जसपा नेपाल सप्तरीको अध्यक्षमा केदार यादव निर्वाचित
राजविराज । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सप्तरी जिल्ला अधिवेशनबाट केदार यादव जिल्ला अध्यक्षमा निर्वाचित भएका छन्। उनले आफ्ना निकटतम प्रतिस्पर्धी उमेश यादवलाई ३० मतले पछि पार्दै अध्यक्ष पदमा विजय हासिल गरेका हुन् ।
मंगलबार सम्पन्न अधिवेशनमा अध्यक्ष पदका लागि ५०४ मत खसेको थियो। तीमध्ये केदार यादवले २३५ मत प्राप्त गर्दै विजयी बने। उनी यसअघि पनि सप्तरी जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालिरहेका थिए ।
त्यस्तै, उपाध्यक्षमा लक्ष्मण यादव विजयी भएका छन्। उनले प्रतिद्वन्द्वी हरेराम यादवलाई ९ मतले पराजित गरे ।
जिल्ला सचिवमा निरज मुक्ति एक मतको झिनो अन्तरले निर्वाचित भएका छन्। उपसचिवमा रिता चौधरी र रमेश्वर यादव विजयी भए भने कोषाध्यक्षमा अमरेन्द्र यादव निर्वाचित भएका छन् ।
साउन १४ गते जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गरेका अधिवेशनले मंगलबार बिहान पदाधिकारीहरूको निर्वाचन सम्पन्न गरेको हो। जिल्ला कार्यसमिति सदस्यहरूको मतगणना आज दिउँसोदेखि सुरु हुने जनाइएको छ ।
सम्बन्धित खबर