‘लालीबजार’ स्वस्तिमा, आगामी फागुन १ गते प्रदर्शनमा आउने
काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्का अब ‘लालीबजार’मा देखिने भएकी छिन् । ‘जात्रा’ शृङ्खलामार्फत स्थापित भएको व्यानर षट्कोण आट्र्सले निर्माण गर्ने नयाँ फिल्म ‘लालीबजार’ मा अभिनेत्री खड्काले अभिनय गर्दैछिन् ।
‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ निर्माण गरेर दर्शक र प्रदर्शकको विश्वास जितिसकेको उक्त व्यानरले अभिनेत्री खड्का फिचर्ड पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति आगामी फागुन १ गतेलाई तय गरेको छ ।
पोस्टरमा स्वस्तिमा गर्भवती महिलाको भूमिकामा देखिएकी छन्, तर उनको शृंगार र हाउभाउले फरक कथावस्तु संकेत गर्छ । उनको शारीरिक अवस्था र चाहनाबीचको भिन्नता पोस्टरमा स्पष्ट झल्किन्छ ।
यम थापाको लेखन तथा निर्देशनमा तयार हुने ‘लालीबजार’ लाई रवीन्द्रसिंह बानियाँ र म्याक्स दीपेस खत्रीले निर्माण गर्दैछन् भने यसका कार्यकारी निर्माता प्रदीप भट्टराई हुन् ।
अभिनेत्री खड्काले फिल्मको कथावस्तु र निर्माण टिमको कारणले आफू नयाँ फरक रुपमा प्रस्तुत हुन् तयार भएको बताइन ।
उनले भनिन्,‘मेरा अघिल्ला फिल्म भन्दा यसमा भिन्न स्वस्तिमा दर्शकले देख्नुहुनेछ । सार्वजनिक गरिएको पोस्टरले पनि धेरै कुरा भनिरहेको छ, म यो पात्रलाई जीवन्त बनाउन निकै उत्साहित छु ।’
निर्माता बानियाँका अनुसार षट्कोण आट्र्सले स्क्रीप्ट खोजीकै क्रममा निर्देशक थापासँग सहकार्यको सुरुआत गरेको हो ।
उनले भने,‘हामी अन्य लेखक तथा निर्देशकसँग सहकार्य गर्न छलफलमा थियौँ । राम्रो कथा दर्शकसम्म जानबाट बञ्चित नहोस् भनेर हामीले केही लेखक तथा निर्देशकसँग सहकार्यका लागि छलफल गरेका थियौँ । सोही क्रममा निर्देशक थापाले पठाउनु भएको स्क्रीप्टले हामीलाई आकर्षित ग¥यो । उहाँले स्क्रीप्ट लिएर काम गर्नुस् भन्नुभएको थियो तर हामीले नै निर्देशन गर्न आग्रह ग¥यौ ।’
निर्देशक थापा पनि आफ्नो करिअरलाई ‘लालीबजार’ ले नयाँ उचाई दिनेमा विश्वस्त छन् । निर्देशनमा केही समय विश्राम लिएका निर्देशक थापाले यसपटकको कार्यशैलीले आफ्नो कामलाई झनै परिपक्क बनाएको बताए ।
उनले भने,‘मेरो एक भेटमा निर्देशक भट्टराईसँग काम गर्ने विषयमा छलफल भएको थियो । सोही क्रममा म षट्कोण आट्र्समा आइपुगेको हु, यहाँ आएपछि मसँग भएको एउटा आइडिया सेयर गरें । उहाँहरूलाई मन परेपछि हामीले काम अगाडि बढाएका हौँ, निर्देशनको जिम्मेवारी पनि मलाई नै दिनुभएको छ । यो मेरा लागि अवसर र चुनौती दुवै हो ।’
उनले फिल्मका अन्य कलाकार र विषयवस्तुका बारेमा क्रमशः जानकारी दिदै जाने बताउनुभयो । सार्वजनिक गरिएको पोस्टरमा केशव पाण्डेको फोटोग्राफी रहेको छ भने रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट) ले पोस्टर तयार पारेको हुन् ।
आगामी दसैँ लगत्तै छायाङ्कन गरिने ‘लालीबजार’ षट्कोण आट्र्स एकल निर्माता भएर निर्माण गरिरहेको पाँचौँ फिल्म हो । यसबाहेक ‘टल्कजङ्ग भर्सेस टुल्के’, ‘डाकिनी’, ‘सुपर मङ्क’ लगायतका फिल्ममा अन्य व्यानरसँग सहकार्य गरेको छ ।
'छुट्टै संसार' सार्वजनिक: प्रेम र वियोगको भावनात्मक यात्रामा नयाँ सांगीतिक प्रस्तुति
काठमाण्डौँ । नेपाली सांगीतिक क्षेत्रमा प्रेम र सम्बन्धको भावनात्मक पाटोलाई कलात्मक रूपमा प्रस्तुत गर्दै नयाँ गीत ‘छुट्टै संसार’ सार्वजनिक भएको छ। गायक बदल थापाको सुमधुर स्वरमा सजिएको यस गीतले दर्शक तथा श्रोतामाझ सकारात्मक छाप छोड्न सफल भएको छ।
‘छुट्टै संसार’ गीतमा टेकराज अछामी र नरेन्द्र तिखत्रीको संयुक्त शब्द रचना रहेको छ भने संगीत पनि तिखत्रीकै रहेको छ। गीतलाई विशाल निरौलाले संगीत संयोजन गरेका छन्। रञ्जन राईले मिक्सिङ र मास्टरिङको जिम्मेवारी सम्हालेको यो गीत अलङ्कार स्टुडियोमा रेकर्ड गरिएको हो। गीतको अडियो तथा भिडियो सार्वजनिक गर्ने अधिकार 'मुकेश सुवेदी अफिसियल' युट्युब च्यानलमा निहित छ।
गीतको भिडियो पक्ष पनि उत्तिकै आकर्षक र जीवन्त बनाइएको छ। भिडियोमा पुरू भण्डारी, बिनिता दहाल र दिनेश काठायत काजीले सशक्त अभिनय गरेका छन्। टेकराज अछामीले भिडियोको निर्देशन गरेका हुन् भने उमेश बहादुर शाहले यसलाई छायांकन गरेका छन्। पदम सुवेदीको कुशल सम्पादन र रङ संयोजनले भिडियोलाई थप आकर्षक बनाएको छ। भिडियोको पोस्टर डिजाइन सुबास शाह र लक्ष्मण चौहानले गरेका हुन् भने मुकेश सुवेदीले यसको निर्माण गरेका हुन्।
‘छुट्टै संसार’ ले विशेषगरी युवा पुस्ताको प्रेम, सम्बन्धमा आउने उतारचढाव र वियोगको भावनात्मक पक्षलाई गहिरोसँग समेट्ने प्रयास गरेको छ। भिडियोको हरेक पक्षले गीतको मर्मलाई सजीव रूपमा प्रस्तुत गरेको भन्दै दर्शकहरूले सामाजिक सञ्जालमा व्यापक सकारात्मक प्रतिक्रिया दिइरहेका छन्। यो गीत नेपाली संगीतप्रेमीहरूका लागि एक नयाँ र ताजा स्वाद हो, जसले भावनात्मक कथावस्तुका साथै प्राविधिक उत्कृष्टता दुवैमा आफूलाई अब्बल साबित गरेको छ।
भिडियो हेर्न लिङ्कमा क्लिक गर्नुहोस् ...
<iframe width="100%" height="315" src="https://www.youtube.com/embed/shpC4l4cet8?si=KscCTPCbWMnbdXya" title="YouTube video player" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share" referrerpolicy="strict-origin-when-cross-origin" allowfullscreen></iframe>
आज विश्व सङ्गीत दिवस मनाइँदै
काठमाडौं । आज संसारभर विश्व सङ्गीतदिवस मनाइँदैछ । हरेक वर्ष जुन २१ तारिखमा यो दिवस मनाइन्छ । नेपालमा २०४५ सालदेखि नियमितरुपमा सङ्गीत दिवस मनाउन थालिएको हो ।
विश्व सङ्गीतदिवस पहिलो पटक सन् १९८१ जुन २१ मा फ्रान्समा मनाइएको थियो । अहिले संसारका एक सय बढी देशमा सङ्गीत दिवस विशेष उत्सवका रुपमा मनाइन्छ ।
सङ्गीत एउटा विश्वव्यापी भाषा हो । नेपाल बहुजाति, भाषा, धर्म अनि संस्कृति भएको देश हो । यहाँ मादल, सारङ्गी, धिमे, ढोलक, टुङ्गना, बाँसुरी, बिनायो जस्ता मौलिकता थप्ने बाजाहरू आज पनि बजाइन्छन् ।
यस वषको नारा ‘सद्भाव मार्फत उपचार’ भन्ने छ जसले संगीतको माध्यमबाट मानसिक शान्ति, आत्मिक सन्तुलन र सामाजिक एकताको सन्देश दिन्छ । यसले संगीतले पीडा कम गर्न, भावनात्मक थकान हटाउन र समुदायबीच मेलमिलाप गराउन सक्ने शक्ति रहेको जनाउँछ ।
गणेश इशाराको 'अल नेपाल एकल कमेडी शो' को दोस्रो संस्करणको मिति र स्थान सार्वजनिक
धरान,असार ५। चर्चित हास्यकलाकार गणेश इशारा राईको 'अल नेपाल एकल कमेडी शो' को दोस्रो संस्करण सुरु हुने भएको छ। समाजसेवी वीरमाया राई (शोभोमा) स्मृति कोष निर्माण गरी अनाथ तथा असहायलाई सहयोग पुर्याउने परोपकारी उद्देश्यका साथ यो शो आयोजना गरिएको हो।
गणेश इशाराको दोस्रो संस्करणको 'अल नेपाल एकल कमेडी शो' को तालिका निम्नानुसार रहेको जानकारी गरिएकोछ । झापा असार १५ ,धरान साउन १ (सदन स्कुल सभाहल), गाईघाट भदौ १, धनकुटा असोज १, पाँचथर कार्तिक १, इलाम मंसिर १, पोखरा पुस १, दाङ माघ १, हेटौंडा फागुन १ र काठमाडौंमा २०८३ वैशाख १ गते कमेडी शोको आयोजना हुने तालिका सार्वजनिक गरिएको छ ।
कलाकार इशाराका अनुसार, उनको एकल कमेडी प्रस्तुतिसँगै अन्य चर्चित कलाकारहरूको पनि विशेष प्रस्तुति रहनेछ। यस शोबाट सङ्कलित रकम वीरमाया राई (शोभोमा) को स्मृतिमा कोषमा जम्मा गरिनेछ, जसबाट अनाथ र असहाय बालबालिकालाई सहयोग पुर्याइनेछ।
चलचित्र ‘महाभोज’को कथाले दर्शकहरू भावुक र आक्रोशित
काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘महाभोज’ले दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको छ ।
सहकारी संस्थाहरूमा हुने ठगी र त्यसले सिर्जना गरेका चुनौतीहरूलाई केन्द्रमा राखेर निर्माण गरिएको नेपाली चलचित्र ‘महाभोज’ले नेपालको आर्थिक अवस्था र सामाजिक पक्षलाई छुन खोजेको छ ।
दर्शकहरुले यो चलचित्र मनोरञ्जन मात्र नभई शिक्षा दिने काम गरेको बताउछन् । एक दर्शकले भने, ‘चलचित्रले समाजमा भएको अन्यायलाई यति नजिकबाट देखायो कि म भावुक भएको छु ।’
विशेष शोमा सहभागी साहित्यकार अमर न्यौपानेले फिल्मले कानूनी व्यवस्थाको कमजोरीमाथि प्रश्न उठाएको टिप्पणी गरे । ‘संविधान र कानूनका कारण हामी लोकतान्त्रिक गणतन्त्रमा छौं तर सहकारी पीडितलाई न्याय नपाएको अवस्था फिल्मले देखायो। यो यथार्थले हामीलाई सोच्न बाध्य पार्छ,’ उनले भने ।
यस्तै अभिनेता हरिवंश आचार्यले जनताको पैसा कसरी दुरुपयोग हुन्छ भन्ने कुरा फिल्मले स्पष्ट देखाएको बताए ।
चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने लगायतका कलाकारहरूले अभिनय गरेका छन् जसले कथालाई प्रभावकारी बनाएको छ ।
आकर्षक पर्यटकीय गन्तव्य पोकली झरना
रामेछाप । ओखलढुङ्गाको लिखु गाउँपालिकाको पोकलीमा रहेको पोकली झरना अहिले पर्यटकीय गन्तव्यको थलो बनेको छ । पोकलीसम्म पुग्ने सडक र छाँगामा जाने सिँढी लगायतका संरचनाहरू बनेपछि झर्न हेर्न आउनेको सङ्ख्या बढेको छ ।
काठमाडौं र तराइबाट पोकली जान चाहनले रामेछापको मन्थली– सिरिसे–ढाँडे हुँदै ओखलढुङ्गा प्रवेश गरेर पोकली झरना पुग्न सक्दछन् । ओखलढुङ्गाको सदरमुकामबाट पनि पोकली आउन सकिन्छ ।
समुन्द्र सतहबाट करिब २ हजार मिटर उचाइमा रहेको पोकली झरना करिब १ सय ३० मिटर अग्लो छ । पोकली झरना नेपालकै दोस्रो अग्लो झरना हो । कर्णाली प्रदेशको कालिकोटस्थित १ सय ४८ मिटर उचाइको पचल झरना नेपालको सबैभन्दा अग्लो झरना हो ।
पोकली झरनाको प्रचारप्रसारका लागि गरिएको पोकली पर्यटकीय महोत्सव तथा प्रचार प्रसारको कारण पनि मानिसहरू सो झर्ना हेर्न पुग्ने गर्दछन् । लोकसेवामा पोकली झरना ओखलढुङ्गामा पर्छ भन्ने पढेको कारण झरना हेर्न आएको सल्यानकी कमला क्षेत्री बताउँछिन् ।
शान्तीश्री र गौरवको ‘लजाउने हैछौनी’मा मिस पवी
काठमाडौँ । गायिका शान्तीश्री परियार र गायक गौरव गिरीको स्वर रहेको ‘लजाउने हैछौनी’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । गीत देउडा संकृतिमा आधारित रहेको छ । गायक गिरीकै शब्द, रोहित देउवाको संगीत सृजना, विसम आचार्यको एरेन्ज तथा श्याम श्वेत रसाईलीको मिक्सिङ मास्टरिङ रहेको सार्वजनिक गीतमा सुदुरपश्चिमकी चर्चित मोडल मिस पविको अभिनय देख्न सकिन्छ ।
भिडियोमा मिस पविका अलावा दीपा शाही र राजेशनाथले पनि अभिनय गरेका छन् । नुवाकोटका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको लजाउने हैछौ नी एक प्रेमील रोमान्टिक गीत हो । जसमा प्रेम, रोमान्स र वियोगको कथालाई कलात्मक शैलीमा निर्देशक गिरीले भिडियोमा उतारेका छन् ।
भिडियोको आर्कषक पक्ष भने मेरी बास्सैका कलाकार समेत रहेका राजेशनाथ अर्थात बैतडी बाजेको पनि यही भिडियोबाट १० वर्षपछि कमव्याक भएको छ । भिडियोमा मिस पविका अलावा दीपा शाही र राजेश गज्जबले खुलेका छन् ।
सन्जु चौधरीको कोरियोग्राफी रहेको भिडियोको छायांकन उत्तम हुमागाईले गरेका हुन् भने सम्पादन फाइनल पिक्सल नेपाल तथा कलर श्याम कुँवरले गरेका हुन् । गीतको भिडियो रिदम भिआईडीबाट बजारमा आएको हो । गीतले देउडा संकृति बचाउन र समाजका रोचक पक्ष बाहिर ल्याउनमा मद्धत पुर्याउने विश्वास निर्देशक गिरीले लिएका छन् ।
भिडियो हेर्नको लागि :
<iframe width="100%" height="315" src="https://www.youtube.com/embed/k0vAxyDxesQ?si=ufU6VaJ0tfS5CgEP" title="YouTube video player" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share" referrerpolicy="strict-origin-when-cross-origin" allowfullscreen></iframe>
भनेजस्तो काम गर्न झुमाले कुनुपर्यो २५ वर्ष
काठमाडौं । गायिका तथा संगीतकार झुमा लिम्बूले चलचित्र ‘जार’मा आफूले चाहेजस्तो खुलेर काम गर्न पाएको बताएकी छन् । साढे दुई दशकपछि आफूले भनेजस्तो काम गर्न पाएको बताएकी हुन् ।
‘म्युजिक गर्दै जाँदा, काम गर्दै जाँदा ठिक मैले भनेको जस्तो काम गर्न पाएको प्लेटफर्म चलचित्र हो जार,’ झुमा भन्छिन्, ‘मैले गरिरहेको खालको म्युजिक गर्नुपर्यो भन्दै मान्छे आएपछि मैले नाइँ भन्ने कुरै आएन । त्यसैले जारमा काम गरेँ ।’
आफ्नो सांगीतिक करियरको २५ वर्षमा आएपछि भनेजस्तो काम गर्न पाएको र चित्त बुझेको उनको भनाइ छ । ‘२५ वर्षमा आइसकेपछि जारमा गरेको काम चित्त बुझेको छ । पूरै त चित्त बुझ्दो रहेनछ । अलिअलि चाहिँ चित्त बुझेको छ,’ झुमा भन्छिन्, ‘जारमा अलिअलि चाहिँ काम गर्ने ठाउँ पाएँ भन्ने लाग्छ ।’
चलचित्र जारका पात्रहरू लिम्बू गाउँमा पुगेपछि आफूले लिम्बू समुदायको संगीतमा काम गर्न पाएको उनको भनाइ छ ।
प्रिमियरमा चलचित्र ‘जार’ हेर्ने अधिकांशले यसको गीत र संगीतको खुलेर तारिफ गरेका छन् । लिम्बू समुदाय रहेको पूर्वी पहाडी जिल्ला र लिम्बू समुदायको संस्कृति र संस्कार, लय र तालमा झुमाले यसको गीत र संगीत तयार पारेकी छन् । जसको सिनेमा हेर्ने दर्शकले खुलेर प्रशंसा गरेका हुन् ।
‘जार’मा गीतसँगै पात्रको यात्रामा गीत छन्, जसलाई तयार पार्ने र गाउने काम झुमाले गरेकी छन् ।
१८०० को दशकको वास्तविक घटनामा आधारित यो चलचित्र यही शुक्रबार (वैशाख २६ गते)बाट देशभर प्रदर्शनमा आउँदैछ ।
‘जार’ २२५ वर्ष अगाडिको कथामा आधारित रहेर बनेको सिनेमा हो । ‘जार’ साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित सिनेमालाई फुर्वा छिरिङ लामाले निर्देशन गरेका छन् ।
फेरि टेल पिक्चर्सले निर्माण गरेको ‘जार’ सामाजिक विषयमा बने पनि कम्प्लिट प्याकेज भएको निर्देशक फुर्वाको दाबी छ । त्यसैले ‘जार’ले दर्शकको मन जित्नेमा उनी ढुक्क छन् ।
चलचित्र ‘जार’मा सौगात मल्ल, अनुपविक्रम शाही, अभिनेत्री गीताञ्जली थापालगायत कलाकारको मुख्य भूमिका छ ।
होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको चलचित्रको छायांकन सिक्किममा गरिएको छ । चलचित्र ‘जार’को कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् ।
सरवानन इलावार्सुको छायांकन रहेको चलचित्रमा अखिलेश राईको सम्पादन छ । सिनेमामा झुमा लिम्बू र गंगा थापाको संगीत छ ।
चलचित्र ‘जार’ नेपाल र भारतसहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा आउने निर्माण टिमले बताएको छ । यो सिनेमा प्रदर्शनको लागि नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछ ।
‘ऊनको स्वीटर’को प्रिमियरमा देखियो उत्साह, टिकट बुकिङ सुरु
काठमाडौं । नेपाली कथानक चलचित्र ‘ऊनको स्वीटर’ले भव्यरुपमा प्रिमियर सम्पन्न गरेको छ । बुधबार साँझ काठमाडौंको सिटी सेन्टरस्थित सिनेमा हलमा आयोजित प्रिमियरमा राजनीतिक व्यक्तित्वदेखि कलाकारहरुको उल्लेख्य उपस्थिति थियो ।
चलचित्र हेर्न पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र लिङदेनले चलचित्र एकदमै राम्रो रहेको भन्दै नेपाली चलचित्रहरु एकपछि अर्को हेर्न लायक बनिरहेको बताए ।
यस्तै अभिनेता विपिन कार्कीले चलचित्र हेरेपछि राम्रो प्रतिक्रिया पाइरहेको र चलचित्रले मन छुने बताए । उनले वैशाख २६ गते सिनेमा घरमा गएर हेरिदिन आग्रह समेत गरे ।
वैशाख २६ गतदेशभर प्रदर्शन हुन लागेको चलचित्र उनको स्विटरमा अभिनेता कार्की र मिरुना मगर मुख्य भुमिकामा छन् भने अन्य कलाकारमा विल्सनविक्रम राई, एलेक्स पारस, परीक्षा लिम्बू, सुनील पोखरेल, माओत्से गुरुङलगायतका कलाकारको अभिनय रहेको छ ।
आर्टमाण्डु प्रालिको ब्यानरमा पहिलो पटक निर्माण भएको चलचित्रको कथावस्तु सामाजिक विषयवस्तुमा आधारित रहेको छ । चलचित्रको लेखन तथा निर्देशन नवीन चौहानले गरेका छन् ।
फिल्म शुक्रवार (वैशाख २६)बाट देशभर प्रदर्शनमा आउन लागेको हो । फिल्मको अग्रिम टिकट बुकिङ पनि सुरु भएको छ ।
फिल्मको छायाङ्कन पूर्वी नेपालको पाँचथर र भारतको सीमा क्षेत्र फालेलुङमा गरिएको हो । फिल्ममले सांस्कृतिक विविधता, सामाजिक अन्तर्विरोध, र नेपाली समाजको जीवन्त रङ्गहरूलाई एउटै कथामा समेट्ने प्रयास गरेको निर्देशक चौहानले बताएका छन् । चलचित्रलाई सेन्सर बोर्डले युनिभर्सल प्रमाणपत्र प्रदान गरेको छ ।
चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको ५१ दिन मनायो
काठमाडौं । मिलन चाम्स निर्देशित चलचित्र ‘अञ्जिला’ले शुक्रबार प्रदर्शनको ५१ दिन पुरा गरेको छ । फागुन २९ गतेबाट नेपालसहित विश्वभर प्रदर्शन भईरहेको चलचित्र ‘अञ्जिला’ले शुक्रबार सशस्त्र प्रहरी बल हलचोकमा भव्य कार्यक्रम गरी ५१ दिन मनाएको हो ।
कार्यक्रममा बोल्दै निर्देशक मिलन चाम्सले चलचित्र अझै पनि नेपालको ४५ हलहरुमा र २७ वटा देशमा प्रदर्शन भएको बताए ।
‘सम्पुर्णलाई धेरै धन्यवाद ! ‘अञ्जिला’ को २७ वटा देशमा राम्रो प्रदर्शन भइरहेको छ भने, नेपालको ४५ वटा चलचित्र भवनमा चलचित्र चलिरहेको छ यदी कसैले हेर्नुभएको छैन भने हर्नसक्नुहुन्छ,’ उनले भने ।
यस्तै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले निर्देशक मिलन चाम्स र निमार्ता प्रेम श्रेष्ठको मात्र सफलता नभई चलचित्र उद्योगकै सफलता भएको बताए । उनले नेपाली महिला राष्ट्रिय फुटबल टीमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बा देशकै गहना भएको भन्दै यो चलचित्र आफैमा महत्वपूर्ण रहेको बताए ।
नेपाली महिला राष्ट्रिय फुटबल टीमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बा जीवनीमा आधारित यो चलचित्रमा सुनील थापा, विजय बराल, सृजना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङलगायत कलाकारले अभिनय गरेका छन् । सुदीप बरालले छायाङ्कन गरेको चलचित्रमा मिलन श्रेष्ठले सम्पादन गरेका छन् ।

