ट्रम्प र पुटिन बिचको वार्ता सम्पन्न, युक्रेनको सुरक्षा सुनिश्चित गर्नेमा पुटिन सहमत
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बिचको वार्ता शुक्रबार अमेरिकी राज्य अलास्काको एन्कोरेजमा सम्पन्न भएको छ । लगभग तीन घण्टा सम्म चलेको यो बैठक सन् २०२१ पछि दुई देशका राष्ट्रपतिहरू बीचको पहिलो आमनेसामने भेटघाट हो । एन्कोरेजस्थित संयुक्त बेस एल्मेन्डोर्फ–रिचर्डसनमा वार्ता सम्पन्न गरेपछि दुई राष्ट्रपतिले संयुक्त पत्रकार सम्मेलन गरेका छन् । पत्रकारहरुसँग कुराकानी गर्दै ट्रम्पले भने कि “धेरै वटा बुँदाहरूमा“ वार्तामा सहमती भएको छ ।
उनका अनुसार दुवै पक्षले केही प्रगति हासिल गरेका छन्, यद्यपि कुनै सम्झौता भने भएको छैन् । पुटिनले पनि युक्रेनको सुरक्षा सुनिश्चित गरिनुपर्छ भन्ने कुरामा आफु सहमत भएको भन्दै ट्रम्पसँग भएको सम्झौताले युक्रेनमा शान्तिको बाटो खोल्ने उनले बताए ।
मञ्चमा १० मिनेटभन्दा बढी समयसम्म छेउछाउमा उभिएर, दुवै नेताहरूले उनीहरूको आमनेसामने वार्ताको क्रममा प्रगति भएको संकेत गरे, तर कुनै ठोस सम्झौता भने भएन ।
पुटिनले भने कि वार्ता “पारस्परिक सम्मानको रचनात्मक वातावरण“ मा भएको थियो र राष्ट्र प्रमुखहरू बीचको व्यक्तिगत भेटघाट “लामो समयदेखि पर्खिरहेको“ थियो । “के भइरहेको छ भन्ने सबै कुरा हाम्रो लागि एउटा त्रासदी र भयानक चोट हो,“ र रूस यसको अन्त्य गर्न इमानदारीपूर्वक इच्छुक छ, पुटिनले भने ।
उनले द्वन्द्वको “प्राथमिक कारणहरू“ लाई सम्बोधन गर्न प्रयास गर्नुपर्नेमा जोड दिए र युक्रेन र युरोपेली देशहरूलाई “काममा हतार नगर्न“ चेतावनी पनि दिए ।
ट्रम्पले वार्तालाई “अत्यन्तै उत्पादक“ भनेर वर्णन गरे र “ठूलो प्रगति“ भएको बताएक छन् । ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र युरोपेली नेताहरूलाई चाँडै फोन गर्ने बताएका छन् ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियो र ट्रम्पका विशेष दूत स्टीव विटकोफ, साथै रूसी विदेशमन्त्री सर्गेई लाभ्रोभ र रूसी राष्ट्रपतिका सहयोगी युरी उशाकोभ छलफलका लागि शिखर सम्मेलनमा सामेल भए ।
आज कृष्ण जन्माष्टमी : हिन्दु धर्मावलम्वीहरुले धुमधामका साथ मनाउदैँ
काठमाडौं । आज श्रीकृष्ण जन्माष्टमी पर्व संसारभरका हिन्दु धर्मावलम्वी र कृष्णका भक्तहरुले भगवान् कृष्णको पूजा आराधना गरी मनाउदैँ छन् । हिन्दु धर्मावलम्वीहरुले आज भगवान कृष्णको जन्मदिवस धुमधामका साथ मनाउने गरेका छन् ।
कृष्ण आजैको दिन कंशको कैदमा रहेका पिता वासुदेव र माता देवकीको गर्भबाट जन्म भएको मान्यता रहिआएको छ । कृष्ण जन्माष्टमीलाई सातम आठम, गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती वा कहिलेकाही साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ ।
कृष्णका कथाहरु र घटनाहरु बृन्दावन, मथूरा र यमुना किनारमा मात्र नभई सम्पूर्ण भूलोकमैं चर्चित छन् । उनि सम्पूर्ण रुपमा आफ्नो व्यक्तित्वका कारण सबैलाई आकर्षण गर्नसक्ने दीव्य व्यक्तिका रुपमा अझै पनि चर्चित छन् ।
कृष्णलाई गोविन्द, कान्हा, कन्हैया, काले, मुरलीमनोहर, श्यामसुन्दर, माखनचोर आदि थुप्रै नामबाट पनि पुकारिन्छ ।
आजको मौसम : लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मध्यम वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ । जसका कारण नेपालमा मनसुनको अवस्था कमजोर रहेको छ ।
महाशाखाकाअनुसार हाल देशको पहाडी भूभागमा साधारणतया मौसम बदली रही सबै प्रदेशका केही स्थानमा हल्का तथा कोशी प्रदेश र लुम्बिनी प्रदेशको एकदुई स्थानमा मध्यम वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार, आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी र अन्य भूभागमा साधारणतया बदली रहने छ भने लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भूभागलगायत बाँकी प्रदेशको पनि पहाडी र तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
आज राति कोशी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रही अन्य भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको पहाडी र तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
तामाकोशी–सुनकोशी नदी किनारमा विशेष सतर्कता अपनाउन आह्वान
रामेछाप । अपर तामाकोशी हाइड्रोपावर लिमिटेड अन्तर्गतको माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रले भोली शनिबार तामाकोशी तथा सुनकोशी नदी किनारमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।
कम्पनीका अनुसार साउन ३१ गते शनिबार बिहान ५ बजेदेखि राति ८ बजेसम्म दोलखा जिल्लाको विगु गाउँपालिका–१ मा अवस्थित ४५६ मेगावाट क्षमताको सो जलविद्युत् केन्द्रको जलाशय सफा (रेजर्भोयर फ्लसिङ) गर्ने कार्यक्रम रहेको छ ।
यस अवधिभर तामाकोशी बाँधको तल्लो तटीय क्षेत्रमा पर्ने लामाबगर, छेतछेत, गोंगर, जगत, टुनिटार, जामुने, भोर्ले, सिंगटी, नयाँ पुल, किर्ने, खिम्ती हुँदै सुनकोशी नदीको दोभानसम्म पानीको सतह बढ्ने–घट्ने चक्र रहने भएकाले सतर्क रहन आग्रह गरिएको हो ।
सो अवधिमा तामाकोशी नदीमा माछा मार्ने, नुहाउने, पौडी खेल्ने, लुगा धुने, बस्तुभाउ लैजाने, गिटी–बालुवा निकाल्ने, गाडी तार्ने जस्ता कार्य नगर्न/नगराउन तथा नदी किनारमा परम्पराअनुसार मृतकहरूको दाहसंस्कार वा धार्मिक संस्कार गर्नुपरे अत्यन्त सावधानीका साथ मात्र गर्न अनुरोध गरिएको छ ।
यसै सन्दर्भमा, जिल्ला प्रशासन कार्यालय रामेछापले पनि सार्वजनिक सूचना जारी गर्दै नदी किनारमा माछा मार्ने, पौडी खेल्ने, लुगा धुने, गाडी तर्ने, बालुवा–गिट्टी निकाल्ने जस्ता गतिविधिहरू नगर्न आग्रह गरेको छ । साथै, धार्मिक संस्कार वा मृतकको दाहसंस्कार गर्नुपर्दा सावधानीपूर्वक मात्र गर्न अनुरोध गरिएको छ ।
प्रशासनले आकस्मिक जोखिम न्यूनीकरणका लागि स्थानीय बासिन्दा, माछा मार्ने समुदाय र धार्मिक कार्यमा संलग्न सबैलाई सचेत रहन आह्वान गरेको हो ।
जनताको श्रमबाट विकास गरेँ, सबै रिसाए ! : मेयर साम्पाङको गुनासो
धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत आफ्ना कामकारबाहीका कारण विभिन्न समूहहरू आफूमाथि रिसाएको भन्दै गुनासो गरेका छन्।
श्रमदान, पारदर्शिता र आत्मनिर्भरतामूलक विकास अभियान चलाउँदै आएका साम्पाङले आफू जनताको हितमा काम गर्दा उल्टै विभिन्न समूहहरूको आलोचनाको शिकार हुनुपरेको बताएका छन् ।
साम्पाङले भनेका छन्, “म सङ्ग को को रिसाए? श्रमदानबाटै विकास गरें (ठेकेदार रिसाए) । भ्रष्टाचार गर दिइनँ (भ्रष्टाचारीहरू रिसाए) । खानेपानी आपूर्ति गरें (पानी व्यवसायी ट्याङ्करवाला रिसाए) । मान्छेलाई रक्सी छोडाएँ (रक्सी दोकाने रिसाए) । मान्छेलाई मितव्ययी बन्न सिकाएँ (व्यापारी रिसाए) । मान्छेलाई स्वास्थ्य बनाएँ (डाक्टर र औषधि पसले रिसाए) । विदेशी ऋण लिनु हुन्न भनें (सबै रिसाए) ।”
साम्पाङले मेयर पद सम्हालेदेखि नै धरानलाई जनसहभागितामूलक तरिकाले विकास गर्ने अठोट लिएका छन् । उनले ठेकेदार प्रणालीलाई सशंकाको नजरले हेर्दै अधिकांश योजनामा श्रमदानमार्फत काम गरिरहेका छन् ।
समर्थकहरूले साम्पाङको पारदर्शिता र संघर्षशीलताको प्रशंसा गर्छन् भने आलोचकहरूले यस्ता अभिव्यक्तिलाई “लोकप्रियताका लागि गरिएको स्टन्ट” भन्ने गरेकाछन् ।
रवि लामिछानेलाई छुट्टै कोठामा आवश्यक सुविधासहित राखिएको रुपन्देही कारागारको स्पष्टीकरण
काठमाडौं। कारागार कार्यालय रुपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सुरक्षाअवस्थालाई मध्य नजर गरी प्रारम्भदेखि नै छुट्टै बन्दीगृह (अलगै एउटा कोठा) मा राखिएको जनाएको छ।
कारागार कार्यालयले बिहीबार प्रेस विज्ञप्ति जारी गरी विगत चार महिनादेखि सहकारी ठगी तथा संगठीत अपराध मुद्दामा थुनुवाको रुपमा रहेका रवि लामिछाने छुट्टै कोठामा राखिनुका साथै उक्त कोठामा छुट्टै शौचालयको समेत व्यवस्था रहेको जनाएको छ।
‘कोठाको झ्यालमा साविकमा रहेको प्लाइउड हटाई जाली राखि सकिएको छ। निजलाई प्रारम्भदेखि नै उपलब्ध गराइएको टेलिफोन तथा भेटघाट गर्ने सुविधा निरन्तर कायम छ,’ कारागार प्रशासक सुरेश भण्डारीद्धारा जारी विज्ञप्तिमा भनिएको छ।
कारागार प्रशासनले बिरामी बन्दीहरुको स्थानीय अस्पताल र आवश्यकता अनुसार चिकित्सकको सिफारिसमा स्थानान्तरण समेत गरी थप उपचार गर्ने प्रबन्ध मिलाउँदै आएको जनाएको छ।
‘सबै बन्दीहरु बिच मेलमिलाप कायम गरी शान्ति सुरक्षा र मानव अधिकारमैत्री वातावरण सृजना गर्न यस कारागार कार्यालय प्रतिबद्ध रहेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ ‘कारागार भित्रका समाचार प्रकाशन गर्दा यस कार्यालयसँग आधिकारिक सूचना लिइ सत्यतथ्य समाचारहरू प्रकाशन गरिदिनु हुन कारागार कार्यालय सम्बन्धित सबैमा अनुरोध गर्दछ।’
विगत केही दिनदेखि यता संचार माध्यमहरुमा रुपन्देही कारागारका विषयमा विभिन्न समाचारहरु प्रकाशित भएपछि विज्ञप्तिमार्फत कार्यालयले ध्यानकर्षण भएको समेत जनाएको छ।
कुल २५० जना बन्दी राख्ने क्षमता रहेको रुपन्देही कारागारमा हाल ६४० जना बन्दी रहेका छन्। क्षमता भन्दा तीन गुणा बढी बन्दी रहेको अवस्थामा पनि यस कार्यालयले कारागारमा उपलब्ध स्रोत साधनको अतिउत्तम परिचालन गरी कानुन बमोजिमका सेवा सुविधा समयमा नै उपलब्ध गराउँदै आएको जनाएको छ।
‘कारागारको भौतिक संरचना र क्षमता अनुसार बन्दीहरुलाई खाने, बस्ने, हिडडुल गर्ने, पढ्ने (विद्यालय शिक्षा÷पत्रपत्रिका), टेलिभिजन हेर्ने र आफन्तहरुलाई भेटघाट तथा टेलिफोन गर्ने सुविधा समान रूपमा उपलब्ध गराउँदै आएको छ,’ विज्ञप्तिमा उल्लेख छ।
कारागार ऐन २०७९ तथा कारागार नियमावली बमोजिम अशक्त, अपाङ्ग, जेष्ठ नागरिक तथा सुरक्षा जोखिम भएका व्यक्तिहरूलाई थप सुविधा समेत उपलब्ध गराउने गरिएको छ। थप सुविधा उपलब्ध गराउने सम्बन्धमा कानुन बमोजिमका सकारात्मक विभेद बाहेक बन्दीहरुको बिचमा अन्य विभेद गरिएको छैन।
कारागार प्रशासनको तर्फबाट समय समयमा कारागार भित्रको बस्तुस्थिति अवलोकन गर्ने, बन्दीहरुको गुनासो सुन्ने र स्रोतसाधनले भ्याए सम्म त्यसको सम्बोधन गर्ने कार्य गरिदै आएको रुपन्देही कारागार कार्यालयले जनाएको छ।
सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको हो ।
महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९६ हजार ७०० रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा २ हजार ३ सय २५ रुपैयाँमा कारोवार भएको चाँदी आज १५ रुपैयाँले बढेर २३ सय ४० रुपैयाँमा कारोवार भैइरहेको छ ।
आजको मौसम : देशको पश्चिम भू–भाग मनसुन बढी सक्रिय हुने
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा नेपालको तराई आसपास र पूर्वमा तराइभन्दा केही दक्षिणतिर रहेको छ ।
जसले गर्दा मनसुन नेपालको पुर्वी भू–भाग भन्दा पश्चिम नेपालतर्फ बढी सक्रिय रहने महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।
यस्तै, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई लगायत देशको पहाडी भू–भागका केही स्थानहरूमा र मधेश प्रदेश लगायत देशका बाँकी तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
आज राती भने गण्डकी प्रदेशको पहाडी तथा तराई लगायत बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागका केही स्थानहरूमा र मधेश प्रदेश लगायत बाँकी पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राजेन्द्र लिङ्देनले भेला स्थगित गरेलगत्तै ज्योति लामाको अध्यक्षतामा कार्यसमिति घोषणा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौँ जिल्ला समिति विभाजित भएको छ । आज चाबहिलमा आयोजित जिल्ला अधिवेशनमा दुई पक्षबिच हात हालाहाल भएपछि राप्रपा महामन्त्री डा. धवलशम्शेर राणा निकट समूहले समानान्तर समितिको घोषणा गरेका हुन् ।
सोही क्रममा पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले कुरामा चित्त नबुझेको कुरालाई छलफल गरेर टुङ्गो लगाउन सकिन्छ भन्दै गुन्डागर्दिबाट कुनै पनि कुराको समाधान नहुने बताएका थिए ।
विवाद सामान्य हुने अवस्था नरहेपछि भने उनले अधिवेशन स्थगनको घोषणा पनि गरेका थिए । उनले भने, ‘युवाहरु भनेको यो पार्टीको भविष्य हो, यो पार्टीको उत्तराधिकारी हो । तपाईहरु कसैको केटा होईन्, कसैको हतियार होईन । त्यसकारण कसैलाई केही कुरामा चित्त बुझेको छैन् भने बन्दसत्रमा कुरा हुन्छ र छलफल गरेर टुङ्गो लगाउन सकिन्छ तर गुन्डागर्दिबाट कुनै पनि कुराको टुङ्गो लगाउन सकिदैँन् र पाइदैँन् । त्यसकारण सबैजना शान्त भएर यो अधिवेशन प्रक्रियालाई अगाडि बढाउन आग्रह गर्न चहान्छु ।’
उनी कार्यक्रमस्थल छोडेर हिँडेपछि असन्तुष्ट पक्षले ज्योति लामाको अध्यक्षतामा नयाँ समिति निर्वाचित भएको घोषणा गरेको छ ।
"प्रधानमन्त्री ओलीको चेतावनी: तीन दिनभित्र मल आपूर्तिको ठोस योजना ल्याउन निर्देशन"
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनका कर्मचारीलाई बोलाएर तपाइँहरुको संस्थाले गर्दा नेता र मन्त्रीले गालि खानु परेको बताएका छन् ।
रासायनिक मल आपुर्तिको जिम्मा पाएका यी दुबै कम्पनीका कर्मचारी सहित कृषि मन्त्री रामनाथ अधिकारी र उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारी लाई मंगलबार बोलाएर प्रधानमन्त्रीले मलको आपूर्ति व्यवस्था चुस्तदुरुस्त गराउन नयाँ ढाँचासहितको ठोस योजना तीन दिनभित्र ल्याउन’ निर्देशन दिएका हुन् ।
सोहि क्रममा प्रधानमन्त्री ओलीले नागरिकको समस्यामा सरकार चुप लागेर बस्न नमिल्ने बताएका छन् । उनले भने,‘किसानले किन ’मल पाएनौं’ भनिरहेका छन ? यो गुनासो तत्काल सम्बोधन होस । ‘तपाईँहरूको संस्थाले मल आपूर्ति गर्न सकेको छैन । तर, गाली तपाइँहरूको संस्थाले खाएको छैन । तपाइँहरूको संस्था चुप लागेर बसेको छ । गाली त नेताहरू, पार्टी र मन्त्रीले खाएका छन् । मलाई धेरै कुरा भन्दा पनि मल चाहियो क्या यहाँ,’ओलीले भने ।
सोहि विषयमा ओलीले बुधबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘जवाफदेही निकाय जवाफदेही हुन नसक्दा नै काम गर्नेले गाली पाउँछ र विरोध मात्रै गर्नेको वाहवाही हुन्छ । हरेक सरकारी निकायहरू आफ्नो परिभाषित काममा आफैं जवाफदेही हुनुपर्छ ।’ उनले आफु प्रधानमन्त्री हुने वित्तिकै मलको आपूर्तिमा कमी नहोस् भनेर स्पष्ट निर्देशन दिएको तर त्यो अनुसार हुन नसकेको पनि बताएका छन् ।