सोमबार, २९ मंसिर २०८२

/frontend/images/redline.png
https://www.jawaaf.com/storage/01HTCYNAJFKEZ4G2XEZK5NN1FG.jpg

मुख्यमन्त्रीद्वारा वैद्यनाथ खोलाको पुल उद्घाटन गरियो

उदयपुर ः कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज उदयपुरको कटारी नगरपालिका – ६ र ७ जोड्ने वैद्यनाथ खोलामा निर्माण भएको पक्की पुल उद्घाटन गरेका छन् । पुलको उद्घाटन गर्दै उनले प्रदेश सरकारले पूर्वाधार विकास तथा निर्माणका क्षेत्रमा काम गरिरहेको भन्दै यो आँगनको सरकार रहेको बताए । यस पुलले धेरैलाई प्रदेशको राजधानी विराटनगर र काठमाडौँसँग जोडेको जनाउँदै मुख्यमन्त्री कार्कीले प्रदेशले भौतिक सँगै मानवीय विकासमा जोड दिएको बताए । “सडक स्तरोन्नतिसँगै नागरिकको भविष्य उज्ज्वल बनाउने मानवीय विकास तर्फ सरकार लागेको बताए । 

बालबालिकाको पढाइ, स्वास्थ्य तथा सीप विकासको जिम्मा प्रदेश सरकारले लिन्छ । पूर्वाधार विकास कार्यालय उदयपुरको आयोजनामा आज भएको उद्घाटन कार्यक्रममा प्रदेशका भौतिक विकास मन्त्री कमलप्रसाद जबेगूले सहर केन्द्रित विकासभन्दा पहाड केन्द्रित विकासमा प्रदेश सरकार लागेको बताए । उद्योग, कृषि तथा सहकारी मन्त्री राजकुमार खत्रीले पुल निर्माण सम्पन्न भएसँगै स्थानीयलाई आवागमनमा सहज हुने बताए । प्रदेश सरकारको पहलमा कटारी अस्पताललाई ५० शय्याको अस्पतालको रूपमा विकास गरिने मन्त्री खत्रीले बताए । केही समयअघि अस्पताललाई ५० शय्यामा विस्तार गर्नका लागि अर्थ मन्त्रालयमा सिफारिस गरिएको उनले जानकारी दिए । मन्त्रालयले पनि स्वीकृति प्रदान गरिसकेको उनको भनाइ छ । 

कटारी नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठले यस पुलले कटारी–६ र ७ सँगै पहाडी ताप्ली, उदयपुरगढी, लिम्चुङवुङ गाउँपालिकाका स्थानीयलाई सहज भएको बताए । कटारी–७ का वडाध्यक्ष सुविन ढुङ्गानाले पुल निर्माण भएपछि यहाँका किसानले उत्पादन गरेका कृषि सामग्री बजार पु¥याउन सहज हुने बताए । प्रदेश सरकारअन्तर्गत सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालय मार्फत रु १४ करोड ९४ लाख ७३ हजार एक सयको लागतमा पुल निर्माण भएको हो । दुई वर्षभित्रमा निर्माण सक्नेगरी पुलको केएम इञ्जीनीयर्स विल्डर्स प्राली काठमाडौँले ठेक्का पाएको थियो । दुई वर्षमा निर्माण गरिसक्ने सम्झौता गरिएको पुल १५ महिनामै सम्पन्न भएको हो । ८४ दशमलव ४० मिटरको पुल दुई स्पामको बनेको छ ।

प्रकाशित मितिः सोमबार, १९ चैत २०८०
https://www.jawaaf.com/storage/01HTCXRV3XS7NXNJXSD30NVB6H.jpg

शिक्षामा दलीय राजनीति अन्त्यको अभियान सञ्चालन गरिनेः मन्त्री श्रेष्ठ

धरान ,शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रमा रहेको दलीय राजनीति अन्त्यका लागि अभियान सञ्चालन गरिने बताएका छन् । राष्ट्रिय सभाको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा मन्त्री श्रेष्ठले शिक्षा क्षेत्रको दलीय राजनीति अन्त्य गर्ने अभियानको सरुआत त्रिभुवन विश्वविद्यालय (त्रिवि) बाट गरिने बताए । शिक्षा क्षेत्रको लगानी परिणाममुखी हुन नसक्नुका कारण दलीय भागबन्डा हो उनले भने मेरो पहिलो प्रयास त्रिविको सेवा आयोगमा भागबन्डा नगरी नियुक्त गर्न सुरु गरेको छु ।

उनका अनुसार सेवा आयोगको सदस्यका लागि आवेदन दिन खुल्ला आह्वान भइसकेको छ । शिक्षा क्षेत्रमा भएका प्रगति र अवस्थाबारे छलफल गर्न आयोजित बैठकमा मन्त्रालयका सचिव सुरेश अधिकारीले चालु आर्थिक वर्षमा हालसम्म भएका कार्य विवरण र भावी कार्ययोजना प्रस्तुत गरेका थिए । उनले शिक्षामा बजेट थप गर्नु पर्ने जनाउँदै जाजरकोट भूकम्प पीडित क्षेत्रका विद्यालय पुनर्निर्माण कार्ययोजना अगाडि सार्ने बताए । “भूकम्प पीडित क्षेत्रका विद्यालय मर्मतमा बजेट बढाउने तयारी भइरहेको पनि वताए । बैठकमा सांसदहरु जगप्रसाद शर्मा, इन्दिरादेवी गौतम, राजेन्द्र लक्ष्मी गैरे लगायतले शिक्षाको स्तरोन्नतिको विषयमा सुझाव राखेका थिए । समितिका सभापति सोनाम ग्याल्जेन शेर्पाले राजनीतिकरणरहित सामुदायिक विद्यालय सञ्चालनमा रहेको उदाहरण प्रस्तुत गर्दै शिक्षाको गुणस्तर बढाउनुपर्नेमा जोड दिए ।

प्रकाशित मितिः सोमबार, १९ चैत २०८०
https://www.jawaaf.com/storage/01HTC32N24TJQWWZJDF5DG9ZBE.jpg

क्यान्सर पिडितलाई कांग्रेसको सहयोग

धरान, नेपाली कांग्रेसले क्यान्सर पिडितलाई आर्थिक सहयोग गरेको छ । क्यान्सर रोगको उपचार गराईरहेकी धरान १९ की कुमारी तामाङ (मार्था) लाई नेपाली कांग्रेसले आर्थिक सहयोग गरेको हो । सामाजिक क्षेत्रमा क्रियाशील उनलाई ६ महिना अघि थर्ड स्टेजको व्रेष्ट क्यान्सर भएको पत्ता लागेको थियो । 


भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराउंदै आएकी उनी हाल चिकित्सकको सल्लाह अनुसार निरन्तर फलोअपमा रहेकी छिन् । उपचारमा आर्थिक अभाव भएपछि नेपाल तरुण दल धरान, नेपाली कांग्रेस धरान, प्रदेशसभा १(१), प्रतिनिधिसभा क्षेत्र नं. १ सुनसरी तथा सहयोगी कांग्रेस नेताहरुले जुटाएको रकम ४१ हजार १ सय कांग्रेस नेताहरु घरमै गई हस्तान्तरण गरेका छन् ।


सो अवसरमा नेपाली कांग्रेसका सुनसरी जिल्ला सचिव माधव घिसिङ, क्षेत्रीय सभापति सुजेन्द्र गोले तामाङ, प्रदेशसभा १(१) सभापति अनिल श्रेष्ठ, नगर सभापति श्याम पोखरेल, महासमिति सदस्य तिलक राई, १८ नं. वडा अध्यक्ष नरेन्द्रकुमार राई(प्रविन) लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मितिः सोमबार, १९ चैत २०८०
https://www.jawaaf.com/storage/01HTBSA5E73RP2N390B6NPFGMC.jpg

युवा घेदुङ सुनसरीमा प्रदीप चयन

धरान, नेपाल तामाङ युवा घेदुङ, सुनसरीको नयाँ कार्यसमिति चयन भएको छ । नेपाल तामाङ घेदुङ सुनसरीले धरानमा आयोजना गरेको तामाङ यूवाहरुको सम्मेलनले नेपाल तामाङ युवा घेदुङ, सुनसरीको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । नेपाल तामाङ घेदुङ, सुनसरीका अध्यक्ष पृथ्वीबहादुर मोक्तानको अध्यक्षता तथा नेपाल तामाङ घेदुङका केन्द्रीय सल्लाहकार सुजेन्द्र गोले तामाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको तामाङ युवाहरूको सम्मेलन बाट अध्यक्षमा इटहरीका प्रदीप तामाङ सर्वसम्मत चयन भएका छन् । त्यसैगरी उपाध्यक्षमा राम सिङ्गर, महिला उपाध्यक्षमा विनिता मोक्तान, सचिवमा हर्कवहादुर योन्जन(अमन), कोषाध्यक्षमा मिना घिसिङ, सह–सचिवमा रमेश मोक्तान र सह–कोषाध्यक्षमा निरकुमार मोक्तान सर्वसम्मत चयन भएका छन् । सदस्यहरूमा सानु घिसिङ, धनबहादुर घिसिङ, जितेन्द्र योञ्जन, कुमार तामाङ, विक्रम योन्जन तामाङ, राजेश पाख्रिन र अविन योन्जन (बुद्ध) सर्वसम्मत चयन भएका छन् । 

सम्मेलनलाई संवोधन गर्दै प्रमुख अतिथि गोलेले तामाङ समाजलाई राजनीतिक, सामाजिक, आर्थिक, शैक्षिक एवम् सांस्कृतिक र धार्मिक क्षेत्रमा माथि उठाउन र तामाङ जनताको घरघरमा घेदुङको लक्ष्य, उद्देश्य, कार्यक्रम, विचार र चेतना फैलाउन दक्ष र परिपक्व तामाङ यूवाहरुको संगठित शक्तिको महत्वपूर्ण भूमिका हुने भन्दै नवगठित यूवा घेदुङका पदाधिकारी र सदस्यहरू हरेकले जिम्मेवारी बोधका साथ कार्य गर्नुपर्नेमा जोड दिएका थिए । 

सो अवसरमा विशेष अतिथि एवम् घेदुङका प्रदेश अध्यक्ष रेखबहादुर घिसिङले शुभकामना मन्तव्य राख्दै तामाङ पहिचानलाई प्रवर्धन गर्न हप्ताको एक दिन तामाङ विद्यार्थीहरूले तामाङ भेषभूषामा विद्यालय जाने व्यवस्थाका लागि प्रधानाध्यापक र विद्यालय व्यवस्थापन सँग आवश्यक समन्वय र पहल गर्न आग्रह गरेका थिए । सम्मेलनमा नेपाल तामाङ घेदुङका सुनसरी जिल्ला उपाध्यक्ष हस्त पाख्रिन, धरान नगर अध्यक्ष सपन योन्जन, इटहरी नगर उपाध्यक्ष हस्त ग्यावा, धरान १४ का जनप्रतिनिधि वडा सदस्य राम तामाङ, नेपाल तामाङ युवा घेदुङ सुनसरीका नव निर्वाचित अध्यक्ष प्रदीप तामाङ, सह–कोषाध्यक्ष निर कुमार मोक्तान लगायतले मन्तव्य राखेका थिए ।

 नेपाल तामाङ घेदुङका प्रदेश अध्यक्ष रेख बहादुर घिसिङ अध्यक्ष र धरान नगर अध्यक्ष सपन योन्जन तथा नेपाल तामाङ महिला घेदुङ, धरानका अध्यक्ष गोमा तामाङ सदस्य रहेको निर्वाचन मण्डलले नयाँ कार्य समिति चयन सम्बन्धी सम्पूर्ण कार्य गर्नुका साथै शपथ ग्रहण समेत गराएका थिए । कार्यक्रमको सञ्चालन तथा सहजिकरण नेपाल तामाङ घेदुङका सुनसरी सचिव मंगल सिंह मोक्तानले गरेका थिए ।

प्रकाशित मितिः सोमबार, १९ चैत २०८०
https://www.jawaaf.com/storage/01HTAH7Z80FAZYE497KYQ37XTN.jpg

मृगौला पीडित संगीत सर्जक नवराम राईलाई सहयोग

धरान । गुराँसको फेदमुनि सम्झनाको छायाँ जस्ता चर्चित गीतका सर्जक नवराम राईको उपचारका लागि युवा व्यवसायी भूवन याक्खाले ३० हजार सहयोग गरेका छन । 


दुइवटै मृगौलाले काम गर्न छाडेपछि थलिएका गायक, संगीतकार र गीतकार राईको उपचारमा आर्थिक अभाव भएपछि उनलाई युवा नेता, व्यवसायी तथा सर्ट  मुभि "निको नहुने रोग"का निर्माता तथा अभिनेता याक्खाले सहयोग गरेका हुन । केही समय अघि च्यारिटी सो मार्फत प्रदर्शित "निको नहुने रोग" प्रदर्शन उठेको रकम बाट आर्थिक सहयोग गरेका हुन।


कोशी प्रदेश सभा सदस्य विजयकुमार राई, धरान वडा नम्बर १८ का अध्यक्ष प्रविण राई, सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदी, अग्रज पत्रकार तथा मजदुर नेता भीमज्वाला राई, नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनक ऋषि राई, उसु खेलका प्रशिक्षक राजेन्द्र राई सहितको उपस्थितिमा याक्खाले नवराम राईलाई नगद हस्तान्तरण गरेका छ्न । 

धरान ११ रिटिङका स्थायीवासी राई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेकाछन् । हप्ताको दुइपटक डाइलाइसिस गर्दै आइरहेका राइको मृगौलामा पथरिया (स्टोन) समेत देखा परेकोछ । 


सहयोग ग्रहण गर्दै राईले पछिल्लो समय स्वास्थ्यमा केही सुधार आइरहेको बताए । देश विदेशबाट साथ सहयोग र सद्भाव पाइरहेको पनि बताए  ।  सबैको माया र सहयोगले पुनर्जिवन पाएर संगीत कर्ममा फर्किन सक्छु भन्ने विश्वास पलाएको राईले बताए  ।

प्रकाशित मितिः आइतबार, १८ चैत २०८०
https://www.jawaaf.com/storage/01HTAGT9CA3TH35HCZEFHB7DVP.jpg

गैरकानूनी क्रियाकलाप नियन्त्रण गर्न महानिरिक्षक अर्यालको निर्देशन

धरान (सुनसरी), सशस्त्र प्रहरी महानिरिक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल खटेका ठाउँमा कुनै किसिमका गैरकानूनी क्रियाकलाप हुन नदिन र आफु पनि कुनै व्यक्तिगत लेनदेनमा सहभागी नहुन मातहतमा सशस्त्र प्रहरीहरुलाई निर्देशन दिएका छन् ।


सुनसरीको पकली स्थित सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालयको २३ औं वार्षिकोत्सवका अवसरमा आज आयोजीत कार्यक्रममा बोल्दै महानिरिक्षक अर्यालले गैरकानूनी क्रियाकलाप नियन्त्रण गर्न र इमान्दारितापूर्वक काम गर्न निर्देशन दिएका हुन् । 


सशस्त्र प्रहरीले सीमा क्षेत्रको सुरक्षा र राजस्व छलि नियन्त्रणको काम गर्दै आएको भन्दै उनले सीमा क्षेत्रमा भएका सम्पूर्ण नराम्रो कामको जिम्मा त्यहाँ खट्नेहरुले लिनु पर्ने बताए । उनले भने ‘सीमा क्षेत्रमा खट्नेहरुका लागि समस्याहरु पनि धेरै छन् तर जिम्मा लिएको काममा कसैले लापरबाही गर्नु हुँदैन । जानीजानी गरेका गल्ति अपराध सरह हुन्छन् । कर्तव्य पालनाका सिलसिलामा भएका गल्ति भने सुधार्न सकिन्छ ।


बराह बाहिनीले राजस्व चुहावट नियन्त्रणमा उत्कृष्ट कार्य गरेको भन्दै महानिरिक्षक अर्यालले प्रशंसा गरे । उनले भन्सार र राजस्व कार्यालयसँग अझै राम्रो समन्वय गरेर अघि बढ्नु पर्ने बताउँदै भने ‘हाम्रो उद्देश्य एउटै हो, क्राईसिसबाट बाहिर जाने । त्यसैले एकअर्कालाई दोषारोपण गरेर होईन, समन्वय गरेर अघि बढ्नु आवश्यक छ ।


कार्यक्रममा सशस्त्र प्रहरी बल बराह बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरिक्षक अञ्जनीकुमार पोखरेलले सशस्त्र प्रहरीलाई चुस्त, दुरुस्त र  अनुसासित बनाउन शुन्य सहनशीलता अपनाइएको बताए । उनले आगामी दिनमा पनि सबै क्षेत्रसँग समन्वय गरेर गैरकानूनी गतिविधि नियन्त्रण गर्न अझ सक्रियतापूर्वक लागि पर्ने बताए । कार्यक्रममा विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरीहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।

प्रकाशित मितिः आइतबार, १८ चैत २०८०
https://www.jawaaf.com/storage/01HT9YW393VJBWE492KAN7X78X.jpg

ताप्लेजुङका सामुदायिक विद्यालयमा पाठ्यपुस्तक वितरण सुरु

ताप्लेजुङ , ताप्लेजुङका सामुदायिक विद्यालयमा पाठ्यपुस्तक वितरण सुरु भएको छ । जिल्लाका स्थानीय पुस्तक तथा स्टेशनरी व्यवसायी मार्फत सामुदायिक विद्यालयमा पाठ्यपुस्तक वितरण सुरु भएको हो । 
शैक्षिक सत्र सुरु हुनुभन्दा दुई साता अघि नै पाठ्यपुस्तक जिल्लामा आएपछि वितरण सुरु गरिएको जिल्लास्थित पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घले जनाएको छ ।


तत्कालका लागि कक्षा १ देखि १० सम्मका २२ हजार थान पाठ्यपुस्तक आए सँगै वितरण सुरु गरिएको महासङ्घका अध्यक्ष ज्ञानप्रसाद मिश्रले जानकारी दिए । उनका अनुसार नेपाली माध्यमका प्रतिकक्षा एक हजार पाँच सयका दरले १५ हजार थान, कक्षा १ देखि ७ सम्म अङ्ग्रेजी माध्यमका तीन हजार पाँच सय थान र लिम्बू भाषाको पुस्तक कक्षा १ देखि ७ सम्मको तीन हजार पाँच सय थन छन् । नयाँ शैक्षिक सत्र सुरु हुनु अगावै सम्बन्धित विद्यालयमा पाठ्यपुस्तक पु¥याउने गरी जिल्लामा पुस्तक ल्याइएको सङ्घका सदस्य दिनेश भट्टराईले बताए । “यस वर्ष सबै कक्षाका पुस्तकमा कुनै पनि विषय छुट्टाएका छैनौँ । विद्यार्थीलाई एक थानमा हुने सबै पुस्तक एबै पटक उपलब्ध गराएका वताए ।


महासङ्घले जनक शिक्षा सामग्री केन्द्र लिमिटेड विराटनगरबाट सामुदायिक विद्यालयका लागि पाठ्यपुस्तक ल्याएको हो । ताप्लेजुङमा तीन सय ३० सामुदायिक विद्यालय रहेका जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख योगेश्वर भट्टराईले जानकारी दिए । उनका अनुसार तीमध्ये ६१ विद्यालय माध्यमिक तहको रहेका छन् ।

प्रकाशित मितिः आइतबार, १८ चैत २०८०
https://www.jawaaf.com/storage/01HT9YMC1AXEGH88Q1HB6KE528.jpg

कीचकवध उत्खनन , भवनको संरचना भेटिएयो

झापा, भद्रपुर नगरपालिका–३ पृथ्वीनगर स्थित महाभारतकालीन कीचकवधमा दुई हजार दुई सय वर्ष पुराना पाँच वटा भवनका संरचना भएको पुष्टि भएको छ । उक्त स्थानमा पुरातत्व विभागको उत्खनन पछि त्यसको पुष्टि भएको हो । पुरातत्वविद् उद्धव आचार्यले उत्खननबाट उत्तरपूर्वमा एउटा बहुतले ठूलो भवन, ठूलो भवनकै केही दक्षिणमा अर्को भवन, सोही भवनकै उत्तरपश्चिम छेउमा सेन्ट्री बस्ने सहितको अर्को भवन, सोही भवनको केही पश्चिम दक्षिण अर्को बहुतले भवन फेला परेको वताए । उनले चारवटै भवनको दक्षिणमा करिब दुई सय फिटको दूरीमा दुईतले अर्को सुरक्षाकर्मीका प्रमुख र सुरक्षाकर्मी बस्ने भवन गरी पाँच भवनका संरचना फेला परेको बताए ।

पुरातत्वविद् आचार्यले यस स्थलको मूल भवनको उत्खनन अर्को वर्ष पूरा हुने बताउँदै भने अर्को साल सम्ममा उत्खनन पूरा हुन्छ । अझ गहिराइसम्म उत्खनन गर्दा यस स्थानको ऐतिहासिकता बुद्धकाल भन्दा अगाडि जाने सङ्केत पाइएको छ ।” उनले हाल उत्खनन गरिएको क्षेत्रमा रुखहरू भएकाले तिनलाई हटाउनुपर्ने, कीचकलाई मारेको मूर्ति स्थानान्तरण गर्नुपर्ने, कीचकवध स्थल भित्र सवारीसाधन प्रवेश रोक्नुपर्ने तथा त्यहाँका सम्पदाको संरक्षण गर्नु पर्नेमा जोड दिए । पुरातत्व विभागले कीचकवधमा २०५८ सालमा पहिलो पटक उत्खन गरेको थियो । यो पुरातत्वविद् आचार्यकै नेतृत्वमा भएको थियो । यस पटकको उत्खनन सातौँ हो । यसअघि २०३५ सालमा मेची बहुमुखी क्याम्पसका इतिहासका प्राध्यापक घनश्याम खनालको अगुवाइमा उत्खनन भएको थियो । विराट राजाको सेनापति एवं सालो कीचकले सैरन्ध्रीको भेषमा रहेकी द्रौपदीको सतीत्व लुट्ने धृष्टता गर्दा भीमद्वारा मारिएका थिए ।

प्रकाशित मितिः आइतबार, १८ चैत २०८०
https://www.jawaaf.com/storage/01HT74Q6ZPA20FCX54Y0E0YB5B.jpg

बस दुर्घटना तस्बिर र भिडियो सामाजिक सन्जालमा भाइरल

धरान , आज पोखराको लेखनाथ अर्चलेमा भएको बस दुर्घटना हुदा दुई जना घाइते भएका छन् । लेखनाथ क्षेत्रको आरुपाटाबाट पोखरा आउँदै गरेको ग१ख ८६८० नम्बरको बस अर्चलेमा दुर्घटना भएको हो । दुर्घटनामा बसका चालक टीकाराम बिक र सहचालक सालिकराम सुवेदी घाइते भएका छन् । उनीहरूको पोखरा स्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ । बसमा चालक र सहचालकमात्र रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी सूर्य बहादुर राना मगरले जानकारी दिए । अहिले बस दुर्घटना भएको तस्विर र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । बस सडकमा ठाडै उभिएको छ त्यही तस्विर र भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

प्रकाशित मितिः शनिबार, १७ चैत २०८०
https://www.jawaaf.com/storage/01HT739A4KKYFHCD7X48GT0DYK.jpg

मकैमा दाना नलागेपछि किसान चिन्तित

सर्लाही , उन्नत जातको मकैमा दाना नलागेपछि सर्लाहीका किसान चिन्तित भएका छन् । जिल्लाको बागमती, बरहथवा लगायत स्थानमा सयौँ किसानले लगाएको उन्नत जातको मकैमा दाना नलागेपछि किसान चिन्तामा परेका छन् ।

मकैमा आकर्षक घोगा लागे पनि दाना भने नलागेको स्थानीय किसान चन्द्र बहादुर जिम्बाको गुनासो छ । प्रति किलो रु ६५० किलोमा किनेर सात कट्ठामा लगाएको मकैमा दाना नलागेपछि लगानी डुबेको बागमती नगरपालिका–४, का किसान राम विश्वास महतो बताउछन्। “धेरै फल्ने आशामा महँगो मूल्यमा बीउ किनेर रोपियो अहिले सबै लगानी डुब्यो भन्दै चिन्ता व्यक्त गरे । 

यस क्षेत्रमा उत्पादन राम्रो हुने भएपछि किसानले वर्षको दुई याम सम्म उन्नत जातको मकै रोप्ने गरेका छन् । प्रशस्त फल्ने विश्वासमा ऋण गरेर रोपेको मकैमा दाना नलागेपछि आफू बर्बाद भएको अर्का किसान रञ्जित महतोले गुनासो गरे । उले गत मङ्सिरमा तीन बिघा क्षेत्रफलमा उन्नत जातको मकै लगाएको बताए । 

उन्नत जातको मकै खेतीका लागि प्रति कट्ठा रु तीन हजारदेखि तीन हजार पाँच सय सम्म खनजोत, मलखाद र कामदार खर्च लागेको किसानहरूले बताएका छन् । जग्गा भाडामा लिएका किसानको लगानी अझ बढी रहेको वताउँछन् । 

उत्पादन बिग्रिएका अधिकांश किसानले भारतीय बीउ उत्पादन कम्पनी जिभिडु सिड्सले उत्पादन गरेको ‘विनर’ नामको मकै लगाएको बताएका छन् । मङ्सिरको पहिलो साताअघि लगाइएको अन्य कम्पनीका हाइब्रिड जातको मकैमा समस्या देखिएको बागमती नगरपालिकाका कृषि प्राविधिक हिमाल साहीले जानकारी दिए । 

बीउ उत्पादक कम्पनीले भने मौसम अनुकूल नभएका कारण मकैमा दाना नलागेको जनाएको छ । नुजिभिडु सिड्सका नेपाल प्रतिनिधि श्रीप्रसाद पालिखेलले किसानले समय अगावै मकै रोपेका कारण समस्या भएको दाबी गरे । मकैको परागसेचनको समयमा धेरै चिसो भएको उनले बताए । “किसानले मकै रोप्न हतार गरे “कम्पनीले मकै रोप्ने समय जानकारी गराउँदा अटेर गरेको देखियो ।” 

मङ्सिर पहिलो सातादेखि रोप्नुपर्ने मकै कात्तिक तिरै रोपिएको उनको भनाई छ । दाना नलागेका किसानको विवरण सङ्कलन गरेर भारत स्थित कम्पनीमा जानकारी गराइएको उनले बताए । किसानलाई कसरी राहत पुराउन सकिन्छ भनेर आफूहरूले अनुगमन गरिरहेको उनले बताए ।

नगरपालिका स्थित कृषि शाखाले क्षतिको विवरण सङ्कलन गरिरेहेको छ । किसानलाई अनुदानमा वितरण गरेको मकै उत्पादन नभएको गुनासोपछि आफूहरूले विवरण सङ्कलन सुरु गरेको र एक दुई दिनभित्रमा पूर्ण विवरण सार्वजनिक गरिने नगर कृषि शाखा अधिकृत अवधेश कुमार झाले जानकारी दिए ।

अत्यधिक मकै उत्पादन हुने यस क्षेत्रमा नगरपालिकाले ‘मकै क्षेत्र’ विकासका लागि छ सय किलो विनर मकैको बीउ अनुदानमा वितरण गरेको थियो । जिल्लाको कर्मैया, ढुङ्ग्रेखोला, शङ्करपुर, राजघाट, हजरिया, मुर्तिया लगायत स्थानमा हाइब्रिड मकै उत्पादन हुने गरेको छ । जिल्लामा बर्सेनि १२ हजार हेक्टर क्षेत्रफलमा मकै लगाउने गरिको छ भने यहाँ ५ दशमलव ३ लाख मेट्रिक टन मकै उत्पादन हुने गरेको जिल्ला कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत देवानन्द यादवले बताए ।

प्रकाशित मितिः शनिबार, १७ चैत २०८०