चलचित्र ‘कर्मा’ को फस्टलुक पोस्टर सार्वजनिक
काठमाडौं । चलचित्र ‘कर्मा’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । निर्माणपक्षले चलचित्रका मुख्य कलाकारलाई फिचर्ड गर्दै दुईवटा पोस्टर सार्वजनिक गरेको हो ।
पोस्टरमा विपीन कार्की छन् । उनलाई ब्ल्याक जिन्स र फिट बडीमा देखाइएको छ । हातमा सर्ट गन बोकेका उनको लुक्सअनुसार उनी बदलाको भावमा छन् ।
गेटअप, ड्रेसअप, फेसियल लुक्स र हातमा रहेका सर्ट गनले उनी एक्सन भूमिकामा रहेको प्रष्ट देखिन्छ । कलरसँग खेलिएको पोस्टरले पनि एक्सनको संकेत गर्छ ।
पोस्टरमा रहेको स्लोगन ‘ह्वाट गोज अराउन्ड, कम्स अराउन्ड’ले पनि बदलाको मुडमा मुख्य पात्र रहेको पुष्टि गर्छ । स्लोगनले ‘कर्मा’ सिचुएसनल एक्सन भएको सामान्य अनुमान लगाउन सकिन्छ ।
यदि, निर्माणपक्षले गरेको दाबी र पोस्टरले गरेको संकेतअनुसार चलचित्र एक्सन जनराको हो भने यो जनरामा विपीन पहिलोपटक देखिनेछन् । यसले नै दर्शकमा रोमाञ्चकता थप्नेछ ।
‘कर्मा’लाई ‘अगस्त्य’ फेम्ड निर्देशक सौरभ चौधरीको निर्देशन गरिरहेका छन् । ‘कर्मा’ चैत २९ गते रिलिज हुनेछ । यो चलचित्रमा विपीनसँगै उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेवलगायत कलाकारको अभिनय रहेको छ ।
मुकुन यो चलचित्रमा नेगेटिभ क्यारेक्टरमा छन् । एक्सन ड्रामा जनरामा निर्माण भैरहेको सिनेमाको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन् ।
आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी रहनेछ । निर्देशक चौधरीको ‘अगस्त्यः च्याप्टर १’ले दर्शक र समीक्षकको राम्रो प्रतिक्रिया पाएको थियो ।
बालेन शाहको गीत ‘नेपाल हाँसेको’ युट्युब ट्रेन्डिङको एक नम्बरमा
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले गाएको गीत युट्युब ट्रेन्डिङको एक नम्बरमा पुगेको छ । ‘नेपाल हाँसेको...’ बोलको गीतमा बालेनको शब्द, सँगीत, स्वर र ¥याप छ । गीतमा विकसित नेपालको परिकल्पना गर्दै अहिलेको यथार्थ चित्रण गरिएको छ ।
कोरसमा अन्य कलाकारको पनि स्वर सुन्न सकिन्छ । सारा खड्गी, मानुषी पौडेल, कृषा खड्कालगायतको कोरसमा स्वर छ । बालेन मेयर भएपछि उनले गाएको गीत पहिलो पटक बजारमा आएको हो ।
यस्तै, चलचित्र ‘लाज शरणम्’को गीत युट्युब ट्रेन्डिङको दुई नम्बरमा पुगेको छ । ‘लाज शरणम्’ले बालेनको स्वरमा रहेको गीतलाई प्रोमोसनल गीतको संज्ञा दिएको छ । यो गीतले चलचित्रको हाइप थप बढाएको छ ।
चलचित्र ‘लाज शरणम्’ले केही दिनअगाडि मात्रै ‘हेर्दा हेर्दैमा...’ बोलको गीत सार्वजनिक गरेको थियो । चलचित्र ‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले बनाएको चलचित्र हो । लेखक, कलाकारदेखि निर्देशकसम्म यो चलचित्रमा ‘सक्किगोनि’ टिमको छ ।
‘लाज शरणम्’को मुख्य भूमिकामा सिताराम कट्टेल ‘धर्मुस’ मुख्य भूमिकामा छन् । यो चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका हुन् ।
‘सक्किगोनि’ टिमले बनाएको यो चलचित्रमा धुर्मुससँगै अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय छ ।जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् ।
फागुन १४ गते महाशिवरात्रीको दिन रिलिज हुने ‘लाज शरणम्’ यो वर्षकै प्रतीक्षित मध्येको एक सिनेमा हो ।
‘जनै हराएको बाहुन’ चलचित्रमा गौरव पहारी र रियर राई अनुबन्धित
काठमाडौं । निर्माणाधीन नेपाली चलचित्र ‘जनै हराएको बाहुन’ मा अभिनेता गौरव पहाडी र रियर राईको प्रवेश भएको छ । हिमाल न्यौपानेले निर्देशन गर्ने यस चलचित्रको लागि यसअघि अभिनेता विजय बरालले प्रमुख भूमिकामा अनुबन्धित भइसकेका छन् ।
पेपरक्लिप प्रालिको ब्यानरमा बनाउन लागेको यस चलचित्रमा एसोसियट निर्देशन मनिष राउतले गर्दैछन् । यसमा उनले अभिनय समेत गर्नेछन् । भानुभक्त ढकालको कथा, पटकथा र संवाद रहको चलचित्रले गाउँबाट सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनलाई केन्द्रमा राख्नेछ ।
यस चलचित्रका निर्मातामा सिआर बस्नेत, कमल न्यौपाने, आर.के. मानन्धर, विमल न्यौपाने, फिलिप डिसी र निशान्त श्रेष्ठ रहेका छन् । यस चलचित्रमा नवीन गुरुङ छायाकारका रूपमा रहेका छन् भने क्रियटिभ निर्देशक सम्राट महर्जन हुन् । भिएफक्स सुपरभाइजर मयङ्क निरौला रहेका छन् ।
यो वर्षको अन्त्यसम्ममा छायाङ्कन सुरु गर्ने लक्ष्य राखिएको यो चलचित्र २०८२ सालमा दर्शक माझ आउने अपेक्षा गरिएको छ ।
‘फेरि रेशम फिलिली’ को टिजर सार्वजनिक
काठमाडौं । महाशिवरात्रीको अवसर पारेर फागुन १४ गतेबाट रिलिज हुने सिनेमा ‘फेरि रेशम फिलिली’को टिजर सार्वजनिक गरिएको छ ।
बिहीबार सार्वजनिक सिनेमाको १ मिनेट ४१ सेकेण्ड लामो टिजरले अमेरिका जान एक युवाले गर्ने संघर्षको कथा प्रस्तुत गरिएको छ ।
सिनेमाको टिजरमा सार्वजनिक संवादले चर्चा पाउने देखिन्छ । सिनेमाको टिजरले दर्शकमाझ कौतुहलता पैदा गर्न सफल देखिन्छ । रोचक ढंगले काटिएको टिजरले सिनेमाको कथावस्तु प्रकाश पार्छ । सिनेमाको यसअघि सार्वजनिक पोस्टर तथा गीतले दर्शकमाझ सिनेमाप्रति अपेक्षा बढाइरहँदा टिजरले ‘फेरि रेशम फिलिली’ प्रतिको उत्साह अझै थपेको छ ।
सिनेमामा विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको पनि अभिनय छ ।
सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन सिनेमामा रहेको छ ।
सिनेमा आर्ट र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको सिनेमामा रौनक विक्रम कडेल निर्माता तथा कार्यकारी निर्माता सुरज बम ठकुरी र सह–निर्मातामा एनि थापा छन् । सिनेमालाई निरोज महर्जनले निर्देशन गरेका हुन् । सिनेमाको कथा पनि उनले नै लेखेका हुन् ।
सिनेमाको पोस्टर डिजाइन ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले गरेका हुन् । यो सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन् । यो वर्षकै प्रतिक्षित मध्यको एक सिनेमा हो ।
तामाङ घेदुङ पोर्चुगलले मनायो भव्यताका साथ सोनाम ल्होसार
लिस्बन । नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलले भव्यताका साथ सोनाम ल्होछार (नयाँ वर्ष) मनाएको छ । मञ्जुश्री सम्बत् २८६१ तथा (डुल)सा पुख्री ल्होको अवसर पारेर घेदुङले आइतवार राजधानी लिस्बनमा शुभकामना आदानप्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रमको आयोजना गरेर धुमधामका साथ ल्होछार मनाएको हो ।
‘राष्ट्रिय पर्व सोनाम ल्होछार राष्ट्रको शान, भाषा, धर्म संस्कृति हाम्रो पहिचान’ भन्ने नाराका साथ विदेशी भूमिमा धुमधामका साथ ल्होछार मनाइएको घेदुङका अध्यक्ष इमानसिंह तामाङले बताए । सो अवसरमा चर्चित मेन्दोमाया तथा तामाङ सेलो गायिका रमला पाख्रिन, सेलो गायक प्रदिप लामा र गायक कुमार योञ्जनले विशेष साङ्गीतिक प्रस्तुति दिएका थिए । कार्यक्रममा तामाङ समुदायको संस्कृति झल्कने विशेष सांस्कृतिक झलकहरू समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै युवा उद्यमी तथा समाजसेवी विजय मोक्तानले संसारको जुनसुकै कुनामा पुगेपनि तामाङ समुदायले आफ्ना धर्म, संस्कृति, परम्परा, चाडबाडलाई भुल्न नहुने बताए ।
कार्यक्रममा एनआरएनए पोर्चुगलका संस्थापक अध्यक्ष पूर्णबहादुर हमाल, पोर्चुगलका लागि पूर्व पर्यटनदूत रमेशकुमार गुरुङ, एनआरएनए पोर्चुगलका पूर्व अध्यक्ष लक्ष्मीप्रसाद सापकोटा, आईसीसी सदस्य सूर्य हमाल, एनआरएनए पोर्चुगलका अध्यक्ष दिपा काफ्ले, वुमन एसोसिएसनका उपाध्यक्ष गीता रेउलेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
तामाङ अक्षयकोषको स्थापना गर्ने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा पोर्चुगलमा क्रियाशील नेपाली संघ-संस्थाका प्रतिनिधि, समाजसेवी, व्यवसायी तथा पोर्चुगलबासी तामाङ तथा गैर तामाङ नेपाली समुदायको बाक्लो उपस्थिति रहेको थियो ।
‘चलचित्रको लागि सेन्सर बोर्ड नै अन्तिम निकाय हुनुपर्छ’
काठमाडौँ । पूर्वमन्त्री रामकुमारी झाँक्रीले चलचित्र ‘एक्टरः टेक वन’ हेरेपछि सकारात्मक प्रतिक्रिया दिएकी छन् । उनले यस चलचित्रलाई एकदमै रहस्यमय र रमाइलो भन्दै, यसलाई मिठो र उत्कृष्ट रहेको बताइन् ।
उनले भनिन्, ‘सायदै मैले यस्तो राम्रो चलचित्र हेरेको थिइन । म नेपाली चलचित्रलाई प्रवर्धन गर्ने व्यक्ति नै हुँ । बधाई छ प्रदिप खड्कालाई । दिलीपजीको छोरी, हाम्रो भदैनी दिव्यालाई पनि बधाई छ ।’
साथै, उनले राजबल्लभ कोइरालालाई पुनः चलचित्रमा स्वागत गर्दै, सबै कलाकार, निर्देशक र निर्माताहरूलाई पनि बधाई दिइन् ।
झाँक्रीले यस चलचित्रले रिलिजको मुखमा खेप्नु परेको समस्याको विषयमा सेन्सर पास हुनु अगाडि नै सबै कुरा समाधान गर्नुपर्ने बताइन् ।
उनले भनिन्, ‘विवाद नहुनुपर्ने थियो, भयो तर केही छैन । यो चलचित्र उठिसकेको छ, अब झनै दौडिनेछ । दर्शकलाई मैले यो चलचित्र सफल बनाउन अनुरोध गर्छु । जे कुरा हुन्छ, चलचित्रको सेन्सर पास हुनु अगाडि नै गर्नुपर्ने हो । यो चलचित्रलाई लिएर पनि त्यसरी नै जानुपर्ने थियो । यो चलचित्रको नाम पनि हुबहु मिलेको छैन । हाम्रो अदालत पनि प्रो एक्टिभ छ ।’
झाँक्रीले चलचित्रको लागि सेन्सर बोर्ड नै अन्तिम निकाय हुनुपर्ने बताइन् । उनले हुबहु नमिलेको नाममा यस्तो नहुनु पर्ने भन्दै मानिसहरूले अप्ठेरो पार्न पनि यस्ता गतिविधि गर्ने गरेको र यस्तो गर्नु राम्रो नभएको जिकिर गरिन् ।
अभिनेता राजबल्लभ कोइरालाले राम्रो फिल्ममेकरको महत्त्व दर्साउँदै फिल्ममेकर जोगाउँदा नेपाली चलचित्रलाई फाइदा हुने बताए ।
‘एक्टरः टेक वन’ प्रदर्शनमा आएको एक हप्तामा दर्शकबाट व्यापक रूपमा सकारात्मक प्रतिक्रिया पाएको छ । यस चलचित्रमा प्रदिप सहित आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ ।
चलचित्रको स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन् । यस अधृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको यो चलचित्रमा निर्माता थमन कुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सह–निर्माता अनीश भुसाल रहेका छन् ।
‘सारंग’ फिल्ममा अभिनय गरेपछि श्रीमानसँग ठूलो स्वर गर्नै छाडेँ : ऋचा शर्मा
ऋचा शर्मा बौद्धिक र अध्ययनशील नायिकाको सूचीमा पर्छिन् । सिर्जनात्मक र सामाजिक क्षेत्रमा उनको विशेष रुचि छ । पछिल्लो समय उनका आधा दर्शन फिल्म लाइनमा छन् । उनको मुख्य भूमिका रहेको फिल्म सारंग यही माघ २५ गतेबाट हलमा आउँदैछ । नेपाली सिने उद्योग, सामाजिक एवं राजनीतिक मुद्दा र आउन लागेको फिल्मका विषयमा सम्बन्धित रहेर प्रमिला कार्कीसंग गर्नुभएको कुराकानी ।
हिजोआज के काममा व्यस्त हुनुहुन्छ ?
फिल्म ‘सारंग’को प्रमोसन गरिरहेका छौ । सारंग सिनेमा यही माघ २५ गते रिलिज हुदैँछ । अभिभावक र बच्चाहरूले हेर्नैपर्ने सिनेमा बनेको छ । मन छुने सिनेमा बनाएका छौँ । सिनेमा घरसम्म गइदिनुहोला भनेर प्रमोसन गरिरहेको छु ।
कलाकारिता क्षेत्रमा कसरी आउनुभयो ?
यस क्षेत्रमा आउनुको बेग्लै कथा छ । लामो संघर्षहरूपछि सिने क्षेत्रमा आएको हुँ । आफैँले प्रयास गरेर एक–एक स्टेप चढ्दै, गीतको म्युजिक भिडियोमा अभिनय वा नाच्दै यतातिर आएको हुँ । मिस नेपालमा आइसकेपछि भने सिनेमामा अभिनय गर्न थालेको हुँ ।
माघ २५ गतेदेखि हजुरले अभिनय गर्नुभएको फिल्म सारंग प्रदर्शनमा आउँदै छ । फिल्मले के सन्देश दिन खोजेको छ ?
यो फिल्म तीनवटा स्पेसल शोहरू गरिरहेका छौँ । धरानमा एउटा च्यारिटी शो गयौँ दुईवटा स्कुलका प्रिन्सिपल, शिक्षक, अभिभावकहरू, एनजीओका व्यक्ति र केही साथीहरूलाई पनि फिल्म देखायौँ । उहाँहरूको प्रतिक्रिया लिने काम गर्यौं । उहाँहरूले एकदमै धेरै मन पराउनुभयो । किनभने सिनेमामा बच्चाहरूले जादु नै गरेका छन् ।
उनीहरूको अभिनय, बुझेका कुरा जसरी पर्दामा देखाएका छन् एकदमै मन छुने बनेको छ । फिल्ममा एकदमै पारिवारिक कथा समेटिएको छ । अहिलेको जल्दोबल्दो कथा, श्रीमान–श्रीमतीबिच हुने झगडाले बच्चाहरूलाई कस्तो मानसिक असर पारिरहेको छ भन्ने कुरा सिनेमाले बोलेको छ ।
त्यो बाहेक सानो छँदा साथी बनाउने अर्थात् को र कस्तो साथी बनाउने, कुन जातको हो त्यसले केही फरक पर्दैन् थियो । तर अहिले धेरै सोच्छौ, धेरै स्वार्थी भएका छौ । त्यही भएर सोचेर मात्र साथी बनाउँछौँ । सानो बेलामा साथी भए पुग्ने, उसको लागि जे नि गर्ने हुन्थ्यो । यही बारेमा पनि सिनेमाले बोलेको छ । यसलाई अभिभावकहरूले धेरै नै मन पराउनु हुनेछ, हामीलाई धन्यवाद दिनु हुनेछ ।
फिल्ममा तपाईको भूमिका के कस्तो छ ?
यसमा मेरो भूमिका एक श्रीमती र एउटा आमाको छ । श्रीमान् सँगको झगडाले उसको मानसिकता कस्तो हुन्छ । उसले जीवनमा के चाहन्छ र घरलाई कसरी मिलाउन खोजीरहेको छ भन्ने कुरा फिल्ममा रहेको भूमिकाले भनिरहेको छ । यसका साथै सम्बन्धविच्छेद भन्ने कुराले महिलाहरूलाई कति असर पारिरहेको छ भन्ने कुरा फिल्मले बोलेको छ । बाहिरको काम पनि नगर्ने, घरमै बस्ने साथै मानसिक तनावमा गुज्रिरहेका महिलाहरूसँग फिल्म धेरै नै सम्बन्धित छ ।
खासमा फिल्मको स्क्रिप्ट राम्ररी अध्ययन गरेर नै अभिनयका लागि साइन गर्नुभएको हो ?
निर्देशक प्रशान्त तामाङले मेरै लागि लेखेको भनेर स्क्रिप्ट लिएर आउनु भएछ । त्यो भन्ने बित्तिकै एक प्रकारमा सम्मान भएको अनुभूति भयो । सुरुमा स्क्रिप्ट पढ्दा त्यति राम्रो थिएन, कति कुराहरू मिस भएको जस्तो थियो । त्यसपछि त्यसलाई सुधार गर्नुपर्छ भनेर बस्यौँ । धेरै कुरामा सल्लाह भयो, अरू कलाकारसँग पनि सबैले छलफल गर्यौं । प्रशान्तको भिजन भने क्लियर थियो, एकदम सामान्य र इनोसेन्ट फिल्म बनाउन चाहनुहुन्थ्यो ।
बच्चाहरुसँग प्रशान्तको एकदमै लगाव छ । विगत १०–१५ वर्षदेखि डान्स टिचर भएको मान्छेले बनाउन खोजेको फिल्म एकदमै मिठास लाग्यो । सिनेमा खिच्दै जाँदा राम्रो हुन्छ जस्तो लागेको थियो । तर जब सिनेमा पूर्ण रूपले हेरें त्यसपछि एकदमै उत्कृष्ट लाग्यो ।
नयाँ निर्देशकसँग काम गर्दा कस्तो अनुभव रहयो ?
एकदमै रमाइलो रह्यो । नयाँ निर्देशकसँग काम गर्न एकदमै मनपर्छ । किनभने नयाँहरूमा एकदमै मेहेनत गर्ने र उर्जा हुन्छ । म केही गर्छु भन्ने र आफूलाई साबित गर्नुपर्छ भन्ने खालको भावना हुन्छ । पछि सिक्दै गएपछि यस्ता कुराहरूलाई सामान्य लिनेपनि देखेका छौ । तर प्रशान्तमा एकदमै सकारात्मक उर्जा थियो । यही कारणले मैले सक्दो यसलाई सपोर्ट गरेको हो ।
फिल्ममा वाल मनोविज्ञानको कथा देखाइएको छ भन्नुभयो । तपाई यतिबेला आमा बनिसक्नु भएको छ । फिल्ममा अभिनय गर्दागर्दी कस्तो अनुभव गरिरहनु भएको छ ?
फिल्म गर्ने बेला मेरो बाबु सानै थियो । तपाईहरूले फिल्म हेर्नु नै हुन्छ होला, त्यो बेला म मोटी थिए, सुत्केरी नै थिए । बच्चा काखे हुने बेलासम्म पनि तपाईले कति कुराहरू ध्यान दिनुहुन्न, जस्तै म र मेरो श्रीमानबिच कुनै कुरा मिलेन भने ठूलो ठूलो स्वर गर्ने गरेका थियौँ । तर सारंग अभिनय गरिसकेपछि त्यो कुरा मैँले बन्द गरेको छु । मैले त्यो फिल्मबाट सिकेको कुरा भनेको नै बच्चाहरूको अगाडि झगडा गर्नु हुदैँन् भन्ने हो । बच्चाहरूलाई त्यो खालका व्यवहार र बोली सुन्न दिनु हुदैँन् भन्ने मैले सिक लिएर गएको छु ।
हजुरले भनिहाल्नुभयो स्क्रिप्ट लेख्दा नै हजुरको लागि लेखेको थियो भनेर । फिल्म प्रदर्शनमा आउनै बाँकी छ । यसको मूल्याङ्कन पक्कै हुनेछ । हजुर आफैँलाई चाही आफ्नो अभिनयले कत्तिको न्याय गरेको जस्तो लाग्छ ?
एउटा अपेक्षा हुन्छ । सिनेमामा म छु भने यो मान्छेले त गरिहाल्छ भन्ने खालको अपेक्षा हुने रहेछ । तर प्रशान्तले तपाईलाई केही पनि थाहा छैन् भन्ने खालको बनाएर एकदमै जिरोमा ल्याएर काम गराएको छ । सिनेमा त सहयोगी कलाकार जस्तो मात्र हो ।सम्राट् र आदित्य चाहिँ मुख्य हिरोहरू हुन् । फिल्मको मुख्य कलाकार भनेको उनीहरू नै हुन् । सिनेमाभरी उहाँहरूलाई देख्नुहुनेछ । सिनेमामा पात्र आएपछि कस्तो हुन्छ भने कि तपाईले भोगेको, कि देखेको, कि सुनेको कुरा हुनुपर्छ । मेरो तर्फबाट दुई सय प्रतिशत नै प्रयास गर्छु र गरेको छु । जति जनाले सिनेमा हेर्नु भएको छ, उहाँहरूले मन पनि पराउनुभएको छ । फिल्ममा खासमा मैले खेलेको भूमिका मन पराउने भन्दा पनि मन नपराउने खालको छ । एकदमै किचकिचे स्वभावको छ । यसमा दर्शकहरूलाई पनि रिस उठ्ने मन नपर्ने भयो भने त्यो नै सफलता हो ।
फिल्मको भिलेनलाई देखेर रिस उठ्नु भनेको उसले राम्रो काम गरेको हो । यो फिल्ममा यस्तै छ । मैले आफ्नो तर्फबाट सक्दो गरेको छु । सबैभन्दा ठूलो कुरा भनेको निर्देशकले कति देखाउन सक्नुभयो भन्ने हो ।
उक्त भूमिका निर्वाह गर्न चाही कत्तिको सहज या अप्ठ्यारो भयो ?
फिल्ममा त्यति गाह्रो भएन् । तर एउटा सिनमा भने गाह्रो भएको थियो । दर्शकहरूले पनि रुचाउनु हुदैँन् जस्तो लाग्छ । एउटा बच्चालाई पिटेको सिन छ । त्यो सिन गर्नको लागि मलाई एकदमै अप्ठ्यारो भयो । सिनेमामा एउटा कुरा धेरै पटक गर्नु पर्ने हुन्छ । धेरै सट चाहिन्छ । त्यही कुरा धेरै पटक गर्दा त मान्छेलाई दुख्छ नि । हानेको जस्तो मात्र गरौँ भने त्यो देखाएको जस्तो देखिएला । तर त्यो एउटा सिन एकदमै गाह्रो किसिमको थियो ।
यतिबेला तपाईँका कतिवटा फिल्म पाइपलाइनमा छन् ?
रिलिजको क्रममा पहिलो सारंग हो । यही माघ २५ गते हल आउँछ । त्यसपछि चैत्र १ गते ‘राजागन्ज’ प्रदर्शनमा आउने तयारी छ । त्यसपछि दिपेन्द्र खनालसँग सानो सहकार्य गर्न पाएँ ‘मेयर’ भन्ने फिल्ममा त्यो सायद वैशाखमा रिलिज हुने कुरा छ । त्यसपछि ‘कोशेढुङ्गा’ भर्खरै साइन गरें । यो भने भदौ, असोजतिर आउँछ होला । अहिले ‘बलिदान’ सुट भइरहेको छ । यसको अझै काम बाँकी छ । त्यसपछि ‘बिमान’ भन्ने फिल्म सकाएको छु ।
अहिले सामाजिक सञ्जालमार्फत भाइरल हुने ट्रेन्ट चलेको छ । त्यस्ता केही भिडियो र गीतहरू राख्ने गरिएको छ जसले वाल मनोविज्ञानमा कस्तो असर परिरहेको छ र कलाकारको नजरबाट कसरी मूल्याङ्कन गर्नुहुन्छ ?
सकारात्मक प्रतिक्रिया मात्र आउँछ भनेर सामाजिक सञ्जालमा बस्दै नबस्न सुझाव दिन्छु । त्यसले एकदमै हानी गर्छ । मानसिक रुपमा विछिप्त नै बनाउँछ । यदी नकारात्मक टिप्पणी लिन सक्नुहुन्न भने सामाजिक सञ्जाल तपाईका लागि होइन् । तर म आफ्नो इच्छा गर्छु, मेरो बच्चालाई एक्सपोज गर्छु अथवा बलियो सोच बनाएर सामाजिक सञ्जालको प्रयोग गर्छुभन्ने लाग्छ भने ठिकै छ । अहिले टिकटकको अफिस नै खुल्यो नेपालमा । नकारात्मक कुराहरू फिल्टर भएको देखिन्छ । तर धेरै नै फिल्टर गर्न चाँही बाँकी छ । कुनै समुदाय विरुद्ध वा अपशब्द बोल्यो भने तुरुन्तै भिडयो डिलिट हुन्छ । त्यो चाही राम्रो कुरा हो । तर पनि सामाजिक सञ्जालमा धेरै नै फिल्टर हुन आवश्यक चाही छ । म चाही कमेन्ट कहिल्यै हेर्दिन् । कमेन्टबाट के लिने के नलिने भन्ने कुरा आफ्नै हो ।
खासमा कलाकारहरुको वैवाहिक जीवन किन टिकिरहेको छैन्, भर्खरै एक जना चर्चित गायिकाको पनि सम्बन्ध बिच्छेदको चर्चा चलिरहेको छ नि
कलाकारहरू पब्लिक फिगर भएकाले घट्नाहरू चाँडो बाहिर आउँछ । नेपालमा पछिल्लो पाँच वर्षमा ३३ प्रतिशतले सम्बन्ध विच्छेदका घट्ना बढेका छन् । त्यसमा कलाकारिता क्षेत्र पनि पर्छ । कोही मानिसले सहरमा डिभोर्स घट्ना बढिरहेको छ भन्छन् । तर गाउँमा पनि बढिरहेको छ । कलाकारको समाचार छिटो कभर हुन्छ र जनतासम्म पुग्छ । भर्खरै एकजना गायिकाको सम्बन्धविच्छेद भएको भनेर समाचारहरू आइरहेका छन् । उहाँको श्रीमानको नामसम्म पनि याद छैन् मलाई । केटीहरूलाई अलिकति बढी चर्चामा ल्याइने गरेको छ । केटीको नाम बिकाउने प्रचलन बढ्दो छ । वैवाहिक सम्बन्ध टिकाउन नसक्नु दुःखको कुरा हो । तर मानिसले मर्नुभन्दा अगाडि बढ्नु सजिलो लाग्छ । त्यसले मानसिक रूपमा आनन्द दिन्छ भने त्यही नै गर्नुहोस् भन्छु । बच्चाहरू छन् भनेचाँही कम्प्रोमाइज पनि गर्नुहोस, मिल्नुहोस् ।
कलाकारिता क्षेत्रमा अब्बल भूमिका र अभिनय हुँदाहुँदै पनि महिला–पुरुषमा पारिश्रमिकको विभेद छ भन्ने सुनिन्छ । हजुरले त्यस्तो भोग्नुभएको छ ?
कम पारिश्रमिक पाउने तर जताततै हिड्नुपर्ने महिला नै हुन्छन् । महिलालाई सुरक्षाको कुरा पहिलो हुन आउँछ । पारिश्रमिककै कुरामा हिरोहरूले ५० लाख पाइराख्दा हिरोइन ले कति पाइराखेका छन, हाफ वा क्वाटर भन्ने कुराहरू छन् । जबकी फिल्म प्रमोसनमा सबैतिर महिलाले नै अनुहार देखाइरहुन परेको हुन्छ । धेरै कुरामा गुनासो छ तर अब गुनासो मात्रै गरेर पनि भएन् । किनभने आफूले पनि स्टेप लिन सक्नुपर्छ । आफ्ना कुरा राख्न सक्नुपर्छ । त्यस्तो ठाउँमा पुर्याउनु सक्नुपर्यो, जहाँबाट परिवर्तन आउन सक्छ । तर त्यस्तो परिवर्तन आउन समय लाग्छ । किनकी यो पुरुषप्रधान समाज हो । एक युवतीको डिभोर्स हुँदा त महिलाको मात्र नाम उचाली उचाली मिडियाले लेखिरहेको छन । केटो को हो भनेर पनि गुगल गर्नुपर्ने अवस्था छ । यस विषयमा हामी अझैपनि एकसय वर्ष पछाडि छौँ ।
पछिल्ला बर्षहरूमा नेपाल छाड्ने युवाहरू एवम् कलाकारहरूको सङ्ख्या बढ्दो छ, के कारणले होला ?
जिन्दगीमा सबैलाई सुरक्षा चाहिन्छ । उमेर बढ्दै गएपछि झनै चाहिन्छ । अझ भन्ने हो भने बालबच्चा भएपछि झनै चाहिन्छ । आफ्नो देशमा जब त्यो सुरक्षा देख्नुहुन्न जन्मभूमि छाड्नुहुन्छ । आफूले गरिरहेको काम छाडेर विदेशिने रहर सायदै कसैलाई हुँदैन् । तर रहर भन्दा पनि बाध्यता हो । आफ्नो देश छाडेर गएभने राम्रे जीवन दिन सक्छु, बच्चाहरूलाई वा आफू राम्रोसँग बाँच्न सक्छु भन्ने हो । नेपालमा अझैपनि टिक्न र व्यवसाय गरेर जीवन जिउन गाह्रो भएरै होला विदेशिनेक्रम चलेको ।
यसका लागि चाही राज्यले के गर्नुपर्छ जस्तो लाग्छ ?
यसको लागि त एकदमै ठूलो योजना नै चाहिन्छ । दुई वर्षमात्रै खाडीमा काम गर्न जानेको जमात नै कति धेरै छ नि । त्यो जानै नदिनलाई चाही सरकारी योजना चाहिन्छ र युवाहरूको सोच बदल्न सक्नुपर्छ । खाडी देशमा गएर लेबर काम गरेर आफ्नो ज्यान जोखिममा राखेर जानेलाई नै पहिला कसरी रोक्ने त्यो चाही ठूलो प्रश्न हो । यसको लागि राज्यले एकदमै ठूलो प्रयास गर्नुपर्ने देखिन्छ ।
कलाकारको दृष्टिकोणबाट नेपाली राजनीतिलाई कसरी हेरिरहनुभएको छ ?
देशको हरेक नागरिक राजनीतिबाट अछुतो छैन् । सिनेमा बनाउने सुरुवातदेखि सिनेमा रिलिज भएर दर्शकसम्म पुग्दा कुनै न कुनै राजनीति जोडिन्छ । चाहे चलचित्र दर्ता गर्दा होस् या सिनेमा बनाउँदै गर्दा अनुमतीहरू लिने कुरा हुन् । या सेन्सर गर्ने कुरा होस् यि सबै काममा मन्त्रालय जोडिन्छ । त्यो मात्र नभएर चलचित्र देखाउने बेलासम्म पनि हामी राजनीतिबाट टाढा बस्न सक्दैनौँ जस्तो लाग्छ । तरपनि कति कुराहरूमा चाँही गर्नसक्ने भएपनि मन्त्रालय या चलचित्र विकास बोर्डले निर्णय लिनका लागि आफैँपनि बल नलगाएको हो कि जस्तो लाग्छ । निर्णय लिनको लागि बल नपुगेजस्तो लाग्छ । सानोतिना कुराहरू जस्तै बिमाको कुराहरू, रिटायर्ड लाइफको सुरक्षाको कुराहरूमा काम भएजस्तो लाग्दैन् । यस्ता कुराहरू नहुँदा अलिकति खिन्न लाग्छ । ५०–६० वर्षको इतिहास बनाइसकेको नेपाली सिनेमा क्षेत्र अहिलेसम्म आइपुग्दा पनि कुनै किसिमको सुरक्षा छैन् जस्तो लाग्छ । संघ संस्थाले मिलेर गरिरहनु भएको छ । तर राज्यले खासै चासो नदिएको देख्दा दुःख लाग्छ ।
अन्तिममा फिल्म सारंगको बारेमा के भन्न चाहनुहुन्छ ?
दर्शकहरूले मलाई धेरै ठाउँमा देखिरहनुभएको होला तर यो सबै सारंग फिल्मको प्रमोशनका लागि हो । आत्मादेखि के भन्न चाहन्छु भने सबैजना बच्चाहरूलाई लिएर परिवारसहित फिल्म हलमा आउनुहोला । सारंग हेरिदिनुहोला ।
चर्चित नेपाली सेफ टंकद्धारा निर्मित वृत्तचित्र ‘टेस्ट अफ इटाली’ पोर्चुगलमा प्रदर्शन
लिस्बन । इटालियन खानाका लागि युरोपमा प्रख्यात नेपाली सेफ टंक सापकोटाले निर्माण गरेको इटालियन खानासम्बन्धी वृत्तचित्र ‘टेस्ट अफ इटाली’ सार्वजनिक गरिएको छ ।वृत्तचित्र पोर्चुगलको राष्ट्रिय टेलिभिजन टिभीआईमार्फत सार्वजनिक एवं प्रसारण गरिएको हो ।
सापकोटाले पोर्चुगलमा सञ्चालन गरेको इटालियन रेष्टुरेन्ट ‘कोमे प्रिमा’ को २५ औँ वार्षिकोत्सवको अवसर पारेर प्रसारण गरिएको वृत्तचित्रमा इटालियन खानाको परम्परा, खानपानको शैली, खानाको स्वाद, व्यञ्जन र परिकारलाई समेटिएको छ । पोर्चुगिज चलचित्र निर्देशक टियागो पी.डे. कार्भाल्होले निर्देशन गरेको उक्त वृत्तचित्र इटालीका विभिन्न स्थानमा छायाङ्कन गरिएको छ । पोर्चुगिज र इटालियन भाषाको सम्मिश्रणमा निर्माण गरिएको वृत्तचित्रमा सापकोटा स्वयम् प्रमुख पात्र र प्रस्तोताका रूपमा प्रस्तुत भएका छन् ।
वृत्तचित्रमा मूलतः इटालियन परम्परागत खानाका जड, इटालियन खानाका रहस्य, इटालियन पाककलाको स्वाद र खानपानको शैलीलाई पस्कने प्रयास गरिएको छ । वृत्तचित्रलाई एउटा नेपालीले युरोपमा रहेर तीन दशकदेखि विदेशी परिकार इटालियन खानाका पारखीहरूलाई उत्कृष्ट स्वाद पस्कँदै प्राप्त गरेको सफलताका रूपमा समेत लिइएको छ ।
साथै, खानाका पारखीदेखि लिएर प्रख्यात इटालियन सेफहरू, पाककलासँग सम्बन्धित विभिन्न व्यक्तिहरू र ८३ वर्षीय इटालियन वृद्धा भान्सेसँग इटालियन पाककला, खानाका परिकार, स्वादिष्ठ भोजन र व्यञ्जन तथा बहुमूल्य ट्रफलको खोजीलगायत विषयमा खोज, जानकारी र संवाद गरिएको छ ।
इटालियन खानाका परिकार र विश्व बजारमा बहुमूल्य मानिने ह्वाइट ट्रफलको खोज अनुसन्धान र लिलामीलाई वृत्तचित्रमा प्रस्तुत गर्न खोजिएको छ । सेफ सापकोटाले इटालियन खानासम्बन्धी आर्जन गरेको ज्ञान, सीप, कलालाई समेत वृत्तचित्रमा चित्रण गरिएको छ । आइतबार पहिलो भाग प्रसारण भएको उक्त वृत्तचित्र शृङ्खलाबद्ध रूपमा प्रसारण हुनेछ । वृत्तचित्र इटालियन खानामा केन्द्रीत रहेको भएपनि त्यसको प्रमुख पात्र नेपाली भएको नाताले वृत्तचित्र नेपाल र नेपालीको गौरव र प्रतिष्ठासँग जोडिएको सापकोटाले बताए । वृत्तचित्रलाई नेपाली भाषामा समेत अनुवाद गरेर नेपालमा प्रदर्शन गर्ने योजना रहेको उनले बताए ।
करिब २८ वर्षदेखि सपरिवार पोर्चुगल बस्दै आएका बागलुङका सापकोटाको राजधानी लिस्बनमा तीन इटालियन र एक नेपाली गरी चार रेष्टुराँ सञ्चालनमा छन् । ट्रफल एम्बेस्डरसमेत रहेका सापकोटाले पाककलामा उत्कृष्टता प्रदर्शन गरेकै कारण दर्जनौँ ‘अवार्ड’ तथा पुरस्कारसमेत प्राप्त गर्न सफल छन् । गत वर्ष उनको रेष्टुरेन्ट ‘र्फोनो दी ओरो’ ले युरोपकै उत्कृष्ट १२ औँ पिज्जेरिया र विश्वकै उत्कृष्ट १० नापोलितान पिज्जेरियामा पर्न सफल भई अन्तर्राष्ट्रिय अवार्ड समेत प्राप्त गरेको थियो । सापकोटाले सन् २०१८ मा इटालीबाट खरिद गरी ल्याएको विश्वकै ठूलो र दुर्लभ प्रजातिको बहूमूल्य च्याउ (ह्वाइट ट्रफल) पोर्चुगलमा सार्वजनिक गरेका थिए । सन् २०१६ मा उनी पोर्चुगलमा युवा सिर्जनशील व्यवसायी समेत घोषित भएका थिए ।
संयुक्त राष्ट्रसङ्घीय सांस्कृतिक निकाय (युनेस्को) ले इटालीको प्रख्यात ‘नापोलितान पिज्जा’ बनाउने कलालाई विश्वसम्पदा सूचीमा समावेश गरेको छ । जसमा सापकोटाले सञ्चालन गरेको रेष्टुराँ ‘र्फोनो दी ओरो’ उक्त सूचीमा सूचीकृतसमेत छ । जुन रेष्टुराँमा सुनको जलप लगाइएको चुल्होमा पिज्जा पकाउने गरिन्छ । यस्तै केही महिना अघि मात्रै सापकोटाले तालिमप्राप्त कुकुर, इटालियन ट्रफल सिकारीको सहयोग तथा इभोरा विश्वविद्यालयसँगको सहकार्यमा पोर्चुगलमा पहिलोपटक ब्ल्याक ट्रफल (जमिनमुनि पाइने कालो प्रजातिको ग्रीष्मकालीन च्याउ) फेला पार्न सफल भएका थिए । उनले फेला पारेको उक्त ब्ल्याक ट्रफल पोर्चुगलको इभोरा विश्वविद्यालय, कृषि विज्ञान संस्थान, राष्ट्रिय कृषि तथा पशु चिकित्सा अनुसन्धान संस्थानका अनुसन्धानकर्तासहितको वैज्ञानिकको टोलीले पुष्टि गरेको थियो ।
सापकोटाले कोरोना कहरमा कोरोनाका कारण रोजगारी गुमाएका तथा समस्यामा परेका राजधानी लिस्बनका १० हजार सूचीकृत न्यून आय भएकाहरुलाई ‘एकमहिने निःशुल्क खाना अभियान’ सञ्चालन गरेर निःशुल्क खाना समेत खुवाएका थिए ।
चलचित्र ‘लाज शरणम्’को नयाँ पोस्टर सार्वजनिक
काठमाडौँ । बहुप्रतीक्षित नेपाली चलचित्र ‘लाज शरणम्’को नयाँ पोस्टर सार्वजनिक भएको छ । यस पोस्टरले चलचित्रका नयाँ क्यारेक्टरलाई रिविल गर्दै दर्शकको ध्यान आकर्षित गरेको छ ।
पोस्टरमा चलचित्रका मुख्य कलाकारहरू मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अर्पण थापा र कमलमणि नेपाललाई प्रस्तुत गरिएको छ। विशेष रूपमा पोस्टरमा अभिनेता सीताराम कट्टेल (धुर्मुस)को गेटअप चर्चामा छ। नेताको भूमिकामा रहेका कट्टेललाई दोरा–सुरुवाल र ज्वारीकोटमा देखाइएको छ। उनी हात उठाएर अभिवादन गरिरहेका छन्, जसले उनको राजनीतिक चरित्रको संकेत गर्छ ।
उनको लुक्सले पूर्वमन्त्री तथा कांग्रेस नेता मोहम्मद आफतव आलमलाई झल्काएको अनुमान गरिएको छ। साथै, पोस्टरमा कफिन बोकेका स्थानीयहरूको दृश्यले चलचित्रको गहिरो कथावस्तु झल्काएको छ ।
‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ टिमले निर्माण गरेको चलचित्र हो। यसमा अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (क्रकोज), प्रियाना आचार्य (मुन्नी)लगायतका कलाकारले अभिनय गरेका छन् ।
चलचित्रको निर्देशन कुमार कट्टेल ‘जिग्री ब्रो’ले गरेका छन्। यसका प्रमुख कलाकारहरूमा विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बु लगायत छन् ।
जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् । सिनेमालाई सुदीप बरालले छायाङ्कन गरेका हुन् ।
‘लाज शरणम्’ फागुन १४ गते महाशिवरात्रीको अवसरमा प्रदर्शन हुने भएको छ। यो चलचित्रलाई यस वर्षकै प्रशिक्षित फिल्ममध्ये एक मानिएको छ ।
अजिरकोट गाउँपालिका, भच्चेक गोरखाबाट देखिएको बौद्ध, हिमचुली तथा गणेश हिमाल (फोटो फिचर)
तस्बिर : लीलाधर कोइराला
अजिरकोट गाउँपालिका, भच्चेक गोरखाबाट बौद्ध, हिमचुली तथा गणेश हिमालको मनोरम दृश्यहरू देख्न सकिन्छ । पुस, माघ महिनामा यी हिमालमा सधैँ सेताम्मे हिउँ हुन्थ्यो तर पछिल्लो समय जलवायुमा आएको परिवर्तनका कारण हिमालमा हिउँ पर्न छोडेको छ । कुनै बेला अजिरकोट गाउँपालिकाको केन्द्र नम्की, सिरानडाँडा तथा माथिल्लो भागमा सेताम्मे हिउँ हुन्थे ।




















