बैंकक उडिन् सान्या, मिस युनिभर्समा भाग लिने
काठमाडौं । मिस युनिभर्स नेपाल सान्या अधिकारी ‘मिस युनिभर्स’को ७४ औं संस्करणमा भाग लिन थाइल्याण्डतर्फ प्रस्थान गरेकी छन् ।
मिस युनिभर्स नेपाल सान्यालाई मिस युनिभर्स नेपालकी राष्ट्रिय निर्देशन संगीता पुरी र आयोजक संस्थाका प्रतिनिधीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर विदाई गरेका छन् ।
नोभेम्बरमा थाइल्याण्डमा यसवर्षको मिस युनिभर्सको प्रतिस्पर्धा हुँदैछ । २१ नोभेम्बरमा बैंकक महानगरीय क्षेत्रको नोन्थाबुरीको पाक क्रेटमा रहेको इम्प्याक्ट च्यालेन्जर हलमा फिनाले आयोजना गरिएको छ ।
थाइल्याण्डले चौंथो पटक मिस युनिभर्सको प्रतिस्पर्धा आयोजना गरेको हो । ११९ जना सुन्दरीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने जनाइएको छ । साउदी अरेबियाले पहिलोपटक भाग लिँदैछ । नेसनल कस्ट्युम र प्रारम्भिक प्रतिस्पर्धा १९ नोभेम्बरदेखि सुरु हुने जनाइएको छ ।
गत असोजमा ललितपुरस्थित रोयल टुलिप होटलमा सम्पन्न ग्रान्ड फिनालेबाट सान्या बिजेता बनेसँगै २ लाख नगदसहित हजारौं रकम बराबरका उपहारहरू प्राप्त गरेकी थिइन् । ग्लोबल ग्ल्यामर भेन्चरले केही वर्षयता नेपालमा मिस युनिभर्स प्रतियोगिता आयोजना गर्दै आएको छ ।
मन्त्री घिसिङद्वारा सिंहदरबारस्थित संघीय संसद भवनको स्थलगत निरीक्षण
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले शनिबार सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवनको स्थलगत निरीक्षण गरेका छन् ।
निरीक्षणका क्रममा मन्त्री घिसिङले संसद भवन निर्माण कार्यमा देखिएका ढिलाइप्रति चिन्ता व्यक्त गर्दै निर्धारित समयमै काम सम्पन्न गर्न निर्देशन दिएका छन् ।
उनले भने, ‘पहिलो पटक सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवन अवलोकन गर्दा पुरानो संसद भवन जेनजी आन्दोलनका क्रममा आगलागी भएर पूर्ण रूपमा ध्वस्त भएको अवस्था छ । अब निकट भविष्यमा राष्ट्रियसभा बैठक र फागुन २१ गतेपछि निर्वाचित प्रतिनिधिसभाको बैठक सञ्चालन गर्नुपर्ने भएकाले नयाँ भवन समयमै सम्पन्न गर्न अत्यावश्यक छ ।’
उनले पुरानो संसद भवन पुनर्निर्माण गर्न अझै धेरै समय लाग्ने भएकाले नयाँ भवन छिट्टै सम्पन्न नगरे ठूलो असर पर्न सक्ने बताए ।
उनले भने, ‘हामीले यो नयाँ संसद भवन छिटो भन्दा छिटो सम्पन्न गर्न सकेनौं भने त्यसको असर धेरै पर्ने हामीले देखेका छौं ।’
मन्त्री घिसिङले निर्माण कार्य तीव्रगतिमा अघि बढाउन ठेकेदार कम्पनीहरूबीच सहकार्य र समन्वय आवश्यक रहेको बताए । उनले भने, ‘यो भवनलाई समयमै सम्पन्न गर्नका लागि सिभिल कन्ट्रयाक्टर र अन्य ठेकेदारबीच समन्वय गरी हरेक दिनको कार्यतालिका (सेड्युल) बनाउनुपर्छ । साथै, त्यसको प्रगति प्रत्येक दिन बेलुका समीक्षा गर्नुपर्छ ।’
काठमाडौँ महानगरपालिकाले छठका लागि आठ स्थान तोक्यो
काठमाडौँ । आगामी छठ पर्वलाई लक्षित गर्दै काठमाडौँ महानगरपालिकाले भक्तजनहरूका लागि आठ वटा स्थान तोकेको छ। महानगर प्रहरी बलको कार्यालय सुन्धारामा आयोजित पत्रकार भेटघाटमा महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेले तयारीको अवस्थाबारे जानकारी दिएका हुन्।
उनका अनुसार विगतका वर्षहरूझैँ यस वर्ष पनि भक्तजनहरूले सहज र सुरक्षित वातावरणमा पूजाआजा गर्न सकून् भनेर तयारी तीव्र रूपमा अघि बढाइएको छ। पाण्डेले भने, “विगतजस्तै यस वर्ष पनि काठमाडौँ महानगरपालिकाले छठ पर्वका लागि आठ स्थान तय गरेको छ। ती स्थानहरूमा सरसफाइदेखि आवश्यक पूर्वाधार तयार गर्ने काम केही दिन अघिदेखि नै सुरु गरिएको छ।”
महानगरपालिकाले तय गरेका स्थानहरूमा कमल पोखरी, गौरीघाट, बोक्सी दह, बागमती दोभान, टंकेश्वर, बल्खु कुमारी क्लब, कुलेश्वर भलिबल ग्राउण्ड र रामघाट रहेका छन्।
प्रहरी प्रमुख पाण्डेले भक्तजनहरूलाई यी तोकिएका स्थानहरूमा गई सुरक्षित, व्यवस्थित र श्रद्धापूर्वक छठ पर्व मनाउन आग्रह गरे। साथै, भीड व्यवस्थापन, सरसफाइ र सुरक्षाका सबै आवश्यक तयारी पूरा भइसकेको जानकारी पनि उनले दिएका छन्।
रुकुम पश्चिमको बाफिकोटमा भएको जीप दुर्घटनामा ७ को मृत्यु, १० घाईते
सुर्खेत । रुकुम पश्चिमको बाँफिकोटमा जीप दुर्घटनामा सात जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना घाईते भएका छन् । दुर्घटनामा पाँचको घटनास्थलमै र दुई जनाको उपचारकाक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
शुक्रबार साँझ रुकुम पश्चिमको सदरमुकाम मुसीकोट खलंगाबाट आठबिसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको रा १ ज ४२२ नम्बरको जिप बाँफिकोट गाउँपालिकाको झारमारे लेकमा दुर्घटनामा परेको हो ।
जीप दुर्घटनामा आठबिसकोट नगरपालिका–२ स्यालाका ३० वर्षीया कमला वली, १६ वर्षीय टेकजंग बुढा, १५ वर्षीया दिलमाया बूढा, १७ वर्षीया मनिका वली, १८ वर्षीया शर्मिला विक, २२ वर्षीय गोपाल वली छन् भने एक जनाको पहिचान खुलेको छैन ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार दुर्घटनामा १० जना घाइते भएका छन् ।
घाईते मध्ये जीप चालक टोपजंग बुढासहित ६ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको उद्धार गरेर स्थानीय मेडिकलमा प्राथमिक उपचार पछि जिल्ला अस्पताल सल्ले ल्याईएको निरीक्षक पुनले जानकारी दिए ।
अवकाशअघि मलंगवा अस्पतालका प्रमुखद्वारा लाखौंको सरकारी सामग्री निजी निवासतर्फ सारिएको खुलासा
सर्लाही । प्रदेशिक अस्पताल मलंगवा सर्लाहीका प्रमुख डा. संजीव कुमार सिंह यही कार्तिक १७ गते अवकाश हुन लागेका छन् । तर, अवकाशपूर्व नै उनले अस्पतालमा रहेका र विभिन्न सप्लायर्समार्फत खरिद गरिएका लाखौं मूल्यका सरकारी सामग्रीहरू आफ्नो निजी प्रयोगका लागि सारेको आरोप लागेको छ ।
अस्पतालका स्रोतका अनुसार, डा. सिंहले गएको शनिवार र शुक्रबार अस्पताल परिसरमा रहेका तथा केही व्यापारीहरूसँगको मिलेमतोमा मँगाइएका पलंग, दराज, डस्ना, पंखा, कुलर लगायतका सामग्रीहरू अस्पतालको गाडीमार्फत बिरगञ्जस्थित आफ्नै निजी निवासमा पठाएका हुन् ।
साक्षीका रूपमा रहेका केही कर्मचारीहरूले अस्पतालको आधिकारिक गाडीमा ती सामग्रीहरू लोड गरी बाहिर पठाइएको पुष्टि गरेका छन् । ती सामग्रीहरू अस्पतालको आवश्यकताका लागि खरिद गरिएका थिए भने उनीहरूले ‘अवकाशअघि नै अस्पतालका सम्पत्ति आफ्नो स्वार्थमा प्रयोग गर्ने तयारी भएको’ आरोप लगाएका छन् ।
घटनाबारे जानकारी लिँदा अस्पतालका अन्य चिकित्सक तथा कर्मचारीहरूले समेत आक्रोश व्यक्त गर्दै यसबारे तत्काल छानबिनको माग गरेका छन् ।
उनीहरूले भने, ‘अस्पतालका नाममा खरिद गरिएका वस्तुहरू निजी घरतर्फ लैजानु दुरुपयोगको स्पष्ट उदाहरण हो। यसमा सम्बन्धित निकायले कडा कारबाही गर्नुपर्छ ।’ भन्दै आक्रोश प्रकट गरेका छन् ।
यस घटनापछि अस्पतालभित्र चर्को आलोचना भएको छ । केही कर्मचारीहरूले भने अस्पताल प्रशासन र स्वास्थ्य कार्यालय मधेस प्रदेशले तत्काल छानबिन टोली गठन गरी सत्य तथ्य सार्वजनिक गर्नुपर्ने माग गरेका छन् ।
उता, प्रमुख डा. संजीव कुमार सिंहसँग सम्पर्क गर्ने प्रयास गरिएको भए पनि उनको कुनै प्रतिक्रिया प्राप्त हुन सकेको छैन । स्थानीय स्रोतका अनुसार, डा. सिंहले प्रमुखको पदमा रहँदा अस्पतालका कामकाजमा विवाद र अनियमितता बढ्दै गएको गुनासो पनि बारम्बार उठ्दै आएको थियो । अब अवकाशपूर्व नै सरकारी सामग्री निकालिएको घटना बाहिरिएपछि अस्पताल प्रशासनको विश्वसनीयतामाथि थप प्रश्न उठेको छ ।
छठअघि वीरगन्जमा प्रदूषणविरुद्ध आक्रोश, उद्योगका अधिकारीलाई कालो मोसो
वीरगन्ज । छठ पर्व नजिकिँदै गर्दा सिर्सिया नदी प्रदूषणको विषयले फेरि तराईको जनजीवन तातिएको छ । वीरगन्ज महानगरपालिका–३२, चोर्नीस्थित नेपाल पेट्रो ल्युब इन्डस्ट्रिज प्रा.लि. का एक अधिकारीमाथि शुक्रबार स्थानीयवासीले कालो मोसो दलेका छन् ।
स्थानीयहरूको एक समूहले कम्पनी परिसरमै प्रवेश गरी प्रशासन शाखाका अधिकारी काशीनाथ तिवारीमाथि दुव्र्यवहार गर्दै कालो मोसो दलिएको प्रहरीले पुष्टि गरेको छ । तिवारीले घटनापछि आफ्नो आँखामा जलन र असहजता भएको बताएका छन् ।
स्थानीयवासीका अनुसार, कम्पनीबाट उत्पादन हुने ‘म्याक्सोल ल्युब्रिकेन्ट’को रासायनिक फोहोर बिना प्रशोधन सिंधै नजिकैको नदीमा फ्यालिँदै आएको छ । यसका कारण सिर्सिया नदी दिनहुँ बढी प्रदूषित हुँदै गएको र स्थानीयको स्वास्थ्यमा गम्भीर असर पर्न थालेको आरोप उनीहरूको छ ।
विशेषगरी छठ पर्वको तयारी चलिरहेका बेला नदीको पानी फोहोर हुँदा व्रतालुहरूलाई स्नान र पूजा गर्न कठिनाइ भएको भन्दै आक्रोश चरममा पुगेको बताइन्छ ।
स्थानीयहरूले विगत एक सातादेखि उद्योगबाट निस्कने फोहर रोक्न वा उद्योग नै बन्द गर्न माग गर्दै आएका थिए । तर माग बेवास्ता भएपछि शुक्रबार करिब ३०–४० जनाको समूह कम्पनीभित्र प्रवेश गरी हल्ला–हुल्लड र तोडफोड प्रयास गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
घटनापछि प्रहरीको टोली घटनास्थल पुगेको र स्थिति नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
एकीकृत समाजवादीले केन्द्रीय समिति बैठक बोलायो
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले केन्द्रीय समिति बैठक बोलाएको छ। विभिन्न वामपन्थी शक्तिसँग एकताको प्रस्तावमा छलफल गर्न आगामी कात्तिक १२ गते बैठक बोलाइएको हो।
पार्टीका अनुसार वामपन्थी तथा कम्युनिस्ट समाजवादी पार्टीहरूसँग चलिरहेको एकतासम्बन्धी वार्ता प्रक्रियालाई यथाशीघ्र निष्कर्षमा पुर्याउने उद्देश्यले बैठक केन्द्रित हुनेछ। बैठकमा एकतापछि पार्टीको वैचारिक तथा सैद्धान्तिक दृष्टिकोण, नेताहरूको व्यवस्थापन र आगामी राजनीतिक रणनीतिबारे विस्तृत छलफल हुने बताइएको छ।
सिँचाइको अभावमा बाजुराका ड्रयागन किसान समस्यामा
बाजुरा । बाजुरामा ड्रयागन खेती सिँचाइको अभावमा समस्या भोग्दै आएको छ। पछिल्लो समय जिल्लामा ड्रयागन खेतीको रुचि बढ्दै गए पनि आवश्यक सिँचाइ सुविधा नहुँदा बोट सुकेर नोक्सानी हुने क्रम बढेको किसानहरूको गुनासो छ।
ड्रयागन खेतीमा एकपटक बिरुवा लगाइएपछि नियमित गोडमेल र सिँचाइ आवश्यक पर्छ। तर सिँचाइको अभावमा बिरुवा राम्ररी हुर्किन नसक्ने र फल उत्पादनमा समस्या आउने किसानहरूको अनुभव छ। हिमाली गाउँपालिका–६ धुलाचौरका ड्रयागन किसान विष्णुराज पाण्डेले सिँचाइ नहुँदा बोटहरू मर्ने समस्या आएको बताए।
उनका अनुसार उनले करिब चार रोपनी खेतमा ८०० बोट ड्रयागन लगाएका छन्। “सिँचाइ र बजारको सुविधा भएको खण्डमा यो खेतीबाट राम्रो आम्दानी गर्न सकिन्छ,” पाण्डेले भने। उनले हिमाली बहुउद्देश्यीय कृषि फर्ममार्फत कृषि ज्ञान केन्द्र बाजुराको सहकार्यमा खेती सुरु गरेका हुन्।
ज्ञान केन्द्रको ५० प्रतिशत (करिब ४ लाख ७० हजार रुपैयाँ) अनुदान र बाँकी आफ्नै लगानीमार्फत उनले चितवनबाट बिरुवा खरिद गरी खेती विस्तार गरेका हुन्।
यस्तै, स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोट र वडा नं. ४ खोलीकुना क्षेत्रमा पनि किसानहरूले ड्रयागन खेती गरिरहेका छन्। तर यी क्षेत्रहरूमा पनि सिँचाइको अभाव प्रमुख चुनौती बनेको किसानहरूले बताएका छन्। अन्तिमजङ्ग शाहीले खोलीकुनामा आफ्नै नमुना फर्म सञ्चालन गरी खेती गरिरहेका छन्।
पछिल्लो समय जिल्लाको बूढीगङ्गा नगरपालिका क्षेत्रका केही किसानहरूले पनि ड्रयागन खेती सुरु गरेका छन्। राम्रो उत्पादन सम्भावना देखिए पनि सिँचाइ सुविधाको अभावमा बिरुवा जोगाउन मुस्किल हुने किसानहरूको भनाइ छ।
ड्रयागन फलको तौल साधारणतया २०० ग्रामदेखि १.२ केजीसम्म हुने गर्छ। यस फलमा १२ प्रकारका मिनरल्स र भिटामिन पाइने, क्यान्सरविरुद्ध प्रतिरोधात्मक गुण हुने तथा गर्मी र सुख्खा हावापानीमा पनि राम्रोसँग फल्ने विशेषता छ। थाइल्यान्ड, भियतनाम, चीन, इन्डोनेसिया, ताइवान, जापान, कोरिया, कोलम्बिया, मेक्सिको, ब्राजिल, अर्जेन्टिना आदि मुलुकमा यो फल लोकप्रिय छ भने हाल नेपालमा पनि यसको खेती विस्तार हुँदै गएको छ।
सर्लाहीमा फेसबुकमा आफू विरुद्व पोस्ट गरेको भन्दै वडा अध्यक्षद्वारा जेन–जी युवामाथि कुटपिट
सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका – १ मा वडा अध्यक्षकै नेतृत्वमा जेन–जी युवामाथि सामूहिक कुटपिट भएको छ । वडा नं. १ का अध्यक्ष रामेश्वर प्रसाद महतो, उनका आफन्त मुकेश, अजय, अनिल महतो र सहयोगी राम साह, विजय महतो तथा शंकर महतोलगायतको समूहले किसनपुरका जेन–जी युवा विवेकानन्द गुप्तामाथि कुटपिट गरेको स्थानीयहरूले बताएका छन् ।
स्थानीयका अनुसार महतो पक्षले गुप्ताको घरमै पुगेर घेराउ गर्दै आक्रमण गरेको हो । घटनापछि गाउँमा तनावपूर्ण वातावरण सिर्जना भएको थियो । त्यसपछि प्रहरीको टोलि घटनास्थलमा पुगेको थियो । प्रहरी पुगेपछि तनाव नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता सरोज राईका अनुसार वडा अध्यक्षको टोलि युवाको घरमा कुटपिट गर्ने शैलीमा प्रवेश गरेपछि तनावपूर्ण अवस्था बनेको बुझिएको छ । यता वडा अध्यक्ष महतोलाई सम्पर्क गर्दा उनले केहि बोल्न चाहेनन् आफू गाउँभन्दा बाहिर रहेको बताए ।
घटनाको सुरुवात वडा कार्यालयको मोटरसाइकल प्रयोग सम्बन्धी विवादबाट भएको बताइन्छ । गत कार्तिक २ गते वडा सचिव रमन लुइँटेलको मोटरसाइकल अध्यक्ष महतोले आफ्नो प्रयोजनका लागि लिएका थिए ।
सचिवलाई जानकारी नदिई मोटरसाइकल लगिएको भन्दै केही जेन –जी युवाहरूले सामाजिक सञ्जालमा ‘वडा अध्यक्षले मोटरसाइकल चोरी गरेका हुन्’ भन्ने पोस्ट गरेपछि विवाद चर्किएको हो ।
सोही पोस्टको प्रतिशोधस्वरूप वडा अध्यक्ष पक्षले विवेकानन्द गुप्तामाथि कुटपिट र गालीगलौज गरेको जेन–जी युवाहरुले बताएका छन् । वडा कार्यालयका सहयोगी पशुपति महतोका अनुसार आइतबार राति करिब १० बजे कार्यालय खोल्दा अध्यक्षले लगेको मोटरसाइकल फर्काएर त्यही राखिएको पाइएको थियो ।
वडा सचिव रमन लुइँटेलले पनि घटना पुष्टि गर्दै भने, ‘वडा अध्यक्षले मेरो मोटरसाइकल बिना अनुमति लग्नु चोरी नै हो ।’ यस घटनापछि जेन–जी समूहका नेता उदय प्रकाश साहको नेतृत्वमा युवाहरूले वडा अध्यक्षविरुद्ध कारबाहीको मागसहित विरोध प्रदर्शन गरेका छन् ।
उनीहरूले ‘वडा अध्यक्षलाई पक्राउ गर’ भन्ने नारासहित प्रदर्शन गरेका थिए । घाइते विवेकानन्द गुप्ताले आफूले पटक–पटक वडा अध्यक्षको अनियमित कार्यको विरोध गर्दै आएको र त्यसकै कारण आफू लक्षित कुटपिट भएको बताए ।
सोलुखुम्बुमा जिप दुर्घटना : ३ जनाको मृत्यु, ६ घाइते
रामेछाप । सोलुखुम्बुमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार माप्य दुधकोशी गाउँपालिका–६ भिरकुनामा बिहीबार साँझ वाग्मती प्रदेश ०१–०३१ च ५९२४ नम्बरको जिप सडकबाट करिब ५ सय मिटर तल खस्दा दुर्घटना भएको हो । दुर्घटनामा तीन महिलाको ज्यान गएको प्रहरीले जनाएको छ ।
मृतकमा सोलुखुम्बु महाकुलुङ गाउँपालिका–३, छेस्कामकी १६ वर्षीया हबी राई, सोही स्थानकी २० वर्षीया शान्ति राई र नाम नखुलेकी अर्की एक महिला रहेको प्रहरीले जानकारी दिएको छ ।
जिपमा ११ जना सवार थिए। तीमध्ये ६ जना घाइते र २ जना सकुशल रहेका छन् । घाइतेहरूमा चालक श्रीध्वज राई, गंगा राई, बस्तीकला राई, समया राई, सजना राई र उमेश राई रहेका छन् । घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको बताइएको छ ।
घाइते १६ वर्षीया समया राई र १० वर्षीय उमेश राई उपचारपश्चात् डिस्चार्ज भएका छन् भने अन्यलाई थप उपचारका लागि जिल्ला अस्पताल फाप्लु पठाइएको प्रहरीले जनाएको छ ।
मृतकको शव महाकुलुङ आधारभूत अस्पताल, बुङमा पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपी मनोजित कुँवरले जानकारी दिए ।