माङमालुङ चिया बगानका पीडित अदालत जाने, संचालकले करोडौँ भ्रष्टाचार गरेको आरोप
काठमाडौं । माङमालुङ चिया बगानका संचालकले करोडौँको हिनामिना गरेपछि पीडितहरु न्यायको लागि आदालत जाने तयारी गरेका छन् । शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै गिरिबन्धु टि स्टेटमा जस्तै नीतिगतरुपमै चिया बगान सकाएर भ्रष्टाचार गरेको आरोपसमेत लगाएका छन् ।
माङमालुङ चिया बगान बचाउ अभियानका उपत्यका संयोजक हिमाल राईले अरु शेयर धनीहरुलाई जानकारी नदिइ र विधिसम्मत प्रक्रिया नपुर्याइ केन्द्र प्रसाईको योजनामा बगानको ८० रोपनी जग्गा विक्री गर्नु गैर कानुनी भएको बताए ।
उनले भने,‘बगानका अध्यक्ष किरण राई, कार्यकारी निर्देशक केदार लामिछाने, सदस्यहरु केन्द्र प्रसाई, मनिकुमार भण्डारीसमेतले हामी सयौँ सेयरधनीको लगानी कुम्ल्याउने षड्यन्त्र गरेका छन् ।’
सञ्चालक केन्द्र प्रसाईं योजनामा ‘माई होम माई गार्डेन’ शीर्षकमा सयौँ व्यक्तिहरूबाट रकम असुलउपर गरि त्यसको कुनै लगतसम्म नराखिएको सेयरधनी आङकाजी शेर्पा र गोम्बा शेर्पाले बताए ।
संस्थापक शेयर धनी बुद्धिबहादुर राई(बीबी राई)ले सञ्चालक समितिले लामो समयदेखि आर्थिक अपारदर्शीता देखाएपछि त्यसको छानबिनका लागि ‘व्यवस्थापकीय सुझाव समिति–२०८० असार २३’ गठन गरेको जनाए ।
राईले आफ्नै संयोजकत्वमा जीवराज भट्टराई, कृष्ण राज थापा, अरुण कुमार अधिकारी र छत्र राई गरेर ५ सदस्यीय समितिले छानबिन गरेको बताए ।
२०८० असारमा सुरु गरेर ०८० असोज १० गते छानविन सकी सञ्चालक समितिलाई प्रतिवेदन बुझाएको बताउँदै राईले भने,‘किरण राई अध्यक्ष र कार्यकारी निर्देशक केदार लामिछाने नेतृत्वको सञ्चालक समितिले आब २०७२–७३ देखि आब २०७८–७९सम्म ९ करोड २१ लाख ६० हजार ३ सय ७५ बराबरको आयव्यय अपारदर्शी भएको देखिएको छ ।’
शेयरधनी नवल खड्काले बारम्बार आफूहरूले सञ्चालक समितिलाई पारदर्शी बन्न आग्रह गर्दा पनि उनीहरूले आफ्नो गलत कार्यलाई सच्याउनुको सट्टा बढाउँदै गएको बताए ।
४ सय ९३ जना शेयर सदस्यहरुको पसिनाको लगानीमा सञ्चालकले ठूलो मात्रामा आर्थिक अनियमितता गरेको बताउँदै खड्काले भने ‘आजको मितिसम्म त १५ करोड बढी नीतिगतरुपमै अपचलन गरि भ्रष्टाचार गरिसकेको देखिन्छ ।’ ‘हामीले पटक-पटक सच्चिन आग्रह गर्दा पनि हाम्रो भनाईलाई बेवास्ता मात्रै गरेनन, बरु उल्टै धाक र रवाफ देखाउने कार्यले पत्रकार सम्मेलनदेखि न्यायालयको ढोका ढकढकाउन बाध्य बनाए’ खड्काले थपे ।
सेयरधनी बसन्त कुमार राईले सञ्चालक समिति र व्यवस्थापन पक्षले कम्पनीको आर्थिक कारोबार बैङ्किङ प्रणालीबाट नगर्नुदेखि विभिन्न अवैध कार्यले कम्पनीलाई धराशायी बनाउन लागेको बताए ।
उनले यस्ता विभिन्न कार्यले आक्रोशित बनाएको बताउँदै भने,‘विल र भर्पाई विना नै लेखा परीक्षण गराउनु, व्यक्तिगत ऋण लेनदेन गर्दा कुनै पनि प्रक्रिया विधि पूरा नगरिनु, जग्गा विक्री गर्दा पनि विधि मिच्नु, करोडौँ रुपैयाँ मजदुरका ज्यालाका नाममा भुक्तानी दिदा कुनैपनि भर्पाई नहुनु, एउटै व्यक्तिको नाममा पटकपटक चेक जारी गर्नु, लेखा समितिले दिएको सुझावलाई बेवास्ता गर्नु, कम्पनी सचिवको व्यवस्था नगरिनु, कार्यकारी निदेर्शकको काम कर्तव्य र अधिकारको व्यवस्था नगरिनु, कर्मचारीका नियमावली नहुनु लगायतका कार्यहरूले प्रष्टरुपमा आर्थिक र नीतिगत भ्रष्टाचार गरेको ठहरिन्छ ।’
सेयरधनी हरिविक्रम राईले २०५१–५२ सालदेखि माङमालुङ चिया बगानबाट उत्पादित प्राकृतिक अर्थाेडक्स चियालाई विश्वव्यापीकरण गर्दै देशको अर्थतन्त्रलाई मजबुत बनाउने स्वच्छ भावना र उद्देश्यका साथ करोडौँ लगानी गरेको बताए ।
सञ्चालकहरूबाट भएका आर्थिक अनियमितता, व्यवस्थापकीय कमजोरी,विधि र प्रक्रिया उल्लङ्घन जस्ता कार्यहरूको प्रकोपबाट कम्पनी बचाउन आफूहरू लागि परेको उनले जनाए । त्यसका लागि सम्बन्धित निकायहरूदेखि न्यायालयसम्म जाने उद्घोष गरे ।
सम्बन्धित खबर