शुक्रबार, २५ वैशाख २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शनिबार, ०८ वैशाख २०८१

हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय

https://www.jawaaf.com/storage/01HVXFC9XE94W54P81T9V6Y4MQ.webp

बेनी (म्याग्दी) ८ वैशाख I अष्ट्रेलियका पिटर जेटी हल सन् १९९३ मा पहिलो पटक भ्रमणको सिलसिलामा म्याग्दी आउनुभएको थियो । ट्रेकिङ पर्यटकका रूपमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ को पर्यटकीय स्थल खोप्रा–खयर क्षेत्रको भ्रमणमा आउनुभएका पिटर अहिले सामुदायिक विद्यालयको शैक्षिक उन्नयनमा सक्रिय हुनुहुन्छ ।     
     
नेपालको पहिलो भ्रमणका क्रममा खोप्रा–खयर क्षेत्रमा पुग्नुभएका पिटर यहाँको प्राकृतिक सौन्दर्ययताले लोभिनुभयो । भ्रमण सकेर स्वदेश फर्किएपछि पिटरको समूह सन् १९९८ मा पुनः सोही क्षेत्रको भ्रमणमा निस्किए । दोस्रो पटकको भ्रमणमा पिटरको समूहले खोप्रा–खयर क्षेत्रको पदयात्रा मात्रै गरेनन्, उनीहरूले यसै पदमार्गमा पर्ने पाउद्वार गाउँमा पुगेर गाउँको अवस्था र समस्यासँग अन्तर-घुलन हुने प्रयास गरेका थिए ।     
     
“पहिलो पटक हामी हिमाल हेर्न नेपाल आएका थियौँ, दोस्रो पटक हामी यहाँको लालीगुराँस हेर्न आयौँ, त्यस बखत हामीले यहाँको जनजीवन र अवस्थासमेत बुझ्न पायौँ, यहाँका स्थानीयसँग भेट भएपछि हामी समुदायको अगुवाइमा शैक्षिक सुधारमा जोडिन पुगेका हौँ”, पिटरले भन्नुभयो । हिमाल र गुराँसलाई नजिकबाट हेर्न डाँडाकाँडामा घुम्न नेपाल आउनुभएका पिटर यस बिचमा १९ पटक नेपाल आउनुभएको छ ।     
     
सन् २००१ मा तेस्रो पटक पिटर दम्पती नेपाल भ्रमणको सिलसिलामा पुनःपाउद्वार गाउँमा पुग्नुभएको थियो । यस पटक पिटरको भ्रमण पाउद्वार गाउँको शैक्षिक सुधारमा योगदान गर्ने उदेश्यमा केन्द्रित थियो । पिटर दम्पतीलाई स्थानीय पाउद्वार माविमा भव्य स्वागत भयो । गाउँलेको अगुवाइमा सञ्चालन भएको पाउद्वार माविसहित यस क्षेत्रका सामुदायिक विद्यालयको शैक्षिक विकास र गुणस्तर सुधारमा पिटरको चासो र ध्यान केन्द्रित भयो ।     
     
चौथो पटक सन् २००८ मा नेपाल आउनुभएका पिटरले ग्रामीण भेगका विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न शिक्षण सिकाइ र शैक्षिक सामग्रीको व्यवस्थापन सम्बन्धमा शिक्षकलाई तालिम दिने योजना अघि सार्नुभयो । तत्कालीन शिख गाविसअन्तर्गतका विभिन्न छ वटा विद्यालयका शिक्षकलाई पिटरले व्यक्तिगत रूपमा आर्थिक सहयोग गरेर रिड नेपालमार्फत तालिम दिन सुरु गर्नुभएको थियो ।     
     
सुरुआतका बर्षहरूमा व्यक्तिगत रूपमा आर्थिक सहयोग गर्दै आउनुभएका पिटरले पछिल्लो एकदशक यता भने संस्था गतरुपमा आर्थिक सहयोग गर्दै आउनुभएको छ । तत्कालिन पाउद्धार माविका शिक्षकसमेत रहनुभएका कृष्ण तिलिजाको नेतृत्वमा नेपालमा समृद्ध ग्रामीण नेपालका लागि शैक्षिक उन्नयन (लर्न) संस्था र अष्ट्रेलियामा पिटरको नेतृत्वमा क्वालिटी एजुकेशन संस्था दर्ता गरेर सहयोगलाई व्यवस्थित र पारदर्शी तथा शिक्षक तालिमलाई प्रभावकारी बनाउन थालिएको छ ।     
     
 लर्न र क्वालिटी एजुकेशनको साझेदारीमा तत्कालीन शिख गाविसका विद्यालयमा सुरु गरिएको शिक्षक तालिम अहिले म्याग्दीका तीन वटा स्थानीय तहमा विस्तार भएको छ । अन्नपूर्ण गाउँपालिकाका सबै विद्यालयमा कार्यरत शिक्षकलाई आधारभूत तथा स्तरीय शिक्षण सिकाइ सम्बन्धमा तालिम प्रदान गरिसकेको यस अभियानअन्तर्गत रघुगङ्गा र धवलागिरि गाउँपालिकाको साझेदारीमा समेत शिक्षक तालिमलाई कार्यान्वनयमा ल्याइएको लर्नका निर्देशक कृष्ण तिलिजाले बताउनुभयो ।     
     
“अभियन्ता पिटरको नेतृत्वमा क्वालिटी एजुकेसन मार्फत हामीलाई वार्षिकरुपमा रु ७० देखि ७५ लाख बराबरको सहयोग आउँछ, हामीले यहाँ स्थानीय तहसँग साझेदार गरेर शिक्षकलाई तालिम प्रदान गर्छौँ, हामीले प्रदान गर्ने तालिमले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा रचनात्मक सहयोग पुग्ने गरेको छ, आगामी वर्षमा म्याग्दीका थप पालिकाहरूमा शिक्षक तालिमको अभियानलाई जोड्ने जमर्को गरेका छौँ”, तिलिजाले भन्नुभयो ।     
     
नेपालको हिमाललाई नजिकबाट नियाल्न भ्रमणमा आउनुभएका पिटरले यहाँको अवस्थालाई बुझेर शैक्षिक उन्नयनमा पु¥याउनुभएको योगदान प्रशंसनीय रहेको उहाँले बताउनुभयो । लर्न र क्वालिटी एजुकेशनसँग गाउँपालिकाले साझेदारीमा शिक्षकहरूलाई कक्षाकोठामा शैक्षिक सामग्री निर्माण, प्रयोग, कक्षाकोठा व्यवस्थापन, विषयगत शिक्षण सिकाइ तथा सिर्जनात्मक कलालगायत विषयमा तालिम प्रदान भएपछि सामुदायिक विद्यालयहरूको गुणस्तर सुधारमा महत्वपूर्ण उपलब्धि भएको रघुगङ्गा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो ।     
     
“गाउँपालिकाभित्रका सबै विद्यालयका शिक्षक कर्मचारीलाई छुट्‍टाछुट्‍टै ठाउँमा तालिम दिएका छौँ, यो तालिमले शिक्षकलाई सिर्जनात्मक बनाउन र कक्षा कोठालाई शैक्षिक सामग्रीयुक्त बनाउन सहयोग गरेको पाएका छौँ ”, अध्यक्ष भण्डारीले भन्नुभयो । लर्न र क्वालिटी एजुकेसनले शिक्षक तालिमसँगै सामुदायिक विद्यालयहरूमा आधुनिक कम्प्युटर प्रयोगशालासमेत स्थापना गर्न थालेको छ ।     
     
क्वालिटी एजुकेसन नेपाल, अष्टेलिया र एजुटेक नेपाल, न्युजिल्यान्डको आर्थिक सहयोगमा लर्नले विद्यालयहरुमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना गर्न थालेको हो । यस वर्ष जिल्लाको रघुगगा–३ मौवाफाँटको ज्ञानोदय मावि, अन्नपूर्ण–४ नारच्याङको प्रभा मावि र धवलागिरि–४ मुदीको बुद्धिविकास माविमा २०÷२० वटा कम्प्युटरको व्यवस्थापन गरेर सर्भर प्रणाली जडान भएको साथै कम्प्युटर कक्ष र प्रयोगशाला सञ्चालनमा ल्याइएको छ ।     

सम्बन्धित खबर

/frontend/images/redline.png