यी हुन् एनपीएलमा सर्वाधिक पुरस्कार जित्ने खेलाडी
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल नेपाल प्रिमियर लिग (एनपीएल) सिजन– २ मा सर्वोत्कृष्ट नेपाली खेलाडी बनेका छन् ।
लुम्बिनी लायन्सका कप्तान समेत रहेका पौडेलले सर्वोत्कृष्ट खेल प्रदर्शनगरी ओमोडा कार पुरस्कार हासिल गरेका हुन् । साथै प्रतियोगितामा उत्कृष्ट ब्याटर पनि बन्न सफल भएकाले उनले पल्सर बाइक जित्न पनि सफल भए ।
यस्तै,लुम्बिनी लायन्सकै शेर मल्ल प्रतियोगिताको उत्कृष्ट उदीयमान खेलाडी बन्न सफल भइ पल्सर बाइक पुरस्कार हात पारे । लुम्बिनीकै अर्का रुवेन ट्रम्पलम्यान प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बनी ५ लाख नगद पुरस्कार पाए ।
त्यस्तै प्रतियोगितामा विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने उत्कृष्ट बलर बन्न सफल भए । उनले पनि पल्सर बाइक पुरस्कार हासिल गरे ।
विश्व बक्सिङ च्याम्पियनसिपका कांस्य पदक विजेता चन्द्र थापा मगर सहितको टोली आज स्वदेश फर्किदै
काठमाडौं । आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिप २०२५ मा कास्यपदक जितेका नेपालका बक्सर चन्द्रबहादुर थापा मगर आज स्वदेश फिर्ता हुँदै छन् । आइतबार उनीसहित टोली स्वदेश फिर्ता हुन लागेका हुन् ।
नेपालको बक्सिङ इतिहासमा विश्व च्याम्पियनसिपमा सेमिफाइनलमा प्रवेश गरी कास्य जित्ने चन्द्रबहादुर पहिलो खेलाडी हुन् । प्रतियोगिताको सेमिफाइनलमा उनी काजकस्तानका खेलाडी विवोसिनोसँग ५–० को स्कोरमा पराजित हुँदै चौथो स्थानमा सिमित भएका हुन् ।
यससँगै उनले ७५ हजार अमेरिकन डलर हात पारेका छन् । नेपालको खेलकुद इतिहासमा कुनै पनि अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको एकल प्रतिस्पर्धामा ७५ हजार अमेरिकन डलर हात पार्ने उनी पहिलो खेलाडी बनेका छन् ।
आज एनपीएलको उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा हुँदै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनकोे आज फाइनल खेल हुँदैछ । शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा दिउँसो ३ः३० बजे हुने खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।
सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो भने इलिमिनेटरमा काठमाडौं गोर्खाज् र दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई पराजित गरेर लुम्बिनीले फाइनलमा आफ्नो स्थान बनाएको हो ।
गत वर्ष जनकपुर बोल्ट्ससँग ५ विकेटले पराजित हुँदै उपविजेता बनेको सुदूरपश्चिमले यसपटक विजेताको उपाधि जित्ने लक्ष्य राखेको छ ।
लिग चरणका ६ खेल जितेर एक खेलमा हार ब्यहोरेको सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थानमा रहँदै प्लेअफ पुगेको थियो । सुदूरपश्चिम लिग चरणमा विराटनगरसँग मात्र पराजय भएको हो ।
कप्तान दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा सुदूरपश्चिम छ भने कप्तान रोहित पौडेलको नेतृत्वमा लुम्बिनी लायन्स छ । गत संस्करणमा लिग चरणमै बाहिरिएको लुम्बिनी लायन्स यो पटक भने आफ्नो उत्कृष्ट प्रदर्शन देखाउँदै उपाधि जित्ने लक्ष्यमा छ ।
लिग चरणका सुरुवाती खेल जितेपछि लगातार तीन खेलमा पराजित ब्यहोरे पनि लुम्बिनीले अन्तिम तीन खेलमा विजय हासिल गर्दै प्लेअफमा स्थान बनाएको थियो ।
इलिमिनेटरमा काठमाडौं गोर्खाजलाई ४ विकेटले हराउँदै दोस्रो क्वालिफायरमा प्रवेश गरेको लुम्बिनीले विराटनगर किङ्सलाई ४० रनले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।
लिग चरणका २८ खेल र प्लेअफका ३ खेल सकिएपछि आज उपाधि विजेता तय गर्ने निर्णायक खेल हुँदैछ । एनपीएलको विजेताले रु १ करोड १० लाखको आकर्षक पुरस्कार रकम प्राप्त गर्नेछ भने उपविजेताले रु ५१ लाख, तेस्रो स्थानले रु २५ लाख र चौथो स्थानले रु १५ लाख हात पार्नेछ ।
नेपाल क्रिकेट सङ्घको आयोजनामा मङ्सिर १ गतेदेखि सञ्चालनमा आएको यस प्रतियोगितामा आठ टोलीले सहभागिता जनाएका थिए ।
कोलकातामा लियोनल मेस्सीको ७० फिट अग्लो प्रतिमा तयार, डिसेम्बर १३ मा उद्घाटन
काठमाडौं । भारतको पश्चिम बंगालस्थित कोलकातामा अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीको ७० फिट अग्लो विशाल फलामे प्रतिमा निर्माण सम्पन्न भएको छ । हालसम्मकै सबैभन्दा ठूलो बताइएको मेस्सीको यो प्रतिमा दक्षिण दमदमको लेक टाउन क्षेत्रमा रहेको श्री भूमि स्पोर्टिङ क्लबले तयार गरेको हो ।
प्रतिमामा मेस्सीले फिफा विश्वकप ट्रफी समाइरहेको दृश्य देखाइएको छ, र हाल अन्तिम तहको फिनिसिङ कार्य भइरहेको क्लबले बताएको छ । प्रतिमाको बाहिरी क्षेत्र सजावटसहित अन्तिम तयारी भइरहेको जनाउँदै परियोजनामा संलग्न मोन्टी पॉलको टिमले फिनिसिङ कार्य गरिरहेको जानकारी दिएको छ ।
श्री भूमि स्पोर्टिङ क्लबका अध्यक्ष तथा पश्चिम बंगालका मन्त्री सुजीत बोसका अनुसार प्रतिमाको निर्माण कार्य जम्मा ४० दिनमै पूरा गरिएको हो । बोसले भने, ‘यो निकै ठूलो प्रतिमा हो, ७० फिट अग्लो । मेस्सीको यस्तो उचाइको प्रतिमा संसारमै छैन । मेस्सी कोलकाता आउँदै छन् । यहाँ उनका धेरै फ्यान छन् ।’
उनले म्याराडोना, इमिलियानो मार्टिनेज र रोनाल्डिन्हो जस्ता फुटबलका महान हस्तीहरू पनि यसअघि कोलकाता आइसकेको उल्लेख गर्दै श्री भूमिको यो परम्परा निरन्तर रहँदै आएको बताए ।
उनका अनुसार मेस्सीको प्रतिमा निर्माण गर्ने प्रेरणा म्याराडोनाको प्रतिमा बनेपछि आएको हो । आगामी २०२६ मा हुसने विश्वकपको सन्दर्भमा यस प्रतिमालाई विशेष मानिएको उल्लेख गर्दै उनले मेस्सी स्वयंले पनि यसलाई मन पराउने विश्वास व्यक्त गरेका छन् ।
बोसका अनुसार प्रतिमाको भर्चुअल उद्घाटन डिसेम्बर १३ मा हुनेछ, किनकि मेस्सी सुरक्षा कारणले व्यक्तिगत रूपमा उपस्थित हुन नसक्ने भएका छन् । स्थानीय फुटबलप्रेमीहरूले मेस्सीको प्रतिमा देख्न पाउनु, र भर्चुअल रूपमा मेस्सी सहभागी हुने जानकारीले आफूहरूमा ठूलो उत्साह रहेको बताएका छन् । एक प्रशंसकले भने, ‘मेस्सी यहाँ आउँदैछन् भन्ने सुन्नु नै ठूलो कुरा हो । यो प्रतिमा हाम्रो अभिमान हो ।’
एनपीएल : इलिमिनेटरमा आज काठमाडौं र लुम्बिनी प्रतिस्पर्धा गर्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटरमा आज काठमाडौं र लुम्बिनी प्रतिस्पर्धा गर्दैछन् । त्रिवि क्रिकेट रंगशालामा अपरान्ह ४ बजे सुरु हुने आजको इलिमिनेटर खेलमा काठमाडौं र लुम्बिनी प्रतिस्पर्धा गर्न लागेका हुन् ।
काठमाडौंको कप्तानीमा करण केसी छन् भने लुम्बिनीका कप्तान रोहितकुमार पौडेल हुन् । अंक तालिकामा तेस्रो र चौथो स्थानमा रहेका दुई टिम इलिमिनेटरमा भिड्न लागेका छन् । मंगलबार पहिलो क्वालिफायरबाट सुदूरपश्चिम फाइनल प्रवेश गरिसकेको छ । यस्तै इलिमिनेटरको विजयी टिमले बिहीबार विराटनगरसँग प्रतिस्पर्धा गर्दै फाइनल यात्रा तय गर्नेछ ।
एनपीएल : पहिलो क्वालिफायर खेलमा आज सुदूरपश्चिम र विराटनगर खेल्दै
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५का लिग चरणका सबै खेलहरु सकिएपछि आजबाट प्लेअफका खेलहरू सुरु हुँदैछन् ।
मंगलबार हुने प्लेअफअन्तर्गत पहिलो क्वालिफायर खेलमा अंकतालिकाको शीर्ष स्थानमा रहेका सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स प्रतिस्पर्धा गर्दैछन् । खेल अपरान्ह ४ बजेदेखि त्रिवि क्रिकेट रंगशालामा सुरु हुँदैछ ।
गत संस्करणको उपविजेता रहेको सुदूरपश्चिम रोयल्स लगातार दोस्रोपटक प्लेअफमा पुग्न सफल भएको छ भने विराटनगर पहिलोपटक प्लेअफमा पुगेको हो ।
सुदूरपश्चिमको कप्तानी दीपेन्द्रसिंह ऐरीले गरिरहेका छन् भने विराटनगर सन्दीप लामिछानेको कप्तानीमा रहेको छ । आज हुने खेलको विजेता टोली सोझै फाइनल प्रवेश गर्नेछ ।
त्यस्तै, क्वालिफायरमा पराजित हुने टोलीले इलिमिनेटर खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । इलिमिनेटरमा काठमाडौं र लुम्बिनी खेल्दैछन् ।
जनकपुरमाथि कर्णालीको रोमाञ्चक जित, अंकतालिकाको पुछारमा रह्यो जनकपुर
काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनको लिग चरणअन्तर्गत अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई हराएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा आइतबार भएको खेलमा कर्णालीले जनकपुरलाई ३ रनले हराएको हो ।
कर्णालीले दिएको १३० रनको लक्ष्य पछ्याएको जनकपुर पूरा ओभर खेल्दै ७ विकेट गुमाउँदै १२६ रनमा रोकियो ।
२९ रन जोड्दा ४ विकेट गुमाएको जनकपुरलाई संजय कृष्णमूर्तिले अर्धशतक पारी खेले । उनले ३९ बलमा १ चौका र ४ छक्कासहित ५१ रन जोडे ।
ओपनर माज सदाकतले १२ रन बनाउँदा अर्का ओपनर आसिफ शेख र अनिल साह डकआउट हुन पुगे । मयन यादवले ९ रन बनाउँदा जान निकोल लोफ्टी–इटनले रन जोडे । तर, अन्तिम ओभरमा १४ रन बनाउन नसक्दा जनकपुरले जित हासिल गर्न सकेन ।
कर्णालीका लागि विलियम बोसिस्टोले दुई विकेट लिँदा मार्क वाट, पवन सर्राफ र कप्तान सोमपाल कामीले एक–एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ थालेको कर्णालीले पूरै २० ओभर खेलेर ९ विकेटको क्षतिमा १२९ रन बनाएको थियो ।
कर्णालीका लागि ओपनर इमरान शेखले ३३ रन बनाउँदा गुल्शन झाको नाममा १९ रन रह्यो ।
अर्का ओपनर मार्क वाट ४ रनमै आउट हुँदा प्रियाङ्क पान्चालले १६ रन जोडे । विलियक बोसिस्टोले १५ रन बनाउँदा नजिबुल्लाह जद्रान १३ रनमा आउट भए । कप्तान सोमपाल कामीले १८ रन जोडे ।
जनकपुरका लागि ललित राजवंशी र आदित्य महताले दुई–दुई विकेट लिँदा अनिल साह, माज सदाकत र संगिथ कुरेले एक–एक विकेट लिए ।
यससँगै पहिलो सिजनको विजेता रहेको जनकपुरले अंक तालिकाको पुछारमा रहँदै सिजनको अन्त्य गरेको छ ।
एनपीएल :लिग चरणको अन्तिम खेलमा आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदै
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लिग चरणको अन्तिम खेल हुँदैछ । लिग चरणको अन्तिम खेलमा आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी खेलमा आइतबार अपराह्न ३ः३० बजे कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्ने भएका हुन् ।
छ खेलबाट समान दुई अङ्क जोडेका यी दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेका छन् भने आज प्रतिष्ठाका लागि मात्र खेल्दैछन्।
कर्णालीका कप्तान सोमपाल कामी हुन् भने जनकपुरका आशिफ शेख छन् । जनकपुरले अधिकांश खेलमा कप्तान परिवर्तन गर्दै आएको छ ।
प्रतियोगितामा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स क्वालिफायरका लागि छनोट भएका छन् भने काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सले इलिमिनेटरमा खेल्दैछन् ।
एनपीएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुँदै छन् ।
चितवन राईनोजमाथि पोखरा एभेन्जर्सको जित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको दोस्रो खेलमा पोखरा एभेन्जर्सले चितवन राईनोजमामथि शानदार जित निकालेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा पोखरा एभेन्जर्सले चितवन राईनोजमाथि ८ विकेटले जित हासिल गरेको हो ।
चितवनले टस जितेर पहिलो ब्याटिङ गरी ६ विकेट गुमाउदै १२१ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य पक्ष्याएको पोखराले दुई बल बाँकी छदै १९.४ ओभरको खेलमा २ विकेट गुमाएर १२१ रनको लक्ष्य पुरा गरेको हो ।
आजको खेलमा पोखराको जितको लागि एडम वासिंटनले सर्वाधिक ६५ रन बनाए भने उनले ४८ बलमा ४ चौका र ५ छक्का प्रहार गरे । यस्तै, अर्जुन ४३ रनमा अविजित रहे भने कप्तान कुशल भुर्तेल ४ रनमा आउट भए । जेशन रोय ६ रनमा अविजित रहे । बलिङमा चितवनका सैफ जैइव र रिजन ढकालले एकएक विकेट लिए ।
यसैगरी चितवनका लागि देव खनालले सर्वाधिक ३५ रन बनाए भने अल्पेश रामजानी ३३, डेविड मलान ५, अर्जुन साउद १, रवि बोपारा १, सैफ जैइव १७, कप्तान कुशल मल्ल २३ रनमा आउट भए । कमलसिंह ऐरी २ रनमा अविजित रहे । बलिङमा पोखराका धनन्जय लक्षनले सर्वाधिक ३ विकेट लिए । विपिन खत्री, रोहित चन्द र किरण ठगुन्नाले एकएक विकेट लिए ।
चितवन राईनोजको कप्तानमा कुशल मल्ल रहेका छन् भने पोखरा एभेन्जर्सको कप्तानमा कुशल भुर्तेल रहेका छन् ।
चितवन राईनोज र पोखरा एभेन्जर्स दुवै टोली प्लेअफ पुग्नबाट बाहिरिसकेका छन् । ६ खेलमा २ मा जित र ४ मा हारसहित चितवन तालिकाको छैठौँ र ६ खेलमा ४ खेल हारेको पोखरा २ अंकसहित तालिकाको पाँचौ स्थानमा छ ।
पोखरा र चितवनसहित कर्णाली र जनकपुर पनि प्लेअफ समिकरणबाट बाहिरिएका टोली हुन् ।
एनपीएलमा आज दुई खेल हुँदै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार समूह चरणका दुई खेल हुँदैछन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज हुने पहिलो खेल सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबिच बिहान ११ बजे हुनेछ ।
यी दुवै टोली प्लेअफमा पुगिसकेका छन् । लगातार ६ खेल जितेको सुदूरपश्चिम १२ अंकसहित तालिकाको शिर्ष स्थानमा छ । सुदूरपश्चिम एनपीएल क्रिकेटको दोस्रो संस्करणमा एक मात्र अपराजित टोली हो ।
यस्तै ६ खेलमा विराटनगरको ४ मा जित र २ खेलमा हार रहेको छ । विराटनगर ८ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । तालिकाको दोस्रो स्थानमा १० अंकसहित काठमान्डु गोर्खाज रहेको छ ।
यस्तै दोस्रो खेलमा चितवन राईनोज र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन् । उक्त खेल दिउँसो ३ः३० सुरु हुनेछ ।
चितवन राईनोज र पोखरा एभेन्जर्स दुवै टोली प्लेअफ पुग्नबाट बाहिरिसकेका छन् । ६ खेलमा २ मा जीत र ४ मा हारसहित चितवन तालिकाको छैठौँ र ६ खेलमा ४ खेल हारेको पोखरा २ अंकसहित तालिकाको पाँचौ स्थानमा छ । पोखरा र चितवनसहित कर्णाली र जनकपुर पनि प्लेअफ समिकरणबाट बाहिरिएका टोली हुन् ।