पाथीभरामा एक वर्षमा चार करोड ८२ लाख बढी भेटी संकलन
ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित पाथीभरामा एक वर्षमा चार करोड ८२ लाख बढी भेटी संकलन भएको छ । गत साउन महिनादेखि असार महिना सम्ममा चार करोड ८२ लाख तीन हजार ८५५ रुपियाँ भेटी संकलन भएको हो ।
पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको विवरण अनुसार गत साउन महिनामा दश लाख ३९ हजार रुपियाँ, भदौमा नौ लाख ९७ हजार रुपियाँ, असोजमा ३३ लाख ८२ हजार रुपियाँ भेटी संकलन भएको छ । यस्तै कार्तिक महिनामा ३४ लाख ४८ हजार ५०० रुपियाँ, मङ्सिरमा ७५ लाख ४९ हजार १०० रुपियाँ, पुस महिनामा २४ लाख २५ हजार रुपियाँ संकलन भएको छ ।
माघ महिनामा १८ लाख ४७ हजार ५०० रुपियाँ, फागुन ३१ लाख १० हजार रुपियाँ, चैत महिनामा ५८ लाख ४४ हजार ५०० रुपियाँ भेटी संकलन भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए । उनका अनुसार सबैभन्दा धेरै वैशाख महिनामा एक करोड ६ लाख २८ हजार रुपियाँ भेटी संकलन भएको छ । एकै महिनामा एक करोड बढी भेटी संकलन भएको सम्भवत यो पहिलो रेकर्ड भएको कार्यकारी निर्देशक हाङ्बाङको भनाई छ ।
यस्तै जेठ महिनामा ४६ लाख ६० हजार ६०० रुपियाँ र असार महिनामा ३२ लाख ७२ हजार ६५५ रुपियाँ भेटी संकलन भएको छ । समितिका अनुसार सार एक वर्षमा २५ लाख २ हजार ७८ जना दर्शनार्थीले पाथीभरा मन्दिरको दर्शन गरेका छन् ।
त्यस्तै चालु आर्थिक वर्षको साउन महिनामा तीन लाख १८ हजार ५०० रुपैयाँ भेटी संकलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । दुई हजार ४६९ जनाले पाथीभरामा पुगेर पूजापाठ गरेको थियो ।
लाखे नाचले इलामको पर्यटनमा सांस्कृतिक आकर्षण थप्दै
इलाम । प्राकृतिक सौन्दर्यका लागि परिचित इलाममा परम्परागत लाखे नाच सुरु भएसँगै यहाँको सांस्कृतिक पर्यटनमा समेत आकर्षण थपिएको छ । राणाकालदेखि मनाइँदै आएको लाखे नाचलाई इलामको ऐतिहासिक तथा मौलिक सांस्कृतिक पहिचानका रूपमा लिइँदै आएको छ ।
नागपञ्चमीदेखि कृष्णाष्टमीसम्म मनाइने लाखे जात्रामा स्थानीय युवायुवतीदेखि वृद्धवृद्धासम्म सहभागी हुने गरेका छन् । नेपाल भाषा तथा संस्कृति समाज इलामको आयोजनामा सोमबारदेखि सुरु भएको लाखे नाच धार्मिकस्थल माईथानबाट सुरु भई मालापथ, चोकबजार, नवीन चोक, टुँडिखेल, धोबीधारा, नारायणस्थानलगायत बजार क्षेत्रका विभिन्न स्थानको परिक्रमा गर्ने गरिन्छ ।
लाखे नाच हेर्न स्थानीयसँगै इलाम पुगेका पर्यटक तथा आगन्तुकसमेत सहभागी हुने गरेका छन् । प्राकृतिक पर्यटनसँगै स्थानीय कला, संस्कृति, जात्रा तथा परम्परालाई पर्यटनसँग जोड्न सके इलाममा पर्यटकको बसाइ अवधि बढाउन सकिने स्थानीयको अपेक्षा छ ।
नेपाल भाषा तथा संस्कृति समाजका अध्यक्ष प्रविन श्रेष्ठले संस्कृति र परम्पराको संरक्षणसँगै नयाँ पुस्तालाई मौलिक सांस्कृतिक अभ्याससँग जोड्ने उद्देश्यले लाखे नाच आयोजना गरिएको बताए ।
इलाममा नेवारी समुदायले मनाउँदै आएको यो जात्रा विसं १९६० देखि सुरु भएको बताइन्छ । सुरुमा नेवार समुदायको पर्वका रूपमा मनाइँदै आए पनि पछिल्लो समय लाखे नाच इलामको सांस्कृतिक पहिचान र सामाजिक एकताको प्रतीकका रूपमा स्थापित हुँदै गएको नेवार समुदायका अगुवाहरू बताउँछन् ।
इलाम बजारसँगै जिल्लाका एकतप्पा, नामसालिङ, फिक्कल, दानाबारी र जितपुरलगायत क्षेत्रमा पनि लाखे नाच निकालिँदै आएको छ । परम्परागत जात्रा, स्थानीय संस्कृति र समुदायको सहभागिताले इलामको पर्यटनलाई थप विविध बनाउन सहयोग पुग्ने देखिन्छ ।
इलाम चियाबारी, कन्याम, श्रीअन्तु, माइपोखरीलगायत प्राकृतिक तथा पर्यटकीय गन्तव्यका कारण पर्यटकको रोजाइमा पर्दै आएको छ । यस्ता गन्तव्यसँगै स्थानीय सांस्कृतिक पर्व तथा जात्रालाई पर्यटन प्रवद्र्धनसँग जोड्न सके इलामको सांस्कृतिक पर्यटनको सम्भावना अझ विस्तार गर्न सकिने स्थानीय पर्यटन व्यवसायीहरूको भनाइ छ ।
नेकपा सरकारमा सहभागी, कोशी मन्त्रिपरिषद् ११ सदस्यीय
विराटनगर । नेकपा सरकारमा सहभागी भएसँगै कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । नेकपा र नेकपा (एमाले)बीच प्रदेश सरकार सञ्चालनमा सहकार्य गर्ने सहमतिअनुसार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
नयाँ कार्यविभाजनअनुसार कोशी प्रदेशको मन्त्रिपरिषद् ११ सदस्यीय बनेको छ । मन्त्रिपरिषद्मा मुख्यमन्त्रीसहित नौ मन्त्री र दुई राज्यमन्त्री रहेका छन् ।
नेकपाबाट चार मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका छन् । नेकपाका गोम्बु शेर्पाले आन्तरिक मामिला तथा कानुन, जीवन आचार्यले भौतिक पूर्वाधार विकास, गीता तिम्सिनाले सामाजिक विकास तथा खिनु लङ्वा लिम्बूले पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् । नेकपाकै सपना दर्जीलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।
सरकार विस्तारसँगै एमालेबाट यसअघि जिम्मेवारीमा रहेका केही मन्त्रीको मन्त्रालयसमेत हेरफेर गरिएको छ । यसअघि आन्तरिक मामिला तथा कानुन मन्त्री रहेका इन्द्रमणि पराजुलीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यस्तै, सामाजिक विकास मन्त्री रहेका रामप्रसाद महतोलाई उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघि आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री रहेका उमाकान्त गौतमलाई स्वास्थ्य राज्यमन्त्री बनाइएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेप र खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री तिलचन पाठकको जिम्मेवारी भने यथावत राखिएको छ ।
नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख पर्शुराम खापुङ्ले पद तथा गोपनीयताको शपथ गराएका छन् । राज्यमन्त्रीहरूलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शपथ गराएका हुन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मुख्यमन्त्री कार्कीले नयाँ नियुक्ति, हेरफेर तथा कार्यविभाजनका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका थिए ।
नेकपा सरकारमा सहभागी भएसँगै कोशी प्रदेशमा एमाले र नेकपा सत्ता साझेदार दल बनेका छन् । नयाँ सत्ता समीकरणअनुसार मन्त्रिपरिषद्को जिम्मेवारी टुंगिएसँगै प्रदेश सरकारको संरचना पूर्ण भएको छ ।
सम्भवतः यो मेरो फुटबल करियरको अन्तिम वर्ष हो : रोनाल्डो
काठमाडौं । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले आफ्नो व्यावसायिक फुटबल करियर अन्तिम चरणमा पुगेको संकेत गरेका छन् । उनले सम्भवतः यो वर्ष आफ्नो फुटबल करियरको अन्तिम वर्ष हुन सक्ने बताएका छन् ।
रोनाल्डोले आफूले फुटबलबाट बिदा लिनुअघि उत्कृष्ट विरासत छाड्न चाहेको बताएका हुन् । उनले फुटबलपछि गर्ने कामका बारेमा समेत योजना बनाइसकेको बताएका छन् । ‘सम्भवतः यो मेरो फुटबलको अन्तिम वर्ष हो र म उत्कृष्ट विरासत छाड्न चाहन्छु । मैले आफ्नो भविष्यका लागि सबै योजना बनाइसकेको छु,’ रोनाल्डोले भनेका छन् ।
२५ वर्षभन्दा लामो फुटबल करियरमा निरन्तरको मेहनत र त्यागपछि फुटबलबाट बाहिरिँदा ठूलो खालीपन महसुस हुन सक्ने भन्दै उनले त्यसलाई अन्य गतिविधिमार्फत पूरा गर्ने योजना रहेको बताए ।
‘फुटबलले ठूलो खालीपन छाड्न सक्छ । त्यसैले समयलाई एउटै काममा होइन, विभिन्न तरिकाले व्यस्त राख्नुपर्छ,’ उनले भने । उनले भविष्यमा धेरै यात्रा गर्ने, प्याडेल खेल्ने तथा हेर्ने र आफ्नो करियरबाट प्राप्त उपलब्धिको आनन्द लिने बताए ।
३९ वर्षका रोनाल्डोले सन् २००३ मा पोर्चुगलको राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए । त्यसयता उनी विश्व फुटबलका सबैभन्दा सफल र चर्चित खेलाडीमध्ये एक बनेका छन् । उनको अन्तिम विश्वकप यात्रा भने सन् २०२६ मा टुंगिएको छ । स्पेनसँगको अन्तिम १६ को खेलमा पोर्चुगल १–० ले पराजित भएपछि रोनाल्डोको विश्वकप यात्रा समाप्त भएको हो । स्पेनका मिकेल मेरिनोले खेलको अन्तिमतिर गरेको गोल निर्णायक बनेको थियो ।
रोनाल्डोले यसअघि नै २०२६ को विश्वकप आफ्नो अन्तिम विश्वकप हुने संकेत गरेका थिए । विश्वकपमा उनको व्यक्तिगत उपलब्धि भने उल्लेखनीय रह्यो । पोर्चुगलले उनको पहिलो विश्वकप सन् २००६ मा चौथो स्थान हासिल गरेको थियो । त्यसपछि २०१० र २०१८ मा अन्तिम १६, २०१४ मा समूह चरण तथा २०२२ मा क्वार्टरफाइनलसम्म पुगेको थियो ।
सन् २०२२ को विश्वकपमा पोर्चुगल क्वार्टरफाइनलबाट बाहिरिँदा रोनाल्डोका लामो समयका प्रतिस्पर्धी लियोनल मेसीले अर्जेन्टिनालाई विश्वकप जिताएका थिए । त्यसपछि फुटबलका दुई महान् खेलाडी रोनाल्डो र मेसीबीचको ‘ग्रेटेस्ट अफ अल टाइम’ (गोट) बहसले नयाँ मोड लिएको थियो ।
२५ वर्षभन्दा लामो करियरमा रोनाल्डोले म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड, युभेन्टस र हाल साउदी अरेबियाको अल नासरबाट व्यावसायिक फुटबल खेलेका छन् । उनले क्लब तथा देशका लागि थुप्रै व्यक्तिगत तथा सामूहिक उपाधि जित्दै विश्व फुटबलमा आफ्नो छुट्टै विरासत बनाएका छन् । एएनआई
थारु समुदायको गुरिया पर्व मनाउँदै
काठमाडौं । थारु समुदायले आज गुरिया पर्व मनाउँदै छ । विभिन्न कार्यक्रमको आयोजना गरी कैलालीलगायत थारु समुदायमा यो पर्व मनाइँदैछ ।
थारु समुदायले मनाउने गुरिया पर्व एक विशिष्ट सांस्कृतिक पहिचान बोकेको जनविश्वास छ ।
विशेषगरी पश्चिम नेपालका कैलाली, कञ्चनपुरलगायत जिल्लामा बसोबास गर्ने थारु समुदायले यो पर्वलाई विशेष महत्त्वका साथ मनाउँने गर्दछन् । यो पर्व श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमीको दिन मनाइन्छ ।
मानार्थ महारथीको दर्जा लिन भारतीय प्रधानसेनापति सेठ नेपालमा
काठमाडौं । भारतीय प्रधानसेनापति जनरल धिरज सेठ मानार्थ महारथीको दर्जा ग्रहण गर्न आइतबार काठमाडौं आइपुगेका छन् ।
एयर इन्डियाको विमानमार्फत अपराह्न ४ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका सेठले नेपाल भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्नेछन् भने नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग पनि भेट गर्ने कार्यक्रम छ ।
भारतीय सेनाको प्रधानसेनापतिको जिम्मेवारी गत जुन ३० मा सम्हालेका सेठलाई नेपालले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्न लागेको हो ।
सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजना हुने विशेष समारोहमा भारतीय प्रधानसेनापति सेठलाई मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्नेछन् ।
नेपाल र भारतबीचका प्रधानसेनापतिलाई एकअर्को देशको मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहँदै आएको छ । यही परम्पराअनुसार नेपाल भ्रमणमा आएका सेठलाई पनि उक्त सम्मान प्रदान गर्न लागिएको हो ।
देउवाले भने– गगन नेतृत्वको विशेष महाधिवेशन मान्दिनँ, अदालतको निर्णय स्वीकार्छु
काठमाडौं । नेपाली कांग्रेसका निर्वतमान सभापति शेरबहादुर देउवाले गगन थापाको नेतृत्वमा भएको विशेष महाधिवेशनलाई आफूले मान्यता नदिएको बताएका छन् । कांग्रेसको इतरपक्षको राष्ट्रिय भेलाको बन्द सत्रमा बोल्दै देउवाले पार्टीको सहमतिबिना जबरजस्ती विशेष महाधिवेशन गरिएको दाबी गरे ।
विशेष महाधिवेशनका विषयमा आफूहरूले अदालतमा मुद्दा दायर गरेको उल्लेख गर्दै उनले अदालतको पूर्ण निर्णय आउन बाँकी रहेकाले यसबारे धेरै टिप्पणी नगर्ने बताए ।
देउवाले भने, ‘पञ्चायतकालदेखि नै न्यायालयले, सर्वोच्च अदालतदेखि सम्पूर्ण न्यायालयले हामीलाई न्याय दिएको हो। वास्तवमा भन्ने हो भने राजाले थुक्दा पनि राजाको आयोगलाई खारेज गरेको हो। पञ्चायतकालमा पनि धेरै जेलबाट छुटेको म। अहिले पनि न्यायालयले मलाई बचाएको छ, जसको कारण म नेपालमा आइपुगेको छु।’
विशेष महाधिवेशनबारे उनले पार्टीको सहमतिबिना अधिवेशन नगर्न आफूले आग्रह गरेको बताए ।
उनले भने, ‘मैले त्यो अधिवेशनलाई मानेको पनि थिइनँ। सबैलाई मैले भनेको थिएँ– पार्टीको सहमतिले ग¥यौँ, विशेष महाधिवेशन यसरी नगर्नु। भन्दा भन्दै जबरजस्ती विशेष महाधिवेशन गरेर अन्याय तरिकाले धेरै साथीहरूलाई बाहिर राखियो। जसको खिलाफमा हामी अदालतमा गयौँ।’
अदालतप्रति आफूलाई पूर्ण विश्वास रहेको बताउँदै देउवाले अदालतको निर्णय आफूले मान्ने स्पष्ट पारे ।
उनले भने, ‘मलाई विश्वास छ, अदालतको पूर्ण निर्णय आउन बाँकी छ। त्योभन्दा अगाडि धेरै कुरा भन्नु छैन। म अदालतलाई पूर्ण विश्वास गर्दै अदालतको कुरा मान्छु।’
बन्द सत्रमा देउवाले धर्मका विषयमा पनि आफ्नो धारणा राखे । आफू व्यक्तिगत रूपमा हिन्दु भएको उल्लेख गर्दै उनले नेपालमा धार्मिक स्वतन्त्रता हुनुपर्ने बताए ।
देउवाले भने, ‘म हिन्दु हुँ। मेरो व्रतबन्ध हिन्दु संस्कारअनुसार भएको हो। जनै पनि हालेको छु। बिहे मैले गुह्येश्वरीमा हिन्दु रीतिरिवाजअनुसार गरेको हुँ। म व्यक्तिगत रूपमा पूरा हिन्दु हुँ।’
नेपालको धार्मिक तथा राजनीतिक स्वरूपबारे निर्णय गर्ने अधिकार नेपाली जनतामै रहेको उनको भनाइ थियो । उनले कुनै पनि धर्म मान्ने अधिकारबाट नागरिकलाई वञ्चित गर्न नहुने बताए ।
‘नेपाल के हुने, के नहुने भन्ने कुरा नेपाली जनताको हातमा छ । तर हिन्दुलाई हिन्दु हुन पाउँदैन भन्नचाहिँ पाइँदैन। म हिन्दु हुँ। त्यसकारण पशुपति पनि जान्छु, पशुपतिनाथको पूजा गर्छु,’ देउवाले भने।
उनले आफू बुद्ध धर्मप्रति पनि सम्मान र सद्भाव राख्ने बताए । ‘मलाई बुद्धप्रति पनि माया छ। बुद्धिजमलाई आज संसारले मानेको छ। बुद्धिजमलाई वैज्ञानिक धर्म पनि मानेका छन्,’ उनले भने।
चितवनमा मानिस र गाईलाई घाइते बनाउने बाघ नियन्त्रणमा
चितवन । चितवनको राप्ती नगरपालिकाको एक बस्तीमा पसेर आतङ्क मच्चाएको एउटा बाघलाई चितवन राष्ट्रिय निकुञ्जको टोलीले नियन्त्रणमा लिएको छ ।
राप्ती नगरपालिका वडा नम्बर १ को बस्तीमा पसेको उक्त बाघलाई निकुञ्जको प्राविधिक टोलीले हात्तीको सहयोगमा नियन्त्रणमा लिएको हो ।
आइतबार बिहान साढे ६ बजे अचानक बस्तीमा बाघ पसेपछि स्थानीयवासी त्रसित बनेका थिए । बाघको आक्रमणबाट स्थानीय ६० वर्षीय ठाकुर अधिकारी घाइते भएका छन् । त्यस्तै दिला कुमारी तामाङको एउटा गाई सामान्य घाइते भएको छ । बाघको आक्रमणबाट घाइते भएका अधिकारीको हाल भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको जनाइएको छ ।
घटना लगत्तै स्थानीय प्रशासन र निकुञ्ज प्रशासनलाई खबर गरिएको थियो। खबर पाउनासाथ निकुञ्जबाट हात्ती र प्राविधिक टोली घटनास्थलमा खटिएको थियो। टोलीको अथक प्रयासपछि बिहान साढे १० बजे बाघलाई ‘डार्ट’ (बेहोस) गरेर नियन्त्रणमा लिइएको निकुञ्ज प्रशासनले जनाएको छ ।
बस्तीमा पसेर उपद्रो मच्चाएको बाघ नियन्त्रणमा आएसँगै लामो समयदेखि डर र त्रासका बीच बसेका स्थानीयवासीले राहतको सास फेरेका छन्। नियन्त्रणमा लिइएको बाघलाई निकुञ्जको सुरक्षित स्थानमा लैजाने तयारी भइरहेको छ ।
जाजरकोटमा पहिरो : १० जना घाइते, तीन बेपत्ता
जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा अविरल वर्षापछि गएको पहिरोमा परी १० जना घाइते भएका छन् । पहिरोपछि तीन जना सम्पर्कविहीन भएका छन् ।
शनिबार दिउँसो करिब ४ बजेदेखि परेको अविरल वर्षाका कारण भेरी–२ रिसाङका विभिन्न स्थानमा पहिरो गएको हो । पहिरोले घर तथा अस्थायी टहरा भत्काउनुका साथै केही घर जोखिममा परेका छन् ।
घटनालगत्तै घाइतेको उद्धार तथा सम्पर्कविहीन भएकाहरूको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको ५० जनाको टोली परिचालन गरिएको छ ।
पहिरोका कारण भेरी नगरपालिका–३ स्यालाका पूर्णबहादुर विकको ढुंगा–माटोले बनेको दुईतले कच्ची घर पूर्णरूपमा क्षति भएको छ । घरमा रहेका पाँच जना परिवारका सदस्य भने सुरक्षित रूपमा आफन्तको घरमा बसेका छन् । सोही स्थानका भैरवी केसीका दुईवटा टिनका अस्थायी टहरा पनि पूर्णरूपमा क्षति भएका छन्। ती टहरामा भने मानिस बसोबास नगर्ने जनाइएको छ ।
पहिरोमा परी घाइते हुनेमा भेरी–२ रिसाङका ६० वर्षीय रामबहादुर शाही, ४५ वर्षीय सिद्धिबहादुर कामी, ५७ वर्षीया भद्राकली कार्की, भेरी–१ डौरीकाँडाका ४५ वर्षीय मनवीर चदरा, १६ वर्षीया मनिषा विक, ४७ वर्षीया मोतीकला विक, भेरी–२ का करिब ५२ वर्षीय केदार कार्की, करिब २३ वर्षीया अनिता कार्की, १० वर्षीय युनिश शाही र ४५ वर्षीया सुन्तली चदरा रहेका छन् ।
रामबहादुर शाहीको छाती, टाउको र हातमा चोट लागेको छ । जिल्ला अस्पताल जाजरकोटमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि राति नेपालगञ्ज रिफर गरिएको छ । सिद्धिबहादुर कामीको ढाडमा चोट लागेको छ र उनको जिल्ला अस्पतालमै उपचार भइरहेको छ ।
भद्राकली कार्कीको शरीरका विभिन्न भागमा चोट लागेको छ। गम्भीर अवस्थामा रहेकी उनलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि सुर्खेत रिफर गरिएको छ । केदार कार्कीलाई पनि जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।
मनवीर चदरा, मनिषा विक र मोतीकला विकको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। अनिता कार्की, युनिश शाही र सुन्तली चदराको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको जनाइएको छ ।
पहिरोपछि भाग्ने क्रममा भेरी नगरपालिका–२ फारुलाका करिब ५४ वर्षीय उमासिंह खत्री, चिसापानीका करिब ७० वर्षीय भीमबहादुर कार्की र भेरी–२ का करिब ८७ वर्षीया रती खत्री सम्पर्कविहीन भएका छन् ।
उनीहरूको खोजी तथा घाइतेको उद्धारका लागि सुरक्षाकर्मीको टोली घटनास्थलमा परिचालन गरिएको छ । घटनास्थलमा पहिरोका कारण भएको क्षति तथा उद्धार कार्यबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।
८०औँ स्वतन्त्रता दिवस मनाउँदै भारत
काठमाडौं । भारतले आज ८०औँ स्वतन्त्रता दिवस मनाउँदैछ । सन् १९४७ अगस्ट १५ मा ब्रिटिस शासनबाट स्वतन्त्र भएको अबसरमा भारतले यस वर्षको स्वतन्त्रता दिवस विभिन्न कार्यक्रमसहित मनाउन लागेको हो ।
स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले बिहान नयाँदिल्लीस्थित राजघाट पुगेर राष्ट्रपिता महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले स्वतन्त्रता संग्राममा योगदान दिएका सेनानीहरूको बलिदानको स्मरण गर्दै देशवासीलाई शुभकामना दिएका छन् ।
प्रधानमन्त्री मोदीले शनिबार दिल्लीस्थित ऐतिहासिक लालकिल्लाबाट राष्ट्रिय झण्डा फहराउने र देशवासीलाई सम्बोधन गर्ने कार्यक्रम छ । लालकिल्लाबाट मोदीले लगातार १३औँ पटक स्वतन्त्रता दिवसको सम्बोधन गर्न लागेका हुन् ।
यस वर्षको स्वतन्त्रता दिवस समारोहमा राष्ट्रिय गीत ‘वन्दे मातरम्’को १५०औँ वर्षगाँठलाई विशेष महत्व दिइएको छ । समारोहमा पहिलोपटक लालकिल्लाबाट ‘वन्दे मातरम्’ सामूहिक रूपमा प्रस्तुत गरिनेछ । साथै ‘विकसित भारत–२०४७’ निर्माणमा युवाशक्तिको भूमिकालाई समेत प्रमुखताका साथ प्रस्तुत गरिनेछ ।
समारोहमा भारतीय सेना, नौसेना, वायुसेना र दिल्ली प्रहरीका सुरक्षाकर्मीले गार्ड अफ अनर प्रस्तुत गर्नेछन् । झण्डोत्तोलनका क्रममा २१ तोपको सलामी दिइने कार्यक्रम छ ।
समारोहमा सेना, नौसेना र वायुसेनाका करिब २ हजार ५ सय छात्रछात्रा तथा ‘माइ भारत’का स्वयंसेवक सहभागी हुनेछन् । उनीहरूले ज्ञानपथमा बसेर ‘वन्दे मातरम्’ शब्दको आकृति बनाउनेछन् ।
यस अवसरमा विभिन्न क्षेत्रका करिब ५ हजार विशेष अतिथिलाई समेत निमन्त्रणा गरिएको छ । महिला उद्यमी, सरसफाइ कर्मचारी, सडक व्यापारी, युवा नवप्रवर्तक, वैज्ञानिक, स्टार्टअप संस्थापक, कलाकार, किसान, विद्यार्थी तथा सरकारी योजनाका लाभग्राही समारोहमा सहभागी हुनेछन् । एएनआई