संविधानले मलाई सक्रिय राजनीतिमा आउन रोकेको छैन् : भण्डारी
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले पनि आफूलाई दलमा आवद्ध भएर राजनीतिमा संलग्न हुन नरोकेको बताएकी छन् ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले संविधानका विभिन्न धाराले कहींकतै दलमा आवद्ध भएर राजनीतिमा संलग्न हुन नसक्ने नभनेको भन्दै पार्टीको सदस्यताबाट बन्चित गर्नुपर्ने कुनै कारण नभएको बताइन् ।
उनले भनिन्, ‘संविधानका विभिन्न धारा मर्म र भावना कहिँकतै पनि म दलमा आवद्ध भएर राजनीतिमा संलग्न हुन नसक्ने अवस्था छैन् । यो छर्लङग भएको विषय हो । त्यसैले मलाई पार्टीको सदस्यताबाट बञ्चीत गर्नुपर्ने कुनै कुरा छैन् ।’ यस्तै, उनले राजनीति व्यक्ति भएकाले राष्ट्रपतिको जिम्मेवारी पूरा गरेर राजनीति दलमा आवद्ध भइ देश र जनताको सेवा गर्ने संकल्प गर्नु कुनै आश्चर्यको विषय नभएको पनि बताइकी छन् ।
उनले भनिन्, ‘वास्तवमा मेरो पार्टी सदस्यता नविकरण भइसकेकाले यसलाई विवादमा पर्नुपर्ने विषय नै होइन् । म एक राजनीति व्यक्ति भएकाले राष्ट्रपतिको जिम्मेवारी पूरा गरेर राजनीति दलमा आवद्ध भइ देश र जनताको सेवा गर्ने संकल्प गर्नु कुनै आश्चर्य मान्नुपर्ने विषय होइन् । यो कुनै पदमा महत्कांक्षी र आशा ममा छैन् । किनकी मैले आफ्नो नाम इतिहासमा लेखिसकेको छु । मेरो उद्देश्य पार्टीका सदस्य बन्ने र पार्टीलाई सवल र सुदृढ बनाउने र देश र जनताको सेवा गर्ने हो ।’
मूलुकको एक जिम्मेवार नागरिक भएको नाताले आफ्नाबारे उठेको चासो र सरोकारलाई थप स्पष्ट पार्नु दायित्व भएको पनि उनको भनाई छ ।
बागमती प्रदेशमा मुख्यमन्त्री फेरबदलको संकेत
हेटौंडा । बागमती प्रदेशका चार मन्त्रीहरूले राजीनामा दिएका छन् । राजीनामापछि मुख्यमन्त्री फेरबदल हुने संकेत देखिएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन, सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठ र संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरीले राजीनामा दिएका हुन् । उनीहरुले मुख्यमन्त्री बहादुर सिंह लामा तामाङलाई राजीनामा पठाएका हुन् ।
विविध कारणले जिम्मेवारी बहन गर्न सक्ने अवस्था नरहेकाले आजकै मितिदेखि लागू हुनेगरी राजीनामा दिएको उल्लेख छ ।
प्राप्त जानकारी अनुसार इन्द्रबहादुर बानियाँलाई संसदीय दलको नेता बनाउन मन्त्रीहरुले राजीनामा दिएको प्रतिक्रिया दिएका छन् । बानियाँले लामाविरुद्ध अविश्वासको प्रस्ताव हालेर दलको नेता बन्न खाजेका हुन् ।
काठमाडौं महानगरपालिकाभित्र सार्वजनिक स्थलहरुमा धुम्रपान निषेध
काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरपालिकाभित्र निजी सम्पत्ति बाहेक सार्वजनिक स्थलहरु धुम्रपान निषेध गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नगर प्रहरी प्रमुख राजु पाण्डेले महानगरपालिकाको गएको असार ३२ गते सम्पन्न भएको नगर सभाबाट महानगरभित्रका सार्वजनिक स्थलहरु धुम्रपान निषेध गर्ने निर्णय गरेको भन्दै यसलाई लागू गर्न श्रावण ९ गतेदेखि महिनाभर प्रचारप्रसार गर्ने र भदौ १ गतेबाट जरिवानामा जाने जानकारी दिए ।
उनले सार्वजनिक स्थलहरुमा धुम्रपान गरिएको पाइएमा पहिलो पटक ५ सय जरिवाना र दोहोराएको खण्डमा उक्त जरिवाना दोब्बर हुने निर्णय पनि भएको पनि जानकारी दिएका छन् ।
उनले भने, ‘काठमाडौं महानगरपालिकाको गएको असार ३२ गते सम्पन्न भएको नगर सभाबाट केही महत्वपूर्ण ऐनहरु पास भएका छन् । जसअन्तरगत प्रशासनिक दण्ड जरिवाना र जफत शिर्षकमा केही जरिवानाहरु पास भएका छन् । विशेषगरि महानगरपालिकाभित्र कुनै पनि सार्वजनिक स्थलहरु सडकदेखि लिएर निजी सम्पत्ति बाहेकका क्षेत्रमा धुम्रपान निषेध गरिएको छ । त्यो स्थानहरुमा धुम्रपान गरिएको पाइएमा पहिलो पटक ५ सय जरिवाना र दोहोराएको खण्डमा उक्त जरिवाना दोब्बर हुने निर्णय भएको छ । काठमाडौं महानगरपालिकाभित्र यसलाई व्यापक रुपमा प्रचार गर्दै छौ । आज श्रावण ९ गतेदेखि यो महिनाभर प्रचारप्रसारको काममा लाग्ने छौ र भदौ १ गतेबाट जरिवानामा जादैँ छौ । सुरुमा बुझाउने नमानेको खण्डमा जरिवाना तिराउने गरि अगाडि बढ्दै छौ ।’
यसको साथै, उनले तोकिएको स्थानमा बाहेकका स्थलमा सवारीसाधन पार्किङ् गरेमा सबै किसिमका तीन पांग्रे सवारी साधन मोटरसाईकल, स्कूटरलाई १ हजार, सबै किसिमका चारपांग्रे सवारी साधन (कार, जीप, डेलिभरी भ्यान) लाई २ हजार ५ सय, सबै किसिमका मझौला सवारी साधन (मिनीबस, मिनीट्रक आदि) लाई ३ हजार ५ सय, सबै किसिमका ठूला सवारी साधन (बस, ट्रक, लहरी आदि) लाई ५ हजार रुपैयाँ जरिवाना तिराउने निर्णय पनि भएको बताए ।
उनको अनुसार,पर्चा, पम्प्लेट, पोष्टर, स्टिकर सार्बजनिक स्थानमा टाँस गरेमा तथा सार्वजनिक स्थलमा ब्रोसर तथा प्रचार समाग्री बितरण गरी फोहर गर्ने कार्य गरेमा ५ हजारदेखि ५० हजार रुपैयाँ जरिवानाको व्यवस्था गरिएको छ भने गल्ती दोहोरिएमा प्रतिपटक दोब्बर हुने निर्णय पनि भएको छ ।
नगरप्रमुख भट्टराईद्वारा प्रधानन्यायाधीशलाई बाँसका सामग्री हस्तान्तरण, स्थानीय उत्पादन प्रवर्द्धनमा कानुनी पहलको माग
काठमाडौँ । दिक्त्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङका नगरप्रमुख तीर्थराज भट्टराइले प्रधानन्यायधीश प्रकाशमान सिहं रावतलाई बाँसबाट तयार गरिएका सामग्रीहरु हस्तान्तरण गरेका छन् ।
बाँसलगायतका स्थानीय सामग्रीको उपयोग गर्न नीति निर्माण र कार्यान्वयनका लागि नेपाल सरकारलाई निर्देशन दिनुपर्ने माग राख्दै शुक्रबार प्रधानन्यायधीशकै कार्यकक्षमा पुगेर बाँसका सामग्री हस्तान्तरण गरेका हुन् । सामग्रीमा कुर्सी र टेबल समावेश छन् ।
बाँस र स्थानीय उत्पादनको प्रवद्र्धनमा संघीय सरकारले ऐन तथा कानुन नबनाएको भन्दै सांकेतिक रुपमा सत्याग्रह र भोक हडतालसम्मको कार्यक्रमसहित काठमाडौंमा रहेका प्रमुख भट्टराईले वुधबार सभामुख देवराज घिमिरेलाई भेटेर बाँसका सामग्री हस्तान्तरण गरेका थिए ।
बाँसको सदुपयोगबाट स्थानीय स्तरमा साना घरेलु उद्योग सञ्चालन गरी विदेश पलायन हुने युवालाई स्वरोजगार बनाई आयआर्जनको बाटो खोल्न सकिने भएकाले यसका लागि सरकारले नीति निर्माण र कार्यान्वयन गर्नुपर्ने माग राख्दै आएका उनले ध्यानाकर्षण पत्र समेत बुझाएका थिए । सो क्रममा ंरावतले नयाँ सोच र अवधारणाको प्रशंसा गरे ।
‘तपाईहरुको विचार एकदमै राम्रो र पवित्रपनि रहेछ । हामीले बाँसलाई माध्यम बनायौँ भने हस्तकलालाई समृद्ध बनाउन सक्छौँ । बाँसबाट बनेका जुन सामाग्रीहरु छन् ति बहुउपयोगी छन् । बाँसबाट बनेका सामाग्रीलाई प्रवद्धर्न गर्न सक्यौं भने रोजगारी, राजस्व, प्राकृतिक विपत्तिका रोक्ने कुराहरुमा सहयोग पुर्याउन सकिन्छ । वन तथा वातावरण पर्यावरण अहिले तहस नहस बनाएको छ । अहिले गुणस्तरीय वस्तुमा सबै प्रदुषित बढेको छ । वनस्पतिदेखि मानिसको जीवन जोगाउन बाँसको आवश्यक छ,’उनले अगाडि भने,‘बाँसको प्रयोगले ठाँउ अनुसार विभिन्न किसिमका सामाग्रीहरु बनाउन सकिन्छ। ’
मधेश प्रदेशका आठ जिल्लाको खानेपानी सङ्कट समाधान हुन्छ : मन्त्री यादव
पर्सा । खानेपानीमन्त्री प्रदीप यादवले मधेश प्रदेशका आठ जिल्लाको खानेपानी सङ्कट समस्या समाधानका लागि सबै क्षेत्रको हातेमालोसँगै साझा जिम्मेवारीको आवश्यकता रहेको बताएका छन् ।
शुक्रबार पर्सा स्थित ठोरी गाउँपालिका–४ मा निर्माण सम्पन्न भएको ‘निर्मल बस्ती खानेपानी आयोजना’ उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले तराई–मधेशका जिल्लाहरू हाल इतिहासकै एक गम्भीर जलसङ्कटको सामना गरिरहेका बताएका हुन् ।
उनले भने, ‘तराई–मधेशका जिल्लाहरूमा खानेपानीको गम्भीर सङ्कट उत्पन्न भएको छ । अब सहानुभूति होइन, साझा जिम्मेवारी आवश्यक छ । खानेपानी सङ्कट मधेश प्रदेशको मात्रै समस्या होइन, यो हाम्रो साझा चुनौती हो । सङ्कट समाधानका लागि सबैले हातेमालो गर्ने बेला आएको छ ।’
त्यसैगरी, मन्त्री यादवले तराई–मधेशमा विकराल समयमा पनि आफूसहित सिङ्गो मन्त्रालय नागरिकका मौलिक अधिकारका रूपमा स्वच्छ र सुरक्षित खानेपानी सुनिश्चित गर्न अहोरात्र खटिएको जानकारी गराए ।
उनले भने, ‘विपद्को यस घडीमा हामी नागरिकलाई स्वच्छ र सुरक्षित खानेपानी सुनिश्चित गर्न खटिएका छौँ । यहाँको खानेपानी समस्या चाँडै समाधान गरिने म आम नागरिकहरुमा बिश्वास दिलाउन चाहन्छु ।’
मन्त्री यादवले आफूले नेतृत्व गरेको खानेपानी मन्त्रालयको विशेष पहलमा नेपाल सरकारको मन्त्रिपरिषद्बाट मधेश प्रदेशका आठ जिल्लालाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको बताए ।
उनले भने, ‘यो सङ्कटलाई केवल सहानुभूतिका रूपमा होइन, साझा जिम्मेवारीका रूपमा हेर्ने र समाधानका लागि हातेमालो गर्ने बेला आएको छ । दातृ निकाय, संघसंस्था र नागरिक समाजलाई आवश्यक सहयोग गर्न म हार्दिक आग्रह गर्दछु ।’
मन्त्री यादवले ठोरी गाउँपालिका–४ मा निर्माण सम्पन्न भएको निर्मल बस्ती खानेपानी आयोजना ठोरी क्षेत्रको दीर्घकालीन खानेपानीको सङ्कट अन्त्यको लागि मन्त्रालयले दिगो र रणनीतिक समाधानतर्फ गरेको प्रयासको प्रतिबद्धताको मुल प्रतिबिम्ब भएको दाबी पनि गरे ।
यस आयोजना मार्फत ठोरीका कम्तिमा पनि दुई हजार १६५ जनसङ्ख्या प्रत्यक्ष रूपमा लाभान्वित हुने खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ईञ्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार ओभरहेड ट्याङ्की, डीप ट्युबवेल, कार्यालय भवन, पम्प हाउस र पानी प्रशोधन केन्द्र (ट्रीटमेन्ट प्लान्ट) लगायतका संरचना निर्माण गरिएकाले यहाँका नागरिकलाई सुरक्षित र स्वच्छ खानेपानी आपूर्ति गर्ने अपेक्षा गरिएको छ ।
आजको उक्त कार्यक्रममा ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठ, उपाध्यक्ष गोकुलीकुमारी रेग्मी, जिल्ला भूमी आयोग पर्साका अध्यक्ष तवेरेजअहमद, आयोजना प्रमुख विपुलकुमार लाल दास, निर्माण व्यवसायी लगायतको सहभागिता रहेको थियो ।
सुरु भयो एक महिने गुँला पर्व
काठमाडौं । एक महिनासम्म मनाइने ‘गुँलापर्व’ आजदेखि सुरु भएको छ । विशेषगरी बौद्ध धर्मावलम्बीले धुमधामका साथ मनाउने यो पर्व नेपाल संवत्को गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म मनाउने गरिन्छ ।
हिनयान, महायान र बज्रयान तीनै समुदायका बौद्ध अनुयायीले भगवान बुद्धप्रतिको आस्था प्रकट गर्दै एक महिनासम्म गुँला पर्व मनाउने गर्छन् ।
साउन शुक्ल प्रतिपदादेखि भदौ शुक्ल प्रतिपदासम्म मनाइने यस पर्वमा बौद्धधर्म भक्तिभाव झल्काउने कर्म गरिन्छ । यो अवधिलाई शाक्यमुनि गौतम बुद्धले बुद्धत्व प्राप्त गरेको पवित्र महिनाका रूपमा लिने गरिन्छ । बौद्ध समुदायबाहेक हिन्दू धर्मावलम्बीका नेवार समुदायले पनि पछिल्ला वर्षमा यो पर्व मनाउन थालेका छन् ।
काठमाडौंको स्वयम्भू महाचैत्य परिक्रमापछि शोभाभगवतीसँगैका विजयश्वरी, केलटोलको सेतो मत्स्यनारायण पनि परिक्रमा गर्ने परम्परा छ ।
नेवारी भाषामा ‘गुँ’ को अर्थ नौ हो भने ‘ला’को अर्थ महिना भएकोले नेपाल संवतको नवौं महिनाको पारु तिथिमा यो पर्व मनाउने गरिन्छ ।
यी ६ निर्माण कम्पनीपरेकालो सूचीमा
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमै काम सम्पन्न नगर्ने ६ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ ।
कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो ।
जिम्मा लिएको काम समयमै पूरा नगर्ने ति निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम एकदेखि तीन वर्षको लागि कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ ।
थाइल्यान्ड र कम्बोडियाबीच तनाव : १२ जनाको मृत्यु
एजेन्सी । थाइल्यान्ड र कम्बोडियाबीच सीमा क्षेत्रमा सैन्य झडप भएपछि स्थिति तनावपूर्ण बनेको छ । झडपमा ११ थाई नागरिक र एक सैन्य कर्मचारीको मृत्यु भएको थाई स्वास्थ्यमन्त्रीले जनाएका छन् ।
झडपमा एक सैनिक र ११ जना सर्वसाधारणको ज्यान गएको हो । थाइल्यान्डले आफ्ना सबै नागरिकलाई कम्बोडिया छाड्न भनेको छ । जसका कारण कम्बोडियासँगको सम्पूर्ण सीमा बन्द गरिएको छ ।
यता, कम्बोडियाले भने थाइल्यान्डमाथि ‘अत्यधिक बल’ प्रयोग गरेको आरोप लगाउँदै बैंककसँगको सम्बन्धलाई कमजोर बनाएको जनाएको छ ।
कम्बोडियाले थाई गाउँमा रकेट प्रहार गरेको र एक अस्पतालमाथि आक्रमण गरेको आरोप लागेको छ । त्यस्तै थाइल्यान्डले कम्बोडियाली सैनिक क्षेत्रलाई निशाना बनाएर हवाई हमला गरेको जनाएको छ । (सीसीटीभीप्लस)
२५ सयभन्दा बढी जेष्ठ व्यक्ति नागरिकताविहीन, समस्या समाधान गर्न माग
काठमाडौं । जेष्ठ राष्ट्रिय नागरिक महासंघले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको छ। महासंघका प्रतिनिधिहरुले अध्यक्ष निवास खुमलटारमा भेटगरी जेष्ठ नागरिकसम्बन्धी विभिन्न मागहरू राखेको हो ।
महासंघका पदाधिकारीहरूले भेटका क्रममा यातायातमा छुट, नागरिकता नपाएका जेष्ठ नागरिकको पहिचान र व्यवस्थापन, वृद्धभत्ता वितरण प्रणालीमा सुधार, आर्थिक वर्गीकरणका आधारमा भत्ता दिने व्यवस्था तथा राष्ट्रिय सभामा जेष्ठ नागरिकको तर्फबाट प्रतिनिधित्व सुनिश्चित गर्ने लगायतका मागहरू राखे ।
खासगरी २५०० भन्दा बढी जेष्ठ नागरिक नागरिकताविहीन रहेको र यसले उनीहरूलाई राज्यका सेवाबाट वञ्चित बनाएको भन्दै यो समस्या समाधान गर्न नेतृत्व लिइदिन महासंघले अनुरोध गरेको छ ।
महासंघका मागहरूलाई गम्भीरतापूर्वक सुनेपछि अध्यक्ष प्रचण्डले महासंघलाई आश्वस्त पार्दै भने,’तपाईंहरूले उठाएका मागहरू अत्यन्तै न्यायसंगत छन्। म आफ्नो तर्फबाट सक्दो सहयोग गर्नेछु। यी मागहरूलाई गर्ने दिशामा हाम्रो पार्टी माओवादी केन्द्रले सकारात्मक पहल गर्ने छ ।’
२ वर्षको ठेक्का लागेको पुल नौ महिनामै तयार,प्रधानमन्त्रीले दिए धन्यवाद
काठमाडौं । कपिलवस्तुको वाणगंगा नगरपालिका– ९, कोइली खोला (ख)मा दुई वर्षको निर्माण सम्झौता भएको पुल सुरु भएको नौ महिनामै सम्पन्न भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल मार्फत आफूले विकासमा खोजेको यस्तै तीव्रता रहेको बताउँदै निर्माण सम्पन्न गर्ने ठेकेदार समूहलाइ धन्यवाद दिए ।
उनले लेखेका छन्,‘हामीले विकासमा खोजेको यस्तै तीव्रता हो । कपिलवस्तुको वाणगंगा नगरपालिका– ९, कोइली खोला (ख)मा दुई वर्षको निर्माण सम्झौता भएको पुल निर्माण सुरु भएको नौ महिनामै सम्पन्न भएको छ । निर्माण सम्पन्न गर्ने ठेकेदार समूहलाई धन्यवाद !’
नौ करोड तीन लाख ७८ हजार ६८ रुपैयाँ लागतमा पुल निर्माणको सम्झौता भएको थियो ।
