उत्तरी जापानमा ७.५ को भूकम्पपछि महाभुकम्पको सम्भावना
काठमाडौं । उत्तरी जापानमा ७.५ रेक्टरस्केलको शक्तिशाली भूकम्प गएको छ । स्थानिय समय अनुसार भूकम्प सोमबार राति ११ः१५ बजे आओमोरी प्रिफेक्चरको पूर्वी तट क्षेत्रमा केन्द्रित भएको थियो ।
भुकम्पपश्चात जापानी अधिकारीहरूले उक्त क्षेत्रमा सम्भावित ‘मेगाक्वेक’ अर्थात महाभुकम्पको जोखिमबारे चेतावनी दिएका छन् । यस्तो किसिमको महाभुकम्प आउने हो भने जापानको होक्काइडोदेखि लिएर चिबा प्रिफेक्चरसम्म र प्रशान्त तटमा ठूलो सुनामी आउन सक्ने बताइएको छ ।
सोही कारण जापानी सरकारले प्रशान्त तट क्षेत्रका स्थानिय बासिन्दालाई आगामी एक सातासम्म उच्च सतर्कतामा रहन भनेको छ । तर, हालका लागि अनिवार्य रूपमा खाली गर्नुपर्ने निर्देशन भने जारी गरिएको छैन ।
जापानको सावर्जनिक प्रसारक एनएचकेका अनुसार बिहान १ बजेसम्म आओमोरीमा कम्तीमा ६ जना घरभित्र लडेका वा सामान खसेर घाइते भएका छन् । यसैबीच, उत्तरी जापानको प्रशान्त तटका लागि जारी गरिएको सुनामी सम्बन्धी चेतावनी भने हटाइएको छ ।
इवाते प्रिफेक्चर तथा होक्काइडो र आओमोरीका केही भागका लागि सुनामी चेतावनी जारी गरिएको थियो । इवातेको कुजी बन्दरगाहमा ७० सेमी उचाइको सुनामी मापन गरिएको छ । होक्काइडोको उराकावा टाउनमा ५० सेमि, र आओमोरीको मुत्सुओगावारा बन्दरगाहमा ४० सेमी उचाइको सुनामी देखिएको छ ।
महाभुकम्पको सम्भावना रहेको भन्दै इष्ट जापान रेल कम्पनीले तोहोकु शिन्कान्सेन बुलेट ट्रेन सेवा मोरिओका र शिन–आओमोरीबीच रोकेको छ । रेलमार्गमा क्षति भएको छ कि भनेर निरीक्षण भइरहेको कम्पनीले जनाएको छ । सेवा स्थानीय समय अनुसार दिउँसो ३ बजेदेखि पुनः सुरु गर्ने योजना छ ।
जापानी सरकारले सोमबार राति प्रधानमन्त्री कार्यालयको संकट व्यवस्थापन केन्द्रमा आपतकालीन कार्यदल गठन गरेको छ ।
प्रधानमन्त्री साने ताकाइची ले प्रभावित क्षेत्रमा छिटो सूचना आदान–प्रदान, उचित रूपमा कुनै सुनामी वा खाली गर्नुपर्ने अवस्था भए तत्काल जानकारी दिने र क्षतिग्रस्त क्षेत्रको अवस्थाबारे यथाशीघ्र विवरण संकलन गर्न निर्देशन दिएकी छन् । एएनआई
आज देशका विभिन्न स्थानहरुमा हल्का बर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण देशभर आंशिक बदली भईरहेको छ ।
यस्तै, महाशाखाका अनुसार आज दिउँसो गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।
कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिमको हिमाली भू–भागको एक–दुई स्थानमा हल्का बर्षा÷हिमपातको सम्भावना समेत रहेको महाशाखाकाले जनाएको छ ।
आज राती भने कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।
स्पेनमा ‘अमानवीय र असम्मानजनक’ श्रममा लगाइएका नेपालीको मुद्दा अदालतमा
एजेन्सी । स्पेनमा नेपालीलगायतका श्रमिकलाई अमानवीय र असम्मानजनक रूपमा श्रममा लगाइएको घट्ना अदालतमा पुगेको छ । उनीहरूलाई कृषि क्षेत्रमा आधुनिक दास सरह काम लगाइएको भन्दै ११ जनालाई पक्राउ गरेपछि घट्नाको थप रहस्य खुल्दै गएको छ ।
प्रहरीद्वारा डिसेम्बर ४ तारिखका दिन जारी सार्वजनिक विज्ञप्ति अनुसार फसेका आप्रवासीहरू प्राय नेपालबाट आएका करिब ३०० जना रहेको जनाएको छ ।
जसमध्ये १८० जना नेपालीको मुद्दा अदालती प्रक्रियामा गएको एनआरएनए स्पेनका अध्यक्ष सन्तोष श्रेष्ठले जानकारी दिए ।
‘घट्नापछि हामी तीन पटक स्थलगत अध्ययन गरेर आयौँ । जसमध्ये १८० जना नेपालीको मुद्दा अदालतमा पुगेको छ । हाम्रो उपाध्यक्ष सुरेन्द्र भुजेलले कानुनी सहयोग र भाषा रूपान्तरणमा सहयोग गरिरहनु भएको छ । अन्य कुरा अदालतले नै निर्णय गर्ने हो ।’
श्रेष्ठका अनुसार नेपालीहरूका लागि राहत वितरणपनि गरिएको र कानुनी सेवा दिइरहेको छ । स्थानीय यूरोन्यूज डटकमका अनुसार शेनचेन क्षेत्रमा पर्यटक भिसाबाट प्रवेश गराएर ती आप्रवासीहरूलाई विभिन्न क्षेत्रका गाउँ–बस्तीमा लगेर कृषि फार्ममा काम लगाइएको थियो । पछि गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेर ११ गिरोहलाई पक्राउ गरेको थियो ।
उनीहरूको अदालती प्रक्रियाको काम काम यही १०, ११ र १२ तारिख हँुदैछ । चार जना नेपालीको बयान लिइसकेको छ भने अन्यको फोनमार्फत पनि बयान लिने तयारी छ ।
स्पेनी प्रहरीले बिहीबार ३०० कामदारहरू आपराधिक सञ्जाल मार्फत प्रवेश गरेको जनाएको छ । कामदारहरूलाई मध्य र पूर्वी स्पेनका फार्महरूमा अवैध रूपमा राखिएको प्रहरीको भनाइ छ ।
प्रहरीले ११ जनालाई पक्राउ गरेको छ र अन्य दुई जनाको अनुसन्धान गरिरहेको छ । पीडितहरू कुल ३२२ जना छन् । तीमध्ये २९४ जनासँग स्पेनमा बस्न र काम गर्न उचित कागजात नभएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार तस्करी गरिएका धेरैजसो पर्यटक भिसामा प्रवेश गरेका थिए, जसमा युरोपेली संघको शेन्जेन क्षेत्र भित्रका अन्य देशहरू पनि समावेश छन् ।
शेन्जेन क्षेत्र २७ ईयू सदस्य देशहरू मध्ये २५, साथै लिक्टेनस्टाइन, आइसल्याण्ड, नर्वे र स्विट्जरल्याण्ड मिलेर बनेको हो ।
स्पेन पुगेपछि, कामदारहरूलाई भर्ती गरेर देशका विभिन्न भागहरूमा श्रम अधिकार विना काम लगाइएको प्रहरीले जनाएको छ ।
स्पेनी प्रहरीले जारी गरेको भिडियोमा, दर्जनौँ मानिसहरू कम बत्ती भएको कोठामा लाइनमा राखिएका गद्दामा छेउछाउमा बसेका थिए । आपराधिक सञ्जालले दक्षिण पूर्वी स्पेनको अल्बासेटमा पीडितहरूको आवासको व्यवस्था गरेको थियो ।
उनीहरूलाई ‘पूर्ण रूपमा अपमानजनक र अमानवीय जीवनयापन गर्ने अवस्था’ मा कमजोर भेन्टिलेसन र बाथरुममा सीमित पहुँच भएका कोठाहरूमा कोचिएको प्रहरीले जनाएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको ठहर : धमाधम तानिदै विशिष्ट व्यक्तिहरू
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै तत्कालीन मन्त्री, सचिवसहित ५५ जनालाई विपक्षी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारले तत्कालीन मन्त्रीहरू डा.रामशरण महत, पोष्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीम आचार्य र दिपक अमात्यलाई विपक्षी बनाएको छ । त्यस्तै १० जना तत्कालीन सचिवहरूलाई पनि विपक्षी बनाइएको छ । उनीहरू विरुद्ध ८ अर्ब बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ ।
उक्त विमानस्थल निर्माणबारे संसदीय उपसमितिले झन्डै १० अर्ब रुपैयाँ हाराहारीमा अनियमितता र भ्रष्टाचार भएको निष्कर्ष निकालेको थियो । सार्वजनिक लेखा समितिको उपसमितिले ११ वटा शीर्षकमा अनियमितता भएको निष्कर्ष निकालेको थियो ।
यता, विमानस्थल निर्माणमा भएको अनियमिततामा आयोगले निर्माण सम्झौता गर्ने चीनको ‘चाइना सीएएमसी’ कम्पनीलाई पनि प्रतिवादी बनाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेड बीच २०१४ मा सम्झौता गरेको थियो ।
भक्तपुरको नलिन्चोक स्थित हेलिपोर्ट निर्माणको भ्रष्टाचार मुद्दा खेपिरहेका नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी उक्त विमानस्थलको भ्रष्टाचार मुद्दामा पनि जोडिएका छन् । त्यस्तै अन्य विभिन्न पदमा बसेका विशिष्ट व्यक्तिहरूको पनि नाम जोडिएको र अनुसन्धान जारी रहेको अख्तियारको दाबी छ ।
सिप्तुङ्खा माङखिम (पितृघर) शिलान्यास
काठमाडौं । किरावा सिप्तुङ्खा वंश उत्थान समाजले शुक्रबार ललितपुर महानगरपालिका वडा नम्बर २७ सुनाकोठीमा माङखिम (पितृघर) निर्माण थालनी गरेको छ ।
यस संस्थाको यलेखोम (उपत्यका) कार्यसमितिका अध्यक्ष काजी सिप्तुङ्खा, सदस्य उत्तरकुमारी सिप्तुङ्खालगायतले माटो खनी पूजा गरेर भवन शिलान्यास गरेका हुन् । यो समाजले डेढ वर्षअघि करिब ८२ लाख रुपैयाँ संकलन गरी सात आना एक पैसा जग्गा खरिद गरेको थियो ।
अध्यक्ष काजीले भवन सुरु गरेपछि एक वर्षभित्र सम्पन्न गर्ने योजना रहेको बताए । लागत डेढ करोड रुपैयाँ अनुमान गरिएको उनको भनाइ छ । ‘जति–जति (रकम) आउँदै जान्छ बनाउँदै जाने हो । बिस्तारै–बिस्तारै थप्दै जाने हो’, उनले भने, ‘साढे एक तलाजस्तो चाहिँ छिट्टै गर्छौं कि भन्ने आशा गरेको छु ।’
संस्थाका उपत्यका सचिव बाबुराम सिप्तुङ्खाले संस्कार–संस्कृतिको संरक्षण, वंशहरूलाई जोड्ने र मानव सेवा गरी माङखिमको तीन प्रयोजन रहेको सुनाए । ‘डेढ–दुई वर्ष अघिदेखि यो अभियान सुरु गरेर हामी बीचको चरण शिलान्यासको चरणमा छौं’, उनले भने, ‘अझै निर्माणको काम बाँकी नै छ । अब निरन्तर गर्ने सोचमा छौं ।’
सल्लाहकार अग्नि सिप्तुङ्खाले संस्कार–संस्कृतिलाई निरन्तरता दिन काठमाडौंमा माङखिम आवश्यक परेको बताए । ‘माङखिम सिप्तुङ्खाहरूका लागि मात्र नभएर छोरीचेली, भानाभान्जा हरेक कुरा छुट्टिँदै गइरहेको छ, यो माङखिमले जोड्ने काम गर्दो रहेछ, ‘उनले भने, ‘माङखिम हाम्रो साझा घर हो । हाम्रो साझा संस्कार–संस्कृतिको धरोहर हो । त्यसैले यो माङखिम अपरिहार्य छ जस्तो लाग्छ ।’
सिप्तुङ्खा राई जातिभित्रको बान्तवाभाषी पाछा (वंश) हो ।
मोदी–पुटिन शिखर वार्ता : आणविक ऊर्जा, अन्तरिक्ष र व्यापारमा नयाँ सहमति
काठमाडौं । भारत र रूसले आफ्नो ‘विशेष र विशेषाधिकारयुक्त रणनीतिक साझेदारी’ लाई अझ सुदृढ बनाउँदै व्यापार, आणविक ऊर्जा, रक्षा, विज्ञान तथा प्रविधि सहितका धेरै क्षेत्रलाई समेट्ने महत्वपूर्ण समझदारीमा हस्ताक्षर गरेका छन् ।
शुक्रवार सार्वजनिक गरिएको संयुक्त वक्तव्यअनुसार प्रधानमन्त्री नरेन्द्र मोदी र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच सम्पन्न २३ औँ भारत–रूस वार्षिक शिखर सम्मेलनमा यी सहमतिहरू प्रमुख रहेका छन् ।
प्रधानमन्त्री मोदी र राष्ट्रपति पुटिनले भारतमा दोस्रो आणविक ऊर्जा केन्द्र (एनपीपी) निर्माण स्थलबारे छलफललाई तीव्र बनाउने र तमिलनाडु स्थित कुदनकुलम आणविक ऊर्जा परियोजना पूर्णरूपमा सञ्चालनमा ल्याउन रुसले पूरा सहयोग गर्ने आश्वासन दोहो¥याए ।
रुसले बनाइरहेको कुदनकुलम परमाणु विद्युत् केन्द्रका ६ मध्ये दुई रियाक्टर सञ्चालनमा छन् भने चार निर्माणाधीन अवस्थामा छन् । “भारतको सबैभन्दा ठूलो आणविक ऊर्जा परियोजना कुदनकुलमलाई पूर्ण क्षमतामा ल्याइनेछ, जसले भारतको ऊर्जा आवश्यकतामा उल्लेखनीय योगदान पु¥याउँछ,” राष्ट्रपति पुटिनले संयुक्त पत्रकार सम्मेलनमा भने ।
संयुक्त वक्तव्यअनुसार दुवै पक्षले आणविक ऊर्जा क्षेत्रमा इन्धन चक्र, जीवनचक्री सहयोग, उच्च प्रविधि र गैर–विद्युत् उपयोगलगायत क्षेत्रमा नयाँ कार्यसूची विकास गर्ने सहमति जनाए । भारत सरकारले २०४७ सम्म आणविक ऊर्जाको उत्पादन क्षमता १०० गिगावाट पु¥याउने योजनालाई ध्यानमा राख्दै दुवै पक्षले रसियाली भेर रियाक्टर, संयुक्त अनुसन्धान तथा विकास, स्थानीय उत्पादन तथा उपकरण निर्माणमा छलफल तीव्र गर्ने निर्णय गरे ।
अन्तरिक्ष–सहयोगमा प्रगति
भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (आइएसआरओ) र रूसी अन्तरिक्ष संस्था रोसकोसमसबीच मानव अन्तरिक्ष उडान, उपग्रह नेभिगेसन र ग्रह अन्वेषणमा सहयोग विस्तार भएको दुवै पक्षले स्वागत गरे । रकेट इन्जिन विकास तथा उत्पादनमा भइरहेको प्रगतिलाई पनि दुवै देशले महत्वपूर्ण उपलब्धि माने ।
सहतर्कता, उर्वरक आपूर्ति र यातायात मार्ग
रूसबाट भारतमा दीर्घकालीन उर्वरक आपूर्ति सुनिश्चित गर्न राष्ट्रिय रासायनिक तथा उर्वरक लिमिटेड, नेशनल फर्टिलाइजर्स लिमिटेड र इनडीयन पोटास लिमिड बीच सम्झौता (एमओयु) हस्ताक्षर भयो ।
यस्तै, ध्रुवीय क्षेत्रमा सञ्चालन हुने जलयानका विशेषज्ञ तालिमसम्बन्धी एमओयु गरियो, जसले अन्तर्राष्ट्रिय उत्तर–दक्षिण यातायात मार्ग चेन्नई–भ्लादिभोस्टोक समुद्री मार्ग तथा नर्दन सी रूटमा कनेक्टिभिटी अभिवृद्धि गर्नेछ ।
दुवै पक्षले रूसी सुदूर पूर्व तथा आर्कटिक क्षेत्रमा कृषि, ऊर्जा, खानी, औषधि, समुद्री यातायात, हीरा तथा जनशक्ति क्षेत्रमा लगानी सहयोग तीव्र पार्ने तयारी जनाए । २०२४–२०२९ को भारत–रूस सुदूर पूर्व व्यापार तथा लगानी कार्यक्रमले यस क्षेत्रमा दीर्घकालीन सहयोगको आधार तयार गर्नेछ ।
भारतले आर्कटिक परिषदमा पर्यवेक्षकको रूपमा सक्रिय भूमिका खेल्ने तयारी जनाएको संयुक्त वक्तव्यमा उल्लेख छ । रूसले सन् २०२५ मार्चमा मुरमान्स्कमा सम्पन्न ६ औँ अन्तर्राष्ट्रिय आर्कटिक फोरममा भारतको सहभागिताको प्रशंसा पनि ग¥यो ।
दुवै पक्षले आर्कटिक विषयमा नियमित उच्चस्तरीय परामर्श जारी राख्ने र उत्तरी समुद्री मार्गमा बहुआयामिक सहकार्य विस्तार गर्ने सहमति जनाए ।
निर्वाचन आयोगले दियो राजनीतिक दलहरुलाई २० बुँदे निर्देशन
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे निर्देशन दिएको छ ।
आयोगले आगामी पुस ११ गते राष्ट्रियसभाको निर्वाचनको मिति तय गरेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनका लागि आवश्यक सहयोग गर्न आग्रह गर्दै आयोगले निर्देशन दिएको छ ।
निर्वाचनमा समावेशी समानुपातिक प्रतिनिधित्व कायम गर्दै निर्वाचनमा सुशासन कायम गर्नका लागि राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम आयोगमा दर्ता भएका राजनीतिक दललाई आवश्यक निर्देशन दिइको छ ।
राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रममा उल्लिखित समयभित्र निर्वाचन अधिकृतको कार्यालयमा समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची पेश गरेपछि त्यसरी पेश गरेको वन्दसूची सम्बन्धित दलले सार्वजनिक गर्नुपर्नेछ ।
माङमालुङ चिया बगानका पीडित अदालत जाने, संचालकले करोडौँ भ्रष्टाचार गरेको आरोप
काठमाडौं । माङमालुङ चिया बगानका संचालकले करोडौँको हिनामिना गरेपछि पीडितहरु न्यायको लागि आदालत जाने तयारी गरेका छन् । शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै गिरिबन्धु टि स्टेटमा जस्तै नीतिगतरुपमै चिया बगान सकाएर भ्रष्टाचार गरेको आरोपसमेत लगाएका छन् ।
माङमालुङ चिया बगान बचाउ अभियानका उपत्यका संयोजक हिमाल राईले अरु शेयर धनीहरुलाई जानकारी नदिइ र विधिसम्मत प्रक्रिया नपुर्याइ केन्द्र प्रसाईको योजनामा बगानको ८० रोपनी जग्गा विक्री गर्नु गैर कानुनी भएको बताए ।
उनले भने,‘बगानका अध्यक्ष किरण राई, कार्यकारी निर्देशक केदार लामिछाने, सदस्यहरु केन्द्र प्रसाई, मनिकुमार भण्डारीसमेतले हामी सयौँ सेयरधनीको लगानी कुम्ल्याउने षड्यन्त्र गरेका छन् ।’
सञ्चालक केन्द्र प्रसाईं योजनामा ‘माई होम माई गार्डेन’ शीर्षकमा सयौँ व्यक्तिहरूबाट रकम असुलउपर गरि त्यसको कुनै लगतसम्म नराखिएको सेयरधनी आङकाजी शेर्पा र गोम्बा शेर्पाले बताए ।
संस्थापक शेयर धनी बुद्धिबहादुर राई(बीबी राई)ले सञ्चालक समितिले लामो समयदेखि आर्थिक अपारदर्शीता देखाएपछि त्यसको छानबिनका लागि ‘व्यवस्थापकीय सुझाव समिति–२०८० असार २३’ गठन गरेको जनाए ।
राईले आफ्नै संयोजकत्वमा जीवराज भट्टराई, कृष्ण राज थापा, अरुण कुमार अधिकारी र छत्र राई गरेर ५ सदस्यीय समितिले छानबिन गरेको बताए ।
२०८० असारमा सुरु गरेर ०८० असोज १० गते छानविन सकी सञ्चालक समितिलाई प्रतिवेदन बुझाएको बताउँदै राईले भने,‘किरण राई अध्यक्ष र कार्यकारी निर्देशक केदार लामिछाने नेतृत्वको सञ्चालक समितिले आब २०७२–७३ देखि आब २०७८–७९सम्म ९ करोड २१ लाख ६० हजार ३ सय ७५ बराबरको आयव्यय अपारदर्शी भएको देखिएको छ ।’
शेयरधनी नवल खड्काले बारम्बार आफूहरूले सञ्चालक समितिलाई पारदर्शी बन्न आग्रह गर्दा पनि उनीहरूले आफ्नो गलत कार्यलाई सच्याउनुको सट्टा बढाउँदै गएको बताए ।
४ सय ९३ जना शेयर सदस्यहरुको पसिनाको लगानीमा सञ्चालकले ठूलो मात्रामा आर्थिक अनियमितता गरेको बताउँदै खड्काले भने ‘आजको मितिसम्म त १५ करोड बढी नीतिगतरुपमै अपचलन गरि भ्रष्टाचार गरिसकेको देखिन्छ ।’ ‘हामीले पटक-पटक सच्चिन आग्रह गर्दा पनि हाम्रो भनाईलाई बेवास्ता मात्रै गरेनन, बरु उल्टै धाक र रवाफ देखाउने कार्यले पत्रकार सम्मेलनदेखि न्यायालयको ढोका ढकढकाउन बाध्य बनाए’ खड्काले थपे ।
सेयरधनी बसन्त कुमार राईले सञ्चालक समिति र व्यवस्थापन पक्षले कम्पनीको आर्थिक कारोबार बैङ्किङ प्रणालीबाट नगर्नुदेखि विभिन्न अवैध कार्यले कम्पनीलाई धराशायी बनाउन लागेको बताए ।
उनले यस्ता विभिन्न कार्यले आक्रोशित बनाएको बताउँदै भने,‘विल र भर्पाई विना नै लेखा परीक्षण गराउनु, व्यक्तिगत ऋण लेनदेन गर्दा कुनै पनि प्रक्रिया विधि पूरा नगरिनु, जग्गा विक्री गर्दा पनि विधि मिच्नु, करोडौँ रुपैयाँ मजदुरका ज्यालाका नाममा भुक्तानी दिदा कुनैपनि भर्पाई नहुनु, एउटै व्यक्तिको नाममा पटकपटक चेक जारी गर्नु, लेखा समितिले दिएको सुझावलाई बेवास्ता गर्नु, कम्पनी सचिवको व्यवस्था नगरिनु, कार्यकारी निदेर्शकको काम कर्तव्य र अधिकारको व्यवस्था नगरिनु, कर्मचारीका नियमावली नहुनु लगायतका कार्यहरूले प्रष्टरुपमा आर्थिक र नीतिगत भ्रष्टाचार गरेको ठहरिन्छ ।’
सेयरधनी हरिविक्रम राईले २०५१–५२ सालदेखि माङमालुङ चिया बगानबाट उत्पादित प्राकृतिक अर्थाेडक्स चियालाई विश्वव्यापीकरण गर्दै देशको अर्थतन्त्रलाई मजबुत बनाउने स्वच्छ भावना र उद्देश्यका साथ करोडौँ लगानी गरेको बताए ।
सञ्चालकहरूबाट भएका आर्थिक अनियमितता, व्यवस्थापकीय कमजोरी,विधि र प्रक्रिया उल्लङ्घन जस्ता कार्यहरूको प्रकोपबाट कम्पनी बचाउन आफूहरू लागि परेको उनले जनाए । त्यसका लागि सम्बन्धित निकायहरूदेखि न्यायालयसम्म जाने उद्घोष गरे ।
कांग्रेसको नेतृत्वमा मधेस प्रदेशको सरकार गठनका लागि दाबी पेश
जनकपुर । मधेस प्रदेशको नेतृत्वका लागि सातदलीय गठबन्धनले नेपाली कांग्रेसका कृष्ण यादवको नेतृत्वमा दाबी पेश गरेको छ । मधेस प्रदेश प्रमुख कार्यालयमा सात राजनीतिक दलले कृष्ण यादवलाई मुख्यमन्त्रीको रुपमा अघि सार्दै मधेस प्रदेश सरकारको नेतृत्वका लागि दाबी पेश गरेको हो ।
सात दलीय राजनीतिक गठबन्धनमा जसपा नेपाल, नेपाली कांग्रेस, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, लोसपा नेपाल र नेकपा एस रहेको छ ।
कृष्ण यादव नेतृत्वको सरकारलाई कुल ७७ जना सांसदको समर्थन रहेको जनाइएको छ ।
रुसी राष्ट्रपति पुटिनलाई भारतमा भब्य स्वागत, २१ तोपको सलामी
एजेन्सी । भारत भ्रमणमा रहेका रुसका राष्ट्रपति भ्लादिमिर पुटिन शुक्रबार विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन् । शुक्रबार विहान भारतीय राष्ट्रपतिको भवन परिसरमा उनलाई २१ तोपको सलामी दिँदै स्वागत गरियो । साथै उनलाई गार्ड अफ अनर प्रदान गरिएको थियो ।
पुटिन बिहीबार साँझ दुई दिने भ्रमणमा भारत पुगेकाहुन् । उनीसँगै सातजना मन्त्रीहरूको प्रतिनिधिमण्डल पनि सहभागी छन् । मोदी र पुटिनबीच दुई महत्त्वपूर्ण बैठक हुने कार्यक्रम तय भएको छ ।
द्विपक्षीय बैठकका क्रममा भारत र रुसबीच २५ भन्दा बढी सम्झौतामा हस्ताक्षर हुने सम्भावना छ ।
पुटिन विमानस्थलमा उत्रिता मोदी स्वयं एयरपोर्टमा स्वागत गर्न पुगेका थिए । दुवै नेताले एकअर्कालाई अंगालो हालेका थिए । मोदी तथा पुटिन एउटै गाडीमा बसेर एयरपोर्टबाट प्रधानमन्त्री निवास पुगेका थिए ।
मोदीको निमन्त्रणामा आयोजित २३औँ भारत–रुस वार्षिक शिखर सम्मेलनको क्रममा दुई नेताहरूबीच रक्षा सहयोगलाई सुदृढ पार्ने, द्विपक्षीय व्यापारलाई बाह्य दबाबबाट जोगाउने र साना मोड्युलर रिएक्टरहरूमा साझेदारी गर्ने विषयमा छलफल हुने भारतीय संचारमाध्यमहरूले जनाएका छन् ।
पुटिन भारत भ्रमणमा दिल्ली ओर्लिएपछि बिहीबार मोदीले उनलाई रुसी भाषामा लेखिएको गीताको एक प्रति उपहार दिएका थिए ।(एएनआइ)