मकैमा दाना नलागेपछि किसान चिन्तित
सर्लाही , उन्नत जातको मकैमा दाना नलागेपछि सर्लाहीका किसान चिन्तित भएका छन् । जिल्लाको बागमती, बरहथवा लगायत स्थानमा सयौँ किसानले लगाएको उन्नत जातको मकैमा दाना नलागेपछि किसान चिन्तामा परेका छन् ।
मकैमा आकर्षक घोगा लागे पनि दाना भने नलागेको स्थानीय किसान चन्द्र बहादुर जिम्बाको गुनासो छ । प्रति किलो रु ६५० किलोमा किनेर सात कट्ठामा लगाएको मकैमा दाना नलागेपछि लगानी डुबेको बागमती नगरपालिका–४, का किसान राम विश्वास महतो बताउछन्। “धेरै फल्ने आशामा महँगो मूल्यमा बीउ किनेर रोपियो अहिले सबै लगानी डुब्यो भन्दै चिन्ता व्यक्त गरे ।
यस क्षेत्रमा उत्पादन राम्रो हुने भएपछि किसानले वर्षको दुई याम सम्म उन्नत जातको मकै रोप्ने गरेका छन् । प्रशस्त फल्ने विश्वासमा ऋण गरेर रोपेको मकैमा दाना नलागेपछि आफू बर्बाद भएको अर्का किसान रञ्जित महतोले गुनासो गरे । उले गत मङ्सिरमा तीन बिघा क्षेत्रफलमा उन्नत जातको मकै लगाएको बताए ।
उन्नत जातको मकै खेतीका लागि प्रति कट्ठा रु तीन हजारदेखि तीन हजार पाँच सय सम्म खनजोत, मलखाद र कामदार खर्च लागेको किसानहरूले बताएका छन् । जग्गा भाडामा लिएका किसानको लगानी अझ बढी रहेको वताउँछन् ।
उत्पादन बिग्रिएका अधिकांश किसानले भारतीय बीउ उत्पादन कम्पनी जिभिडु सिड्सले उत्पादन गरेको ‘विनर’ नामको मकै लगाएको बताएका छन् । मङ्सिरको पहिलो साताअघि लगाइएको अन्य कम्पनीका हाइब्रिड जातको मकैमा समस्या देखिएको बागमती नगरपालिकाका कृषि प्राविधिक हिमाल साहीले जानकारी दिए ।
बीउ उत्पादक कम्पनीले भने मौसम अनुकूल नभएका कारण मकैमा दाना नलागेको जनाएको छ । नुजिभिडु सिड्सका नेपाल प्रतिनिधि श्रीप्रसाद पालिखेलले किसानले समय अगावै मकै रोपेका कारण समस्या भएको दाबी गरे । मकैको परागसेचनको समयमा धेरै चिसो भएको उनले बताए । “किसानले मकै रोप्न हतार गरे “कम्पनीले मकै रोप्ने समय जानकारी गराउँदा अटेर गरेको देखियो ।”
मङ्सिर पहिलो सातादेखि रोप्नुपर्ने मकै कात्तिक तिरै रोपिएको उनको भनाई छ । दाना नलागेका किसानको विवरण सङ्कलन गरेर भारत स्थित कम्पनीमा जानकारी गराइएको उनले बताए । किसानलाई कसरी राहत पुराउन सकिन्छ भनेर आफूहरूले अनुगमन गरिरहेको उनले बताए ।
नगरपालिका स्थित कृषि शाखाले क्षतिको विवरण सङ्कलन गरिरेहेको छ । किसानलाई अनुदानमा वितरण गरेको मकै उत्पादन नभएको गुनासोपछि आफूहरूले विवरण सङ्कलन सुरु गरेको र एक दुई दिनभित्रमा पूर्ण विवरण सार्वजनिक गरिने नगर कृषि शाखा अधिकृत अवधेश कुमार झाले जानकारी दिए ।
अत्यधिक मकै उत्पादन हुने यस क्षेत्रमा नगरपालिकाले ‘मकै क्षेत्र’ विकासका लागि छ सय किलो विनर मकैको बीउ अनुदानमा वितरण गरेको थियो । जिल्लाको कर्मैया, ढुङ्ग्रेखोला, शङ्करपुर, राजघाट, हजरिया, मुर्तिया लगायत स्थानमा हाइब्रिड मकै उत्पादन हुने गरेको छ । जिल्लामा बर्सेनि १२ हजार हेक्टर क्षेत्रफलमा मकै लगाउने गरिको छ भने यहाँ ५ दशमलव ३ लाख मेट्रिक टन मकै उत्पादन हुने गरेको जिल्ला कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत देवानन्द यादवले बताए ।
सम्बन्धित खबर