मिथिलामा छठ पर्वको तयारी सुरु
सर्लाही । तिहारको समापनसँगै मिथिलाञ्चलमा अब छठ पर्वको रौनक छाएको छ । देशकै प्रमुख धार्मिक पर्वहरूमध्ये एक मानिने छठको स्वागतका लागि यहाँका गाउँ सहर उत्सवमय बनेका छन् ।
सूर्य भगवान र छठी माताको आराधनाको पर्वका रूपमा मनाइने छठका अवसरमा मिथिलाका पोखरी, तलाउ र नदीघाटहरूमा सरसफाइ, मर्मत र सजावट तीव्र गतिमा भइरहेको छ ।
श्रद्धालुहरूले पूजा गर्ने घाटहरूमा खाल्डाखुल्डी पुर्ने, बाटो मर्मत गर्ने, बत्ती र सजावट गर्ने काम धमाधम भइरहेको छ । मिथिलासहित तराई मधेशका बासिन्दा यस पर्वलाई निष्ठा, आस्था र समर्पणसहित मनाउने परम्परा रहिआएको छ ।
चार दिनसम्म चल्ने यो पर्वका लागि घर आँगनदेखि बजारसम्म उत्सवको माहोल छ। बिभिन्न जिल्लाहरूमा पंडालहरू निर्माण, रंगीन बत्ती झिलिमिली र सजावटले वातावरण झनै उल्लासमय बनेको छ ।
राष्ट्रपति पौडेलबाट शुभसाईतमा बहिनीहरूबाट तिहारको टीका ग्रहण
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस वर्षको तिहारको टीका लगाएका छन् ।
राष्ट्रपति पौडेलले बिहिबार राष्ट्रपति भवन शितलनिवासमा ११ बजेर ३९ मिनेटको शुभसाइतमा बहिनीहरू शारदा र चन्दाको हातबाट टीका लगाउनुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३९ मिनेटका लागि निर्धारण गरेको थियो । भाइटीकाको उत्तम साइत तय गरिए पनि दिनभर नै टीका लगाउन सकिने समितिले जनाएको छ ।
यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने गरिन्छ ।
आज तिहारको मुख्य दिन भाइटीका मनाइँदै, टीकाको उत्तम साइत बिहान ११ : ३९ बजे
काठमाडौं । यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ ।
प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको छैटौँ दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् ।
आजको दिनलाई यमद्वितीया पनि भनिन्छ । यमपञ्चकसमेत भनिने तिहार पाँच दिनको हुने भए पनि यस वर्ष तिथि वृद्धि भई छैटौँ दिनमा भाइटीका परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ ।
आज दिनभर टीका लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः३९ बजेको अभिजित् मुहूर्तको समय उत्तम रहेको छ ।
यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ । यसो गरेमा तुला राशिमा रहेका पश्चिमका चन्द्रमा सम्मुख पर्नेछन् । शुभ कर्ममा चन्द्रमालाई अघि (सम्मुख) वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ । शुभ कर्म गर्दा चन्द्रमालाई दाहिने वा सम्मुख पारेर गर्नुपर्ने शास्त्रीय नियम छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ ।
करेन्ट लागेर पूर्व वडाअध्यक्षको मृत्यु
रौतहट । रौतहटको गौरमा करेन्ट लागेर पूर्व वडाअध्यक्षको मृत्यु भएको छ । गौर नगरपालिका–५ का पूर्व वडाअध्यक्ष रामस्वार्थ राय यादवको बुधबार करेन्ट लागेर मृत्यु भएको हो ।
नेकपा एमाले रौतहट जिल्ला कमिटी सदस्य समेत रहेका यादवको करेसाबारीमा विद्युतीय मोटरमार्फत पानी सिँचाइ गर्ने क्रममा करेन्ट लागेको प्रहरीले जानकारी दिएको छ ।
करेन्ट लागेपछि अचेत भएका यादवलाई प्रादेशिक अस्पताल गौर उपचारका लागि ल्याइएको थियो । उनको उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ ।
प्रादेशिक अस्पताल गौरका चिकित्सकले उनलाई ४ः३० बजे मृत घोषित गरेका हुन् । उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमै राखिएको छ । स्थानीय राजनीतिमा सक्रिय यादव समाजसेवीका रूपमा परिचित थिए ।
जेनजीको नाममा ‘नेपालविरुद्धको भयावह षड्यन्त्र’ भयो : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त बनेको आफ्नो बालकोटस्थित निजी निवासको बुधबार अवलोकन गरेका छन् ।
उनले आन्दोलनको नाममा योजनाबद्ध ढंगले आफ्ना सम्पत्तिहरूमा क्षति पुर्याइएको आरोप लगाएका छन् ।
बालकोट निवासमै सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीले आफूलाई पटक–पटक लक्षित गर्दै आक्रमण गरिएको दाबी गरे । ‘देशभरि नै एमाले पार्टी कार्यालयहरू जलाइएका छन् । यसको तयारी पहिले देखिनै गरिएको थियो र खासगरी एमालेलाई टार्गेट गरिएको थियो,’उनले भने ।
ओलीले सरकारलाई घटनाका दोषीहरूलाई कारबाही गर्न नचाहेको आरोप लगाउँदै भने, ‘सबै प्रमाण हुँदाहुँदै पनि सरकार अपराधीहरूलाई जोगाउन लागिपरेको छ । गृहमन्त्रीको अभिव्यक्तिबाट सरकारको मनसाय प्रस्ट देखिन्छ ।’
उनले आन्दोलनका क्रममा अदालतका मुद्दाका मिसिलहरू, सिंहदरबारका ऐतिहासिक दस्तावेज, उद्योग–व्यवसाय, स्कुल र निजी सम्पत्तिहरू जलाइएको उल्लेख गर्दै यो घटनालाई ‘नेपालविरुद्धको भयावह षड्यन्त्र’ भएको बताए ।
उनले भने, ‘पटक पटक मलाई तार्गेट गरिएको नै थियो । देशभरी नै एमाले पार्टी कार्यालयहरु जलाइएका छन्, एमाले पार्टी कार्यालयहरु जलाइएका छन् । यसको तयारी पहिलेदेखि नै थियो र खासगरि एमालेमाथि तार्गेट गरिएको थियो । खासगरी सरकारका निजी सम्पत्ति लुटपाट आगजनी गरिएका छन् जेनजीका नाममा । अदालतमा मुद्दाका मिसिलहरु जलाइएका छन् । सिंहदरबारमा ऐतिहासिक दस्तावेज मिसिलहरु जलाए । यो एउटा नेपालका विरुद्ध भएको भयानक षडयन्त्र थियो । उद्योग व्यवसायहरुका उद्योग कलकारखानाहरु जलाइएँ । व्यवसायहरु जलाए, केवलबार जलाए, अरु विभिन्न कुराहरु जलाए । हुँदाहुँदै स्कुलहरु जलाइँए ।
उनले आफ्नै निवासको सम्पत्ति श्रीमतीले पहिल्यै राज्यको नाममा दिइसकेको भन्दै यसबाट राज्यलाई क्षति पुगेको दाबी गरे ।
ओलीले आफूलाई अझै व्यक्तिगत रुपमा लक्षित गरिन सक्ने गम्भीर आशंका रहेको भन्दै राज्य संयन्त्रप्रति गम्भीर प्रश्न उठाएका छन् । ‘सरकार अझै जेनजीलाई उचालेर हामीलाई दबाब दिन खोजिरहेको छ,’उनले भने ।
ओलीले सम्पूर्ण घटनाको निष्पक्ष छानबिनको माग गर्दै दोषीमाथि कडा कारबाही गर्न सरकारसँग आग्रह गरेका छन् ।
तिहारको पाँचौ दिन : आज गाई पूजा पनि गरिंदै
काठमाडौं । कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको पाँचौ दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।
गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ ।
गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक विश्वास छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले गर्ने प्रत्येक कर्ममा गाईदान गर्ने विधि छ । .
गाईलाई गौमाताका रुपमा सम्मान पनि गरिन्छ । गाईलाई सम्मानका साथ राष्ट्रिय जनावरका रुपमा राखिएको छ । आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास समेत रहेको छ ।
रामेछापमा मध्यपहाडी लोक मार्ग निर्माण सकिने बत्तिकै धसियो
रामेछाप । पूर्वलाई राजधानीसँग जोड्ने छोटो मार्ग बिपी राजमार्गको वैकल्पिक मार्गको रूपमा रहेको पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत कोथवे–लुभु–डहु डोजरडाँडा ११ किलोमिटर सडक खण्ड काम सकिने बित्तिकै धसिएको छ ।
गएको असारमा निर्माण सम्पन्न भएको सो सडक ठाउँ ठाउँमा भासिएको सुनापति गाउँपालिका–४ का राज मैनालीले जानकारी दिए । सो सडकको करिब ५ किलोमिटरभन्दा बढी हिस्सा पैरो र भासले क्षति ग्रस्त भइसकेको मैनालीले जनकारी दिए ।
गुणस्तरहीन निर्माण र कमजोर प्राविधिक स्टिमेटका कारण सो सडक बनाउने बित्तिकै भत्किएको मैनालीले बताए । यसबाट जनताको करको दुरुपयोग भएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएको भए पनि सुनुवाइ नभएको मैनालीले गुनासो गरे ।
उनले स्थानीयलाई यस्तो निर्माण कार्यको खबरदारी गर्न र दिगो निर्माणको पहल गर्न पनि आह्वान गरे । गुणस्तरीय र दिगो निर्माण नहुँदा आवागमनमा नै जोखिम बढेको उनले बताए ।
यस विषयमा पुष्पलाल मध्यपहाडी लोकमार्ग योजना कार्यालय रामेछापका सूचना अधिकारी हर्कबहादुर प्रधानले माथिबाट पानी बगेको कारण सडक धसिएको र त्यसको मर्मत गरिने जानकारी दिए ।
प्रधानमन्त्री कार्कीले गरिन् जेनजी आन्दोलका घाइतेहरूसँग छलफल
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलका घाइतेहरूसँग बालुवाटारमा ४ घण्टाभन्दा बढी समय छलफल गरेकी छन् । आज बिहान साढे १० बजे सुरु भएको छलफल केहीबेरअघि सकिएको हो ।
घाइतेहरूले सरकारलाई भ्रष्टाचारी र दमनकारीविरुद्ध कठोर ढंगले प्रस्तुत हुन सुझाव दिएका छन् । भ्रष्टाचारीमाथि कारबाही नभए सडकमा उत्रिएर अर्को आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् ।
घाइते रुपिन खड्काको नेतृत्वमा आएको १८ जनाको समूहले क्रान्तिबाट आएको सरकारले क्रान्तिकारी कदम चाल्नुपर्ने बताए ।
घाइतेहरूका तर्फबाट खड्काले भने, ‘जसका विरुद्ध हामीले आन्दोलन गरेका थियौँ, तिनीहरूलाई तत्काल पक्राउ गर्न केले छेकेको छ? नियमले छेक्यो कि कानुन र संविधानले छेक्यो कि ? जहाँ बाधा छ, त्यहीँबाट फुकाउनु सुरु गरौँ ।’
गृहमन्त्री ओमप्रकाश अर्यालले भ्रष्टाचार र आन्दोलनमा भएको दमनबारे छानबिनमा भएको प्रगतिबारे अवगत गराए ।
‘तपाईँ चुनाव चुनाव मात्र भनिरहनुभएको छ । के ०८४ को चुनाव ०८२ मा सार्न मात्र यो सरकार आएको हो?’ घाइते प्रतिनिधिहरूको भनाइ थियो ।
छलफलमा प्रधानमन्त्री कार्की, गृहमन्त्री अर्याल, ऊर्जामन्त्री कुलमान घिसिङ, शिक्षामन्त्री महावीर पुन, सञ्चारमन्त्री जगदीश खरेलको पनि सहभागिता थियो ।
प्रधानमन्त्री कार्कीले भनिन्, ‘हामी जेनजी आन्दोलनको मर्मभन्दा बाहिर जाँदैनौँ । प्रक्रियासम्मत ढंगले कानुनी रुपमा तल नपर्ने गरी हामी काम गर्छौँ । हामीलाई दिइएको म्यान्डेटअनुसार चल्छौँ । चुनाव पनि हुन्छ, भ्रष्टाचारको अनुसन्धान पनि हुन्छ। राज्यका स्थापित निकायले तीव्र गतिका साथ भ्रष्टाचारको छानबिन गरिरहेका छन् । आआफ्नो ठाउँबाट काम भइरहेको छ । तपाईँहरु बोल्न नछाड्नुहोस्। हामीलाई दबाब दिन पनि नछाड्नुहोस्। हेर्नुहोला, अब नतिजा आउँछ । छानबिनमा परेपछि बाहिर कसले केके बोलिरहेका छन्, सुन्नुभएकै होला ।’
घाइतेहरूले कतिपय आरोपित व्यक्ति भाग्न खोजेको र अकुत सम्पत्ति लुकाउन लागेको भन्दै चिन्ता व्यक्त गरेका थिए ।
गृहमन्त्री अर्यालले भाग्न खोजेकाहरू, लुकेकाहरू पनि भाग्न नसक्ने अवस्था आएपछि ‘नेपालमै छु’ भनेर देखापर्न थालेको बताए ।
महाकालीको भुजेलाघाटमा विपिन जोशीको अन्त्येष्टि
कञ्चनपुर । इजरायल–हमास युद्धका क्रममा मृत्य भएका विपिन जोशीको आज कञ्चनपुरस्थित महाकाली नदी किनारमा अन्त्येष्टि गरिएको छ । महाकालीको भुजेलाघाटमा उनले अन्त्येष्टि गरिएको हो ।
विपिन जोशीको सम्मानमा सशस्त्र प्रहरीले सलामी अर्पण गरेको थियो । सोमबार दिउँसो काठमाडौं ल्याइपुर्याइएको विपिनको शव नेपाली सेनाको स्काइ ट्रकबाट धनगढी हुदैँ कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीस्थित घर पु¥याइएको थियो ।
शव हस्तान्तरण गर्न उनको घर पुगेका नेपालस्थित इजरायली दूतावासका अधिकारीहरुसहित आज बिहान शवयात्रा निकाली महाकालीको भुजेलाघाटमा अन्त्येष्टि गरिएको छ ।
अन्त्येष्टिमा विपिनका परिवार, इष्टमित्र, जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, नगर प्रहरी लगायत सहभागी थिए ।
विपिन सन् २०२३ मा अध्ययनका लागि इजरायल पुगेका थिए भने इजरायल पुगेको केही दिनमै हमासको आक्रमणमा परेका थिए ।
विद्युत् महसुल नबुझाएको हेटौंडाको शिवम् सिमेन्ट उद्योगको लाइन काटियो
हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ हटियामा रहेको शिवम् सिमेन्ट उद्योगको विद्युत् लाइन काटिएको छ । नेपाल विद्युत् प्राधिकरणले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेर प्रिमियम महसुल नतिरेको कारण शिवम् सिमेन्ट उद्योगको लाइन काटेको हो ।
शिवम् सिमेन्ट उद्योगले ७७ करोड ८८ लाख रुपैयाँ महसुल बुझाउन बाँकी रहेकाले लाइन काटिएको नेपाल विद्युत् प्राधिकरण हेटौँडा वितरण केन्द्रका प्रमुख शिवराज यादवले बताए । आज बिहान शिवमको लाइन काटिएको जानकारी दिए ।
प्राधिकरणले मङ्गलबार बिहान जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डष्ट्रिज र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत् लाइन काटेको छ ।
जगदम्बाको १ अर्ब ६० करोड, रिलायन्सको ७५ करोड ३७ लाख, घोराहीको ५० करोड ८५ लाख, अर्घाखाँचीको ४४ करोड ८४ लाख र त्रिवेणीको ३२ करोड १० लाख रुपैयाँ रहेको छ । यो बक्यौता २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको थप महसुल बापतको हो ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले तिहारको सार्वजनिक बिदामा पनि उद्योगको बक्यौता रकम तिर्न सक्ने गरी काउन्टरको व्यवस्था गरिएको बताए ।