आज तिहारको पहिलो दिन : काग तिहार
काठमाडौँ । आज देशभर तिहारको पहिलो दिन अर्थात् काग तिहार मनाइँदै छ। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनबाट सुरु हुने पाँच दिने तिहार पर्व आज काग तिहारसँगै सुरु भएको हो।
बिहान सूर्योदयको समयमा त्रयोदशी तिथि परेकोले आज आइतबार शास्त्रसम्मत रूपमा काग तिहार पर्व मनाइँदै छ।
कागलाई विशेष गरी अशुभ सन्देश प्रवाह गर्ने पन्छीका रूपमा लिइन्छ । धर्मशास्त्रहरू अनुसार नरक लोकका अधिपति यमराजले पृथ्वी लोकमा भएका मानिस लगायत सम्पूर्ण जीवित प्राणीको जन्म मृत्युको विवरण राख्ने गर्दछन् । त्यस्तो विवरण ल्याउने र लैजाने काम भने कागले गर्ने मान्यता रहेको छ ।
आकाश मार्गबाट छिटो सन्देश ल्याउने लाने भएकाले यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेको जनश्रुति अहिले पनि रहेको छ । तर काग तिहारमा भने यी सबै नकारात्मक मान्यताहरूलाई बिर्सिएर कागको पूजा गरिन्छ ।
आजको दिन कागलाई पूजाआजा नगरेर खान नदिए पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ । कागतिहारमा कागलाई घर आँगनमा बोलाई घरमा बनेका खाद्यान्न परिकार खान दिइन्छ ।
आज कागतिहारकै दिन समुद्र मन्थनका बेला उत्पत्ति भएका आयुर्वेदका प्रवर्तकधन्वन्तरी ऋषिको सम्झनामा धन्वन्तरि दिवस पनि मनाइन्छ । आज यमदिप दान गर्नाले यमराजको यातनाबाट मुक्त हुने अर्को धार्मिक विश्वास छ । यमदिप दान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धार्मिक विधि रहेको छ ।
मृतक चन्द्रमाया राईको परिवारलाई आर्थिक सहयोग
भोजपुर, हतुवागढी ।
गत असोज २० गते आफ्नै माइती घरबाट फर्किने क्रममा पोक्पुवा खोलाले बगाएर निधन भएकी भोजपुर हतुवागढी गाउँपालिका–३ सिन्द्राङकी चन्द्रमाया राईको परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।
मृतकको परिवार आर्थिक रूपमा कमजोर अवस्थामा रहेको र यस दुःखद घडीमा परिवारलाई केही सहारा तथा सान्त्वना मिलोस् भन्ने उद्देश्यले सहयोग गरिएको हो ।
उक्त सहयोग हतुवागढी–८ खुक्लास्थित साङ्केन्मा सांस्कृतिक समूहद्वारा संकलन गरिएको हो। समूहले चौबीस हजार तीन सय असी रुपैयाँ मृतकका श्रीमान् गोरेबहादुर राई र छोरा समक्ष हस्तान्तरण गरेको हो ।
सहयोग हस्तान्तरण कार्यक्रम हतुवागढी–३ का वडा अध्यक्ष राजकुमार राईको उपस्थितिमा सम्पन्न भएको थियो। वडा अध्यक्ष राईले यस दुःखद घटनाले सम्पूर्ण गाउँलेलाई स्तब्ध बनाएको बताउँदै, मृतकप्रति श्रद्धाञ्जली अर्पण गरे र परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरे ।
गत असोज २० गते, चन्द्रमाया राई माइतीघरबाट फर्किने क्रममा खुकैला र सिन्द्राङ्गको बीचमा रहेको पोप्खुवा खोलाले बगाएर ज्यान गुमाएकी थिइन्। उक्त घटनाले गाउँमा शोकछाएको थियो ।
साङ्केन्मा सांस्कृतिक समूहका तर्फबाट समूहका प्रतिनिधिहरूले भने, “सामाजिक उत्तरदायित्व अन्तर्गत विपद्का बेलामा एक आपसमा सहकार्य गर्नु हामी सबैको कर्तव्य हो।” समूहले भविष्यमा पनि यस्ता दुःखद घडीमा सहयोग गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
स्थानीयको चन्दा र श्रमदानबाट प्रहरी भवन पुनःनिर्माण
रौतहट । रौतहटमा जेनजी आन्दोलनका क्रममा क्षति पुगेको प्रहरी कार्यालय भवन पुनःनिर्माण गरि हस्तान्तरण गरिएको छ ।
गत भदौ २४ गते आन्दोलनका क्रममा जेनजीहरुले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको भवनमा आगजनी गरेका थिए ।
भवनमा आगजनी पछि बस्न अयोग्य भएपछी स्थानीयवासीहरूले चन्दा र श्रमदानबाट भवन पुनःनिर्माण थालेको करिब दुई महिनापछि हस्तान्तरण गरिएको हो ।
उक्त भवन शनिबार प्रहरीलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रहरी नायव उपरीक्षक रुपा लाबुङले जलेको भवनको पुनःनिर्माण गरी प्रहरीलाई बस्न र प्रशासनिक एवम अनुसन्धानमा सहज पुर्याएकोमा भवन निर्माणका अभियन्ताप्रति अभार व्यक्त गरेकी छिन ।
भवन पुनःनिर्माणका लागि स्थानीयवासीहरूले नगद, जिन्सी सामग्री र श्रमदानमार्फत सहयोग गरेका हुन् । भवन निर्माणमा चासो राख्ने र अभियान चलाउने शिवराम राउत, बलराम भण्डारी, तेजबिक्रम कार्कीको भूमिका महत्त्वपूर्ण रहेको नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष सञ्जय कार्कीले बताए ।
चन्द्रनिगाहपुरका युवाहरूको पहलमा बजारमा रहेको अस्थायी प्रहरी पोष्ट पुनःनिर्माण गरिएको छ । प्रहरी भवन निर्माणमा सहयोग गर्ने चन्दादाताहरुको दान समेत सुनाइएको थियो ।
क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने : मन्त्री घिसिङ
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले नगर विकास कोषलाई निष्क्रिय नराखी त्यसको क्षेत्राधिकार विस्तार गरी थप प्रभावकारी बनाइने बताएका छन् ।
शहरी विकास मन्त्रालयअन्तर्गत रहेको नगर विकास कोषका कामकारबाहीको जानकारी लिंदै मन्त्री घिसिङले उक्त कोषलाई प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यकता औंल्याउँदै, इ–मोबिलिटी, विद्युतीय सार्वजनिक यातायात र चार्जिङ स्टेसनजस्ता नयाँ क्षेत्रहरूमा लगानी विस्तार गर्न सुझाव दिएका छन् ।
उनले नगरपालिकासँगको साझेदारीमा फोहोरबाट ऊर्जा उत्पादन गर्ने परियोजनाहरूमा कोषले लगानी गर्न सक्ने सम्भावनाबारे अध्ययन गर्न निर्देशन दिएका छन् ।
मन्त्री घिसिङले भने,‘यस्ता परियोजनाले एकैसाथ फोहोरमैला व्यवस्थापन र ऊर्जा उत्पादन दुबै गर्न सक्ने भएकाले ती लगानीका लागि आशाजनक क्षेत्र बन्न सक्छन् ।’
मन्त्रीले कोषले लगानी गर्न पाउने क्षेत्राधिकार अझ विस्तार गर्न आवश्यक कानूनी व्यवस्थाहरूमा परिमार्जन गर्ने तयारी भइरहेको पनि जानकारी दिए । त्यसक्रममा उनले नगर विकास कोष हाल हरित जलवायु कोषबाट मान्यता प्राप्त गर्ने प्रक्रियामा रहेको र मान्यता प्राप्त भएपछि हरित उर्जा परियोजनामा ठूलो मात्रामा अनुदान र सहुलियतपूर्ण लगानी गर्न सक्ने विश्वास व्यक्त गरे ।
कोषका कार्यकारी निर्देशक विनोद प्रकाश पण्डितका अनुसार नगर विकास कोषको स्वःपूँजी ७ अर्ब रुपैयाँ रहेको छ । साथै, एशियाली विकास बैंकमार्फत ५ अर्ब १९ करोड रुपैयाँ, विश्व बैंकबाट १२ करोड रुपैयाँ र नेपाल सरकारबाट २ अर्ब रुपैयाँ ऋणको रूपमा प्राप्त भएको उनले जानकारी दिए ।
हालसम्म कोषले १६ अर्ब रुपैयाँ बराबरको ऋण प्रवाह गरेको छ । कोषले देशभरका शहरी पूर्वाधार आयोजनाहरूमा वित्तीय (ऋण वा अनुदान) र प्राविधिक सहयोग प्रदान गर्दै आएको छ ।
बसपार्क, खानेपानी, जग्गा विकास, बहुउद्देश्यीय भवन निर्माण लगायतका क्षेत्रमा कोषले लगानी गर्दै आएको उल्लेख गर्दै पण्डितले हाल जेनजी आन्दोलनका कारण क्षति भएका नगर भवनहरूको पुनर्निर्माणमा पनि कोषलाई परिचालन गर्न सकिने अवधारणा अघि सारिएको बताए ।
मन्त्री घिसिङले अन्त्यमा भने, ‘नगर विकास कोषलाई दिगो, उत्पादनमुखी र प्रतिफलदायी लगानीको माध्यमका रूपमा रूपान्तरण गरेर देशको शहरी विकासलाई नयाँ गति दिनुपर्छ ।’
पाकिस्तानी हवाई आक्रमणबाट अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु
काठमाडौं । पाकिस्तानी हवाई आक्रमणमाबाट अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ ।
खेलाडीको मृत्यु भएको घटनाप्रति अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) ले गहिरो दुःख व्यक्त गर्दै पाकिस्तानसहितको आगामी त्रिदेशीय टी–२० आई क्रिकेट श्रृंखलामा आफ्नो देशले सहभागिता नजनाउने घोषणा गरेको छ ।
शनिबार ‘एक्स’ मा विज्ञप्ति जारी गर्दै एसीबीले भनेको छ, ‘पक्तिका प्रान्तको उरगुन जिल्लाका साहसी क्रिकेट खेलाडीहरूलाई पाकिस्तानी शासनले कायरतापूर्ण आक्रमण गरी निशाना बनाएको घटनाप्रति अफगानिस्तान क्रिकेट बोर्ड गहिरो शोक र दुःख व्यक्त गर्दछ ।’
एसीबीका अनुसार उरगुन जिल्लामा भएको उक्त हवाई आक्रमणमा खेलाडी कबीर, सिबगातुल्लाह र हारुनसहित आठ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
तीनै खेलाडी पक्तिका प्रान्तको राजधानी शरानामा भएको मैत्रीपुर्ण क्रिकेट खेलमा सहभागी हुन गएका थिए । खेल सकेर घर फर्किएपछि उनीहरू स्थानीय जमघटमा सहभागी भइरहेका बेला हवाई आक्रमणको निशाना बनेका थिए ।
विज्ञप्तिमा भनिएको छ,‘यस दुखद घटनामा उरगुन जिल्लाका खेलाडी कबीर, सिबगातुल्लाह र हारुनसहित अन्य पाँच जना सहनागरिक मारिएका छन् भने सात जना घाइते भएका छन् । यो अफगानिस्तानको खेल समुदायका लागि ठूलो क्षति हो ।’
एसीबीले शोक सन्तप्त परिवारहरू र पक्तिका प्रान्तका जनताप्रति हार्दिक समवेदना व्यक्त गर्दै आगामी नोभेम्बर अन्त्यतिर पाकिस्तान र श्रीलंकासँग आयोजना गर्न लागिएको त्रिदेशीय टी–२० आई क्रिकेट श्रृंखलाबाट अफगानिस्तानले आफ्नो सहभागिता फिर्ता लिने निर्णय गरेको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ,‘यस दुखद घटनाप्रति श्रद्धाञ्जलि र सम्मानस्वरूप अफगानिस्तान क्रिकेट बोर्डले पाकिस्तान समावेश त्रिदेशीय टी–२० आई श्रृंखलामा भाग नलिने निर्णय गरेको छ ।’
एसीबीले आफ्नो सन्देशको अन्त्यमा प्रार्थना गर्दै भनेको छ,‘अल्लाहले सहिदहरूलाई उच्च स्थान प्रदान गरून्, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ होस् र पीडित परिवारहरूलाई यो कठिन समयमा धैर्य र शक्ति प्रदान गरून् ।’
यसअघि शुक्रबार पाकिस्तानले अफगानिस्तानको दक्षिणपूर्वी पक्तिका प्रान्तमा हवाई आक्रमण गरेको थियो । जसले हालैको युद्धविराम सम्झौतामाथि उल्लंघन गरेको टोलो न्युजले जनाएको छ ।
टोलो न्युजका अनुसार यी आक्रमणहरू उरगुन र बर्मल जिल्लाका आवासीय क्षेत्रमा लक्षित थिए, जसमा उल्लेख्य संख्यामा नागरिक हताहत भएका छन् । यो आक्रमण अफगानिस्तान र पाकिस्तानबीचको ४८ घण्टे युद्धविरामको बीचमा भएको हो । जुन तीव्र सीमा संघर्षपछि लागू गरिएको थियो । पाकिस्तानले दोहा वार्ताको निष्कर्ष ननिस्किँदासम्म युद्धविरामको अवधि बढाउन माग गरेको थियो ।
पाकिस्तानको परराष्ट्र मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै दुबै देशबीच ४८ घण्टे अस्थायी युद्धविराम लागू भएको र वार्ताबाट समस्याको समाधान खोज्ने प्रयास भइरहेको जनाएको थियो ।
तालिबान सरकारका प्रवक्ता जबिउल्लाह मुजाहिदले पनि एक्समा लेख्दै अफगान सेनालाई युद्धविरामको पालना गर्न निर्देशन दिइएको बताए, ‘जबसम्म कुनै प्रकारको आक्रमण हुँदैन, युद्धविराम कायम रहनेछ ।’
एएनआई
काठमाडौंका पाँच क्षेत्रमा दुई महिनासम्म भेला, जुलुस र प्रदर्शन निषेध
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं उपत्यकाका विभिन्न पाँच क्षेत्रमा आगामी दुई महिनासम्म भेला प्रदर्शन, धर्ना र जुलुसजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको छ ।
प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले शुक्रबार आदेश जारी गर्दै शीतल निवास (राष्ट्रपति कार्यालय) महाराजगन्ज क्षेत्र, हरित गृह (उपराष्ट्रपति कार्यालय) लैनचौर क्षेत्र, नारायणहिटी दरबार संग्रहालय, सिंहदरबार क्षेत्र र प्रधानमन्त्री निवास बालुवाटारलाई निषेधित क्षेत्र उल्लेख गरेको हो ।
विरोधका कार्यक्रम आयोजना गर्दा उत्तेजित भीडबाट तोडफोड, आगजनी जस्ता उच्छृङ्खल तथा अवाञ्छित गतिविधि हुन सक्ने र आपसी मुठभेड, भिडन्त एवम हुलदङ्गा वा अशान्ति हुनसक्ने आदेशमा उल्लेख छ ।
अदालतबाट आएको आदेशलाई मध्यनजर गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ‘क’ बमोजिम राष्ट्रपति कार्यालय शीतल निवासलगायतका क्षेत्रहरुमा आजदेखि लागु हुने गरी दुई महिनासम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको हो ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान अगाडिको चोकसम्म, सामाखुशी जाने मोडदेखि सय मिटर दक्षिणसम्म र दक्षिण पश्चिमतर्क सामाखुशी जाने मोडदेखि सामाखुशी खोलासम्म निषेध गरिएको छ भने राष्ट्रियसभा अध्यक्षको निवास, प्रधानमन्त्री निवास, प्रधानन्यायाधीश निवास तथा राष्ट्रबैङ्क चोकदेखि पूर्वतर्फ जाने सडकको सय मिटरसम्म भेला प्रदर्शन निषेध गरिएको छ ।
बर्षा र पहिरोले क्षति पुगेका इलामका पालिकालाई प्राधिकरणको सहयोग
काठमाडौं । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३३ औं बैठकले इलाममा सबैभन्दा बढि क्षति भएका पाँच पालिकालाई ६० लाख, ५० लाख र ४० लाख सहयोग प्रदान गर्ने निर्णय गरेको छ । तत्काल सुचारु गर्नुपर्ने र अति आवश्यक सेवा प्रदान गर्न उक्त सहयोग गर्ने निर्णय भएको हो ।
शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेश प्रसाद भट्टले जानकारी दिएका छन् ।
उनले भने, ‘इलाममा सबैभन्दा बढि क्षति भएका पाँच वडा पालिकालाई ६० लाख, त्यसपछि ५० लाख र त्यसपछि ४० लाख तत्काल सुचारु गर्नुपर्ने अति आवश्यक सेवा सुचारु गर्न सहयोग प्रदान गर्ने निर्णय भएको छ ।’
साथै, उनले ताप्लेजुङ्को मौवा खोलाको पहिरोको जोखिममा रहेको बस्तीलाई स्थायी रुपमा नै अन्य स्थानमा सार्ने निर्णय भएको पनि जानकारी दिएका छन् ।
राष्ट्रिय आपतकालिन सञ्चालन केन्द्र कसरी सञ्चालित गर्ने भन्ने हिसाबले बनाएको कार्यविधि पनि स्वीकृत भएको उनको भनाई छ ।
सोही बैठकमा गृहमन्त्री ओम प्रकाश अर्यालले पनि नेपाल एउटा विपद् जोखिमयुक्त देश भएको हुनाले यसलाई प्रभावकारी रुपमा कसरी सम्बोधन गर्ने, रणनीति कसरी बनाउने,संरचनागत सुधार गर्ने भन्ने विषयमा आगामी दिनमा थप छलफल गरेर निर्णयहरु लिने बताए ।
जनमत पार्टी विभाजन प्रकरण : सिके राउतको पक्षमा सर्वोच्चको अन्तरिम आदेश
सर्लाही । सर्वोच्च अदालतले जनमत पार्टी विभाजनसम्बन्धी विवादमा अध्यक्ष सिके राउतको पक्षमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
शुक्रबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले राउतद्वारा दायर रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै हालसम्म भएका सबै निर्णयलाई यथास्थितिमा राख्न निर्देशन दिएको हो ।
सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले अदालतले अन्तरिम आदेशमाथि छलफल गर्न दुवै पक्षलाई उपस्थित हुन आदेश दिएको जानकारी दिएका छन् । यसका लागि कात्तिक १७ गतेको मितिमा सुनुवाइ तोकिएको छ ।
जनमत पार्टीभित्र उत्पन्न आन्तरिक विवादपछि दीपक साह नेतृत्वको समूहले पार्टी फुटाएर ‘जनस्वराज पार्टी’ गठन गरी निर्वाचन आयोगमा दर्ता गराएको थियो । राउतले सो कदमलाई अवैध भन्दै सर्वोच्चमा रिट दायर गरेका हुन् ।
कीर्तिपुर क्रिकेट रङ्गशालाका गुरुयोजना स्वीकृत, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण
काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसर कीर्तिपुरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला निर्माणका लागि गुरुयोजना स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले शहरी विकास मन्त्रालयको प्रस्तावमा रङ्गशालाको गुरुयोजना स्वीकृत गर्दै आयोजनालाई राष्ट्रिय प्राथमिकता निर्धारण गरेको छ । गुरुयोजना बमोजिम रङ्गशाला निर्माणका लागि करिब १० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले रङ्गशाला नेपालकै पहिलो अन्तर्राष्ट्रिय क्रिकेट मैदान भएको र अन्तराष्ट्रिय खेल तथा पर्यटन प्रवर्धनमासमेत यसको योगदान उल्लेखनीय हुने देखिएकाले गुरुयोजना स्वीकृत गर्दै राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गरिएको बताए ।
रङ्गशालाको विकास र आधुनीकरण नेपालका लागि रणनीतिक रुपमा महत्वपूर्ण रहेको, अन्तर्राष्ट्रिय खेल खेलाउन सुविधा सम्पन्न क्रिकेट रङ्गशाला चाहिएकाले गुरुयोजना बमोजिम स्रोत सुनिश्चित गरी निर्माण अगाडि बढाउने निर्णय गरिएको मन्त्री घिसिङले उल्लेख गरे ।
घिसिङले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रुपमा जग्गा सम्बन्धी सम्झौता, वातावरणीय प्रभाव मूल्याङ्कनलाई अन्तिम रुप दिने र गुरुयोजना बमोजिम रंगशाला विस्तारका लागि दोस्रो चरणको निर्माणका लागि टेण्डर प्रक्रिया अगाडि बढाउन मन्त्रिपरिषद्बाट स्वीकृति प्राप्त भएको बताए ।
केही दिन अघि रङ्गशालाको पहिलो चरणको निर्माण बारे स्थलगत निरीक्षणमा जानु भएका मन्त्री घिसिङले गुरुयोजना वमोजिम भइरहेको निर्माण कार्यलाई राष्ट्रिय प्राथमिकतामा राखी बजेट अभाव हुन नदिने गरी रङ्शाला विस्तारको दोस्रो चरण अगाडि बढाइने बताएका थिए ।
त्रिवि र नेपाल क्रिकेट संघबीचको क्रिकेट मैदान प्रयोग गर्न भएको जग्गा करार सम्झौताको म्याद २०८३ वैशाखमा सकिंदैछ । मन्त्रिपरिषद् बैठकले गुरुयोजना आवश्यक जग्गा प्राप्तिका लागि प्रचलित कानून बमोजिम रङ्गशालाको रुपमा प्रयोग गर्न त्रिवि तथा युवा खेलकुद मन्त्रालय÷ राष्ट्रिय खेलकुद परिषद्बीच सम्झौता गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
हाल रङ्गशालाको पहिलो चरणका संरचना निर्माणाधीन छन् । आगामी १ मङ्सिरबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) भन्दा अगावै रङगशाला निर्माण सम्पन्न गर्ने गरी काम धमाधम भइरहेको छ ।
लोकतन्त्रमा ’वन म्यान आर्मी’को काम छैन : पूर्व मुख्यमन्त्री सिंह
जनकपुर । मधेश प्रदेशका पूर्व मुख्यमन्त्री सतीश कुमार सिंहले जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले आफूलाई वन म्यान आर्मी बुझेकै कारणले आज पार्टी फुट्को आरोप लगाएका छन् ।
जनकपुरधाममा आज पत्रकारसम्मेलन गर्दै पूर्व मुख्यमन्त्री सिंहले पार्टी अध्यक्ष राउतले जहिले पनि एकलौटी गर्न खोजेको आरोप लगाएका छन् ।
सिंहले अध्यक्ष राउतलाई भगवान शिवको संज्ञा दिदै पार्टीका कार्यकर्ताहरुलाई भस्मासुरको जस्तो भूमिका खेप्नु परेको सुनाए । कुनै पनि पार्टीमा अध्यक्षले मात्र चलाउन नसक्ने सिंहले बताए । उनले पार्टीमा उपाध्यक्ष, कोषाध्यक्ष, सचिव, सदस्यलगायत सबैको योगदान हुने बताए ।
तर जनमतका अध्यक्ष डा. राउतले आफू बाहेक कसैको पनि कुरा नसुन्ने र आफूलाई जे चाहियो त्यो मात्र गर्ने गरेको पूर्व मुख्यमन्त्री सिंहले बताए । जनमत पार्टी अध्यक्ष डा. राउतले गठबन्धनमा रहेर गठबन्धनमै रहेका अन्य पार्टीहरुलाई गाली गर्ने गरेको सिंहले बताए ।
पूर्व मुख्यमन्त्री सिंहले नयाँ बनेको मधेश प्रदेश सरकारलाई संघीयता बचाएर राख्न आग्रह गरे । उनले मधेश प्रदेश र मधेश प्रदेशवासीका लागि संघीयता अतिआवश्यक रहेकोले यसलाई बचाउन प्रदेश सरकार मात्र नभई सम्पूर्ण प्रदेशवासीले पनि आआफ्नोतर्फबाट लाग्न आग्रह गरे । जेन जी आन्दोलन पछि नष्ट भएका सरकारी संरचना तथा कार्यालयका आवश्यक सरसामानहरुको यकिन हिसाँब किताब राख्न उनले नयाँ सरकारलाई सुझाव दिए । बँचेका सामानहरु पनि कसैले लगेर जेन जी आनदोलनमा नष्ट भयो भन्ने नहोस भनेर उनले सुझाव दिए ।
पूर्वमुख्यमन्त्री सिंह जनमत पार्टीबाट फुटेर बनेको जन स्वाराज पार्टीमा गएका छन् । आज मधेश प्रदेशका नयाँ मुख्यमन्त्री जितेन्द्र सोनलले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् भने पूर्व मुख्यमन्त्री सिंहको पद आजबाट समाप्त भएको छ ।