मोरङका दुई स्थानमा दुई पुरुषको शव फेला, अनुसन्धान जारी
विराटनगर । मोरङका दुई फरक स्थानमा दुई पुरुष मृत अवस्थामा फेला परेका छन् । उर्लाबारी र बेलबारी नगरपालिकामा सोमबार साँझ र मंगलबार बिहान फेला परेका शवको मृत्युको कारण हालसम्म स्पष्ट हुन सकेको छैन । दुवै घटनाको प्रहरी अनुसन्धान विभिन्न कोणबाट अगाडि बढाइएको छ ।
उर्लाबारीमा सुशील लिम्बू मृत फेला
उर्लाबारी नगरपालिका–२ निवासी २३ वर्षीय सुशील लिम्बू मंगलबार बिहान आफ्नै घर नजिकको धानखेतमा मृत भेटिएका हुन् ।
इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार, उनको शव खेतमा घोप्टो परेको, नाकबाट रगत बगेको र हातखुट्टा कक्रिएको अवस्थामा फेला परेको हो ।
घटनास्थलमै पुगेको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गरेपछि शवलाई मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा पोस्टमार्टमका लागि पठाइएको छ ।
प्रहरी स्रोतका अनुसार, लिम्बू सामान्यतः मादक पदार्थको धेरै सेवन गर्ने व्यक्ति भएको प्रारम्भिक जानकारी आएको छ । तथापि, वास्तविक मृत्युको कारण पोष्टमार्टम रिपोर्टपछि मात्र स्पष्ट हुने प्रहरीले जनाएको छ ।
बेलबारीमा डमरु ऋषिदेवको शव
त्यसैगरी, बेलबारी नगरपालिका–७ गिरी टोलका ४१ वर्षीय डमरु ऋषिदेव सोमबार साँझ खेतमा मृत फेला परेका हुन् । उनी साँझ करिब ६ः३० बजे युरिया मल छर्न घरबाट निस्किएका थिए । तर केही समयपछि स्थानीयले खेतमै घोप्टो परेको अवस्थामा मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार, उनको शवमा देखिने गरी कुनै घाउचोट नदेखिएको बताइएको छ । शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ ।
प्रारम्भिक विवरणअनुसार ऋषिदेव शारीरिक रूपमा अघिल्लो समयसम्म स्वस्थ रहेको र घटनाको वास्तविकता बुझ्न थप अनुसन्धान आवश्यक रहेको बताइएको छ ।
अनुसन्धान विभिन्न कोणबाट जारी
मोरङ प्रहरी प्रमुख डिएसपी कोपिला चुँडालका अनुसार दुवै घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान भइरहेको छ । उनले भनिन्,‘उर्लाबारीको घटनामा मादक पदार्थको अत्यधिक सेवनको आशंका प्रारम्भिक रूपमा आएको छ । तर हामी कुनै पनि निष्कर्षमा पुग्न हतार गर्ने छैनौं । बेलबारीको घटनाबारे पनि हामी विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौं ।’
पोस्टमार्टम रिपोर्ट आएपछि मात्र दुवै व्यक्तिको मृत्युको यथार्थ कारण थाहा हुने डिएसपी चुँडालले बताइन् ।
घटनाको प्रकृति हेर्दा हत्या, आत्महत्या, दुर्घटना वा स्वास्थ्य जटिलता जस्ता सबै सम्भावनालाई ध्यानमा राखेर अनुसन्धान अगाडि बढाइएको प्रहरीको भनाइ छ ।
पाँच दिनदेखि बेपत्ता भएका दाजु–बहिनी खोलामा मृत फेला
विराटनगर। पाँचथर जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापुबाट पाँच दिनअघि बेपत्ता भएका दुई दाजु–बहिनीको शव खोलामा मृत अवस्थामा फेला परेको छ।
नौ वर्षीय शिशिर राई र उनकी ६ वर्षीया बहिनी नानुमा राईको शव मंगलबार बिहान स्थानीय विरुवा खोलाको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले पुष्टि गरेको छ।
प्रहरीका अनुसार दुवै बालबालिका शुक्रबार बिहान हजुरबुबा–हजुरआमाको घरतर्फ लागेका थिए। त्यसपछि उनीहरू सम्पर्कविहीन भएका थिए।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) कौशलकुमार बुढाथोकीका अनुसार प्रारम्भिक अनुसन्धानबाट खोलाले बगाएको देखिए पनि थप अनुसन्धान जारी छ।
बालबालिका बेपत्ता भएपछि प्रहरी चौकी च्याङथापु, जिल्ला प्रहरी कार्यालय पाँचथर र स्थानीय बासिन्दा संयुक्त रुपमा खोजीमा जुटेका थिए।
लगातार चार दिनको खोजीपछि मंगलबार बिहान खोलाको किनारमा दुवैको शव भेटिएको हो। शिशिर र नानुमा गाउँकै पूर्ण आधारभूत विद्यालयका विद्यार्थी थिए।
बालबालिका मृत भेटिएपछि गाउँ शोकमा डुबेको छ। स्थानीय बासिन्दाले दु:ख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना जनाएका छन्।
मार्तडी–कोल्टी सडक अलपत्र पार्ने ठेकेदार इन्द्र बानियाँ आज बागमतीको मुख्यमन्त्री बन्दै
मकवानपुर । बाजुराको मार्तडी–कोल्टी सडक खण्डको निर्माण अलपत्र पारेर आलोचित भएका ठेकेदार इन्द्र बहादुर बानियाँ आज बागमती प्रदेशको मुख्यमन्त्री बन्न लागेका छन्।
नेपाली कांग्रेसका नेता बानियाँको स्वामित्वमा रहेको पिएस बानियाँ निर्माण सेवाले यो सडक विस्तारको जिम्मा पाएको भए पनि लामो समयदेखि काम अधुरो राखिएको छ।
साउन १४ गते कांग्रेस संसदीय दलको नेतामा २२ मतसहित विजयी भएका बानियाँलाई पार्टी सभापति शेरबहादुर देउवाको समर्थन छ । देउवाले वर्तमान मुख्यमन्त्री शालिकराम जमरकटेललाई मार्गप्रशस्त गर्न निर्देशन दिएका थिए। लामाले आइतबार राजीनामा दिएपछि दलका नेता बनेका बानियाँ आज मुख्यमन्त्री पदमा नियुक्त हुँदैछन्।
सडक अलपत्र, जनता हैरान
बाजुरा जिल्लाको ४१ किलोमिटर लामो मार्तडी–कोल्टी सडक खण्ड बहुवर्षीय योजनाअन्तर्गतको मुख्य परियोजना हो । यसको २६ किलोमिटर खण्डको जिम्मा पिएस बानियाँ निर्माण सेवालाई दिइएको थियो । २०७७ साल असारमा ५० करोड १७ लाख रुपैयाँमा सम्झौता भएको भए पनि कम्पनीले हालसम्म मात्र डेढ करोड रुपैयाँ बराबरको काम गरेको छ।
पुर्वाधार विकास कार्यालय अछामका अनुसार, सम्झौताअनुसार ३ वर्षभित्र काम सक्नुपर्ने थियो, तर समयमै काम नसकिएपछि म्याद थपिए पनि प्रगति न्यून छ। हालसम्म ५० प्रतिशत मात्रै काम भएको कार्यालयको भनाइ छ। ठेकेदारको लापरबाहीका कारण बाँकी रकम झण्डै १३ करोड ५० लाख रुपैयाँ फिर्ता हुने प्रक्रियामा छ।
हिउँदमा धुलो, बर्षातमा हिलो
स्थानीय बासिन्दाका अनुसार यस सडकखण्डमा यात्रा गर्ने यात्रुले हिउँदमा धुलो र वर्षातमा हिलोको सामना गर्नु पर्ने बाध्यता रहेको छ । वर्षातमा यो सडक खण्ड पूर्ण रुपमा बन्द हुने गर्छ । ४ महिना यातायात सेवा बन्द हुँदा पैदल यात्रा गर्न समेत कठिन हुने अवस्था छ। बाटो बन्द हुँदा स्वास्थ्य, शिक्षा, खाद्यान्न आपूर्ति लगायतका आधारभूत सेवा प्रभावित हुँदै आएका छन् । राज्य संयन्त्रको निरीक्षण र निगरानीको अभावमा ठेकेदारले मनपरी गरिरहेको आरोप स्थानीयले लगाएका छन् ।
दिगो समाधानको माग
स्थानीयबासीहरूले यो समस्या समाधान गर्न पटक–पटक आवाज उठाउँदै आएका छन् । तर राजनीतिक नेतृत्व र सम्बन्धित निकायहरूको गम्भीरता अभावले दीर्घकालीन समाधान हुन नसकेको गुनासो उनीहरूको छ।
अँधेरी खोलाले बगाएको पुल नबन्दा सर्वसाधारण जोखिममा
रामेछाप । दोरम्बा शैलुङ गाउँपालिका–२ को अँधेरी खोलले बगाएको पक्की पुल नबन्दा सर्वसाधारणको यात्रा जोखिमपूर्ण बनेको छ । जिल्ला सदरमुकाम मन्थली र काठमाडौंबाट दोरम्बा शैलुङ गाउँपालिकाको केन्द्रसम्म पुग्ने ढोइगाउँस्थित अँधेरी खोलाको पुल गत भदौ महिनामा आएको बाढी पहिरोले बगाएको थियो ।
पुल बगाएको एक वर्षमा पनि पुल निर्माणको काम सुरु नभएको मात्र होइन अन्य कुनै वैकल्पिक व्यवस्था समेत नहुँदा स्थानीयलाई आवागमनमा समस्या भएको छ ।
स्थानीय थिरबहादुर थापा मगरका अनुसार दोरम्बा शैलुङ गाउँपालिका १, २ तथा सदरमुकाम मन्थलीबाट गाउँपालिकाको केन्द्र आउजाउ गर्ने मुख्य सडकमा रहेको सो पुल बगाएको ठाउँमा अहिले खोलैबाट सडक सञ्चालनमा छ ।
थापाले भने, ‘पानी घटेको बेलामा लोडरले सम्याएर सडक चलाइन्छ, पानी पर्ने बित्तिकै खोलाले बाटो बिगार्छ ।’
वर्षाको बेलामा यातायात साधन मात्र होइन पैदल यात्रीलाई पनि खोला तर्न निक्कै समस्या परेको उनले बताए । पहिरोले खोलामा राखिएको झोलुङ्गे पुलमा समेत क्षति पु¥याएको छ । सो झोलुङ्गे पुल समेत मर्मत नहुँदा स्थानीय जोखिम मोलेर खोला तारिरहेका छन् ।
उनले भने, ‘कम्तीमा झोलुङ्गे पुल मात्रै मर्मत गरिदिएको भए पनि सर्वसाधारणलाई आवागमनमा सहज हुने थियो, त्यो काम पनि हुन सकेको छैन, गाउँलेहरू निक्कै जोखिममा खोला तरिरहेका छन् ।’
आजको मौसम : चार प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहनुको साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित रहेको छ ।
जसका, कारण हाल देशभर अधिकांश बदली रहेको छ भने कोशी र कर्णाली प्रदेशका केही र बाँकी भूभागका अधिकांश स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार, आज दिउँसो देशभर अधिकांश बदली रहनुको साथै कोशी र मधेस प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
आज राति पनि देशभर मौसम अधिकांश बदली रही कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी भूभागका एक दुई स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भने भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
तुर्कमेनिस्तान पुगे प्रधानमन्त्री ओली
तुर्कमेनिस्तान । प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागिताका लागि आज तुर्कमेनिस्तान आइपुगेका छन् ।
प्रधानमन्त्री ओली नेतृत्वको टोली स्थानीय समय अनुसार दिउँसो १४.३० बजे दुबई अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तुर्कमेनिस्तानको आवाजा सहर आइपुगेका हुन् ।
उनलाई तुर्कमेनिस्तानबासी अन्तर्राष्ट्रिय विमानस्थलमा तुर्कमेनिस्तान सरकार(मप)का उपाध्यक्ष होजाम्यारात जेल्डिम्यारादोभ, संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग, न्यूयोर्कका आवासीय प्रतिनिधि लोकबहादुर थापालगायतले स्वागत गरे ।
यही साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट) अवाजा सहरमा आयोजना हुने सम्मेलनमा तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली यहाँ आएका हुन् ।
हलेसीबाट फर्किँदै गरेको गाडी दुर्घटना, एकको मृत्यु, १० जना घाइते
इटहरी । खोटाङको हलेसीबाट दर्शन सकेर फर्किँदै गरेको यात्रुवाहक गाडी दुर्घटनामा परेर १८ जना घाइते भएका छन् । उनीहरु सवार रहेको गाडी (प्रदेश २–०१–००१ ज ००५३ नम्बर) हलेसी तुवाचुङ नगरपालिका–१ स्थित दौत्या खोलानजिक करिब दुईय मिटर तल खसेको थियो । गाडी सिरहाबाट रिजर्भमा यात्रु लिएर हलेसी मन्दिर दर्शनका लागि गएका तीर्थयात्रीहरूलाई बोकेर फर्कँदै थियो ।
दुर्घटनापछि गम्भीर घाइते भएका १० जनालाई काठमाडौंस्थित ट्रमा सेन्टरमा रेफर गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी प्रतिक विष्टले जानकारी दिए । अन्य ६ जना घाइतेमध्ये अधिकांशलाई उपचारपछि डिस्चार्ज गरिएको उनले बताए ।
दुर्घटना गम्भीर अवस्थामा रहेकी सिरहा जिल्लाको नरहा गाउँपालिका–३ की ममतादेवी यादवलाई घुर्मी पठाइएकोमा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएकामध्ये गम्भीर अवस्थाका केही नामावलीः
१. राजु यादव – टाउको, छाती र दाहिने हातमा चोट
२. रामशरण ठाकुरकी श्रीमती – आँखामा गम्भीर चोट, बोल्न नसक्ने
३. सविता कुमारी यादव (३२ वर्ष)
४. मिथिला कुमारी यादव (४० वर्ष)
५. दुर्योधन यादव (७९ वर्ष, धनुषा)
६. पुनम यादव (३० वर्ष)
७. लक्ष्मी शर्मा (३२ वर्ष)
८. नदिन शर्मा (३२ वर्ष)
९. धनेश्वर यादव (५७ वर्ष)
१०. झालु देवी यादव
त्यस्तै, सामान्य घाइतेहरूमा रञ्जित यादव, शिला शर्मा, मिना कुमारी शर्मा, शिबम शर्मा (१० वर्ष), दिपेन्द्र यादव र कुस्मवती यादव (७० वर्ष) रहेका छन्।
प्राधिकरणले विद्युत व्यवस्थापन गर्न नसक्दा आपूर्तिमा समस्याः कुलमान घिसिङ
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको अहिलको नेतृत्वले विद्युत व्यवस्थापन गर्न नसक्दा आपूर्तिमा समस्या देखिएको बताएका छन् ।
‘उज्यालो नेपाल अभियान’ लिएर अमेरिकाभ्रमणमा रहेका घिसिङले अस्टिनमा रहेका नेपाली समुदायले गरेको कार्यक्रममा विद्युत् उत्पादन पर्याप्त रहेता पनि अहिलेको प्राधिकरण नेतृत्वले व्यवस्थापकीय क्षमता देखाउन नसक्दा देशभरी विद्युत् आपूर्तिमा समस्या रहेको टिप्पणी गरेका हुन् ।
घिसिङले भने,‘नयाँ व्यवस्थापन आएपछि राम्रो काम गरिरहेकालाईकुलमानका मान्छे भन्दैजिम्मेवारीबाट हटाउन सुरु गरियो, देशभरीका विद्युत प्रणाली सञ्चालन गर्ने भार प्रेषणजस्तो संवेदनशील ठाउँको प्रमुखलाई हटाइयो अहिले चल्दै नचल्ने अवस्था आएपछि पुनः उही व्यक्तिलाई लैजानुपर्ने अवस्था आयो । त्यसैले नेपालमा अहिले देखिएको विद्युत आपूर्तिको समस्या स्रोत नभएर नभई व्यवस्थापन गर्न नसकेर हो, व्यवस्थापनको पूर्ण असफलता हो ।’
एशियाली विकास बैंकको सहायतामा निर्माण गर्न लागिएको ६७० मेगावाटको दूधकोशी जलाशययुक्त आयोजनाको लगानी जुटाउनु पूर्वका कामहरु अन्तिम चरणमा पुगिरहेको अवस्थामा अहोरात्र खटिरहेका कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई हटाएर प्राधिकरण व्यवस्थापनले आयोजनालाई अन्यौलमा पार्ने काम गरेको घिसिङले आरोप लगाए ।
उनले घाटमा रहेको संस्थालाई नाफामा लगेको, करिब करिब सबैको घरमा बिजुली पुर्याएको, बिगतमा लोडिसेडिङको समयमा डिडिकेटेट तथा ट्रंक लाइनबाट विद्युत् लिएका औद्योगिक ग्राहकको प्रिमियम महसुल बक्यौता उठाउन प्रयास गरिरहेको अवस्थामा सरकारले अपमानपूर्वक आफूलाई हटाएको उल्लेख गरे ।
लोडसेडिङ अन्त्य कुनै जादू नभएर प्राधिकरणको कार्यकारी निर्देशकको दायित्व इमान्दारपूर्वक निर्वाह गर्दा मुलुकबाट लोडसेडिङ अन्त्य भएको उल्लेख गर्दै घिसिङले यसमा तत्कालीन प्रधानमन्त्री, ऊर्जामन्त्री, प्राधिकरणका कर्मचारी आम उपभोक्ता, विदेशमा रहेका नेपालीकोे साथ र हौसलाले गर्दा थप काम गर्न प्रेरित गरेको बताए ।
‘बिजुलीको उज्यालो पाएका छौं, तर अझै धेरै ठाउँमा अँध्यारो छ, वत्तिको उज्यालोले मात्र हुँदैन भनेर देशमा व्याप्त अँध्यारो हटाउन केही गरौं भन्ने सोच बनाएर उज्यालो नेपाल अभियान चलाएका हौं’, उनले भने ।
देशभित्रै केही हुन्छ र गर्न सकिन्छ भन्ने विश्वास दिलाउन र आशा जगाउन घोषणा गरिएको ‘उज्यालो नेपाल अभियान’मा जोडिन उनले आह्वान गरे ।
उनले ‘उज्यालो नेपाल’ वत्तिको मात्र नभएर सुशासन, चुस्तदुरुस्त सार्वजनिक सेवा प्रवाह, सामाजिक न्याय, आर्थिक समृद्धि हासिल गर्न देशभित्रको समग्र आर्थिक क्रान्तिका लागि थालिएको परिवर्तनको अभियान भएको उल्लेख गरे ।
विदेशी भूमिमा पसिना बगाइरहेका नेपालीसँगको भेटघाट गर्न घिसिङले यसअघि मध्यपूर्वी देशहरु बहराइन, ओमान, युएई र कतारको पनि भ्रमण गरेका थिए ।
सप्तकोशीमा पानीको बहाव उच्च
इटहरी । लगातारको वर्षाका कारण सप्तकोशी नदीमापानीको बहाव उच्च बनेको छ । आइतबार साँझ कोशीब्यारेजमा प्रतिसेकेन्ड १ लाख ९१ हजार २१० क्युसेकपानीको बहाव मापन गरिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठलेदिएको जानकारी अनुसार सर्वसाधारणलाई सतर्करहनका लागि आग्रह गरिएको छ । कोशी ब्यारेजका ५६ढोकामध्ये हाल २३ ढोका खोलिएको छ ।
पानीको बहाव १ लाख ५० हजार क्युसेकभन्दा माथिपुगेपछि सर्वसाधारणलाई सतर्क गराउन खतरासंकेतस्वरूप रातो बत्ती बाल्ने प्रावधानअनुसार कोशीब्यारेजमा हाल रातो बत्ती बालिएको कन्ट्रोल रुमलेजनाएको छ ।
यसैबिच कोशी प्रदेशमा मनसुन सक्रिय भएकालेआवश्यक सतर्कता र प्रतिकार्यमा जुट्ने निर्णय भएकोसकारका प्रवक्ता तथा विपद् समेत हेर्ने आन्तरिकमामिला तथा कानुनमन्त्री रेवतिरमण भण्डारीले जानकारीदिए ।
आइतबार बसेको प्रदेश सुरक्षा समन्वय समितिकोबैठकका निर्णय सुनाउने क्रममा उनले सरकारले कोशीप्रदेशमा थप सक्रिय भएको मनसुनको प्रतिकार्य जुटाउनेनिर्णय समेत गरेको जनाएका हुन् ।
आजको मौसम : यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रहेको छ । कोशी र बागमती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । सबै प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन÷चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै, आज राती भने कोशी प्रदेश, मधेश प्रदेश, गण्डकी प्रदेशका र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ I