल र प्रताप दाससहितका गायकले स्वर दिएका छन् । फागुन १५ देखि देशव्यापी प्रदर्शन हुने उक्त फिल्मलाई आरआर फिल्म्सले वितरण गर्नेछ ।



