दल दर्ता गर्न आएका हर्क साङपाङ भन्छन् : श्रम गर्ने मान्छेलाई माटोसँग जोड्छु
काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साङपाङले आइतबार निर्वाचन आयोगमा दल दर्ताका लागि सनाखत गरेका छन् । ‘श्रम संस्कृति पार्टी’ दर्ताका लागि आयोगमा निवेदन पेश गरेका साङपाङले आइतबार आयोगमा पुगी दल दर्ता प्रक्रियाका लागि सनाखत गरेका हुन् ।
दर्ता प्रक्रियाका लागि सनाखत गरेपश्चात पत्रकारहरुसँग कुरा गर्दै उनले श्रम संस्कृति पार्टी र माटो चुनाव चिन्ह राखी मान्छेलाई माटोसँग जोड्ने बताए ।
उनले भने, ‘अध्यक्ष भन्दा हुन्छ, श्रम संस्कृति पार्टी हो । चुनाव चिन्ह हामीले ‘माटो’ राखेका छौं । माटो चुनाव चिन्ह, श्रम संस्कृति पार्टी । श्रम किन गर्ने भने श्रम गरेर म मान्छेलाई माटोसँग जोड्छु । माटो भनेको देश हो । हामी देशसँग जोडिएकै छैनौ । देशको नागरिकता लिन मात्र देशसँग जोडिएको प्रमाण होइन । देशको माया लाग्नु पर्यो नि त ।’
उनले देश निर्माण गर्ने सवालमा सबैसँग वार्ता गर्ने भन्दै देशभक्तहरु ध्रुविकरण भएर जाने बताए ।
‘वार्ता नगर्ने भन्ने होइन । सबैसँग वार्ता हुन्छ । देश बनाउने सवालमा कन्जुसाई हुनुपर्छ भन्ने छैन । यो देश रहनु पर्छ । नेपाल रहे हामी रहन्छौ,’उनले भने, ‘राष्ट्रवादी शक्तिहरु भनौ देशलाई माया गर्ने देशभक्तहरु र देश घाडो भयो भन्ने मान्छेहरु पनि छन् । तर ध्रुविकरण भएर जान्छ ।’
यस्तै निर्वाचन आयोग पुगेका युवराज सफलले सरकारले भने अनुरुप चुनाव नहुँने भन्दै नेपालको संविधान परिपालना गराउन संसद प्रस्ताव ल्याउने तयारी रहेको बताए ।
‘यो चुनावै हुँदैन । विहे गर्ने कहिले थाहा छैन, रत्यौली अहिले नाचेर हुन्छ ?त्यसैले यो चुनाव हुँदैन । जेनजीहरुका माग दुई वटा थियो । एउटा सामाजिक सञ्जाल माथिको प्रतिवन्ध हटाउन र अर्को भष्ट्राचार र भष्ट्राचारीलाई कारबारी गर्ने हो यसका विषयमा म तयार छु । तर पानी बाँड्ने, गाँजा तान्ने, कोही लिडर हुँ भन्ने अनी भित्र लुकेर आफ्नो व्यवसाय गर्दै थिए भन्ने फटाहाहरुलाई सहन सकिदैन,’उनले भने ।
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीबिना चुनावमा जाँदैनौं : मिराज ढुंगाना
काठमाडौं । ‘गरिखान देउ’ अभियानका संयोजक मिराज ढुंगानाले देशको समृद्धि र अग्रगामी परिवर्तनका लागि अब विकासको राजनीतिमा लाग्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
उनले भाद्र २३ र २४ मा भएको ऐतिहासिक बिद्रोहमा ७६ जनाको बलिदानबाट प्राप्त उपलब्धिहरुको रक्षा गर्न सबैले गम्भीर बन्नुपर्ने बताएका हुन् ।
शनिबार काठमाडौंमा आयोजित विशेष पत्रकार सम्मेलनमा बोल्दै ढुंगानाले अब क्रान्तिको होइन विकासको युग सुरु भएको उल्लेख गरे । ‘देशको लागि लड्न एकदमै जरुरी छ । अहिले जे भयो, भयो एक लेबलको क्रान्ति आयो, अब विकास आउँछ । हामी क्रान्तिकारी होइनौं, विकासवादी हौं,’ ढुंगानाले भने ।
उनले विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार दिलाउनुपर्ने माग पनि दोहोर्याए । ‘तीन करोड नेपालीमा ८० लाख नेपाली छुटाएपछि देश कतातिर जान्छ ? देशको मुख्य आम्दानी स्रोत रेमिट्यान्स हो । रगत, पसिना बगाएर विदेशमा बस्ने नेपालीलाई मतदान अधिकार नदिई निर्वाचनमा जानु अन्याय हुनेछ,’ उनले भने ।
ढुंगानाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको माग गर्दै उक्त माग पुरा नहुँदासम्म आफूहरू चुनावमा नजाने चेतावनी पनि दिए ।
‘बटमलाइन पूरा नभई हामी चुनावमा जान तयार छैनौं । प्रत्यक्ष निर्वाचित कार्यकारी हाम्रो मुख्य माग हो, त्यो माग सुन्नैपर्छ । यो विना हामी कतै जानेवाला छैनौं,’ ढुंगानाले स्पष्ट भने ।
ढुंगानाले अहिलेको अवस्थालाई ‘भाँडभौलो’ नभई ठोस योजनासहितको विकासको दिशामा अघि बढ्नुपर्ने समयको माग भएको बताए । ‘हामी भाँडभौलो मच्चाउन आएका होइनौं । विकास ल्याउन जे जे गर्नुपर्छ, त्यो गर्ने हो,’ उनले भने ।
जेनजी आन्दोलनपछि देशभर १५ हजार बढी मजदुरहरुको रोजगर प्रभावित : महासचिव राई
ब्राजिल । नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव तथा आईटिएफ , लण्डनका बोर्ड सदस्य अजयकुमार राईले नेपालका हरेक आन्दोलन र परिवर्तनहरुमा श्रमिक वर्गको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरेका छन् ।
इन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशन (आईटिएफ )लण्डनको विश्व कार्य समितिको ब्राजिलको रिय द जेनरियोमा आयोजित बैठकमा भाग लिन पुगेका राईले नेपालमा भएको जेनजी आन्दोलन बाट श्रमिकहरु पनि प्रभावित भएको बताए । उनले आन्दोलनका कारण देशभर हजारौ को संख्यामा मजदुरहरु प्रभावित भएको र १५ हजार बढिले रोजगारी गुमाएको जानकारी दिए ।
अन्तर्राष्ट्रिय बैठकमा विशेष समय लिएर बोल्दै फेडेरेसनका बोर्ड सदस्य राईले वर्तमान नेपालको अवस्थाबारे आफनो धारणा राखेका थिए । सो अवसरमा उनले नेपालमा भएको जेनजी आन्दोलनमा उठेका सुशासन, बेरोजगारी, दण्डहीनता, नातावाद, कृपावाद साथै भ्रष्टाचारका विषयमा आफूहरुको संस्थागत धारणा गत श्रावण २ गते नै मिडिया मार्फत आइसकेको बताए ।
आफ्नो संस्थाका तर्फबाट जेनजी ले उठाएका मुद्धाहरु लाई लिएर तत्कालीन सरकारलाई श्रावण २ गते नै मिडिया मार्फत झकझक्याएको पनि बैठकमा जानकारी गराए । आन्दोलनमा करिब ७६ जनाले ज्यान गुमाएको, विभिन्न सरकारी, व्यापारिक प्रतिष्ठानहरु, व्यक्तिगत सम्पत्तीहरु आन्दोलनको दोस्रो दिन तोडफोड तथा आगजानीमा जेनजी हरुले आफनो प्रत्यक्ष संलग्नता नरहेको भनि बताएको पनि स्पष्ट पारे ।
घट्नाका विषयमा अन्तरिम सरकारले छानविन समिति बनाइसकेकाले तथ्य बाहिर आउने बैठकमा जानकारी गराए । बैठकमा उनले मुलत लोकतन्त्रको आधार श्रमिक आन्दोलन नै हुने भएकाले कतै ट्रेड युनियनहरु माथि पनि समस्या हुन्छ कि भन्ने चिन्ता पनि व्यक्त गरे ।
आगामी फागुन २१ गतेको निर्वाचन हुनुपर्नेमा जोड दिंदै उनले लोकतन्त्र बिना ट्रेड युनियन तथा मानवअधिकार पनि समस्यामा रहने भएकोले आगामी दिनमा फेडेरेशनको सक्रियतामा अन्र्तराष्ट्रिय ट्रेड युनियन क्षेत्रका सबै ग्लोबल युनियनहरुको प्रतिनिधिहरु सम्मिलित उच्च स्तरीय मिसन नेपाल भ्रमणमा आउने आग्रह समेत गरे ।
नेपालबाट सन् २०२९ सम्मका लागि सो फेडेरेशनको विश्व कार्य समितिमा नेपालका तर्फ बाट प्रतिनिधित्व गरेका महासचिव राईले बैठकमा २००२ मा पनि राजा ज्ञानेन्द्रले शासन लिंदा लोकतन्त्रका खातिर फेडेरेशनले तत्कालीन अवस्थामा वाह्य देशमा रहेका नेपालका १७ वटा कूटनीतिक कार्यलयहरु अगाडि आफनो आबद्ध संस्थाहरुमार्फत लोकतन्त्र बहालीका लागि प्रदर्शन गरेको पनि स्मरण गराएका थिए ।
बैठकमा नेपाललगायत विभिन्न देशमा भएका राजनीतिक घटनाक्रमहरुले लोकतन्त्रमा समस्या पर्छ कि भन्ने चिन्ता व्यक्त गर्दै फेडेरेशनका महासचिव स्टीफन कटनले लोकतन्त्र, ट्रेड युनियन अधिकारका खातिर फेडेरेशनको साथ सहयोग र एक्यबद्धता रहने एवम उच्च स्तरीय मिसनबारे आफूहरुको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरे ।
बेलायतमा मुख्यालय रहेको फेडेरेशनमा १४७ वटा देशका यातायात क्षेत्रका सात सय बढी यातायात मजदुर संगठनहरु आबद्ध छन् भने विश्वभरी करिब दुई करोड सदस्यहरु रहेका छन् । सबै महादेशहरुमा फेडेरेशनको कार्यालयहरु श्रमिक आन्दोलनका लागि क्रियाशील छ ।
वर्षमा दुई पटक हुने गरेको विश्व कार्य समिती को पुर्ण बैठक अघि अक्टोबर १५ मा कार्य सम्पादन तथा १६ र १७ मा पूर्ण बैठक सम्पन्न भएको हो । गत वर्ष मोरक्कोमा सम्पन्न विश्व महाधिवेशनले पचास भन्दा अनुमोदन गरेको रेजुलेसनहरु कार्यान्वयनको सवालमा समिक्षा तथा आगामी दिनमा गरिने कामहरुलाइ पनि प्राथमिकता राख्नेगरि बैठकमा बहस भएको थियो ।
क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने : मन्त्री घिसिङ
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले नगर विकास कोषलाई निष्क्रिय नराखी त्यसको क्षेत्राधिकार विस्तार गरी थप प्रभावकारी बनाइने बताएका छन् ।
शहरी विकास मन्त्रालयअन्तर्गत रहेको नगर विकास कोषका कामकारबाहीको जानकारी लिंदै मन्त्री घिसिङले उक्त कोषलाई प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यकता औंल्याउँदै, इ–मोबिलिटी, विद्युतीय सार्वजनिक यातायात र चार्जिङ स्टेसनजस्ता नयाँ क्षेत्रहरूमा लगानी विस्तार गर्न सुझाव दिएका छन् ।
उनले नगरपालिकासँगको साझेदारीमा फोहोरबाट ऊर्जा उत्पादन गर्ने परियोजनाहरूमा कोषले लगानी गर्न सक्ने सम्भावनाबारे अध्ययन गर्न निर्देशन दिएका छन् ।
मन्त्री घिसिङले भने,‘यस्ता परियोजनाले एकैसाथ फोहोरमैला व्यवस्थापन र ऊर्जा उत्पादन दुबै गर्न सक्ने भएकाले ती लगानीका लागि आशाजनक क्षेत्र बन्न सक्छन् ।’
मन्त्रीले कोषले लगानी गर्न पाउने क्षेत्राधिकार अझ विस्तार गर्न आवश्यक कानूनी व्यवस्थाहरूमा परिमार्जन गर्ने तयारी भइरहेको पनि जानकारी दिए । त्यसक्रममा उनले नगर विकास कोष हाल हरित जलवायु कोषबाट मान्यता प्राप्त गर्ने प्रक्रियामा रहेको र मान्यता प्राप्त भएपछि हरित उर्जा परियोजनामा ठूलो मात्रामा अनुदान र सहुलियतपूर्ण लगानी गर्न सक्ने विश्वास व्यक्त गरे ।
कोषका कार्यकारी निर्देशक विनोद प्रकाश पण्डितका अनुसार नगर विकास कोषको स्वःपूँजी ७ अर्ब रुपैयाँ रहेको छ । साथै, एशियाली विकास बैंकमार्फत ५ अर्ब १९ करोड रुपैयाँ, विश्व बैंकबाट १२ करोड रुपैयाँ र नेपाल सरकारबाट २ अर्ब रुपैयाँ ऋणको रूपमा प्राप्त भएको उनले जानकारी दिए ।
हालसम्म कोषले १६ अर्ब रुपैयाँ बराबरको ऋण प्रवाह गरेको छ । कोषले देशभरका शहरी पूर्वाधार आयोजनाहरूमा वित्तीय (ऋण वा अनुदान) र प्राविधिक सहयोग प्रदान गर्दै आएको छ ।
बसपार्क, खानेपानी, जग्गा विकास, बहुउद्देश्यीय भवन निर्माण लगायतका क्षेत्रमा कोषले लगानी गर्दै आएको उल्लेख गर्दै पण्डितले हाल जेनजी आन्दोलनका कारण क्षति भएका नगर भवनहरूको पुनर्निर्माणमा पनि कोषलाई परिचालन गर्न सकिने अवधारणा अघि सारिएको बताए ।
मन्त्री घिसिङले अन्त्यमा भने, ‘नगर विकास कोषलाई दिगो, उत्पादनमुखी र प्रतिफलदायी लगानीको माध्यमका रूपमा रूपान्तरण गरेर देशको शहरी विकासलाई नयाँ गति दिनुपर्छ ।’
बर्षा र पहिरोले क्षति पुगेका इलामका पालिकालाई प्राधिकरणको सहयोग
काठमाडौं । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३३ औं बैठकले इलाममा सबैभन्दा बढि क्षति भएका पाँच पालिकालाई ६० लाख, ५० लाख र ४० लाख सहयोग प्रदान गर्ने निर्णय गरेको छ । तत्काल सुचारु गर्नुपर्ने र अति आवश्यक सेवा प्रदान गर्न उक्त सहयोग गर्ने निर्णय भएको हो ।
शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेश प्रसाद भट्टले जानकारी दिएका छन् ।
उनले भने, ‘इलाममा सबैभन्दा बढि क्षति भएका पाँच वडा पालिकालाई ६० लाख, त्यसपछि ५० लाख र त्यसपछि ४० लाख तत्काल सुचारु गर्नुपर्ने अति आवश्यक सेवा सुचारु गर्न सहयोग प्रदान गर्ने निर्णय भएको छ ।’
साथै, उनले ताप्लेजुङ्को मौवा खोलाको पहिरोको जोखिममा रहेको बस्तीलाई स्थायी रुपमा नै अन्य स्थानमा सार्ने निर्णय भएको पनि जानकारी दिएका छन् ।
राष्ट्रिय आपतकालिन सञ्चालन केन्द्र कसरी सञ्चालित गर्ने भन्ने हिसाबले बनाएको कार्यविधि पनि स्वीकृत भएको उनको भनाई छ ।
सोही बैठकमा गृहमन्त्री ओम प्रकाश अर्यालले पनि नेपाल एउटा विपद् जोखिमयुक्त देश भएको हुनाले यसलाई प्रभावकारी रुपमा कसरी सम्बोधन गर्ने, रणनीति कसरी बनाउने,संरचनागत सुधार गर्ने भन्ने विषयमा आगामी दिनमा थप छलफल गरेर निर्णयहरु लिने बताए ।
प्रहरी दिवसमा आईजीपी खापुङ्गको अपिल - ‘प्रहरीको उपस्थिती अझ सशक्त बनाऔँ’
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले ७० औं प्रहरी दिवस २०८२ को अवसरमा शुभकामना व्यस्त गरेका छन् । शुक्रबार परेको ७० औं प्रहरी दिवसको अवसरमा शुभकामना दिदैँ उनले जेनजी आन्दोलन पछिको सुरक्षा चुनौतिको डटेर सामना गर्दै आफ्नो उत्तरदायित्व र जिम्मेवारी पुरा गर्न संगठनका सकल दर्जाका प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिएका छन् ।
उनले हालको कठिन परिस्थितीमा उत्पन्न हुन सक्ने सुरक्षा चुनौतिको डटेर सामना गर्दै नागरिक सुरक्षाको गहन जिम्मेवारी पुरा गर्नुको विकल्प नभएको पनि बताए ।
‘भाद्र २३ र २४ गते भएका अप्रिय घटनाहरु पश्चातको कठिन परिस्थितीमा उत्पन्न हुन सक्ने सुरक्षा चुनौतिको डटेर सामना गर्दै नागरिक सुरक्षाको गहन जिम्मेवारी पुरा गर्नुको विकल्प हामीसँग छैन,’उनले थप भने, ‘यसर्थ, कुनै घटनाक्रमबाट हतोस्साहित नभई देश र नागरिकप्रतिको आफ्नो उत्तरदायित्व र जिम्मेवारी पुरा गर्न तथा तमाम अभाव र कठिनाईका बाबजुद नेपाल प्रहरीको उपस्थिती सशक्त बनाउन संगठनका सकल दर्जाका प्रहरी कर्मचारीहरुलाई निर्देशित गर्दछु ।’
प्रहरी ऐन २०१२ जारी भएसँगै नेपाल प्रहरीको विधिवत स्थापना भएको अवसरमा सगौरव मनाइदै आएको प्रहरी दिवसको ७० औँ संस्करण मनाइरहँदा उनले नेपाल प्रहरीका विर सहिदहरुप्रति श्रदान्जली अर्पण गरे ।
महानिरीक्षक खापुङ्गले जेनजी आन्दोलनको घटनाक्रम पश्चात उत्पन्न भएका परिस्थितीहरुमा तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएका प्रहरीका भौतिक संरचनाहरुको पुनः निर्माण कार्यमा जनसमुदायबाट प्राप्त भएको सहयोगको लागि समेत आभार व्यक्त गरे ।
‘यसै सन्र्दभमा सोही घटनाक्रम पश्चात उत्पन्न भएका परिस्थितीहरुमा तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएका प्रहरीका भौतिक संरचनाहरुको पुनः निर्माण कार्यमा आम जनसमुदायबाट प्राप्त भएको सहयोग र सहहृदर्यताका लागि समस्त नागरिकहरुमा हार्दिक आभार व्यक्त गर्दछु,’उनले भने ।
लोकतन्त्रमा ’वन म्यान आर्मी’को काम छैन : पूर्व मुख्यमन्त्री सिंह
जनकपुर । मधेश प्रदेशका पूर्व मुख्यमन्त्री सतीश कुमार सिंहले जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले आफूलाई वन म्यान आर्मी बुझेकै कारणले आज पार्टी फुट्को आरोप लगाएका छन् ।
जनकपुरधाममा आज पत्रकारसम्मेलन गर्दै पूर्व मुख्यमन्त्री सिंहले पार्टी अध्यक्ष राउतले जहिले पनि एकलौटी गर्न खोजेको आरोप लगाएका छन् ।
सिंहले अध्यक्ष राउतलाई भगवान शिवको संज्ञा दिदै पार्टीका कार्यकर्ताहरुलाई भस्मासुरको जस्तो भूमिका खेप्नु परेको सुनाए । कुनै पनि पार्टीमा अध्यक्षले मात्र चलाउन नसक्ने सिंहले बताए । उनले पार्टीमा उपाध्यक्ष, कोषाध्यक्ष, सचिव, सदस्यलगायत सबैको योगदान हुने बताए ।
तर जनमतका अध्यक्ष डा. राउतले आफू बाहेक कसैको पनि कुरा नसुन्ने र आफूलाई जे चाहियो त्यो मात्र गर्ने गरेको पूर्व मुख्यमन्त्री सिंहले बताए । जनमत पार्टी अध्यक्ष डा. राउतले गठबन्धनमा रहेर गठबन्धनमै रहेका अन्य पार्टीहरुलाई गाली गर्ने गरेको सिंहले बताए ।
पूर्व मुख्यमन्त्री सिंहले नयाँ बनेको मधेश प्रदेश सरकारलाई संघीयता बचाएर राख्न आग्रह गरे । उनले मधेश प्रदेश र मधेश प्रदेशवासीका लागि संघीयता अतिआवश्यक रहेकोले यसलाई बचाउन प्रदेश सरकार मात्र नभई सम्पूर्ण प्रदेशवासीले पनि आआफ्नोतर्फबाट लाग्न आग्रह गरे । जेन जी आन्दोलन पछि नष्ट भएका सरकारी संरचना तथा कार्यालयका आवश्यक सरसामानहरुको यकिन हिसाँब किताब राख्न उनले नयाँ सरकारलाई सुझाव दिए । बँचेका सामानहरु पनि कसैले लगेर जेन जी आनदोलनमा नष्ट भयो भन्ने नहोस भनेर उनले सुझाव दिए ।
पूर्वमुख्यमन्त्री सिंह जनमत पार्टीबाट फुटेर बनेको जन स्वाराज पार्टीमा गएका छन् । आज मधेश प्रदेशका नयाँ मुख्यमन्त्री जितेन्द्र सोनलले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् भने पूर्व मुख्यमन्त्री सिंहको पद आजबाट समाप्त भएको छ ।
युवाले फूलाए ढकमक्क सयपत्री, माग उच्च
विराटनगर । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार नजिकिँदै छ । तिहारमा फूलको अधिक मात्रामा किनबेच हुने गर्दछ । नेपालमा उत्पादित फूलले बजार धान्न समेत मुस्किल हुँदा तिहारमा खपत हुने फूल भारतीय बजारमा समेत निर्भर रहनुपर्ने बाध्यता रहेको छ । तर, मोरङको सुन्दरहरैंचा नगरपालिकामा भने युवाहरू मिलेर फूल खेती गरेका छन् ।
करिब एक विगाह क्षेत्रमा लगाइएको फूल यतिबेला ढकमक्क फूलेको छ । हेर्न जाने जोकोहीको आकर्षणको केन्द्रजस्तै बन्ने फूलले नै तिहारलाई स्वागत गरिरहेको अनुभूत गराउँछ ।
कोशी युवा कृषि फारमका युवाहरूले लगाएको फूल खेतीमा माग उच्च भएको सञ्चालकहरू बताउँछन् । ‘यो फूल हामी आफैँले बिरुवा उमारेर रोपेको राम्रो प्रजातिको फूल समेत हो तिहार नजिकिएसँगै अत्यधिक मात्रमा माग भइरहेको छ ।’ सञ्चालक मध्येका एक विजय ओझासंगको कुराकानीका क्रममा भनेका छन् ।
पाँच जना युवहरुद्धारा ८ बिघा क्षेत्रफलको जमिनमा केरा खेती समेत लगाएका छन् । ‘युवाहरू स्वदेशमै केही गर्न सकिन्छ भन्ने उदाहरण पेस गर्न पनि हामी कृषि क्षेत्रमा लागेका हौं ।’ अर्का सञ्चालक मिलन लुइँटेल भन्छन् ।
लुइँटेलले कृषिका क्षेत्रमा अन्य प्रस्तावहरूमा समेत काम गरिरहेको जानकारी दिए । ‘अहिले तिहारको भएकाले हाम्रो फूल तयार भइसकेको छ । उनले भने केही भए पनि भारतीय बजारको फूल रोकौँ र स्वदेशलाई प्रोत्साहन गरौँ भन्ने हाम्रो उद्धेस्य हो ।’ उनले भने
भिडियो लिङ्क :
<iframe width="100%" height="315" src="https://www.youtube.com/embed/I_lOdnlgOeE?si=yUeWo3tizNHzbvqB" title="YouTube video player" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share" referrerpolicy="strict-origin-when-cross-origin" allowfullscreen></iframe>
राहुल गान्धीको प्रहार “प्रधानमन्त्री मोदी ट्रम्पसँग डराउँछन”
काठमाडौं । लोकसभा विपक्षी नेता तथा कांग्रेस सांसद राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग “डराउने” गरेको आरोप लगाएका छन् । ट्रम्पले हालै भारतले रुसबाट तेल किन्ने कार्य बन्द गर्ने आश्वासन प्रधानमन्त्री मोदीले दिएको दाबी गरेपछि राहुल गान्धीले ती टिप्पणीहरूलाई अस्वीकार गर्दै मोदीमाथि तीव्र प्रहार गरेका हुन् ।
राहुल गान्धीले सामाजिक सञ्जाल एक्समा “प्रधानमन्त्री मोदी ट्रम्पसँग डराउँछन” लेख्दै हालका केही घटनाहरू सूचीबद्ध गरेका छन् । उनका अनुसार, प्रधानमन्त्री मोदीले ट्रम्पलाई भारतले रुसबाट तेल नकिन्ने घोषणा गर्न अनुमति दिए, पटक–पटक अस्वीकृति पाउँदा पनि उनलाई बधाई सन्देश पठाए । अर्थमन्त्रीको अमेरिकाको भ्रमण रद्द गरे, शर्म एल–शेख सम्मेलनमा सहभागी हुन चुके र ‘अपरेसन सिन्दुर’बारे ट्रम्पको दाबीमा मौन रहे ।
कांग्रेसका वरिष्ठ नेता जयराम रमेशले पनि प्रधानमन्त्री मोदीको मौनतालाई प्रश्न गर्दै आरोप लगाए कि मोदीले अमेरिकालाई प्रमुख निर्णयहरू आउटसोर्स गरेका छन् । उनले स्मरण गरे कि गत मे १०, २०२५ मा साँझ ५ः३७ बजे अमेरिकी विदेश सचिव मार्को रुबियोले भारतले ‘अपरेसन सिन्दुर’ रोकिएको घोषणा गरेका थिए । त्यसपछि राष्ट्रपति ट्रम्पले पाँच देशमा ५१ पटकसम्म आफूले भारत–पाकिस्तानबीचको युद्धविराम गराएको दाबी गरेका छन तर प्रधानमन्त्री मोदी मौन रहेका छन् ।
ट्रम्पले बुधबार ओभल अफिसमा एफबीआई निर्देशक काश पटेलसँग संयुक्त पत्रकार सम्मेलनमा भनेका थिए,“प्रधानमन्त्री मोदीले मलाई आश्वासन दिएका छन् कि भारत अब रुसबाट तेल किन्नदैन । यो ठूलो कदम हो, अब चीनलाई पनि त्यही गर्न प्रेरित गर्नुपर्छ।” उनले भारतको अघिल्लो तेल आयात नीतिप्रति असन्तुष्टि जनाउँदै भने, “रुसबाट तेल किन्ने कार्यले रुसलाई युद्ध जारी राख्न सहयोग पु¥यायो, जहाँ करिब १५ लाख सैनिकहरू मारिएका छन् ।”
भारतले यसअघि रुसबाट तेल आयातलाई आफ्नो आर्थिक स्थायित्वका लागि आवश्यक भन्दै बचाउ गरेको थियो । तर ट्रम्प प्रशासनले भारतीय वस्तुहरूमा २५ प्रतिशत अतिरिक्त शुल्क लगाउँदै रुससँगको भारतको तेल व्यापारलाई अमेरिकी सुरक्षाका लागि “असामान्य र असाधारण खतरा” भनेको थियो । यसैबीच भारतले स्पष्ट पारेको छ कि ‘अपरेसन सिन्दुर’ वा भारत–पाकिस्तान युद्धविराम दुवै देशका सैन्य अधिकारीहरू बीचको सहमति थियो र त्यसमा कुनै तेस्रो देशको संलग्नता थिएन । एएनआई
सरकारले तोकिएकै समयमा निर्वाचन गराउनुपर्छ : प्रदीप यादव
वीरगंज (पर्सा) । जनता समाजवादी पार्टीका उपमहासचिव एवं पूर्वमन्त्री प्रदीप यादवले सरकारले तोकिएको समयमै अर्थात आगामी फागुन २१ गते देशमा निर्वाचन गराउनुपर्ने बताएका छन् ।
आज जसपा जिल्ला समिति, पर्साले आयोजना गरेको अगुवा कार्यकर्ता भेला कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै उनले सरकारले तोकिएको समयमै निर्वाचन गराउनुपर्ने तथा राष्ट्र निर्माणमा जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन् ।
उपमहासचिव यादवले तोकिएको समयमा निर्वाचन गराउन सरकार प्रतिबद्ध हुनु पर्ने र सबै दलहरुलाई निर्वाचनमा सहभागी गराउन वर्तमान सरकारले आवश्यक पहल चाल्नु पर्ने धारणा राखे ।
उनले भने, ‘सरकारले आगमी फागुन २१ गते निर्वाचन गराउनुपर्छ । निर्वाचनमा भागलिन हामी तयार छौँ । अन्य पार्टीलाई पनि चुनावमा सहभागी गराउनुपर्छ ।’
सोही कार्यक्रमलाई सम्बोधन गर्दै यादवले यो सरकारले मधेस विरोधी निर्णय ग¥यो भने मधेसका जनता संघर्षमा उत्रिने भएकाले वर्तमान शुसीला कार्की नेतृत्वको सरकारले मधेसका माग र मुद्दामा केन्द्रित रहेर काम गर्नुपर्ने सुझाब दिए ।
गत भदौ २३ र २४ गते देशमा उत्पन्न विसम परिस्थितबाट नेपाली सेनाले संविधानको रक्षा गर्दै राष्ट्रपतिको सहयोगमा नागरिकको सरकार बनाउन सहजीकरण गरेको र तत्कालिन सबै मन्त्रीहरु तथा नागरिकको सुरक्षाका लागि खेलेको रचनात्मक भुमिकाको प्रशंसा गर्दै उनले उक्त कार्यका लागि नेपाली सेनालाई धन्यवाद समेत व्यक्त गरे ।
