प्रहरी महानिरीक्षक कुँवर फ्रान्स प्रस्थान
काठमाडौँ, १० वैशाख I नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर फ्रान्स प्रस्थान गर्नुभएको छ । फ्रान्सको लियोनमा यही वैशाख ११ देखि १३ गते सम्म सञ्चालन हुने १९औँ ‘हेड अफ एनसिबी कन्फरेन्स’ मा भाग लिन उहाँ गए राति त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
हेड अफ एनसिबीमा अन्तर्राष्ट्रिय स्तरमा हुने अपराधको नियन्त्रण सम्बन्धमा ‘इन्टरपोल’मा आबद्ध एक सय ९६ देशको सहभागिता रहनेछ । सहभागिताका क्रममा अन्तर्राष्ट्रियस्तरमा घटेका समसामयिक घटना, अपराध अनुसन्धानको विषय, प्रहरी कर्मचारीको क्षमता अभिवृद्धि लगायत विषयमा छलफल हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ । सम्मेलनका क्रममा नेपालले भारत, चीन, जापान, मलेसिया लगायतका प्रतिनिधिसँग द्विपक्षीय छलफल गर्ने कार्यक्रम समेत रहेको छ ।
प्रहरी महानिरीक्षक कुँवरलाई प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राई, प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाल लगायत प्रहरी अधिकृतले बिदाइ गर्नुभएको थियो । महानिरीक्षक कुँवरसँगै प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंह पनि फ्रान्स प्रस्थान गर्नुभएको छ । प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
ट्र्याक्टरले किच्दा मृत्यु
बैतडी, ९ वैशाख I ट्र्याक्टरले किच्दा बैतडीमा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको डिलासैनी गाउँपालिका–१ का २५ वर्षीय नरेन्द्रपसाद भट्ट रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिनुभयो ।
डिलासैनी –१ ब्रमबाट सीमातर्फ गइरहेको सुपप्र ०१००२ त ४६८६ नं को ट्र्याक्टरले डिलासैनी–१ को वडा कार्यालय नजिकै वसन्तपुर तुफानडाँडा ब्रम भन्ने स्थानमा आज दिउँसो २ बजे भट्टलाई ट्र्याक्टरले किचेको हो ।
ट्र्याक्टरको ढालामा सवार नरेन्द्र एक्कासि खसेका र ट्र्याक्टरको पछाडिको टायरले किचेको थियो । टायरले किचेर नरेन्द्रको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक केसीले बताउनुभयो । घटनालगत्तै सीमा प्रहरी चौकी र इलाका प्रहरी कार्यालय पाटनको प्रहरीको टोली गएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
एशियन राजमार्गः रुख कटानसँगै पुल र कल्भर्ट निर्माण सुरु
झापा, ९ वैशाख I पूर्व–पश्चिम एशियन राजमार्ग अन्तर्गत रुख कटानसँगै पुल र कल्भर्ट निर्माण सुरु भएको छ । एसियाली विकास बैंक आयोजना दमकका योजना प्रमुख सुनिलबाबु पन्तले काँकरभिट्टा–सीतापुरी पूर्वी खण्डको ४५ किलोमिटर क्षेत्रमा सो काम भइरहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार हाल कमल र केर्खा खोलामा पुलको पायल फाउण्डेसन गर्ने, सडकको चौडाइका लागि माटो भर्ने र कल्र्भट बनाउने काम धमाधम भइरहेको छ सडक किनारमा रहेका चार हजार सात सय ३० रुखमध्ये तीन हजार छ सय रुखसमेत कटान गरिसकिएको छ ।
दुई लेनको सडकलाई चार लेनमा रुपान्तरण गर्ने उद्देश्यअनुरुप निर्माण सुरु गरिएको एशियन राजमार्गको सो सडक खण्डमा एक सय ४० वटा कल्भर्ट र २१ वटा पुल निर्माण हुने राससलाई जानकारी दिनुभयो ।
एशियन राजमार्ग निर्माणका लागि काँकरभिट्टा–सीतापुरीलाई पूर्वी खण्ड र सीतापुरी–मावा खोलालाई पश्चिम खण्डमा विभाजन गरिएको छ । उहाँका अनुसार पूर्वी खण्डको ठेक्का पाएको एभ्रासकन कालीका जेभीले तीव्र रुपमा काम गरिरहेको छ ।
“काम तीव्र रुपमा भइरहेको छ”, उहाँले भन्नुभयो, “रुख काट्ने कार्य अन्तिम चरणमा पुगिसक्यो । अब पुल र कल्र्भटको काम पनि द्रतगतिमा भइरहेको छ ।”
एसियाली विकास बैंकको सहयोगमा निर्माण सुरु भएको काँकरभिठ्ठदेखि केर्खासम्मको सडक करिब रु १० अर्बको लगानीमा सम्पन्न हुने गरी ठेक्का सम्झौता गरिएको योजना प्रमुख पन्तले बताउनुभयो ।
एसिया महादेशका ३२ मुलुकलाई जोड्ने ‘महान एसियाली राजमार्ग’ अन्तर्गत नेपालको एक किलोमिटर भागमा मेची पुल निर्माणसँगै संरचना पूर्णरुपमा निर्माण भइसकेको छ । फराकिलो सडकका कारण सडकमा हुने सवारी दुर्घटना न्यूनीकरण हुने, पूर्वी नाकाबाटस्थल मार्ग हुँदै आउने पर्यटकको सङ्ख्या बढ्ने हुँदा मुलुकको अर्थतन्त्रमै टेवा पुग्ने जनअपेक्षा रहेको छ ।
उहाँले एशियन हाइवेमा पर्ने ठूला साना नदीमा लगाइएका पुराना पुललाई यथावत् राखेर त्यसैमा दुई लेनका पुल थप गरिने जानकारी दिनुभयो । तीन वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण सुरु भएको सडक अन्तर्राष्ट्रिय मापदण्डको हुनेछ । काँकरभिठ्ठ–लौकहीसम्मको ९६ किलोमिटर सडक निर्माण पूर्वी र पश्चिम खण्ड गरी दुई भागमा विभाजन गरेर काम भइरहेको छ ।
जापानी सैन्य हेलिकप्टर दुर्घटनामा एकको मृत्यु, सात बेपत्ता
जापानमा आइतबार राति दुई सैन्य हेलिकप्टर एकआपसमा ठोक्किएर समुद्रमा दुर्घटना हुँदा एक जनाको मृत्यु र सात जना घाइते भएको अधिकारीहरूले बताएका छन् । जापानको आत्मरक्षा बल (सेल्फ डिफेन्स फोर्स, एसडिएफ) का प्रवक्ताले शनिबार रातिको घटनाको पुष्टि गर्दै एक जनाको उद्धार गरिए पनि पछि उनको मृत्यु भएको बताउनुभयो ।
“उद्धारकर्मीहरूले समुद्रमा विमानको भाग भएको मानिएको टुका भेट्टाएका छन् र हामीले दुई वटा हेलिकप्टर दुर्घटनाग्रस्त भएको विश्वास गरेका छौँ”, रक्षामन्त्री मिनोरु किहाराले पत्रकारहरूसँग भन्नुभयो, “अहिले यसको कारण थाहा भएको छैन तर सबैभन्दा पहिला हामी मानिसहरूको उद्धारका लागि प्रयास गर्नेछौँ ।”
धेरै घन्टापछि उद्धार गरिएका चालक दलका सदस्यको मृत्युको पुष्टि भएको उहाँले बताउनुभयो । “मन्त्रालयले एक अर्काको नजिकका स्थानहरूमा उडान रेकर्डरको खोजी गरेको छ र दुवै हेलिकप्टर ठोक्किएको हुनसक्ने धेरै सम्भावना छ”, मन्त्री किहाराले भन्नुभयो ।
हेलिकप्टर प्रशान्त महासागरमा इजु टापु समूह नजिकै रातिको समयमा पनडुब्बीहरूको सामना गर्ने प्रशिक्षणका क्रममा दुर्घटना भएको जस्तो देखिएको अधिकारीहरूले बताएका छन् ।
सामुद्रिक आत्मरक्षा बल (एमएसडिएफ) का प्रमुख रयो सकाईले पत्रकारहरूसँग भन्नुभयो, “उडान रेकर्डरको विश्लेषण भइरहेको छ, अधिकारीहरूले अभ्यासमा संलग्न रहेको तर दुर्घटनामा सहभागी नभएको तेस्रो हेलिकप्टरका चालक दलका सदस्यहरूको अन्तरवार्ता लिइरहेका छन् ।”
प्रसारक एनएचकेले वरपरका जल क्षेत्रमा कुनै अन्य विमान वा जहाज नभएकाले घटनामा कुनै अन्य देशको संलग्नताको सम्भावना नभएको एमएसडिएफले जनाएको बताएको छ ।
मनास्लु हिमालमा हिमपहिरो, बूढीगण्डकी नदी आसपासका क्षेत्रमा उच्चजोखिम
गोरखा, ९ वैशाख I उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१, सामागाउँ पर्ने मनास्लु हिमालमा आज बिहान ठूलो हिमपहिरो खसेको छ । मनास्लु हिमालको काखमा रहेको वीरेन्द्र ताल नजिकै हिमपहिरो खसेको सामागाउँका दिजेन लामाले जानकारी दिनुभो । पहिरो वीरेन्द्र तालमा खसेपछि तालको पानी भरिएर छालसँगै बूढीगण्डकी नदीमा मिसिएको उहाँले बताउनुभयो ।
“बिहान ९ बजे आसपासमा वीरेन्द्र तालभन्दा माथि ठूलो हिमपहिरो गएको छ”, उहाँले भन्नुभयो, “हिमपहिरो वीरेन्द्र तालमा खसेपछि तालको पानी भरिएर बाहिरिएको र बूढीगण्डकी नदीमा भल पुगेको छ, यसले बर्खा बेलामा जस्तै बूढीगण्डकीमा पानीको ठूलो वहाबको जोखिम बढाएको छ ।”
उहाँले नदीमा पानीको वहाब बढेकाले बूढीगण्डकी नदीको आसपासमा खतरा हुनसक्ने अवस्था रहेको बताउनुभयो । “सानो खालको हिमपहिरो त अरु समयमा पनि जान्थ्यो”, लामाले भन्नुभयो, ‘‘तर अहिले निकै ठूलो हिमपहिरो गएको छ ।”
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) वासुदेव पाठकले हिमपहिरो खसेको जानकारी प्राप्त भएलगत्तै प्रहरीको टोली त्यसतर्फ प्रस्थान गरिसकेको जानकारी दिनुभयो । नदीमा आएको पानीको बहावले सामा गाउँमा एउटा काठे पुलमा क्षति पु¥याएको जानकारी आएको एसपी पाठकले बताउनुभयो । “प्रहरीको टोली घटनास्थल पुगिसकेको छ, अहिले तत्काल थप क्षति हुने अवस्था देखिएको छैन”, उहाँले भन्नुभयो ।
गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले हिमपहिरो खसेपछि बूढीगण्डकी नदीमा पानीको बहाव बढेकाले नदी वरपर नजान र सर्तक रहन सबैलाई आग्रह गरिएको बताउनुभयो । वीरेन्द्र ताल मनास्लु हिमालको फेदीको ठूलो क्षेत्रफलमा अवस्थित छ । यसलाई बूढीगण्डकी नदीको मुहानको रुपमा लिने गरिन्छ ।
कोशी, मधेस र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हुरीबतासको चेतावनी
काठमाडौँ, ९ वैशाख I हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा पानी र हिउँ पर्ने सम्भावना छ ।
लुम्बिनी र कोशी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा हुरीबतासको सम्भावना रहेको जनाउँदै महाशाखाले ती क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ ।
त्यसैगरी, आज राति कोशी, मधेस,बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली हुने तथा बाँकी भागका मौसम सफा रहने छ । मधेस तथा कोशी प्रदेशका तराई भेगका एक–दुई स्थानमा हुरीबतासको सम्भावना छ ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । यी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ ।
मधेस तथा कोशी प्रदेशका तराई भेगका एक–दुई स्थान र लुम्बिनी प्रदेशका तराई क्षेत्रका केही ठाउँमा हुरीबतासको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
पाथीभरामा एकैदिन छ हजार बढी भक्तजन
फुङ्लिङ (ताप्लेजुङ), ८ वैशाख I ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकुमलुङ)मा आज एकैदिन छ हजार चार सय ३८ भक्तजन पूजापाठका लागि पुगेका छन् ।
चैतेदसैँको छेकमा पूजापाठ गर्न उत्तम हुने र मौसम समेत खुलेकाले भक्तजनको आगमन बढेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । अन्य दिनको तुलनामा शनिबार र मङ्गलबार पाथीभरामा भक्तजनको चाप बढ्ने गरेको छ । स्वदेशी तथा विदेशी तीर्थयात्री यस मन्दिरमा आउने गरेका छन् । भक्तजनको चाप बढेपछि सहज रूपमा पूजापाठका लागि जनशक्ति खटाएर आवश्यक प्रबन्ध मिलाइएको समितिले जनाएको छ ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्म एक लाख ६८ हजार चार सय ६८ भक्तजनले पाथीभरामा पुगेर पूजापाठ गरेको तथ्याङ्क समितिले सार्वजनिक गरेको छ । भदौमा पाँच हजार, असोजमा १० हजार तीन सय ४३, कात्तिकमा ४९ हजार एक सय ६३ भक्तजन पाथीभरा आएको समितिले जनाएको छ ।
यस्तै मङ्सिरमा २० हजार चार सय १६, पुसमा पाँच हजार छ सय ५५, माघमा छ हजार एक सय एक, फागुनमा १७ हजार नौ सय १२ भक्तजन पाथीभरा पुगेका छन् ।
एमाले परिषद् बैठकः आन्तरिक शुद्धीकरण सहित राष्ट्रिय शक्ति निर्माणमा केन्द्रित
काठमाडौँ, ८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफूलाई शुद्धीकरण र सुदृढीकरण गर्दै पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिमा रुपान्तरणका लागि चाल्नुपर्ने कदमबारे राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्का सदस्यसँग सुझाव मागेको छ ।
लतिलपुरको गोदावारीस्थित सनराइज हलमा जारी महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक र महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदनले पार्टी जीवनको लोकतान्त्रिकरणका साथै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरी समाजवादमा पुग्न आगामी निर्वाचनमार्फत एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने सवाललाई केन्द्रमा राखिएको छ ।
तत्कालीन महासचिव मदन भण्डारीद्वारा प्रस्तुत ‘जनताको बहुदलीय जनवाद’लाई सिद्धान्तका रूपमा अङ्गीकार गर्दै आएको एमालेले उक्त लक्ष्य पूरा गर्न वर्तमान सरकारलाई दिगो, परिणामुखी र सफल तुल्याउँँदै अर्थतन्त्रलाई चलायमान बनाउने, सहकारीपीडितलाई न्याय दिने, सार्वजनिक सेवालाई प्रभावकारी बनाई सुशासन कायम गर्ने, सङ्घीयता कार्यान्वयनका जटिलता फुकाउने सवालमा नीतिगत प्राथमिकता र चासो दिएको छ ।
एमालेले भ्रष्टाचार र बेइमानीपूर्ण कार्य गर्नेलाई कारबाही गर्ने, मुलुकमा जवाफदेहिता सुनिश्चित गर्ने, कृषिको औद्योगिकीकरण र स्वदेशी उत्पादनका साथै यातायात, सञ्चार र पूर्वाधार विकासमा जोड दिने, विद्युत् उत्पादन र खपत बढाउने जस्ता १३ नीतिगत प्राथमिकता निर्धारण गरेको छ ।
यस्तै प्रविधिक शिक्षाको विस्तार र लैङ्गिक समानता कायम, शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्ने र वैदेशिक सम्बन्धलाई राष्ट्रिय स्वाधिनताका आधारमा सृदृढ बनाउन एमालेको जोड रहेको छ । ती विषयमा एमाले नेतृत्वले महाधिवेशन प्रतिनिधि परिषद्का सदस्यसँग समूहगत छलफलबाट सारभूत र रणनीतिक सुझाव मागेको छ । परिषद् बैठकमा आज प्रतिवेदन र श्रव्यदृष्य सामग्री प्रस्तुतिको क्रम रहेको छ भने आइतबार समूहगत छलफल र पारित हुनेछ ।
परिषद् बैठकमा सहभागी दुई हजार चार सय ५४ प्रतिनिधिमाझ अध्यक्ष ओलीबाट प्रस्तुत प्रतिवेदनमा पार्टी सदस्यता वितरण, नवीकरण र परीक्षण, प्रतिनिधि छनोट, अधिवेशन र नेतृत्व चयन, कमिटी सञ्चालन, चेन अफ कमाण्ड र कार्यकर्ताको (मूल्याङ्कन), कार्यशैली, जीवनशैली र कार्यकर्ताको आचरण, आर्थिक–सामाजिक रुपान्तरण र जनचासोका विषयको सम्बोधन र निर्वाचनमार्फत निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने सम्बन्धमा कार्यकर्ताबाट व्यापक छलफलसहित सुझावको अपेक्षा गर्नुभएको छ ।
अध्यक्ष ओलीले मुलुकमा बढ्दो चरम राजनीतिक विकृति, आर्थिक र व्यावसायिक क्षेत्रमा उत्पन्न सङ्कट र रोजगारीका क्षेत्र साँघुरिएका अवस्था एवं सुशासन तथा सेवा प्रवाहमा उत्पन्न समस्याका कारण समाजमा निराशा छाएको टिप्पणी गर्दै यसलाई वर्तमान सरकारले चिर्नुपर्नेमा जोड दिनुभयो ।
पूर्वप्रधानमन्त्री ओलीले यस स्थितिले सिर्जना गरेको असन्तुष्टिलाई एकातिर लोकप्रियतावाद र पुरातन तथा दक्षिणपन्थी शक्तिले प्रयोग गर्न सक्ने भएकाले सत्तापक्ष र प्रतिपक्ष राष्ट्रिय समस्याको समाधानमा संवादमा माध्यमबाट एक ठाउँमा आउनुपर्ने बताउनुभयो ।
गत २०७८ मङ्सिर १० देखि १४ गतेसम्म चितवनको सौराहामा भएको १०औँ राष्ट्रिय महाधिवेशनपछि आन्तरिक र बाह्य सङ्कट व्यहोरेको एमालेले सत्ता हाल आफूलाई सहज स्थितिमा कायम गर्न सकेको विश्लेषण गरेको छ । पछिल्लो समयमा समीकरणमा हेरफेर भई सत्तापक्ष बनेको एमालेको परिषद् बैठकमा हुने छलफल र पारित हुने दस्तावेज तथा घोषणाहरूलाई महत्वका साथ हेरिएको छ ।
पार्टीका महासचिव पोखरेलको साङ्गठनिक प्रतिवेदनमा कार्यशैली, जीवनशैली र कार्यकर्ताको आचरण, आर्थिक–सामाजिक रुपान्तरण र जनचासोका विषयको सम्बोधनलगायत विषयलाई विद्यमान समस्या र चुनौतीका रुपमा प्रस्तुत गरिएको छ ।
उच्च प्रविधियुक्त व्यवस्थापनमा भइरहेको परिषद् बैठकमा यसबीचमा पार्टीले चलाएको ‘मिसन ग्रासरुट’ अभियान, ‘झुलाघाट–चिवाभञ्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ जस्ता कामको समीक्षा गर्दै त्यसका आधारमा पार्टीलाई कसरी अगाडि बढाउने भन्ने विषयमा निष्कर्ष निकालिने महासचिव पोखरेलले बताउनुभयो ।
उहाँले मुलुकको आवश्यकता, जनचाहनाअनुसार राजनीतिक स्थायित्व, दिगो शान्ति, सुशासन, विकास र समृद्धिलाई सुनिश्चित गर्ने बलियो, सुदृढ र निर्णायक राष्ट्रिय शक्तिका रूपमा एमालेलाई विकसित गर्न परिषद् बैठकले स्पष्ट दिशानिर्देश गर्ने विश्वास व्यक्त गर्नुभयो ।
दुई महाधिवेशनका बीचमा हुने ठूलो निकायका रूपमा रहेको परिषद् बैठकले ‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई परास्त गरौँ, जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौँ’ भन्ने मूल नाराका साथ दशौँ महाधिवेशनबाट चुनिएको नेतृत्वका कामको समीक्षासहित भावी कार्यदिशा तय गर्ने सो पार्टीका सचिव योगेश भट्टराईको भनाइ छ ।
परिषद् बैठकमा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा पुष्पराज कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराका प्रतिवेदनमाथि छलफल हुनेछन् । बैठकबाट वर्ष २०८१ लाई पार्टी शुद्धीकरण तथा सुदृढीकरण वर्षका रूपमा अभियान सञ्चालन गर्ने विस्तृत कार्ययोजना छलफलसहित पारित गराउने तयारी रहेको एमालेको केन्द्रीय प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
सोमबार नेकपा स्थापनाको ७५औँ वर्षका अवसरमा सम्मानलगायत विशेष कार्यक्रम आयोजना गरिएको छ । जहाँ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरूलगायत शीर्ष नेताहरुको उपस्थिति रहने जनाइएको छ ।
म्याग्दीमा मगरात सभ्यताको अध्ययन-अनुसन्धान गरिने
गलेश्वर (म्याग्दी) ८ वैशाख I मगर बाहुल्यता रहेको म्याग्दीमा मगर जातिको उत्पत्ति, दर्शन र मगरात सभ्यताको अध्ययन–अनुसन्धान गरिने भएको छ ।
नेपाल मगर सङ्घ केन्द्रीय समितिको आयोजना र नेपाल मगर सङ्घ जिल्ला समन्वय समितिको संयोजनमा वैशाख १० गतेदेखि पहिलो चरणमा जिल्लाका रघुगङ्गा, मालिका र धवलागिरि गाउँपालिकामा अध्ययन गरिने नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति म्याग्दीका अध्यक्ष लोकबहादुर पुनमगर (लोकेश) ले जानकारी दिनुभयो ।
उहाँका अनुसार वैशाख १० गते रघुगङ्गा गाउँपालिका–६ पाखापानीबाट गरिने भएको छ । वैशाख ११ गते दरबार भग्नावशेष अवलोकन, अन्तरक्रिया कार्यक्रम गरिने छ भने सोही दिन मालिका गाउँपालिका–५ देविस्थान, र वैशाख १२ गते धवलागिरिको केन्द्र मुनामा कार्यक्रम गर्ने बताइएको छ ।
नेपालमा जातिगत जनसङ्ख्याको हिसाबले मगर नेपालको तेस्रो ठूलो जाति हो भने आदिवासी जनजाति समुदायको पहिलो हो ।
हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय
बेनी (म्याग्दी) ८ वैशाख I अष्ट्रेलियका पिटर जेटी हल सन् १९९३ मा पहिलो पटक भ्रमणको सिलसिलामा म्याग्दी आउनुभएको थियो । ट्रेकिङ पर्यटकका रूपमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ को पर्यटकीय स्थल खोप्रा–खयर क्षेत्रको भ्रमणमा आउनुभएका पिटर अहिले सामुदायिक विद्यालयको शैक्षिक उन्नयनमा सक्रिय हुनुहुन्छ ।
नेपालको पहिलो भ्रमणका क्रममा खोप्रा–खयर क्षेत्रमा पुग्नुभएका पिटर यहाँको प्राकृतिक सौन्दर्ययताले लोभिनुभयो । भ्रमण सकेर स्वदेश फर्किएपछि पिटरको समूह सन् १९९८ मा पुनः सोही क्षेत्रको भ्रमणमा निस्किए । दोस्रो पटकको भ्रमणमा पिटरको समूहले खोप्रा–खयर क्षेत्रको पदयात्रा मात्रै गरेनन्, उनीहरूले यसै पदमार्गमा पर्ने पाउद्वार गाउँमा पुगेर गाउँको अवस्था र समस्यासँग अन्तर-घुलन हुने प्रयास गरेका थिए ।
“पहिलो पटक हामी हिमाल हेर्न नेपाल आएका थियौँ, दोस्रो पटक हामी यहाँको लालीगुराँस हेर्न आयौँ, त्यस बखत हामीले यहाँको जनजीवन र अवस्थासमेत बुझ्न पायौँ, यहाँका स्थानीयसँग भेट भएपछि हामी समुदायको अगुवाइमा शैक्षिक सुधारमा जोडिन पुगेका हौँ”, पिटरले भन्नुभयो । हिमाल र गुराँसलाई नजिकबाट हेर्न डाँडाकाँडामा घुम्न नेपाल आउनुभएका पिटर यस बिचमा १९ पटक नेपाल आउनुभएको छ ।
सन् २००१ मा तेस्रो पटक पिटर दम्पती नेपाल भ्रमणको सिलसिलामा पुनःपाउद्वार गाउँमा पुग्नुभएको थियो । यस पटक पिटरको भ्रमण पाउद्वार गाउँको शैक्षिक सुधारमा योगदान गर्ने उदेश्यमा केन्द्रित थियो । पिटर दम्पतीलाई स्थानीय पाउद्वार माविमा भव्य स्वागत भयो । गाउँलेको अगुवाइमा सञ्चालन भएको पाउद्वार माविसहित यस क्षेत्रका सामुदायिक विद्यालयको शैक्षिक विकास र गुणस्तर सुधारमा पिटरको चासो र ध्यान केन्द्रित भयो ।
चौथो पटक सन् २००८ मा नेपाल आउनुभएका पिटरले ग्रामीण भेगका विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न शिक्षण सिकाइ र शैक्षिक सामग्रीको व्यवस्थापन सम्बन्धमा शिक्षकलाई तालिम दिने योजना अघि सार्नुभयो । तत्कालीन शिख गाविसअन्तर्गतका विभिन्न छ वटा विद्यालयका शिक्षकलाई पिटरले व्यक्तिगत रूपमा आर्थिक सहयोग गरेर रिड नेपालमार्फत तालिम दिन सुरु गर्नुभएको थियो ।
सुरुआतका बर्षहरूमा व्यक्तिगत रूपमा आर्थिक सहयोग गर्दै आउनुभएका पिटरले पछिल्लो एकदशक यता भने संस्था गतरुपमा आर्थिक सहयोग गर्दै आउनुभएको छ । तत्कालिन पाउद्धार माविका शिक्षकसमेत रहनुभएका कृष्ण तिलिजाको नेतृत्वमा नेपालमा समृद्ध ग्रामीण नेपालका लागि शैक्षिक उन्नयन (लर्न) संस्था र अष्ट्रेलियामा पिटरको नेतृत्वमा क्वालिटी एजुकेशन संस्था दर्ता गरेर सहयोगलाई व्यवस्थित र पारदर्शी तथा शिक्षक तालिमलाई प्रभावकारी बनाउन थालिएको छ ।
लर्न र क्वालिटी एजुकेशनको साझेदारीमा तत्कालीन शिख गाविसका विद्यालयमा सुरु गरिएको शिक्षक तालिम अहिले म्याग्दीका तीन वटा स्थानीय तहमा विस्तार भएको छ । अन्नपूर्ण गाउँपालिकाका सबै विद्यालयमा कार्यरत शिक्षकलाई आधारभूत तथा स्तरीय शिक्षण सिकाइ सम्बन्धमा तालिम प्रदान गरिसकेको यस अभियानअन्तर्गत रघुगङ्गा र धवलागिरि गाउँपालिकाको साझेदारीमा समेत शिक्षक तालिमलाई कार्यान्वनयमा ल्याइएको लर्नका निर्देशक कृष्ण तिलिजाले बताउनुभयो ।
“अभियन्ता पिटरको नेतृत्वमा क्वालिटी एजुकेसन मार्फत हामीलाई वार्षिकरुपमा रु ७० देखि ७५ लाख बराबरको सहयोग आउँछ, हामीले यहाँ स्थानीय तहसँग साझेदार गरेर शिक्षकलाई तालिम प्रदान गर्छौँ, हामीले प्रदान गर्ने तालिमले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा रचनात्मक सहयोग पुग्ने गरेको छ, आगामी वर्षमा म्याग्दीका थप पालिकाहरूमा शिक्षक तालिमको अभियानलाई जोड्ने जमर्को गरेका छौँ”, तिलिजाले भन्नुभयो ।
नेपालको हिमाललाई नजिकबाट नियाल्न भ्रमणमा आउनुभएका पिटरले यहाँको अवस्थालाई बुझेर शैक्षिक उन्नयनमा पु¥याउनुभएको योगदान प्रशंसनीय रहेको उहाँले बताउनुभयो । लर्न र क्वालिटी एजुकेशनसँग गाउँपालिकाले साझेदारीमा शिक्षकहरूलाई कक्षाकोठामा शैक्षिक सामग्री निर्माण, प्रयोग, कक्षाकोठा व्यवस्थापन, विषयगत शिक्षण सिकाइ तथा सिर्जनात्मक कलालगायत विषयमा तालिम प्रदान भएपछि सामुदायिक विद्यालयहरूको गुणस्तर सुधारमा महत्वपूर्ण उपलब्धि भएको रघुगङ्गा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो ।
“गाउँपालिकाभित्रका सबै विद्यालयका शिक्षक कर्मचारीलाई छुट्टाछुट्टै ठाउँमा तालिम दिएका छौँ, यो तालिमले शिक्षकलाई सिर्जनात्मक बनाउन र कक्षा कोठालाई शैक्षिक सामग्रीयुक्त बनाउन सहयोग गरेको पाएका छौँ ”, अध्यक्ष भण्डारीले भन्नुभयो । लर्न र क्वालिटी एजुकेसनले शिक्षक तालिमसँगै सामुदायिक विद्यालयहरूमा आधुनिक कम्प्युटर प्रयोगशालासमेत स्थापना गर्न थालेको छ ।
क्वालिटी एजुकेसन नेपाल, अष्टेलिया र एजुटेक नेपाल, न्युजिल्यान्डको आर्थिक सहयोगमा लर्नले विद्यालयहरुमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना गर्न थालेको हो । यस वर्ष जिल्लाको रघुगगा–३ मौवाफाँटको ज्ञानोदय मावि, अन्नपूर्ण–४ नारच्याङको प्रभा मावि र धवलागिरि–४ मुदीको बुद्धिविकास माविमा २०÷२० वटा कम्प्युटरको व्यवस्थापन गरेर सर्भर प्रणाली जडान भएको साथै कम्प्युटर कक्ष र प्रयोगशाला सञ्चालनमा ल्याइएको छ ।