धार्मिक पर्यटकीयस्थल बन्दै अर्जुनधारा जलेश्वरधाम
भद्रपुर (झापा) ११, वैशाख : पूर्वको प्रसिद्ध धार्मिकस्थलको रुपमा परिचित अर्जुनधारा नगरपालिका–७ झापा स्थित श्री अर्जुनधारा जलेश्वरधाम धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको छ ।
सरकारले उत्कृष्ट सयवटा पर्यटकीय गन्तव्यको सूचीमा अर्जुनधारा जलेश्वरधामलाई समावेश गरेपछि यसको धार्मिक तथा पर्यटकीय महत्व झनै चुलिएको छ । जलेश्वरधामका मूल गुरु अग्निप्रसाद सिग्देलका अनुसार यस धाममा दैनिक दुईदेखि तीन हजार भक्तजन आउने गरेका छन् ।
महाभारतकालीन इतिहास बोकेको जलेश्वरधामको आधुनिक संरचना विसं २०२३ बाट बनाउन सुरु गरिएको हो । पाँच बिघा क्षेत्रफलमा फैलिएको यहाँ बृहतत्तर विकास भइरहेको छ । जलेश्वरधाम क्षेत्र भित्र एक सय आठ शिवलिङ्ग तथा पार्वती मन्दिर, शनि मन्दिर, यज्ञशाला, मोक्षेश्वर शिव लिङ्ग, अर्जुनवाण मूल पोखरी, पाँचधारा, धान्यचल, कालीनाग मन्दिर, हनुमान स्तम्भ, सन्त निवास भवन, श्री हनुमान लक्ष्मीनारायण तथा नटराज गणपति मन्दिर र गौशला रहेका छन् ।
महाभारतकालमा पाण्डवलाई १२ वर्ष वनवासका साथ एक वर्ष अज्ञातवास भएको समयमा राजा विराटका हजारौँ गाईलाई कौरवले हरण गरेर भारतको गुवाहटी पुयाएको र त्यो बेलामा अर्जुनले आफ्नो वाणको सहायताले अर्जुनधारा धाममा पानी निकालेर गाईलाई खुवाएको किंवदन्ती छ । विसं २०३९ देखि प्रत्येक वर्ष वार्षिक अनुष्ठान गर्दै आएको अर्जुनधारा जलेश्वर धामले हाल सम्म ४२ औँ वार्षिक अनुष्ठान सम्पन्न गरिसकेको मूल गुरु अग्नि प्रसाद सिग्देलले जानकारी दिनुभयो ।
धामभित्रै अर्जुनधारा संस्कृत विद्यापीठ समेत सञ्चालनमा छ । विद्यापीठमा ८० जनाले अध्ययन गरिरहेका छन । कक्षा छ सम्मको पढाई हुने विद्यापीठमा आवासीय सुविधा सहित निःशुल्क पठनपाठन गराइने श्री अर्जुनधारा जलेश्वर धाम व्यवस्थापनले जनाएको छ । त्यस्तै धाम भित्रै रहेको गौशालामा २० वटा गाई पालन गरिएको छ । मुल गुरु सिग्देलले भन्नुभयो, “हाम्रो धाममा आउने ६० जना सम्म भक्तजनहरुलाई खानबस्न सहितको सुविधा समेत रहेको छ ।” जलेश्वरधामको अधिकांश खर्च दान दातव्यबाट प्राप्त भएको रकमबाटै चल्ने गरेको छ । केही रकम संघीय सरकार स्थानीय सरकारले सहयोग गरेको उहाँले बताउनुभयो । जलेश्वर धाममा नेपाल भित्रका मात्र नभई भारतबाट समेत भक्तजन आउने गरेका छन् । अर्जुनधारा जलेश्वरधामको उचित प्रचार हुन नसकेको स्थानीयको गुनासो छ ।
कतारमा पानी निर्यातको अवसर
काठमाडौँ, ११ वैशाख I नेपालले पानी निर्यात गरी आर्थिक समृद्धि हासिल गर्नसक्ने सम्भावना खोजिरहेका बेलामा कतार पनि पानी निर्यातको राम्रो गन्तव्य हुनसक्नेमा सरोकारवालाहरुले बताउनुभएको छ । नेपालको खानेपानीले अन्तर्राष्ट्रिय बजारमा व्यापारिक सम्भावना खोजिरहेको बेलामा कतार पनि मुख्य गन्तव्य हुनसक्ने उहाँहरुको भनाइ छ ।
पछिल्लो समय जलवायु परिवर्तनको असरका कारण विश्वमा पानीको स्रोत सुक्दै गइरहेको भन्दै यसबारे विश्वव्यापी छलफल सुरु भइसकेको छ । कतार लगायतका खाडीमुलुक पनि पानीको सङ्कट ग्रस्त क्षेत्र मानिन्छ । कतारमा पानी निर्यातक्रम बढिरहेको अध्ययनले देखाएको छ । विभिन्न देशमा स्वच्छ खानेपानीको अभाव बढ्दो रहेको अवस्थामा हिमालको पानीको माग उच्च हुनसक्ने उहाँहरुको आकलन छ ।
एक प्रतिवेदन अनुसार कतारमा हाल वार्षिक चार करोड डलरभन्दा बढी बोतलको पानीको व्यवसाय छ । यो प्रत्येक वर्ष बढ्दो छ । यस्तो अवस्थामा नेपालले हिमालको पानी कतारमा पु¥याएर आम्दानी गर्न सक्ने सरोकारवालाको भनाइ छ । नेपालबाट पनि बोतल बन्द पानी कतारमा निर्यात गर्न सके त्यसबाट राम्रो आम्दानी गर्न सक्ने सम्भावना छ ।
लगानी सम्मेलनको पूर्वसन्ध्यामा राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल भ्रमणमा आउनुभएको छ । कतारी अमिरको भ्रमणले नेपालको स्वदेशी वस्तुहरुको निर्यात प्रवद्र्धनका लागि पहल गर्ने सुनौलो अवसरका रुपमा लिन सकिने उहाँहरुको बुझाइ छ ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको चैत सम्म विश्वका दुई वटा मुलुकमा नेपालको पानी निर्यात भएको छ । तथ्याङ्क अनुसार यस अवधिमा रु १५ लाख २१ हजार मूल्य बराबरको पानी भारत निर्यात भएको छ भने रु २० लाख ९० हजार बराबरको पानी जापान निर्यात भएको छ ।
भन्सार विभागका अनुसार आव २०७८/७९ मा नेपालले १८ हजार चार सय तीन लिटर पानी कतार निर्यात गरेको थियो । जसबाट नेपालले रु २५ लाख ४४ हजार आम्दानी गरेको थियो । तर त्यस पछिका वर्षमा कतारमा पानी निर्यात हुन सकेको छैन । अब त्यसलाई निरन्तरता दिन सके कतार पानी निर्यातको राम्रो गन्तव्य बन्न सक्ने देखिएको छ ।
केन्द्रका अनुसार अघिल्लो वर्ष जर्मनी, जापान, भारत, अष्टेलियामा खानेपानी निर्यात भएको थियो । केन्द्रका शाखा अधिकृत कृष्णराज बज्राचार्यले पानी व्यापार पनि मुलुकको आर्थिक समृद्धिको महत्वपूर्ण आधार भएको भन्दै पानी निर्यात प्रवर्द्धनलाई जोड दिनुपर्ने बताउनुभएको छ ।
खानेपानी मन्त्रालयका सहसचिव माधव अधिकारीले कतारमा खानेपानी निर्यातको राम्रो सम्भावना रहेको बताउनुभयो । “हाम्रो हिमाली क्षेत्रको स्वच्छ खानेपानीको विज्ञापन गर्नसकेमा कतार पनि पानी निर्यातको राम्रो सम्भावना भएको मुलुक बन्न सक्छ”, उहाँले भन्नुभयो, “अहिलेसम्म केही निजी क्षेत्रहरुले पिउने पानी निर्यात गर्न थालेका छन् । अव यसलाई अझै व्यापाक प्रचार प्रसार गर्दै कतारलगायतका खाडी मुलुकमा पनि व्यापारको गन्तव्य खोजिनुपर्छ ।”
लगानी सम्मेलन र कतारी राजाको भ्रमणका अवसरमा नेपालको पानीको निर्यात प्रवर्द्धनका लागि पहल गरिर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ । उहाँका अनुसार पानी निर्यातसम्बन्धी ऐन नभएको भन्दै ऐन बनाउन पहल पनि थालिनुपर्नेमा जोड दिनुभएको छ । “अहिले उद्योग विभागले निर्यातका लागि केही काम गरिरहेको छ । अब अन्तरसरकारी निकायबीच समन्वय बढाएर पानी निर्यातको नीतिगत व्यवस्था गर्न जरुरी छ”, अधिकारीले भन्नुभयो, “स्वदेशी पानी विश्वबजारमा बेच्नसकेमा स्वदेशी वस्तुको निर्यात प्रवर्द्धन हुने र मुलुकको आर्थिक समृद्धि सम्भव छ ।”
बीना मगर खानेपानी मन्त्री भएको समयमा नेपालको पानी विदेश निर्यात गर्ने विषयमा छलफल सुरु गर्नु भएको थियो । खानेपानी मन्त्रालयले यसैको निरन्तरता दिँदै छलफल चलाइरहेको छ ।
कतार वातावरण तथा ऊर्जा अनुसन्धान संस्थानले गरेको एक सर्वेक्षणअनुसार कतारको ३० प्रतिशत जनसङ्ख्याले मात्र दैनिक धाराको पानी पिउँछन् । अधिकांशको रोजाइ बोतलको पानीमा छ । खानेपानीको बढ्दो मागबीच ती क्षेत्रमा बोतलको पानीको उद्यम वार्षिक आठ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ । बढ्दो जनसङ्ख्या, उच्च खपत उपभोग्य आय, सहज बजार पहुँच, स्वास्थ्यमा बढ्दो जनचेतनालगायतका कारण त्यहाँका जनता धाराको पानीको साटो ‘मिनिरल वाटर’को खपत बढेको अध्ययनले देखाएको छ ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का पूर्वअध्यक्ष भवन भट्टले पनि लगानी सम्मेलनको पूर्वसन्धामा कतारी राजा नेपाल भ्रमणमा आएको मौकामा खानेपानी निर्यातका लागि पहल गरेमा मुलुकको अर्थतन्त्र सुधार हुने बताउनुभएको छ । “कतारको समृद्धिका लागि हाम्रा नेपाली कामदारहरुले गर्नुभएको योगदान महत्वपूर्ण छ”, उहाँले भन्नुभयो, “अब कतारले पनि हाम्रो मुलुकको समृद्धिका लागि खानेपानी लगायत स्वदेशी वस्तु आयात गरिदिन कतारलाई आग्रह गर्नुपर्छ ।”
नेपालको पैठारी व्यापारमा प्रमुख मुलुकमा भारत, चीन, युएई, युक्रेन, मलेसिया, संयुक्तराज्य अमेरिका, फ्रान्स, अष्टेलिया, इण्डोनेसिया, अर्जेन्टिना, थाल्याण्ड, संयुक्त अधिराज्य, साउदी अरेयिबा र ओमान प्रमुखरुपमा रहेको उद्योग मन्त्रालयको भनाइ छ । चालु आर्थिक वर्ष २०८०/८१ प्रथम आठ महिनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा व्यापारघाटामा दुई दशमलव पाँच प्रतिशतले ह्रास आई कूल व्यापारघाटा रु नौ खर्ब २९ अर्ब ६१ करोडमा सीमित भएको मन्त्रालयको तथ्याङ्क छ ।
कतारमा पानी निर्यातको गन्तव्य बनाउनसकेमा मुलुकको व्यापार घाटा कम गर्न सकिने विज्ञहरुको भनाइ छ । नेपाल खानेपानी सरसफाइ तथा स्वच्छता नीति २०८० अनुसार पनि खानेपानी निर्यात मुलुकको अवसर रहेको छ । “विदेशमा समेत खानेपानी निर्यात गर्न यस क्षेत्रका अवसरका रूपमा रहेको छ”, नीतिमा उल्लेख छ ।
समुदायस्तरमा आयोजना पहिचान, तर्जुमा र कार्यान्वयनबाट उत्तरदायित्व वृद्धि हुने, जीवनशैलीमा आएको सुधारसँगै गुणस्तरयुक्त खानेपानी र सरसफाइ सेवाको बढ्दो माग, नदीनाला, तालतलैया तथा जलाशयलगायत अन्य वातावरणीय स्वच्छताका विषयमा जनचेतनामा आएको नकारात्मक अभिवृद्धि, सामुदायिक, गैरसरकारी तथा विकास साझेदारको सहयोग र सहभागिता, पर्यटकीय क्रियाकलापको अभिवृद्धि तथा पर्यटकलाई आकर्षण गर्न सकिने नीतिमा उल्लेख छ
नीतिनिर्माणको आवश्यकता पहिचान संविधान प्रदत्त स्वच्छ खानेपानी सेवामा पहुँच तथा स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हकको परिपूर्ति, संरक्षण, सम्वद्र्धन गरी दिगोरूपमा उपभोग गर्नका लागि दिशानिर्देश गर्न, विद्यमान ग्रामीण खानेपानी तथा सरसफाइ नीति र सहरी खानेपानी तथा सरसफाइ नीतिलाई एकीकृत गरी संधीय संरचना अनुकूल बृहत्तर राष्ट्रिय नीति निर्माण गर्न, यस क्षेत्रमा रहेका वर्तमान समस्या तथा चुनौतीलाई सम्बोधन गर्न र भविष्यमा उत्पन्न हुनसक्ने समस्याहरूलाई न्यूनीकरण गनै आवश्यक रहेको पनि नीतिमा उल्लेख छ ।
कतारका अमिर शीतल निवासमा, राष्ट्रपति पौडेलसँग भेटवार्ता सुरु
काठमाडौँ, ११ वैशाख I राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम बिन हमाद अल थानी बीच राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता सुरु भएको छ । अपराह्न कतारका अमिर राष्ट्रपति निवास शीतल निवास पुग्दा राष्ट्रपति पौडेलले उहाँलाई स्वागत गर्नुभएको थियो । शीतल निवासको गण्डकी हलमा सुरु भएको भेटवार्तामा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, सवारी व्यवस्थापनको जिम्मेवारीमा रहनुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्तेत लगायत विशिष्ट पदाधिकारीहरु संलग्न हुनुहुन्छ ।
उहाँहरु बीच द्विपक्षीय हित र चासोसहित कूटनीतिक सम्बन्धका विषयमा छलफल हुने बताइएको छ ।कतारका अमिर अल थानी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै शीतल निवास पुग्नुभएको थियो । यसअघि, विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत विशिष्ट पदाधिकारीहरुले अमिर अल थानीलाई स्वागत गर्नुभएको थियो ।
अमिर थानीको सम्मानमा राष्ट्रपति पौडेलले आजै रात्रिभोजको आयोजना गर्नुहुने कार्यक्रम छ । कतारका अमिर अल थानी र प्रधानमन्त्री दाहालबीच भोलि बुधबार द्विपक्षीय वार्ता हुने कार्यक्रम छ । राष्ट्रपति पौडेलको निमन्त्रणामा कतारका अमिर अल थानी आजै नेपालको दुई दिने राजकीय भ्रमणमा काठमाडौँ आउनुभएको हो ।
कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ
काठमाडौँ, ११ वैशाख I कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका लागि सङ्घीय राजधानी काठमाडौँ सिँगारिएको छ । कतारका अति विशिष्ठ पाहुनाको स्वागतका लागि काठमाडौँको मुख्य सडक, चोकमा स्वागतद्वार, तुल ब्यानरसहित चिटिक्क पारिएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि तीनकुने, नयाँ बानेश्वर, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, कालीमाटी, जमल, लैनचौर, त्रिपुरेश्वरलगायत क्षेत्रमा स्वागतद्वार सहित सडक सफाइ लगायतका व्यवस्थापन गरिएको छ ।
काठमाडौँ महानगरपालिकाले काठमाडौँका विभिन्न स्वागतद्वारा निर्माण, सडक सरसफाइ लगायतका काम गरेको हो । महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले कतारका अमिरको स्वागतका लागि महानगरपालिकाले सडक सौन्दर्य, सरसफाइ, हरियाली कायम राख्नेदेखि शान्तिसुरक्षामा समेत व्यवस्थापकीय काम गरेको बताउनुभयो ।
“काठमाडौँ महानगरपालिकाले कतारका राजाको नेपाल भ्रमणका सन्दर्भमा हामीले गर्दै आएको काम थप प्रभावकारी बनाएका छौँ, सरसफाइ, स्वागतद्वार, साजसज्जाका साथ नगरप्रहरीहरु परिचालनमा विशेष ध्यान दिएका छौँ”, उहाँले भन्नुभयो ।
काठमाडौँका विभिन्न सडक चोकमा नेपाल र कतारको झण्डा फहराइएको छ । स्वागतद्वारामा नेपालका राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिरको तस्बिर अङ्कित ब्यानर राखिएको छ । उक्त ब्यानरमा जीवित देवी कुमारीले नमस्कार गरेको तस्बिर पनि आकर्षकरुपमा सजाइएको छ । उपत्यकाका संस्कृति परम्परा झल्कने विभिन्न तस्बिर अङ्कित ब्यानरले सर्वसाधारणको ध्यान आकर्षित गरेको छ ।
‘कतारका मौसुफलाई हार्दिक स्वागत छ, कतारका अमिर र विशिष्ठ पाहुनालाई हार्दिक स्वागत छ’ जस्ता ब्यानरले काठमाडौँको सडक सजिएका छन् । विशिष्ठ पाहुना आवतजावत गर्ने सडकमा विशेष सुरक्षा सतर्कता अपनाइएको छ । प्रत्येक स्वागतद्वारमा सुरक्षाकर्मीले पहरा दिइरहेका छन् ।
विमानस्थलदेखि राष्ट्रपति कार्यालय शीतलनिवास, राजा बस्ने पाँचतारे सोल्टी होटल, कार्यक्रम हुने स्थल द्वारिकाज होटलसम्मको सडक चिटिक्क पारिएको छ । काठमाडौँ महानगरपालिका, गैरआवासीय नेपाली सङ्घ र नेपालस्थित कतार राजदूतावासले कतारका अमिरको भव्य स्वागतका लागि स्वागतद्वार निर्माण गरेका छन् ।
सरकारले कतारका अमिरबाट हुने नेपालको राजकीय भ्रमणका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले कतारका अमिरले यही वैशाख ११ देखि गर्नुहुने नेपालको राजकीय भ्रमणका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज अपराह्न नेपालको दुईदिने राजकीय भ्रमणमा आउँदै हुनुहुन्छ ।
दाङका किसानको आकर्षण चैते धानप्रति
घोराही (दाङ), ११ वैशाख I बङ्गलाचुली गाउँपालिका–४ गहतेरा निवासी डोरबहादुर घर्तीले यस वर्ष पनि चैते धान रोप्नुभएको छ । चैते धानले उहाँको जीविकोपार्जनमा सहयोग भएको छ । हरेक वर्ष आम्दानी बढेपछि चैते धानखेतीलाई निरन्तरता दिएको उहाँ बताउनुहुन्छ ।
बर्सेनि चैते धान रोप्दै आउनुभएका घर्तीले हिजो रोपाइँ सक्नुभएको हो । उहाँले भन्नुभयो, “सिँचाइको सुविधा छ, उत्पादन पनि मनग्ये हुने भएकाले पहिले देखि नै चैते धानखेती गर्दै आएका छौँ ।” चैते र बर्खे धान गरेर वर्षमा दुई बाली धान र एक बाली गहुँखेती गर्दै आउनुभएका घर्तीले बर्खे धानको तुलनामा चैते धान अधिक फल्ने बताउनुभयो । उहाँले यस वर्ष ११ रोपनी क्षेत्रफलमा धान रोप्नुभएको छ ।
बङ्गलाचुलीका अर्का किसान मुगा डाँगी पनि अहिले चैते धान रोप्न व्यस्त हुनुहुन्छ । चार रोपनी जग्गामा रोपाइँ जारी छ । थोरै जमिनबाट धेरै उत्पादन लिन पनि आफूले प्रत्येक वर्ष धानखेती गर्दै आएको उहाँले बताउनुभयो । स्थानीय सरकारबाट सहयोग नभएको गुनासो गर्दै उहाँले त्यसो भएमा उत्पादन बढाउन सहज हुने बताउनुभयो ।
चैते धानबाट प्रशस्त आम्दानी हुने भएपछि आफू लगायत गाउँका अधिकांश किसानले चैते धान लगाउँदै आएको उहाँ बताउनुहुन्छ । वर्षमा दुई बाली धानखेती गर्ने स्थानीयवासीले बर्खे भन्दा चैते धानबाट धेरै आम्दानी गर्ने गहतेरा निवासी चूर्ण डाँगी बताउनुहुन्छ । चैते धान प्रवर्द्धन गर्न स्थानीय वा प्रदेश सरकारले अनुदानको व्यवस्था गर्नुपर्नेमा उहाँको जोड छ ।
कृषि ज्ञान केन्द्रका अनुसार घोराही उपमहानगरपालिका– १, बङ्गलाचुली गाउँपालिका–३ र ४ सँगै देउखुरीका केही स्थानमा चैते धानखेती हुने गरेको छ । जिल्लामा करिब दुई हजार पाँच सय हेक्टरमा चैते धानखेती हुने गरेको छ ।
शुक्लाफाँटामा बाघ बढे
दोधारा चाँदनी (कञ्चनपुर), ११ वैशाख I महेन्द्रनगर स्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या बढेको छ । दश वर्षअघि १३ वटा बाघ रहेकामा अहिले बढेरर ४४ पुगेको छ । निकुञ्जका अनुसार सन् २०१८ मा १६, २०२१ मा १९ वटा बाघ थिए भने २०२२ मा त्यो बढेर ३६ पुगेको थियो । निकुञ्जमा क्यामेरा ट्रयापिङ विधिबाट गरिएको गणनाअनुसार २४ वटा भाले र १७ वटा पोथी तथा विश्लेषणका आधारमा थप तीन गरेर बाघको सङ्ख्या ४४ पुगेको हो । गत मङ्सिर देखि ९१ वटा क्यामेरा ट्रयापिङबाट गरिएको अनुगमनमा बाघको सङ्ख्या बढेर ४४ पुगेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिनुभयो ।
“यहाँ बाघका लागि खाना र बासस्थानको राम्रो वातावरण भएकाले थोरै क्षेत्रफलमा पनि धेरै बाघ छन्”, प्रमुख संरक्षण अधिकृत भट्टराईले भन्नुभयो, “यहाँ चोरीसिकारी पनि छैन त्यसकारण बाघको सङ्ख्या बढ्दै गएको छ ।” शुक्लाफाँटा भित्र रहेका ठूलो घाँसेमैदान, चौधर नदी, रानीताल र सिकारी तालजस्ता तालतलैया र प्रशस्त आहाराका लागि प्रजाति बढेसँगै बाघको सङ्ख्या पनि बढेको उहाँले बताउनुभयो ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटनको प्रमुख केन्द्र बन्न सक्ने भए पनि पर्याप्त प्रचार–प्रसार नहुँदा यसबाट लाभ लिन नसकिएको यहाँका पर्यटन व्यवसायी जगदीश भट्ट बताउनुहुन्छ । “शुक्लाफाँटा पाटेबाघका लागि प्रख्यात छ तर यहाँ बाह्य पर्यटक आएका छैनन्”, उहाँले भन्नुभयो ।
कञ्चनपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले शुक्लाफाँटा पर्यटकका लागि उपयुक्त गन्तव्य भएकाले यसको प्रचारप्रसार गर्नसके यहाँको आर्थिक विकास टेवा पुग्ने बताउनुभयो ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पाटेबाघ, बाह्रसिङ्गे र गैँडालगायतका दुर्लभ वन्यजन्तुका लागि प्रसिद्ध भए पनि प्रचारप्रसारको अभावमा पर्यटक आगमनमा वृद्धि नभएको यहाँका पर्यटन व्यवसायी बताउँछन् ।
ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु, चार जना घाइते
बरहथवा (सर्लाही), ११ वैशाख I सर्लाहीको बरहथवा नगरपालिकास्थित पिप्राभित्तामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकै परिवारका चार जना घाइते भएका छन् । सोमबार मध्यरात हरिपुर्वाबाट पिप्राभित्ता जाँदै गरेको ट्रयाक्टर बरहथवा नगरपालिका–१५ स्थित नहरको बाटोमा दुर्घटना भएको हो । दुर्घटनामा १७ वर्षका राजकुमार सिंहको मृत्यु भएको हो । दुर्घटनामा परेका अन्य चार जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिनुभयो ।
यसै बीच, चितवनमा मोटरसाइकलले साइकलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । सोमबार साँझ भरतपुर महानगरपालिका–३ बेलचोकमा बाह्रघरेबाट बेलचोकतर्फ आउँदै गरेको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको साइकलयात्रीलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट घाइते साइकलयात्री भरतपुर महानगरपालिका–११ गणेशस्थानका ६० वर्षीय कुमार गुरुङको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिनुभयो । मोटरसाइकल चालक मकवानपुर मनहरी गाउँपालिका–३ का ३३ वर्षीय सुदर्शन अधिकारी र मोटरसाइकल पछाडि सवार भरतपुर–९ वसन्तचोकका ४९ वर्षीय सन्तोष बुर्लाकोटी घाइते हुनुभएको छ । घाइते दुवैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
मौसम विशेष बुलेटिन जारी : तराईमा अत्याधिक गर्मी हुने, तातो लहरबाट बच्न अनुरोध
काठमाडौँ, १० वैशाख I जल तथा मौसम विज्ञान विभागले विगत केही दिन देखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेकाले गर्मी बढी हुने जनाएको छ । विभागले लुम्बिनी प्रदेश तथा मधेस प्रदेशको तराई भूभागका थोरै स्थानमा बिगत दुई दिनदेखि तथा सुदूरपश्चिम प्रदेशको तराईका भूभागको थोरै स्थानमा बिगत एक दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको भन्दै तापक्रम बढ्ने हुँदा सचेत हुन आज विशेष बुलेटिन सार्वजनिक गर्दै अनुरोध गरेको छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको उक्त बुलेटिनमा आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषणअनुसार तराईका भू–भागमा अत्यधिक गर्मीको सम्भावना रहने भएकाले आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउनहुन अनुरोध गरिएको छ ।
“ती भूभागमा आगामी ५ दिन (२०८१ वैशाख १० गते देखि २०८१ वैशाख १४ गते) सम्म तातो हावा तथा तातो लहरको सम्भावना रहको हुनाले सो को असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ । साथै पहाडी भूभागका उपत्यका तथा खोचमा तापक्रम क्रमिक रुपमा बढ्न सक्ने सम्भावना रहेकोले यस महाशाखाबाट जारी हुने सूचना तथा पूर्वानुमानमा अध्यावधिक रहनुहुन अनुरोध छ”, बुलेटिनमा उल्लेख छ ।
महाशाखाले तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असर जस्तैः थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकाले सोबाट बच्न पनि अनुरोध गरेको छ ।
तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक–पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन अनुरोध गरिएको छ ।
माथिल्लो अरुण र दूधकोशीको सुरुङ खन्न पनि टिबिएम प्रयोग गर्ने तयारी
काठमाडौं,१० वैशाख I नेपाल विद्युत प्राधिकरणले एक हजार ६३ मेगावाट क्षमताको माथिल्लो अरुण र छ सय ३५ मेगावाटको दूधकोशी जलविद्युत् आयोजनाको सुरुङ खन्न टनेल बोरिङ मेसिङ (टिबिएम) प्रयोग गर्ने तयारी सुरु गरेको छ ।
टिबिएम मार्फत भेरी बबई र सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्य आयोजनाका सुरुङ खन्दा सफल र प्रभावकारी देखिएपछि उक्त प्रविधिलाई माथिल्लो अरुण र दूधकोशी जलविद्युत् आयोजनामा पनि प्रयोगमा ल्याउन लागिएको हो ।
अर्धजलाशययुक्त माथिल्लो अरुण जलविद्युत् आयोजनाको मुख्य सुरुङको लम्बाइ आठ दशमलव चार किलोमिटर छ । दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको सुरुङको लम्बाइ १३ किलोमिटर छ । निर्माणको अधिकांश समय खर्च हुने जलविद्युत् आयोजनाहरुको सुरुङ हाल ड्रिलिङ गरी विस्फोटक पदार्थको प्रयोग गरी विस्फोट गराएर निर्माण हुँदै आएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, अपर अरुण हाइड्रो–इलेक्ट्रिक लिका प्रबन्ध–सञ्चालक फणिन्द्रराज जोशी, दूधकाशी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत विमल गुरुङ सम्मिलित टोलीले सुनकोशी मरिण आयोजनाको स्थलगत अवलोकन गरी टिबिएममार्फत खनिएको सुरुङको जानकारी लिएको छ ।
टोलीले टिबिएमको प्राविधिक पक्ष, यसको प्रयोग गर्दा बेहोर्नु परेका समस्या तथा चुनौतीहरु, भौगर्भिक जटिलता, लागत तथा समय, कामको गुणस्तर, प्रभावकारिता लगायतका विषयमा आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग छलफल गरी जानकारी लिएको थियो ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सिँचाइका दुईवटा आयोजनाहरुको सुरुङ टिबिएम मार्फत खन्दा समय थौरै लागेको र काम पनि गुणस्तरीय देखिएकाले उक्त प्रविधिलाई ठूला सुरुङ भएका दुई जलविद्युत् आयोजनाहरु प्रयोगमा ल्याउन लागिएको बताउनुभयो ।
घिसिङले माथिल्लो अरुण र दूधकोशी जलविद्युत् आयोजनाहरुको वित्तीय व्यवस्थापन अन्तिम चरणमा पुगेको र अब निर्माणका लागि बोलपत्र आह्वान गर्न लागिएकाले भेरी बबई र सुनकोशी मरिणमा टिबिएमबाट सुरुङ खन्दा देखिएका समस्या र अनुभवलाई सम्बोधन गर्ने गरी बोलपत्रको कागजात तयार गरिने बताउनुभयो ।
“सुनकोशी मरिण डाइभर्सन र दूधकोशीको मुख्य सुरुङको लम्बाइ बराबर भएकाले टिबिएमबाटै खन्ने गरी प्रक्रिया अगाडि बढाइसकेका छौँ, माथिल्लो अरुणमा टिबिएम पुर्याउन प्रवेश सडक समस्या देखिएको छ, मेसिन पुर्याउन सम्भाव्य देखिएका उक्त आयोजनामा पनि टिबिएम नै प्रयोगमा ल्याइने छ”, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो ।
एकपल्टको लगानीका हिसाबले केही महङ्गो देखिए पनि टिबिएम मार्फत सुरुङ खन्दा अन्य प्रवेश सुरुङ निर्माण गर्नु नपर्ने, न्यून वातावरणीय तथा सामाजिक मुद्धा, निर्माणमा लाग्ने कम समय लगायतलाई हिसाब गर्दा टिबिएमको प्रयोग सस्तो र प्रभावकारी नै हुने देखिएको छ ।
टिबिएमको प्रयोगमार्फ सुरुङ निर्माण छिट्टो सकिने तर अन्य संरचनाहरु नसकिने अवस्था आउन नदिन सुरुमै आयोजनाको समग्र व्यवस्थापन गरिनु पर्ने उहाँले उल्लेख गर्नुभयो ।
मुख्य सुरुङको लम्बाइ १३ किलोमिटर र उक्त सुरुङ खन्न निर्माण गर्नुपर्ने दुईवटा प्रवेश (एडिट) सुरुङको लम्बाइ पाँच किलोमिटर गरी दूधकोशी आयोजनाले कुल १८ किलोमिटर सुरुङ निर्माण गर्नुपर्ने छ । टिबिएमबाट खन्दा ‘एडिट’ सुरुङहरू बनाउनु पर्दैन । एडिट सुरुङ पुग्न बनाउनुपर्ने करिब ७ किलोमिटर प्रवेशमार्ग आवश्यक हुँदैन ।
माथिल्लो अरुण विश्व बैंक र दूधकोशी एशियाली विकास बैंकको नेतृत्वमा लगानी जुटाएर निर्माण अगाडि बढाउन लागिएको छ । सन् २०१९ को मूल्यमा निर्माण अवधिको ब्याज, मूल्यवृद्धि लगायत सहित एक अर्ब ७५ करोड डलर (करिब रु दुई खर्ब १४ अर्ब) अनुमानित लागत रहेको माथिल्लो अरुणमा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी (इक्विटी)बाट जुटाइने छ । विश्व बैंकको नेतृत्वको सहवित्तीयकरणमा अन्तर्राष्ट्रिय वित्तीय संस्थाबाट र स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट जुटाएर वित्तीय व्यवस्थापन गरिने योजना बनाइएको छ ।
दूधकोशी आयोजनाको अनुमानित लागत निर्माण अवधिको ब्याज सहित दुई अर्ब २० करोड अमेरिकी डलर (करिब रु दुई खर्ब २५ अर्ब ) रहेको छ । यसमध्ये ऋणबाट एक अर्ब ६८ करोड डलर ऋणबाट र बाँकी इक्विटीबाट जुटाएर वित्तीय व्यवस्थापन गर्ने गरी तयारी भइरहेको छ ।
एडिबीको नेतृत्वमा विभिन्न अन्तर्राष्टिय वित्तीय संस्थाबाट आयोजनामा एक अर्ब डलर सहुलितपूर्ण ऋण लगानी हुने छ । यसमध्ये एडिबीले आयोजनामा ५५ करोड डलरको सहुलियतपूर्ण ऋण लगानीको प्रतिबद्धता जनाएको छ ।
पच्पन्न वर्ष अघि निर्माण गरिएको गुर्गी सिँचाइ आयोजना अलपत्र
गोदावरी (कैलाली), १० वैशाख I कैलालीको कैलारी गाउँपालिका–२ कुकुरभुक्कामा ५५ वर्षअघि निर्माण गरिएको गुर्गी सिँचाइ आयोजना अलपत्र परेको छ । आर्थिक वर्ष २०६२-६३ मा बनाइएको पक्की बाँध २०६४ सालमा आएको बाढीले भत्काएपछि सो आयोजना हालसम्म अलपत्र परेको हो ।
सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय सो सिँचाइ आयोजना निर्माणका लागि हरेक आर्थिक वर्षमा बजेट विनियोजन गर्दै आए पनि पानीको स्रोत सुनिश्चितता नभएका कारण बजेट फ्रिज हुँदै आएको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय धनगढीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले आयोजनाका लागि आव २०७५/७६ मा रु २० लाख र प्रशासनिक खर्चका लागि कैलारी गाउँपालिकाको कार्यालयले रु एक लाख ५० हजार बजेट विनियोजन गरेको थियो । गत आव २०७९/८० मा योजना निर्माणको प्रक्रिया अघि बढाउन प्रदेश सरकारले रु छ करोड बजेट विनियोजन गरे पनि खर्च हुन नसकेर फ्रिज भएको जनाइएको छ ।
प्रदेश सरकारले गुर्गी सिँचाइ आयोजनालाई बहुवर्षीय योजनाअन्तर्गत प्राथमिकतामा राखेर चालु आवमा रु १२ करोड बजेट विनियोजन गरेको छ । आयोजना अघि बढाउन बजेट विनियोजन गरिए पनि पानीको स्रोत सुनिश्चितता नभएकाले सो आयोजना निर्माणका लागि पुनः डिपिआर तयार गर्नुपर्ने जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका डिभिजन प्रमुख अमरबहादुर पालले बताउनुभयो ।
उहाँले सो आयोजनाको डिपिआरका लागि बजेटको माग गरिएको बताउँदै बजेटको सुनिश्चितता भएपछि डिपिआरको काम अघि बढ्ने जानकारी दिनुभयो । झण्डै दुई दशक अघि भत्केको बाँध अहिलेसम्म बन्न नसकेपछि किसान नहरको पानी उपभोग गर्नबाट बञ्चित हुँदै आएको गुर्गी सिँचाइ आयोजना सङ्घर्ष समितिका संयोजक कमलप्रसाद चौधरीले बताउनुभयो ।
जिल्लाको पुरानो सिँचाइ आयोजना मध्ये गुर्गी सिँचाइ आयोजनाको बाँध २०२६ सालमा तत्कालीन जमिनदार रामदिन महतो, छिमानन्द र देशराज महतोले आफ्ना रैतीमार्फत बनाएको जनाइएको छ । आव २०६२/६३ मा पक्की बाँध बनाइए पनि २०६४ सालमा आएको बाढीले आयोजनाको बाँध भत्काएपछि सो आयोजना अहिलेसम्म अघि बढ्न नसकेको चौधरीको गुनासो छ ।
आयोजना बन्द भएर नहर समेत अतिक्रमण भएपछि कैलारीका वडा नं १, २, ५ र ७ वडाका किसानले सिँचाइ अभाव समस्या झेल्दै आएको सङ्घर्ष समितिका संयोजक चौधरीले बताउनुभयो । मुख्य पेसा खेतीकिसानी रहेको सो क्षेत्रका किसानले आकाशे पानी र बोरिङको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता रहेको छ ।
जिल्लाकै नमूना रहेको सो योजनाबाट कैलारीका झण्डै छ हजार बढी किसान लाभान्वित हुँदै आएकामा बाढीले योजनाको बाँध भत्काएछि आकाशे पानीको भर पर्नुपरेको किसानको गुनासो छ । उक्त सिँचाइ योजनाबाट एक हजार चार सयभन्दा बढी हेक्टर जमिनमा सिँचाइ उपलब्ध हुँदै आएको जनाइएको छ ।
