शुक्रबार, २५ वैशाख २०८३

/frontend/images/redline.png
https://www.jawaaf.com/storage/01K1G7Y209PAY29355AZDVQFZB.jpg

सबै नेपालीले खुसीका साथ खीर खान पाउने वातावरण बनाउन लागौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाललीले खुसीका साथ हरेक साउन १५ मा खीर खाने वातावरण निर्माण गर्नुपर्ने बताएका छन् । बिहीबार नेकपा (एमाले) को साहित्य, कला तथा संस्कृति विभागद्वारा आयोजित स्रष्टा भेटघाट तथा खीर खाने कार्यक्रममा बोल्दै उनले हरेक नेपालीले खुसीका साथ खीर खाने वातावरण निर्माण गर्नुपर्ने बताएका हुन् । 

उनले यस वर्ष तराई मधेसमा सुख्खा लागेकोले राम्रो खेती हुन नसकेको अवस्थामा सिचाइको उचित प्रबन्ध गर्न सरकार लागिपरेको बताए । 

उनले सुनकोसी मरिन डाइभर्सन, रानी जमरा कुलरिया, तमोरलगायत आयोजना छिटो सक्न पनि निर्देशन दिएको बताए । प्रधानमन्त्री ओलीले सबै नेपालीले हरेक साउन १५ मा खुसीका साथ खीर खाने वातावरण निर्माणमा लाग्न आग्रह गरे । 

प्रकाशित मितिः बिहिबार, १५ साउन २०८२
https://www.jawaaf.com/storage/01K1FTZDJ4J5QA3WT4E78KR72X.jpg

अन्जलीको हत्या गर्ने अभियुक्त श्रीमतीका हत्यारा, यस्तो छ घट्नाको कारण

जनकपुर । गत सोमबार राती ११ बजे जनकपुरधाम–४ मा १५ वर्षीया अन्जली कुमारी यादवलाको खुकुरी प्रहार गरी हत्या गर्ने अभियुक्त पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वनाथ नगरपालिका–९ इच्छापुरका ३५ वर्षीय रामबाबु साह रहेका छन् । हत्यामा प्रयोग गरिएको खुकुरी पनि बरामद भएको छ ।

बिहीबार जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलनमार्फत अन्जलीको हत्या गर्ने साहलाई सार्वजनिक गरेको छ । 

नेपाल सरकारले कुनैपनि घटनामा संलग्न रहेकालाई सार्वजनिक नगर्न सर्कुलर जारी गरेतापनि धनुषा प्रहरीले घटनाको प्रवृतिलाई मध्यनजर गर्दै विशेष अनुमति लिएर अभियुक्तलाई सार्वजनिक गरेको हो । 

पक्राउ परेका अभियुक्त साह यसअघि आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पाँच वर्ष जेल सजाय बिताएर निस्किएका थिए ।

के थियो घटना ?

अभियुक्त रामबाबु साह र मृतक अन्जलीकी आमा आशा यादवबीच धनुषाको महेन्द्रनगरस्थित एक पसलमा चिनजान भइ भेटघाट निरन्तर हुँदै आएको थियो । 

सो क्रममा दुबै जनाले संगै बस्ने निधो गरेपछि आशा यादवलाई जनकपुरधाममा डेरा लिइ आशाकी छोरी अन्जलीसहित साहसंगै बस्ने गरेका थिए । साह कामका लागि बाहिर गइरहने हुनाले आशालाई टेम्पो खरिद गरिदिएका थिए ।

तर आशाले टेम्पो आफ्नो भाइको नाममा दर्ता गराउन लगाएको अनुसन्धानमा देखिएको छ । त्यसपछि आशा यादव र अभियुक्त रामबाबु साहबीचको सम्बन्धमा चिसोपन आउन थालेको थियो । आशा यादवले रामबाबुलाई थाहा नदिई डेरा समेत अर्को स्थानमा सारेपछि दुबैबीच भनाभन सुरु भएको थियो । 

आशा यादवले रामबाबुको फोनसमेत उठाउन छोडेपछि रामबाबुले खुकुरी लिएर आएर राती नयाँ डेरा पत्ता लगाइ आशा यादवमाथि निर्घात प्रहार गरेका थिए । सो क्रममा रामबाबुले अन्जलीको घाँटीमा खुकुरी प्रहार गर्दा अन्जलीको मृत्यु भएको थियो भने आशा यादव पनि गम्भीर घाइते भएकी थिइन ।

अहिले आशा यादवको उपचार जनकपुरधाममा सम्भव नभएपछि धरान रेफर गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ । पक्राउ परेका साहलाई थप अनसन्धान पश्चात हदैसम्मको कारवाही गर्नेगरी अदालतमा हाजिर गर्ने धनुषा प्रहरीको भनाइ छ ।

प्रकाशित मितिः बिहिबार, १५ साउन २०८२
https://www.jawaaf.com/storage/01K1FAQSJ2BTDNGZ2K83CJ11GC.jpg

नाउपाको आज राष्ट्रिय भेला बस्दै

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को आज राष्ट्रिय भेला बस्दैछ । नयाँ बानेश्वरमा बस्ने भेलाले पार्टीको अध्यक्ष तोक्दैछ । बुधबार बसेको बैठकले रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट हटाउने प्रस्ताव पारित गरेपछि नयाँ अध्यक्ष तोक्न लागेको हो । श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी हटाएको नाउपाले जनाएको छ ।

पोखराको लिचीबारी जग्गा प्रकरणमा मुछिएकी श्रेष्ठलाई डगौरा नेतृत्वको अनुशासन समितिले २४ घन्टे स्पष्टीकरण सोधेको थियो । उनले स्पष्टीकरण नदिइ वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष तोकेकी थिइन् । उनी भेलामासमेत अनुपस्थित भएपछि बुधबार अनुशासन समितिको बैठकले उनलाई अध्यक्षबाट हटाएको हो ।

नाउपाले नयाँ केन्द्रीय कार्यसमिति चयनको तयारी गरेपनि निर्वाचन आयोगमा अद्यावधिक भएको छैन ।

प्रकाशित मितिः बिहिबार, १५ साउन २०८२
https://www.jawaaf.com/storage/01K1F4DFZZ0W8VRCNKG37YBN4E.jpeg

आज साउन १५ : खीर खाएर मनाइँदै

काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदैछ । वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । 

साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खीरलगायत मिठाई विधिपूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर खीर खाने प्रचलन चलेको हो । वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रूपमा गाईको दूधमा पायस अर्थात् खीर बनाएर खुवाउने चलन अझै कायमै छ  ।

चामल, सावधाना, सेवई, मकै, गाजरलगायतको खीर बनाउने गरिन्छ । सावधानलाई फलफूलकै वर्गमा राखिन्छ । यसैगरी, साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खीर पनि बनाएर खाने चलन छ । 

नेपाली समाजमा असार १५ गते दही च्यूरा, साउन १५ गते खीर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घीउ खट्टे, माघ १५ गते मालपुवालगायत चीजबीज बनाएर इष्टमित्र एवं छोरीचेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने चलन छ I

प्रकाशित मितिः बिहिबार, १५ साउन २०८२
https://www.jawaaf.com/storage/01K1DGCWD74D2EW9AAVW53HHMA.jpeg

सालको गोलिया काठ सहित स्कारपियो गाडी गस्ती टोलीको नियन्त्रणमा

रौतहट ।रौतहट वनगस्ती टोलीले सालको गोलिया काठ सहित स्कारपियो गाडी नियन्त्रणमा लिएको छ । भारतीय नम्बर प्लेटको एम एच ०४ डि बि ६३५३ स्कारपियो गाडीमा लोड गरिएको अवस्थामा गस्ती टोलीले बरामद गरेको हो । डिभिजन वन कार्यालय, रौतहटका वन अधिकृत बिनोद जेठरा र जमदार उपेन्द्र यादव सहितको गस्ती टोलीले नियमित अनुगमनका क्रममा गएराती सो गाडीलाई नियन्त्रणमा लिएको छ । 

डिभिजन वन कार्यालय रौतहटका वन अधिकृत बिनोद जेठराका अनुसार कटहरिया नगरपालिका वडा नम्बर १ को  भसेढवा नजिकबाट सालको गोलिया काठ सहित स्कारपियो गाडी नियन्त्रणमा लिइएको हो । गुजरा नगरपालिकाको सिम्री बन क्षेत्रबाट सब डिभिजन बन कार्यालय जगलसैयाको सडक  हुदै लैजादै गरेको अवस्थामा नियन्त्रणमा लिएको उनले जानकारी दिए ।

वनगस्ती टोलीलाई देख्न साथ गाडीका चालकले भागेको उनले बताए ।भारतीय नम्बर प्लेटको गाडीमा लोड गरिएको काठको स्रोत तथा कागजातबारे कुनै वैध प्रमाण नभएको उनले उल्लेख गरेका छन ।चार थान गोलिया बरामद भएको र  काठ तस्करीमा संलग्न व्यक्तिहरूको खोजी कार्य भैरहेको डिभिजन बन कार्यालय रौतहटले जनाएको छ ।

प्रकाशित मितिः बुधबार, १४ साउन २०८२
https://www.jawaaf.com/storage/01K1CPDQF036MHE8DH1F0GA0SZ.jpg

रुसमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प, प्रशान्त महासागरभरि सुनामीको चेतावनी जारी

काठमाडौं । बुधबार बिहान रुसको कामचट्का प्रायद्वीपको पूर्वी तटमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) ले जनाएको छ । जसले गर्दा रुस, जापान, गुआम, हवाई र अलास्का सहित प्रशान्त महासागरभरि सुनामीको चेतावनी जारी गरिएको छ ।

एनसीएसले सामाजिक सञ्जाल एक्समा पोस्ट गरे अनुसार, भूकम्प ५२.५६ उत्तर अक्षांश र १६०.१० पूर्वि देशान्तरमा गएको थियो र ५५ किलोमिटर गहिराइमा थियो । अमेरिकी राष्ट्रिय मौसम सेवाले सुनामी अलर्टहरूको श्रृंखला जारी गरेको छ र सुनामी अलर्टहरू, जसमा अट्टुदेखि अमेरिकाको समल्गा पाससम्म अलास्काको अलेउटियन टापुहरूको लागि सुनामी सल्लाह समावेश गरिएको छ । जसमा रूस र जापानको लागि सम्भावित सुनामीको खतरा रहेको जनाएको छ ।

जापानमा १ मिटरसम्म र रूसमा ३ मिटरभन्दा बढी अग्ला सुनामीका छालहरूको चेतावनी दिइएको छ । हवाई, गुआम र उत्तरी मारियाना टापुहरूको लागि पनि सुनामी सम्बन्धी सुचना जारी गरिएको छ । अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजीएस) का अनुसार, भूकम्प रूसको पेट्रोपाभ्लोभस्कबाट १३६ किलोमिटर पूर्व–दक्षिणपूर्वमा आएको थियो ।

यसैबीच, जापान मौसम विज्ञान एजेन्सीले भूकम्पपछि १ मिटरको सुनामी जापान पुग्न सक्ने बताएको छ । 

युएसजीएसका अनुसार, प्रशान्त प्लेट प्रतिवर्ष लगभग ७७ मिमीको दरले उत्तर अमेरिकी प्लेटको सापेक्षमा पश्चिम–उत्तरपश्चिम सर्दै जाँदा उथले उल्टो गल्तीको परिणामस्वरूप भूकम्प आएको हो । जबकि उत्तर अमेरिकी प्लेट उत्तर अमेरिकी महाद्वीपभन्दा बाहिर पश्चिमतिर फैलिएको छ । - एएनआइ

प्रकाशित मितिः बुधबार, १४ साउन २०८२
https://www.jawaaf.com/storage/01K1CNQGW697NC4TCPR8A2QRE6.jpg

हायु परिवारका सदस्य भन्छन् : ऋण लागेर भागेका होइनौं, वाध्यताले हो

काठमाडौं । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६, छेत्पाबाट सम्पर्कविहीन भएर पोखरामा भेटिएका हायु परिवारले बाध्यताले गाउँ छाड्नु परेको बताएका छन् । 

मंगलबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै हायु परिवारका सदस्य राजु हायुले पानी, बत्तीको अभाव र विद्यालय जान तीन घण्टा लाग्ने भएर बच्चाहरुको लागि गाँउ छाडेको बताएका हुन् । 

उनले भने, ‘त्यहाँ पानी, बत्तीको अभाव भयो, केटाकेटीहरु धेरै बिरामी भए । केटाकेटीको लागि पनि राम्रै ठाउँमा लगेर उपचार गर्न पाए राम्रो हुन्थ्यो कि भन्ने कुरा हो । ठूलो परिवार १८ जना छौं । विकट भयो हस्पिटल जान दुई अढाइ घण्टा, स्कुल जान तीन घण्टा लाग्छ । हामी त्यस्तो ऋण लागेर भागेर आएका हैनौं ।’

उनले सञ्चार माध्यममा आएको जस्तो राती नभई बिहान घरबाट हिंडेको र गाइ नपालेको पनि बताए । 

कास्कीका एसपी श्यामबाबु ओलियाले हायु परिवार आफन्तको जिम्मा लगाइएको र सपरिवार आफूखुसी हिडेको जानकारी दिए । घटनामा आवश्यक परे थप अनुसन्धान गर्ने एसपी ओलियाले जानकारी दिए ।

सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६, छेत्पाबाट सम्पर्कविहीन भएका हायु परिवारलाई प्रहरीले पोखरामा फेला परेपछि आफन्तको जिम्मा लगाइसकेको छ । 

पोखरा महानगरपालिका–३०, गगनगौँडामा सोमबार बेलुका भेटिएका उर्मिला हायुको परिवारलाई मंगलबार पोखरा–३० कै वडा अध्यक्ष दुर्गाप्रसाद सुवेदीको रोहबरमा आफन्त धनबहादुर तामाङको जिम्मा लगाइएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए । 

प्रहरीका अनुसार हायु परिवारका १६ जना सदस्य दुई फरक स्थानमा फेला परेका थिए । तीमध्ये १२ जना सोमनाथ पौडेलको घरमा र बाँकी चार जना चन्द्र भण्डारीको घरमा रहेका थिए ।

प्रकाशित मितिः बुधबार, १४ साउन २०८२
https://www.jawaaf.com/storage/01K1ANV2D5FQC2DYTA4XKYS6K2.jpg

पोखरामा फेला परेका हायु परिवार आफन्तको जिम्मा लगाइयो

रामेछाप । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६, छेत्पाबाट सम्पर्कविहीन भएका हायु परिवारलाई प्रहरीले पोखरामा फेला परेपछि आफन्तको जिम्मा लगाएको छ।

पोखरा महानगरपालिका–३०, गगनगौँडामा सोमबार बेलुका भेटिएका उर्मिला हायुको परिवारलाई मंगलबार पोखरा–३० कै वडा अध्यक्ष दुर्गाप्रसाद सुवेदीको रोहबरमा आफन्त धनबहादुर तामाङको जिम्मा लगाइएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए । धनबहादुर हराएकी कमला हायुका श्रीमान् हुन् । 

कास्की जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतका अनुसार हायु परिवारका १६ जना सदस्य दुई फरक स्थानमा फेला परेका थिए । तीमध्ये १२ जना सोमनाथ पौडेलको घरमा र बाँकी चार जना चन्द्र भण्डारीको घरमा रहेका थिए।

प्रहरीका अनुसार उनीहरू शनिबार बिहानको राति १ बजेतिर सिन्धुलीबाट हिँडेर आइतबार  दिउँसो पोखरा पुगेका थिए । त्यसपछि लेकसाइडस्थित होटल जननीमा बास बसेर होटलबाट चेकआउट गरी हिँडेका उनीहरू सोमबार पोखरा–३० का दुई घरमा फेला परेका थिए ।

प्रहरी अनुसन्धान अनुसार, उनीहरू शनिबार राति १ बजे सिन्धुली तीनपाटन गाउँपालिका–३ निवासी नवीन बिकले चलाएको मधेस प्रदेश ०४–००१–००८१ नम्बरको इभी भ्यान चढेर सिन्धुलीको बलेनीबाट हिँडेको पत्ता लागेको छ । सो भ्यानमार्फत खनियाँखर्क, हेटौंडा, मुग्लिन हुँदै पोखरा पुगेका थिए ।

सिन्धुलीबाट सम्पर्कविहीन भएको हायु परिवारले केही दिनअघि मात्र सरकारले उपलब्ध गराएको सामाजिक सुरक्षा भत्ता बुझेका थिए । त्यसपछि उनीहरूले गाउँका अन्य व्यक्तिलाई जानकारी नदिई बस्तुभाउ त्यतिकै छाडेर भान्सामा समेत आगो लगाइ अचानक गाउँ छाडेका थिए । 

उनीहरूले गाउँ छाड्नुको कारणबारे प्रहरी अनुसन्धान जारी रहेको छ। प्रारम्भिक बयानमा परिवारका सदस्यले ‘बेलाबेलामा बिरामी पर्ने समस्या रहेकाले धामीले उक्त ठाउँमा नबस्न सुझाव दिएपछि गाउँ छाडेको’ बताएका छन्।

सिन्धुली प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सूर्यप्रकाश सुवेदीले हायु परिवार सोमबार बिहानदेखि खोजीमा रहेका बेला साँझ पोखरामा सुरक्षित अवस्थामा फेला परेको बताएका छन् ।

प्रकाशित मितिः मङ्गलबार, १३ साउन २०८२
https://www.jawaaf.com/storage/01K1AA7KPWPXKJ42H8TKV9XWGS.jpg

सुख्खाग्रस्त क्षेत्र घोषणा गरिएको मधेशमा अन्तर्राष्ट्रिय संस्थाहरु सक्रिय

जनकपुर । सरकारले मधेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा पश्चात अन्तर्राष्ट्रिय संस्थाको छाता संगठन (एआइएन) मधेश प्रदेशले सक्रियता देखाएको छ । 
मधेश प्रदेश सरकारका मुख्यमन्त्रीको सुख्खाग्रस्त क्षेत्रमा तत्काल खानेपानी र सिचाई पुरÞ्याउन अनुरोधपछि प्रदेशमा अन्तर्राष्ट्रिय संस्थाहरुले नियमित गतिविधि साथै खानेपानी र सिँचाइमा काम शुरु गरेका छन् । 
समाज कल्याण परिषदले पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थालाई सुख्खा क्षेत्रको समस्या समाधानको लागि लाग्न अनुरोध गरेको अवस्थामा सुख्खा क्षेत्रको प्रतिकार्यमा वास क्लस्टर, जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय तहसँगको समन्वय तथा सहकार्यमा अन्तर्राष्ट्रिय संस्थाहरुले मधेशमा सुख्खाग्रस्त क्षेत्रमा स्थानीय साझेदार संस्थामार्फत प्रतिकार्य गरिरहेको एआइएनकी मधेश प्रदेश सम्पर्क व्यक्ति प्रमिल अधिकारी जानकारी दिइन् । 
अधिकारीको अनुसार सेभ द चिल्डेन नेपालले सर्लाहीको इश्वरपुर नगरपलिका वडा १० मा दशहजार लिटर पानी ५३४ घरधुरीलाई वितरण गरेको, अक्सफाममार्फत रौतहटको चपुरमा २०० घरधुरी, सर्लाहीको हरिपुर, हरिवन र मलंगवामा २०० घरधुरीलाई सेलो ट्वेल र खानेपानी वितरण गरेको छ । 
प्लान इन्टरनेसनल नेपालले धनुषा सविला नगरपालिकामा १००० घरधुरीलाई पानीको जार वितरण गरेको छ । वल्र्ड भिजन इन्टरनेशनल नेपालले महोत्तरीको एकडारा र सम्सी गाउँपालिकामा क्रमशः ५५ र ३१४ घरधुरी साथै सर्लाहीको हरिपुर्वामा ९३ र रौतहटको माधव नारायणमा ४२ घरधुरीलाई साना सिँचाइ सहयोग गरेको छ ।
स्लामिक रिलिफबाट रौतहटको राजपुर र चपुरमा १००० घरधुरी साथै बाराको महागडीमाइ र सुवर्णमा ५० घरधुरीलाई पुग्ने डिपबोरिङ गड्ने काम शुरु गरेको छ ।
वाटर एडमार्फत सिराहाको लाहान नगरपालिकामा ३०० दलित बस्तीमा खानेपानीको लागि चापाकल र पाइप वितरण गरेको छ । एसएनभिले प्रदेशको खानेपानीको अवस्था बारे अध्ययन र अनुसन्धानमा सहयोग गरिरहेको छ साथै धनुषा र महोत्तरीको ५ पालिकामा डिपबोरिङको अध्ययन शुरु गरेको छ ।
अन्तर्राष्ट्रिय संस्थाहरु पिपुल इन निड, एक्सन एड, गुड नेवर्स, युएमएन जस्ता संस्थाहरु योजना छनोट र स्थानीय तहसँग समन्वय भइरहेको छ ।
साथै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा र बेलायत सरकारअन्तर्गत सञ्चालित ‘स्टार्ट फन्ड नेपाल’ परियोजना कार्यान्वयनमा संचालनमा आएको छ । 
खडेरी प्रभावित पर्साको विरंगज, बहुरडरमाइ, बाराको सिमसनगडी, रौतहटको परोहा नगरपलिका , सर्लाहीको कविलासी, सिराहाको लक्ष्मी पटहरी गाउँपालिका र सप्तरीको रुपनी, तिलाठी कोइलाडी र हनुमाननगरका १० पालिकामा लागू हुने यो कार्यक्रम आगामी ६० दिनसम्म सञ्चालन हुनेछ।
स्टार्ट फन्ड नेपाल तथा साझेदार संस्थाहरूको समन्वयमा सञ्चालन हुने यो परियोजनाबाट ८ हजार ३ सय ५५ घरधुरीका करिव ४४ हजारभन्दा बढी नागरिक लाभान्वित हुनेछन्।कार्यक्रमका लागि कुल २ करोड ६० लाख ३३ हजार ४ सय ७६ रुपैयाँ बजेट विनियोजन गरिएको प्राधिकरणले जनाएको छ । 
साथै विश्व खाद्य कार्यक्रम मार्फत रौतहटको माधवनारायण नगरपालिका र सप्तरीको हनुमाननगर र तिलाठी कोइलाडीमा स्यालो ट्वेल, पम्पसेट, मोटपाइप बढ्ने कार्य शुरु गरेको छ । 
अन्तर्राष्ट्रिय संस्थाहरुले मधेश प्रदेशमा सुख्खाग्रस्त क्षेत्रको तत्काल र दिर्घकालीन समस्या समाधानको लागि प्रदेश सरकार, स्थानीय तह र जिल्ला विपद् व्यवस्थापन संग सहकार्य गर्दै स्थानीय साझेदार संस्थाहरु मार्फत काम भइरहेको र आगामी दिनहरुमा प्राथमिकता रहने छ । प्रदेश सरकारले दिर्घकालीन समस्या समाधानको लागि स्पष्ट नीति योजना ल्याउन आवश्यक छ ।

प्रकाशित मितिः मङ्गलबार, १३ साउन २०८२
https://www.jawaaf.com/storage/01K1A3142V2NFH3NCC0VB9ZJ89.jpeg

सिन्धुलीबाट सम्पर्कविहीन भएका हायु परिवारका १६ जना पोखरामा सुरक्षित अवस्थामा भेटिए

रामेछाप । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६, छेत्पाबाट सम्पर्कविहीन भएका हायु परिवारका १६ जना सदस्य पोखरामा सुरक्षित भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सोमबार राति प्रेस विज्ञप्ति जारी गर्दै उनीहरू सोमबार राति भेटिएको पुष्टि गरेको हो । प्रहरीका अनुसार  सोमबार बिहान १० बजे उर्मिला हायु सहित १६ जना परिवारका सदस्य केही दिनदेखि गाउँबाट सम्पर्कविहीन भएको सूचनाको आधारमा प्रहरीले खोजी सुरु गरिएको थियो ।

अनुसन्धानका क्रममा उनीहरु शनिबार बिहानको राती १ बजे सिन्धुली तीनपाटन गाउँपालिका वडा नं. ३ का वर्ष २५ को जिवन भन्ने नविन बिकले चलाउने गरेको मधेश प्रदेश ०४– ००१–००८१ नम्बरको इभी भ्यानमा  सिन्धुली जिल्लाको गोलन्जोर स्थित बलेनी भन्ने ठाउँबाट चढी खनियाँखर्क–सिन्धुली–हेटौँडा–मुग्लिन हुँदै पोखरा पुगेर त्यहाँको लेक साईडको होटल जननीमा बसेका थिए ।    

आइतबार सो होटलबाट चेक आउट गरी हिडेका उनीहरुलाई सोमबार  प्रहरीले दुइवटा घरबाट फेला पारेको सिन्धुलीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

उनिहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीसँग समन्वय गरी खोज तलास गर्दा सोमबार राति कास्कीको पोखरा महानगरपालिका वडा नं. ३० स्थित सोमनाथ पौडेलको घरमा १२ जना र चन्द्र भण्डारीको घरमा ४ जना समेत गरी सबै १६ जना फेला परेको प्रहरीले जनाएको छ ।  

प्रहरीका अनुसार उनीहरूले गाउँ छाड्नुको कारण अहिलेसम्म खुलाइएको छैन । थप अनुसन्धान जारी छ । १८ जनाको संयुक्त परिवारमध्ये दुई जना यसअघि नै काठमाडौंमा रहेको पुष्टि भइसकेको छ। बाँकी १६ जना भने कुनै जानकारी नदिई गाउँ छाडेर हिँडेपछि प्रहरी र स्थानीय प्रशासनले सोमबार बिहानबाट खोजी थालेका थिए ।

सो परिवारले केही दिनअघि मात्रै सरकारले उपलब्ध गराएको सामाजिक सुरक्षा भत्ता बुझेको थिए। त्यसपछि उनीहरू एक्कासि सम्पर्कविहीन भएका थिए ।

प्रकाशित मितिः मङ्गलबार, १३ साउन २०८२