कावाखोला पुलको निर्माण पुनः थालियो
भोजपुर, निर्माणको अन्तिम चरणमा भाँचिएको कावाखोलाको पक्की पुलको पुनर्निर्माण थालिएको छ । हतुवागढी गाउँपालिका–२ रानीबाँस र रामप्रसादराई गाउँपालिका–५ मानेभन्ज्याङ जोड्ने कावाखोला पुलको पुनर्निर्माण गत महिना थालिएको थियो । हालसम्म निर्माणको काम ६० प्रतिशत सम्पन्न भएको इटहरी स्थित स्थानीय सडक पुल कार्यान्वयन एकाइले जनाएको छ ।
यो पुलको ९० प्रतिशत काम सम्पन्न भएपछि २०७८ मङ्सिरमा भाँचिएको थियो । भाँचिएपछि पुलको स्वरूप परिवर्तन गरेर पुनर्निर्माण थालिएको प्रादेशिक स्थानीय सडक पुल सहयोग एकाइ कोशी प्रदेशका प्रमुख सूर्यनारायण चौधरीले जानकारी दिए । ‘स्टिल ट्रस ओपन फाउन्डेसन’मा बन्ने यो पुल एक स्पानको हुने उनको भनाइ छ ।
पुल ४५ मिटर लम्बाइ, छ मिटर चौडाइ र १ दशमलव २० मिटरको दुवैतिर पैदल हिँड्न मिल्नेगरी निर्माण हुने जनाइएको छ । पुल निर्माणको काम आगामी वैशाख महिना भित्र सम्पन्न गर्ने लक्ष्य रहेको उनको भनाइ छ । हालसम्म ६० प्रतिशत काम सम्पन्न भएको छ । पुल निर्माणको काम आगामी वैशाख महिनाभित्रमा सम्पन्न हुने वताईएको छ ।
मूल्य अभिवृद्धि कर (भ्याट) सहित रु चार करोड ६२ लाख ७४ हजार नौ सय १० को लागतमा पुल बन्न लागेको हो । गुणस्तरीय ढङ्गले यथाशक्य चाँडो निर्माण सम्पन्न गराउन हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई लगायत स्थानीय जनप्रतिनिधिको टोलीले निरन्तर अनुगमन गरिरहेको छ । स्वीस सरकारको सहयोगमा निर्माण हुने उक्त पुलको २०७६ साल फागुन १२ गते शिलान्यास भएको थियो ।
डी पी खनालको शब्द र विक्रम राईको सँगीतमा 'यी आँखालाई ' रिलिज
काठमाडौँ । चर्चित गायिका अनु चौधरी र गायक हसन राईको युगल स्वरमा रहेको गीत 'यी आँखालाई ' सार्वजनिक भएको छ । लोकप्रिय गीतकार डी पी खनालको शब्दरचना र विक्रम राईको सँगीत रहेको गीतमा पुरुषोत्तम सुवेदीको एरेन्ज रहेको छ । मुस्ताङ जिल्लाको हिमाली काखको मनमोहक ठाउँमा खिचिएको भिडियोमा प्रभातपाल ठकुरी र सोफी धरेलको अभिनय रहेको छ । केशबराज भट्टको कोरियोग्राफी र निर्देशनमा बनेको भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी र दिन्सन शाहकोको सम्पादन रहेको छ । भिडियोलाई म्युजिक जक्सन नेपाल (Music Junction Nepal) को यु ट्युब च्यानलबाट रिलिज गरिएको हो । लामो समय देखि नेपाली साङ्गीतिक क्षेत्रमा लागेका गायक हसन राईको यस अघि पनि धेरै गीतहरू सार्वजनिक भैसकेका छन् ।
प्रतिबन्धित लागुऔषध सहित पक्राउ
मोरङ, झापा र पाँचथर जिल्लाबाट प्रतिबन्धित लागुऔषध र निषेधित औषधी सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो मोरङको विराटनगर-१६ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा सुनसरी धरान-१६ का २३ वर्षीय युवराज श्रेष्ठको साथबाट १ ग्राम २३ मिलिग्राम ब्राउनसुगर र झापा मेचीनगर नगरपालिका-१२ का ३३ वर्षीय सुबास राईको साथबाट ५३ मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ । सोही दिन झापाको मेचिनगर-१० का १८ वर्षीय सिहिल मगरलाई निषेधित औषधी ४१२ ट्याब्लेट सहित ईलाका प्रहरी कार्यालय धुलावारीले र कमल गाउँपालिका-६ का २७ वर्षीय मदन तिम्सिना र ३८ वर्षीय बुद्धलाल साहुलाई निषेधित औषधी १३५ ट्याब्लेट सहित इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको छ । यसै गरी विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरी टोलीले फिदिम-४ का २५ वर्षीय डेविट लिम्बु सहित २ जनालाई ३ ग्राम ३३० मिलिग्राम ब्राउनसुगर र नगद ४१ हजार २६० रुपैयाँ सहित नियन्त्रणमा लिएको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरूको थप अनुसन्धान भईरहेको छ ।
प्रविधिको प्रयोग गरी ट्राफिक व्यवस्थापन मिलाउन प्रदेश प्रहरी प्रमुखको निर्देशन
कोशी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक चन्द्र कुवेर खापुङले आज नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीको निरीक्षण भ्रमणको क्रममा प्रविधिको प्रयोग गरी ट्राफिक व्यवस्थापन मिलाउन कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनु भएको छ ।
ट्राफिक कार्यालयको निरीक्षण भ्रमणको क्रममा वहाँले सम्पूर्ण शाखाहरू र ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनमा प्रयोग गर्ने सामग्री र उपकरणहरू ममेतको निरीक्षण गर्नु भएको थियो ।
निरीक्षण पश्चात् प्रहरी कर्मचारीहरूलाई निर्देशन दिने क्रममा वहाँले आम नागरिकहरूमा सडक सु-शासनको महसुस हुने गरी पहिलो प्राथमिकताका साथ ट्राफिक व्यवस्थापन मिलाउन तथा चेकिङको क्रममा कसैलाई दुःख हैरानी नदिन र गैह्र व्यावसायिक कार्य नगर्न निर्देशन दिनु भएको छ । वहाँले सम्पूर्ण प्रहरी कर्मचारीहरू आपसमा भाइचाराको भावनाका साथ काम गर्नु पर्ने बताउदै प्रहरीले सदैव आफ्नो पदीय दायित्व अनुसारको जिम्मेवारी तथा कर्तव्य निर्वाह गरी आत्मीय भावनाका साथ आम सेवाग्राहीहरूमा समान व्यवहार गर्नु पर्ने बताउनु भयो ।
साथै वहाँले सवारी दुर्घटना न्यूनीकरण गर्न आवश्यक चेक प्वाइन्ट राख्न तथा सवारी चालक, पैदल यात्रीहरूलाई नियमित रूपमा ट्राफिक प्रशिक्षण दिन र प्रभावकारी रूपमा प्रविधिको प्रयोग गरी ट्राफिक व्यवस्थापन मिलाउन समेत निर्देशन दिनु भयो । निर्देशनको क्रममा मोरङ र सुनसरी जिल्लामा ट्राफिक व्यवस्थापनमा खटिने ट्राफिक प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
पाचौ मि. कोशि उपाधिका लागि आज २२ प्रतिस्पर्धी भिड्ने
एलाइनेट जिमको आयोजनामा यहि चैत्र २४ गते शनिवार हुनलागेको पाचौ मि. कोशि शारिरिक शुगठन प्रतियोगिताको प्रि–जज राउण्ड सम्पन्न भएको छ ।
धरान १३ अमरहाट स्थित कर्भडहलमा शुक्रवार संपन्न प्रि–जज राउण्ड वाट ५५ केजि तौल समुह वाट ५ जना, ६० केजि वाट ६ जना, ६५ केजि वाट ५ जना, ७० केजि र ७५ केजि वाट ३-३ जना फाइनल चरणका लागि छनौट भएका छन । उनिहरुले शनिवार हुने फाइनल चरणमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । फाइनल चरणमा सवै तौल समुह वाट २२ जना प्रतिस्पर्धि खेलाडिहरुले प्रतिश्पर्धा गर्नेछ ।
प्रतियोगिताका विजेताले नगद एक लाख १५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र र ५० हजार रुपैया वरावरको मल्टिसेट व्रेन्चप्रेस प्राप्त गर्नेछ । मल्टिसेट व्रेन्चप्रेस फिटनेस चोइस इटहरीले सौजन्य गरेका हुन ।
यसै गरि क्रमश दोस्रोले नगद ५० हजार, तेस्रोले नगद ४० हजार, चौथोले नगद ३० र पाचौले नगद २० हजार रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रतियोगिताका व्यक्तिगत विद्या तर्फका वेस्ट पोजर, मोस्ट इम्प्रुभमेन्ट, मस्कुलर म्यान र वेस्ट टिम उपाधि विजेताले जनहि नगद ५ हजार ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने आयोजक एलाइनेट जिमका विक्रम लिम्वुले जानकारी दिए ।
प्रतियोगितामा धरान, तरहरा, पथरी, केरावारी, इनरुवा र विराटनगरका खेलाडिहरुको सहभागिता रहेको छ । प्रि–जज राउण्डमा मुख्य जजको रुपमा शिव मुखिया र सहयोगि जजहरुमा हरि धिमाल, इश्वरलाल उदास, नवनित प्रधान, कविरभगत प्रधानाङ्ग, केशव श्रेष्ठ र सिता राई श्रेष्ठ रहेको थियो । प्रतियोगिता धरान १३ अमरहाट स्थित कभर्डहलमा हुनेछ । गत साल संपन्न चौथो मि. कोशिको उपाधि एनि टाइम फिटनेस धरानका सन्दिप गिरिले चुमेका थिए ।
भारत सरकारको सहयोग द्वारा खोटाङमा विद्यालय भवन निर्माण
२३ चैत्र धरान I ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको अनुदान सहयोगमा रु. तीन करोड ६१ लाखको लागतमा खोटाङको रावाबेसी गाउँपालिका स्थित शारदा माध्यमिक विद्यालयको विद्यालय एवं छात्रावास भवन निर्माण भएको छ । बिहीबार रावा बेसीमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, रावाबेसी गाउँपालिकाका अध्यक्ष फटिककुमार श्रेष्ठ र काठमाडौं स्थित भारतीय राजदूतावासका प्रथम सचिव सुमन शेखरले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।

सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा पाँच सय ५० वटा भन्दा बढी सामुदायिक विकास परियोजना सञ्चालन भएकामा चार सय ८८ वटा परियोजना सम्पन्न भइसकेका दूतावासले जनाएको छ । भारत सरकारको अनुदान सहयोगमा हाल कोशी प्रदेशका विभिन्न क्षेत्रमा ८५ वटा परियोजना सञ्चालन भइहेका छन् । उक्त कार्यक्रममा जनप्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षक,शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति थियो ।
सदस्यता शुद्धीकरण सकेर मात्रै महासंघको अधिवेशन गर्न प्रेस युनियनद्वारा माग
विराटनगर, नेपाल प्रेस युनियन कोशी प्रदेश समितिले सदस्यता शुद्धीकरणको अभियान टुंगामा पु¥याएर मात्रै अधिवेशन गर्न नेपाल पत्रकार महासंघ कोशी प्रदेशको ध्यानाकर्षण गराएको छ । सदस्यता शुद्धीकरण टुङ्गो नलगाई महासंघको अधिवेशन मिति घोषणा गरेकोप्रति युनियनले आपत्ति समेत जनाएको छ । युनियनका प्रदेश अध्यक्ष मीनकुमार नवोदितको नेतृत्वमा महासंघको प्रदेश कार्यालय पुगेर कार्यवाहक अध्यक्ष लवदेव ढुंगानालाई ध्यानाकर्षण पत्र समेत बुझाएको छ । “नेपाल पत्रकार महासंघले सुरु गरेको सदस्यता शुद्धीकरण अभियानमा नेपाल प्रेस युनियनको प्रारम्भ देखि नै पूर्ण साथ र सहयोग रहेको सर्वविदितै छ । पत्रकार महासंघलाई विशुद्ध पत्रकारहरुको साझा संस्था बनाउन नेपाल प्रेस युनियनको भूमिकाबारे पत्रकार महासंघ पनि अनभिज्ञ छैन । तर, पछिल्लो विकसित घटनाक्रम अनुसार नेपाल पत्रकार महासंघले शुद्धीकरण अभियानलाई थाँती राखेर जिल्ला, प्रदेश र केन्द्रीय अधिवेशन घोषणा गरेकोप्रति नेपाल प्रेस युनियन कोशी प्रदेश समितिको गम्भीर ध्यानाकर्षण भएको छ,” युनियनले बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
केन्द्रको घोषणालाई आत्मसाथ गर्दै सदस्यता शुद्धीकरणको विषय नटुङ्ग्याई महासंघको कोशी प्रदेश समितिले आगामी वैशाख १२ गतेका लागि अधिवेशन आह्वान गरेकोमा युनियनले आपत्ति जनाएको छ । महासंघको निर्णयले शुद्धीकरण अभियान नै ओझेलमा पार्ने काम भएको युनियनले ठहर गरेको छ । वैशाख १२ गतेका लागि घोषणा गरिएको प्रदेश अधिवेशन तत्काल स्थगित गरेर शुद्धीकरणको अभियानलाई सहज बनाउन युनियन जोडदारले मागसमेत गरेको छ । “पत्रकार महासंघको सदस्यता टुङ्गो नलगाई अधिवेशन र साधारणसभा सहितका कुनै पनि प्रक्रिया अगाडि नबढाउन नेपाल प्रेस युनियन कोशी प्रदेश समिति आग्रह गर्दै ध्यानाकर्षण गराउँदछ,” ध्यानाकर्षण पत्रमा भनिएको छ, “प्रेस युनियनले अघि सारेका मागलाई बेवास्ता गर्दै अधिवेशन-साधारणसभा सहित प्रक्रिया अगाडि बढाएमा त्यसबाट उत्पन्न हुने परिस्थितिको जवाफदेही स्वयम् पत्रकार महासंघ प्रदेश समिति हुनेसमेत यसै ध्यानाकर्षण पत्र मार्फत जानकारी गराउँछौँ ।” प्रदेशका १४ वटै जिल्ला शाखाले समेत महासंघको सम्बन्धित जिल्ला शाखालाई ध्यानाकर्षण बुझाएको प्रदेश अध्यक्ष नवोदितले जानकारी दिए ।
तीन प्रदेशमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना
काठमाडौं । पश्चिमी र स्थानीय वायुको प्रभाव रहँदा आज बिहान देशभर आंशिक बदलीदेखि साधारणतया बदली रहेको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा साथै बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा र बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा साथै बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । विभागले उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताएको छ ।
बैशाख १५ मा उपनिर्वाचन हुने जिल्लाहरुको अन्तिम मतदाता नामावली प्रकाशित
२२ चैत्र । निर्वाचन आयोगले बैशाख १५ मा हुने उपनिर्वाचनमा मतदान गर्ने मतदाताको अन्तिम नामावली सार्वजनिक गरेको छ ।
आयोगले इलाम -२ मा एक लाख १५ हजार ८८९ मतदाता कायम भएको जानकारी दिएको छ । आयोगले २०७९ मङ्सिर ४ मा भएको आमनिर्वाचनमा भन्दा अहिले ४२२ मतदाता थपिएको जनाएको छ ।
त्यस्तै बझाङको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा ६३८ मतदाता थप भई ६१ हजार ७४८ कायम भएको आयोगले जानकारी दिएको छ ।
निर्वाचन आयोगले अद्यावधिक गरेको देशभरको पछिल्लो मतदाता सङ्ख्या एक करोड ८० लाख ८८ हजार ९८३ पुगेको छ । जसमा महिला मतदाता ८८ लाख ८६ हजार २२६ छन् भने पुरुष मतदाता ९२ लाख २ हजार ५६९ र अन्य मतदाता १८८ जना रहेका छन् । आयोगका अनुसार सबैभन्दा बढी मतदाता मोरङ जिल्लामा रहेका छन् । जसमा महिला मतदाता ३ लाख ६२ हजार ९७३ तथा पुरुष मतदाता ३ लाख ७६ हजार ४११ र अन्य मतदाता ६ गरी जम्मा ७ लाख ३९ हजार ३९० रहेका छन् ।
त्यस्तै सबैभन्दा कम मतदाता मनाङ जिल्लामा रहेका छन् । जसमा महिला ३ हजार ५३० र पुरुष ३ हजार ३१९ गरी जम्मा ६ हजार ८४९ मतदाता रहेका छन् ।आयोगले यस अघि २०८० बैशाख १० गते अद्यावधिक गरेदेखि अहिलेसम्म कुल ८७ हजार ४१७ मतदाता थप भएको जनाएको छ ।
गन्धर्व वस्तिमा मुख्यमन्त्रीको बास, समस्या समाधानमा पलायो आस !
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री सोमवार आफ्ना नियमित कार्यक्रम सकाएर लोपोन्मुख जाति ‘गन्धर्व’ बसोबास गर्ने झापाको कचनकवल गाउँपालिका २ तर्फ लागे । समस्या नै समस्याले पिल्सिएका गन्धर्व समुदायले झमक्क साँझ परेको बेला आफ्नो वस्तीमा सुरक्षाकर्मीका साथ मुख्यमन्त्रीलाई देखेर अचम्मित हुँदै हतार हतार स्वागत, सम्मानमा जुटे । तर, मुख्यमन्त्री कार्की स्वागत, सम्मानको वास्ता नगरी गन्धर्व वस्ती घुम्न अघि बढे ।
उनी गन्धर्व वस्तीको आगन आगनमा घुम्दै राती ८ बजे शिव गन्धर्वको आगनमा ओछ्याएको म्याटमा पलेटी बाँधेर बसे । त्यतिकैमा गन्धर्व वस्तीका महिला, पुरुष, वृद्ध, वृद्धालगायत बालबालिकाको भिड लाग्यो र उनीहरू खादा लगाएर मुख्यमन्त्रीलाई सम्मान गर्न थाले । मुख्यमन्त्री कार्कीले धेरै सम्मान गर्नु हुँदैन, आज यही खाना खाएर बस्ने बोल्नु भयो । त्यसपछि शिव गन्धर्व र उनकी पत्नीले आगनको ट्युबेलमा थाल पखालेर खाना पस्केर खान भान्छाकोठामा जान आग्रह गरेपछि मुख्यमन्त्री कार्कीलगायत उनीसँग रहेका सबै जना गएर खाना खाए ।
खाना पछी मुख्यमन्त्री कार्कीले गन्धर्व परिवारका सदस्यहरु सँग कुराकानी गर्न थाले । उनीहरूले आफ्ना कथा र व्यथा सविस्तार सुनाए । ‘मुख्यमन्त्रीज्यूले हाम्रा समस्या हामीसँगै बसेर हामीले पकाएको खाएर सुनेर भलाकुसारी गर्नुभयो,’ स्थानीय नरमाया गन्धर्वले भनिन, ‘हामीले यहाँ चुनाव जितेपछि नेता देख्न पाउँदैन थियौँ, अहिले त हामीसँगसँगै खाना खाने मुख्यमन्त्रीलाई घरमै भेट्टाएका छौँ ।’ सरकार घरमै आएर आफूहरूका गुनासो सुनिदिएर सहजै समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेको देख्दा पत्याउनै गााह्रो भएको उनले सुनाइन् ।
स्थानीयले आफूहरूलाई समाजमा गाइनेको संज्ञा दिइएर हेपिईने गरेको गुनासो गरे । सो जातीको बस्तीको छेवैमा रहेको आदर्श आधारभूत विद्यालयमा रहेको विद्यालयलाई गन्धर्व जातीको पहिचान हुने गरिको शिक्षा लागु गराई गिर्दै गरेको शैक्षिक साखलाई फर्काउन, समुदायमा साक्षरता दर वृद्धि गर्नका लागि आवश्यक पहल गरिदिन मुख्यमन्त्री समक्ष स्थानीयको माग रहेको छ ।
स्थानीय शिव गन्धर्व भन्छन्, लोप हुन लागेको सारङ्गी बाजाको संरक्षण हामीले गर्नु पर्दछ । मुख्यमन्त्रीज्यूले यसलाई चासोका साथ लिएर वस्तुस्थिति बुझ्न समुदायमै आएकाले हामी बढी आसावादी छौँ ।’ उनीहरूले लोपोन्मुख जातीको रूपमा गन्दर्भ जातीलाई सूचीकृत गर्न माग गरे । ‘संविधानअनुसार यो जातीलाई लोपोन्मुख जातीको रूपमा सूचीकृत गरिएमा हाम्रा अधिकारहरू प्राप्त हुन सहज हुन्छ । पूर्वाञ्चल गन्धर्व संस्कृति उत्थान समाजका अध्यक्ष रविन गन्धर्वले भने, मुख्यमन्त्रीज्यूको पहिलो हाम्रो समुदायका लागि मुख्यमन्त्रीज्यूको पहिलो निर्णय यही हुने छ ।’
मुख्यमन्त्री कार्कीले सरकार खोज्दै जानुपर्ने बाध्यात्मक अवस्थाको अन्त्यका लागि आफू यहाँका स्थानीय सँग समस्याको समाधानका लागि संवाद गर्न आफूहरू यहाँ आएको उल्लेख गरे । सरकार पहुँच नहुनेको समेत घरघरमा गएर समस्याको समाधान गर्ने सरकार भएकाले समाजको वर्गलाई समान हैसियतमा ल्याउन मानवीय विकासमा जोड दिएर काम गरिरहेको उनले बताए ।
‘हामी आफैँले आफूलाई स्वीकार गर्न सक्नु पर्दछ उनले भने, आफूले आफूलाई स्वीकार गर्न सकेनौँ भने हामी तलको तलै हुन्छौँ । सरकारले त मानवीय विकासका योजनामार्फत सुरुवात गरिसकेको छ, तपाईँहरू पनि लाग्नु पर्यो, श्रमको सम्मान गर्नुप ्यो ।’ सो ठाउँमा ४९ घरधुरी रहेको गन्धर्व समुदायको जनसङ्ख्या दुई सय ११ रहेको छ । मुख्यमन्त्री कार्कीले समुदायको उत्थानका लागि प्रवर्द्धन को योजना सरकारले ल्याउने बताए ।
सोमवार राती समुदायमा पुगेका मुख्यमन्त्री कार्कीले सामाजिक विभेद अन्त्य र सामाजिक अवस्था, आवश्यकता र अपरिहार्यताको अध्ययनका लागि स्थानीय शिव गन्धर्वको घरमा सोमवार रातीको खाना र बास बसेर सन्देश प्रवाह गरेका छन् । ‘उनले भने, अब मलाई अछुत पनि कसैले भन्छ त, म त तपाईँहरूको मा बसेँ खाना खाएँ, यो विभेद अन्त्यका लागि तपाई हामी नै लाग्नु पर्यो ।’
सो क्रममा उनले स्थानीय महिला स्वास्थ्य स्वयंसेविकासँग अन्तरसंवाद गदै हुलाकी सडक अन्तर्गत अधुरो अवस्थामा रहेको माई खोलाको पुलको अवलोकन गर्दै मङ्गलवार विराटनगर फर्किएका छन् । पुलको निर्माण कार्यको गति बढाउन सरकारले ताकेता गर्ने उनले बताएका छन् ।