मुख्यमन्त्रीद्वारा वैद्यनाथ खोलाको पुल उद्घाटन गरियो
उदयपुर ः कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज उदयपुरको कटारी नगरपालिका – ६ र ७ जोड्ने वैद्यनाथ खोलामा निर्माण भएको पक्की पुल उद्घाटन गरेका छन् । पुलको उद्घाटन गर्दै उनले प्रदेश सरकारले पूर्वाधार विकास तथा निर्माणका क्षेत्रमा काम गरिरहेको भन्दै यो आँगनको सरकार रहेको बताए । यस पुलले धेरैलाई प्रदेशको राजधानी विराटनगर र काठमाडौँसँग जोडेको जनाउँदै मुख्यमन्त्री कार्कीले प्रदेशले भौतिक सँगै मानवीय विकासमा जोड दिएको बताए । “सडक स्तरोन्नतिसँगै नागरिकको भविष्य उज्ज्वल बनाउने मानवीय विकास तर्फ सरकार लागेको बताए ।
बालबालिकाको पढाइ, स्वास्थ्य तथा सीप विकासको जिम्मा प्रदेश सरकारले लिन्छ । पूर्वाधार विकास कार्यालय उदयपुरको आयोजनामा आज भएको उद्घाटन कार्यक्रममा प्रदेशका भौतिक विकास मन्त्री कमलप्रसाद जबेगूले सहर केन्द्रित विकासभन्दा पहाड केन्द्रित विकासमा प्रदेश सरकार लागेको बताए । उद्योग, कृषि तथा सहकारी मन्त्री राजकुमार खत्रीले पुल निर्माण सम्पन्न भएसँगै स्थानीयलाई आवागमनमा सहज हुने बताए । प्रदेश सरकारको पहलमा कटारी अस्पताललाई ५० शय्याको अस्पतालको रूपमा विकास गरिने मन्त्री खत्रीले बताए । केही समयअघि अस्पताललाई ५० शय्यामा विस्तार गर्नका लागि अर्थ मन्त्रालयमा सिफारिस गरिएको उनले जानकारी दिए । मन्त्रालयले पनि स्वीकृति प्रदान गरिसकेको उनको भनाइ छ ।
कटारी नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठले यस पुलले कटारी–६ र ७ सँगै पहाडी ताप्ली, उदयपुरगढी, लिम्चुङवुङ गाउँपालिकाका स्थानीयलाई सहज भएको बताए । कटारी–७ का वडाध्यक्ष सुविन ढुङ्गानाले पुल निर्माण भएपछि यहाँका किसानले उत्पादन गरेका कृषि सामग्री बजार पु¥याउन सहज हुने बताए । प्रदेश सरकारअन्तर्गत सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालय मार्फत रु १४ करोड ९४ लाख ७३ हजार एक सयको लागतमा पुल निर्माण भएको हो । दुई वर्षभित्रमा निर्माण सक्नेगरी पुलको केएम इञ्जीनीयर्स विल्डर्स प्राली काठमाडौँले ठेक्का पाएको थियो । दुई वर्षमा निर्माण गरिसक्ने सम्झौता गरिएको पुल १५ महिनामै सम्पन्न भएको हो । ८४ दशमलव ४० मिटरको पुल दुई स्पामको बनेको छ ।
सम्बन्धित खबर