गाउँमै उद्यम गर्ने एक दम्पतीको उदाहरणीय प्रयास
रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–४ प्रीतिका एक दम्पती आफ्नो सीप र श्रमबाट गाउँमा नै उद्यम सिर्जना गर्न निरन्तर लागेका छन् । प्रीतिका गुञ्जनबहादुर सार्की र उनकी पत्नी मिना सार्कीले आफ्नो पुर्खाले गर्दै आएको परम्परागत जुत्ता बनाउने पेसालाई आधुनिकीकरण गर्दै गाउँमा जुत्ता–चप्पल र ब्याग उद्योग सञ्चालन गर्दै आएका छन् ।
गाउँमा नै बसेर केही गरौँला भनेर लागेको यो जोडीले काठमाडौंका उद्योगबाट आउने भन्दा पनि गुणस्तरीय र राम्रो फिनिसिङ सहितको सामान उत्पादन गरिरहेको छ । उद्योग पनि विस्तार भएको छ ।
अहिले १० वटा मेसिन छन् । उत्पादित सामानको बजार भने समस्या छ । सामान बजारमा जाने हो भने ठुलै परिमाणमा उत्पादन गर्न सक्ने अवस्थामा आफूहरू पुगेको मिना बताउँछिन् । ‘सामान उत्पादन गर्न सकिन्छ, तर बजार खोज्न सकिएन, हामीलाई बजारकै समस्या भयो’, उनले भनिन् ।
अहिले उत्पादित जुत्ता र ब्याग स्थानीय स्तरमा मात्रै बिक्री हुने गरेको उनले बताइन् । सो कारखानामा छालाका पार्टी तथा स्कूल जुत्ताहरू, स्पोर्ट सुज, विभिन्न डिजाइनका लेडिज जुत्ता, चप्पलका साथै ब्याग समेत उत्पादन हुने गर्दछ । २०७५ सालदेखि कारखानाबाट नियमित रूपमा जुत्ता, चप्पल र ब्याग उत्पादन हुँदै आएको छ ।
अहिले कारखानामा परिवारका सदस्यहरूले नै काम गर्दै आएका छन् । गुञ्जसँगै पत्नी मिना पनि डिजाइन र सिलाइको सबै काम गर्छिन् । छोराछोरीले पनि भ्याएको बेलामा काममा सहयोग गर्दै आएका छन् ।
पर्याप्त बजार हुने हो भने ठूलो स्केलमा उत्पादन पनि गर्न सकिने र अन्यलाई पनि रोजगारी दिन सकिने मिना बताउँछिन् । ‘हामीले बजार नै व्यवस्थापन गर्न सकेनौँ, त्यस कामको लागि सहयोग चाहिएको छ, कम्तीमा रामेछापको सदरमुकाम मन्थली र दोलखाको चरिकोटकाका व्यापारीले मात्रै हाम्रो सामान लिइदिने हो भने भनि हामीलाई ठुलो सहयोग हुन्थ्यो, हामी काठमाडौंको भन्दा अझ कम मूल्यमा त्यहाँको भन्दा गुणस्तरीय सामान दिन सक्छौँ’, उनले भनिन् ।
एउटा परिवारको मात्र उद्योग बनेको कारखानाको उत्पादनलाई बजारीकरणमा सरोकारवालाले सहयोग र सहजीकरण गरिदिने हो भने उद्योग प्रवर्धनमा सहयोग भई बाहिर जाने पैसा गाउँमा पुग्ने र रोजगारी प्रवर्धनमा पनि सहयोग पुग्ने देखिन्छ ।
राजनीतिक तहमा नयाँ समीकरण: तीन दल एउटै मोर्चाबाट चुनावमा
काठमाडौँ । आगामी निर्वाचनलाई लक्षित गर्दै जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय मुक्ति पार्टी नेपाल र नागरिक उन्मुक्ति पार्टी नेपालले एकल चुनावी मोर्चा बनाएर जाने निर्णय गरेका छन् । तीन दलका अध्यक्षहरूबीच हालै सम्पन्न बैठकमा सहमति औपचारिक रूपमा टुंगिएको जसपा स्रोतले जनाएको छ ।
दलका शीर्ष नेताहरूका अनुसार मोर्चा निर्माणको प्रमुख उद्देश्य देशभर पहिचान, अधिकार र वैकल्पिक राजनीतिक शक्ति खोज्ने मतदातालाई एकीकृत गर्दै संघीय तथा प्रदेशसभामा प्रभावकारी प्रतिस्पर्धा प्रस्तुत गर्नु रहेको छ । सहमति अनुसार तीनै दलले संयुक्त नीति–कार्यक्रम तयार गर्ने र साझा उम्मेदवार छनोट प्रक्रिया चाँडै अघि बढाउने छन् ।
यसकै लागि संयुक्त संयोजन समिति गठन गर्ने निर्णय भएको छ, जसले बहुमत सिटमा साझा उम्मेदवारी, चुनावी अभियान, संगठन विस्तार तथा रणनीतिक योजनाहरू तय गर्नेछ ।
पार्टी स्रोतका अनुसार आगामी केही दिनभित्र संयुक्त मोर्चाको औपचारिक घोषणापत्र सार्वजनिक गरिने तयारी भइरहेको छ ।
कोशी एक्सिलेंस अवार्ड–२०२६ : तीन नयाँ विधासहित तयारी सुरु
इटहरी । आगामी फागुन ७ गते इटहरीस्थित सोल्टी वेस्टेन्ड होटेलमा आयोजना हुने ‘कोशी एक्सिलेंस अवार्ड–२०२६’ का लागि तयारी औपचारिक रूपमा सुरु भएको छ।
कोशी प्रदेशकै सबैभन्दा ठुलो र प्रतिष्ठित अवार्डका रूपमा स्थापित यो कार्यक्रम कोशी प्रदेशमा जन्मिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तित्वलाई सम्मानित गर्दै आएको छ।
आयोजकका अनुसार यस वर्ष अवार्डलाई अझ परिष्कृत, प्रभावशाली र राष्ट्रियस्तरमै आकर्षक बनाउन तीन नयाँ विधा थपिएको छ। कार्यक्रमको प्रस्तुति, व्यवस्थापन र सम्मान प्रक्रियामा समेत नवीनता ल्याइँदै अवार्डलाई देशभरबाटै ध्यान तान्ने स्तरमा उकास्ने तयारी गरिएको छ।
यो अवार्ड गतशाल नयन एड्भरटाइजिङ मिडिया प्रालिद्वारा सञ्चालित हुँदै आएको थियो। तर यस वर्षदेखि नवनिर्मित नयन मिडिया फाउन्डेशनमार्फत कार्यक्रम आयोजना हुने फाउन्डेसनका अध्यक्ष पवन अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। अध्यक्ष अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘हामीले अवार्डको संरचना, विधा विस्तार, निर्णायक छनोट प्रक्रिया र समग्र व्यवस्थापनलाई अझ बढी व्यवस्थित, पारदर्शी र मर्यादित बनाएका छौँ । यो अब कोशीको मात्र नभई नेपालकै प्रतिष्ठित अवार्ड बन्नेछ ।’
गत वर्ष शिक्षा, स्वास्थ्य, सञ्चार, साहित्य, पर्यटन, कृषि, कर्पोरेट, बैंकिङ, खेलकुद, सामाजिक, स्टार्टअप, टेक्नोलोजी, इन्स्योरेन्स लगायत करिब दर्जनभन्दा बढी विधामा अवार्ड प्रदान गरिएको थियो।
यस वर्ष भने अटोमोबाइल, सङ्गीत र क्यापिटल मार्केट नामका गरी तीन नयाँ विधा थपिएको छ। अघिल्लो वर्षकै कार्यक्रममा ती क्षेत्रका तर्फबाट अवार्ड समावेश गर्नुपर्ने माग बढेपछि विधा थपिएको फाउन्डेसनले जनाएको छ ।
अवार्डलाई थप विश्वासिलो, मर्यादित र राष्ट्रियस्तरको बनाउने उद्देश्यले उच्चस्तरीय निर्णायक समिति गठन गरिएको छ। नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर महाप्रसाद अधिकारीलाई प्रमुख सल्लाहकार र संविधानसभा सदस्य पवन शारडाको संयोजकत्वमा चार सदस्यीय निर्णायक मण्डल गठन गरिएको अध्यक्ष अधिकारीले बताए।
समितिले अवार्ड प्राप्तकर्ता छनोट प्रक्रियालाई तीव्र र पारदर्शी ढङ्गले अघि बढाइरहेको जनाएको छ। कोशी प्रदेश सरकारले ‘भ्रमण वर्ष–२०८२’ को तयारीलाई अघि बढाइरहेको सन्दर्भमा अवार्ड कार्यक्रमले प्रदेशको पर्यटन, व्यापार र सामाजिक–सांस्कृतिक पहिचान प्रवर्धनमा महत्त्वपूर्ण योगदान पु¥याउने आयोजकको विश्वास छ। अध्यक्ष अधिकारीका शब्दमा—‘यो कार्यक्रमले व्यापारसँगै पर्यटन प्रवर्धनमा पनि टेवा पु¥याउनेछ। कोशी पर्यटनलाई राष्ट्रिय स्तरमै चिनाउने हाम्रो लक्ष्य छ।’
गत वर्षका अवार्ड विजेताहरू
शिक्षा : प्राडा टङ्क न्यौपाने
स्वास्थ्य : ज्ञानेन्द्रमान सिंह कार्की
साहित्य : झमककुमारी घिमिरे
बैंकिङ : ज्ञानेन्द्र ढुङ्गाना (तत्कालीन सिइओ, नबिल बैंक)
पर्यटन : भविष श्रेष्ठ
कर्पोरेट : महेश जाजु
आइटी : राजन लम्साल
स्टार्टअप : आयुष भगत
कृषि उद्यम : शान्ता बास्कोटा
सामाजिक अभियन्ता : गीता गौतम
खेलकुद : दिलिप राई
पत्रकारिता : विष्णु निस्ठुरी
त्यस्तै विशेष योगदानकर्तामध्ये— पूर्व गर्भनर महाप्रसाद अधिकारी, नेपालकै पहिलो महिला मुख्यसचिव लीला गडतौला, टाइम्स पब्लिकेशनका सिइओ पुरुषोत्तम दाहाल, मजदुर नेता भीमराई ज्वाला, पर्यटनकर्मी सुनिल भुसाल, माया घर नेपाल, कामधेनु दुग्ध विकास सहकारी लगायत अन्य व्यक्तित्व तथा संस्थालाई विशिष्ट सम्मान प्रदान गरिएको थियो।
गत वर्षको कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिकमतकुमार कार्की, मन्त्रीहरू, प्रदेश सचिव, स्थानीय जनप्रतिनिधि तथा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
यस वर्षको कार्यक्रमलाई प्रदेश–मात्र नभई राष्ट्रिय स्तरमै प्रभावशाली बनाउने लक्ष्यसहित तयारी अघि बढाइएको आयोजकले जनाएको छ। कार्यक्रमको व्यवस्थापन इटहरीस्थित काफल्सले गरिरहेको छ।
अवार्ड कार्यक्रम एक राष्ट्रिय टेलिभिजन र कोशी प्रदेशका तीन टेलिभिजनसहित विभिन्न अनलाइन पोर्टलमार्फत एकैसाथ प्रत्यक्ष प्रसारण गरिने आयोजकले जनाएको छ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुने
धरान । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सहभागी हुने घोषणा गरेको छ। पहिचानवादी राजनीतिलाई केन्द्रमा राख्दै आएको मञ्चले आफ्नो स्थापनाकालीन उद्देश्यअनुरूप “पहिचानको आधारमा १०+१ प्रान्त स्थापना गर्न एकजुट होऔं” भन्ने नारालाई यसपटकको चुनावी अभियानको मुख्य आधार बनाउने निर्णय गरेको छ ।
मञ्चका महासचिव भूपेन्द्र सुन्दर लावतीका अनुसार दलले पहिचानवादी शक्तिहरूको साझा नेतृत्व गर्दै प्रतिनिधि सभामा सशक्त उपस्थिति जनाउने लक्ष्य राखेको छ। केन्द्रीय अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ को अध्यक्षतामा बसेको संघीय कार्यसमितिको बैठकले निर्वाचन आयोगमा दल दर्ता प्रक्रिया सुनिश्चित गर्दै चुनावमा उत्रिने रणनीति तय गरेको छ। आयोगमा दलको आधिकारिक प्रतिनिधि तोकिएको र निर्वाचन प्रयोजनका लागि लगायतका औपचारिकताहरू पूरा गर्ने जिम्मेवारी पाएका छन् ।
मञ्चले पहिचानको मुद्दालाई संसदसम्म पुर्याउन लामो समयदेखि चलाउँदै आएको अभियानलाई चुनावी रूपमै बलियो बनाउन खोजेको पदाधिकारीहरूले बताएका छन्। यसमा संघीय दलित मुक्ति, लिम्बुवान, किरात, खम्बुवान, शेर्पा, ताम्सालिङ, नेवा:, मगर, मगरात, तमुवान, थरूहट–खसान र मधेस मञ्चजस्ता विभिन्न पहिचानवादी समुदाय तथा क्षेत्रीय आन्दोलनमा संलग्न समूहहरू सक्रिय रूपमा आबद्ध छन्। यी समूहहरूको संयुक्त सहभागिताले मञ्चलाई देशव्यापी पहिचानवादी अभियानको साझा राजनीतिक मोर्चा बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।
पहिचान, समावेशी राज्य संरचना र स्वायत्तताको आन्दोलनलाई संघीय संसदसम्म पुर्याउने महत्त्वपूर्ण अवसरका रूपमा लिइएको यस चुनावी सहभागिताका लागि मञ्चले देशभर संगठन विस्तार र जनसम्पर्कलाई तीव्र बनाइरहेको जनाएको छ ।
विराटनगर विमानस्थलमा पूर्वमन्त्री महेश बस्नेत माथि आक्रमणको प्रयास, दुई युवक पक्राउ
विराटनगर । पूर्वमन्त्री तथा सांसद महेश बस्नेतमाथि विराटनगर विमानस्थलमा आक्रमणको प्रयास भएको छ । आज इटहरीमा आयोजित युवा संघ कोशी प्रदेशस्तरिय जनजागरण अभियानमा सहभागी हुन श्री एयरको उडानमार्फत विमानस्थल आइपुगेका बेला दुई युवाले बेलुनको लोला हान्दै दुव्र्यवहार गर्न खोजेका थिए ।
घटनापछि सुरक्षाकर्मीहरूले तत्काल नियन्त्रणमा लिएर अवस्था सामान्य पारेको मोरङ प्रहरीले जनाएको छ । पक्राउ परेका युवाहरू विराटनगर–२ का १९ वर्षीय अर्पित कुँवर र विराटनगर–१ का २५ वर्षीय संयोग गौतम रहेको प्रहरी स्रोतले पुष्टि गरेको छ ।
विमानस्थलमा खटिएका प्रहरी अधिकृतका अनुसार आक्रमणको प्रयास भए पनि बस्नेतलाई कुनै प्रकारको शारीरिक क्षति पुगेको छैन । घटनापछि विमानस्थल तथा इटहरीस्थित कार्यक्रमस्थल दुवै ठाउँमा सुरक्षाव्यवस्था कडा बनाइएको छ ।
बस्नेत भने आफ्नो तोकिएको कार्यक्रमका लागि इटहरीतर्फ प्रस्थान गरिसकेका छन् । इटहरीमा दिउँसो १ बजे कार्यक्रम रहेको छ ।
अण्डाको मूल्य प्रतिक्रेट ५५ रुपैयाँले वृद्धि
काठमाडौं । नेपालमा अण्डाको मूल्यमा वृद्धि भएको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजबाट लागू हुने गरी अण्डाको मूल्य मा वृद्धि गरेको हो ।
सङ्घले जारी गरेको मूल्यसूची अनुसार, अण्डाको मूल्य प्रतिक्रेट ५५ रुपैयाँले बढेको छ ।
अति ठूलो (एक्सएल) अण्डा प्रतिक्रेट (३० वटाको) पाँच सय २० रुपैयाँ , ठूलो अण्डा पाँच सय पाँच रुपैयाँ र मिडिएम चार सय ९० रुपैयाँ कायम गरिएको छ ।
खोटाङको बुवाखोलामा पक्की पुल सञ्चालनमा
विराटनगर । कोशी प्रदेशको गौरवको आयोजना मानिएको खोटाङको सबैभन्दा लामो १४८ मिटर लम्बाइको बुवाखोला मोटरेबल पक्की पुल औपचारिक रूपमा सञ्चालनमा आएको छ।
भौतिक पूर्वाधार तथा स्वास्थ्य मन्त्री भुपेन्द्र राईले शनिवार पुल उद्घाटन गरेसँगै जिल्लाको दक्षिणी भेगको यातायात अब सहज हुने अपेक्षा गरिएको छ।
जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकाको सिमानामा बनेको यो पुल १७ करोड ५८ लाख रुपैयाँभन्दा बढी लागतमा तयार भएको हो। निर्धारित समयभन्दा अघि नै निर्माण सम्पन्न गरेर मन्त्री राईले उद्घाटन गरेका हुन्।
अब दक्षिणी खोटाङका बासिन्दाले विराटनगर, इटहरी, धरान, बेलटार हुँदै झापा–मोरङ–सुनसरी जान जोखिमपूर्ण तरिकाले नदी पार गर्नुपर्ने बाध्यता अन्त्य भएको छ। यद्यपि सिधा यातायात पूर्ण रूपमा सुचारु गर्न बुवाखोलामा अर्को पुल र सुनकोशी नदीमा पनि नयाँ पक्की पुल आवश्यक पर्ने बताइएको छ।
सुनकोशीको बंशिलाघाट क्षेत्रमा अहिले झोलुंगे पुलबाट आवतजावत हुँदै आएको छ। यो वर्षदेखि त्यहाँ बेलीबृज जडान गर्ने काम अन्तिम चरणमा पुगेको छ। बुवाखोलामा निर्माण हुने अर्को पुलका लागि पनि ठेक्का आह्वान भइसकेको मन्त्री राईले जानकारी दिए।
आफ्नै निर्वाचन क्षेत्र पर्ने भएकाले मन्त्री राईले खोटाङको विकासलाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै आएका छन्। पुल सञ्चालनमा आएपछि जन्तेढुङ्गा, बराहपोखरी, खोटेहाङ, साकेला र दिप्रुङ चुइचुम्मा क्षेत्रमा यातायात र जनजीवनमा उल्लेख्य सुधार हुने स्थानीयको विश्वास छ।
प्रदेश सरकार र निर्माण व्यवसायीबिच २०८१ वैशाख ३० गते सम्झौता भएको थियो। लक्ष्यअनुसार पुल २०८३ कात्तिक २१ भित्र सक्नुपर्ने भए पनि जय बागेश्वरी–रेग्मी–चुलिया जेभीले निर्धारित समयभन्दा अघि नै पुल तयार पारेर हस्तान्तरण गरेको हो। खोटाङमा पक्की पुल समयमै बनेको यो दुर्लभ उदाहरणमध्येको एक भएको स्थानीयले बताएका छन्।
नेपाली कांग्रेस जन्तेढुङ्गा गाउँपालिका सभापति बाजिन्द्र विष्टका अनुसार बंशिलाघाटमा बन्ने बेलीबृजले यो क्षेत्रलाई ‘डबल कनेक्टिभिटी’ प्रदान गर्नेछ, जसले स्थानीय यातायात झन् सहज बनाउने छ।
बाबुराम, जनार्दन र सन्तोषले आज पार्टी एकता घोषणा गर्दै
काठमाडौँ । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियार नेतृत्वको समूहले आज पार्टी एकता गर्दै छन् ।
आइतबार काठमाडौंको राष्ट्रिय सभागृहमा वृहत् एकता घोषणासभाको आयोजना गरिएको छ । कार्यक्रममा अन्य समूहलाई पनि एकतामा ल्याइने बताइएको छ ।
कात्तिक २८ गते नेसपा नयाँ शक्तिसहित प्रगतिशील राष्ट्रिय अभियान र परियार समूहबिच एकता सहमतिमा हस्ताक्षर भएको थियो ।
हिजो एकैदिन देशभर १८ विपद्का घटना
काठमाडौ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो शनिबार देशभर १८ विपद्का घटना घटेको जनाएको छ ।
उदयपुर, रौतहट, बारा, काठमाडौं र कपिलवस्तुमा आगलागीका दुई–दुईवटा घटना घटेका छन् । आगलागीका मात्र १५ घटना घटेका छन् ।
मकवानपुर, चितवन, कास्की र कैलालीमा आगलागीका कारण ठूलो मात्रामा भौतिक सम्पत्तिको क्षति भयो । सो दिन मनाङको नासो गापा–१ तालडाँडास्थित बेँसीसहर–चामे सडकखण्डमा माथिबाट सुक्खा पहिरो खसी बाटो दुवैतर्फ अवरोध भयो । धनुषा र डडेल्धुरामा सर्पदंशका घटना भयो । विपद्का कारण दुई जना घाइते भए भने अनुमानित क्षति ५३ लाख सात हजार ५५० बराबर भयो ।
त्यसैगरी, मङ्सिर ५ गते देशभर १९ वटा विपद्का घटना हुँदा १५ वटा आगलागीका थिए । त्यस दिन सुनसरी र पर्सामा दुई–दुईवटा आगलागीका घटना भएका थिए ।
प्राधिकरणका अनुसार झापा, पाँचथर, सुनसरी, खोटाङ, उदयपुर, सर्लाही, रौतहट, बारा, लमजुङ, पर्वत, नवलपरासीपूर्व र पाल्पामा आगलागी हुँदा भौतिक सम्पत्तिको क्षति भयो । त्यस दिन पाल्पाको रिब्दीकोट–३ मा सुक्खा पहिरो खस्दा बाटो पूर्ण रूपमा अवरोध भएको थियो । सप्तरी, चितवन र मुगुमा जनावर आक्रमणका कारण घाइते भएकालाई उपचारका लागि नजिकैको अस्पताल लगिएको थियो ।
त्यस्तै मङ्सिर ४ गते देशभर २० विपद्का घटना हुँदा आगलागीका मात्र १३ वटा थिए । एकैदिन रुपन्देही र कास्कीमा तीन–तीनवटा आगलागीका घटना भएको प्राधिकरणले जनाएको छ ।
झापमा दुई, मोरङ, सुनसरी, सिरहा, बारा, दाङमा आगलागीका कारण भौतिक क्षति भयो ।
विपद्का घटनामा परेर त्यस दिन ११ जना घाइते हुँदा अनुमानित क्षति १३ लाख ६५ हजारबराबर भयो । त्यस दिन जनावर आक्रमणका पाँच घटना भए । झापा, मोरङ, धनुषा, बझाङ र अछाममा जनावर आक्रमणका घटना घटेका थिए ।
मकवानपुरमा बोलेरो गाडी दुर्घटना, मानवीय क्षति नभएको प्रहरीको पुष्टि
मकवानपुर । ईन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी–खुर्सानीबारी भित्रि सडकखण्डमा एक बोलेरो गाडी दुर्घटना भएको छ । मंसिर ५ गते साँझ करिब ५ बजे ललितपुरबाट सिस्नेरीतर्फ आउँदै गरेको बा.प्र.०१–०२८ च ७१९४ नम्बरको बोलेरो गाडी बागमती नदी तर्ने क्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार बागमती नदीमा जमेको फिज (बरफ) बीचबाट गाडी पार गर्दै गर्दा पछाडिको चक्का ढुङ्गामा अड्किएपछि गाडी चिप्लिएर नदीमै भासिएको थियो । घटनाबारे मंसिर ६ गते दिउँसो करिब १२ बजे सूचना प्राप्त भएपछि प्रहरी चौकी सिस्नेरीबाट टोली खटिएको थियो ।
गाडी नदीको पानीमा डुबेको अवस्थामा फेला परेको र मानवीय क्षति भने नभएको प्रहरीले पुष्टि गरेको छ । स्थानीयको सहयोगमा डुबेको बोलेरो निकालेर सडक छेउमा राखिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोराका अनुसार, ‘गाडी बागमती नदी पारगर्ने क्रममा पछाडिको चक्का ढुङ्गामा परेको र चिप्लिएर नदीमा पल्टिएको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ ।
घटना गम्भीर देखिए पनि मानवीय क्षति नभएकाले राहतको विषय हो । गाडीलाई बाहिर निकालेर सुरक्षित स्थानमा राखिएको छ ।’
उनका अनुसार दुर्घटनास्थल प्रहरी चौकी सिस्नेरीबाट करिब ७ किलोमिटर पूर्वमा पर्छ । प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान जारी राखेको जनाएको छ ।