इटहरी गोल्डकप : साबिक विजेता मछिन्द्र सेमिफाइनलमा प्रवेश
काठमाडौं । साबिक विजेता मछिन्द्र फुटबल क्लब १६औं संस्करणको इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको दोस्रो क्वाटरफाइनल खेलमा झापा ११ फुटबल क्लबलाई सडेनडेथमा ८–७ गोल अन्तरले पराजित गर्दै मछिन्द्रले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
इटहरी रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलको निर्धारित ९० मिनेट १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । पेनाल्टीमा पनि दुबै टोलीले ५–५ गोल गरेपछि खेल सडेनडेथमा पुगेको हो । सडेनडेथमा झापाका विशाल मादीको प्रहार आकाशिएपछि मछिन्द्रको जित सुनिश्चित भएको थियो ।
मछिन्द्रका तर्फबाट देवेन्द्र तामाङ, सनिस श्रेष्ठ, दीपेश गुरुङ, मिलन राई, सौरभ लिम्बु, एलिक श्रेष्ठ, विशाल भण्डारी र रोहित चन्दले प्रहार गोलमा परिणत गरेका थिए । यद्यपि, पेमा तामाङको प्रहार झापाली गोलकिपर मौषम मगरले बचाएका थिए ।
झापा ११ का प्रसान्त लिम्बु, निशान बस्नेत, बाबा टुण्डे, स्मार्टा मिउटु सलोमन किंग, राजेश दाहाल र किरण सुमारले गोल गरेका थिए भने गोलकिपर मौषम मगरको प्रहार निर्णायक क्षणमा आकाशिएको थियो ।
यसअघि खेलको ५५औं मिनेटमा बाबा टुण्डेको गोलबाट झापाले अग्रता लिएको थियो। तर ४३औं मिनेटमा डि–एरिया भित्र योगेश गुरुङको ह्यान्ड भएपछि रेफ्री उमेश बिडारीले मछिन्द्रलाई पेनाल्टी दिएका थिए । उक्त अवसरलाई सनिस श्रेष्ठले सदुपयोग गर्दै बराबरी गोल फर्काएका थिए ।
बाँकी समयमा दुबै टोलीबाट थप गोल हुन नसकेपछि खेल पेनाल्टी हुँदै सडेनडेथमा पुगेको हो। उत्कृष्ट प्रदर्शन गरेका सनिस श्रेष्ठ प्लेयर अफ द म्याच घोषित हुँदै नगद १० हजार रुपैयाँ प्राप्त गरे ।
अब मछिन्द्रले सेमिफाइनलमा युवा समाज मोरङसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ। युवा समाज उद्घाटन खेलमै जस्टजोन एफसी नाइजेरियालाई हराउँदै अन्तिम चारमा पुगिसकेको छ।
इटहरी गोल्डकपमा दोस्रो पटक सहभागी मछिन्द्र र झापा ११बीच अघिल्लो संस्करणमा पनि क्वाटरफाइनलमा भेट भएको थियो, जसमा मछिन्द्रले १–० को जित निकालेको थियो।
बुधबार हुने तेस्रो क्वाटरफाइनलमा आयोजक राष्ट्रिय जागृति क्लबले सातदोबाटो युथ क्लब, ललितपुरसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिता बैशाख ७ गतेसम्म चल्नेछ, जहाँ विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
नाइजेरियन टोलीमाथि मोरङको रोमाञ्चक जित, इटहरी गोल्डकपको सेमिफाइनलमा स्थान सुरक्षित
विराटनगर । युवा समाज मोरङले जस्ट जोन एफसी नाइजेरियालाई ३–२ गोल अन्तरले पराजित गर्दै १६औं अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। सोमबार राति सम्पन्न उद्घाटन खेलमा मोरङले संघर्षपूर्ण जित निकाल्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो।
खेल सुरु भएको चौथो मिनेटमै श्रीजन गौतमले गोल गर्दै मोरङलाई अग्रता दिलाए। विपक्षी डिफेन्डरबाट रिबाउण्ड भएको बललाई सदुपयोग गर्दै उनले सुरुवाती दबाबलाई गोलमा परिणत गरेका थिए। तर, पहिलो हाफको ३५औं मिनेटमा डिबोला हामजामले बराबरी गोल फर्काउँदै नाइजेरियन टोलीलाई खेलमा फर्काए। डेबिड ओलवोको फ्रिकिक नियन्त्रण गर्न नसक्दा आएको अवसरलाई उनले जाली चुमाएका थिए। पहिलो हाफ १–१ को बराबरीमा टुंगिएको थियो।
दोस्रो हाफमा मोरङले आक्रामक खेल प्रस्तुत ग¥यो। ३८औं मिनेटमा सुजन डंगोलले उत्कृष्ट गोल गर्दै टोलीलाई पुनः अग्रता दिलाए भने त्यसको केही मिनेटपछि ४२औं मिनेटमा दोर्जे तामाङले अर्को गोल थप्दै स्कोर ३–१ बनाए।
खेलको अन्तिम समयमा नाइजेरियन टोलीले दबाब बढाउँदै अतिरिक्त समयमा एडिगन पिटरमार्फत एक गोल फर्काए पनि त्यो हार टार्न पर्याप्त भएन। उत्कृष्ट प्रदर्शन गरेका दोर्जे तामाङ खेलको ‘प्लेयर अफ द म्याच’ घोषित हुँदै नगद १० हजार रुपैयाँबाट सम्मानित भए।
प्रतियोगिताअन्तर्गत मंगलबार हुने दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लब र झापा–११बीच प्रतिस्पर्धा हुनेछ। राष्ट्रिय जागृति क्लबद्वारा आयोजित प्रतियोगिता वैशाख ७ गतेसम्म सञ्चालन हुनेछ।
प्रतियोगितामा दुई विदेशी टोलीसहित आठ टोलीको सहभागिता रहेको छ। विजेताले १० लाख रुपैयाँ तथा उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई १ लाख रुपैयाँ र सर्वाधिक गोलकर्तालाई २५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ। विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई २० हजार रुपैयाँका दरले पुरस्कृत गरिनेछ।
क्लबका अध्यक्ष केशव कार्कीका अनुसार प्रतियोगिता सञ्चालनका लागि कुल ८८ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
बैंगलुरुसँग मुम्बई इन्डियन्स १८ रनले पराजित
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को खेलमा रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) विजयी भएको छ । आइतबार राति भएको खेलमा आरसीबीले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित गरेको हो ।
टस हारेर ब्याटिङको निम्तो पाएको आरसीबीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २४० रन बनाएको थियो ।
आरसिबीका लागि फिल साल्ट, विराट कोहली र राजीव पार्टीदारले अर्धशतक बनाए ।
आरसीबीका लागि फिल सल्टले ३६ बलमा ७८ रन बनाए । त्यस्तै, रजत पाटीदारले २० बलमा ५३ रन तथा विराट कोहलीले ३८ बलमा ५० रनको अर्धशतकीय पारी खेलेका थिए ।
२४१ रनको विशाल लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २२२ रन मात्र बनाउन सक्यो ।
यो जितसँगै आरसीबीले तालिकामा महत्वपूर्ण २ अङ्क जोडेको छ ।
नवौँ भरौल गोल्ड कप सम्पन्न, आरटीएफसी मलेसिया च्याम्पियन
सुनसरी । अन्तर्राष्ट्रिय आमन्त्रण नवौँ भरौल गोल्ड कप फुटबल प्रतियोगिता–२०८२ सफलतापूर्वक सम्पन्न भएको छ । वराहक्षेत्र नगरपालिका–कालाबंजरमा आयोजित प्रतियोगिताको उपाधि आरटीएफसी मलेसियाले जितेको छ ।
सम्पन्न फाइनल खेलमा आरटीएफसी मलेसियाले पथरी–११ फुटबल क्लब, मोरङलाई ३–२ गोलको प्रतिस्पर्धात्मक नतिजामा पराजित गर्दै च्याम्पियन बन्न सफल भयो । निकै रोमाञ्चक बनेको खेलमा दुवै टोलीले उच्च स्तरको प्रदर्शन गरेका थिए, जसले दर्शकहरूलाई अन्तिम समयसम्म उत्साहित बनाएको थियो ।
प्रतियोगिताको सफल आयोजनामा योगदान पु¥याउने आयोजक समिति, विभिन्न सहयोगी संस्था, प्रायोजक तथा व्यवस्थापन टोलीप्रति आयोजकले आभार व्यक्त गरेको छ ।
साथै, प्रतियोगितामा सहभागी सम्पूर्ण टोलीहरूले अनुशासित र खेल भावना अनुसार प्रतिस्पर्धा प्रस्तुत गरेकोमा प्रशंसा गरिएको छ ।
स्थानीय स्तरमा फुटबलको विकास र खेल संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले खेलप्रेमी दर्शकहरूको उल्लेखनीय साथ पाएको आयोजकले जनाएको छ ।
आयोजक पक्षले आगामी दिनहरूमा पनि यस्ता प्रतियोगिताहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै थप व्यवस्थित र आकर्षक बनाउने लक्ष्य लिएको छ ।
आइपिएल : चेन्नाईसँग दिल्ली २३ रनले पराजित
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)मा चेन्नाई सुपर किंङ्स विजयी भएको छ ।
शनिबार राति भएको खेलमा चेन्नई सुपर चेन्नाईले दिल्ली क्यापिटल्सलाई २३ रनले पराजित गरेको हो ।
चेन्नाईका लागि सन्जु सामसनले विष्फोटक ब्याटिङ गर्दै मात्र ५६ बलमा अविजित ११५ रन बनाए । उनलाई अर्का ब्याट्सम्यान आयुष म्हात्रेले ३६ बलमा ५९ रन बनाए । शिवम दुबेले आक्रामक खेल्दै १० बलमा अविजित २० रन बनाए ।
किङ्सले दिएको २१३ रनको लक्ष्य पछ्याएको दिल्लीले १८९ रन मात्र बनाउन सक्यो ।
नवौँ अन्तर्राष्ट्रिय भरौला गोल्ड कप २०२६ मा आरटी एफसीको विजयी सुरुआत
सुनसरी । ‘नवौँ अन्तर्राष्ट्रिय भरौला गोल्ड कप २०२६’ मा आरटी एफसी, मलेसियाले विजयी सुरुआत गर्दै सेमिफाइनलमा स्थान बनाएको छ ।
सुनसरीको बराहक्षेत्र–५, कलाबञ्जारस्थित ज.डे.जे. भरौला खेल मैदानमा जारी आफ्नो पहिलो खेलमै आरटी एफसीले यङ ब्रदर्स क्लब सुनसरीलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
आरटी एफसीको जितमा विशाल भण्डारीले हेडरमार्फत पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसपछि विदेशी खेलाडी अब यो मिलेले अर्को गोल थप्दै जित सुनिश्चित गरे ।
यस जितसँगै आरटी एफसी मलेसिया प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । विदेशमा रहेर पनि नेपाली खेलकुद गतिविधिमा सक्रिय रहँदै आएको उक्त टोलीले यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेको छ । भरौला गोल्ड कपमा सहभागिताले टोलीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने उत्कृष्ट अवसर प्रदान गरेको विश्वास गरिएको छ ।
प्रतियोगितामा नेपाल, भारत र मलेसियाका क्लबहरूको सहभागिता रहेको छ । विशेष गरी विदेशी टोलीको उपस्थितिले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक र आकर्षक बनाएको आयोजकले जनाएको छ ।
विजेता तथा उपविजेता टोलीलाई आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ । साथै, यस प्रतियोगिताले स्थानीय स्तरमा फुटबलको विकास र प्रवद्र्धनमा महत्त्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
अमेरिकामा सन्तोष राईलाई काँस्य पदक
काठमाडौं । अमेरिकामा सम्पन्न युएसए ओपन कराते च्याम्पियनसिप २०२६ मा नेपालका सन्तोष राई ले काता विधामा काँस्य पदक जितेका छन् ।
फोर्ट वर्थ कन्भेन्सन सेन्टर मा आइतबार सम्पन्न प्रतियोगितामा सन्तोषले पुनःअवसर चरणमार्फत उत्कृष्ट प्रदर्शन गर्दै पदक सुरक्षित गरेका हुन् । पुनःअवसर चरणमा उनले अमेरिकाका खेलाडी कारास्क्वेललाई पराजित गर्दै नेपाललाई पदक दिलाए ।
यसअघि सन्तोषले आफ्नो यात्रा उत्कृष्ट ढंगले सुरु गरेका थिए । पहिलो खेलमा अमेरिकाकै भिरायो पिएरपाओलोलाई हराउँदै उनले जितको सुरुवात गरेका थिए भने दोस्रो खेलमा कोम्पस जोनीलाई पनि पराजित गरे । तर तेस्रो खेलमा जापानका ओसाको हिसाओसँग पराजित भएपछि उनी फाइनल पुग्न सकेनन् । त्यसपछि पुनःअवसरमार्फत उनले काँस्य पदक जित्न सफल भए ।
कुमिते विधामा पनि सन्तोषले राम्रो प्रदर्शन गरे । उनले पाँच बाउट जिते पनि पदकका लागि पर्याप्त हुन सकेन । पुनःअवसर चरणमा सार्दी मार्सेलोसँग अन्तिम समयमा सम्हालिन नसक्दा उनी अर्को पदकबाट चुके । यसअघि उनले नाथानियल जुनियरलाई ७–० ले हराएका थिए भने सोर्बी ओरिया र कारास्क्वेललाई पराजित गर्दै अगाडि बढेका थिए । चौथो खेलमा घरेलु टोलीका कुचुक्कसँग हार व्यहोरेपछि फाइनल पुग्ने अवसर गुमाए ।
सन्तोषका प्रशिक्षक सुनिल लामा ले खेलाडीले सन्तोषजनक प्रदर्शन गरेको बताए । उनका अनुसार अन्तिम समयमा केही कमजोरी देखिँदा अर्को पदकबाट वञ्चित हुनुपरेको हो ।
आइपिएल : राजस्थानसँग गुजरात ६ रनले पराजित
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हातल पारेको छ । शनिबार अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा राजस्थानले गुजरात टाइटन्सलाई ६ रनले पराजित गरेको हो ।
राजस्थानले दिएको २११ रनको विजयी लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २०४ रनमात्रै बनाउन सक्यो ।
टस हारेर ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाउँदै २१० रन बनाएको थियो । ब्याटिङमा ध्रुव जुरेलले ४२ बलमा ७५ रन बनाए ।
यसैगरी ओपनर ब्याट्सम्यान यशस्वी जैयसवालले ३६ बलमा ५५ रन र वैभव सूर्यवंशीले १८ बलमा ३१ रन बनाएका थिए ।
गुजरातका लागि कागिसो रबाडाले ४ ओभरमा ४२ रन खर्चेर २ विकेट लिए भने अशोक शर्मा र रासिद खानका नाममा १–१ विकेट । साई सुदर्शनले ४४ बलमा ७३ रन बनाए । जोस बटलरले २८ र रासिद खानले २४ रन जोडे। अन्तिम २ ओभरमा जितका लागि १५ रन आवश्यक रहेकामा गुजरातले ८ रन मात्रै जोड्न सक्यो ।
मुम्बईसँग कोलकाता ६ विकेटल पराजित
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)मा मुम्बई इण्डियन्सले जित हात पारेको छ । मुम्बईको घरेलु मैदानमा भएको खेलमा मुम्बईले कोलकाता नाईट राइडर्सलाई ६ विकेटले पराजित गरेको हो ।
कोलकाताले दिएको २२१ रनको लक्ष्य पछ्याएको मुम्बईले १९ दशमलब १ ओभरमा ४ विकेट गुमाएरको थियो ।
मुम्बईको जितमा ओपनर रायन रिकल्टनले सर्वाधिक ८१ रनको अर्धशतकीय इनिङ खेल्दै आउट भए । उनले ४३ बलमा ४ चौका र ८ छक्का प्रहार गरे ।
रोहित शर्माले १४८ रनको शतकीय साझेदारी गरे । रोहितले ३८ बलमा ६ चौका र ६ छक्काको सहयोगमा ७८ रन बनाउँदै आउट भएका थिए ।
तिलक बर्मा २० तथा सुर्यकुमार यादव १६ रनमा आउट हुँदा कप्तान हार्दिक पाण्ड्या १८ रनमा अविजित रहे ।
पहिलो खेलमा जितका साथ मुम्बई २ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ ।
जुम्ला–रारा सातौँ अल्ट्रा म्याराथन वैशाख २६ गते हुने
मुगु । जुम्ला–रारा अल्ट्रा म्याराथनको सातौँ संस्करण आगामी वैशाख २६ गते बाट सुरु हुने भएको छ । कर्णाली खेलकुद क्लब जुम्लाको आयोजनामा राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका खेलाडीको सहभागी हुने म्याराथन जुम्ला सदरमुकाम खलङ्गा बजार बाट सुरु हुने भएको क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिए ।
म्याराथुनमा प्रतियोगितामा सहभागी हुनका लागि एक सूचना प्रकाशित गरिएको छ । कर्णाली क्षेत्रको प्राकृतिक सौन्दर्य र साहसिक खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य सहित जुम्लामा रहेको पर्यटकीय र मुगु जिल्लामा रहेको रारा ताल लगायत अन्य पर्यटकीय क्षेत्रहरूको अन्तराष्ट्रिय क्षेत्रमा प्रचार प्रचार गर्ने हिसाबले प्रतियोगिता आयोजना गर्न लागिएको कर्णाली खेलकुद क्लब जुम्लाका अध्यक्ष सरोज शाहीले बताएका छन् ।
विभिन्न देशका धावक सहभागी हुने प्रतियोगिता अन्तर्गत पाँच किलो मिटर दौडका लागि कर्मचारी, उद्योगी–व्यापारी तथा इच्छुक व्यक्ति सहभागी हुन सक्नेछन् । जसका लागि ५०० रुपैयाँ दर्ता शुल्क तोकिएको छ । १० किलोमिटर दौडमा १८ वर्षमुनिका बालबालिकाका लागि दर्ता शुल्क निःशुल्क गरिएको छ ।
प्रतियोगिताको ५१ किलोमिटर दौडअन्तर्गत स्थानीय धावकका लागि ३ हजार रुपैयाँ र अन्य धावकका लागि ५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । पाँच किलोमिटर तर्फ प्रथम हुनेलाई रु पाँच हजार, दोस्रोलाई तीन हजार रुपैयाँ र तेस्रोलाई दुई हजार रुपैयाँ पुरस्कार तोकिएको अध्यक्ष शाहीले जानकारी दिए ।
साथै १० किलोमिटर तर्फ प्रथम हुनेलाई १० हजार रुपैयाँ, दोस्रोलाई ७ हजार रुपैयाँ र तेस्रोलाई ५ हजार रुपैयाँ तथा ५१ किलो मिटर तर्फ प्रथम हुनेलाई १ लाख रुपैयाँ, दोस्रोलाई ७५ हजार रुपैयाँ, तेस्रोलाई ५० हजार रुपैयाँ, चौथो र पाँचौँलाई समान २०–२० हजार रुपैयाँ पुरस्कारको आयोजक सस्थाले व्यवस्थापन गरिएको छ ।
प्रतियोगितामा सहभागी हुनका लागि आगामी वैशाख २० गतेसम्म नाम दर्ता गर्नुपर्ने क्लबले जनाएको छ ।