एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै
काठमाडौं । नेकपा (एमाले)को ११ औं महाधिवेशले आज मतदान मार्फत नयाँ नेतृत्व चयन गर्दैछ । मंगलबार महाधिवेशनको बन्दसत्र स्थल भृकुटीमण्डपमा दिउँसो १ बजेबाट मतदान सुरु हुने एमाले महाधिवेशन केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । निर्वाचन बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म हुनेछ ।
यसअघि मतदानको समय बिहान १० बजेदेखि साँझ ५ बजेको समय निर्धारण गरिएको थियो। सोमबार नै निर्वाचन कार्यतालिका संशोधन गर्दै मतदानको समय परिवर्तन गरिएको हो ।
११ औँ महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ। उपाध्यक्षमा अरूण नेपाल, गुरू बराल, गोकर्णराज विष्ट, टंक कार्की परशुरामेघी गुरूङ, पृथ्वीसुब्बा गुरूङ, भीमप्रसाद आचार्य, रघुजी पन्त, रामबहादुर थापा बादल, डा. विन्दा पाण्डे, विष्णुप्रसाद पौडेलको उम्मेदवारी रहेको छ भने महासचिवमा शंकर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डेको उम्मेदवारी रहेको छ ।
उपमहासचिवमा आनन्दप्रसाद पोखरेल, योगेश भट्टराई, रघुवीर महासेठ, राजेन्द्रप्रसाद गौतम, लेखराज भट्ट, विष्णुप्रसाद रिमाल, वैजनाथ चौधरीको उम्मेदवारी रहेको छ ।
सचिवका लागि २० जनाको उम्मेदवारी परेको छ । जसमा अग्निप्रसाद खरेल, इन्द्रलाल सापकोटा, कर्णबहादुर थापा, कृष्णगोपाल श्रेष्ठ, खगराज अधिकारी, गोकुलप्रसाद बास्कोटा, छविलाल विश्वकर्मा, ठाकुरप्रसाद गैरे, पद्मा कुमारी अर्याल, पुरूषोत्तम पौडेल, पेम्बा लामा, भानुभक्त ढकाल, महेश बस्नेत, यामलाल कँडेल, रचना खड्का, राजन भट्टराई, लालबाबु पण्डित, विनोदप्रसाद ढकाल, शेरधन राई, हिक्मतकुमार कार्कीको उम्मेदवारी रहेको छ।
आयोगका अनुसार ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग हुनेछ जसमा एक जना मतदाताले मतदान गर्न करिब २५ देखि ३० मिनेट समय लाग्नेछ ।
सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड
काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको कूल सम्झौता रकम १४ अर्ब २३ करोड रुपैयाँ रहेको छ ।
बबई सिँचाइ आयोजनाका ६, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना जनकपुरधाम धनुषाअन्तर्गतका १५ र सुनकोशी मरिनको १ गरी २२ वटा रुग्ण ठेक्का तोडिएको हो । भेरी बबईको १ करोड ७६ लाख रुपैयाँ बराबरको ठेक्का तोडिएको छ । जनकपुरधाम कार्यालयअन्तर्गतका १३ करोड १७ लाख रुपैयाँ बराबरको ठेक्का तोडिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका थिए । त्यसपछि कार्यालयलहरुले वर्षौंदेखि समस्याग्रस्त ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएका थिए । जलस्रोत तथा सिँचाइ विभागअन्तर्गत चालू ठेक्का २१५ छन् । त्यसमध्ये ३३ ठेक्का समस्याग्रस्त छन् । समस्याग्रस्तमध्ये हालसम्म २२ वटा तोडिएको विभागका महानिर्देशक मित्र बरालले जानकारी दिए ।
सिँचाइतर्फको सबैभन्दा ठूलो ठेक्का राष्ट्रिय गौरबको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको तोडिएको छ । आयोजनाको बाँध (हेडवक्र्स),विद्युतगृहलगायतका सिभिल संरचना, गेटलगायतका हाइड्रोमेकानिकल उपकरण आपूर्ति तथा जडानका लागि निर्माण व्यवसायी पटेल—रमण जेभी, जनकपुर—९ धनुषासँगको ठेक्का सम्झौता तोडिएको हो । आयोजना निर्माणका लागि पटेल—रमण जेभीसँग १४ अर्ब ८ करोड रुपैयाँ (करसहित) मा ठेक्का सम्झौता भएको थियो ।
नहर भत्किएपछि बाजुराको हिमाली गाउँपालिका चार महिना देखि अन्धकार
बाजुरा । बाजुराको दुर्गम हिमाली गाउँपालिका विगत चार महिनादेखि अन्धकार बनेको छ । यहाँका अधिकांस गाउँबस्ती यतिवेला विद्युत सेवाबाट प्रभावित बनेका छन्।
गत साउन २८ गते राति बिच्छ्या खोलामा आएको बाढीले कवाडी लघुजल विद्युतको नहर बगेपछि यहाँका अधिकांश गाउँबस्ती अन्धकार बनेका हुन् ।
विच्छ्या खोलामा आएको बाढीले विद्युत नहरसंगै स्थानीका घरजग्गा बगाएर करोडौंको क्षति भएको थियो । बाढीबाट प्रभावित व्यक्तिहरुले अहिलेसम्म राहत पाउन सकेका छैनन् ।
जाडो महिनामा पाल टागेर बस्नुपर्ने बाध्यता उनीहरुमा छ । ०७८ फागुनमा कवाडी लघुजलविद्युत् परियोजनाले एकसय किलोवाट बत्ती उत्पादन गरी यहाँका एक हजार एक सय घरधुरीमा विद्युत सेवाको उपभोग गरिरहेका थिए ।
नहर भत्किए पश्चात् यी सबै घरधुरी सेवाबाट बञ्चित भएका छन्। बाढीले खानेपानी, सडक र अन्य भौतिक पूर्वाधारसमेत भत्किएका थिए ।
पालिकाले दुई महिनामा त्यसैलाई पुनः मर्मत गरेर स्थानीयलाई सहज गर्दै आएको भए पनि बत्ती बाल्न भने सकेको छैन् । भत्किएको नहर निर्माण गरेर बत्ती सञ्चालन गर्न ठुलो रकमको आवश्यक हुँदा विद्युत प्रवाह गर्न नसकिएको गाउँपालिकाले जनाएको छ ।
पालिकाको बजेटले विद्युत आपुर्ति गर्न नसकिने हुँदा गत असार अन्तमि देखि हालसम्म विद्युत सेवा सञ्चालन गर्न नसकिएको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्र बहादुर मल्लले बताए ।
उनका अनुसार,भत्केको नहर निर्माणका लागि आफूले विभिन्न निकायसंग समन्वय,सहकार्य गरेको भए पनि काम हुन नसकेको जानकारी दिए।
बाढिले विद्युत नहरमा ठुलो क्षति भएको छ । मल्लले भने,‘पाँच महिनादेखि यहाँका करिब १२ सय घरधुरी अँध्यारोमा बस्न बाध्य छन् । नहर निर्माण गरेर सञ्चालन गर्न पालिकासंग रकम नभएकोले प्रदेश र केन्द्रसंग समन्वय गरिरहेको छु । तर कहींबाट समस्या समाधानको लागी सहयोग भएको छैन् ।’
देशकै अती दुर्गम पालिकाको रुपमा रहेको हिमाली गाउँपालिका पछिल्लो समय विकासको लयमा फर्केका छ । शिक्षा,स्वास्थ,यातायात,विद्युत, सञ्चार क्षेत्रमा उल्लेख्य प्रगति समेत गरेको छ ।
गाउँपालिकाले ‘उज्यालो हिमाली’ अभियान अन्तर्गत कादुरी संस्थाको सहयोगमा १४ करोड रुपैयाँ लागतमा विजुली उत्पादन गरेको छ । जुन अहिले सञ्चालनमा छ ।
यहाँको क्युडी गाउँबाहेक सबै वडामा बिजुली पुगेको छ । बर्षौदेखि टुकी,झरोको सहायताले अध्यारोमा रात कटाउदै आएका यहाँका स्थानीयको बिजुली बाल्ने सपना क्रमिक रुपमा साकार हुँदै गइरहेको गाउँपालिकाले जनाएको छ । विगत पाँच महिनादेखि भने यहाँका अधिकांश बस्ती अन्धकार छन् ।
बाजुराबाट केन्द्रसम्मको यात्रा : लालबहादुर थापाको खुल्ला केन्द्रीय सदस्य उम्मेदवारी
बाजुरा । नेकपा एमालेका नेता लालबहादुर थापाले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा खुल्ला केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारी दर्ता गराउँदै प्रतिनिधिसँग सहयोग र समर्थनको अपिल गरेका छन् । बाजुरा जिल्लाबाट प्रतिनिधित्व गर्दै उम्मेदवारी दिएका थापाले पार्टीको विभिन्न तहमा खेलेको भूमिका, संगठन निर्माणमा दिएको योगदान र विकासप्रतिको प्रतिबद्धताका आधारमा आफू अघि बढेको स्पष्ट पारेका हुन् ।
थापाले २०४४ सालदेखि विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेको उल्लेख गर्दै पार्टीका विभिन्न संगठन र जिम्मेवारी हुँदै दुई कार्यकाल बाजुरा जिल्लाको पार्टी प्रमुखको भूमिका निर्वाह गरेको बताए । २०५४ सालमा जिल्ला विकास समितिको सभापतिका रूपमा निर्वाचित भई जिल्लामा दीर्घकालीन सोचसहित विकासको आधार तयार गरिएको उनको भनाइ छ । सोही समयदेखि पञ्चवर्षीय योजनाको अवधारणाअनुसार विकास प्रक्रिया अघि बढाइएको र त्यसले राष्ट्रिय स्तरमै चर्चा पाएको थापाले स्मरण गरे ।
नवौँ र दशौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भइसकेका थापाले बाजुरा जिल्लाको इन्चार्ज तथा २०७४ सालको प्रतिनिधि सभा सदस्यका रूपमा पनि जिम्मेवारी निर्वाह गरिसकेका छन् । दुर्गम र पछाडि परेको बाजुरा जिल्लामा सडक, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा आफूले निरन्तर पहल गरेको उनको दाबी छ ।
११औँ राष्ट्रिय महाधिवेशन ऐतिहासिक महत्वको रहेको उल्लेख गर्दै थापाले देश–विदेशबाट मात्रै होइन, नेपालको कम्युनिस्ट आन्दोलनप्रति चासो राख्ने विभिन्न शक्तिहरूले यसलाई नजिकबाट हेरिरहेको बताए । यस्तो संवेदनशील घडीमा पार्टीलाई अझ बलियो, एकताबद्ध र जनमुखी बनाउने उद्देश्यले तेस्रो पटक खुल्ला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको उनले स्पष्ट पारे ।
उम्मेदवारी दर्ता नम्बर २२ रहेको जानकारी दिँदै थापाले बाजुरा जस्तो दुर्गम जिल्लाबाट केन्द्रीय नेतृत्वमा पुगेर पार्टी र मुलुकको विकासमा योगदान दिने आफ्नो यात्रामा प्रतिनिधि कमरेडहरूको साथ, सहयोग र विश्वास आवश्यक रहेको बताएका छन् ।
हेटौँडामा मुख्य सडक विस्तार : ०३१ सालमा मुआब्जा लिएका घरहरूसमेत प्रभावित हुने
हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले शहरका मुख्य सडकहरूको विस्तार गर्ने तयारी थालेको छ । उपमहानगरपालिकाको यो योजनाअन्तर्गत सडकको मूल भाग (केन्द्र रेखा) बाट दायाँ र बायाँ दुवैतर्फ २५–२५ मिटरभित्र पर्ने संरचना हटाइने जनाइएको छ ।
यस योजनाको सबैभन्दा संवेदनशील पक्ष भनेको ०३१ सालमै सडक प्रयोजनका लागि मुआब्जा लिएर बनेका घर तथा भवनहरू पनि उक्त मापदण्डभित्र पर्नु हो । करिब ५१ वर्षअघि राज्यबाट मुआब्जा लिएर जग्गामा निर्माण गरिएका संरचनाहरू अहिले आएर पुनः सडक विस्तारका नाममा भत्काउनुपर्ने अवस्थामा पुगेका छन्। यसले पुराना घरधनीहरूलाई थप अन्योल र पीडामा पारेको छ ।
सडक विस्तारको प्रभाव हेटौँडा बजार क्षेत्र, राप्ती रोड, पूर्व–पश्चिम राजमार्ग खण्ड, बुद्धचोक–हुप्रचौर सडक, स्कुल रोडलगायत शहरका प्रमुख मार्गहरूमा पर्नेछ । प्रारम्भिक अनुमानअनुसार सयौं घर तथा व्यवसायिक भवनहरू भत्काउनुपर्ने देखिएको छ, जसले बजार क्षेत्रको व्यापार, आवास र जनजीवनमा गम्भीर असर पार्नेछ ।
स्थानीय बासिन्दा र व्यापारीहरू भने यस निर्णयप्रति आक्रोशित देखिएका छन् । एकपटक मुआब्जा लिएर कानुनी रूपमा बसोबास गर्दै आएका घरहरू पुनः हटाउनुपर्ने अवस्था आउनु अन्यायपूर्ण भएको उनीहरूको गुनासो छ ।
कतिपयले स्पष्ट नीति, उचित क्षतिपूर्ति र वैकल्पिक व्यवस्थाविना संरचना भत्काउने काम अगाडि बढे कडा विरोध हुने चेतावनीसमेत दिएका छन् ।
उपमहानगरपालिकाले भने सडक विस्तार शहरी विकास, ट्राफिक व्यवस्थापन र दीर्घकालीन योजनाका लागि अपरिहार्य भएको दाबी गरेको छ ।
साथै, प्रभावित परिवारहरूलाई उचित मुआब्जा र पुनर्वासको व्यवस्था गरिने आश्वासन दिइएको छ। तर हालसम्म मुआब्जा दर, प्रक्रिया र पुनर्वाससम्बन्धी ठोस तथा औपचारिक निर्णय सार्वजनिक भइसकेको छैन ।
सडक विस्तारको यो योजनाले हेटौँडाको स्वरूप परिवर्तन गर्ने अपेक्षा गरिए पनि ०३१ सालमा मुआब्जा लिएका घरहरूसमेत प्रभावित हुने अवस्थाले आगामी दिनमा यो विषय ठूलो सामाजिक, आर्थिक र कानुनी विवादको केन्द्र बन्ने निश्चित देखिएको छ ।
अनिल सिन्हाले सम्हाले पर्यटन मन्त्रालयको जिम्मेवारी
काठमाडौं । सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पनि जिम्मेवारी पाएका अनिलकुमार सिन्हाले पदभार ग्रहण गरेका छन् । आइतबार मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहणपछि बोल्दै मन्त्री सिन्हाले मन्त्रालयको जिम्मेवारी अत्यन्तै चुनौतीपूर्ण रहेको बताए । उनले भने, ‘यो जिम्मेवारी चुनौतिपूर्ण छ । यसका लागि समय, लगनशीलता र सबैको साथ आवश्यक छ । संस्कृति, पर्यटन र नागरिक उड्डयनजस्ता विषयलाई सञ्चारमाध्यमले जसरी प्रस्तुत गर्छन्, जनताले पनि त्यही रूपमा बुझ्ने गर्छन् ।’
उनले आफ्नो पहिलो प्राथमिकताका रूपमा हिमाली क्षेत्रहरूमा थुप्रिएको फोहोर व्यवस्थापनलाई अघि बढाइने बताए ।
‘हिमाली क्षेत्रमा अत्यधिक फोहोर जम्मा भएको विषयमा अदालतबाट समेत आदेश जारी भएको छ । सो आदेशको पालना गर्न हामीले तत्काल काम गर्नुपर्छ,’ उनले भने ।
शुक्रबार विस्तार भएको मन्त्रिपरिषद्मा मौजुदा मन्त्रीहरूको पनि जिम्मेवारी हेरफेर गर्दै प्रधानमन्त्री सुशीला कार्कीले सिन्हालाई पर्यटन मन्त्रालयको पनि जिम्मेवारी तोकेकी थिइन् । सिन्हाले यसअघि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्दै आएका छन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन निर्माण अलपत्र, अस्पताल निर्माणलाई बन्धक राख्नु हुँदैन :कुलमान घिसिङ
पोखरा । कास्कीको पोखरामा निर्माणाधीन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालको मेडिकल भवन निर्माण पाँच वर्षमा पनि निर्माण हुन सकेको छैन । माघ २०७७मा २० महिनाभित्रमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का समझौता भएको हालसम्म ५१ प्रतिशत मात्र भौतिक प्रगति रहेको छ । तेस्रो पटक थपिएको समयावधि पनि गत साउनमा सकिएको छ ।
शहरी विकास मन्त्रालय मातहतको संघीय शहरी भवन कार्यालय पोखराबाट निर्माणाधीन उक्त भवन १० करोड ५५ लाख (कर बाहेक)मा निर्माण गर्न लागिएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार भवन निर्माणस्थलको अनुगमन गरी निर्माण प्रगतिका बारेमा जानकारी लिएका छन् । मन्त्री घिसिङले भवन निर्माण सम्पन्न हुने समय तालिकालगायतका विषयमा महाशाखा प्रमुख, प्रतिष्ठानका उपकुलपति र निर्माण व्यवसायीसँग छलफल गरेका थिए ।
अस्पतालजस्तो जनताको प्रत्यक्ष स्वास्थ्य जोडिएको संवेदनशील संरचना निर्माणमा ढिलाइ भएको प्रति आक्रोश व्यक्त गर्दै घिसिङले अब निर्माणलाई बन्धक बनाएर यथास्थितिमा राख्न नसकिने बताए । उनले तत्काल निर्माण सुरु नगरे ठेक्का तोडी निर्माण व्यवसायीलाई कारबाही गर्ने र नयाँ प्रक्रियामा जाने चेतावनी दिनुभयो । उहाँले एक हप्ताभित्र निर्माणले गति नलिएमा ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाउन कार्यालयलाई निर्देशन दिए ।
यसैगरी, प्रतिष्ठानका उपकूलपति भरत खत्रीले भवन नहुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या परिरहेकाले तत्काल भवन निर्माण गरिनु पर्ने र गर्न नसकेमा ठेक्का तोडी नयाँ प्रक्रियामा जानु पर्ने बताए ।
जसपाद्वारा १ नं. प्रदेश समिति र किरात राष्ट्रिय समितिको पुनर्गठन
धरान । जनता समाजवादी पार्टी (जसपा) ले १ नं. प्रदेश समिति तथा किरात राष्ट्रिय समितिको पुनर्गठन गरेको छ । धरान–१५ स्थित छथहरे समाजको सामुदायिक भवनमा हिजो शुक्रबार आयोजित विस्तारित कार्यक्रममा दुवै समितिको नयाँ नेतृत्व चयन गरिएको हो ।
कार्यक्रममार्फत गणेश राईको अध्यक्षतामा ४८ सदस्यीय जसपा १ नं. प्रदेश समिति पुनर्गठन गरिएको नवगठित समितिका मुख्य–सचिव नगेन्द्र पारघरी लिम्बुले जानकारी दिए। समितिको उपाध्यक्षमा डिल्ली सुब्बा, मीरा कार्की र मोहम्मद नसरुल चयन भएका छन् । त्यस्तै सचिवमा गणेश राई खालिङ, रन्जित साम्पाङ राई र कुमार सुनुवार चयन भएका छन् भने कोषाध्यक्षमा मनकला लङ्वा लिम्बु चयन भएकी छन् ।
प्रदेश समितिका सदस्यहरूमा दिनेश राई, फूर्वा याङ्जी शेर्पा, यमबहादुर लिम्बु, हरीचन्द्र तुम्बा, आईतमान सम्वाहाम्फे, हरिराज लोवा, दुर्गा राई, गौरीशंकर उदास, विजय राई, दीपक माझी, मोहन विक, दीपचन्द्र राई, विर कुमार राई, हेमराज थुलुङ राई, बालानन्द ढकाल, मनी राई, कुमार भण्डारी, दाजङवो शेर्पा, पेमा डोल्मा तामाङ, किशान खजुम, घिकिन तामाङ, बलबहादुर आङ्देम्बे, जसहाङ सावादेन, अग्नीप्रसाद राई, बच्चु राई, लक्ष्मी सुब्बा, विनीता राजवंशी, राजेस देवान, एल.बी. सुब्बा, मञ्जु देवी शर्मा, जीवन सुच्चा राई, हर्कलक्ष्मी राई, सुमन राई र दुर्गा गुरुङ चयन भएका छन् ।
सोही कार्यक्रममा जनता समाजवादी पार्टी किरात राष्ट्रिय समितिको पनि पुनर्गठन गरिएको छ। समितिको अध्यक्षमा प्रशन्न कुमार राई चयन भएका छन्। उपाध्यक्षमा सिता राई र अगमसेर राई, मुख्य–सचिवमा राष्ट्र राई, सचिवमा पूर्णराज राई तथा कोषाध्यक्षमा कौशिला राई चयन भएका छन् ।
किरात राष्ट्रिय समितिका सदस्यहरूमा देवनाथ राई, सज्जिता राई, विदुर कुमार राई, नवराज चर्मकार, बाबुराम राउत, विर्खबहादुर राई, मनुकला राई, निर्दोष राई, लक्ष्मण राई, धनचन्द्र राई, भगवती राई, उत्तम राई, गिरिराज राई, किसन राई, प्रितिराज राई, कृतिमान मगर, अजना राई, मोहन विक, दयाराम राई, लेखक राई, ममता राई, धनीराम राई, रक्षामान राई, मनाराम राई, रेसम राई चयन भएका छन् ।
त्यसैगरी समितिको सल्लाहकार संयोजकमा निल कुमार राई र सदस्यमा गोपाल राई चयन भएका छन् ।
त्रिवि परिसरमा श्रम संस्कृति पार्टीको सरसफाइ, बगैंचा निर्माणको तयारी
काठमाडौं । श्रम संस्कृति पार्टीले त्रिभुवन विश्वविद्यालय (त्रिवि) कीर्तिपुर परिसरमा सरसफाइ अभियान सञ्चालन गरेको छ । शनिबार पार्टीका कार्यकर्ताहरूले श्रमदान गर्दै त्रिवि कीर्तिपुर क्षेत्रको सरसफाइ गरेका हुन् ।
कार्यक्रममा श्रम संस्कृति पार्टीका केन्द्रीय सह–कोषाध्यक्ष जितेन बन्तवा राईले पछिल्लो ५३ दिनदेखि निरन्तर रूपमा काम भइरहेको जानकारी दिए । उनका अनुसार ४३२ रोपनी क्षेत्रफलमा फैलिएको घना जंगल र झाडी हटाउने काम सम्पन्न भएको छ ।
राईले भने, ‘पहिले यो क्षेत्र चितुवा बस्न सक्ने जस्तो झाडीले ढाकिएको थियो भने लागूऔषध प्रयोग गर्नेहरूको थलोसमेत बनेको थियो । हामीले करिब ५३–५४ दिनको निरन्तर श्रमदानबाट सबै झाडी फाडेर हटाएका छौं । अब दोस्रो चरणमा सरसफाइको काम हुन्छ । त्यसपछि गार्डेन निर्माण र वृक्षरोपण गरिनेछ ।’
उनका अनुसार ४३२ रोपनी क्षेत्रफलमा विभिन्न किसिमका गार्डेन निर्माणका लागि डिजाइन तयार पार्ने काम भइरहेको छ । शनिबार मात्रै देशभरका ७७ वटै जिल्लाबाट करिब ४०० जनाको सहभागितामा श्रमदान कार्यक्रम सम्पन्न भएको उनले बताए । श्रम संस्कृति पार्टीले श्रम, सरसफाइ र वातावरण संरक्षणलाई प्राथमिकतामा राख्दै यस्ता अभियानलाई निरन्तरता दिने जनाएको छ ।
दमकमा ‘राष्ट्रिय परिवर्तन पार्टी’को औपचारिक घोषण गरिँदै
काठमाडौं । जेनजी आन्दोलनका घाइते, शहीद परिवार र युवा पुस्ता मिलेर निर्माण भएको ‘राष्ट्रिय परिवर्तन पार्टी’को आज (शनिबार) औपचारिक घोषण सभा गरिँदैछ ।
घोषणा सभा दमकको आदिवासी रङ्गशालामा हुन लागेको राष्ट्रिय परिवर्तन पार्टीका अध्यक्ष राजेश पोर्तेलले जानकारी दिए । जेनजी युनाईटेड समूहका जेनजीहरु ‘राष्ट्रिय परिवर्तन पार्टी’मा समाहित भएको र पार्टीको औपचारिक घोषणा सभा गर्न लागिएको हो ।
घोषणा सभामा विभिन्न दलका नेताहरुलाई पनि आमन्त्रण गरिएको छ । जहाँ हजारौँको संख्यामा जेनजी र स्थानीयहरु उपस्थित हुने राष्ट्रिय परिवर्तन पार्टीको दाबी रहेको छ ।