ताप्लेजुङ गोल्डकपको उपाधिको लागी अजा सलहेस र फिदिमबिच प्रतिसप्रर्धा
ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ । शुक्रबार साविक विजेतासमेत रहेको सिराहाको सलहेस युवा क्लब र पाँचथरको फिदिम स्पोर्टिङ क्लब उपाधिका लागी प्रसतस्प्रर्धा हुनेछ ।
आयोजक लाखेजात्रा सञ्चालन समितिका अनुसार फाइनल खेल दिउँसो २ बजे हुने छ । प्रतियोगिताको फाइनलमा पुगेका सलहेस युवा क्लब र फिदिम फिदिम स्पोर्टिङ क्लबबिच उपाधि भिडन्त हुने आयोजक समितिका अध्यक्ष सागर मादेनले जानकारी दिनुभयो । अध्यक्ष मादेनका अनुसार भारतको जर्जियन युनाइटेड फुटबल क्लब कालिङ्पोङलाई २–० गोलअन्तरले हराएर सलहेस युव क्लब फाइनलमा पुगेको हो । यस्तै सेमिफाइनलमा झापा ११ फुटबल क्लबलाई १–० गोलअन्तरले हराएर फिदिम स्पोर्टिङ क्लब फाइनलमा पुगेको हो ।
भदौ १२ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली सहभागी भएका थिए । फाइनलमा पुगेका सलहेस र फिदिमबाहेक आयोजक ताप्लेजुङ ११, नेपाल पुसिल क्लब, सातदोटबाटो फुटबल क्लब ललितपुर सहभागी भएका थिए । त्यस्तै चित्लाङ फुटबल क्लब काठमाडौँ, भारतको जर्जियन युनाइटेड फुटबल क्लब र झापा ११ फुटबल क्लबले प्रतियोगितामा सहभागिता जनाएका थिए ।
प्रतियोगिताको विजेताले सात लाख दुई हजार ८३ रुपियाँ र उपविजेताले तीन लाख ५२ हजार ८३ रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र पाउने छन् ।
डट्स ई-स्पोर्ट्सलाई पीएमएनसी फल सिजनको उपाधि
काठमाडौं । ई–स्पोर्ट्स एसोसिएसन अफ नेपाल (ईशान) र पब्जी मोबाइलको संयुक्त आयोजनामा सम्पन्न पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता (पिएमएसएल) फल सिजनको उपाधि डट्स ई-स्पोर्ट्सले जितेको छ । विजेता टोलीले पुरस्कार स्वरूप ४ सय अमेरिकी डलर प्राप्त गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद्बाट राष्ट्रिय खेलकुद प्रतियोगिताको स्वीकृत कार्यक्रम अनुसार देशभरबाट छनोट भएका १६ टोलीले प्रतिस्पर्धा गरेका थिए । दशरथ रङ्गशालास्थित कभर्ड हलमा भदौ ६ र ७ गते सञ्चालन भएको फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै डट्स एस्पोट्र्सले उपाधि हात पारेको हो ।
विजेता टिमलाई शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र ईशानका कार्यवाहक अध्यक्ष हिम विक्रम केसीले पुरस्कार तथा ट्रफी हस्तान्तरण गरेका थिए ।
प्रतियोगिताबाट उत्कृष्ट १२ टोलीले ‘रोड टू पिएमजीओ’ अन्तर्गतको अर्को चरणमा प्रवेश गरेका छन् । यस चरणले नेपाली टोलीलाई अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा पुग्ने बाटो खोल्नेछ ।
नेपालमा ई-स्पोर्ट्सलाई थप व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउने उद्देश्यसहित आयोजना गरिएको प्रतियोगिताको सफल आयोजना गरिएको संघका सचिव आशिष दाहालले जानकारी दिए ।
फुटबलबाट मेस्सीले लिए अनिश्चितकालीन विश्राम
काठमाडौं । अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीले आफ्ना पिता जर्ज मेस्सीको निधनपछि फुटबल गतिविधिबाट अनिश्चितकालीन विश्राम लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
फ्रेन्च खेल वेबसाइट फुट मर्काटोलाई उद्धृत गर्दै विभिन्न अर्जेन्टिनी सञ्चारमाध्यमले आठ पटकका बालोन डीओर विजेता मेस्सीले परिवारसँग समय बिताउन र शोकको घडीमा आफ्ना नजिकका आफन्तको साथमा रहन व्यावसायिक फुटबलबाट केही समय टाढा रहने निर्णय गरेको उल्लेख गरेका छन् ।
रिपोर्टअनुसार ६८ वर्षीय जर्ज मेस्सीको लामो समयदेखि स्वास्थ्य समस्या रहेकाले अर्जेन्टिनाको रोसारियोस्थित एक क्लिनिकमा उपचारका क्रममा निधन भएको हो । जर्ज मेस्सीको निधन मेस्सीका लागि व्यक्तिगत रूपमा ठूलो क्षति मानिएको छ, किनभने उनले छोराको फुटबल करिअर निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थिए ।
हाल अमेरिकी क्लब इन्टर मियामीबाट खेलिरहेका मेस्सीले क्लबमा कहिले फर्किने भन्नेबारे कुनै मिति सार्वजनिक गरेका छैनन् । यसले उनी अहिले पूर्ण रूपमा परिवार र व्यक्तिगत परिस्थितिमा केन्द्रित रहेको संकेत गरेको छ ।
जर्ज मेस्सी केवल लियोनल मेस्सीका पिता मात्र नभई उनका एजेन्ट र रणनीतिक सल्लाहकारका रूपमा पनि परिचित थिए । स्टिल कारखानामा सुपरभाइजरका रूपमा काम गरेका उनले पछि छोराको फुटबल करिअर व्यवस्थापनको जिम्मेवारी सम्हालेका थिए । मेस्सीको प्रारम्भिक फुटबल यात्रा न्यूवेल्स ओल्ड ब्वाइजबाट अघि बढ्दा पनि जर्ज मेस्सी सक्रिय रूपमा संलग्न थिए । मेस्सी १३ वर्षको हुँदा स्पेनको बार्सिलोनाको युवा एकेडेमीमा प्रवेश गराउन उनले महत्वपूर्ण भूमिका खेलेका थिए ।
त्यतिबेला मेस्सी ग्रोथ हर्मोन डिफिसियन्सी (वृद्धि हर्मोनको कमी) सम्बन्धी समस्याबाट पीडित थिए । बार्सिलोनाले उनको उपचार खर्चसमेत बेहोरेको थियो, जसले उनको खेल जीवनलाई नयाँ दिशा दिएको मानिन्छ । जर्ज मेस्सीको परिवारमा पत्नी सेलिया कुचिट्टिनी तथा सन्तानहरू लियोनल, रोड्रिगो, माटियास र मारिया सोल रहेका छन् । एएनआई
दशैं–तिहारको बीचमै सुरु हुनेभयो एनपीएलको तेस्रो संस्करण
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आगामी कात्तिक ९ गतेदेखि सुरु हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिताको मिति सार्वजनिक गर्दै एनपीएल कात्तिक ९ देखि मंसिर ५ गतेसम्म सञ्चालन हुने जनाएको हो ।
क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिअनुसार यसपटक एनपीएल नेपालीहरूको प्रमुख चाड दशैं र तिहारको बीचमा आयोजना हुने भएको छ । यसअघि तिहारपछि मंसिर महिनामा आयोजना हुँदै आएको प्रतियोगिता यसपटक भने चाडपर्वको मौसममै आयोजना गर्न लागिएको हो ।
एनपीएलको तेस्रो संस्करणको मिति सार्वजनिक भएसँगै प्रतियोगिताको तयारीसमेत अघि बढ्ने भएको छ । प्रतियोगितामा सहभागी टोली, खेलाडी छनोट, खेल तालिका तथा अन्य व्यवस्थापनका विषयमा क्यानले क्रमशः थप जानकारी सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।
चाडपर्वको समयमा एनपीएल आयोजना हुने भएपछि प्रतियोगिताले नेपाली क्रिकेटप्रति दर्शकको आकर्षण थप बढाउने अपेक्षा गरिएको छ । दशैं–तिहारको लामो बिदाको समयलाई लक्षित गर्दै प्रतियोगिता आयोजना गर्न लागिएकाले मैदानमा दर्शकको उपस्थितिसमेत बढ्न सक्ने अनुमान गरिएको छ ।
नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित, नेपाल शीर्ष चारको दौडमा पछि
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु टोली नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएपछि नेपालको शीर्ष चारभित्र रहेर विश्वकप छनोटमा सोझै पुग्ने सम्भावना थप कमजोर बनेको छ । लगातार दोस्रो खेलमा समान १ सय ५७ रनमै समेटिएको नेपाल ब्याटिङ र बलिङ दुवै विभागमा प्रभावहीन देखिएको हो।
बिहीबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४४.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५७ रनमा समेटियो। कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३१ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले ३०, गुल्सनकुमार झाले २०, करण केसीले १८, आसिफ शेखले १६ र सोमपाल कामीले १५ रनको योगदान दिए। तर कुनै पनि ब्याटरले जिम्मेवारीपूर्ण र लामो इनिङ्स खेल्न नसक्दा नेपालले प्रतिस्पर्धात्मक योगफल बनाउन सकेन।
नेपालका ब्याटरले सुरुआत पाए पनि त्यसलाई ठूलो स्कोरमा परिणत गर्न नसक्दा टोली नियमित अन्तरालमा विकेट गुमाउँदै दबाबमा परेको थियो। मध्यमक्रमले पनि अपेक्षित प्रदर्शन गर्न नसक्दा नेपालको ब्याटिङ लाइनअप फेरि एकपटक धराशायी बन्यो।
जवाफी ब्याटिङमा उत्रिएको नेदरल्यान्ड्सले १ सय ५८ रनको लक्ष्य ४४.१ ओभरमा ४ विकेट गुमाएर सहजै पूरा ग¥यो। कप्तान स्कट इडवार्डसले जिम्मेवारीपूर्ण इनिङ्स खेल्दै टोलीलाई जिततर्फ डो¥याए। नेपाली बलरले सुरुआती सफलता दिलाउन नसक्दा डच टोलीले खेलमाथि नियन्त्रण कायम राख्यो। स्पिन र तीव्र गतिका दुवै बलरले अपेक्षाअनुसार प्रभाव छोड्न सकेनन् भने फिल्डिङमा पनि केही कमजोरी देखियो।
नेपालले यसअघि मंगलबार नामिबियाविरुद्धको खेलमा पनि १ सय ५७ रनमै समेटिँदै सहज हार बेहोरेको थियो। उक्त खेलमा नामिबियाले १ सय ५८ रनको लक्ष्य ३७.४ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको थियो। कप्तान जान फ्राइलिंकले अविजित ७८ रन बनाएका थिए भने माइकल भान लिंगनले ५१ रनको योगदान दिएका थिए।
लगातार कमजोर ब्याटिङ प्रदर्शनका कारण नेपाल लिग–२ को अंक तालिकामा पछि पर्दै गएको छ। ३० खेलबाट २४ अंक जोडेको नेपाल आठ टोली सहभागी प्रतियोगिताको पाँचौं स्थानमा कायम छ। २९ खेलबाट ३४ अंक जोडेको नेदरल्यान्ड्स तेस्रो स्थानमा रहेको छ। यस हारसँगै नेपालले शीर्ष चारभित्र रहेर विश्वकप छनोटमा सोझै स्थान बनाउने सम्भावना थप कठिन बनेको छ।
विश्वकपबाट फिफालाई १५ अर्ब डलर आम्दानी, सदस्य राष्ट्रलाई बढ्नेछ आर्थिक सहयोग
काठमाडौं । फिफा विश्वकप २०२६ ले विश्व फुटबल महासंघ (फिफा)का लागि कीर्तिमानी आर्थिक सफलता दिलाएको छ । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले प्रतियोगिताबाट करिब १५ अर्ब अमेरिकी डलर आम्दानी भएको जानकारी दिएका छन् । जुन प्रतियोगिता सुरु हुनुअघि गरिएको ११ अर्ब डलरको अनुमानभन्दा उल्लेखनीय रूपमा बढी हो ।
फिफाले सदस्य राष्ट्रका फुटबल संघहरूलाई दिएको जानकारीअनुसार टिकट बिक्री, हस्पिटालिटी प्याकेज र दोस्रो बजारमा टिकट कारोबारबाट आम्दानी अपेक्षाभन्दा धेरै बढेको हो । सेकेन्डरी बजारमा टिकट खरिद–बिक्री हुँदा फिफाले खरिदकर्ता र विक्रेता दुवैबाट १५–१५ प्रतिशत शुल्क लिने व्यवस्था रहेको छ ।
यो कीर्तिमानी आम्दानीपछि विश्वभरका सदस्य फुटबल संघहरूले थप आर्थिक सहयोग प्राप्त गर्ने अपेक्षा गरिएको छ । यद्यपि, उक्त रकम कुन आधारमा र कति वितरण गर्ने भन्ने विषयमा फिफाले अझै अन्तिम निर्णय गरिसकेको छैन ।
विश्वकप आयोजनाका क्रममा विभिन्न विवादका कारण आलोचना खेपिरहेका फिफा अध्यक्ष इन्फान्टिनोका लागि यो वित्तीय उपलब्धिलाई ठूलो सफलताका रूपमा हेरिएको छ ।
आगामी मार्चमा हुने फिफा अध्यक्षको निर्वाचनअघि उनले २०० भन्दा बढी सदस्य राष्ट्रको समर्थन प्राप्त गरिसकेको बताइएको छ । विश्वकपबाट प्राप्त ठूलो आम्दानीका कारण थप अनुदानको अपेक्षामा रहेका धेरै सदस्य संघले पनि अहिले सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त नगरेका छैनन् ।
यसैबीच, विश्वकपबाट भएको आर्थिक सफलताले भविष्यमा अमेरिकाले फेरि विश्वकप आयोजना गर्ने सम्भावना पनि बलियो बनेको छ । सन् २०३८ को विश्वकप आयोजनाका लागि चाँडै बोलपत्र खुल्ने तयारी छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि अमेरिका पुनः विश्वकप आयोजना गर्न इच्छुक रहेको बताएका छन् । एक कार्यक्रममा उनले अमेरिकाले फेरि विश्वकप आयोजना गर्ने चाहना व्यक्त गर्दै यसपटक क्यानडा र मेक्सिकालाई सह–आयोजक नबनाउने टिप्पणी गरेका छन् ।
अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ ।
न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै स्पेनले फिफा विश्वकप २)२६ को उपाधि जितेको हो ।
खेलको १०६औँ मिनेटमा टोरेसले गरेको गोल नै स्पेनलाई दोस्रो पटक विश्व च्याम्पियन बनाए ।
२०१० पछि स्पेनले पहिलो पटक यो ऐतिहासिक सफलता हात पारेको हो ।
सन् २०२१ र २०२४ को कोपा अमेरिका तथा २)२२ को विश्वकप जितेको अर्जेन्टिनाले यसपटक भने प्रमुख प्रतियोगितामा पहिलो पटक उपाधिविहीन बन्यो ।
१० वर्षअघिको पीडादायी सम्झनालाई विश्वकप उपाधिले मेटाउने लक्ष्यमा मेस्सी
काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी आइतबार अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा हुने फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनविरुद्ध मैदान उत्रँदा १० वर्षअघिको पीडादायी सम्झनालाई सुखद अन्त्यमा बदल्ने अवसरको खोजीमा हुनेछन् ।
मेस्सीका लागि यो फाइनल केवल विश्व फुटबलको सबैभन्दा ठूलो उपाधिको प्रतिस्पर्धा मात्र होइन, सन् २०१६ को कोपा अमेरिका सेन्टेनारियोको फाइनलमा चिलीसँग पेनाल्टी सुटआउटमा पराजित भएको तितो सम्झनाको पुनरागमन पनि हो । त्यही मैदानमा उनले पेनाल्टी चुकाएका थिए, बेन्चमा आँसु झारेका थिए र राष्ट्रिय टोलीबाट सन्यास लिने घोषणा गरेर विश्व फुटबललाई स्तब्ध बनाएका थिए ।
त्यतिबेला मेस्सीले भनेका थिए, ‘मेरो लागि राष्ट्रिय टोलीसँगको यात्रा सकियो । मैले धेरै प्रयास गरेँ’ त्यसपछि अर्जेन्टिनाभर उनलाई निर्णय पुनर्विचार गर्न आग्रह गर्दै व्यापक अभियान चलेको थियो ।
त्यसबेला १५ वर्षीय किशोर एन्जो फर्नान्डेजले सामाजिक सञ्जालमार्फत मेस्सीलाई भावुक सन्देश लेखेका थिए । उनले, ‘तपाईं जे गर्न चाहनुहुन्छ गर्नुस् तर कृपया टोलीमा रहनुहोस् । रमाइलोका लागि खेलिरहनुहोस भन्दै आग्रह गरेका थिए ।
एक दशकपछि फर्नान्डेज अहिले मेस्सीका समर्थक मात्र होइनन अर्जेन्टिनाका प्रमुख मिडफिल्डर बनेर उनीसँगै लगातार दोस्रो विश्वकप उपाधि जित्ने अभियानमा छन् । यता प्रशिक्षक लियोनेल स्कालोनीको नेतृत्वमा रहेको अर्जेन्टिनाले सेमिफाइनलमा इंग्ल्यान्डविरुद्ध २–१ को रोमाञ्चक पुनरागमन जित दर्ता गरेको थियो । उक्त खेलमा एन्जो फर्नान्डेजले बराबरी गोल गरेका थिए भने लाउटारो मार्टिनेजले इन्जुरी समयमा विजयी गोल गरेका थिए ।
अर्जेन्टिनाले लगातार १४ खेल जित्दै दक्षिण अमेरिकी टोलीको सबैभन्दा लामो लगातार जितको कीर्तिमान बराबरी गरेको छ । टोली सन् १९६२ मा ब्राजिलपछि लगातार दुई विश्वकप जित्ने दोस्रो राष्ट्र बन्ने लक्ष्यमा छ ।
यता युरोपियन च्याम्पियन स्पेन प्रतियोगिताको सबैभन्दा बलियो रक्षापंक्ति भएको टोलीका रूपमा फाइनलमा पुगेको छ । प्रशिक्षक लुइस दे ला फुएन्ते को टोलीले प्रतियोगिताभर केवल एक गोल मात्र व्यहोरेको छ र पुरुष विश्वकप इतिहासमै एक संस्करणमा सर्वाधिक ६ क्लिनसिट राख्ने पहिलो टोली बनेको छ ।
स्पेनले समूह चरणको पहिलो खेलमा केप भर्डेसँग गोलरहित बराबरी खेलेपछि लगातार ६ खेल जित्दै अस्ट्रिया, पोर्चुगल, बेल्जियम र फ्रान्सलाई हराएर फाइनल यात्रा तय गरेको हो। टोली ३७ खेलदेखि अपराजित रहँदै सन् २०१० पछि दोस्रो विश्वकप उपाधिको खोजीमा छ ।
अर्जेन्टिना र स्पेनबीच हालसम्म १४ खेल हुँदा दुवैले ६–६ खेल जितेका छन् भने दुई खेल बराबरीमा सकिएका छन् । विश्वकपमा उनीहरूबीचको एकमात्र भेट सन् १९६६ मा भएको थियो, जहाँ अर्जेन्टिनाले २–१ को जित निकालेको थियो । भने पछिल्लो भेट सन् २०१८ को मैत्रीपूर्ण खेलमा स्पेनले अर्जेन्टिनालाई ६–१ ले पराजित गरेको थियो । यसपटक भने सबैको नजर फेरि एकपटक मेस्सीमाथि केन्द्रित हुनेछ। १० वर्षअघि आँसुसहित मेटलाइफ स्टेडियम छाडेका मेस्सीसँग अब त्यही मैदानलाई आफ्नो करियरको अर्को अविस्मरणीय सफलताको साक्षी बनाउने अवसर छ । एएनआई
फ्रान्सलाई ६—४ ले पराजित गर्दै इङ्गल्याण्ड विश्वकपकाे तेस्रो स्थानमा
काठमाडौं । फिफा विश्वकप २०२६ अन्र्तगनको खेलमा फ्रान्सलाई पराजित गर्दै इङ्गल्याण्डले तेस्रो स्थान हासिल गरेको छ ।
आइतबार बिहान सम्पन्न खेलमा फ्रान्सलाई ६—४ ले पराजित गर्दै इङ्गल्याण्डले विश्वकपको तेस्रो स्थान हासिल गरेको हो ।
इङ्गल्याण्डको ऐतिहासिक जितमा जर्सी नम्बर ७ का स्ट्राइकर बुकायो साका नायक बने । साकाले खेलको ३७औं, ४५औं र ८७औं (पेनाल्टी) मिनेटमा गोल गर्दै सानदार ह्याट्रिक पूरा गरे । इङ्गल्याण्डका लागि खेलको तेस्रो मिनेटमै डिक्लान राइसले सुरुवाती गोल गरेका थिए ।
खेलको १८औं मिनेटमा राइसकै उत्कृष्ट असिस्टमा डिफेन्डर एज्री कोन्साले दोस्रो गोल गरेका थिए ।
खेलको अन्तिम समयमा फ्रान्सले लगातार गोल फर्काएर दबाब सिर्जना गरे पनि थपिएको समयको आठौं मिनेट अर्थात् ९०÷८ औं मिनेटमा जुड बेलिङ्ंघमले गोल थप्दै इङ्गल्याण्डको ६—४ को ऐतिहासिक जित पक्का गरे ।
यो जितसँगै इङ्गल्याण्डले विश्वकपको तेस्रो स्थान हासिल गरेको हो ।
तेस्रो स्थानको खेल खेल्न चाहँदैनौँ, तर कांस्य पदक जित्नु हाम्रो दायित्व हो : फ्रान्सेली प्रशिक्षक डेसचाम्प्स
काठमाडौं । फ्रान्सका मुख्य प्रशिक्षक डिडिएर डेसचाम्प्सले फिफा विश्वकप २०२६ को तेस्रो स्थानका लागि इंग्ल्यान्डविरुद्ध हुने खेल खेल्न आफूहरूको इच्छा नभए पनि कांस्य पदक जित्नु राष्ट्रिय टोलीको दायित्व भएको बताएका छन् ।
स्पेनसँग सेमिफाइनलमा २–० ले पराजित भएपछि लगातार तेस्रो पटक विश्वकपको फाइनल पुग्ने फ्रान्सको सपना समाप्त भएको थियो । अब फ्रान्सले शनिबार अमेरिकाको मियामीमा इंग्ल्यान्डसँग तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ ।
खेलअघिको पत्रकार सम्मेलनमा डेसचाम्प्सले तेस्रो स्थानको खेल मैत्रीपूर्ण नभई आधिकारिक प्रतिस्पर्धा भएकाले टोलीले पूर्ण जिम्मेवारीका साथ खेल्नुपर्ने बताए । उनले इंग्ल्यान्ड र फ्रान्स दुवै टोली तेस्रो स्थानको खेल खेल्न इच्छुक नभए पनि राष्ट्रिय जर्सीको सम्मानका लागि जित निकाल्नु आवश्यक रहेको उल्लेख गरे ।
‘यो मैत्रीपूर्ण खेल होइन । तेस्रो स्थानका लागि खेलिने आधिकारिक प्रतिस्पर्धा हो । खेलाडी, प्रशिक्षक समूह र मेरो जिम्मेवारी यो अन्तिम लक्ष्य पूरा गर्नु हो । यो फाइनलभन्दा कम महत्त्वपूर्ण हुन सक्छ, तर हामीले आफ्नो दायित्व पूरा गर्नुपर्छ,’ डेसचाम्प्सले भने ।
विश्वकपपछि फ्रान्सको मुख्य प्रशिक्षकबाट बिदा हुने तयारीमा रहेका डेसचाम्प्सले तेस्रो स्थान हासिल गरेर आफ्नो कार्यकाल सुखद अन्त्य गर्न चाहेको पनि बताए । हाम्रो लक्ष्य अब तेस्रो स्थान सुरक्षित गर्नु हो। यो जर्सी लगाउँदा त्यसप्रतिको जिम्मेवारी पनि आउँछ । मलाई थाहा छ, यो मेरो अन्तिम खेल हुनेछ । म कसैलाई रुन चाहन्नँ । एउटा अध्याय सकिँदैछ, तर जीवन अघि बढिरहन्छ,’ उनले भने ।
फ्रान्सका डिफेन्डर इब्राहिमा कोनाटेले पनि सेमिफाइनलको हारपछि कुनै पनि खेलाडी तेस्रो स्थानको खेल खेल्न इच्छुक नभएको स्वीकार गरे । तर उनले टोलीका लागि लामो समय योगदान दिएका डेसचाम्प्सलाई विजयी बिदाइ दिन सबै खेलाडी प्रतिबद्ध रहेको बताए ।
‘हामीमध्ये कसैले पनि तेस्रो स्थानका लागि खेल्न चाहेका थिएनौँ । तर अब विकल्प छैन। प्रशिक्षकले फ्रान्सेली फुटबलका लागि धेरै योगदान दिनुभएको छ । उहाँप्रति कृतज्ञता व्यक्त गर्ने सबैभन्दा राम्रो माध्यम यो खेल जितेर कांस्य पदक जित्नु हो,’ कोनाटेले भने ।
फ्रान्स र इंग्ल्यान्डबीचको तेस्रो स्थानको खेल शनिबार अमेरिकाको मियामीमा हुनेछ । दुवै टोली सेमिफाइनलबाट बाहिरिएपछि प्रतियोगिताको अन्तिम खेल जित्दै कांस्य पदकसहित विश्वकप यात्रा टुंग्याउने लक्ष्यमा छन् । एएनआई