आइतबार, २१ भदौ २०८३

/frontend/images/redline.png
https://www.jawaaf.com/storage/01M11E2GJYBVHY5KG76NAH3Z3Z.jpg

भोटेकोशी बाढी : पाँच जलविद्युत आयोजनाका २०० भन्दा बढी व्यक्ति सम्पर्कविहीन

काठमाडौं । भोटेकोशीमा आएको बाढीका कारण रसुवाका विभिन्न जलविद्युत आयोजनामा कार्यरत २०० भन्दा बढी व्यक्ति सम्पर्कविहीन भएका छन् । बाढीपछि आयोजनास्थलमा रहेका कर्मचारी तथा कामदारको उद्धारमा कठिनाइ भएको छ भने कतिपय स्थानमा हेलिकोप्टरमार्फत उद्धारको तयारी भइरहेको छ ।

निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा कार्यरत एन्ड्रिज हाइड्रोका ७६ जना सम्पर्कविहीन भएका छन् । उनीहरूमध्ये करिब आधा नेपाली र आधा विदेशी रहेको बताइएको छ । आयोजनाको प्रवद्र्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीका ११ जना तथा परामर्शदाता जेड कन्सल्ट र लामा जेभियर्स जेभीका ७ जना पनि सम्पर्कविहीन भएको सूचना प्राप्त भएको छ ।

उक्त आयोजनाको हेडवक्र्स क्षेत्रमा १२ जना तथा विद्युतगृह क्षेत्रमा २०० भन्दा बढी व्यक्ति उद्धारको पर्खाइमा रहेको बताइएको छ । आयोजना स्थलबाट पहिलो चरणको उद्धार भएको खबर आए पनि त्यसको आधिकारिक पुष्टि हुन बाँकी छ ।

१११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनामा कार्यरत ५१ जना सम्पर्कविहीन छन् । तिमुरेमा रहेका तीन जनाले अग्लो स्थानमा पुगेर ज्यान जोगाएको बताइएको छ । उनीहरूसँग समेत सञ्चार सम्पर्क स्थापित हुन नसकेको जनाइएको छ ।

त्यस्तै, ५ मेगावाटको मैलुङ खोला जलविद्युत आयोजनाको विद्युतगृहमा कार्यरत आठ जना कर्मचारी बुधबारदेखि नै सम्पर्कविहीन छन् । उनीहरूको अवस्था बुझ्न हेलिकोप्टर व्यवस्थापन गरी स्थलगत अवलोकन गर्ने प्रयास भइरहेको छ ।

१२० मेगावाटको रसुवा भोटेकोशी जलविद्युत आयोजनामा सिभिल कन्ट्र्याक्टर सिनो हाइड्रोका दुई जना सम्पर्कविहीन भएका छन् । अन्य पाँच जना नजिकैको गाउँमा शरण लिएर बसेका छन् । उनीहरूमध्ये तीन जना चिनियाँ र दुई जना नेपाली रहेको तथा उद्धारको पर्खाइमा रहेको बताइएको छ । उनीहरूको उद्धारका लागि हेलिकोप्टर पठाउने तयारी भइरहेको छ ।

यसैगरी, २० मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजनामा बुधबार सुरुङमा थुनिएपछि सम्पर्कविहीन भएका ६० जनासँग अहिलेसम्म सम्पर्क स्थापित हुन सकेको छैन । सम्पर्कविहीन हुनेमा २५ जना स्टाफ र ३५ जना कामदार छन् । उनीहरूको अवस्था अझै अज्ञात रहेको छ ।

लाङटाङ खोला आयोजनास्थलमा विकासकर्ता कम्पनीका प्रतिनिधिहरू पुगेर उद्धारको प्रयास अघि बढाए पनि हालसम्म हेलिकोप्टरको व्यवस्था हुन नसकेको बताइएको छ ।

बाढीका कारण सडक तथा सञ्चार सम्पर्क अवरुद्ध हुँदा प्रभावित आयोजनामा उद्धार कार्य थप चुनौतीपूर्ण बनेको छ । 

प्रकाशित मितिः बिहिबार, ११ भदौ २०८३
https://www.jawaaf.com/storage/01M10KECV8YEWEVXXEDVT00FQF.jpg

नागढुङ्गा–मुग्लिङसहित देशभरका मुख्य राजमार्ग ठप्प, जोखिम कायमै

काठमाडौं । अविरल वर्षा र बाढीपहिरोको उच्च जोखिमका कारण काठमाडौं उपत्यका जोड्ने मुख्य सडक खण्डसहित देशभरका प्रमुख राजमार्गहरू प्रभावित भएका छन् । प्रहरी प्रधान कार्यालय तथा ट्राफिक प्रहरीले बिहीबार बिहान अद्यावधिक विवरण सार्वजनिक गर्दै विभिन्न सडक खण्डहरू पूर्ण तथा आंशिक रूपमा बन्द गरिएको जनाएको छ ।

विशेषगरी काठमाडौँलाई तराई र पश्चिम नेपालसँग जोड्ने लाइफलाइन मानिने नागढुङ्गा–मुग्लिङ सडक खण्डमा बाढीको उच्च जोखिम रहेकाले सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ ।

यस्तै, बाढीपहिरो जोखिमयुक्त पहाडी सडकहरूमा दुर्घटना हुन नदिन प्रशासनले बीपी राजमार्ग, कान्तिलोकपथ र टोखा–छहरे खण्डमा रातको समयमा सवारी सञ्चालन गर्न रोक लगाएको छ ।

नागढुङ्गा–मुग्लिङ सडक खण्ड बाढीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै नागढुङ्गादेखि मुग्लिङसम्मको सडकमा दुवैतर्फबाट सवारी आवागमनमा पूर्ण रोक लगाइएको छ । बीपी राजमार्ग पनि सवारी सञ्चालनमा रोक लगाइएको छ । सम्भावित बाढी र जोखिमका कारण खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा अर्को सूचना नआएसम्म सवारी सञ्चालनमा रोक लगाइएको हो । उक्त सडक खण्ड मौसम र सडकको अवस्था हेरेर मात्र सवारी चल्न दिइने बताइएको छ । 

हेटौँडा–ठिङ्गन–बागमती हुँदै ललितपुर जोड्ने कान्तिलोकपथमा पहिरोको जोखिमका कारण साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म (रातको समयमा) सवारी साधन सञ्चालन गर्न निषेध गरिएको छ ।

रसुवा (त्रिशुली–मैलुङ–स्याफ्रुबेँसी खण्ड) अन्तर्गतको उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित सडक बाढीका कारण पूर्ण रूपमा अवरुद्ध बनेको छ । यो सडक खण्ड लामो समय अवरुद्ध रहने जनाइएको छ । साथै जिल्लाका अन्य मुख्य राजमार्गहरू पनि पूर्ण बन्द छन् । 

शिवपुरी गाउँपालिका–८ घट्टेखोला क्षेत्रमा जोखिम रहेकाले राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको छ । नुवाकोटका मुख्य राजमार्गहरूमा पनि अवरोध कायमै छ । 

यस्तै, ईलाम नगरपालिका–९ राजदुवालीस्थित झापा–ताप्लेजुङ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । यस सडक खण्डमा यात्राका लागि वैकल्पिक बाटो प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

प्रहरी प्रशासनले बाढीपहिरोको जोखिम कायमै रहेकाले अत्यावश्यक कामबाहेक लामो दूरी र रातको समयमा यात्रा नगर्न तथा सम्बन्धित प्रहरी कार्यालय वा ट्राफिक कन्ट्रोलको सम्पर्कमा रहेर मात्र यात्रा तय गर्न सर्वसाधारणलाई अपिल गरेको छ ।

प्रकाशित मितिः बिहिबार, ११ भदौ २०८३
https://www.jawaaf.com/storage/01M10JQYSEADXZR0G7XJ7Y6TNT.jpeg

रसुवा बाढी अपडेट : हालसम्म १६२ जनाको शव फेला, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडौं । रसुवामा आएको भीषण बाढीका कारण प्रभावित विभिन्न जिल्लाहरूबाट हालसम्म १६२ जनाको शव फेला परेको छ । आज विहान करिब ५ बजेसम्मको प्राप्त विवरण अनुसार बाढी प्रभावित क्षेत्र तथा नदी तटीय क्षेत्रहरूबाट ती शवहरू फेला परेका हुन् । 

बाढीका कारण हालसम्म ४१ जना घाइतेको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ भने उद्धार तथा खोजी कार्यका लागि ३ हजार ३१८ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ । 

हालसम्म फेला परेका शवहरुमा चितवनबाट ६४ जना, धादिङबाट २७, नवलपरासी (पूर्व) बाट २६ जना, गोरखाबाट २० जना, नुवाकोटबाट १२ जना, तनहुँबाट ९ जना, रसुवाबाट २ जना र नवलपरासी (पश्चिम)बाट २ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार बाढी प्रभावित रसुवा जिल्लाका विभिन्न प्रहरी चौकी तथा इकाइहरूमा कार्यरत कुल ६४ जना प्रहरीमध्ये ३६ जना सम्पर्कमा आएका छन् भने २८ जना अझै सम्पर्कविहीन रहेका छन् । 

इलाका प्रहरी कार्यालय, टिमुरेमा कार्यरत २३ मध्ये १३ जना सम्पर्कमा आएका छन् । यस्तै प्रहरी चौकी, रसुवागढीमा कार्यरत ९ मध्ये १ जना मात्र सम्पर्कमा आएका छन् । प्रहरी चौकी, स्यापुर्बेँसीमा कार्यरत ८ मध्ये ५ जना मात्र सम्पर्कमा आएका छन् । 

यस्तै, अस्थायी प्रहरी पोस्ट, मैलुङमा कार्यरत ८ मध्ये ३ जना सम्पर्क छन् भने प्रहरी चौकी, बेत्रावतीमा कार्यरत १० मध्ये ९ जना सम्पर्कमा छन् । प्रहरी चौकी, हाकुमा कार्यरत ६ मध्ये ५ जना सम्पर्कमा रहेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार उद्धार गरिएका ४१ घाइतेहरूको काठमाडौँ तथा नुवाकोटका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ । जसमध्ये त्रिवि शिक्षण अस्पताल (टीचिङ) २० जना, त्रिशुली अस्पताल ९ जना, राष्ट्रिय ट्रमा सेन्टर ४ जना, वीर अस्पताल ३ जना, नर्भिक अस्पताल ३ जना, वीरेन्द्र सैनिक अस्पताल १ जना, ग्रिन सिटी अस्पताल १ जनाको उपचार भइरहेको छ । 

बाढी प्रभावित क्षेत्रमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य तीव्र रूपमा जारी रहेको छ । 

प्रकाशित मितिः बिहिबार, ११ भदौ २०८३
https://www.jawaaf.com/storage/01M0YSZAJQ31NKPGQSVQV8F18K.jpeg

रसुवाको भोटेकोशीमा आएको बाढी नारायणीको देवघाट पुग्यो, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । रसुवा भोटेकोशीमा आएको बाढी नारायणी नदीको देवघाट पुगेको छ। बाढी बढ्दो क्रममा रहेकाले नदी छेउछाउका बस्ती तथा बजार क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

बाढी पूर्वानुमान महाशाखाले आज भदौ १० गते दिउँसो ३ः२० बजे सूचना जारी गर्दै भोटेकोशीमा आएको बाढी नारायणी नदी हुँदै देवघाट पुगेको जनाएको हो।

महाशाखाका अनुसार बाढीको सतह अझै बढ्दो क्रममा रहेकाले नारायणी नदीको आसपासका बस्ती तथा बजार क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

महाशाखाले नदी छेउछाउका बासिन्दालाई सुरक्षित स्थानमा रहन तथा सम्भावित जोखिमबाट जोगिन आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।

प्रकाशित मितिः बुधबार, १० भदौ २०८३
https://www.jawaaf.com/storage/01M0YM4GGHX7Y9T13EVHAP8ZYD.png

बाढी साढे ३ बजे देवघाट आइपुग्ने अनुमान

काठमाडौं । चितवन–देवघाट बाढी मापन केन्द्रमा पानीको सतह बढेर करिब ८ मिटर पुग्न सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

नेपाल बाढी सूचनाका अनुसार देवघाटमा हाल पानीको सतह ४.७६ मिटर रहेको छ। भोटेकोशीमा आएको बाढीको बहाव करिब दिउँसो ३ः३० बजे देवघाट क्षेत्रमा आइपुग्ने अनुमान गरिएको छ।

प्रारम्भिक आकलनअनुसार बाढी आएपछि देवघाटमा पानीको सतह करिब ३ मिटरले बढ्न सक्ने र करिब ८ मिटर पुग्न सक्ने जनाइएको छ। उक्त बाढी २–३ वर्षको पुनरावृत्ति अवधिको हुन सक्ने अनुमान गरिएको छ।

हालको आकलनअनुसार चितवन र नवलपरासी क्षेत्रमा ठूलो डुबानको सम्भावना कम रहेको जनाइएको छ। यद्यपि अर्को सूचना जारी नभएसम्म नदी आसपासका बस्ती तथा बजार क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन र सुरक्षित अग्लो स्थानमा बस्न आग्रह गरिएको छ।

प्रकाशित मितिः बुधबार, १० भदौ २०८३
https://www.jawaaf.com/storage/01M0YBKY80DCXG7W9FTXQE4HZE.jpg

भोटेकोशी बाढी धादिङको गल्छी पुग्यो, उद्धारका लागि तीन हेलिकप्टर परिचालन

काठमाडौं । रसुवाबाट प्रवेश गरेको ठूलो बाढी धादिङको गल्छीसम्म आइपुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका उपसचिव, प्रवक्ता तथा सूचना अधिकारी शान्ति महतका अनुसार बाढी नेपाल प्रवेश गरेको करिब आधा घण्टापछि गल्छीसम्म पुगेको जानकारी प्राप्त भएको हो ।

महतका अनुसार बाढीका कारण नेपाल टेलिकम (एनटीसी) र एनसेलका टावरमा क्षति पुगेकाले सञ्चार सम्पर्क प्रभावित भएको छ । दुवै दूरसञ्चार कम्पनीसँग समन्वय गरी टावर मर्मतको काम भइरहेको उनले जानकारी दिइन् ।

बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको यकिन विवरण भने अझै प्राप्त हुन सकेको छैन । केही स्थानमा उद्धार आवश्यक परेको जानकारी आएपछि नेपाली सेनाका तीनवटा हेलिकप्टर तत्काल परिचालन गरिएको महतले बताइन् । स्वास्थ्यकर्मीसहितको हेलिकप्टरसमेत प्रभावित क्षेत्रमा पुगेको उनले जानकारी दिइन् ।

‘क्षतिको विस्तृत विवरण आइसकेको छैन। एक–दुईवटा घटनामा उद्धार गर्नुपर्ने जानकारी आएपछि हेलिकप्टर तत्काल पठाएका छौँ,’ महतले भनिन् ।

प्राधिकरणले प्रारम्भिक रूपमा बाढी हिमपग्लाइका कारण आएको हुनसक्ने अनुमान गरेको छ । महतका अनुसार नदी केही समयअघि हिमपहिरोका कारण थुनिएको र थुनिएको नदी अचानक खुलेपछि ठूलो बाढी आएको प्रारम्भिक जानकारी प्राप्त भएको हो । 

यद्यपि बाढीको वास्तविक कारणबारे आधिकारिक पुष्टि हुन बाँकी रहेको उनले स्पष्ट पारिन् । 

उनका अनुसार बाढी नेपालमा बिहान ८ः४० बजे प्रवेश गरेको थियो भने प्राधिकरणले रसुवाबाट करिब बिहान ९ बजे घटनाबारे जानकारी प्राप्त गरेको थियो । 

महतले सीमापारबाट आउने यस्ता विपद्का घटनाबारे पूर्वसूचना प्राप्त गर्न चीनसँग थप समन्वय आवश्यक रहेको बताइन् । नदीको माथिल्लो भाग चीनतर्फ रहेकाले नेपालमा बाढी प्रवेश गरेपछि मात्रै जानकारी प्राप्त हुने अवस्था रहेको उनको भनाइ छ ।

यस्ता घटना बढ्दै गएकाले नेपाल र चीनबीच समझदारीपत्र (एमओयू) गरी सीमा–पार विपद् सूचना तथा पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको उनले बताइन् ।

बाढीको अवस्थाबारे छलफल गर्न प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय परिषद्को बैठक बसिरहेको महतले जानकारी दिइन् । यसअघि गृहमन्त्रीको अध्यक्षतामा कमान्ड पोस्टको बैठक सम्पन्न भइसकेको छ । 

उनका अनुसार नीतिगत तथा ठूलो निर्णय आवश्यक पर्ने अवस्था आएमा राष्ट्रिय परिषद्बाट निर्णय हुनेछ । अहिले भने स्थानीय प्रशासन, स्थानीय तह तथा गैरसरकारी संस्थालगायतका निकायलाई उद्धार तथा राहतका लागि परिचालन गरिएको छ ।

त्यस्तै, निजी क्षेत्र, हेलिकप्टर कम्पनी तथा राफ्टिङ एसोसिएसनसँग भएका सम्झौताअनुसार उनीहरूलाई अन्यत्र परिचालन नगरी आवश्यकताअनुसार विपद् प्रभावित क्षेत्रमा परिचालन गर्ने तयारी गरिएको छ ।

प्राधिकरणले प्रभावित क्षेत्रमा खोज तथा उद्धारलाई प्राथमिकतामा राख्दै थप विवरण संकलन तथा आवश्यक समन्वय गरिरहेको जनाएको छ । 

प्रकाशित मितिः बुधबार, १० भदौ २०८३
https://www.jawaaf.com/storage/01M0XYS6GNWVXHZSDNB0ACQB6F.jpg

गोरखकाली रबर उद्योग सञ्चालनबारे अन्योल, चर्चा गरियो तर प्राथमिकतामा परेन्

काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग तथा कलकारखाना पुनः सञ्चालनमा ल्याउने तयारी अघि बढेको छ । 

यसै क्रममा करिब १२ वर्षदेखि बन्द रहेको गोरखकाली रबर उद्योग पुनः सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । उद्योग पुनः सञ्चालनमा आएमा देशमै टायर तथा रबरजन्य सामग्री उत्पादन हुनुका साथै रोजगारीका अवसर सिर्जना हुने अपेक्षा गरिएको छ । सरकारले बन्द उद्योगलाई पुनर्जीवन दिने प्रयास थालेसँगै सर्वसाधारणमा स्वदेशमै रोजगारीका अवसर बढ्ने आशा पलाएको छ । 

तर उद्योग सञ्चालनका लागि आवश्यक लगानी, व्यवस्थापन, प्रविधि, बजार र उत्पादन लागत व्यवस्थापन कसरी गर्ने भन्ने विषय अझै स्पष्ट हुन सकेको छैन ।

त्यस्तै, केहि समय अगाडि सरकारले करिब दुई दशकदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पनि पुनः सञ्चालनमा ल्याएको छ । 

हालै प्रतिनिधि सभा सदस्य तथा सरोकारवालाहरुले गोरखाकाली रबर उद्योग क्षेत्रको स्थलगत अवलोकन गरेका थिए । उनीहरुले उद्योगको भौतिक अवस्था, आवश्यक लगानी, पूर्वाधार र पुनः सञ्चालनका सम्भावनाबारे अध्ययन समेत गरेका छन् । 

उद्योग मन्त्रालयका सहसचिव तथा प्रवक्ता नेत्रप्रसाद सुवेदीले सरकारले लामो समयदेखि बन्द रहेको गोरखकाली रबर उद्योग सञ्चालनको तयारी अघि बढाए पनि उद्योग पुनः सञ्चालनको समय र मोडेल अझै निश्चित नभएको बताए । 

उनका अनुसार उद्योगको सम्पत्ति तथा दायित्वको अवस्था विश्लेषण गर्ने ड्यु डिलिजेन्स अडिट (डीडीए) सम्पन्न भइसकेको छ । विज्ञहरूले तयार पारेको उक्त प्रतिवेदन अर्थ मन्त्रालयमा बुझाइएको छ ।

सुवेदीका अनुसार उद्योगको सम्भाव्यता र आगामी सञ्चालनबारे अध्ययन गर्न उद्योग मन्त्रालयले समेत छुट्टै समिति गठन गरेको छ । उक्त समितिले गोरखकाली रबर उद्योगको स्थलगत अवलोकनसमेत गरिसकेको छ ।

‘डीडीए रिपोर्ट आइसकेको छ । अर्थ मन्त्रालयले पनि केही निर्णय गर्ने क्रममा छ । हाम्रो मन्त्रालयले पनि यसको अवस्था बुझेर ग्राउन्ड तयार गर्न समिति गठन गरेको हो,’ सुवेदीले 

तर डीडीए प्रतिवेदनकै आधारमा तत्काल उद्योग सञ्चालन गर्ने निर्णय भने नभएको उनले बताए । प्रतिवेदनमाथि सरकारका विभिन्न पक्षबाट थप अध्ययन र छलफल आवश्यक रहेको उनले बताए ।

उद्योगको सम्पत्ति र दायित्वको वास्तविक अवस्था महत्वपूर्ण हुने भन्दै सुवेदीले दायित्व ठूलो भए सरकारले त्यसलाई भुक्तानी गरेर उद्योग सञ्चालन गर्न कठिन हुन सक्ने बताए । त्यसैले उद्योगलाई कुन मोडेलमा सञ्चालन गर्ने भन्ने विषयमा समेत छलफल भइरहेको छ ।

सरकारी लगानीबाट सञ्चालन गर्ने, निजी क्षेत्रलाई सहभागी गराउने वा अन्य कुनै मोडेल अपनाउने भन्ने विषयमा अहिलेसम्म निर्णय भइसकेको छैन । निजी क्षेत्र उद्योग सञ्चालनमा इच्छुक हुन्छ कि हुँदैन भन्ने पक्षसमेत अध्ययनको विषय बनेको छ ।

गोरखकाली रबर उद्योग विगतमा निजीकरण गरिएपछि उत्पादन बन्द भएको थियो । नयाँ सरकार गठनसँगै लामो समयदेखि बन्द रहेका सार्वजनिक उद्योग पुनः सञ्चालन गर्ने पहलअन्तर्गत गोरखकाली रबर उद्योगलाई पनि अघि बढाइएको उनले बताए । 

तर उद्योग मन्त्रालयको बजेटमा गोरखकाली रबर उद्योग सञ्चालनका लागि छुट्टै रकम विनियोजन नभएकाले मन्त्रालयले मात्रै तत्काल सञ्चालनको निर्णय गर्न नसक्ने सुवेदीले स्पष्ट पारे ।

उनका अनुसार सरकारी लगानीसम्बन्धी निर्णय गर्ने अधिकार अर्थ मन्त्रालयसँग जोडिएको छ । सरकारी लगानीसम्बन्धी निर्णय गर्ने समितिको अध्यक्ष अर्थमन्त्री रहने भएकाले अर्थ मन्त्रालयबाट लगानीसम्बन्धी पक्ष स्पष्ट नभएसम्म उद्योग मन्त्रालयले एक्लै सञ्चालनको घोषणा गर्न सक्ने अवस्था नभएको उनले बताए । 

‘उद्योगकै लागि भनेर मन्त्रालयले बजेट विनियोजन गरेको छैन । सरकारी लगानीसम्बन्धी निर्णय गर्ने काम अर्थ मन्त्रालयको हुन्छ । त्यो पक्ष क्लियर नभएसम्म हाम्रो मन्त्रालयले मात्रै ‘हामी चलाउँछौँ’ भन्न सक्दैन,’ सुवेदीले भने।

गोरखकाली रबर उद्योगको विगतको उत्पादन र बजार सम्भावनालाई समेत ध्यानमा राखेर आगामी मोडेल तय गरिने मन्त्रालयको तयारी छ । उद्योग सञ्चालनका लागि आवश्यक लगानी, विगतका दायित्व, सम्पत्तिको अवस्था तथा निजी क्षेत्रको सम्भावित सहभागिता लगायत विषयमा थप छलफलपछि मात्रै अन्तिम निर्णय हुने देखिएको छ ।

यससँगै गोरखकाली रबर उद्योग पुनः सञ्चालनको प्रक्रिया अघि बढे पनि कहिलेबाट उत्पादन सुरु हुन्छ र कुन मोडेलमा उद्योग सञ्चालन हुन्छ भन्ने विषय अझै अनिश्चित रहेको छ ।

पुनः सञ्चालन गरिएका उद्योगलाई दीर्घकालसम्म टिकाउन व्यावसायिक व्यवस्थापन, स्पष्ट कार्ययोजना, दक्ष जनशक्ति र प्रतिस्पर्धी उत्पादनमा सरकारले विशेष ध्यान दिनुपर्ने देखिन्छ ।

विगतमा राजनीतिक हस्तक्षेप, कमजोर व्यवस्थापन, उत्पादन लागत, बजारको अभाव र आर्थिक घाटाका कारण सरकारी उद्योगहरू बन्द भएका हुन् ।

रोजगारीको आशा 

गोरखा नगरपालिका वडा नम्बर १३ की वडाध्यक्ष मित्रा परियारले गोरखाकाली रबार उद्योग हाल बेवारिसे अवस्थामा रहेको बताइन् । उद्योगको सुरक्षाका लागि करिब तीन–चार जना गार्ड मात्रै रहेको र उनीहरूले परिसरको रेखदेख गर्दै आएको बताइन् । 

उनले भनिन्, ‘गोरखाकाली रबर उद्योग अहिले बेवारिसे छ । तीन चार जना जति गार्डहरु बस्नुहुन्छ । उहाँहरुले रेखदेख मात्र गरिरहनु भएको छ ।’ उनले उद्योग सञ्चालनमा आए स्थानीयले रोजगार पाउने बताइन् । 

स्थानीयले उद्योग सञ्चालनका लागि जग्गा अधिग्रहण हुँदा विश्वासका साथ सहयोग गरेको उल्लेख गर्दै उनले उद्योग बन्द भएपछि धेरै स्थानीयले रोजगारी गुमाएको बनाइन । रोजगारी गुमेपछि कतिपय स्थानीय विदेश पलायन हुन बाध्य भएको जानकारी दिइन् । 

‘उद्योग चल्यो भने स्थानीयका लागि राम्रो हुन्छ’ भन्ने अपेक्षा स्थानीयमा रहेको उनले बताइन् । उद्योग सञ्चालनमा आए स्थानीयले रोजगारी पाउने र विगतमा उद्योगसँग जोडिएको आर्थिक गतिविधि पुनः चलायमान हुने विश्वास स्थानीयको उल्लेख गरिन् । 

तर सञ्चालनका विषयमा सरकारले स्थानीयसँग अहिलेसम्म स्पष्ट जानकारी वा योजना बारेमा कुरा नभएको उनले बताइन् । उद्योग स्थानीयले सञ्चालन गर्ने हो वा सरकारले नै सञ्चालन गर्ने हो भन्ने विषयमा समेत आफूहरू अन्योलमा रहेको उनले बताइन् । 

सञ्चालनको मोडालिटी कस्तो ?

प्रतिनिधिसभा सदस्य कविन्द्र बुर्लाकोटी र अर्का सदस्य सुशील खड्कासहित अर्थ र उद्योग मन्त्रालयका प्रतिनिधिको टोलीले बन्द उद्योगको स्थलगत निरीक्षण गरेका थिए । उनीहरुले यहि साउन ३१ गते आइतबार उद्योगको निरीक्षण गर्न पुगेका थिए । 

निरीक्षणको क्रममा प्रतिनिधिसभा सदस्य बुर्लाकोटीले उद्योग पुनः सञ्चालनका लागि केही महिनाभित्रै उपयुक्त मोडालिटी तय गरिने बताएका छन् । उनले उद्योग राष्ट्रको गौरवको परियोजना भएको बताए । 

उनका अनुसार गोरखकाली टायर कुन मितिदेखि सञ्चालनमा आउँछ भन्नेबारे अहिले नै यकिन मिति तोक्ने अवस्था छैन । बुर्लाकोटीले उद्योगलाई कुन मोडालिटीमा सञ्चालन गर्न सकिन्छ भन्ने विषय केही महिनाभित्र टुंगो लाग्ने जानकारी दिए । 

उद्योग २०४१ साल जेठ ३० गते उद्योग विभागमा दर्ता भएर २०४२ सालमा शिलान्यास गरेका थियो । उद्योगले वि.सं २०५० को दशकदेखि व्यवसायिक रुपमा उत्पादन थालेको थियो । करिब १० अर्ब बराबरको राज्यको सम्पत्ति र सयौं रोपनी क्षेत्रफलमा फैलिएको रबर उद्योग अहिले बेवारीसे अवस्थामा रहेको छ । उद्योग सञ्चालनको सुरुकै चरणमा करिब चारसय जनाले विभिन्न क्षेत्रमा प्रत्यक्ष रोजगारी पाएका थिए । 

उद्योगलगायत बन्द उद्योग पुनः सञ्चालन गर्ने सरकारी योजनाले रोजगारी सिर्जना र स्वदेशी उत्पादन प्रवद्र्धनमा योगदान पु¥याउन सक्छ । तर यस्ता उद्योगहरू फेरि केही वर्षपछि बन्द नहुने सुनिश्चितताका लागि सरकारले दीर्घकालीन रणनीति र पारदर्शी व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने चुनौती भने अझै छ ।

प्रकाशित मितिः बुधबार, १० भदौ २०८३
https://www.jawaaf.com/storage/01M0W9BP3M3W9JTXRKN3AAHCVQ.jpg

आकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउ

काठमाडौं । बानेश्वरमा आकाशे पुलबाट बाटो काट्न आग्रह गरेपछि ड्युटीमा खटिएकी महिला ट्राफिक प्रहरीमाथि गालीगलौज तथा हातपात गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

मंगलबार काठमाडौंको बानेश्वरस्थित थापागाउँमा ड्युटीमा खटिएकी महिला ट्राफिक प्रहरीमाथि गालीगलौज तथा हातपात गरेको आरोपमा एक जना युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले जानकारी दिए । 

उनका अनुसार पक्राउ पर्नेमा जुम्लाको तातोपानी गाउँपालिका–२ घर भएका २७ वर्षीय राजु कठायत रहेका छन् । एसपी थापाले भने,आज बिहान व्यस्त समय (पिक आवर) मा थापागाउँस्थित सडकमा ड्युटीमा खटिएकी महिला ट्राफिक प्रहरीले पैदलयात्रुलाई आकाशे पुलबाट बाटो काट्न अनुरोध गरेकी थिइन् । तर कठायतले ट्राफिक प्रहरीले भनेको स्थानबाट बाटो नकाट्ने भन्दै गालीगलौज गर्नुका साथै महिला प्रहरीमाथि हातपात गरेको थियो ।’

घटनासम्बन्धी भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको हो । प्रहरीले कठायतलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी थापाले जानकारी दिए ।

प्रकाशित मितिः मङ्गलबार, ०९ भदौ २०८३
https://www.jawaaf.com/storage/01M0VTSGQ9CT9FXCG485ZH978Z.jpg

फोहोर व्यवस्थापनलगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने मेयर्स फोरमको निर्णय

काठमाडौँ । काठमाडौँ उपत्यका मेयर्स फोरमले फोहोर व्यवस्थापनलगायतका समसामयिक विषयमा प्रधानमन्त्री बालेन्द्र शाहको ध्यानाकर्षण गराउने निर्णय गरेको छ।

फोरमको मंगलबार बसेको आकस्मिक बैठकले उक्त निर्णय गरेको फोरमका अध्यक्ष चिरीबाबु महर्जनले जानकरी दिए । 

प्रधानमन्त्रीसँग जतिसक्दो चाँडो भेटघाटको समय मिलाएर उपत्यकाको फोहोर व्यवस्थापन, सडकबत्तीको शुल्क व्यवस्थापन, स्थानीय तहले प्रयोग गरिरहेको जग्गाको भोगाधिकार तथा फोहोर व्यवस्थापनका लागि आवश्यक जग्गा व्यवस्थापनलगायतका विषयमा ध्यानाकर्षण गराउने निर्णय गरेको हो।

बैठकले गत भदौ ५ गते सिंहदरबारमा भएको फोहोर व्यवस्थापनसम्बन्धी बैठकका क्रममा फोरमका पदाधिकारी तथा सदस्यहरूमाथि रास्वपाकी सांसद आशिका तामाङले गरेको व्यवहारप्रति पनि घोर आपत्ति जनाएको छ।

काठमाडौँ उपत्यकाभित्र रहेका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको सञ्जालका रूपमा रहेको फोरमले उपत्यकाको फोहोर व्यवस्थापनका विषयमा यसअघि पनि पटक–पटक छलफल गर्दै आएको जनाएको छ।

फोरमले प्रधानमन्त्री शाह काठमाडौँ महानगरपालिकाको प्रमुख रहेका समयदेखि नै तत्कालीन सरकार र नेप वेस्टबीच उपत्यकाको फोहोर व्यवस्थापनका लागि भएको सम्झौता कार्यान्वयन गर्न वा सम्झौता खारेज गरी फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानका लागि मार्ग प्रशस्त गर्न माग गर्दै आएको जनाएको छ।

फोरमका अध्यक्ष चिरीबाबु महर्जनद्वारा जारी विज्ञप्तिमा उपत्यकाभित्रको फोहोर व्यवस्थापन तीनै तहका सरकारको साझा सरोकारको विषय रहेको उल्लेख गरिएको छ। उपत्यकाको फोहोर व्यवस्थापन समस्या दीर्घकालीन रूपमा समाधान गर्न स्थानीय सरकार सधैँ प्रतिबद्ध रहेको पनि फोरमले जनाएको छ।

प्रकाशित मितिः मङ्गलबार, ०९ भदौ २०८३
https://www.jawaaf.com/storage/01M0VARC87QRZ12ABC6369HMQ6.jpg

कर्णालीमा तीन मन्त्री छान्न नेकपालाई सकस, सात जनाको नाम केन्द्रमा

सुर्खेत । कर्णाली प्रदेश सरकारमा सहभागी हुने तीन मन्त्रीको नाम टुंग्याउन नसकेपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सात जना आकांक्षीको नाम पार्टी केन्द्रमा पठाएको छ । मन्त्री छनोटको जिम्मेवारी अब नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले टुंग्याउने भएका छन् ।

नेकपाले कर्णालीमा पाएको तीन मन्त्रालयमा मन्त्री छनोटका लागि सोमबार बिहानसम्म पनि सहमति जुट्न नसकेपछि सात जना आकांक्षीको नाम केन्द्रमा पठाइएको नेकपा कर्णालीका प्रदेश इन्चार्ज चन्द्रबहादुर शाहीले बताएका छन् । उनका अनुसार केन्द्रबाट नाम फाइनल भएपछि मात्रै मन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्नेछ । 

यसअघि सोमबार बिहान ११ बजे तीन मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउने तयारी गरिएको थियो। प्रदेश प्रमुखको कार्यालयले समेत शपथका लागि समय तय गरिसकेको थियो । तर अन्तिम समयमा मन्त्रीको नाम सिफारिस हुन नसकेपछि मुख्यमन्त्री मंगलबहादुर शाहीले शपथ कार्यक्रम स्थगित गर्न आग्रह गरेका थिए । 

नेकपाबाट विन्दमान विष्ट, मिलन खड्का र जुम्कित लामाको नाम मन्त्रीका रूपमा चर्चामा आए पनि पार्टीभित्रै आकांक्षी धेरै भएपछि निर्णय हुन सकेन । यससँगै साबिक माओवादी र साबिक नेकपा एकीकृत समाजवादी धार बिच मन्त्री चयनलाई लिएर देखिएको मतभेद पनि सतहमा आएको छ । 

नेकपा र नेकपा एमालेबिच भएको सत्ता साझेदारीअनुसार कर्णालीमा नेकपाले मुख्यमन्त्रीसहित तीन मन्त्रालय पाएको छ । नेकपाको भागमा भौतिक पूर्वाधार तथा सहरी विकास, उद्योग–पर्यटन–वन तथा वातावरण र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय छन् । एमालेबाट भने तीन मन्त्री नियुक्त भइसकेका छन् ।

मन्त्री छनोटमा भएको ढिलाइका कारण मुख्यमन्त्री मंगलबहादुर शाही नेतृत्वको कर्णाली सरकार गठन भएको करिब एक महिना पुग्न लाग्दासमेत पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । बजेट कार्यान्वयन र सरकारका नियमित कामकाजमा समेत यसको असर पर्न सक्ने भन्दै आलोचना भइरहेको छ ।

प्रकाशित मितिः मङ्गलबार, ०९ भदौ २०८३