सदस्यता शुद्धीकरण सकेर मात्रै महासंघको अधिवेशन गर्न प्रेस युनियनद्वारा माग
विराटनगर, नेपाल प्रेस युनियन कोशी प्रदेश समितिले सदस्यता शुद्धीकरणको अभियान टुंगामा पु¥याएर मात्रै अधिवेशन गर्न नेपाल पत्रकार महासंघ कोशी प्रदेशको ध्यानाकर्षण गराएको छ । सदस्यता शुद्धीकरण टुङ्गो नलगाई महासंघको अधिवेशन मिति घोषणा गरेकोप्रति युनियनले आपत्ति समेत जनाएको छ । युनियनका प्रदेश अध्यक्ष मीनकुमार नवोदितको नेतृत्वमा महासंघको प्रदेश कार्यालय पुगेर कार्यवाहक अध्यक्ष लवदेव ढुंगानालाई ध्यानाकर्षण पत्र समेत बुझाएको छ । “नेपाल पत्रकार महासंघले सुरु गरेको सदस्यता शुद्धीकरण अभियानमा नेपाल प्रेस युनियनको प्रारम्भ देखि नै पूर्ण साथ र सहयोग रहेको सर्वविदितै छ । पत्रकार महासंघलाई विशुद्ध पत्रकारहरुको साझा संस्था बनाउन नेपाल प्रेस युनियनको भूमिकाबारे पत्रकार महासंघ पनि अनभिज्ञ छैन । तर, पछिल्लो विकसित घटनाक्रम अनुसार नेपाल पत्रकार महासंघले शुद्धीकरण अभियानलाई थाँती राखेर जिल्ला, प्रदेश र केन्द्रीय अधिवेशन घोषणा गरेकोप्रति नेपाल प्रेस युनियन कोशी प्रदेश समितिको गम्भीर ध्यानाकर्षण भएको छ,” युनियनले बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
केन्द्रको घोषणालाई आत्मसाथ गर्दै सदस्यता शुद्धीकरणको विषय नटुङ्ग्याई महासंघको कोशी प्रदेश समितिले आगामी वैशाख १२ गतेका लागि अधिवेशन आह्वान गरेकोमा युनियनले आपत्ति जनाएको छ । महासंघको निर्णयले शुद्धीकरण अभियान नै ओझेलमा पार्ने काम भएको युनियनले ठहर गरेको छ । वैशाख १२ गतेका लागि घोषणा गरिएको प्रदेश अधिवेशन तत्काल स्थगित गरेर शुद्धीकरणको अभियानलाई सहज बनाउन युनियन जोडदारले मागसमेत गरेको छ । “पत्रकार महासंघको सदस्यता टुङ्गो नलगाई अधिवेशन र साधारणसभा सहितका कुनै पनि प्रक्रिया अगाडि नबढाउन नेपाल प्रेस युनियन कोशी प्रदेश समिति आग्रह गर्दै ध्यानाकर्षण गराउँदछ,” ध्यानाकर्षण पत्रमा भनिएको छ, “प्रेस युनियनले अघि सारेका मागलाई बेवास्ता गर्दै अधिवेशन-साधारणसभा सहित प्रक्रिया अगाडि बढाएमा त्यसबाट उत्पन्न हुने परिस्थितिको जवाफदेही स्वयम् पत्रकार महासंघ प्रदेश समिति हुनेसमेत यसै ध्यानाकर्षण पत्र मार्फत जानकारी गराउँछौँ ।” प्रदेशका १४ वटै जिल्ला शाखाले समेत महासंघको सम्बन्धित जिल्ला शाखालाई ध्यानाकर्षण बुझाएको प्रदेश अध्यक्ष नवोदितले जानकारी दिए ।
सम्बन्धित खबर