दुबई एयर शोमा भारतीय विमान दुर्घटनाग्रस्त, पाइलटको मृत्यु
एजेन्सी । दुबई एयर शोमा प्रदर्शनको क्रममा शुक्रबार एक भारतीय विमान दुर्घटनाग्रस्त बनेको छ । जसमा पाइलटको मृत्यु भएको छ । भारतीय एचएएल तेजस लडाकु विमान स्थानीय समय अनुसार दिउँसो २ः१० बजे प्रदर्शन उडान गर्ने क्रममा दुर्घटनाग्रस्त बनेको थियो ।
भारतीय वायुसेनाले एक विज्ञप्ति जारी गर्दै घट्ना पुष्टि गरेको छ । ‘जीवनको क्षतिमा गहिरो दुःख व्यक्त गर्दछ र शोकको यस समयमा शोकसन्तप्त परिवारसँग दृढतापूर्वक उभिएका छौं, विज्ञप्तिमा भनिएको छ ।
दुर्घटनाको कारण पत्ता लगाउन अदालत अफ इन्क्वायरी गठन गरिएको छ, विज्ञप्तिमा थपिएको छ।(सीसीटीभीप्लस)
आज कोशी र गण्डकी प्रदेशको हिमाली भागमा हिमपातको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहे पनि देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ ।
साथै, कोशी र गण्डकी प्रदेशको उच्चपहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपात भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।
कोशी प्रदेश र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।
यस्तै, राति भने कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
सिमरा घटना : अनुसन्धानका लागि दुई वडा अध्यक्ष पक्राउ
रौतहट । बाराको सिमरामा भएको घटनाको अनुसन्धानका लागी प्रहरीले दुई जना वडा अध्यक्षलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिमरामा परेको किटानी जाहेरीका आधारमा प्रहरीले दुबै जना वडा अध्यक्षलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका – २ का वडाध्यक्ष ४० वर्षीय धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का वडाध्यक्ष ३४ वर्षीय कैमुद्दिन अन्सारी रहेका छन् । दुवै जना नेकपा (एमाले) बाट निर्वाचित जनप्रतिनिधि हुन् ।
सिमरा चोकमा बुधबार जेनजी समूह र नेकपा एमालेका कार्यकर्ताबीच भएको झडपमा जेन–जी समूहका ‘सम्राट्’ उपनामले चिनिने साइकुल उपाध्यायसहित केही व्यक्ति घाइते भएका थिए । घाइते उपाध्यायले वडाध्यक्ष श्रेष्ठ र अन्सारीसहित केही व्यक्तिविरुद्ध इलाका प्रहरी कार्यालय सिमरामा नियोजित आक्रमण गरेको भन्दै किटानी जाहेरी दर्ता गराएका थिए । सोही जाहेरीका आधारमा प्रहरीले दुवै वडाध्यक्षलाई नियन्त्रणमा लिएको उल्लेख गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सन्तोष तामाङका अनुसार नियन्त्रणमा लिइएका दुई जनालाई प्रारम्भिक बयानको कार्य अघि बढाइएको छ । घटनामा संलग्न अन्य सबैलाई पक्राउ गरी कार्वाहीको माग गर्दै बिहिबार बिहान देखि सिमराका युवाहरु सडकमा उत्रिएका छन।सिमरा बजार क्षेत्र अहिले पुनः तनावग्रस्त बनेको छ । जेन–जी युवाहरूले सिमरा–पथलैया सडक खण्डमा टायर बालेर यातायात अवरुद्ध पारेका छन् ।
सिमरा बजारका पसल तथा व्यवसाय बन्द छन् भने लामो तथा छोटो दूरीका सवारी साधन ठप्प छन् । सिमरामा बाक्लो संख्यामा प्रहरी तैनाथ गरिएको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ ।
हरियो धनियाँ र काक्रोमा भेटियो अत्याधिक विषादी
काठमाडौँ I हरियो धनियाँ र काक्रोमा अत्याधिक विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितीमा बिहीवार केन्द्रिय कृषि प्रयोगशाला एकाइले गरेको विषादी अवशेष परिक्षणमा काक्रो र हरियो धनियाँमा उपभोग गर्न नमिल्ने मात्रामा विषादी रहेको पाइएको हो ।
विषादी परिक्षण अवशेषको रिर्पोट अनुसार भक्तपुरका किसान स्वस्थानि के.सीले ल्याएको धनियाँमा अर्गानो फोस्फेट विषादीको मात्रा ५५.२९ प्रतिशत भेटिएको हो । त्यसैगरी, नवलपरासीकी किसान कल्पना चौलागाईको काक्रोमा अर्गानो फोस्फेटको मात्रा ४६.५ प्रतिशत रहेको पाइएको हो ।
अर्गानो फोस्फेट र कार्वामेट विषादीको मात्रा ३५ प्रतिशतभन्दा कम भएमा मात्रै उक्त फलफूल वा तरकारी उपभोग योग्य मानिन्छ । ४५ प्रतिशत वा त्यभन्दा माथि विषादी भेटिएको हकमा उक्त तरकारी नष्ट गर्नुपर्ने प्रावधान छ । यदि ३५ देखि ४५ प्रतिशतको बिचमा विषादी मात्रा रहेको अवस्थामा भने केहि दिन राखेर प्रयोग गर्न सकिने प्राबधान रहेको छ ।
अमेरिका द्वारा भारतलाई ९३ मिलियन डलरको मिसाइल बेच्ने सम्झौता स्विकृत
काठमाडौं । अमेरिका द्वारा भारतलाई ९३ मिलियन अमेरिकी डलरको मिसाइल बेच्ने सम्झौता स्विकृत भएको छ । अमेरिकाले एफजीएम–१४८ जेभलिन एन्टि–ट्यांक निर्देशित मिसाइल प्रणाली तथा एम ९८२ ए–१ एक्सक्यालिबर प्रिसिजन–गाइडेड तोपगोला बिक्रीका लागि स्वीकृति दिएको हो ।
कुल मूल्य करिब ९३ मिलियन अमेरिकी डलर पर्ने उक्त बिक्रीबारे अमेरिकी डिफेन्स सेक्युरिटी कोअपरेसन एजेन्सी (डिएससीए) ले जानकारी गराएको हो । स्वीकृत प्याकेजअन्तर्गत भारतले १०० थान जेभलिन मिसाइल, १ थान ‘फ्लाइ–टु–बाइ’ राउन्ड, २५ कमाण्ड–लन्च एकाइ, प्रशिक्षण सामग्री, सिमुलेसन राउन्ड, स्पेयर पाट्र्स तथा लाइफसाइकल सपोर्ट पाउनेछ ।
यसबाहेक, भारतलाई २१६ थानसम्म एम ९८२ ए–१ एक्सक्यालिबर उच्च–सटीकता तोपगोला आपूर्ति गरिनेछ, जसको अनुमानित मूल्य ४७.१ मिलियन डलर पर्ने बताइएको छ ।
बिक्री प्रक्रियाअन्तर्गत अमेरिकी कांग्रेसलाई आवश्यक जानकारी पठाइएको डिएससीए ले जनाएको छ । यसमा नन–एमडीई सामग्रीहरू जस्तै पोर्टेबल इलेक्ट्रोनिक फायर कंट्रोल सिस्टम सहितका सुधारिएको प्लेटफर्म एकीकरण किट, प्राइमर, प्रोपेल्यान्ट, प्रविधिक सहयोग, मर्मत तथा अन्य लजिस्टिक तथा कार्यक्रम समर्थनसमेत समावेश गरिएको छ ।
डिएससीए का अनुसार, प्रस्तावित यो बिक्रीले अमेरिकी वैदेशिक नीति तथा राष्ट्रिय सुरक्षा लक्ष्यलाई सुदृढ पार्नेछ, साथै अमेरिका–भारत रणनीतिक साझेदारीलाई बलियो बनाउनेछ । यो सहकार्यले इन्डो–प्यासिफिक र दक्षिण एसियाली क्षेत्रमा स्थिरता तथा आर्थिक प्रगतिलाई सहयोग गर्ने उल्लेख गरिएको छ ।
एजेन्सीले भारतको वर्तमान तथा भविष्यका सुरक्षासम्बन्धी चुनौती सामना गर्ने क्षमतामा वृद्धि हुने र भारतीय सेनाले यी प्रणालिहरू सहज रूपमा अपनाउन सक्ने बताएको छ । साथै, यसले क्षेत्रीय सैन्य सन्तुलनमा कुनै असर नपर्ने डिएससीएको भनाइ छ ।
यस बिक्रीका मुख्य ठेकेदार अमेरिकाको आर्लिङ्टन, भर्जिनियामा अवस्थित एक लकम्पनी हुनेछ । हालसम्म कुनै ‘अफसेट एग्रिमेन्ट’ प्रस्तावित नभएको र त्यस्तो व्यवस्था भएमा भारत र ठेकेदारबीचको वार्ताबाट तय हुने डिएससीएले स्पष्ट पारेको छ ।
सञ्चालनका लागि भारतमा थप अमेरिकी सरकारी वा ठेकेदार प्रतिनिधि खटाउन आवश्यक नपर्ने तथा यस बिक्रीले अमेरिकी रक्षा तयारीमा नकारात्मक प्रभाव नपार्ने एजेन्सीले जनाएको छ । एएनआई
कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण आज देशका अधिकांश भागमा मौसम सफा रहने छ ।
महाशाखाका अनुसार, आज दिउँसो देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।
यस्तै, कोशी प्रदेश र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।
कोशीप्रदेश योजनाआयोगको उपाध्यक्षमातारानाथ निरौलानियुक्त
विराटनगर । कोशीप्रदेश सरकारले योजना आयोगको उपाध्यक्षमा विराटनगरका तारानाथ निरौलालाई नियुक्त गरेको छ । आज बसेको मन्त्रीपरिषद् बैठकले निरौलालाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।
यसअघि आयोगका उपाध्यक्ष रहेका डा. राजेन्द्र अधिकारीले कार्तिक २० गते देखि लागू हुने गरी राजीनामा दिएपछि रिक्त बनेको पदमा नयाँ नियुक्ति गरिएको हो।
प्रदेश सरकारका अनुसार निरौला बैंकिङ क्षेत्रमा लामो अनुभव राख्नुका साथै स्थानीयतहको कामकार बाहीमा पनि दक्ष व्यक्तिका रूपमा परिचित छन् ।
प्रहरी र माओवादी बीच भएको भिडन्तमा आन्ध्र प्रदेशमा ६ जना माओवादीको मृत्यु
काठमाडौं । भारतको आन्ध्र प्रदेशको राम्पाचोडावरम वन क्षेत्रमा सुरक्षा बल र माओवादीबीच भएको ताजा भिडन्तमा कम्तीमा छ जना माओवादी मारिएका छन् । यो घटना शीर्ष माओवादी नेता मद्वी हिड्मा मारिएको एक दिनपछि भएको हो । इन्टेलिजेन्स एडीजी महेशचन्द्र लड्डाका अनुसार माओवादीहरू छत्तीसगढ र तेलङ्गानाबाट आन्ध्र प्रदेश प्रवेश गर्न खोजिरहेका छन् र यसका लागि कडा निगरानी राखिएको छ ।
१७ नोभेम्बरदेखि सञ्चालन गरिएको अपरेसनअन्तर्गत १८ तारिख बिहान भएको भिडन्तमा केन्द्रीय समिति सदस्य हिड्मासहित पाँच माओवादी मारिएका थिए । यता, प्रहरीले गत केही दिनमा एलुरु, काकिनाडा र कोनसेमा जिल्लाबाट कुल ५० जनालाई पक्राउ गरेको छ, जसमा स्पेशल जोनल कमिटी सदस्यदेखि लिएर प्लाटुन, डिभिजन र क्षेत्रीय समिति सदस्यसम्म सामेल छन् ।
उनीहरूबाट ठूलो मात्रामा हतियार र विस्फोटक समेत बरामद गरिएको छ । छत्तीसगढका सुकमा, विजापुर, नारायणपुर र बस्तर जिल्लामा बढ्दो सुरक्षा दबाब तथा हिड्माको मृत्युपछि माओवादीहरू आन्ध्र प्रदेश प्रवेश गरी शहरी क्षेत्रमा लुकिएर पुनः संगठन निर्माण र भविष्यका कारबाही योजना बनाउन खोजेको प्रहरीले जनाएको छ ।
डीजीपी हरीश कुमार गुप्ता, एडीजी महेश कुमार लड्डा र सिआइबी प्रमुख रामकृष्णाको समन्वयमा चलाइएको यो बहु–एजेन्सी अपरेसन सफल भएको दाबी गरिएको छ ।
ताप्लेजुङको तेम्बा बजारमा भीषण आगलागीः चार घर पूर्ण रूपमा नष्ट हुँदा करोड बढीको क्षति
विराटनगर । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ मा अवस्थित तेम्बा बजारमा मंगलबार राति लागेको भीषण आगलागीले चार घर पूर्ण रूपमा जलेर नष्टहुँदा एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ ।
राति करिब ११ बजे लागेको आगो स्थानीय बासिन्दा, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त प्रयासमा बुधबार बिहान करिब ६ बजे नियन्त्रणमा आएको हो । आगलागी कसरी भयो भन्ने यकिन कारण खुल्न सकेको छैन ।
रातिको समयमा सुरु भएकाले प्रभावित परिवारले घरभित्रका सामान सुरक्षित गर्न पाएनन् । स्थानिय इन्द्रकुमार लिम्बु, राजकुमार लिम्बु, अनिल लिम्बु र विष्णुप्रसाद लिम्बुका घर पूरै जलेका छन् । प्रारम्भिक अनुमान अनुसार आगलागीबाट भएकै क्षति करोडौंमा पुगेको छ भने मानवीय क्षति भएको छैन ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुगंका प्रहरी प्रमुख वेद प्रसाद गौतमका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ । प्रहीको श्रोतले जानाकरी दिएअनुसार त्यहाँ एक करोड १८ लाख बराबरको क्षति भएको भनि पिडितले जनाएका छन् ।
इन्द्रकुमार लिम्बुको ढुङ्गामाटो र काठको बेरा बनेको तीन तले घर जलेर पूर्ण रूपमा नष्ट भएको छ । घरमा रहेको अन्नपात, भाँडाकुँडा, लत्ताकपडा, काठपात, घरायसी सामग्रीदेखि सुन दुई तोला, नगद दुई लाख रुपैयाँ, किराना सामान सबै खरानी बनेका छन् । सोही घरमा भाडामा बस्ने दोर्ची शेर्पाका २५ मन अलैंची र १० कुखुरा समेत जलेर नष्ट भएका छन् ।
राजकुमार लिम्बुको तीन तले घर पनि पूर्ण रूपमा जलेको छ । घरभित्र रहेका अन्नपात, भाँडाकुँडा, लत्ताकपडा, सुन चार तोला, चाँदी १५ तोला, नगद दुई लाख रुपैयाँ, किराना सामग्री, कुखुरा १२ वटा सबै जलेका छन् । घरअगाडि पार्किङ गरिएको मे १० प ८२४६ नम्बरको पल्सर मोटरसाइकल समेत जलेर नष्ट भएको छ ।
अनिल लिम्बुको घरमा रहेका अन्नपात, भाँडाकुँडा, लत्ताकपडा, सुन दुई तोला, चाँदी एक तोला, नगद तीन लाख रुपैयाँ र किराना सामान तथा २२ कुखुरा जलेर नष्ट भएका छन् । विष्णुप्रसाद लिम्बुको ढुङ्गामाटो र काठको बेरा भएको एक तले घर समेत पूर्ण रूपमा जलेको छ । घरभित्रका अन्नपात, भाँडाकुँडा, लत्ताकपडा र नगद एक लाख रुपैयाँसहित किराना सामग्री जलेका छन् । घरअगाडि पार्किङ गरिएका मे १ ज ३००३ महेन्द्र म्याक्स र ग ३ च ९८४७ बोलेरो गाडीको बाहिरी भागमा केही क्षति पुगेको प्रहरीले जनाएको छ ।
आग नियन्त्रणका लागि नेपाली सेनाको वीरदल गणबाट खटिएको टोली, सहायक सेनानी टेकबहादुर साउदको कमान्डमा रहेको सुरक्षा पोस्टबाट परिचालित समूह तथा नफ्री प्रहरी चौकी साँवाका प्रहरी नायब निरीक्षक ख्यामबहादुर श्रेष्ठको टोली सक्रिय रूपमा जुटेका थिए । स्थानीयले पाइप, बाल्टिन, गाग्रीलगायत घरायसी भाँडाकुँडामार्फत पानी हाल्दै आगो निभाउने प्रयासमा सहयोग गरेका थिए ।
दुर्गा प्रसाईं पक्राउको विरोधमा आजैदेखि सड्क संघर्ष गर्ने नागरिक बचाउ दलको घोषणा
काठमाडौं । विवादित मेडिकल व्यवसायी एवम् राजावादी अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रसाईं पक्राउको बिरोधमा उनको संरक्षकत्वमा रहेको नागरिक बचाउ दलले आजैदेखि सड्क संघर्ष गर्ने घोषणा गरेको छ ।
सोमबार मात्र पत्रकार सम्मेलन गरी आगामी मंसिर ७ गते देश नै ठप्प पार्ने गरी आन्दोलनको तयारी गरिरहेको बताएका थिए । शान्ति सुरक्षामा खलल पु¥याउन खोजेको आरोपमा प्रसाईंलाई नेपाल प्रहरीले भक्तपुरको ठिमीस्थित उनको निवासबाटै पक्राउ गरेको हो ।
प्रसाईंलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौंको भद्रकालीस्थित कार्यालयमा उपस्थित गराइएको छ । प्रसाईं र उनका समर्थकले मंसिर ७ गते काठमाडौंबाट गणतन्त्र र भ्रष्टाचारको विकल्पमा आन्दोलन गर्ने घोषणा गरेका थिए ।
यस्तै, प्रसाईंलाई प्रहरीले पक्राउ गरेको विरोधमा नागरिक बचाउ दलले आजैबाट संघर्षका कार्यक्रम सुरु गर्ने घोषणा गरेको छ । प्रसाईंको गिरफ्तारीको विरोधमा आजैबाट प्रदर्शनमा उत्रिने नागरिक बचाउ दलका नेताहरुले बताएका छन् ।
नागरिक बचाउ दलका महामन्त्री प्रेमकुमार थाम्सुहाङका अनुसार मंसिर ७ गते नपर्खिकन आजैबाट हामी देशव्यापी आन्दोलनमा उत्रिने तयारी गरिरहेको छ । उनले प्रसाईंलाई अपहरण शैलीमा पक्राउ गरेर सरकारले शान्ति भंग गरेको पनि बताए ।