शुक्रबार, १५ जेठ २०८३

/frontend/images/redline.png
https://www.jawaaf.com/storage/01KPMNQY1A4AEQZPP51FXVVR16.jpg

टी–२०आई सिरिजमा दिपेन्द्रको कप्तानीमा नेपाल यूएईसँग भिड्दै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी २० आई सिरिजको पहिलो खेलमा आज यूएईविरुद्ध खेल्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यो खेल साँझ ५ बजे सुरु हुनेछ । घरेलु मैदानमा नेपाली टोलीले यूएईविरुद्ध २ खेलको टी २० आई सिरिज खेल्दैछ ।

यस सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले दिपेन्द्र सिंह ऐरीको कप्तानीमा टिम खेलाउँदैछ । जसमा दीपेन्द्र सिंह ऐरी (कप्तान), कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ सेख, बसिर अहमद, गुलशन झा, लोकेस बम, सन्दीप लामिछाने, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम र शेर मल्ल रहेका छन् । त्यस्तै बैकल्पिक खेलाडीमा प्रतिस जीसी, नारायण जोशी र रसिद खान रहेका छन् ।

सिरिजको दोस्रो खेल भोली हुने छ । नेपालले पहिलो पटक टी–२० र एकदिवसीय क्रिकेटमा अलग अलग कप्तानको अभ्यास गरेको छ । पहिलो पटक रोहित पौडेल, सोमपाल कामी, करण केसी लगायतका खेलाडी टी–२० टिमबाट बाहिर रहेका छन् । यो शृंखला इतिहासमै पहिलो पटक ‘फ्लडलाइट’मा हुँदैछ ।

प्रकाशित मितिः सोमबार, ०७ वैशाख २०८३
https://www.jawaaf.com/storage/01KPHNJPX1DPD2H485M6JXV2BP.jpg

फराकिलो अन्तरले सातदोबाटोलाई हराउँदै प्लानिङ ब्वाइज इटहरी गोल्ड कपको फाइनलमा

विराटनगर । प्लानिङ ब्वाइज काठमाडौँ  १६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

गत चैत ३० गतेदेखि आयोजक राष्ट्रिय जागृति क्लबद्वारा इटहरीस्थित रंगशालामा रात्रिकालीन रूपमा सञ्चालन भइरहेको प्रतियोगिता अन्तर्गत आज शनिबार सम्पन्न खेलमा प्लानिङ ब्वाइजले सातदोबाटो यूथ क्लब ललितपुरलाई ६–१ फराकिलो गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

खेलको ५औँ मिनेटमा प्लानिङ ब्वाइजका खेलाडी रोमन भुजेलले पहिलो गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि खेलाडी फागुराम थारुले २९औँ, ३३औँ, ६४औँ र ६८औँ मिनेटमा लगातार चार गोल गर्दै उत्कृष्ट प्रदर्शन गरे । भने प्रताप सिंह राईले ७८औँ मिनेटमा थप एक गोल गर्दै टोलीको जित सुनिश्चित गरेका हुन् ।

सात दोबाटोका तर्फबाट सकल रेग्मीले ४७औँ मिनेटमा सान्त्वना गोल गरेका थिए । आजको खेलको ‘प्लेयर अफ द म्याच’ प्लानिङ ब्वाइजका फागुराम थारु घोषित भए उनलाई नगद रु।१० हजार प्रदान गरिएको कार्यक्रम संयोजक अनुरोध थापाले जानकारी दिए ।

प्रतियोगिताको फाइनल खेल सोमबार वैशाख ७ गते हुनेछ । विजेता टोलीले रु।१० लाख र उपविजेताले रु।५ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै, सर्वोत्कृष्ट खेलाडीलाई रु।१ लाख, सर्वाधिक गोलकर्तालाई रु।२५ हजार तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही रु २० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मितिः आइतबार, ०६ वैशाख २०८३
https://www.jawaaf.com/storage/01KPFAJF54KZJZKERZB0EKVT1X.jpg

मछिन्द्रलाई पराजित गर्दै युवा समाज इटहरी गोल्ड कपको उपाधि नजिक

विराटनगर । साबिक विजेता मछिन्द्र फुटबल क्लबलाई पराजित गर्दै युवा समाज मोरङ १६ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार राति सम्पन्न पहिलो सेमिफाइनल खेलमा युवा समाज मोरङले मछिन्द्रलाई सडेनडेथमा ५–४ गोल अन्तरले पराजित गर्दै फाइनल पुग्ने पहिलो टोली बनेको हो । निर्धारित समयमा दुवै टिमले ३–३ गोलको बराबरी खेलेपछि खेलको निर्णय सिधै पेनाल्टी सुट आउटबाट लिइएको हो ।
पेनाल्टीमा पनि दुवै टिमबाट ४–४ गोल भएपछि खेल सडेनडेथमा गएको हो । सडेनडेथमा मछिन्द्रका युवराज ढकालले गोल गर्न सकेनन् ।

त्यसपछि निर्णायक प्रहार गर्न आएका पदम भटराईले गोल गरेपछि युवा समाज उपाधि नजिक पुगेको हो । त्यसअघिको पेनाल्टीमा मछिन्द्रका रोहित चन्द, दिपेश गुरुङ, देबेन्द्र तामाङ र तुसार विश्वकर्माले गोल गर्दा सनिस श्रेष्ठको प्रहार पोलमा लागेर बाहिरिएको थियो । युवा समाजका रामचन्द्र वाजी, विशाल तामाङ, शिशिर लेखी र सृजनराज गौतमले गोल गर्दा कप्तान सुजन चौधरीको प्रहार गोल पोस्टमा लागेर फर्किएको थियो ।
त्यसअघिको निर्धारित समयको १३ औ मिनेटमा मछिन्द्रका प्रदिप बुढाथोकीले गोल गरेर टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । सौरब लिम्बुले प्रहार गरेको कर्णर बललाई उनले हेड मार्फत गोल गरेका थिए । १६ औँ मिनेटमा प्रदिपले नै थप अर्को गोल गरेपछि मछिन्द्रले २–० को अग्रता लिएको थियो । गोलकिपर प्रमञ्जय गच्छदार अघि बढेको मौकामा उनले प्रहार गरेको बल गोलपोष्टको लाइनमै रहेका विपक्षी डिफेन्डरले क्लियर गर्न नसक्दा मछिन्द्रले अग्रता दोब्बर बनाएको थियो ।

खेलको २२ औँ मिनेटमा युवा समाजका जन्म जय धामीले गोल फर्काएपछि खेल २–१ को अवस्थामा आयो । पदम भटराईले दिएको पासलाई कमजोर डिफेन्स लाइनको फाइदा उठाउँदै धामीले बललाई पोस्टको दिसा दिएका थिए ।

पहिलो हाफको अन्तिम तीन मिनेटको अतिरिक्त समयमा युवा समाजका सुजन डंगोलले गोल गरेपछि खेल २–२ को बराबरीको अवस्थामा आयो । सृजनराज गौतमले दिएको लामो पासलाई डंगोलले आकर्षक हेड गोल गरे । पहिलो हाफ २–२ गोलको बराबरीमा सकिए पनि दोस्रो हाफको २४ औँ मिनेटमा पदम भटराईले गोल गरेपछि मोरङको टोली ३–२ को अग्रतामा लिँदै खेलमा पुनरनगमन गर्यो । तर अन्तिम चार मिनेट सम्हालिन नसक्दा युवा समाजले जीतका लागि पेनाल्टी सुट आउट हुँदै सडेनडेथसम्म कुर्नुप¥यो । दोस्रो हाफको अन्तिम ४ मिनेटको अतिरिक्त समयमा देबेन्द्र तामाङले गोल फर्काएपछि खेल ३–३ को बराबरीमा आयो ।

त्यसपछि खेलको निर्णय पेनाल्टी सुट आउट हुँदै सडेनडेथमा पुगेको हो । खेलको प्लेयरअफद म्याच पदम भटराई घोषित हुँदै नगद १० हजार हात पार्न सफल भए । शनिबारको अन्तिम सेमिफाइनल खेलमा सात दोबाटो युथ क्लब ललितपुर र प्लानिङ ब्वाइज काडमाण्डौबिच खेल हुनेछ । राष्ट्रिय जागृति क्लबले आयोजना गरेको खेलको फाइनल विजेताले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछ ।
फाइनल खेल वैशाख ७ गते हुनेछ ।

प्रकाशित मितिः शनिबार, ०५ वैशाख २०८३
https://www.jawaaf.com/storage/01KPCHQG98NGQQJ9N1WQQ5MAK3.jpg

इटहरी गोल्डकप : भारतीय टोलीलाई हराउँदै प्लानिङ ब्वाइज सेमिफाइनलमा

विराटनगर । सुनसरीको इटहरीमा जारी १६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्ड कपको अन्तिम क्वार्टर फाइनल खेलमा जित निकाल्दै प्लानिङ ब्वाइज युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति सम्पन्न खेलमा भारतको युनाइटेड खर्साङ फुटबल क्लब (युकेएफसी) लाई ३–१ गोल अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज अन्तिम चारमा पुग्न सफल भएको हो ।

बुढासुब्बा गोल्ड कपको हालैको च्याम्पियन समेत रहेको प्लानिङ ब्वाइजको जितमा कप्तान फागुराम थारुले दुई तथा धिरेन्द्र शाहले एक गोल गरेका छन् ।

खेलको पाँचौँ मिनेटमा युकेएफसीका दिवस रोयले धिरेन्द्र शाहलाई डी–एरियामा लडाएपछि फिफा रेफरी उमेश बिडारीले प्लानिङ ब्वाइजलाई पेनाल्टीको अवसर दिएका थिए । उक्त अवसरलाई कप्तान फागुरामले सहजै गोलमा परिणत गरे ।
२३औँ मिनेटमा फागुरामले विपक्षी गोलकिपरलाई बिट गर्दै व्यक्तिगत दोस्रो गोल गरे ।

यस्तै २७औँ मिनेटमा डिफेन्डरको कमजोरीको फाइदा उठाउँदै धिरेन्द्रले गोल थपेपछि प्लानिङ ब्वाइजले पहिलो हाफमै ३–० को अग्रता बनाएको थियो ।

खेलको ५९औँ मिनेटमा युकेएफसीका निवास राणाले एक गोल फर्काए पनि टोलीको हार टार्न पर्याप्त भएन ।

उत्कृष्ट प्रदर्शन गरेका फागुराम थारु खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
प्रतियोगिता अन्तर्गत शुक्रबारको पहिलो सेमिफाइनल खेलमा युवा समाज र साबिक विजेता मच्छिन्द्र फुटबल क्लबबिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

आगामी वैशाख ७ गते हुने फाइनल खेलको विजेताले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

प्रकाशित मितिः शुक्रबार, ०४ वैशाख २०८३
https://www.jawaaf.com/storage/01KPA7TTHKBBF6KYQ174FMCQ3M.jpg

सातदोबाटो सेमिफाइनलमा प्रवेश, आयोजक राष्ट्रिय जागृति गोल्डकपबाट बाहिरियो

विराटनगर । १६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगितामा ललितपुरको सातदोबाटो यूथ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति सम्पन्न तेस्रो क्वाटर फाइनल खेलमा आयोजक राष्ट्रिय जागृति क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै सात दोबाटोले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

इटहरी रंगशालामा भएको खेलमा सातदोबाटोका सुरजज्यु ठकुरी र समीर तामाङले एक–एक गोल गर्दै टोलीलाई जित दिलाए । खेलको ३१औँ मिनेटमा सुरजले करिब ३० यार्ड टाढाबाट शक्तिशाली प्रहार गर्दै उत्कृष्ट गोल गरेका थिए। त्यसको चार मिनेटमै समीर तामाङले अर्को गोल थप्दै पहिलो हाफमै टोलीलाई २–० को स्पष्ट अग्रता दिलाए ।

पहिलो गोलमा उत्साहित सात दोबाटोले निरन्तर दबाब बनाइरहँदा आयोजक टोली भने सुरक्षात्मक खेलमा सीमित भयो। ३५औँ मिनेटमा राज भुसालको प्रहार गोल पोस्टमा लागेर फर्किएपछि समीर तामाङले रिबाउन्डलाई सदुपयोग गर्दै सहज रूपमा गोलमा परिणत गरेका थिए ।
दोस्रो हाफमा राष्ट्रिय जागृति क्लबले खेलमा फर्कने प्रयास गरे पनि सातदोबाटोको संगठित रक्षापंक्ति अगाडि उनीहरू सफल हुन सकेनन् । घरेलु मैदानमा खेलेको आयोजक टोली भने पहिलो खेलबाटै प्रतियोगिताबाट बाहिरिन बाध्य बन्यो ।

उत्कृष्ट प्रदर्शन गरेका समीर तामाङ ‘प्लेयर अफ द म्याच’ घोषित हुँदै नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

अब सातदोबाटो यूथ क्लबले फाइनल प्रवेशका लागि अर्को सेमिफाइनल खेलमा प्लानिङ ब्वाइज युनाइटेड र युनाइटेड खरसाङ फुटबल क्लब (यूकेएफसी) बिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको फाइनल खेल वैशाख ७ गते हुने तय भएको छ। विजेता टोलीले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित मितिः बिहिबार, ०३ वैशाख २०८३
https://www.jawaaf.com/storage/01KP7N6JB9EYQFP7P9K43W1BBC.jpg

इटहरी गोल्डकप : साबिक विजेता मछिन्द्र सेमिफाइनलमा प्रवेश

काठमाडौं । साबिक विजेता मछिन्द्र फुटबल क्लब १६औं संस्करणको इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको दोस्रो क्वाटरफाइनल खेलमा झापा ११ फुटबल क्लबलाई सडेनडेथमा ८–७ गोल अन्तरले पराजित गर्दै मछिन्द्रले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

इटहरी रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलको निर्धारित ९० मिनेट १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । पेनाल्टीमा पनि दुबै टोलीले ५–५ गोल गरेपछि खेल सडेनडेथमा पुगेको हो । सडेनडेथमा झापाका विशाल मादीको प्रहार आकाशिएपछि मछिन्द्रको जित सुनिश्चित भएको थियो ।

मछिन्द्रका तर्फबाट देवेन्द्र तामाङ, सनिस श्रेष्ठ, दीपेश गुरुङ, मिलन राई, सौरभ लिम्बु, एलिक श्रेष्ठ, विशाल भण्डारी र रोहित चन्दले प्रहार गोलमा परिणत गरेका थिए । यद्यपि, पेमा तामाङको प्रहार झापाली गोलकिपर मौषम मगरले बचाएका थिए ।

झापा ११ का प्रसान्त लिम्बु, निशान बस्नेत, बाबा टुण्डे, स्मार्टा मिउटु सलोमन किंग, राजेश दाहाल र किरण सुमारले गोल गरेका थिए भने गोलकिपर मौषम मगरको प्रहार निर्णायक क्षणमा आकाशिएको थियो ।

यसअघि खेलको ५५औं मिनेटमा बाबा टुण्डेको गोलबाट झापाले अग्रता लिएको थियो। तर ४३औं मिनेटमा डि–एरिया भित्र योगेश गुरुङको ह्यान्ड भएपछि रेफ्री उमेश बिडारीले मछिन्द्रलाई पेनाल्टी दिएका थिए । उक्त अवसरलाई सनिस श्रेष्ठले सदुपयोग गर्दै बराबरी गोल फर्काएका थिए ।
बाँकी समयमा दुबै टोलीबाट थप गोल हुन नसकेपछि खेल पेनाल्टी हुँदै सडेनडेथमा पुगेको हो। उत्कृष्ट प्रदर्शन गरेका सनिस श्रेष्ठ प्लेयर अफ द म्याच घोषित हुँदै नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

अब मछिन्द्रले सेमिफाइनलमा युवा समाज मोरङसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ। युवा समाज उद्घाटन खेलमै जस्टजोन एफसी नाइजेरियालाई हराउँदै अन्तिम चारमा पुगिसकेको छ।

इटहरी गोल्डकपमा दोस्रो पटक सहभागी मछिन्द्र र झापा ११बीच अघिल्लो संस्करणमा पनि क्वाटरफाइनलमा भेट भएको थियो, जसमा मछिन्द्रले १–० को जित निकालेको थियो।

बुधबार हुने तेस्रो क्वाटरफाइनलमा आयोजक राष्ट्रिय जागृति क्लबले सातदोबाटो युथ क्लब, ललितपुरसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिता बैशाख ७ गतेसम्म चल्नेछ, जहाँ विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

प्रकाशित मितिः बुधबार, ०२ वैशाख २०८३
https://www.jawaaf.com/storage/01KP53AATJ2JPV7C3E0W6TJZ54.jfif

नाइजेरियन टोलीमाथि मोरङको रोमाञ्चक जित, इटहरी गोल्डकपको सेमिफाइनलमा स्थान सुरक्षित

विराटनगर । युवा समाज मोरङले जस्ट जोन एफसी नाइजेरियालाई ३–२ गोल अन्तरले पराजित गर्दै १६औं अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। सोमबार राति सम्पन्न उद्घाटन खेलमा मोरङले संघर्षपूर्ण जित निकाल्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो।

खेल सुरु भएको चौथो मिनेटमै श्रीजन गौतमले गोल गर्दै मोरङलाई अग्रता दिलाए। विपक्षी डिफेन्डरबाट रिबाउण्ड भएको बललाई सदुपयोग गर्दै उनले सुरुवाती दबाबलाई गोलमा परिणत गरेका थिए। तर, पहिलो हाफको ३५औं मिनेटमा डिबोला हामजामले बराबरी गोल फर्काउँदै नाइजेरियन टोलीलाई खेलमा फर्काए। डेबिड ओलवोको फ्रिकिक नियन्त्रण गर्न नसक्दा आएको अवसरलाई उनले जाली चुमाएका थिए। पहिलो हाफ १–१ को बराबरीमा टुंगिएको थियो।

दोस्रो हाफमा मोरङले आक्रामक खेल प्रस्तुत ग¥यो। ३८औं मिनेटमा सुजन डंगोलले उत्कृष्ट गोल गर्दै टोलीलाई पुनः अग्रता दिलाए भने त्यसको केही मिनेटपछि ४२औं मिनेटमा दोर्जे तामाङले अर्को गोल थप्दै स्कोर ३–१ बनाए।

खेलको अन्तिम समयमा नाइजेरियन टोलीले दबाब बढाउँदै अतिरिक्त समयमा एडिगन पिटरमार्फत एक गोल फर्काए पनि त्यो हार टार्न पर्याप्त भएन। उत्कृष्ट प्रदर्शन गरेका दोर्जे तामाङ खेलको ‘प्लेयर अफ द म्याच’ घोषित हुँदै नगद १० हजार रुपैयाँबाट सम्मानित भए।

प्रतियोगिताअन्तर्गत मंगलबार हुने दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लब र झापा–११बीच प्रतिस्पर्धा हुनेछ। राष्ट्रिय जागृति क्लबद्वारा आयोजित प्रतियोगिता वैशाख ७ गतेसम्म सञ्चालन हुनेछ।

प्रतियोगितामा दुई विदेशी टोलीसहित आठ टोलीको सहभागिता रहेको छ। विजेताले १० लाख रुपैयाँ तथा उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई १ लाख रुपैयाँ र सर्वाधिक गोलकर्तालाई २५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ। विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई २० हजार रुपैयाँका दरले पुरस्कृत गरिनेछ।
क्लबका अध्यक्ष केशव कार्कीका अनुसार प्रतियोगिता सञ्चालनका लागि कुल ८८ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

प्रकाशित मितिः मङ्गलबार, ०१ वैशाख २०८३
https://www.jawaaf.com/storage/01KP2BCH3DC5148B1SBRCXXAJC.jpg

बैंगलुरुसँग मुम्बई इन्डियन्स १८ रनले पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को खेलमा रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) विजयी भएको छ । आइतबार राति भएको खेलमा आरसीबीले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित गरेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको आरसीबीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २४० रन बनाएको थियो ।

आरसिबीका लागि फिल साल्ट, विराट कोहली र राजीव पार्टीदारले अर्धशतक बनाए ।

आरसीबीका लागि फिल सल्टले ३६ बलमा ७८ रन बनाए । त्यस्तै, रजत पाटीदारले २० बलमा ५३ रन तथा विराट कोहलीले ३८ बलमा ५० रनको अर्धशतकीय पारी खेलेका थिए ।

२४१ रनको विशाल लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २२२ रन मात्र बनाउन सक्यो ।

यो जितसँगै आरसीबीले तालिकामा महत्वपूर्ण २ अङ्क जोडेको छ  ।

प्रकाशित मितिः सोमबार, ३० चैत २०८२
https://www.jawaaf.com/storage/01KP29ZAANWN324Q4B7PCTZJPT.jpg

नवौँ भरौल गोल्ड कप सम्पन्न, आरटीएफसी मलेसिया च्याम्पियन

सुनसरी । अन्तर्राष्ट्रिय आमन्त्रण नवौँ भरौल गोल्ड कप फुटबल प्रतियोगिता–२०८२ सफलतापूर्वक सम्पन्न भएको छ । वराहक्षेत्र नगरपालिका–कालाबंजरमा आयोजित प्रतियोगिताको उपाधि आरटीएफसी मलेसियाले जितेको छ ।

सम्पन्न फाइनल खेलमा आरटीएफसी मलेसियाले पथरी–११ फुटबल क्लब, मोरङलाई ३–२ गोलको प्रतिस्पर्धात्मक नतिजामा पराजित गर्दै च्याम्पियन बन्न सफल भयो । निकै रोमाञ्चक बनेको खेलमा दुवै टोलीले उच्च स्तरको प्रदर्शन गरेका थिए, जसले दर्शकहरूलाई अन्तिम समयसम्म उत्साहित बनाएको थियो ।

प्रतियोगिताको सफल आयोजनामा योगदान पु¥याउने आयोजक समिति, विभिन्न सहयोगी संस्था, प्रायोजक तथा व्यवस्थापन टोलीप्रति आयोजकले आभार व्यक्त गरेको छ ।

साथै, प्रतियोगितामा सहभागी सम्पूर्ण टोलीहरूले अनुशासित र खेल भावना अनुसार प्रतिस्पर्धा प्रस्तुत गरेकोमा प्रशंसा गरिएको छ ।

स्थानीय स्तरमा फुटबलको विकास र खेल संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले खेलप्रेमी दर्शकहरूको उल्लेखनीय साथ पाएको आयोजकले जनाएको छ ।

आयोजक पक्षले आगामी दिनहरूमा पनि यस्ता प्रतियोगिताहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै थप व्यवस्थित र आकर्षक बनाउने लक्ष्य लिएको छ ।

प्रकाशित मितिः सोमबार, ३० चैत २०८२
https://www.jawaaf.com/storage/01KNZQ8JFCWPKS63ESJPGECSSA.jpg

आइपिएल : चेन्नाईसँग दिल्ली २३ रनले पराजित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)मा चेन्नाई सुपर किंङ्स विजयी भएको छ ।

शनिबार राति भएको खेलमा चेन्नई सुपर चेन्नाईले दिल्ली क्यापिटल्सलाई २३ रनले पराजित गरेको हो ।

चेन्नाईका लागि सन्जु सामसनले विष्फोटक ब्याटिङ गर्दै मात्र ५६ बलमा अविजित ११५ रन बनाए । उनलाई अर्का ब्याट्सम्यान आयुष म्हात्रेले ३६ बलमा ५९ रन बनाए । शिवम दुबेले आक्रामक खेल्दै १० बलमा अविजित २० रन बनाए ।

किङ्सले दिएको २१३ रनको लक्ष्य पछ्याएको दिल्लीले १८९ रन मात्र बनाउन सक्यो ।

प्रकाशित मितिः आइतबार, २९ चैत २०८२