बिपी राजमार्गको पुनर्निर्माण सुरु
रामेछाप । बाढी–पहिरोले लगातार क्षतिग्रस्त बनाएको बिपी राजमार्गको रोशी खोला सडक खण्डमा पुनः निर्माणको काम सुरु भएको छ ।
सडक डिभिजन कार्यालयका अनुसार गत वर्ष र यस वर्षको बाढी पहिरोले रोशी खोला क्षेत्रमा बिगारेको ३०.५ किलोमिटर सडकमध्ये २७;३ किलोमिटर क्षेत्रमा निर्माणको काम अघि बढेको हो ।
नेपाल सरकारको बजेटमा ठेक्का लागेका सडकको निर्माण व्यवसायीले निर्माण सुरु गरेका सडक डिभिजन कार्यालय भक्तपुर र सिन्धुलीले बताएका छन्। तर जापानको जाइका अन्तर्गत निर्माण हुन लागेको ३.२ किलोमिटर सडक खण्डमा भने अझै ठेक्का प्रक्रिया अघि नबढेकाले निर्माण सुरु हुन सकेको छैन।
सार्वजनिक खरिद ऐनअनुसार ठेक्का लागि सकेका क्षेत्रमा निर्माण कार्य सुरु भएको जनाइएको छ ।
विगतमा सिङ्गल लेन रहेको बिपी राजमार्गको भकुन्डेबेसीदेखि नेपालथोकसम्मको भागमा बाढीले क्षतिग्रस्त पारेपछि पुनर्निर्माणमार्फत दुई लेन सडक निर्माण गरिँदै छ।
राजमार्ग पुनर्निर्माणका लागि काभ्रेपलाञ्चोकतर्फ तीन प्याकेज र सिन्धुलीतर्फ एक प्याकेज गरी ठेक्का सम्झौता भएको छ।
सडक निर्माण सुरु भइसके पनि राजमार्गमा पर्ने पुल निर्माणका लागि भने ठेक्का प्रक्रिया पूरा नहुँदा कार्य सुरु हुन सकेको छैन।
यसले गर्दा पुराना साँघुरा पुलका कारण राजमार्गमा ट्राफिक जाम बढ्ने समस्या यथावत् रहेको स्थानीयहरूले बताएका छन्।
ह्वाइट हाउसमा भएको गोलीकाण्डमा नेशनल गार्डका एक सैनिकको मृत्यु
काठमाडौं । ह्वाइट हाउसबाट केही ब्लक पर भएको हालैको गोलीकाण्डमा घाइते दुई नेशनल गार्डमध्ये एकको मृत्यु भएको अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका छन् । मृत्यु भएकी सैनिक अमेरिकी सेनाकी स्पेशलिस्ट साराह बेक्स्ट्रोम हुन् ।
राष्ट्रपति ट्रम्पले धन्यवाद दिवस (थ्याङसगिभिङ) का अवसरमा सेनाका सदस्यहरूसँग गरेको फोन कुराकानीका क्रममा बेक्स्ट्रोमको निधन भएको जानकारी दिएका थिए । “वेस्ट भर्जिनियाकी साराह बेक्स्ट्रोम एक असाधारण, सम्मानित र अद्भुत व्यक्तित्व थिइन् । उनले २०२३ जूनमा सेवा सुरु गरेकी थिइन् । अहिले उनी हामीलाई छोडेर गएको समाचार अत्यन्त दुःखद छ,“ ट्रम्पको भनाइलाई सीएनएनले उद्धृत गरेको छ ।
ट्रम्पले बेक्स्ट्रोमको मृत्युप्रति दुःख व्यक्त गर्दै भने, “उहाँ अब हामीमध्ये छैनन । तर हामीलाई हेरिरहनुभएको छ ।“ घटनामा घाइते अर्का सैनिक २४ वर्षीय एन्ड्र्यु वोल्फ गम्भीर अवस्थामा रहेको र उसको जीवन बचाउन चिकित्सकहरू प्रयासरत रहेको पनि ट्रम्पले बताए । “उनी आफ्नो जीवनका लागि लडिरहेका छन्। हामी राम्रो समाचारको आशा गरिरहेका छौँ,“ ट्रम्पले भने ।
बुधबार भएको उक्त गोलीकाण्डलाई ट्रम्पले “भयानक आक्रमण“ र “आतङ्ककारी गतिविधि“ भन्दै कडा शब्दमा निन्दा गरेका छन्। संघीय निकायहरूले यसमा अनुसन्धान जारी राखेका छन् ।
ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै पूर्व राष्ट्रपति जो बाइडेनको आव्रजन नीतिलाई दोष दिए। उनका अनुसार २९ वर्षीय रहमानुल्लाह लकनवाल, अफगान नागरिक, सन् २०२१ मा अमेरिका प्रवेश गरेका थिए । सुरक्षा अधिकारीहरूले पनि लकनवाल अफगानिस्तानबाट आएको पुष्टि गरेका छन् र उनी एक्लैले आक्रमण गरेको विश्वास गरिएको छ ।
घटना ह्वाइट हाउसबाट केही दूरीमा रहेको क्षेत्रमा भएको हो, जसलाई अधिकारीहरूले जानाजान गरिएको हमला बताएका छन् । एएनआई
१४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो
काठमाडौं । हुलाकी राजमार्गअन्तर्गत १४ वर्षदेखि अलपत्र पारिएको झापा गाउँपालिका—२ र गौरीगञ्ज गाउँपालिका—१ जोड्ने करिब ७२३ मिटर लामो कन्काई पुल निर्माणको ठेक्का तोडिएको छ ।
सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालय अन्तर्गत योजना कार्यालय इटहरीले बिहीबार पुल निर्माणका लागि पप्पु महादेव खिम्तीको संयुक्त उपक्रम (जेभी) सँग ठेक्का सम्झौता अन्त्य गरिएको सार्वजनिक सूचना जारी गरेको छ ।
पक्की पुल डिजाइन एण्ड विल्ड ढाँचामा निर्माणका लागि पप्पु महादेवखिम्ती उपक्रम (जेभी) सँग ३१ जेठ २०६८ मा ठेक्का सम्झौता भएको थियो । पुल निर्माण ३० जेठ २०७२ भित्र सम्पन्न गरी ठेक्का सम्झौता भएकोमा पाँचपल्ट म्याद थप्दा निर्माण प्रगति करिब ५६ प्रतिशत मात्र छ ।
ठेक्का रकम करसहित ३४ करोड ९ लाख रुपैयाँ थियो । ठेक्का सम्झौता रद्ध गरिएका निर्माण व्यवसायीको १ करोड ७१ लाख रुपैयाँ कार्यसम्पादन जमानत पनि जफत हुनेछ । योजना कार्यालय इटहरीबाट गत ३१ असोजमा कात्तिकमा ठेक्का किन नतोड्ने ? भन्दै निर्माण व्यवसायीलाई १५ दिने स्पष्टीकरण सोधिएको थियो ।
निर्माण व्यवसायीबाट पेश भएको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले सार्वजनिक खरिद कानूनमा भएको व्यवस्था बमोजिम ठेक्का रद्ध गरिएको योजना कार्यालयका प्रमुख युवराज पोखरेलले जानकारी दिए ।
निर्धारित अवधिमा कार्य सम्पन्न हुन नसकेको कारण र कार्य सम्पन्न गर्न सक्ने अद्यावधिक कार्यतालिका, स्रोत परिचालनको भरपर्दो योजना र कार्य सम्पन्न गर्ने प्रतिबद्धतासहित निर्माण व्यवसायीको आधिकारी प्रतिनिधि उपस्थित नभएको, पेश भएको स्पष्टीकरण चित्त बुझ्नो नभएको र कार्य सुचारु गर्नेतर्फसमेत तदारुकता नदेखाएको हुँदा सार्वजनिक खरिद ऐन तथा ठेक्का सम्झौता उल्लङ्गन गरिएको जनाइएको छ ।
ऐनको प्रावधान बमोजिम कार्य सम्पादन जमानत वापतको रकम जफत गरिने, बाँकी काम पूरा गर्न आवश्यक पर्ने रकम सरकारी बाँकी सरह असूल उपर गरिने र कालोसूचीमा राख्न सिफारिस गरिएको जनाइएको छ ।
हालसम्मको अद्यावधिक भएको काम र बाँकी कामको नापजाँच मूल्याकन गरी वित्तीय फरफारख गर्न १५ दिनभित्र कार्यालयमा उपस्थित हुन अनुरोध गरिएको छ । निर्माण व्ष्वयासी कार्यालयमा उपस्थित नभएमा कार्यालयबाट नापचाँच गरिनेछ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले गत २६ असोजमा स्थलगत निरीक्षण गरी उत्त पुल निर्माण बारे छिट्टै निर्णय गरिने स्थानीय बासिन्दालाई बताएका थिए ।
स्थानीयबाट पुल नहुँदा सास्ती बेहोर्नुपरेको, व्यापार–व्यवसाय तथा पर्यटन प्रवद्र्धनमा समेत असर परेकाले पुल निर्माण तत्काल सम्पन्न गर्न माग गरिएको थियो । साथै मन्त्री घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका हुन् ।
निर्माण व्यवसायीका तर्फबाट कन्काई पुल २०७६ सम्म काम गरिएको थियो । तर, निर्माणमा त्रुटी देखिएपछि त्यसको प्राविधिक परीक्षण गरिएको थियो । प्राविधिक परीक्षणबाट पुष्टि भएको त्रुटी सच्याउन निर्माण व्यवसायीबाट केही काम गरिएको थियो । ठेक्का सम्झौताको म्याद २०८० मै सकिएको छ । सार्वजनिक खरिद नियमावलीमा भएको पछिल्लो संशोधन बमोजिम निर्माण व्यवसायीबाट म्याद थपका लागि निवेदन दिइएको छ । तर, निर्माण व्यवसायीबाट काम सम्पन्न हुने आधार नदिएपछि म्याद थप गरिएको थिएन ।
पुलका १९ स्पानमध्ये ८ वटा सकिएको छ भने बाँकी ११ मध्ये २ वटाको बिमसम्म (गर्डर) हालिएको छ । ६ वटाको जग हालिएको छ भने ३ वटाको जग हाल्न बाँकी छ ।
रास्वपाका प्रदेश इन्चार्जहरु जिम्मेवारीबाट मुक्त
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेश इन्चार्जहरूलाई जिम्मेवारीबाट मुक्त गरेको छ । मंगलबार बसेको सचिवालय बैठकले आगामी निर्वाचन केन्द्रित गतिविधिको लागि इन्चार्जको भूमिकामा रहेका नेताहरूलाई जिम्मेवारीबाट मुक्त गरेको हो । रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार बैठकले प्रदेश इन्चार्जको भूमिका केन्द्रीय सदस्यहरूलाई तोक्ने निर्णय गरेको छ ।
‘प्रदेश इन्चार्जको भूमिका निर्वाह गर्दै आउनुभएका सचिवालय सदस्यहरूलाई विशेष धन्यवाद दिँदै, आगामी निर्वाचन केन्द्रित गतिविधिमा जिम्मेवारी प्रदान गर्ने र प्रदेश इन्चार्जको भूमिका केन्द्रीय सदस्यहरूलाई तोक्ने निर्णय गरियो,’सचिवालय बैठकको निर्णयमा भनिएको छ ।
यस्ता छन्, रास्वपा सचिवालय बैठकको निर्णयहरु
१. विभिन्न राजनीतिक दल, समूह र व्यक्तिहरूसँग भएको संवाद प्रगति सम्बन्धमा उच्च संवाद समितिको तर्फबाट ब्रिफिङ भयो। सम्भाव्य राजनीतिक ध्रुवीकरण र सहकार्यलाई तार्किक निष्कर्षमा पु¥याउन केन्द्रीय समितिको २०८२ मङ्सिर ३ गते बसेको बैठकको निर्देशानुसार अघि बढ्न सचिवालयबाट आवश्यक सहजीकरण गर्ने निर्णय गरियो। सुशासन र द्रूत विकासप्रति समर्पित सबै वैकल्पिक शक्तिहरु मुलुकको अर्थ–राजनीतिक संरचनामा आमूल परिवर्तन गर्न सक्ने सामूहिक सामथ्र्य बनाउन एकजुट हुन आह्वान गर्ने निर्णय गरियो।
२. पार्टीको केन्द्रीय अनुशासन आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय लेखा आयोगमा रहेको रिक्त पदपूर्तिका लागि केन्द्रीय समिति सदस्यहरूबाट योग्य पात्रहरुको नाम सिफारिसका लागि अनुरोध गर्ने निर्णय गरियो।
३. प्रदेश इन्चार्जको भूमिका निर्वाह गर्दै आउनुभएका सचिवालय सदस्यहरूलाई विशेष धन्यवाद दिँदै, आगामी निर्वाचन केन्द्रित गतिविधिमा जिम्मेवारी प्रदान गर्ने र प्रदेश इन्चार्जको भूमिका केन्द्रीय सदस्यहरूलाई तोक्ने निर्णय गरियो।
४. सबै पालिकामा पार्टीको र्यापिड एक्सन टिम गठन गर्ने र सोका लागि प्रदेश एवं जिल्ला संगठनलाई निर्देशन दिने निर्णय गरियो।
५. कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदनका आधारमा पार्टी विधानको धारा ७० बमोजिम कीर्तिपुर नगर समिति विघटन गर्ने निर्णय गरियो ।
रौतहटमा परिवारकै सदस्यद्वारा महिलाको बिभत्स हत्या, घरभित्र गाडिएको अवस्थामा शव फेला
सर्लाही । रौतहटको वृन्दावन नगरपालिका–९ भुसाहामा २५ वर्षीया महिलाको आफ्नै घरभित्र खाडल खनेर गाडिएको अवस्थामा शव फेला परेको छ । भुसाहा निवासी तरीमा खातुनलाई सोमबार राति परिवारका सदस्यहरूले मिलेमतोमा हत्यागरी घरको भुस राख्ने स्थानमा पुरेको अवस्थामा मंगलबार बिहान शव भेटिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय गरुडा र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त टोली घटनास्थलमा पुगेर खाडल खनेर पुरिएको शव निकालिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । मृतकका पति शेख आदिल वैदेशिक रोजगारीका सिलसिलामा हाल साउदी अरबमा रहेका छन् । घटनापछि खातुनका ससुरा शेख अलि मोहम्मदसहित घरका अन्य सदस्य फरार रहेको प्रहरी उपरीक्षक (एसपी) रविन कार्कीले जानकारी दिए ।
उनीहरूले मृतकको डेढ वर्षका छोरा मोहम्मद आरिफलाई समेत साथमै लिएर फरार भएको प्रहरीले जनाएको छ। घटनाको मूल कारण अनैतिक सम्बन्धको आरोपसँग जोडिएको अनुमान गरिएको छ ।
मृतकका बुबा ताज मोहम्मदका अनुसार गत कात्तिक १८ गते माइतीतर्फ आयोजित विवाह समारोहका क्रममा खातुन नातामा भतिजो पर्ने गुड्डु भनिने शेख अलाहुदिनसँग सम्बन्ध राखिरहेकै अवस्थामा फेला परेकी थिइन् ।
दुबै जनाले विवाह गर्ने मौखिक सहमति जनाएपनि परिवारका सदस्यले स्वीकार नगरेपछि विवाद झन् चर्किएको र सोमबार राति सोही विषयलाई लिएर हत्या भएको अनुमान गरिएको छ। मृतकका भाइ शेख आस मोहम्मदले दिदीको हत्या प्रत्यक्ष देखेका छन् ।
उनका अनुसार परिवारका सदस्यले हत्या गरिरहेको बेला विरोध जनाउँदा ‘हल्ला ग¥यांै भने तिमीलाई पनि मारिदिन्छौं’ भन्दै धम्की दिएपछि उनी त्यहाँबाट भाग्न सफल भएका थिए। भाइले दिदीको हत्या भएको पुष्टि गर्ने तस्वीर माइतीतर्फ पठाएको परिवारजनले बताएका छन् ।
प्रहरीका अनुसार खातुनको दाहिने खुट्टामा गहिरो चोट लागेको र टाउकोमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ। घटनास्थलबाट एकवटा चक्कु समेत बरामद गरिएको प्रहरीले जनाएको छ। शवलाई पोष्टमार्टमका लागि चन्द्रनिगाहपुर अस्पतालमा राखिएको छ ।
प्रहरीले फरार रहेका उनका घरका सदस्यहरुको खोजीकार्य तीव्र रुपमा गरिरहेको र घटनाका सम्बन्धमा अनुसन्धान अघि बढाइएको जनाएको छ ।
सुर्खेतमा एमाले नेता महेश बस्नेतविरुद्ध जेन-जी युवाको नाराबाजी
सुर्खेत । राष्ट्रिय युवा संघ नेपालको युवा जागरण अभियान प्रारम्भ गर्न सुर्खेत आएका नेकपा एमाले नेता महेश बस्नेतविरुद्ध आज स्थानीय जेन–जी युवाहरूले नाराबाजी गरेका छन् ।
कार्यक्रम सुरु हुनुअघि बस्नेतसहित एमाले नेताहरू सुर्खेत आउँदैछन् भन्ने सूचना पाएपछि युवाहरूले कार्यक्रमस्थल बाहिर भेला भई प्रदर्शन गरेका हुन्। जिल्ला समन्वय समिति सुर्खेतको हलमा भइरहेको युवा संघको कार्यक्रममा अवरोध गर्ने प्रयास भएपछि सुरक्षाकर्मीको उपस्थिति बढाइएको स्थानीय प्रशासनले जनाएको छ ।
प्रदर्शनकारीहरूले बस्नेतविरुद्ध लेखिएका प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए। सम्भावित झडपको जोखिमलाई ध्यानमा राख्दै सुरक्षाकर्मी थप तैनाथ गरिएको प्रशासनको भनाइ छ ।
युवा संघले सुरु गरेको अभियानले कर्णालीका युवामा चेतना, सहभागिता र नेतृत्व विकासमा मद्दत गर्ने दाबी बस्नेतले गरेका छन् ।
सिंहदरबार छिर्ने प्रयास गरेका जेनजी समूहलाई प्रहरीले लखेट्यो
काठमाडौं । सिंहदरबार छिर्ने प्रयास गरेका एक जेनजी समूहलाई प्रहरीले रोकेको छ । मंगलबार मिराज ढुंगाना समूहका जेनजीहरु सिंहदरबार प्रवेश गर्न खोजपछि उनीहरुलाई प्रहरीले त्यहाँबाट हटाएको हो ।
निषेधित क्षेत्र प्रवेश गर्न खोजेका कारण प्रहरीले उनीहरुलाई अनामनगरको भाटभटेनीसम्म हटाएको थियो ।
हिजो सोमबार पनि प्रधानमन्त्री सुशीला कार्कीसमक्ष माग पत्र बुझाउन मिराज ढुंगाना, रविकिरण हमाललगायतका जेनजी अगुवाहरू सिंहदरबार मागपत्र लिएर पुगेका थिए ।
तर भित्र छिर्न नपाएपछि उनीहरू दक्षिण गेटमा मागपत्र टाँसेर फर्किएका थिए ।
रोमानियाको सडकमा अस्ताए सर्लाहीका २५ वर्षीय सलिन
सर्लाही । युरोपको रोमानिया कार्यअवसरका लागि पुगेका सर्लाहीका २५ वर्षीय सलिन आले मगरको सडक दुर्घटनामा मृत्यु भएको छ ।
ईश्वरपुर नगरपालिका – ६, निवासी सलिन करीब १० महिनाअघि रोजगारका लागि त्यहाँको बुखारेस्ट पुगेका थिए र त्यहाँको पान फास्टफुडमा कार्यरत थिए ।
शुक्रबार साँझ राजधानी बुखारेस्टको काला जिउलेस्ती सडक पार गर्ने क्रममा विपरीत दिशाबाट अत्यधिक वेगमा आएको कारले ठक्कर दिँदा उनको घटनास्थलमै ज्यान गएको बताईएको छ । प्रहरी प्रशासनलाई उद्धृत गर्दै उनले सो कार १८ वर्षीय रोमानियन युवकले चलाएको बताए ।
हाल सलिनको शव बुखारेस्टस्थित कलिनिका दे अर्जेन्ट अस्पतालको शवगृहमा राखिएको छ । आवश्यक कानुनी प्रक्रिया पूरा गरी शब नेपाल पठाउने तयारी भइरहेको र घटनाबारे परिवारलाई औपचारिक रूपमा जानकारी गराइएको बताइएको छ ।
२५–२५ मिटर सडक विस्तार विवादले हेटौंडा–८ र ९ का स्थानीय त्रसित
हेटौंडा । हेटौंडा उपमहानगरपालिका–८ र ९ मा प्रस्तावित २५–२५ मिटर सडक विस्तारका तयारीले स्थानीय बासिन्दा त्रसित बनेका छन् । आवश्यक छलफल, प्राविधिक अध्ययन तथा वैधानिक प्रक्रिया बिना नै सडक विस्तार अघि बढाउन खोजिएको भन्दै प्रभावित घरधनीहरूले तीव्र असन्तुष्टि जनाएका छन् ।
स्थानीयवासीहरूको भनाइअनुसार दशकौँदेखि राजस्व तिरेर वैधानिक रूपमा बसोबास गर्दै आएका घरधनीहरूलाई अचानक ‘अतिक्रमणकारी’ को रूपमा चित्रण गर्दै क्षतिपूर्तिविना घर–जग्गा हटाउन चेतावनी दिइनु अन्यायपूर्ण प्रयास हो। उनीहरूले यो प्रक्रिया सडक ऐन २०२१ तथा जग्गा प्राप्ति ऐन २०३४ विपरीत भइरहेको दाबी गरेका छन् ।
यसै विषयमा बसोवास सरोकार उपसमिति हेटौंडा–८÷९ ले हेटौंडा–९ स्थित दुर्गा मन्दिरमा आयोजना गरिएको भेलामा बोल्दै स्थानीय सुनिल लोपचनले ‘हामी विकासका विरोधी होइनौँ, तर विकास जनतामैत्री र कानुनी आधारमा हुनुपर्छ। संवाद, तथ्य र स्पष्ट नीतिविना गरिने कुनै पनि निर्णय स्वीकार्य हुँदैन ।’ भन्ने धारणा सार्वजनिक गर्यो । समितिले सडक डिभिजन र सम्बन्धित निकायलाई तत्काल वार्तामा बस्न आग्रह गरेको छ ।
हेटौंडा–९ का स्थानीय रामरी न्यौपानेले, ‘मौजा नदी भत्काउँदै सडक बनाउने प्रयास भयो भने हामी आन्दोलनमा जान बाध्य हुनेछौँ ।’ भन्दै चेतावनी दिएका छन् ।
आदेश र विवाद बढ्नुको कारण
सडक डिभिजन कार्यालय हेटौंडाले यसअघि १५ दिनको सूचना जारी गरेको थियो। स्थानीय अमृत श्रेष्ठका अनुसार सुझाइएको मार्गमा घर भत्काउने निर्णय कुलमान घिसिङले दिएको भन्ने सार्वजनिक रूपमा फैलिएको बुझाइ सही नभएको उनको दाबी छ । ‘यो आदेश कुलमान घिसिङज्यूको निर्देशन होइन। यो मीना लामाको कारणले आएको आदेश हो ।’ भन्दै उनी आरोप लगाउँछन् ।
श्रेष्ठले आरोप गर्दै भने, ‘मीना लामालाई जनताको घर भत्कोस् भन्ने चिन्ता छैन। भ्रष्टाचारमार्फत लाभ लिन सकिन्छ कि भन्ने दबाबका कारण यो प्रक्रिया अघि बढाइएको हो ।’ तर यी सबै आरोपहरूको बारेमा सम्बन्धित पक्षबाट आधिकारिक प्रतिक्रिया आएको छैन ।
क्षतिपूर्ति, दायरा र वैधानिकतामा अझै अस्पष्टता
२५–२५ मिटर सडक विस्तारको दायरा, क्षतिपूर्तिको आधार, पुराना लालपुर्जाको वैधानिकता, बसोबास अधिकार तथा संरचना मापनको मापदण्डसम्बन्धी विषयमा सरकारी निकायले स्पष्ट धारणा सार्वजनिक गरिसकेको छैन । यही अनिश्चितता र संवादको अभावका कारण योजना थप विवादित बन्दै गएको स्थानीयहरूले बताएका छन् ।
सडक विस्तार अघि बढ्ने हो वा पुनःसमिक्षा गरिने भन्ने विषयमा भने हालसम्म सम्बन्धित निकायले आधिकारिक रूपमा स्पष्ट प्रतिक्रिया दिएको छैन । स्थानीयहरू भने प्रक्रिया पारदर्शी, जनमुखी र कानुनी रूपमा सुनिश्चित नभए आंदोलनसम्म जाने चेतावनी दिँदै आएका छन् ।
मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त गर्ने सरकारको निर्णय
काठमाडौं । नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त भएका छन् । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता तथा शिक्षामन्त्री महावीर पुनले जानकारी दिए ।
त्यस्तै भैरवाको विशेष आर्थिक क्षेत्र सञ्चालन मापदण्ड तथा कार्यविधि २०७१ लाई खारेज गरेर त्यस क्षेत्रमा विशेष आर्थिक क्षेत्र मासिक भाडा दर २० बाट घटाएर प्रतिवर्गमिटर ५ रुपैयाँ कायम गर्ने निर्णय भएको पनि उनले जानकारी गराए ।
उले भने,‘भैरवाको विशेष आर्थिक क्षेत्र सञ्चालन मापदण्ड तथा कार्यविधि २०७१ लाई खारेज गरेर त्यो क्षेत्रमा विशेष आर्थिक क्षेत्र मासिक भाडा दर २० रुपैयाँ प्रतिवर्गमिटर घटाएर ५ रुपैयाँ कायम गर्ने निर्णय भएको छ ।’
त्यस्तै उनले विद्युत नियमन आयोगलाई साउथ एसिया फोरमइन्फ्रास्ट्रक्चररेगुलेसनको सदस्यता स्वीकृति दिने निर्णय भएको पनि जानकारी दिए ।
साथै भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा घाइते भएकाहरुको उपचार गर्ने राहत दिने र सेवा दिनका लागि सञ्चालित हेल्प डेस्कमा मन्त्रालयको सचिव र उपसचिव बाहेक १० जनालाई राख्ने र चार महिनासम्म मासिक रुपमा १५ हजार रुपैयाँ दिने अर्को निर्णय भएको उनले बताए ।