आइसीसी टि–२० विश्वकप : साविक विजेता भारतको विजयी सुरुआत
काठमाडौं । आइसीसी टि–२० विश्वकप २०२६ मा भारतले विजयी सुरुवात गरेको छ । शनिबार राति सम्पन्न खेलमा भारतले अमेरिकालाई २९ रनले हराउँदै विजयी सुरुवात गरेको हो ।
एक सय ६२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको अमेरिकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै मात्र एक सय ३२ रन बनायो। उसका लागि सुभम् रजानेले ३७, सञ्जय कृष्णमुर्तिले ३७ रन बनाए । यस्तै मिलिण्द कुमारले ३४ रन बनाए पनि जितका लागि पर्याप्त भएन ।
भारतका लागि मोहमद सिराजले तीन विकेट हात पारे । अर्शदीप सिंह र अक्षर पटेलको नाममा दुई दुई विकेट रह्यो ।
त्यसअघि वानखेडे क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६१ रन बनाएको थियो ।भारतीय टोलीका कप्तान सुर्यकुमार यादवले विस्फोटक ब्याटिङ गर्दै शानदार अर्धशतक प्रहार गरे । ४९ बलको सामना गरेका यादवले १० चौका र ४ छक्कासहित ८४ रन बनाए । इशान पाण्डेले २० रन बनाए भने तिलक बर्माले २५ रनको योगदान दिए । अभिषेक शर्मा शून्य रनमा आउट भए । अक्षर पटेलले १४ रन बनाए ।
विश्वकपमा आज नेपाल इंग्ल्यान्डसँग भिड्दै
काठमाडौं । आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेटको पहिलो खेलमा आज नेपालले इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेको आईसीसी टी–२० विश्वकप क्रिकेट २०२६ को पहिलो खेलमा आइतबार नेपालले विश्व विजेता इंग्ल्यान्डको सामना गर्न लागेको हो । यो खेल मुम्बईस्थित वानखेडे स्टेडियममा दिउँसो ३ः१५ बजे सुरु हुँदैछ । विश्वकपमा नेपालका सबै खेल मुम्बईको वानखडे रंगशालामा हुँदैछन् ।
नेपालले सन् २०१४ मा बंगलादेशले आयोजना गरेको विश्वकपमा पहिलोपटक स्थान पक्का गरेको थियो । नेपालले दोस्रोपटक विश्वकप खेल्न १० वर्ष लगायो । सन् २०२४ को विश्वकपमा नेपालले दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध उत्कृष्ट प्रदर्शन गरी विश्व क्रिकेटमा आफूलाई केन्द्रित बनाएको छ । दक्षिण अफ्रिकासँग नेपाल एक रनले पराजित भएको थियो ।
यसअघि दुईपटक विश्वकप खेलेको नेपाल समूह चरणभन्दा माथि जान सकेको छैन । नेपाल लगातार रोहितकुमार पौडेलको कप्तानीमा विश्वकप खेल्दैछ । सोमपाल कामी तीनपटक विश्वकप खेल्ने पहिलो नेपाली खेलाडी हुन् ।
नेपालले आज इंग्ल्यान्डसँग खेल्दै विश्वकपको सुरुवात गर्न लागेको हो । नेपाल विश्वकपमा समूह ‘सी’ मा छ । यो समूहमा नेपालसहित दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इंग्ल्यान्ड, स्कटल्यान्ड र इटाली छन् । बंगलादेशले भारतमा विश्वकप खेल्न अस्वीकार गरेपछि आईसीसी रेङ्किङका आधारमा स्कटल्यान्डले अवसर पाएको हो ।
विश्वकपमा नेपाली टिमबाट रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सोमपाल कामी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम छन् । नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलोपटक इंग्ल्यान्डविरुद्ध टी–२० आई खेल्न लागेकाले यो खेल ऐतिहासिक बन्नेछ ।
एनआरटी क्लबलाई हराउदै प्लानिङ ब्वाइज सेमिफाइनल प्रवेश
धरान । साबिक बिजेता एनआरटीलाई हराउदै प्लानिङ ब्वाइज युनाइटेड, काठमाडौं, बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
धरानमा जारी २६औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज गत बर्षका बिजेता एनआरटी क्लब, काठमाडौं र प्लानिङ ब्वाइज युनाइटेड, काठमाडौंबीच भएको खेलमा प्लानिङ ब्वाइजले एनआरटी क्लब काठमाडौलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल स्थान बनाएको हो।
खेलको पहिलो हाफको ४३औँ मिनेटमा प्लानिङ ब्वाइजका खेलाडी केबेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने दोस्रो हाफको ४१औँ मिनेटमा जर्सी नम्बर १७ का खेलाडी श्याम मुरमुरले अर्को गोल थप्दै टोलीको जित तयार गरेका हुन।
आजको खेलमा प्लानिङ ब्वाइजका योगेश धिमाल ‘म्यान अफ द म्याच’ घोषित हुँदै नगद रु १० हजार प्रदान गरिएको छ।
प्रतियोगिता अन्तर्गत भोलि आइतबार नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ !
दस टोलीको सहभागिता रहेको प्रतियोगितामा विजेताले नगद रु. १० लाख र उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन्। साथै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई एक थान होन्डा स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ।
त्यसैगरी प्रत्येक खेलको ‘म्यान अफ द म्याच’लाई रु १० हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर तथा उत्कृष्ट प्रशिक्षकलाई जनही रु २५/२५ हजार र सर्वाधिक गोलकर्तालाई रु ३५ हजार पुरस्कार प्रदान गरिनेछ।
आईसीसी टी–२० पुरुष विश्वकप :आइतबार पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग भिड्ने
काठमाडौं । आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेट आइतबार देखि सुरु हुँदै छ । भारत र श्रीलंका संयुक्त आयोजक रहेको यस विश्वकपको पहिलो खेलमा नेपालले विश्व विजेता इंग्ल्यान्डसँग भिड्ने छ। यो खेल नेपालको लागि मात्र प्रतियोगिता नभएर सपनाको यात्रा पनि हो।
नेपालले इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्दै दोस्रोपटक टी–२० विश्वकप यात्रा सुरु गर्दैछ। सबै खेलहरू मुम्बईको वानखडे रंगशालामा हुनेछन् । नेपाली क्रिकेटप्रेमीहरूको आँखामा यो क्षण लामो समयदेखि प्रतिक्षा गरिएको छ।
नेपालले पहिलोपटक सन् २०१४ मा बंगलादेशमा विश्वकप खेलेको थियो। त्यसपछि दस वर्षसम्म अवसरको प्रतीक्षामा रह्यो। तर २०२४ को विश्वकपमा नेपालले दक्षिण अफ्रिका र बंगलादेशसँग शानदार खेल प्रदर्शन गर्दै आफ्नो क्षमतालाई विश्वमञ्चमा देखाएको थियो। विशेषगरी दक्षिण अफ्रिकासँगको खेलमा एक रनको अन्तरले हार र जीतको नजिक पुगेको त्यो खेल नेपाली क्रिकेटप्रेमीको स्मरणीय क्षण बनेको थियो।
नेपाल लगातार कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा विश्वकप खेल्दै आएको छ। उनी मात्र होइन, सोमपाल कामीले तीनपटक विश्वकप खेल्ने इतिहासमा पहिलो नेपाली खेलाडी बन्ने गौरव हासिल गरेका छन्। यी खेलाडीहरूको कठिन मेहनत र लगावले नेपाल क्रिकेटलाई विश्व मानचित्रमा स्थापित गरिरहेको छ।
यस विश्वकपमा नेपाल समूह ‘सी’ मा छ। समूहमा नेपालसँगै दुईपटकको विजेता वेस्ट इन्डिज, एकपटकको विजेता इंग्ल्यान्ड, स्कटल्यान्ड र इटाली छन्। बंगलादेशले भारतमा विश्वकप खेल्न अस्वीकार गरेपछि स्कटल्यान्डले स्थान पाएको हो।
नेपाली खेलाडीहरूका लागि यो केवल खेल होइन, देशको गौरव हो। प्रत्येक बल, प्रत्येक रन, प्रत्येक विकेटमा हजारौं नेपालीको भावना जोडिएको छ। जसले गर्दा आइतबारको खेल, नेपाल क्रिकेटका लागि मात्र नभएर सम्पूर्ण नेपालीको लागि उत्सवको दिन बन्ने निश्चित छ।
बुढासुब्बा गोल्डकप : धरान फुटबल क्लबको जित सुरुवात
धरान I २६औँ अन्तर्राष्ट्रिय आमन्त्रण बूढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा आयोजक धरान फुटबल क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
सुनसरीको धरान उपमहानगरपालिका–१६ स्थित रंगशालामा आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा धरान फुटबल क्लबले जर्जियन फुटबल क्लब (भारत) लाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो ।
निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि अन्तिम समयमा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । टाइब्रेकरमा भारतलाई पराजित गर्दै आयोजक धरानले प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।
टाइब्रेकरमा धरान फुटबल क्लबका प्रज्वल थापा, नगेन राई, विवेक राई र राज लिम्बूले गोल गरेका थिए भने,जर्जियन फुटबल क्लबका सैजा र सरद मुण्डाले गोल गर्न सफल भए भने बक्सर प्रधान र विशाल क्षेत्रीको प्रहार धरानका गोलकिपर विपुल मगरले रोकेका थिए ।
आजको खेलमा धरान फुटबल क्लबका विपुल मगर ‘म्यान अफ द म्याच’ घोषित हुँदै नगद रु.१० हजार पुरस्कार प्राप्त गरे । प्रतियोगिता अन्तर्गत भोलि झापा–११ झापा र रोयल थिम्पु क्लब (भुटान) बीच प्रतिस्पर्धा हुने आयोजक समितिका अध्यक्ष प्रताप तामाङले जानकारी दिए ।
प्रतियोगितामा १० वटा टोलीको सहभागिता रहेको छ । विजेताले नगद रु.१० लाख प्राप्त गर्ने छन् भने उपविजेताले रु.पाँच लाख पुरस्कार प्राप्त गर्नेछन । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई एक थान होन्डा स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रत्येक खेलको म्यान अफ द म्याचलाई रु. १० हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर तथा उत्कृष्ट प्रशिक्षकलाई जनही रु.२५–२५ हजार साथै सर्वाधिक गोलकर्तालाई रु.३५ हजार पुरस्कार प्रदान गरिने छ !
मुम्बईपछि चेन्नई पुगेको नेपाली टोली आज यूएईसँग अभ्यास खेल खेल्दै
काठमाडौं । आईसीसी विश्वकपको तयारीलाई तीव्र बनाउँदै नेपाली राष्ट्रिय क्रिकेट टोली मुम्बईमा दुई अभ्यास खेल सकेर चेन्नई पुगेको छ। नेपालले विश्वकपअघि चेन्नईमा दुई वटा ‘वाम–अप’ खेल खेल्दै अन्तिम तयारी गर्नेछ।
नेपालले पहिलो अभ्यास खेलमा आज संयुक्त अरब इमिरेट्स (यूएई)सँग प्रतिस्पर्धा गर्नेछ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार खेल साँझ ५ः१५ बजे चेन्नईस्थित एमए चिदम्बरम रङ्गशालामा हुनेछ। नेपाल र यूएईबीच लामो समयदेखि प्रतिस्पर्धात्मक खेल हुँदै आएका छन्।
यस्तै, नेपालले दोस्रो अभ्यास खेल बिहीबार क्यानडासँग खेल्नेछ। दुवै अभ्यास खेल विश्वकप खेलिने एमए चिदम्बरम मैदानमै आयोजना हुँदैछन्, जसले टोलीलाई मैदान र परिस्थितिसँग अभ्यस्त हुन सहयोग गर्ने अपेक्षा गरिएको छ।
नेपालले फेब्रुअरी ८ मा इङ्ल्यान्डसँग खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ। नेपाल विश्वकपको समूह ‘सी’ मा रहेको छ, जहाँ दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ल्यान्ड, स्कटल्यान्ड र इटाली रहेका छन्।
नेपालले फेब्रुअरी १२ मा इटाली, १५ मा वेस्ट इन्डिज र १७ मा स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्ने तालिका छ। समूह चरणका सबै खेल नेपालले मुम्बईमा खेल्नेछ ।
नेपाली टोलीका सबै खेलका टिकट बिक्री भइसकेको छ भने यससँगै भारतीय मैदानमा नेपाली समर्थकको बाक्लो उपस्थिति र उत्साह देखिनेछ ।
नेपालले यसअघि सन् २०१४ र सन् २०२४ को विश्वकप खेलेको थियो। यो तेस्रो विश्वकप सहभागितालाई नेपाली क्रिकेटको निरन्तर प्रगतिका रूपमा हेरिएको छ।
विश्वकप खेल्ने नेपाली टोलीमा कप्तान रोहित पौडेल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम रहेका छन्।
यस विश्वकपमा समूह ‘ए’ मा भारत र पाकिस्तानसहित अमेरिका, नेदरल्यान्ड्स र नामिबिया छन् भने समूह ‘बी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बावे, आयरल्यान्ड र ओमान तथा समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, क्यानडा र यूएई रहेका छन्। प्रत्येक समूहका शीर्ष दुई टोली सुपर आठमा प्रवेश गर्नेछन्।
राखेपको आयोजनामा तेस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता हुँदै
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजना तथा काठमाडौं विश्वविद्यालय र नेपालय इन्टरनेसनलको सह–आयोजनामा तेस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता हुने भएको छ । प्रतियोगिता यही माघ २२ गतेदेखि सुरु हुने भएको हो ।
विश्वविद्यालय खेलकुद प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन समितिका संयोजकसमेत रहेका राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई र काठमाडौं विश्वविद्यालयअन्तर्गत विद्यार्थी कल्याण निर्देशनालयका कामु निर्देशक डा. गोकुल केसीबीच एक कार्यक्रमका अवसरमा प्रतियोगिता आयोजनासम्बन्धी सम्झौता पत्र आदान–प्रदान गरिएको हो।
प्रतियोगितामा पाँच खेल समावेश गरिएका छन्। टेबलटेनिसतर्फ चार, ब्याडमिन्टनमा चार, बास्केटबलमा दुई, एथलेटिक्समा छ र भलिबलमा एक स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ। भलिबलतर्फ भने छात्रको मात्र खेल आयोजना गरिने समितिले जनाएको छ।
खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख तथा प्रतियोगिता सञ्चालन समितिका सचिव मिनकुमार शर्माका अनुसार प्रतियोगितामा कुल २७९ खेलाडीको सहभागिता रहनेछ । दुईदिने प्रतियोगिताअन्तर्गतका सबै खेलहरू धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको परिसरमा आयोजना गरिने छन्।
आयोजकका अनुसार विश्वविद्यालयस्तरका खेलाडीबीच प्रतिस्पर्धा गराई खेलकुद विकास र विद्यार्थीहरूमा खेल भावना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।
महिला टी–२० विश्वकप छनोटमा नेपाल समूह चरणबाटै बाहिरियो
काठमाडौं । नेपाल घरेलु मैदानमा जारी आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको समूह चरणबाटै बाहिरिएको छ । टीयू क्रिकेट मैदानमा आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएसँगै समूह चरणबाट बाहिरिएको हो ।
स्कटल्याण्डले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपाल ६८ रनमै रोकियो । नेपालका लागि रोमा थापा र विन्दु रावलले समान १४ र रुविना क्षेत्रीले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
कप्तान इन्दु बर्मा रिटायर्ड हर्ट भइन् । बलिङ स्कटल्याण्डकी अब्दह मक्सुदले सर्वाधिक ३ विकेट लिइन् । त्यसअघि टीयु क्रीकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १४० रन बनाएको थियो ।
स्कटल्याण्डका लागि प्रियांज चटर्जीले सर्वाधिक अविजित ४५ रन बनाइन् । उनले २८ बलमा ७ चौका प्रहार गरिन् । बलिङमा नेपालकी मनिषा उपाध्ययले सर्वाधिक ४ विकेट लिइन् । रुविना क्षेत्रीले ३, रिया शर्मा, सीता रानामगर र कविता जोशीले एकएक विकेट लिए ।
समूह चरणमा नेपालले एक खेलमा मात्रै जित निकाल्न सक्यो । नेपाल रहेको समूहबाट नेदरल्याण्ड्स, स्कटल्याण्ड र थाइल्याण्ड सुपर सिक्समा प्रवेश गरेका छन्। नेपाल र जिम्बाब्बे चौथो र पाँचौं नम्बरमा रहँदै प्रतियोगिताबाट बाहिरिएका हुन्।
महिला टी–२० विश्वकप छनोटमा नेपालको पहिलो जित
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालले पहिलो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले जिम्बाब्वेलाई ६ विकेटले पराजित गरेको हो । यससँगै २ अंक जोडेको नेपालको सुपर सिक्समा पुग्ने गणितीय सम्भावना कायमै छ । १३० रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको हो ।
नेपालको जितमा उपकप्तान पूजा महत्तोले अर्धशतक प्रहार गरिन् । उनले ३० बलमा ५२ रन बनाएर अविजित रहिन् । कप्तान इन्दु बर्माले २२, बिन्दु रावल १५, सम्झना खड्का ९, कविता जोशी १, सीता रानामगर ११ र रुविना क्षेत्रीले २ रन बनाए । बलिङमा जिम्बाबेकी जोसेफिन न्कोमोले सर्वाधिक २ विकेट लिइन् ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको जिम्बाबेले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको थियो । जिम्बाबेकी केलिस धलोभुले अविजित ५२ रन बनाइन् ।बलिङमा नेपालकी रिया शर्माले सर्वाधिक २ विकेट लिइन् । सुरुवाती दुई खेलमा पराजित भएको नेपालले पहिलो जित निकालेको हो ।
आईसीसी महिला टी–२० विश्वकप छनोटमा नेपालको लगातार दोस्रो हार
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको रोमाञ्चक खेलमा नेपाल नेदरल्याण्ड्ससँग २ रनले पराजित भएको छ ।
जितका लागि १४१ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो, जसका कारण नेपालले घरेलु मैदानमा स्तब्धकारी हार बेहोर्नुपरेको छ । यो नेपालको लगातार दोस्रो हार हो ।
नेपालकी रुविना क्षेत्रीले सर्वाधिक ३७ रन बनाइन् । उनले ३२ बलमा पाँच चौका प्रहार गरिन् । सीता रानामगरले १२ बलमा चार चौका र एक छक्कासहित २७ रन बनाए पनि टिमको हार टार्न सकिनन् । नेपाललाई अन्तिम ओभरमा जितका निम्ति १३ रनको आवश्यकता थियो । तर, क्रिजमा रहेका रुविना र सीताले १० रनमात्र बनाउन सके ।
यसबाहेक, ओपनर विन्दु रावलले १८, सम्झना खड्काले १४ र कविता जोशीले १३ रन थपे । नेदरल्यान्ड्सकी इशाबेल भान डेर वोनिङले तीन विकेट लिइन् । क्यारोलिन डे लिंगे, सिल्भर सेजर्स र रोविन रिकेले समान एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङमा आएको नेदरल्यान्ड्सले निर्धारित २० ओाभरमा पाँच विकेट गुमाएर १४० रनको योगफल खडा गरेको थियो । नेदरल्यान्ड्सकी कप्तान बाबेटे डे लिडेले सर्वाधिक ४९ रन बनाइन् ।
स्टेर कालिसले ३०, रोविन रिकेले १९ र एरिस ज्विलिङले १४ रन थपे । नेपालकी रुविना क्षेत्रीले दुई विकेट लिइन् । सोमु विष्ट, पूजा महतो र रिया शर्माले समान एक विकेट लिए । यसअघि, प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले थाइल्यान्डसँग आठ विकेटको हार व्यहोरेको थियो । नेपालले अब जनवरी २४ मा जिम्बाब्वेविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।