शुक्रबार, २५ वैशाख २०८३

/frontend/images/redline.png
https://www.jawaaf.com/storage/01K1ZNPNXDGJH3XFZKCA6CY20P.jpeg

चिनी मिलको गेट अगाडि किसानहरुको विरोध प्रदर्शन

रौतहट । रौतहटको कटहरियामा रहेको बाबा बैजुनाथ सुगर एण्ड केमिकल इण्डष्ट्रिज (चिनी मिल) को मुलगेट अगाडि उखु किसानहरूले विरोध प्रदर्शन गरेका छन् ।

उखु उत्पादक संघ रौतहटको अगुवाइमा मंगलबार किसानहरूले टायर बालेर विरोध प्रदर्शन गरेका हुन् । उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक यादवले सरकारले दिने भनिएको अनुदान रकम तुरुन्त उपलब्ध गराउनु पर्ने बताए । 

उनले ७० रूपैयाँ प्रतिक्विन्टल अनुदान पूर्ण रूपमा दिनुपर्ने  र ३५ रूपैयाँ कटौती खारेज गर्नुपर्ने लगायत आफूहरुको मुख्य माग भएको जानकारी दिए । उनका अनुसार ८१/८२ मा बाँकी रहेको १ अर्ब ६० करोड रुपैयाँभन्दा बढी अनुदान रकम अझै किसानले पाएका छैनन् ।

यद्धपी आफूहरुको मागमा सरकारले चासो नदिए देशभर चरणबद्ध आन्दोलन गर्ने उनले चेतावनी समेत दिए ।  यहि भदौ ८ गतेदेखि माइतीघर मण्डलामा धर्ना सुरु गर्ने उनले घोषणा समेत गरे । बाबा बैजुनाथ सुगर मिलका सञ्चालक बैजु बाबराका अनुसार  सरकारले पूर्ण अनुदान नदिए उखु उत्पादन घट्ने र उद्योगहरू आधा क्षमतामा सीमित बन्ने सक्ने छ ।

आर्थिक वर्ष २०८१/८२ मा सरकारले दिने भनिएको अनुदान रकम तत्काल भुक्तानी गर्नुपर्ने अडान उखु किसानको छ । किसानहरूले सरकार, उद्योग र व्यापारीबीच त्रिपक्षीय वार्ता गरी आर्थिक वर्ष २०८२/८३ का लागि उखुको मूल्य यथाशीघ्र निर्धारण गर्नुपर्ने उनीहरुले माग राखेका छन् ।

प्रकाशित मितिः बुधबार, २१ साउन २०८२
https://www.jawaaf.com/storage/01K1ZHBCMW3DV5WWHJ8J75A8B7.jpg

दिक्तेल समाज काठमाडौंको वार्षिक उत्सव समारोहमा लाखे नाच प्रदर्शनी

काठमाडौं । खोटाङको दिक्तेल समाज काठमाडौंले १६ औं वार्षिक उत्सव समारोहमा लाखे नाच प्रदर्शनी गरेको छ । बुधबार दिक्तेल समाज काठमाडौंले नेवा समुदायको कला, संस्कृति र परम्परालाई संरक्षण गर्ने उद्देश्यले १६ औं वार्षिक उत्सव समारोहका साथै लाखे नाच प्रदर्शनी गरेको हो ।  

खोटाङ जिल्लाका दिक्तेलबासी टंक बहादुर श्रेष्ठले दिक्तेलमा नेवा समुदायले जस्तैगरी नेवा पर्वहरु मनाइने बताए । उनले भने, ‘दिक्तेल समाज भनेको नेवा समुदायको नितान्त कला संस्कृति र परम्परालाई जगेर्ना गर्ने उद्देश्यले दिक्तेल समाज काठमाडौंले लाखे नाच नचाइरहेका छौ । दिक्तेलबाट काठमाडौं आएका करिब १२२ घर परिवार यहाँ छौ । हामी हाम्रो पुर्खाले जसरी दिक्तेलमा गरिरहनु भएको थियो त्यसरी नै यहाँ गरिरहेको छौ ।’

यस्तै पुख्र्यौली घर खोटाङ दिक्तेल भएकी कलाकार दिपाश्री निरौलाले सबै जना मिलेर  नेपाली संस्कारलाई जोगाउनुपर्ने बताइन् । 

‘लाखे नाच परम्परा हो । यसलाई हामी सम्पूर्ण नेपालीहरुले जोगाएर राख्नुपर्छ । त्यसकारण अहिलेको पिढीले झन धेरै खोजिरहेका छन् । अहिलेको पिढी यति चलाख हुुनुन्छ उहाँहरुले युटुवमा, गुगलमा खोजेर त्यही माध्यमबाट आफ्नो कला राखिरहनु भएको छ । अबको पिढीले परम्परा बिर्सिदैनन् । बिर्सिए भने पनि हामी झक्झकाउछौ,’उनले भने ।   

प्रकाशित मितिः बुधबार, २१ साउन २०८२
https://www.jawaaf.com/storage/01K1ZFA1H3C2T58B61C3ZTC19X.jpg

सुनसरीमा नक्कली नोटसहित दुई जना पक्राउ

इटहरी । सुनसरीको कोशी गाउँपालिका–८ स्थित भाण्टाबारी क्षेत्रबाट नेपाली रुपैयाँ १ हजार दरका नक्कली नोट ३८ थानसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सप्तरी जिल्लाको हनुमान कंकालिनी गाउँपालिका–१ का २५ वर्षीय राजेश चमार रजक र सोही गाउँपालिका–२ का २५ वर्षीय राजेश कुमार रजक रहेका छन् ।

साउन १९ गते राति इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट खटिएको चेकजाँच टोलीले मोटरसाइकलमा सवार उनीहरूलाई नियन्त्रणमा लिएको हो । मोटरसाइकलको पछाडि सवार राजेश चमार रजकको साथबाट नेपाली रुपैयाँ १ हजार दरका नक्कली नोट ३८ थान बरामद भएपछि चालक राजेश कुमार रजकलाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
हाल उनीहरूमाथि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान जारी रहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।

प्रकाशित मितिः बुधबार, २१ साउन २०८२
https://www.jawaaf.com/storage/01K1YTFYPPVH4PXZ8PQ2NBSEPD.jpg

बाढीले क्षति पुर्‍याएको भटौली खोलाको पुल मर्मतपछि सडक सञ्चालनमा

रामेछाप । गएको शुक्रबार रातिको बाढीले क्षति पु¥याएको रामेछापको भटौली खोलाको पुल मर्मतपछि मन्थली–खाँडादेवी सडक खण्ड पुनः सञ्चालनमा आएको छ ।

मन्थली नगरपालिका–७ र खाँडादेवी गाउँपालिका–४ को पकरबास जोड्ने यो पक्की पुल रामेछापको वैकल्पिक यातायात सञ्जालमा अत्यन्त महत्त्वपूर्ण मानिन्छ।

बाढीले पुलको खाँडादेवीपट्टिको पिलर कटान गरेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको थियो। चार दिनको मर्मतपछि मंगलबार अपराह्नबाट ठूला सवारीसाधनसहित यातायात पुनः सञ्चालनमा आएका हुन् । 

खाँडादेवी गाउँपालिका–४ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलका अनुसार सो पुलबाट अब सबै खालका यातायात सञ्चालनमा आएका छन्। ‘ठुलो पानी परेमा फेरि पनि समस्या आउन सक्छ, अहिलेलाई भने यातायात सञ्चालन हुन लागेका छन्’ उनले भने ।

पुल अवरुद्ध भएपछि खाँडादेवी, दोरम्बा शैलुङ, सुनापति गाउँपालिका तथा काठमाडौं जोड्ने वैकल्पिक मार्गसमेत प्रभावित बनेको थियो। चार दिनसम्म ठूला मालवाहक गाडीहरू खाँडादेवी गाउँपालिका–४ कै विभिन्न स्थानमा रोकिएका थिए।

मन्थली नगरपालिकाका प्रवक्ता गोपाल श्रेष्ठले पुलको पिलर नजिक खोलाले खोलेको ठाउँ मर्मत गरेपछि सडक सञ्चालनमा आएको जानकारी दिए।  ‘रोकथामका उपायहरू अपनाइएकाले तत्काल समस्या नआउला,’श्रेष्ठले भने।

४० मिटर लम्बाइको यो पुल स्विस सरकारको सहयोगमा सञ्चालित स्थानीय सडक पुल कार्यक्रम (LRBP)अन्तर्गत आर्थिक वर्ष २०७१÷०७२ मा निर्माण भएको हो। स्वच्छन्द सिर्जना जेभीले करिब ४ करोड रुपैयाँ लागतमा पुल निर्माण गरेको थियो।

पुल सञ्चालनमा आएपछि पुनः सवारी आवागमन सहज भएको छ। मन्थली र काठमाडौं जाने वैकल्पिक मार्ग यही पुल हो । गत असोजमा खुर्कोटको पुल बगाएपछि त्यहाँ जडान गरिएको बेली ब्रिज १५ टनभन्दा माथिका सवारी चलाउन नसकिने भएपछि  ठुला सवारीसाधन यही सडकबाट सञ्चालन हुने गर्दछन् । सुनकोसी–मरिण डाइभर्सनका निर्माण सामाग्री बोकेका ठुला गाडीहरू सडकमा क्षति हुँदा चार दिनसम्म रोकिएका थिए । 

स्थानीय प्रशासन, नेपाली सेना, प्रहरी, स्थानीय तह, पूर्वाधार विकास कार्यालय, मरिण डाइभर्सन लगायतको सहकार्यमा पुल क्षेत्रको संरक्षण  गरिएको हो ।

प्रकाशित मितिः बुधबार, २१ साउन २०८२
https://www.jawaaf.com/storage/01K1YRXD00EYR39DDYN3EAZ8Y5.jpg

प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु

सप्तरी । सप्तरीमा प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको छ । भारततर्फ तस्करी गर्न राखेको मदिरा नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर राजगढ गाउँपालिका–२ कमलपुरका ३५ वर्षीय लालु यादवको मृत्यु भएको हो । 

गोली लागेका यादवलाई उपचारका लागि राति साढे ११ बजे गजेन्द्र नारायणसिंह सगरमाथा अस्पतालमा पु¥याइएको थियो । उनको त्यहीँ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले बताए ।

उनका अनुसार तस्करको समूहले प्रहरी टोलीमाथि डुङ्गामुढा लगायतले आक्रमण गरेको थियो । ढुङ्गामुढाबाट दुई प्रहरी पनि घाइते भएका छन् ।नेपाल भारत सीमा क्षेत्र नजिकको गाउमा भारत निकासी गर्न ठूलो मात्रामा मदिरा भण्डारण गरिएको सूचनाको आधारमा प्रहरी टोली त्यहा पुगेको थियो ।

यस  घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय सप्तरीले जनाएको छ ।

प्रकाशित मितिः बुधबार, २१ साउन २०८२
https://www.jawaaf.com/storage/01K1YGD9NBP2VK77Z7XM855HE4.jpeg

आजको मौसम : कोशी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहनुको साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित रहेको छ ।

जसका, कारण हाल देशभर अधिकांश बदली रहेको छ भने कोशी  र कर्णाली प्रदेशका केही र बाँकी भूभागका अधिकांश स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा अधिकांश बदली रही बाँकी भू–भागमा साधारणतया बदली रहनेछ । 

लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशको पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । 

आज राती भने देशभर साधारणतया बदली रहनेछ । कोशी प्रदेश लगायत देशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी तराई भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना समेत रहेको छ । 

प्रकाशित मितिः बुधबार, २१ साउन २०८२
https://www.jawaaf.com/storage/01K1X6JVW0AWN20X14KYBSHZPQ.jpg

कोशी प्रदेशमा ट्रान्सफर्मर चोरी गर्नेको लहर, दुई करोडको नोक्सानी

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयले कोशी प्रदेशमा विद्युतीय ट्रान्सफर्मर चोरीमा संलग्नहरुका बारेमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
पछिल्लो समय मोरङ, झापा र सुनसरीका दर्जनौं गाउँ–टोलमा टान्सफर्मर चोरीका घटना दोहोरिइरहेको अवस्थामा प्रहरीले विशेष अभियान नै संचालनमा ल्याएर चोरलाई पक्रन सफल भएको जनाएको हो ।

कोशी प्रदेशमा पछिल्ला केही महिनामा मात्रै २२ वटा ट्रान्सफर्मर चोरी भएका प्रहरीको तथ्यांकमा छ । जसको प्रत्यक्ष असर कृषक, व्यापारी र स्थानीय सेवा प्रणालीमा परेको छ । सुख्खा खेतमा पानी लगाउनका लागि किसान जाँदा लाइन नै नहुने साथमा ट्रान्सर्फमर नै गाएब हुने भएपछि प्रहरीले अप्रेशन सुरु गरेको हो । 
२०७९ देखि सुरु भएको ट्रान्सफर्मर चोरी सञ्जाल हालसम्म आइपुग्दा, सुनसरीमा १२, मोरङमा ८ र झापामा २ स्थानमा ट्रान्सफर्मर चोरिएका कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत चोरीका कार्यमा संलग्न रहेका १२ जनाको गिरोह पक्राउ गरेको जनाएको छ ।
०८२ साउन ९ गते राति, मोरङको रंगेली नगरपालिका–९ स्थित खानेपानी आयोजनाको पोल छेउमा संकास्पद रूपमा घुमिरहेका तीन जनालाई देखेपछि प्रहरीले खटाएको टोली दौडियो ।
तीमध्ये मोरङको ग्रामथान गाउँपालिकका एक अर्जुन कुमार थारु पक्राउ परे । त्यसपछि अनुसन्धानले गति लिएपछि हालसम्म १२ जना पक्राउ परेका हुन् । 
पक्राउ पर्नेमा उनीसहित ग्रामथान मोरङका इरज धामी, लबिपुर दुहबीका अनुज विश्वास ९चौधरी०, बेलबारी मोरङका अर्जुन चौधरी, भारत घर भई हाल मलाटी दुहबीका आलम मिया ९विहारी०, बेलबारी मोरङका रञ्जित तामाङ, दुहबी सुनसरीका प्रयाग कुमार खाँ चौधरी, विराटनगरका लक्ष्य प्रधान, कृष्ण गोपाल ताम्राकार, दुहबीका योगेश अग्रवाल, कपिल भट्ट र इटहरीका सिताराम राई रहेका छन् ।

तिनका कोठा र पसलहरूबाट ३६८.५ केजी तामाको तार, १२ वटा मोबाइल, २२ वटा डायल रेन्च, पिकअप र मोटरसाइकलसहितका सवारी साधनहरू बरामद गरिएको प्रहरीको भनाई रहेको छ ।

जुन तारहरू कवाडी पसलहरू र मनकामना मेटल्स, दुर्गा भाडा पसल, क्क् मेटल, दिलीप कबाडी लगायतका स्थानबाट बरामद भएका कोशी प्रदेश प्रहरी प्रमुख इश्वर कार्कीले जानकारी दिएका छन् ।

पक्राउ परेकाहरूको साथबाट चोरीमा प्रयोग गरिएका औजारहरू—डायल रेन्च, पेचकस, पिलास, छिनो, ह्याक्सो, साङली, ग्राइन्डरलगायत उपकरणहरू बरामद गरिएका छन्। त्यस्तै ६ वटा मोटरसाइकल, १ वटा पिक अप गाडी, १२ थान मोबाइल फोन र ३६८.५ केजी तामाको तार समेत बरामद गरिएको छ।

यस समूहको योजनाबद्ध चोरीबाट राज्यलाई करिब दुई करोड रुपैयाँ बराबरको नोक्सानी भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । हाल पक्राउ परेकाहरूलाई अदालतमार्फत कानुनी प्रक्रिया अगाडि बढाइएको छ भने, अन्य सम्भावित संलग्नहरूको खोजी जारी रहेको प्रहरीको भनाइ रहेको छ ।

प्रकाशित मितिः मङ्गलबार, २० साउन २०८२
https://www.jawaaf.com/storage/01K1X10F922QJRNEQS9WGEVZPQ.jpg

खानेपानी मन्त्रालय सबैभन्दा उत्कृष्ट : मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी, सरसफाइ तथा ढल निकासको क्षेत्रमा उल्लेखनीय प्रगति गर्दै खानेपानी मन्त्रालय विकासे मन्त्रालयहरु मध्येमा सबै भन्दा उत्कृष्ट नतिजा ल्याउन सफल भएको दाबी गरेका छन् । 

मंगलबार खानेपानी तथा ढल व्यवस्थापन विभागको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति समिक्षा गोष्ठीको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले मन्त्रालयले चुनौतीपूर्ण परिस्थिति हुँदै पनि सन्तोषजनक कामगर्दै उदाहरणीय नतिजा प्रस्तुत गरेको उल्लेख गरे । 

उनले भने,‘गत वर्षको प्राकृतिक विपद्, स्रोतको सीमितता र प्राविधिक जटिलतासहितका थुप्रै चुनौतीहरूको सामना गर्दै, मन्त्रालयसहित विभाग देशव्यापी रूपमा खानेपानी तथा सरसफाइ क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गर्न सफल भएको छ । यो हाम्रा लागि निकै खुशीको विषय हो ।’

गत वर्षको प्राकृतिक विपद्, स्रोत र बजेटको सीमितता तथा प्राविधिक जटिलताका बाबजुद मन्त्रालय र विभागले देशभर खानेपानी तथा सरसफाइ क्षेत्रमा सकारात्मक उपलब्धि हासिल गर्न सफल भएको मन्त्री यादवले बताए । 

‘खानेपानी मन्त्रालय अहिले विकासे मन्त्रालयहरूमध्ये सबैभन्दा उत्कृष्टको रूपमा स्थापित हुनुका साथै जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्ष जोडिएको एक संवेदनशील र सेवाप्रदायक मन्त्रालय सावित भएको छ,’उनले भने खानेपानी तथा ढल व्यवस्थापन विभागले यस दिशामा खेलेको भूमिका प्रशङ्सनीय रहेको बताउँदै मन्त्री यादवले गत आर्थिक वर्षमा हासिल भएका प्रगतिहरूले हाम्रो राष्ट्रिय लक्ष्य ‘स्वच्छ नेपाल ः स्वस्थ नेपाली’लाई प्राप्त गर्ने दिशामा महत्वपूर्ण योगदान पु¥याएको जिकिर गरे ।

उनले भने,‘हामी सबैका लागि विगत वर्षमा हासिल भएका उपलब्धिहरूको समीक्षा गर्ने, सामना गरेका चुनौतीहरूको स्पष्ट पहिचान गर्ने र भविष्यका लागि ठोस कार्यदिशा तय गर्ने एक महत्वपूर्ण घडी हो । यो समीक्षा केवल तथ्याङ्कहरूको प्रस्तुति मात्र नभई, हाम्रो सामूहिक प्रयास, समर्पण र भविष्यका लागि नवीन योजनाहरूको खाका तयार पार्ने अवसर पनि हो ।’

प्रकाशित मितिः मङ्गलबार, २० साउन २०८२
https://www.jawaaf.com/storage/01K1WMQVTCRR1KH6XF5FJ9350R.jpg

बहुविवाहलाई मान्यता दिने कानुन संशोधन र परिमार्जन हुने

काठमाडौं । गृहमन्त्री रमेश लेखकले बहुविवाहलाई मान्यता दिने कानुन संशोधन र परिमार्जन हुने बताएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को विधेयक समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले देश र जनताको हितमा कानुन बनाउने बताउँदै कानुनमा केही खराब कुराहरु आउँछन् भन्ने आशंका नगर्न आग्रह गरे । 

उनले भने,‘यसमा बाहिर जुन नागरिकमा चिन्ता र चर्चा व्यक्त भएका छन् । ती सबैलाई समितिले सम्बोधन गरेर कानुनलाई परिमार्जन गर्छ र आज हामीले यही निर्णय गरेका छौं । यसलाई हामी संसोधन गछौं । देश र जनताको हितमा बनाउँछौं । त्यसैले कानुनमा केही खराब कुराहरु आउँछन् भन्ने आशंका नगर्दा हुन्छ भन्ने मेरो आग्रह छ ।’

त्यस्तै उनले बैठकमा मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि संहिता, मुलुकी देवानी संहिता, मुलुकी देवानी कार्यविधि संहिता र सजाय निर्धारण सम्बन्धी कानून सम्बन्धी पाँचवटा विधेयकमा संशोधन प्रस्ताव भएको पनि जानकारी दिए । 

यो बहुविवाह सम्बन्धित व्यवस्था,विवाहको उमेर सम्बन्धी व्यवस्था,अग्रिम जमानत सम्बन्धी व्यवस्था र कैद जरिवानामा माफी तथा परिवर्तन सम्बन्धी व्यवस्थाहरुमा थप छलफल गरी यसलाई संसोधन र परिमार्जन गर्नुपर्ने देखिएकाले विधेयक समितिमा उपसमिति गठन गरेको उनले बताए ।

उनको अनुसार त्यो उपसमितिले सम्बन्धी मन्त्रालयको पनि राय सुझाव लिएर अरु पनि आवश्यक छलफल गरेर विधेयकलाई हामीले संसोधन परिमार्जन गर्नेछ । 

प्रकाशित मितिः मङ्गलबार, २० साउन २०८२
https://www.jawaaf.com/storage/01K1WK5J990R6PN2YS6JFC2TC2.jpg

जसपा नेपाल सप्तरीको अध्यक्षमा केदार यादव निर्वाचित

राजविराज । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सप्तरी जिल्ला अधिवेशनबाट केदार यादव जिल्ला अध्यक्षमा निर्वाचित भएका छन्। उनले आफ्ना निकटतम प्रतिस्पर्धी उमेश यादवलाई ३० मतले पछि पार्दै अध्यक्ष पदमा विजय हासिल गरेका हुन् ।

मंगलबार सम्पन्न अधिवेशनमा अध्यक्ष पदका लागि ५०४ मत खसेको थियो। तीमध्ये केदार यादवले २३५ मत प्राप्त गर्दै विजयी बने। उनी यसअघि पनि सप्तरी जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालिरहेका थिए ।

त्यस्तै, उपाध्यक्षमा लक्ष्मण यादव विजयी भएका छन्। उनले प्रतिद्वन्द्वी हरेराम यादवलाई ९ मतले पराजित गरे ।

जिल्ला सचिवमा निरज मुक्ति एक मतको झिनो अन्तरले निर्वाचित भएका छन्। उपसचिवमा रिता चौधरी र रमेश्वर यादव विजयी भए भने कोषाध्यक्षमा अमरेन्द्र यादव निर्वाचित भएका छन् ।

साउन १४ गते जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गरेका अधिवेशनले मंगलबार बिहान पदाधिकारीहरूको निर्वाचन सम्पन्न गरेको हो। जिल्ला कार्यसमिति सदस्यहरूको मतगणना आज दिउँसोदेखि सुरु हुने जनाइएको छ ।

प्रकाशित मितिः मङ्गलबार, २० साउन २०८२