घनश्याम भूसालको भनाइः “ओरालो लागेकाहरूको एकताले निकास दिन सक्दैन”
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले कमजोर र ओरालो लागेकाहरूको एकताबाट देश र वाम आन्दोलनले निकास पाउन नसक्ने बताएका छन् ।
बुधवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले ‘उकालो लाग्ने’ भन्ने भाष्य सिर्जना गर्न कमजोरहरूको एकता अघि सारिएको भए पनि त्यसले वास्तविक समाधान नदिने बताए । भूसालले नेकपा माओवादी केन्द्रसँग पार्टी एकताको तयारीप्रति आपत्ति जनाउँदै समाजवादको जिम्मेवारी लिएर एमाले विभाजन गरी बनेको एकीकृत समाजवादी अहिले त्यो उद्देश्यबाट विचलित भएको टिप्पणी गरे ।
उनले भने, “संकट मोचन गर्ने फर्मुला तयार भएको छ । तर कमजोरहरू, ओरालो लागेकाहरूको एकताले उकालो लागिन्छ भन्ने भाष्य बनाइँदैन । जो आफैं ओरालो हिँड्दैछन्, त्यसले निकास दिन सक्दैन ।”
भूसालले तथाकथित ‘एकताको भ्रम’ मा नपर्न आग्रह गर्दै पार्टीका सम्पूर्ण कमिटी, जनसंगठन, विभाग र आयोगका सदस्यहरूलाई आ–आफ्नो हैसियतमा धैर्यताका साथ रहँदै क्रान्तिकारी विकल्प निर्माणबारे छलफलमा जुट्न आह्वान गरे।
उनका अनुसार, मङ्सिर पहिलो हप्तामा आयोजना हुने राष्ट्रिय भेलाबाट आगामी कार्यभार र कार्ययोजना तय गरिनेछ । उनले सो भेलालाई क्रान्तिकारी पुनर्गठनको दिशामा उठाइएको महत्वपूर्ण कदम भन्दै देशभित्र र बाहिर रहेका देशभक्त, लोकतन्त्रवादी, प्रगतिशील, वामपन्थी तथा कम्युनिष्टहरूलाई सुझाव र सल्लाह दिन अनुरोध गरे ।
‘समयले पार्टी विसर्जन गरायो’ - झाँक्रीको मूल्यांकन
काठमाडौं । नेकपा एकीकृत समाजवादीकीे नेतृ राम कुमारी झाँक्रीले समाजवादी पार्टीसँगको यात्रा टुंगिदै गर्दा खासै दुखेसो नलागेको बताएकी छन् ।
बुधवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेतृ झाँक्रीले आज पार्टीसँगको यात्रा टुंगिदा एक हिसाबले खुसी नै भएको बताइन् । उनले समाजवादी पार्टी सँगको यात्रा गलत हो भन्ने थाहा हुँदाहुँदै पनि सुधार गर्नका लागि केही जिम्मेवारी भएकाले छोड्न नसकेको भन्दै अहिले यो यात्रा टुगिंएको जानकारी दिइन् ।
‘यो यात्रा अवरुद्ध छ भन्ने कुरा हामीले धेरै पहिला थाहा पाएका थियौँ, यो गलत बाटो हो भन्ने पनि थाहा थियो तर त्यसलाई सुधार गर्नका लागि हामी सँग केही जिम्मेवारीहरू थिए । त्यही कारणले गर्दा त्यो यात्रा बिचैमा टुंग्याउन सकेका थिएनौँ तर आज यो यात्रा टुंगिएको छ । तर यात्रा टुंगिदै गर्दा हामी एक हिसाबले खुसी नै छाँै,’उनले भनिन् ।
उनले नेकपा एकीकृत समाजवादी पार्टी निमार्णका क्रममा एउटा अभियानमा चल्छ भन्ने विश्वासका साथमा लागेको भन्दै आजबाट त्यो विश्वास पनि सकिएको बताइन् । उनले समाजवादी पार्टी सँगको यात्रा नयाँ पार्टी विघटन सँगसँगै सकिएको दाबी गरिन् ।
‘नेकपा एकीकृत समाजवादी पार्टी निमार्णका क्रममा एउटा अभियानमा चल्छ भन्ने विश्वासका साथमा हामी लागेका थियौँ तर त्यो आजबाट सकिएको छ । समाजवादी पार्टी सँगको यात्रा त्यो पार्टी विघटन सँगसँगै टुंगियो । त्यो पार्टी सँगको यात्रा टुंगिसके पछाडि हाम्रो रोकिएको अवस्था हो । हामी भित्रपनि धेरै आइडियाहरू छ । हामी सँग पनि थुप्रै साथिहरू छन्, तर यो गर्नुको कारण यसको १ बजेपछि हाम्रो पार्टीको औपचारिक घोषणा हुँदैछ,’उनले भनिन् ।
नेतृ झाँक्रीले समाजवादी पार्टी, दल भित्रका आन्तरिक लोकतन्त्रहरू खुम्चिएको बेला निमार्ण भएको भन्दै जनतामा भरोसा रहेकै कारण भरोसालाई डोर्याउँदै पार्टी निमार्ण गरेको तर समयले पार्टी विसर्जन गर्ने बनाएको पनि बताइन् ।
‘समाजवादी पार्टी यस्तो बेला निमार्ण भएको थियो जुनबेला दल भित्रका आन्तरिक लोकतन्त्रहरू पनि खुम्चिएको थियो, जनतामा भरोसा थियो तर त्यो भरोसालाई डोर्याउनु सक्छौँ होला भन्ने विश्वासले पार्टी निमार्ण गरेको थियौँ । तर समयले पार्टी विसर्जन गर्ने बनायो,’उनले भनिन् ।
राष्ट्रको शान्तिका लागि मतभेदहरू समाधान गरेर अघि बढ्नु राम्रो हो : विद्यादेवी भण्डारी
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर नागरिकताको प्रतिलिपि लिएकी छन् । मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपस्थित भएर प्रतिलिपि लिएकी हुन् ।
प्रतिलिपि लिँदै सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले राजनीतिक दलहरू सुसङ्गठित भएर अघि बढ्नुपर्ने बताएकी छन् । उनले पार्टीभित्रका मतभेदहरू भए अन्तर संघर्ष बाटै समाधान गरेर अघि बढ्नुपर्ने र राष्ट्रको शान्तिका लागि पनि राजनीतिक दलहरू एक हुनुपर्ने बताइन् ।
उनले भनिन्, ‘मैले नागरिकताको प्रतिलिपि निकालेको हो । २४ भदौमा सबै जले ।यो दोस्रो पटक निकालेको प्रतिलिपि हो । तर चुनावी वातावरण बनाउन सरकार लाग्नुपर्छ । पार्टीहरू टुट्नु फुट्नु राम्रो कुरा होइन, पार्टीहरू सुसङ्गठित भएर पार्टीभित्र केही मतभेद छ भने अन्तरसंघर्ष गरेर अघि बढ्नुपर्छ । राष्ट्रको शान्तिका लागि पनि पार्टीहरू पनि सुदृढ हुने र अन्तरसंवाद गरेर अघि बढ्ने, मतभेदहरू पार्टीभित्रै समाधान गरेर अघि बढ्नु राम्रो हो ।’
जेनजी आन्दोलनको दोस्रो दिन २४ भदौमा निवासमा तोडफोड र आगजनी गरिँदा उनको नागरिकता जलेको थियो ।
राष्ट्रपति पौडेल र राष्ट्र संघका महासचिव गुटेरेसबीच शिष्टाचार भेटवार्ता
कतार (दोहा) । राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले शिष्टाचार भेटवार्ता गरेका छन् ।
कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारको राजधानी दोहामा मङ्गलबारदेखि शुरु भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन आएका राष्ट्रपति पौडेल र संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसबीच आज शीष्टाचार भेटवार्ता भएको हो ।
सो अवसरमा राष्ट्रपति पौडेलले कोपनहेगन प्रतिबद्धताहरूलाई कार्यान्वयन गर्न र सामाजिक विकासलाई तीव्रता दिन संयुक्त राष्ट्रसंघका महासचिवले खेल्दै आएको भूमिकाको प्रशंसा गरे । उनले शान्ति, सामाजिक न्याय र दिगो विकासका साझा लक्ष्य प्राप्तिका लागि राष्ट्र संघसँग निकट रही काम गर्न नेपाल तयार रहेको समेत बताए ।
‘गत सेप्टेम्बरमा भएको जेन–जी आन्दोलनपछि नेपालमा नयाँ सरकार गठन भएको छ, यस आन्दोलनले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन व्यवस्थाको माग गरेको छ, युवाहरूको आकांक्षा पूरा गर्न हामी प्रतिबद्ध छौं’, भेटमा राष्ट्रपति पौडेलको भनाई उदृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले भने ।
राष्ट्रपति पौडेलले प्रतिनिधिसभा विघटन भएर आगामी फागुन २१ मा आम निर्वाचनको घोषणा गरिएको तथा स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गर्न नेपाल क्रियाशील रहेको उल्लेख गर्दै यस निर्वाचनले नेपालमा राजनीतिक निकास दिनुका साथै सुशासन, विकास र समृद्धिको मात्रा सुनिश्चित गर्ने विश्वास लिएको बताए ।
‘हामीले जेनजी आन्दोलनबाट मुलुकलाई सुरक्षित अवतरण गराएका छांै, नेपालको संविधान र लोकतन्त्रको रक्षा गरेका छौं, राष्ट्रपति पौडेलले भने ।
कार्बन उत्सर्जन नगण्य रूपमा गरेपनि नेपालले जलवायु परिवर्तनका प्रतिकूल प्रभावहरू असमानुपातिक र गम्भीर रूपमा भोगिरहेको बताउँदै राष्ट्रपति पौडेलले हामी जलवायु परिवर्तनका असरहरूको न्यूनीकरण र अनुकूलनका लागि अन्तर्राष्ट्रिय समुदायको सहयोगको अपेक्षा गरेको बताए ।
‘सगरमाथा आधार शिविरको भ्रमणका क्रममा तपाईंले अवलोकन गर्नुभए जस्तै हाम्रा सेता हिमालहरू काला पहाडमा परिवर्तन भइरहेका छन्, यी हिमालहरू एसियाको पानीको स्रोत पनि हुन्, तर तीव्र गतिमा हिउ पग्लँदै जाँदा समग्र पारिस्थिति प्रणाली र तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने मानिसहरूको जीविकोपार्जनमा जोखिम सिर्जना भइरहेको छ’, उनले भने ।
गरिबी निवारण, रोजगारी सिर्जना र सामाजिक समावेशिताको सुनिश्चितताजस्ता चुनौती सम्बोधन गर्नुपर्ने खाँचो रहेको भन्दै यो सम्मेलनले सामाजिक विकासप्रतिको विश्वव्यापी प्रतिबद्धतालाई पुनः दोहो¥याउने र दिगो विकास एजेन्डा २०३० को कार्यान्वयनलाई थप गति दिने उहाँले विश्वास व्यक्त गरे ।
राष्ट्रपति पौडेलले सामाजिक विकास, समावेशीकरण र गरिबी निवारण नेपालका प्रमुख प्राथमिकताहरू भएको भन्दै नेपालले गरिबी न्यूनीकरण, मानव विकास, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको पहुँचजस्ता क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको बताए ।
सो अवसरमा संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसले जलवायु परिवर्तनको मार खेपिरहेका नेपालजस्ता मुलुकहरूका लागि जलवायु अनुकूलनका लागि विकसित देशहरूबाट सहयोग उपलब्ध गराउन राष्ट्र संघ लागिरहेको बताउँदै कार्वन उत्सर्जन घटाउनेतर्फ पनि आफू लागिरहेको जानकारी दिएको प्रेस सल्लाहकार पोखरेलले बताए ।
उनले नेपालले मानव अधिकारका पक्षमा राम्रो गरिरहेको पनि बताए । उनले नेपालको पछिल्लो घटनाका सन्दर्भमा नेपालले आफ्नो समस्या आफैं समाधान गर्न नेपालका संस्थाहरू सक्षम रहेकोमा राष्ट्र संघ पूर्ण विश्वस्त रहेको पनि बताए ।
माओवादी नेता शर्माको आत्मसमीक्षा : ‘हामीले पनि गल्ती गरेका छौँ, सुधार गर्नेछौँ’
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा ‘प्रभाकर’ ले स्वार्थको राजनीतिमा सहभागी भई गल्ती गरेको भन्दै कमजोरीलाई स्वीकार गरि नयाँ अभियान मार्फत संकल्प पुरा गर्ने बताएका छन् ।
मंगलबार ललितपुरमा विशेष पत्रकार सम्मेल गर्दै उनले आम जनता, मतदाता, कार्यकर्ता र समर्थनहरूलाई दुरुपयोग गर्ने प्रवृतिमा सहयोग गरेको भन्दै आफ्ना कमजोरीलाई स्वीकार गर्दै अब इमान्दारीका साथ नयाँ अभियान मार्फत अघि बढ्ने बताएका हुन् ।
उनले भने, ‘आजसम्म आम जनता, मतदाता, कार्यकर्ता र समर्थनहरूलाई दुरुपयोग गरेर स्वार्थ केन्द्रित जो शासन गर्ने प्रकृति जन्मियो त्यसमा हाम्रो पनि कमि छ, हामीले पनि गल्ती गरेका छौँ , हामी पनि त्यसमा सहभागी छौँ , कुनै न कुनै रूपमा साथ सहयोग गर्दै आयौँ, त्यसप्रति क्षमा चाहान्छौँ । र ति आफ्ना कमजोरीलाई स्वीकार गर्दै अब इमान्दारीका साथ नयाँ अभियान मार्फत त्यसलाई पुरा गर्ने एउटा संकल्प गर्न चाहान्छौँ।’
उनले शहीद, बेपत्ताका सपनाहरूलाई पुरा गर्न र घाइते योद्धाहरूका अपेक्षाहरू पुरा गर्न तयार रहेको समेत बताए ।
‘हामी एउटा ऐतिहासिक मोडमा छौँ । एउटा जोखिम, एउटा चुनौती, एउटा सम्भावना बोकेर हामी उपस्थित भएका छौँ । हामी शहीद, बेपत्ताका सपनाहरूलाई पुरा गर्ने उहाँहरूका परिवारजनका आशा र विश्वासहरू घाइते योद्धाहरूका अपेक्षाहरू उनीहरूमा आकाङ्क्षा सहित तमाम प्रश्नहरूको जीवन्त जवाफ हामीले दिनुपर्ने छ । हामी त्यो दिनेछौँ । सम्रग त्यो जिम्मा लिन तयार छौँ,’उनले भने ।
उनले नेकपा बनाउँदा देशको राजनैतिक अस्थिरतालाई समाप्त पार्नका लागि वृहत् वामपन्थी एकता गरेको भन्दै त्यसमा आफूले हस्ताक्षर गरेको बताए ।
‘हामी भिन्न रूपमा राजनीति फोर्सलाई विक्षित्त गर्न चाहान्छौँ । भिन्न दृष्टिकोणबाट अगाडि बढाउन चाहान्छौँ । एउटा जवाफ मैले दिनुपर्ने छ, धेरै कुराहरू उठिरहेका छन्, के भनिँदैछ भने नेकपा बनाउँदा यसले हस्ताक्षर गरेको थियो अहिले विरोध गरिरहेको छ भन्ने छ त्यसको कुनै साइनो र तुक छैन । किन छैन भने त्यसबेला वृहत् वामपन्थी एकता गरेर यो देशको राजनैतिक अस्थिरतालाई समाप्त पार्नका लागि गरिएको थियो,’उनले भने ।
पार्टीबाट अलग भएकाहरुका लागि एमालेको ढोका सँधै खुला छ : महासचिव पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेबाट अलग भएकाहरुका लागि एमालेको ढोका सधैँ खुला रहेको बताएका छन् ।
सोमबार नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन तथा समसामयिक राष्ट्रिय राजनीतिका सन्दर्भमा आयोजित संवाद कार्यक्रममा उनले घरबाट बाहिर गएका सन्तानलाई घर आउछु भन्दा अनुमति लिनु नपर्ने भन्दै एमालेबाट अलग भएकाहरुलाई आफ्नै घर फर्किनको लागि कुनै एकता गरि रहन नपर्ने बताए ।
उनले भने, ‘नेकपा एमालेबाट अलग भएका साथीहरुको सन्दर्भमा केन्द्रीय कमिटिको बैठकबाट नै निर्णय गरेका छौं । आफ्नै घर फर्किने हो, आफ्नै घर फर्किनको लागि कुनै एकता गरि रहनु पर्दैन् । घरका सन्तान बाहिर गएपछि घर आउछुभन्दा अनुमति लिनुपर्छ, पर्दैन् । आउँदा क्षमता अनुसार पार्टीले जिम्मेवारी दिन्छ ।’
यस्तै, उनले माओवादी केन्द्र, एकीकृत समाजवादी आदी पार्टीहरु एक हुन लागेको कुरामा आफू खुशी रहेको बताए ।
‘माओवादी, एकीकृत समाजवादी आदी पार्टीहरु एक हुन थाले भन्ने कुरा छ । खुसी नै छु । किनभने बलियो राजनीतिक दलमा विश्वास गर्ने मान्छे हुँ । तर उद्देश्य स्पष्ट नभएसम्म जति नै पार्टी मिलेपनि केही हुदैँन् । विचारमा एक रुपता हुन्छ भने अलग अलग बस्नु फाइदा छैन् । विचारमा एक रुपता नभएकाहरु एक ठाँउमा बस्नु भनेको आन्दोलन समाप्त पार्नु हो । के हुन्छ भन्ने भविष्यको कुरा हो ।’
साथै, उनले २७ गतेका दिन नेपालको इतिहासकै सर्वाधिक ठूलो जनसभा काठमाडौंमा आयोजना गर्ने भन्दै त्यो सभाबाट जनता कसको साथमा छ त्यो देखाउन चाहेको बताए ।
उनले भने, ‘मंसिर २७, २८ र २९ गते पार्टीको ११ औं राष्ट्रिय महाधिवेशनको आयोजना गर्दैछौ । अहिले नेपाली जनता प्रमुख पार्टीबाट टाढा भएका छन् भन्ने जुन भाष्य निर्माण गर्न खोजिएको छ त्यो गलत हो भन्ने हिसाबले २२ गते देशभर सबै वडाहरुमा एकसाथ वडास्तरीय जनभेलाहरु आयोजना गर्दैछौ । २५ गते पालिकाहरुमा जन¥यालीहरु आयोजना गर्दैछौ, २९ गते जिल्लाहरुमा जनसभा आयोजना गर्दैछौ । काठमाडौंको हकमा ६ गते उपत्यका स्तरीय ¥याली तथा सभाको आयोजना गर्दैछौ र २७ गतेका दिन नेपालको इतिहासकै सर्वाधिक ठूलो जनसभा काठमाडौंमा आयोजना गर्ने छौ । त्यो सभाबाट जनता कसको साथमा छ त्यो देखाउन चाहन्छौ ।’
प्रचण्ड र गोपाल किरातीबीच ऐतिहासिक एकता घोषणा
काठमाडौं । नेपाली राजनीतिमा देखा परिरहेको अस्थिरता र जोखिमपूर्ण परिस्थितिलाई सम्बोधन गर्ने उद्देश्यले नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड र देशभक्त समाजवादी मोर्चाका अध्यक्ष गोपाल किरातीबीच महत्वपूर्ण सहमति भएको छ ।
दुई नेताले संयुक्त रूपमा एक विज्ञप्ति जारी गर्दै क्रान्तिकारी शक्तिहरूबीचको एकता र ध्रुवीकरणलाई आजको प्राथमिक राजनीतिक कार्यका रूपमा अघि बढाउने निर्णय सार्वजनिक गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘जनयुद्धका बेला हरेक प्रतिकूलतालाई अनुकूलतामा बदल्ने नीति अन्तर्गत देशका कान्तिकारीहरूबीच एकता र ध्रुवीकरण प्राथमिक कर्तव्य बनेको छ ।’
सहमतिको प्रमुख बुँदाहरूमा विगतका वैचारिक, राजनीतिक र सांगठनिक कमजोरीहरूको वस्तुनिष्ठ समीक्षा गर्न कार्यटोली गठन गर्ने, गोपाल किरातीले प्रस्तुत गरेको देशभक्तिपूर्ण पहिचानसहितको समाजवादी लोकतन्त्रको अवधारणामा पार्टीभित्र विस्तृत छलफल गरी जनवादका आधारमा निर्णय गर्ने, र उक्त सहमति कार्यान्वयनका लागि माक्र्सवादी क्रान्तिकारीहरूलाई माओवादी केन्द्रभित्र ध्रुवीकृत गर्ने निर्णय समावेश छन् ।
विज्ञप्तिमा देशभक्त, मजदुर, किसान, सुकुम्बासी, आर्थिक शोषणपीडित, लिङ्ग, जातजाति, क्षेत्र र पहिचानका पक्षधर सबै वर्गहरूलाई समाजवादी ध्रुवीकरणमा सहभागी हुन आह्वान गरिएको छ ।
दुवै नेताले नेपालको राष्ट्रिय स्वाधीनता, अखण्डता र सार्वभौमसत्ताको संरक्षण गर्दै संविधानमा उल्लेखित समाजवाद उन्मुख राज्यव्यवस्था कार्यान्वयनका लागि प्रभावकारी पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।
सहमतिको निष्कर्षमा दलाल र नोकरशाही पूँजीवादी भ्रष्ट शासनको अन्त्य गरी जनताको सार्वभौमसत्तामा आधारित समाजवादी व्यवस्था स्थापना गर्ने दृढ संकल्प व्यक्त गरिएको छ ।
युक्रेनलाई टोमाहक मिसाइल दिने कुनै योजना छैन : ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई टोमाहक मिसाइल दिने कुनै योजना नरहेको बताएका छन् । फ्लोरिडाको पाम बीचबाट वाशिङ्टन फर्कँदै गर्दा पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले युक्रेनलाई मिसाइल दिने योजना नरहेको बताएका हुन् ।
उनले युक्रेनलाई टोमाहक मिसाइल दिँदा रूससँगको युद्ध थप चर्किन सक्ने बताए ।
अक्टोबर २२ मा ट्रम्प र नाटोका महासचिव माक रुट्टबीच व्हाइट हाउसमा भएको भेटमा टोमाहक क्षेप्यास्त्रबारे छलफल भएको थियो ।
यो मिसाइल करिब १,००० माइल (१६०० किलोमिटर) टाढासम्म प्रहार गर्न सक्छ । यसको गति करिब ५५० माइल प्रतिघण्टा हुन्छ, जुन आवाजको गतिभन्दा करिब ७० प्रतिशत हो ।
यस्तो मिसाइल सतहबाट मात्र करिब ३० मिटरमाथि उड्ने भएकाले रडारले पत्ता लगाउन कठिन हुन्छ ।
अमेरिकासँग अहिले हजारौं टोमाहक मिसाइल रहेको अनुमान छ, तर नयाँ उत्पादन कम भएकाले स्टक घट्दो छ । त्यसैले युक्रेनलाई यस प्रकारको मिसाइल दिन अमेरिकी नेतृत्वले सजिलै निर्णय गर्न सक्दैन ।
प्रदेशका मुख्यमन्त्रीहरूसँगको छलफलमा प्रधानमन्त्रीले भनिन् – ‘निर्वाचित सरकारबिनाको स्थायित्व सम्भव छैन ’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग संयुक्त छलफल गर्दै मुलुकको राजनीतिक स्थायित्व, सुरक्षा व्यवस्था र आसन्न निर्वाचनका तयारीबारे विस्तृत चर्चा गरेकी छिन् ।
प्रधानमन्त्री कार्कीले देशको वर्तमान अवस्था र आगामी योजनाबारे जानकारी दिँदै भनिन्, ‘हामी राजनीतिक नेता होइनौँ । भदौ २३ गतेअघिसम्म यस्तो परिस्थिति आउला भन्ने अनुमान पनि थिएन । त्यो दिन बानेश्वरको एउटा घरमा थुनिँदा हामी आफै पनि विस्थापित भयौँ कि जस्तो भएको थियो ।’
उनले अन्तरिम सरकारको मुख्य प्राथमिकता निर्वाचनको वातावरण तयार पार्नु र संविधानले तोकेको परिधिभित्र रहेर काम गर्नु रहेको बताइन् । उनले भनिन्, ‘स्थायित्वका लागि निर्वाचित सरकार नै चाहिन्छ । निर्वाचन र राजनीतिक दल एकअर्काका परिपूरक हुन् । राजनीतिक दल नभई यो व्यवस्था चल्दैन ।’
प्रधानमन्त्री कार्कीले हालका आन्दोलन, विशेषगरी ‘जेनजी’ पुस्ताको सक्रियताबारे पनि टिप्पणी गर्दै उनीहरूका मागहरू विविध हुँदै गएको बताइन् । उनले भनिन्, ‘कतिपय जेनजीहरू चर्का कुरा गर्छन्, कतिपय निकै परिपक्व विचार राख्छन् । जे भए पनि ती सबै हाम्रा छोराछोरी हुन् । सिक्दै छन्, बुझ्दै छन् ।’
उनले जेनजी पुस्तालाई पनि लोकतान्त्रिक अभ्यासमा सहभागी हुन आग्रह गरिन्, ‘यदि आफ्ना एजेन्डा जनताबाट अनुमोदन गराउन चाहन्छन् भने पार्टी खोलेर चुनावमा सहभागी होऊ ।’
प्रधानमन्त्रीले मुलुकको सुरक्षासम्बन्धी तयारीबारे जानकारी दिँदै प्रहरीका लागि आवश्यक साधन–सामग्री जुटाउने काम अघि बढेको बताइन् । ‘प्रहरीका लागि तत्काल आवश्यक गाडी खरिद प्रक्रिया अघि बढिसकेको छ । छिमेकी मुलुक र अन्य मित्रराष्ट्रहरूले सहयोगको वचन दिएका छन्,’उनले भनिन् ।
आन्दोलनका क्रममा क्षतिग्रस्त भएका प्रहरी संरचनामध्ये ९० प्रतिशत स्थानीय जनताले पुनर्निर्माण गरेको उल्लेख गर्दै कार्कीले यो कार्यलाई ‘जन–प्रहरी सम्बन्ध सुदृढ गर्ने उदाहरणीय कदम’ भन्दै प्रशंसा गरिन् ।
निर्वाचन तयारीबारे उनले भनिन्, ‘निर्वाचन आयोगलाई आवश्यक १२० प्रकारका सामग्रीमध्ये ९० प्रतिशतभन्दा बढी उपलब्ध भइसकेका छन् । बाँकी व्यवस्थापन हुँदैछ । आयोगले तोकिएकै मितिमा चुनाव सम्भव भएको विश्वास दिलाएको छ ।’
८ वामपन्थी दलबीच पार्टी एकता सहमति, कार्तिक १९ मा संयुक्त सम्मेलन हुने
काठमाडौं । नेपालको प्रमुख वामपन्थी ८ दलहरूले पार्टी एकता सहमति गरेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनता, सुशासन, सामाजिक न्याय र आर्थिक रूपान्तरणमार्फत समाजवादी क्रान्तिको लक्ष्य हासिल गर्ने उद्देश्यसहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), जनता समाजवादी पार्टी, नेपाल, नेकपा (माओवादी समाजवादी) र नेकपा (साम्यवादी) बीच १८ बुँदे ‘पार्टी एकता सहमति पत्र’ मा हस्ताक्षर गरिएको छ ।
सहमति अनुसार आगामी १९ गते सहभागी सबै घटक दलका केन्द्रीय समितिहरुको संयुक्त भेलाको रूपमा एकता राष्ट्रिय सम्मेलन आयोजना हुनेछ । उक्त सम्मेलनले पार्टी एकताको घोषणा गर्दै घोषणा–पत्र, अन्तरिम विधान पारित गर्ने र नयाँ केन्द्रीय समिति गठन गर्ने निर्णय भएको छ ।
एकता सम्मेलनपछि ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन आयोजना गरिने छ । नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा)’ रहने र चुनाव चिन्ह पाँचकुने तारा तय गरिएको छ ।
सहमति पत्रमा पार्टीको मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद–लेनिनवाद, र नेपाली क्रान्तिको कार्यक्रम ‘नेपाली विशेषताको वैज्ञानिक समाजवाद’ हुने उल्लेख गरिएको छ । आन्दोलन मुख्यतः शान्तिपूर्ण रहने र परिस्थिति अनुसार सडक, सदन तथा सरकार लगायत सबै मोर्चामा सक्रिय भूमिका रहने सहमति गरिएको छ ।
पार्टीको संरचना अनुसार केन्द्रदेखि वडा तहसम्म संयोजक र सहसंयोजक प्रणाली रहनेछ । सबै तहका समितिहरूमा सहभागी दलहरूबाट समानुपातिक समायोजन हुने र समितिहरू जनवादी केन्द्रियताको सिद्धान्तअनुसार सामूहिक नेतृत्व प्रणालीमा सञ्चालन हुने उल्लेख छ ।
वैचारिक–राजनीतिक मतभेदका विषयमा निरन्तर छलफल गर्दै अन्ततः एकता राष्ट्रिय महाधिवेशनबाट निष्कर्षमा पुग्ने सहमति गरिएको छ ।
सहमति पत्रमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महेन्द्रराय यादव, नेपाल समाजवादी पार्टीका अध्यक्ष डां. बाबुराम भट्टराई, साथै अन्य सहभागी दलका शीर्ष नेताहरू चिरन पुन, राजु कार्की, सुवासराज काफ्ले, कर्णजित बुढाथोकी र प्रेमबहादुर सिंहले हस्ताक्षर गरेका छन् ।