रिलिजको केही घण्टामै युट्युब ट्रेन्डिङको पहिलो स्थानमा ‘बलिदान’ ट्रेलर
काठमाडौं । बडा दशैँको फूलपातीमा रिलिज हुने नेपाली चलचित्र ‘बलिदान’को ट्रेलरले युट्युबमा तहल्का मच्चाएको छ । सार्वजनिक भएको केही घण्टामै यो नेपालको युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा पुगेको छ ।
साथै, नेपालीको बसोबास भएका अन्य मुलुकहरूमा पनि यसले ट्रेन्डिङमा आफ्नो स्थान बनाएको छ । धेरै समयदेखि चर्चामा रहेको चलचित्र ‘बलिदान’को ट्रेलर शुक्रवार सार्वजनिक भएसँगै दर्शकमाझ यसले थप उत्सुकता जागेको छ । ट्रेलरमा समावेश शक्तिशाली संवाद, तीव्र एक्सन दृश्य र भावनात्मक प्रस्तुतिले धेरै दर्शकको मन जितेको देखिन्छ । विशेष गरी, समीर भट्ट, ऋचा शर्मा, सौगात मल्ल र अर्पण थापाको फरक अवतार र अभिनयले ट्रेलरलाई आकर्षक बनाएको छ ।
ट्रेलरको भावनात्मक सुरुवातदेखि समीर भट्टको शक्तिशाली संवाद र एक्सनले दर्शकलाई बाँधेर राख्छ । यसमा सौगात मल्ल र समीरबीचको द्वन्द्व अनि अन्य पात्रहरूको प्रस्तुतिले चलचित्रको कथावस्तु झन् रोमाञ्चक हुने देखाएको छ । छायाङ्कन, संवाद र ब्याकराउन्ड स्कोरको उत्कृष्ट संयोजनले ट्रेलरलाई उच्चस्तरको बनाएको छ ।
चलचित्रका निर्देशक सन्तोष सेनले ‘बलिदान’लाई केवल चलचित्र नभई हरेक नेपालीको विद्रोहको प्रतीक भनेर बताउनुभएको छ, जसले गर्दा यो चलचित्र नेपाली दर्शकका लागि अझ विशेष बनेको छ । यसको शीर्षक गीत ‘यो ज्यान बलिदान’ पनि पहिले नै चर्चामा आइसकेको छ ।
देउडा क्षेत्रका बादशाह थापाको “पँहेली धानकाबाला २” भिडियोसहित सार्वजनिक
बाजुरा । देउडा क्षेत्रका चर्चित गायक प्रकाश थापाको नयाँ देउडागीत “पँहेली धानकाबाला २” भिडियोसहित सार्वजनिक भएको छ।
२०६१ सालमा “मुटु जल्याकै छ” एल्बममार्फत आएका पँहेली धानकाबाला गीतको सिक्वेल स्वरूप यो गीत सार्वजनिक गरिएको हो। पहिलो संस्करणमा दशैं–तिहारमा घरपरिवारबाट टाढा बस्नुको पीडा समेटिएको थियो भने भाग–२ मा समेत परदेशी नेपालीको संघर्ष, चाडपर्वमा अभाव र परिवारको माया प्रस्तुत गरिएको छ।
गीतमा प्रकाश थापा र देवी घर्तीको स्वर रहेको छ। थापा, राजेन्द्र शाह विपी र अमर विकले शब्द लेखेका छन् भने थापा र अमर विककै संगीत संयोजन छ। विनोद बाजुरेलीको एरेञ्ज, खडक बाजुरेलीको मिक्सिङ, सागर बाजुरेली र डम्मर विकको रेकर्डिङ तथा राजेन्द्र बाजुरेलीको भोकल एडिट रहेको छ।
गौरव गिरीको निर्देशनमा बनेको भिडियोमा राजकुमार सिंह, सामिया कार्कीलगायतले अभिनय गरेका छन्। मालश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतलाई दशैं–तिहार विशेष गीतका रूपमा प्रस्तुत गरिएको गायक थापाले बताए।
उनका अनुसार गीतले परदेशमा रहेका छोराछोरी र घरदेशमा रहेका आमाबुबा, दिदीबहिनीको मन छुनेछ। भाग–१ जस्तै यो गीतले पनि श्रोतामाझ उस्तै माया पाउने विश्वास उनले व्यक्त गरे। साथै, दर्शक–श्रोताबाट सुझाव र प्रतिक्रिया दिन आग्रह गर्दै उनले आफ्नो साङ्गीतिक जीवन अझ समृद्ध हुने विश्वास व्यक्त गरेका छन्।
‘जारी २’ कार्तिक ६ गते भाइटीमा रिलिज हुने
काठमाडौं । असोज ३ गते संविधान दिवसको अवसरमा प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा ‘जारी २ ः सङ अफ च्याब्रुङ’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । जेनजी पुस्ताको आन्दोलनका कारण प्रचार प्रसारको लागि समय नभएकाले सिनेमाको रिलिज सारिएको निर्देशक उपेन्द्र सुब्बाले बताए ।
सिनेमाको निर्माण टिमले मंगलबार २ पोस्टर सार्वजनिक गर्दै आगामी कार्तिक ६ गते भाइटीकालाई प्रदर्शन मिति घोषणा गरिएको छ ।
कवि उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमाको आज सार्वजनिक भएका दुई पोस्टरमध्ये पहिलो पोस्टरमा सिनेमाका मुख्य कलाकार दयाहाङ राई र मिरुना मगरलाई मात्र प्रस्तुत गरिएको छ । यी दुवैलाई पोस्टरमा परम्परागत लिम्बु पहिरनमा खुशी मुद्रामा देख्न सकिन्छ ।
दोस्रो पोस्टरमा दयाहाङ र मिरुनासहित बुद्धि तामाङ तथा विजय बराललाई अटाइएको छ । सार्वजनिक भएका यी दुवै पोस्टरले लिम्बु समुदाय र उनीहरूको संस्कृतिको अभिन्न पाटोको सेरोफेरोमा सिनेमाले कथा पस्कने बुझ्न सकिन्छ । सिनेमाका यी पोस्टरले एउटा अद्भुत कथा पर्दामा पस्किने सहज अनुमान गर्न सकिन्छ ।
बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमाका निर्माताहरु सफल निर्देशक रामबाबु गुरुङ र मधु मिजार, जीवन गुरुङ हुन् । सिनेमामा दयाहाङ, मिरुना, विजय, बुद्धिसहित ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहेको छ ।
कवि सुब्बाको डेव्यु निर्देशकिय सिनेमा ‘जारी’ २०८० सालको ब्लकबस्टर सिनेमा हो । सो वर्ष सिनेमाले नेपाली बक्स अफिसमा १७ करोड माथिको व्यापार गरेको थियो । त्यसैले निर्माण घोषणा भएदेखि नै यो सिनेमालाई प्रतिक्षित सिनेमाको सूचीमा राखिएको छ ।
चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ फूलपातीमा रिलिज हुने
काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ फूलपाती अर्थात् असोज १३ गते रिलिज हुने भएको छ । भदौ २७ गते प्रदर्शनमा आउने तय भएको चलचित्र फूलपातीका दिन रिलिज हुने भएको हो ।
जेनजीको प्रदर्शनका कारण रिलिज रोकिएको यो चलचित्र पछि सरेर असोज १३ मा पुगेको हो ।
‘भदौ २७ गते प्रदर्शनमा ल्याउने पूर्वनिर्धारित मिति तय गरिएको भए पनि देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै हामीले प्रदर्शन स्थगित गरेका थियौँ । तर अहिले देशमा भएको आमूल परिवर्तनलाई सकारात्मक दृष्टिले लिएर हाम्रो चलचित्र उद्योगलाई निरन्तर चलायमान र गतिशील बनाउने उद्देश्यका साथ हामीले नयाँ प्रदर्शन मिति घोषणा गरेका छौँ,’चलचित्र निर्माण कम्पनी सेभेन सिज नेपालले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘नेपाली भाषामा असोज १३ गते फूलपातीको दिनदेखि देशभर तथा विश्वव्यापी रूपमा एकैसाथ प्रदर्शन हुनेछ ।’
हिन्दी भाषामा भने असोज १७ गतेदेखि भारतमा तथा विश्वव्यापी रूपमा एकैसाथ प्रदर्शन हुनेछ ।
निर्माता विनोद पौडेलले भदौ २७ गते नै रिलिज हुने भनेर प्रचार गरेकाले धेरै बजेट पब्लिसिटीमा लगानी भइसकेकाले लामो समय दर्शकलाई होल्ड गर्न नसकिने बताए ।
‘हामी सोच विचार गरेर नै फूलपातीमा आउने निर्णय गरेका हौँ । कसैसँग जुध्ने र जुधाउने हाम्रो उद्देश्य होइन । धेरै पछि जाने अवस्था पनि छैन,’विनोदले भने, ‘हामी भदौ २७ मा आउँदा सोलो रिलिजको मौका पाएका थियौँ । तर, परिस्थितिले हामीलाई असोज १३ मा ल्याइपु¥याएको हो । हामी सरसल्लाह गरेर नै यो मितिमा आएका हौँ ।’
विदेशमा पनि शो लिइसकेकाले धेरै पर जान नसकेको उनले प्रष्ट पारे । सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको ‘अभिमन्यु ः च्याप्टर १’मा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देल मुख्य भूमिकामा छन् ।
सुशान्त गौतमले निर्देशन गरेको ‘अभिमन्यु ः च्याप्टर १’ को क्रिएटिभ निर्देशक मदन थापा हुन् । यस चलचित्रमा मुकेश खनालको लेखन रहेको छ ।
‘अभिमन्यु ः च्याप्टर १’का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् । सिनेमाको लाइन प्रोड्युसरमा जीवन शाक्य रहेको छन् ।
शरद महतोको डिओपी रहेको यस चलचित्रमा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन, मदन घिमिरेको सम्पादक रहेका छ ।
चलचित्रकर्मीहरुको आव्हान : नागरिक सरकार गठन र नयाँ निर्वाचन गरौं
काठमाडौं । सोमबारदेखि जारी जेनजीको आन्दोलनप्रति चलचित्रकर्मीहरुले समर्थन जनाएका छन् । मंगलबार एक संयुक्त विज्ञप्ति जारी गर्दै सरकारद्वारा गरिएको बर्बर दमन र नर संहारले चलचित्रकर्मीको हृदय छिया छिया भएको पनि जनाएका छन् ।
‘देशमा विद्यमान विकृति, विसंगति र भ्रष्टाचार उन्मुलनका लागि सरकारी तत्परताको माग राख्दै जेनजीको आव्हानमा भदौ २३ गते भएको विशेष आन्दोलन प्रति देशमा हामी चलचित्रकर्मीहरु पूर्ण समर्थन गर्दछौं। शान्तिपूर्वक भैरहेको आन्दोलन दबाउन सरकार द्वारा गरिएको बर्बर दमन र १९ जनाको ज्यान जाने गरी भएको नर संहारले हामी चलचित्रकर्मीको हृदय छिया छिया भएको छ ।
जेनजीका मागहरु सम्बोधन गरी तत्काल राष्ट्रिय निकास निकाल्न सबै पक्षसँग हामी आव्हान गर्छौ । देशको राजनीतिक रूपान्तरण को यो सम्बेदनसिल क्षणमा हामी सबैले धैर्यताका साथ देश हितमा शान्तीपूर्वक र समाधानमुखी कदम चाल्नुपर्ने आवश्यकता रहन्छ। अब सबै पक्ष बिच सरसल्लाह गरी नागरिक सरकार गठन गरेर शान्ती सुव्यवस्था कायम गरी नयाँ निर्वाचनको तयारी गर्नुपर्छ ।
साथै जेनजी आन्दोलन दबाउन भुमिका खेल्ने सम्पूर्ण पक्षलाई विशेष छानविन आयोग गठन गरेर कारवाहीको दायरामा ल्याउनुपर्छ। अहिलेको मुख्य समस्या रहेको भ्रष्टाचार रोक्न विशेष अधिकारको आयोग बनाउन तत्काल निर्णय गर्न पनि आग्रह गर्दछौ ।
जेनजीको आन्दोलन सफलताको वाटोमा अगाडी बढिसकेको हुँदा अब राष्ट्रिय सम्पत्तिहरुको तोडफोड र नास नगर्न हामी अनुरोध गर्दछौं ।
यो आन्दोलनको क्रममा सरकारले गोली हानेर मारिएका सबै युवाहरु प्रति हार्दिक श्रद्धान्जली तथा धाइनेहरुको सिध्र स्वास्थ लाभको कामना गर्दछौं ।
मनोज पण्डित
नविन सुब्वा
दयाहाङ्ग राई
निश्चल बस्नेत
अविरल थापा
साम्पिय राज तिमलसिना
रामकृष्ण पोख्रेल
गणेशदेव पाण्डे
अनुप बराल
सुरक्षा पन्न
के की अधिकारी
रिचा शर्मा
स्वस्तीमा खड्का
खगेन्द्र लामिछाने
के पी पाठक
सचिन धिमिरे
दिपेन्द्र खनाल
विनोद पौडेल
दिपक रौनियार
निरोज महर्जन
पुरेन्दु झा
‘शिवांश : च्याप्टर–१’ कात्तिक २७ गते रिलिज हुने
काठमाडौं । चलचित्र ‘शिवांश : च्याप्टर–१’ कात्तिक २७ गते रिलिज हुने भएको छ । निर्माणपक्षले चलचित्रको रिलिज डेट तोक्दै कात्तिक २७ गते रिलिज गर्ने घोषणा गरेको हो ।
कैलाश पर्वतमा शिव र शिवको वाहन साँढे अंकित पोस्टर सार्वजनिक गर्दै रिलिज मिति तय गरिएको हो । जटाधारी शिव कैलाश पवर्ततर्फ उक्लिँदै गरेको र साँढेको निधारमा त्रिशूल छ । यसको अर्थ र चलचित्रसँग के सम्बन्ध छ, यसबारे भने निर्माणपक्षले केही जानकारी दिएको छैन । पोखरा आसपासमा छायांकन गरिएको ‘शिवांश’ यतिबेला पोस्टप्रोडक्सनमा छ ।
अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहने चलचित्रको निर्देशक सन्तोष कुमार आत्रेय हुन् । उनको यो डेब्यु निर्देशकीय सिनेमा हो । निर्मातामा अञ्जान केसी छन् । प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपानेको मुख्य भूमिका रहेको ‘शिवांश : च्याप्टर–१’मा विकास जोशी, विमला लिम्बू, प्रदीपकुमार चौधरी, सबिर चुरौटे, उदयकुमार सुब्बा, टीका निरौलालगायत कलाकारको पनि अभिनय रहेको छ ।
चलचित्रको कथा निर्माता अञ्जान केसी स्वयंले लेखेका हुन् । स्क्रिनप्ले बारत लिम्बूको छ । सिनेमामा स्क्रिप्ट डक्टरको काम सुलक्षण भारतीले गरेका छन् । चलचित्रको सह–निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी छन् । सिनेमाका कार्यकारी निर्माता सम्भू थापा हुन् ।
सरद महतो डीओपी रहेको चलचित्रमा विप्लव प्रतीक र राजनराज शिवाकोटीको गीतरचना छ । न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको संगीत छ । राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको स्वर छ ।
मिलन श्रेष्ठको द्वन्द्व निर्देशन, विक्रम चोहानको कोरियोग्राफी रहेको चलचित्रमा विराज खड्का भीएफएक्स डाइरेक्टर तथा सुपरभाइजर, भीएफएक्स प्रोडुसरका रुपमा आदेश सुब्बा (गुडरेज पिक्चर्स) छन् ।
बारत लिम्बू मुख्य सहायक निर्देशक रहेको चलचित्रमा आर्ट डिरेक्टर र प्रोडक्सन डिजाइनर प्रतीक चौधरी, मिलन मानन्धर प्रोडक्सन म्यानेजर, कमल मिश्र कस्ट्युम, तुलसा लिम्बू एमयूए, युवाहाङ राई पोस्टर फोटोग्राफी रहेका छन् । चलचित्र चौतारीले पोस्ट प्रोडन्सनको काम गरिरहेको छ भने वितरण डिजिटल सिनेमा नेपाल (डीसीएन) ले गर्नेछ ।
तीजमा नाजिर हुसेन नाचे लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूसँग
काठमाडौं । काठमाडौंमा मंगलबार ब्लु डायमण्ड सोसाइटीको आयोजनामा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले विशेष तीज कार्यक्रम मनाएका छन् । कार्यक्रममा नयाँ नेपाली चलचित्र ‘गुन्यु चोलो ः द ड्रेस’ का कलाकारहरूले पनि सहभागिता जनाएका थिए ।
चलचित्रका प्रमुख कलाकार नाजिर हुसेन, अनुपम श्रेष्ठ (हटिनटी) लगायतले उक्त समूदायका सदस्यहरूसँग नाचगान र रमाइलो गर्दै तीजको उत्सव मनाए । कार्यक्रममा बोल्दै नाजिर हुसेनले आफ्नो नयाँ चलचित्र ‘गुन्यु चोलो ः द ड्रेस’ लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको कथामा आधारित रहेको जानकारी दिए ।
‘आफ्ना छोराछोरीका लागि सपना साँचेर बस्नु भएको एक आमाको कथा हो । यो कथा पीडाको हो, जसलाई व्यक्त गर्न सकिएको छैन । यस्तो व्यक्तिको कथा हो, जसले आफू भएर बाँच्न चाहन्छ । यस्तो समाजमा हामीले ब्लु डायमण्ड सोसाइटीको कथा भन्नै पर्छ,’हुसेनले भने।
चलचित्रकी अर्की कलाकार अनुपम श्रेष्ठ (हटिनटी) पनि कार्यक्रममा नाचगानमा सहभागी भइन् । ‘गुन्यु चोलो ः द ड्रेस’ आउँदो शुक्रबारदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आउने तयारीमा छ ।
यस विशेष अवसरमा ब्लु डायमण्ड सोसाइटीले तीज मनाउने सामाजिक बहिष्कारविरुद्ध आवाज उठाउँदै विविधता र समावेशीपनको सन्देश दिन खोजेको थियो । सोसाइटीकी सल्लाहकार पिंकी गुरुङले तीजजस्ता सांस्कृतिक चाडपर्वहरूमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई सहभागी हुन अझै पनि समाजले सहज वातावरण नदिएको गुनासो गरिन् ।
‘हामी पनि तीज मनाउन चाहन्थ्यौं, आफू बालक भएर जन्मिए पनि आत्मा महिलाको थियो । तर तीज मनाउने हाम्रो अधिकारलाई सधैं नकारियो, बहिष्कार गरियो,’गुरुङले भनिन् ।
‘जारी–२, सङअफच्याब्रुङ’ को टिजर सार्वजनिक
काठमााडौं । असोज ३ गते रिलिजहुने ‘जारी–२, सङअफच्याब्रुङ’को टिजर सार्वजनिकभएको छ । सार्वजनिकटिजरले लिम्बु समुदायको पहिचानच्याब्रुङ बाजाको सेरोफेरोमाआफ्नो समुदायको कथापस्केको छ।
च्याब्रुङ नै नाच्ननजान्ने लिम्बुलाई ‘नाङ्गो’पहाडसँगतुलनागर्ने संवादबाट सुरु हुने २ मिनेट ३४ सेकेन्डअवधिको ट्रेलरले च्याब्रुङलाई लिम्बुको खुशीको स्वरमाव्याख्यागर्दै, फिल्मले आफ्नो कथा पेस गर्ने टिजरबाटबुझ्न सकिन्छ।
टिजरले फिल्मआफ्नो सांस्कृतिकपहिचान र त्यसको सेरोफेरोमा सामाजिक र पारिवारिक उकालो–ओरालोमाकेन्द्रितहुने जनाउँदिन्छ । उपेन्द्र सुब्बा लिखिततथानिर्देशितफिल्मलाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेकाहुन् ।
फिल्ममादयाहाङ राई, मिरुना मगर तथाविजय बरालको प्रमुखभूमिका रहेको छ । फिल्ममादया, मिरुनातथाविजयकाअलावाबुद्धितामाङ, ऋचाशर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखालिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहेको छ। बाँसुरी फिल्म्स र कबड्डीफिल्म्सको ब्यानरमानिर्माणभएको यो फिल्म यो वर्ष व्यापार गर्नेफिल्मको श्रेणीमा राखिएको छ।
‘जारी’फिल्म२०८० सालको ब्लकबस्टर फिल्महो। सो वर्ष फिल्मले नेपालीबक्स अफिसमा १७ करोड माथिको व्यापार गरेको थियो। त्यसैले निर्माणघोषणाभएदेखि नै यो फिल्मलाई प्रतिक्षितफिल्मको सूचीमा राखिएको छ।
गणेश इशारा राईको १६औँ 'अल नेपाल एकल कमेडी शो' भोलि धरानमा
धरान । प्रसिद्ध हास्यकलाकार गणेश इशारा राईको १६औँ 'अल नेपाल एकल कमेडी शो' भोलि, साउन १ गते, धरानमा हुँदैछ। धरान–१५ स्थित सदन स्कुलको सभा हलमा हुने यस कार्यक्रममा इशाराको एकल कमेडी प्रस्तुतिसँगै साङ्गीतिक कार्यक्रम पनि समावेश गरिनेछ।
कलाकार गणेश इशाराका अनुसार यो शो समाजसेवी वीरमाया राई (शोभोमा) स्मृति कोष निर्माण गरी अनाथ तथा असहायलाई सहयोग पुर्याउने परोपकारी उद्देश्यले आयोजना गरिएको हो।
कार्यक्रममा गणेश इशाराको एकल कमेडी प्रस्तुतिसँगै अन्य चर्चित कलाकारहरूको पनि सहभागिता रहने जनाइएको छ। गायक राजन पन्धाक लिम्बू, मेघराज रानाहोछा, अर्जुन आन्ङदाङबे, रुपक जिमि, चर्चित गायिका लीला राई, महेश राई, रश्मि राई "दिपेश इशारा एन्ड केशु नुगो" को साङ्गीतिक प्रस्तुति रहनेछ। साथै, मिस्टर प्रोभिन्स किड्स २०८१ का विजेता प्रतीक राईको नृत्य प्रस्तुति पनि कार्यक्रमको आकर्षण रहनेछ।
धरानपछि 'अल नेपाल एकल कमेडी शो' देशभरका विभिन्न शहरहरूमा पनि आयोजना गरिनेछ। गाईघाटमा भदौ १ गते, धनकुटामा असोज १ गते, पाँचथरमा कार्तिक १ गते, इलाममा मंसिर १ गते, पोखरामा पुस १ गते, दाङमा माघ १ गते, हेटौंडामा फागुन १ गते, र काठमाडौंमा २०८३ वैशाख १ गते शोहरू हुने जानकारी गरिएको छ।
कोशी प्रदेशको पर्यटन प्रवर्धनका लागि देशका विभिन्न शहरमा रोड सो
कोशी । कोशी प्रदेशको समृद्ध पर्यटन सम्भावनालाई देशभर प्रचार गर्ने उद्देश्यले विभिन्न शहरहरूमा रोड सो कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । प्रदेश सरकारको पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्रालयको अगुवाइमा सुरु भएका यस्ता कार्यक्रमहरूको माध्यमबाट देशभरिका नागरिकलाई कोशी प्रदेशका पर्यटकीय गन्तव्यहरूबारे जानकारी दिन प्रयास गरिएको छ ।
रोड सो कार्यक्रमहरूमा कोशी टप्पु वन्यजन्तु आरक्ष, धरानको विजयपुर, ताप्लेजुङको पाथीभरा मन्दिर, इलामको चिया बगान, बिराटनगरको ऐतिहासिक स्थल, सँखुवासभाका पर्यटकीय स्थल, तेह्रथुमका पर्यटकीय स्थल लगायत थुप्रै पर्यटकीय क्षेत्रहरूको प्रचार गरिएको छ । कार्यक्रममा स्थानीय संस्कृति, रहनसहन, र कोशी प्रदेशको मौलिक परिकारहरूलाई समेत विशेष प्राथमिकता दिइएको कोशी प्रदेश पर्यटन वर्ष मूल आयोजक समितिका सदस्य एवं पर्यटनकर्मी बासुदेब बरालले बताए ।
पर्यटन प्रवर्धन कार्यक्रम अन्तर्गत हालसम्म काठमाडौँका ३ स्थानमा र पोखराका २ स्थानमा रोड सो सम्पन्न भएको छ । रोड सो अब चितवन, हेटौँडा र जनकपुरमा आयोजना गरिने कोशी प्रदेश पर्यटन वर्ष २०८२ मूल आयोजक समितिका सदस्य राजन दँगालले जानकारी दिए । कार्यक्रममा पर्यटकीय स्थलहरूको भिडियो प्रदर्शन, स्थानीय कला संस्कृति प्रस्तुतिकरण र कोशी प्रदेश भ्रमणका लागि निम्तो समेत दिइएको दँगालले बताए ।
कोशी प्रदेशको पर्यटन मन्त्री षडानन्द मण्डलका अनुसार यस्ता रोड सो कार्यक्रमहरूले देशभर कोशी प्रदेशका पर्यटकीय सम्भावनाबारे सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास लिइएको छ । उनले भने, ‘कोशी प्रदेश प्राकृतिक, धार्मिक र सांस्कृतिक हिसाबले अत्यन्त समृद्ध छ, हामी देशैभर र अन्तर्राष्ट्रियस्तरमा यसको प्रचार–प्रसार गर्ने अभियानमा छौँ ।’
स्थानीय व्यवसायीहरू र पर्यटन व्यवसायमा संलग्न पक्षहरूले समेत यस्ता कार्यक्रमले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्ने विश्वास व्यक्त गरेका छन् ।