कोशीका मन्त्री चढेको गाडीले बालकलाई दियो ठक्कर
कोशी । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम राना सवार गाडीले एक बालकलाई ठक्कर दिएको छ । ललितपुरको हरिसिद्धि सडक उकालोमा भएको उक्त घटनापछि स्थानीयले सडक अवरुद्ध पारेका छन् ।
घटनापछि घाइते बालकलाई तत्कालै उपचारका लागि बी एण्ड बी अस्पताल पु¥याइएको छ । प्रहरीले दिएको जानकारीअनुसार बालकको अवस्था सामान्य देखिएको छ ।
मन्त्री राना चढेको गाडीले ठक्कर दिएको घटनापछि आक्रोशित स्थानीयले सडकमा जाम गरेका थिए । सडक जामका कारण एमालेको दोस्रो विधान अधिवेशन स्थल गोदावरी जाने मुख्य बाटो अवरुद्ध भएको हो ।
प्रहरीले स्थिति नियन्त्रणमा लिन प्रयास जारी राखेको छ ।
एमाले महाधिवेशनको दोस्रो दिन : समूहगत छलफल हुदैँ
काठमाडौं । नेकपा एमालेको दोस्रो राष्ट्रिय विधान महाधिवेशनको दोस्रो दिन आज (शनिबार) समूहगत छलफल गर्ने कार्यक्रम रहेको छ । आज निर्वाचन आयोग, लेखा र अनुशासन आयोगका थप तीन प्रतिवेदन पनि पेस हुने भएको छ ।
महाधिवेशनमा पहिलो दिनमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन, महासचिव शङ्कर पोखरेलको सांगठनिक र सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराको प्रतिवेदन पेस भएका थियो ।
आज स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले दर्ता गराएको ३२ पृष्ठको फरक मतले प्रवेश पाउने सम्भावना पनि रहेको छ । आज ८ बजेबाट महाधिवेशन सुरु हुने र १० बजे प्रतिवेदन पेस गरिसकेर समूहगत छलफल थाल्ने गरि कार्यक्रमहरु तय भएको छ ।
विधान महाधिवेशनमा देशभरबाट दुई हजार २६ जना प्रतिनिधि र आयोजककातर्फबाट ३१५ गरी जम्मा दुई हजार ३४१ जना सहभागी छन् ।
बराहक्षेत्र–११ मा जसपा वडा कमिटी पुनर्गठन
सुनसरी, बराहक्षेत्र । जनता समाजवादी पार्टी (जसपा) बराहक्षेत्र नगरपालिका–११ को वडा कमिटी पुनर्गठन गरिएको छ। स्थानीय बासिन्दाको उपस्थितिमा शुक्रवार भएको कार्यक्रममा राजु शाह अध्यक्षमा चयनभएका छन्।
नवगठित ११ सदस्यीय समितिमा उपाध्यक्ष सन्तोष दाहाल, सचिव कृष्ण राई, कोषाध्यक्ष मिना देवी शाह रहेका छन्। यस्तै, सदस्यमा दिपेन्द्र मण्डल, केदार प्रसाद शाह, बेचन मण्डल, काजल हजारी र घनश्याम कार्की चयन भएका छन्।
पुनर्गठन कार्यक्रममा जसपा सुनसरी जिल्ला सचिवालय सदस्य तथा बराहक्षेत्र नगर इन्चार्ज मणि राई, जिल्ला सदस्यहरू अक्षय लाल मण्डल, गोपाल विश्वकर्मा, पूर्व नगर अध्यक्ष नरेश राई, नगर अध्यक्ष जेबी हाङ राई, नगर सचिव भुपेन्द्र राजधामीलगायतको उपस्थिति थियो।
कार्यक्रममा नगर अध्यक्ष जेबी हाङ राईले जसपाको आवश्यकता र औचित्यबारे धारणा राखे। यस्तै, जिल्ला सदस्य तथा नगर इन्चार्ज मणि राईले समसामयिक राजनीतिक अवस्था र पार्टीको आगामी योजनाबारे मन्तव्य प्रस्तुत गरे।
अध्यक्षमा निर्वाचित शाहले संगठनलाई बिरुवासँग तुलना गर्दै जिम्मेवारीपूर्वक हेरचाह नगरेसम्म दिगो हुन नसक्ने बताए। उनले इमान्दारी र सक्रियताका साथ जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेकाछन् ।
रामकुमारी झाँक्री : ‘वाक स्वतन्त्रताको नाममा गालीगलौज गर्न छुट छैन, सामाजिक सञ्जाल नियमन आवश्यक’
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले सामाजिक सञ्जाल तथा भर्चुअल प्लेटफर्महरूको नियमन अपरिहार्य रहेको धारणा व्यक्त गरेकी छन् ।
शुक्रबार सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्विटर) मा आफ्नो विचार सार्वजनिक गर्दै झाँक्रीले वाक स्वतन्त्रताको नाममा गालीगलौज र चरित्र हत्या गर्न छुट नहुने स्पष्ट पारिन् । उनले सामाजिक सञ्जाललाई नियमित र नियमन गर्नु भनेको अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज लगाउनु नभएको उल्लेख गर्दै अधिकारसँगै कर्तव्यलाई पनि महत्व दिनुपर्ने बताइन् ।
उनले लेखेकी छन्, “सोसल मिडिया र भर्चुअल प्लेटफर्मलाई नियमित र नियमन गर्नु भनेको वाक स्वतन्त्रतालाई बन्देज गर्नु होइन । हामी नागरिकले आफ्नो अधिकार र दायित्वलाई सँगसँगै लिनु गर्नुपर्छ ।”
झाँक्रीले पशुपतिनाथको दर्शनलाई उदाहरण दिँदै नियमनको पक्षमा तर्क प्रस्तुत गरिन् । उनका अनुसार हजारौं मानिसलाई सहज दर्शनका लागि कानुनबमोजिम नियमहरू पालना गर्नुपर्छ जस्तै सामाजिक सञ्जाल प्रयोगमा पनि नियमको आवश्यकता छ ।
उनले वाक स्वतन्त्रता भए पनि त्यसको नाममा गालीगलौज, गलत सूचना र व्यक्तिगत आक्षेप जस्ता गतिविधि सह्य नहुने भन्दै सामाजिक सञ्जाल नियमनको आवश्यकता औंल्याइन् ।
नेपालमा पछिल्लो समय सामाजिक सञ्जालमार्फत बढ्दो घृणा, गलत सूचना र व्यक्तिगत आक्षेपले सार्वजनिक चासो बढाएका छन् । यस्तो अवस्थामा झाँक्रीको टिप्पणीलाई समर्थन र आलोचना दुवै दृष्टिले हेरिएको छ ।
एभरेस्ट महिला भलिबल लिग आजदेखि, पोखरा र कर्णाली भिड्दै
काठमाडौं । वात्सल्या एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी)को दोस्रो संस्करण आजदेखि पोखरामा सुरु हुँदैछ । इन्फिनिटी ड्रिम्सको आयोजनामा गत वर्ष देखि सुरु भएको लिग पहिलो पटक काठमाडौं बाहिर पोखरामा हुन लागेको हो ।
पहिलो संस्करणको विजेता कर्णाली यशविस र पोखरा निन्जाज उद्घाटन खेलमा भिड्नेछन् । उद्घाटन खेल दिउँसो २ बजे पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा सुरु हुनेछ ।
आजै ललितपुर क्विन्स र मधेश युनाइटेडबीच दोस्रो खेल अपरान्ह ४ बजे सुरु हुनेछ ।
कर्णाली र पोखरा दुवै टिम उद्घाटन खेलका लागि तयार छन् । दुवै टिममा घरेलु भलिबलको सफल टोली न्यु डायमण्ड युथ स्पोट्र्स क्लबमा खेलिरहेका सुमित्रा र प्रगति मार्की छन् ।
साविक विजेता कर्णाली पहिलो खेलदेखि नै राम्रो प्रदर्शन गर्दै उपाधि जोगाउने अभियानमा छ ।
विद्यादेवीको भावुक सन्देश : पार्टी सदस्य हुनबाट रोक्ने प्रयास ज्यादै दुःखको विषय
काठमाडौं । पूर्वउपराष्ट्रपति विद्यादेवी भण्डारीले आफूमाथि पार्टीले कुठाराघात गरेको गुनासो गरेकी छन् । आजबाट सुरु हुने नेकपा एमालेको दोस्रो विधान महाधिवेशनका प्रतिनिधिहरुलाई पत्र लेख्दै भण्डारीले गुनासो पोखेकी छन् ।
उनले आफूलाई पार्टीले निर्णय गरेर राष्ट्रपति हुन पठाएको र आफूले निष्ठापूर्वक काम गरेर फर्किँदा काममा बन्देज लगाइएको भन्दै आफूले उठाउँदै गरेको आवाज आफ्नो लागि मात्र नभएको बताइन् ।
‘म अहिले एउटा यस्तो परिवेशमा उभिएको छु, मैले २०३७ सालमा प्राप्त गरेको पार्टी सदस्यता जो मेरो गहिरो आस्था र विश्वासको प्रतीक समेत हो, त्यसमा कुठाराघात गर्ने प्रयास गरिएको छ,’उनले भनेकी छन्, ‘पार्टीले विशेष निर्णय गरेर देशको राष्ट्रपति हुन पठाएपछि कुशलतापूर्वक सो अभिभारा पूरा गरेर फर्किएँ र अब पार्टीमा नै संलग्न भएर अगाडि बढ्न चाहन्छु भन्दा पार्टी सदस्य हुनबाट रोक्ने प्रयास ज्यादै दुःखको विषय हो । यस्तो प्रश्न मेरा निम्ति मात्र होइन कुनै पनि पार्टी सदस्यले भोग्नु हुँदैन भन्ने मेरो अडान हो ।’
साथै उनले आफ्नो जीवनको लामो समय देश, जनता र पार्टीका निम्ति अर्पण गरेको भन्दै भण्डारीले अनेकौँ संघर्ष, कठिनाइ र चुनौतीसँग आफूले कहिल्यै हार नमानेको पत्रमा लेखेकी छन् ।
‘आज मेरो सदस्यतामाथि उठाइएको प्रश्न मेरा निम्ति गम्भीर रूपमा खडा भएको छ । यो पत्र मेरो आत्मरक्षाका लागि होइन, बरु यो हाम्रो पार्टीको उज्ज्वल भविष्यका लागि हो । त्यसैले, तपाईंहरूले यस पत्रलाई आफ्नो अधिकारको रक्षा, पार्टीको सबलता, सुदृढ एवम् दिगो एकताको रूपमा बुझ्नुहुनेछ भन्ने गहिरो विश्वास लिएको छु’, भण्डारीले पत्रमा लेखेकी छन् ।
नेपाल टेलिकम र एनसेलले बन्द गर्यो दर्ता नभएका सामाजिक सञ्जालहरु
काठमाडौं । सरकारको निर्देशन अनुसार नेपाल टेलिकमले पनि दर्ता नभइ सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गरेको छ । टेलिकमले बिहीबार एक सूचना जारी गर्दै नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन अनुसार दर्ता नभएका प्लेटफर्महरू बन्द गरेको जनाएको हो ।
‘नेपाल दूरसञ्चार प्राधिकरणको मिति २०८२÷०५÷१९, च.नं. ५९७ को पत्रबाट श्री सम्मानित सर्वोच्च अदालतको आदेश, नेपाल सरकार मन्त्रिपरिषदको निर्णय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रिस्तरीय बैठकको निर्णय तथा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम नेपालमा सूचीकरण नभई सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू निष्क्रिय गराउन यस कम्पनीलाई लेखी आएकाले सोही निर्देशन बमोजिम त्यस्ता सामाजिक प्लेटफर्महरू हालका लागि बन्द गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ,’टेलिकमले भनेको छ ।
टेलिकमका अनुसार ती प्लेटफर्महरू पुनः सञ्चालनमा ल्याउने विषय आगामी दिनमा प्राधिकरणबाट प्राप्त हुने निर्देशन अनुसार हुनेछ ।
यसैगरी मोबाइल र इन्टरनेट सेवा प्रदायक कम्पनी एनसेलले पनि आफ्नो मोबाइल डाटाबाट सरकारले रोक लगाएका सामाजिक सञ्जालहरू नचल्ने जानकारी गराएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै यसबाट पर्न सक्ने असुविधाप्रति क्षमा समेत मागेको छ ।
सरकारले सूचीकृत हुन नआएका २६ वटा सामाजिक सञ्जाल प्ल्याटफर्महरूलाई रोक लगाउने निर्णय गरेको हो । एनसेलले सरकारको निर्देशन बमोजिम सञ्जालहरू नचल्ने जानकारी गराएको हो ।
देशभर मनसुनको प्रभाव, केही स्थानमा मध्यम वर्षाको सम्भावना
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित छ । शुक्रबार बिहान कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा छिटपुट वर्षा भएको छ ।
दिउँसो देशभर साधारणतया बदली रहनेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू–भागका केही स्थान र तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
शुक्रबार राति पनि देशभर साधारणतया बदली रहने पूर्वानुमान गरिएको छ । यस अवधिमा कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना महाशाखाले जनाएको छ ।
झुम्का कारागारमा भाइरल ज्वरोको प्रकोप, चार दिनमै तीन कैदीबन्दीको मृत्यु
इटहरी । सुनसरीस्थित झुम्का कारागारमा भाइरल ज्वरोको प्रकोप फैलिँदा चार दिनको अवधिमा तीन कैदीबन्दीको मृत्यु भएको छ । कारागारमा रहेका १ हजार ७ सय ९५ कैदीमध्ये हाल ४ सय भन्दा बढी ज्वरोबाट प्रभावित भएको कारागार प्रशासनले जनाएको छ ।
बुधबार साँझ सप्तरी, राजविराज–८ का ४६ वर्षीय जलेश्वर यादवको मृत्यु भएको हो । जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका यादवलाई उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि जिल्ला अस्पताल इनरुवामा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको कारागारका निमित्त जेलर राम निरौलाले जानकारी दिए ।
यसअघि भदौ १५ गते रामदेव उराउ र भदौ १६ गते सागर राईको मृत्यु भएको थियो । कर्तव्य ज्यान मुद्दामा कैद सजाय भोगिरहेका उराउलाई उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि निधन भएको हो भने लागुऔषध मुद्दामा कैद सजाय काटिरहेका राई शरीर नचल्ने समस्या देखिएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत रहँदा मृत्यु भएको हो ।
हाल १९ जना कैदी उपचारका लागि अस्पताल भर्ना छन् । सुरुमा ६ जना मात्र बाहिर उपचारमा पठाइएको भए पनि बुधबार राति स्वास्थ्यकर्मीको टोली कारागार पुगेपछि थप १३ जनालाई अस्पताल लगिएको जेल प्रशासनले जनाएको छ ।
निमित्त जेलर निरौलाका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, जिल्ला स्वास्थ्य कार्यालय सुनसरीसँग सहकार्य गरेर कारागारमै स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
महोत्तरीमा दिवा खाजामा छेपारो फेला परेको दावी, दर्जनौं विद्यार्थी विरामी
जनकपुर । महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ६ स्थित आदर्श माध्यमिक विद्यालय रतौलीका दर्जनौं विद्यार्थी अस्पताल भर्ना भएका छन् ।
बिहीबार दिउँसो १ बजे विद्यालयमा दिवा खाजा खुवाउने क्रममा विद्यार्थीहरुलाई दिइएको सुजीको हलुवामा मरेको छेपोरो भेटिएको थियो ।
मरेको छेपारोको विभिन्न शरीरका अंगहरु अलग अलग विद्यार्थीका खाजामा फेला परेपछि विद्यार्थीहरुले खाजा बनाएर दिने विद्यालयका महिला कर्मचारीलाई बताएपछि उल्टै हप्काएको विद्यार्थीहरुको भनाई छ ।
विद्यार्थीहरुले खाजामा छेपारो भेटेको गाउँका व्यक्तिहरुलाई अवगत गराएपछि विद्यार्थीका अभिभावकसहित गाउँवासी विद्यालय पुगेका थिए । सो क्रममा उनीहरुले प्रधानाध्यापक दिनेश दासमाथि आक्रोश पोख्नुका साथै चप्पल प्रहार गरेका थिए ।
आक्रोसित अभिभावकले विद्यालयका कुर्सी, टेबुल, ढोका तोडफोड पनि गरेका छन् । स्थिति तनावपूर्ण बनेपछि नजिकको प्रहरी चौकीका प्रहरी अधिकारीहरु विद्यालय पुगेर स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।
यता, दर्जनौ विद्यार्थीलाई बेहोस हुन थालेपछि अभिभावकहरुले आफ्ना बच्चाहरुलाई प्रादेशिक अस्पताल जनकपुर ल्याएर उपचार गराइरहेका छन् ।