आज देशभर भारी वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास अवस्थित रहेकोले आगामी २४ घण्टा मनसुन सक्रिय रहनेछ ।
यस्तै, महाशाखाका अनुसार आज दिउँसो देशभर पुर्णतया बदली रहनेछ । देशका अधिकांश स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
मधेश प्रदेश लगायत कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा भारी वर्षा र एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । यसैगरी महाशाखाका अनुसार कर्णाली प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
आज राती भने गण्डकी प्रदेश, लुम्विनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा पुर्णतया बदली रही बाँकी भू–भागमा साधारणतया बदली रहनेछ ।
गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भाग, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशको पहाडी तथा तराई भू–भागका धेरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी र तराई भू–भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागको थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको तथा लुम्बिनी प्रदेशको तराईको भू–भागको थोरै स्थानहरू, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
सभापति रामहरि खतिवडाको राजीनामा
काठमाडौं I प्रतिनिधि सभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले मंगलबार पदबाट राजीनामा दिएका छन्। उनले प्रतिनिधि सभाको बैठकमै आफ्नो राजीनामाको घोषणा गरेका हुन्।
निजामती सेवा विधेयकको कुलिङ पिरियड सम्बन्धी प्रावधानमा छेडछाड भएको विषयमा छानबिनका लागि गठन भएको संसदीय समितिको प्रतिवेदनमा “जिम्मेवारी” भन्ने शब्द प्रयोग भएको भन्दै उनले नैतिक जिम्मेवारी लिँदै पद छोडेको बताए।
“न खाएको विष लाग्दैन तर पदभन्दा प्रश्नलाई माथि राखेर हेरेको छु,” खतिवडाले भने, “प्रतिवेदनमा न मलाई दोषी ठहर्याइएको छ, न राजीनामाको उल्लेख छ, न त प्रचलित कानुनअनुसार कारबाहीको सिफारिस गरिएको छ। तर ‘जिम्मेवारी’ भन्ने शब्द प्रयोग भएकाले म आजै हाँसी–हाँसी पद छोड्दैछु।”
उनले सुरुदेखि नै सरकारी कर्मचारीका लागि कुलिङ पिरियड लागू हुनुपर्ने पक्षमा अडिग रहेको र आगामी दिनमा पनि सो अडान कायम रहने बताए। साथै, प्रतिवेदन समिति र समितिको विधायकी मनसाय विपरीत तयार भएको भन्दै उनले प्रतिवेदन लेखनमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र संघीय मामिला मन्त्रालयका कर्मचारी संलग्न रहेको आरोप लगाए।
बागमतीका मुख्यमन्त्री बानियाँ आज विश्वासको मत लिँदै
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । यसअघि नेकपा एमाले र नेपाली कांग्रेसको समर्थनमा सरकार गठन गरेका बानियाँले संवैधानिक प्रावधान अनुसार विश्वासको मत लिन लागेका हुन् ।
यही साउन २० मा मुख्यमन्त्री पदमा नियुक्त बानियाँले ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) अनुसार मुख्यमन्त्री बानियाँले विश्वासको मत प्रस्ताव पेश गर्ने उल्लेख गरिएको छ ।
यसका लागि सभामुख भुवन कुमार पाठकले आज अपरान्ह ४ बजे प्रदेश सभा बैठक बस्नेगरी मिति निर्धारण गरेका छन् । बैठकमा विश्वासको मत प्रस्तावमाथि छलफल गरी मतदान गरिनेछ ।
मुख्यमन्त्री बानियाँले हाल प्रदेशको नेतृत्व गरिरहेका छन् । हालको सत्ता समीकरणमा नेपाली कांग्रेस र नेकपा एमालेसहितको समर्थनमा बनेको सरकारलाई विश्वासको मत पाउनुपर्ने संवैधानिक आवश्यकता छ । विश्वासको मत प्रक्रिया प्रदेश सरकारको स्थायित्व र आगामी नीतिगत निर्णयका लागि महत्वपूर्ण मानिन्छ ।
कांग्रेसका बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँ आफ्नो दलका ३७ र सत्ता साझेदार एमालेका २७ गरी कुल ६४ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । आफ्नै दलका नेता बहादुरसिंह लामालाई विस्थापन गर्दै बानियाँ मुख्यमन्त्री बनेका हुन् ।
मुख्यमन्त्री बन्न बानियाँले लामाविरुद्ध कांग्रेसको प्रदेश संसदीय दलमा अविश्वास प्रस्ताव पारित गराई चुनावबाट आफैँ दलका नेता बनेका थिए । दलको नेतामा चुनाव हारेपछि लामा मुख्यमन्त्री पदबाट राजीनामा दिन बाध्य भएका थिए ।
काठमाडौं स्पाइकर्सको मुख्य प्रशिक्षकमा लोक बहादुर बुढा
काठमाडौं । वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को फ्रेन्चाइज टोली काठमाडौं स्पाइकरको नयाँ मुख्य प्रशिक्षकमा लोकबहादुर बुढा नियुक्त गरिएको छ ।
खेलाडी र प्रशिक्षकको भूमिकामा लामो समयदेखि काम गर्दै आएका लोक पहिलो पटक फ्रेन्चाइज भलिबल लिगमा प्रशिक्षक बनेका हुन् ।
यसअघि पहिलो संस्करणमा काठमाडौं स्पाइकर्सको मुख्य प्रशिक्षकमा नेपाली महिला राष्ट्रिय टिमका मुख्य प्रशिक्षक समेत रहेका जगदिश भट्ट थिए । यस सिजन लोकलाई नयाँ मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरिएको हो ।
लोकले त्रिभुवन आर्मी क्लबबाट खेलाडीको रुपमा खेलेका थिए भने हाल सोही क्लबमा प्रशिक्षकको भूमिकामा छन् । उनले राष्ट्रिय टिमको कोचिङ स्टाफको रुपमा रहेर समेत काम गरिसकेका छन् ।
लोकको प्रशिक्षण अनुभवले काठमाडौं स्पाइकर्सले राम्रो नतिजा हात पार्ने टिमको विश्वास छ । भलिबलप्रतिको उनको समर्पण, अनुभव र अनुशासनको कारण उनले फ्रेन्चाइज टिममा जिम्मेवारी पाएका हुन् ।
काठमाडौं स्पाइकर्सको मुख्य प्रशिक्षक नियुक्त भएपछि लोकले आफ्नो जिम्मेवारी पूरा गर्ने र राम्रो नतिजा ल्याउन प्रयास गर्ने बताएका छन् ।
उनले भने, ‘एभरेष्ट महिला भलिबल लिगको प्रशिक्षकमा नियुक्त हुँदा खुशी छु र काठमाडौंलाई धन्यवाद दिन चाहन्छु । प्रशिक्षकको रुपमा पहिले देखि काम गरिरहेको छु । राष्ट्रिय टिमको कोचिङ स्टाफ र विभागीय टिममा पनि प्रशिक्षक भएर काम गरिसकेको छु । अक्सनबाट खेलाडीहरु अनुबन्ध भइसकेको छ । अब छिटै विदेशी खेलाडीहरु पनि अनुबन्ध हुने चरणमा छ ।’
नेपाली राष्ट्रिय महिला टिमकी मुख्य स्पाइकर उषा भण्डारी मार्की प्लेयर रहेको काठमाडौँ स्पाइकर्समा मनिषा चौधरी, यमुना रसाइँली, रिमा कुँवर, बाल्मिका आचार्य, कमला पुन, आशिका क्षेत्री, भुवनेश्वरी चन्द छन् । यसअघि अक्सनबाट कबिता भट्टलाई अनुबन्ध गरेपनि उनी अष्ट्रेलिया गएपछि उनको स्थानमा भुवनेश्वरिलाई राखिएको हो ।
आजको मौसम : मधेस, कोशी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर नेपालको तराई नजिक रहेको छ । जसका कारण आज देशभर मौसम बदली रही देशका विभिन्न भागमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ ।
यस्तै, आज दिउँसो देशभरको मौसम सामान्य बदली रही देशका पहाडी भू–भागका अधिकांश स्थान र मधेस प्रदेशलगायत अन्य प्रदेशका तराई भू–भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना महाशाखाले जनाएको छ । कोशी प्रदेशको पहाडी भू–भागका केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यसैगरी, महाशाखाका अनुसार आज राति देशभर पूर्ण बदली रही मधेस, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागका धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ ।
विशेषगरी, मधेस, कोशी, बागमती प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ भने गण्डकी प्रदेशका पहाडी र तराई साथै लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सुनसरीमा बस–माइक्रो ठोक्किँदा ४ को मृत्यु, २३ यात्रु घाइते
इटहरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार बिहान बस र माइक्रोबस ठोक्किँदा चार जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस आपसमा ठोक्किएका हुन् ।
दुर्घटनामा सप्तरीका अन्दाजी ३५ वर्षीय शंकर मण्डल, सुनसरीका अन्दाजी ७० वर्षीय लक्ष्मण सदा, विराटनगर बस्ने अशोक यादव र अन्दाजी ४५ वर्षीया महिलाको ज्यान गएको हो ।
दुर्घटनामा परि गम्भीर घाइते भएका १५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले बस चालक झापा अर्जुनधारा नगरपालिका–१ का गोपाल अधिकारीलाई नियन्त्रणमा लिइएको र घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।
घाइतेमध्ये मोरङ, खोटाङ, उदयपुर, झापा, इलाम, सप्तरी र सुनसरीका बासिन्दा रहेका छन । प्रहरीका अनुसार घाइतेमध्ये केहीको अवस्था सामान्य छ भने केही मध्यम चोटग्रस्त छन् । उनीहरुको उपचार बिराटनगरस्थित गोल्डेन अस्पताल, बिराट नर्सिङ होम र जिल्ला अस्पताल इनरुवामा भइरहेको छ ।
घाइतेको विवरण ः
१) अम्बिका राई, मोरङ सुन्दरहरैचा–९
२) निरुता परियार, खोटाङ रावावेसि–२
३) निर्मल परियार, ३८ वर्ष, खोटाङ
४) रबिन्द्र प्र. मण्डल, सप्तरी मन्धवे–६
५) रेनुका श्रेष्ठ, ५० वर्ष, उदयपुर चौदण्डीगढी–५
६) खगेन्द्र थापा, ३८ वर्ष, झापा शिवसतासी–५ (सामान्य)
७) सन्तोष खत्री, ५३ वर्ष, झापा भद्रपुर–९ (सामान्य)
८) दिपक बि.क., २० वर्ष, उदयपुर बेलस्रोत–१ (सामान्य)
९) सविन राई, ३६ वर्ष, इलाम चुलाचुलि–३ (सामान्य)
१०) रविन्द्र मेहता, सप्तरी धिकुति–६
११) जिवछ महात्मा, ६८ वर्ष, सप्तरी गोईठी–३
१२) नेत्रलाल गिरी, ८४ वर्ष, खोटाङ हलेसी तुवाचुङ–१० (सामान्य, डिस्चार्ज)
१३) केदार गिरी, अन्दाजी ३९ वर्ष, खोटाङ (सामान्य, डिस्चार्ज)
१४) सत्य राई, २० वर्ष, झापा अर्जुनधारा–१ (मध्यम)
१५) रुद्र राय, १० वर्ष, सप्तरी राजविराज–६
१६) सोभा यादव, ४८ वर्ष, मोरङ विराटनगर–१०
१७) प्रमोद रजक, ४४ वर्ष, सप्तरी राजविराज–१२ (सामान्य)
१८) रवि राय, २२ वर्ष, सप्तरी तिलाठी–५
१९) भोला यादव, २४ वर्ष, सप्तरी राजविराज–२ (मध्यम)
२०) प्रदिप यादव, अन्दाजी ३५ वर्ष, सप्तरी राजविराज तेतरी गाछी
२१) जोगिन्द्र दास (बाबा), ६० वर्ष, सुनसरी कोशी गा.पा.–६ (मध्यम)
२२) अमृता राय, ३० वर्ष, सप्तरी डाक्नेश्वरी–३ (मध्यम)
२३) सन्तोष बास्तोला, २१ वर्ष, सप्तरी राजविराज–४ (मध्यम, डिस्चार्ज, माईक्रोबस सह–चालक)
पाथीभरा प्रि–आर्मी ट्रेनिङ एकेडेमीमा तालिम लिएका सुरेन्द्र राई भारतको एनएसजीमा
धरान । पाथीभरा प्रि–आर्मी ट्रेनिङ एकेडेमी धरानका पूर्व विद्यार्थी सुरेन्द्र राई भारतको विशेष सुरक्षा अङ्ग ‘नेशनल सेक्युरिटी गार्ड’ (एनएसजी) मा चयन भएका छन् । नेपाली गोर्खाली कमै मात्र पुग्ने यो प्रतिष्ठित बलमा राई प्रवेश गर्न सफल भएका हुन् ।
राईले २०६८ सालमा एकेडेमीको तयारी कार्यक्रम पूरा गरी फागुनमा धरानस्थित फुस्रे भर्ती र्यालीमार्फत भारतीय सेनामा प्रवेश गरेका थिए । बेसिक तालिम सकेको केही वर्षमा नै उनले अमेरिका लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दौड प्रतियोगिताहरूमा भारतीय सेनाको प्रतिनिधित्व गरेका छन् ।
एनएसजीमा चयन भएपछि फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले भनेका छन्, “मेरो लागि कुनै पनि कुरा असम्भव छैन । यो उपलब्धिको पछाडि कडा मेहनत नै मुख्य कारण हो ।” राईले अनुशासन र मेहनत गर्न सिकाएको भन्दै पाथीभरा प्रि–आर्मी ट्रेनिङ एकेडेमीलाई धन्यवाद दिएका छन् ।
एनएसजी भारतको प्रमुख आतंकवाद विरोधी बल हो । ‘ब्याल्याक क्याट’ भनेर परिचित यो विशेष बल आतंकवाद विरोधी अभियान, बन्धक उद्धार तथा महत्त्वपूर्ण राष्ट्रिय सम्पत्तिको सुरक्षामा खटिन्छ । संघीय आकस्मिक बलका रूपमा असाधारण परिस्थितिमा मात्र यसको प्रयोग हुन्छ ।
इजरायली आक्रमणमा पाँच जना अलजजिरा पत्रकारको मृत्यु
काठमाडौं । गाजा सिटीको प्रमुख अस्पताल अल–शिफा नजिक इजरायली आक्रमणमा परेर पाँच अल–जजीरा पत्रकारको मृत्यु भएको छ । उक्त घटना बारे अल–जजीरा समाचार संस्थाले पुष्टि गरेको हो ।
मृत्यु हुनेमा संवाददाता अनस अल–शरीफ र मोहम्मद कुरैकेह, साथै क्यामराम्यान इब्राहिम जाहेर, मोहम्मद नौफल र मोअमेन अलिवा रहेका छन् । उनीहरू अस्पतालको मुख्य गेट नजिक पत्रकारहरूको लागि बनाइएको टेन्टमा रहेका बेला लक्षित आक्रमण भएको अल–जजीराले जनाएको छ ।
अल–जजीराले यस आक्रमणलाई ‘पत्रकारितामाथिको पूर्वनियोजित र स्पष्ट आक्रमण’ भन्दै कडा शब्दमा निन्दा गरेको छ ।
इजरायली रक्षा बलले आक्रमणपछिको टेलिग्राम पोस्टमा अनस अल–शरीफलाई हमासको एक आतङ्ककारी सेलको प्रमुख भएको आरोप लगाउँदै उनीमाथि लक्षित कारबाही गरिएको पुष्टि गरेको छ । अन्य पत्रकारहरूबारे भने कुनै टिप्पणी गरेको छैन ।
अल–जजीराको अनुसार, उक्त आक्रमणमा कूल सात जनाको मृत्यु भएको छ । सुरुमा संस्थाले चार पत्रकारको मृत्यु पुष्टि गरे पनि केही घण्टापछि मृतकको संख्या पाँच पुगेको जनाएको छ ।
गत महिना, अल–जजीरा, संयुक्त राष्ट्रसंघ, र पत्रकार सुरक्षा समितिले संयुक्त रूपमा अल–शरीफको सुरक्षाका लागि अपिल गरेका थिए ।
पत्रकार सुरक्षा समितिका अनुसार, अक्टोबर २०२३ मा इजरायली सैन्य कारबाही सुरु भएदेखि गाजा क्षेत्रमा हालसम्म कम्तीमा १८६ जना पत्रकारको मृत्यु भइसकेको छ ।
टर्कीमा ६.१ म्याग्निच्युडको भूकम्प जाँदा एक जनाको मृत्यु, २९ घाइते
काठमाडौं । टर्कीको उत्तरपश्चिमी प्रान्त बाल्केसिरमा आइतबार साँझ भूकम्प गएको छ । ६.१ म्याग्निच्युडको भूकम्पमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८१ वर्षीया महिला छिन् । भग्नावशेषबाट निकालिएको केही समयपछि उनको मृत्यु भएको हो ।
उक्त भूकम्पका कारण कम्तीमा १६ वटा भवन पूर्ण रूपमा ढलेका छन् भने २९ जना घाइते भएका छन् । टर्कीको विपद् व्यवस्थापन एजेन्सीका अनुसार स्थानीय समय अनुसार साँझ ७ः५३ बजे भूकम्पको धक्का महसुस गरिएको थियो, जुन राजधानी इस्तानबुलसम्म अनुभूत गरिएको हो ।
राष्ट्रपति रेचेप तैय्यप एर्दोआनले एक वक्तव्य जारी गर्दै भूकम्पबाट प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । उनले सबै उद्धार तथा राहत कार्यहरूमा सरकारले नजिकबाट निगरानी गरिरहेको उल्लेख गरेका छन् ।
गृहमन्त्री अली येरलिकायाका अनुसार हाल राहत तथा उद्धार कार्यहरू पूरा भइसकेका छन् र थप गम्भीर क्षति वा अन्य मानविय क्षतिको जानकारी नभएको पुष्टि गरिएको छ ।
सामाजिक सुरक्षा भत्ता नपाएपछि नगरपालिकामा तालाबन्दी
रौतहट । रौतहटको गुजरा नगरपालिकाको कार्यालयमा सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरूले तालाबन्दी गरेका छन् । लामो समयसम्म पनि सामाजिक सुरक्षा र बालपोषण भत्ता रकम नपाएको भन्दै उनीहरूले आइतवार नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।
गुजरा नगरपालिकाले एनआईसी एशिया बैंक सिमरा भवानीपुर शाखामार्फत सामाजिक सुरक्षा भत्ताको रकम वितरण गर्दै आएको छ ।
नगरपालिकाले गएको असार ११ गते बैकको खातामा सामाजिक सुरक्षा भताको रकम जम्मा गरेको थियो । सामाजिक सुरक्षा भत्ता समयमा नै दिने उपदेश्यले बैकमा जम्मा गरेपनि अहिलेसम्म नपाउनु दुखद भएको गुजरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदय नारायण देबकोटाले बताए ।
आफू यस कार्यालयमा हाजिर भएर आएपछि पहिलो प्राथमिकता सामाजिक सुरक्षा भत्ता वितरण लाई दिएको उनले उल्लेख गरे ।
एक वर्षदेखिको बालपोषण भताको रकम बैंकले वितरण नगरेको स्थानीयले बताएका छन । सामाजिक सुरक्षा भत्ता लिन जाँदा बैंकले कर्मचारीको अभाव देखाउने गरेको उनीहरूको गुनासो छ ।
ज्येष्ठ नागरिकको भत्ताको लागि नगरपालिकाले ५ करोड रकम जम्मा गरेको थियो भने बालपोषणको लागि ९४ लाख रुपैयाँ बैकमा छ । एनआईसी एशिया बैकका शाखाका म्यानेजर सदेउ प्रवेजले विविध कारणले सामाजिक सुरक्षा भत्ता वितरणमा ढिलाइ भएको बताए ।
तालिका प्रकाशन हुन ढिलाइ भएकाले भत्ताको रकम वितरणमा ढिला भएको उनको भनाइ छ । अब छिटै वितरण गरिने उनले जानकारी दिए ।
गुजरा नगरपालिकाको तथ्याङ्क अनुसार ३ हजार ३ सय ज्येष्ठ नागरिक र ५ हजार ४ सय बालपोषण भत्ता बुझ्ने सङ्ख्या रहेका छन ।