कीचकवध उत्खनन , भवनको संरचना भेटिएयो
झापा, भद्रपुर नगरपालिका–३ पृथ्वीनगर स्थित महाभारतकालीन कीचकवधमा दुई हजार दुई सय वर्ष पुराना पाँच वटा भवनका संरचना भएको पुष्टि भएको छ । उक्त स्थानमा पुरातत्व विभागको उत्खनन पछि त्यसको पुष्टि भएको हो । पुरातत्वविद् उद्धव आचार्यले उत्खननबाट उत्तरपूर्वमा एउटा बहुतले ठूलो भवन, ठूलो भवनकै केही दक्षिणमा अर्को भवन, सोही भवनकै उत्तरपश्चिम छेउमा सेन्ट्री बस्ने सहितको अर्को भवन, सोही भवनको केही पश्चिम दक्षिण अर्को बहुतले भवन फेला परेको वताए । उनले चारवटै भवनको दक्षिणमा करिब दुई सय फिटको दूरीमा दुईतले अर्को सुरक्षाकर्मीका प्रमुख र सुरक्षाकर्मी बस्ने भवन गरी पाँच भवनका संरचना फेला परेको बताए ।
पुरातत्वविद् आचार्यले यस स्थलको मूल भवनको उत्खनन अर्को वर्ष पूरा हुने बताउँदै भने अर्को साल सम्ममा उत्खनन पूरा हुन्छ । अझ गहिराइसम्म उत्खनन गर्दा यस स्थानको ऐतिहासिकता बुद्धकाल भन्दा अगाडि जाने सङ्केत पाइएको छ ।” उनले हाल उत्खनन गरिएको क्षेत्रमा रुखहरू भएकाले तिनलाई हटाउनुपर्ने, कीचकलाई मारेको मूर्ति स्थानान्तरण गर्नुपर्ने, कीचकवध स्थल भित्र सवारीसाधन प्रवेश रोक्नुपर्ने तथा त्यहाँका सम्पदाको संरक्षण गर्नु पर्नेमा जोड दिए । पुरातत्व विभागले कीचकवधमा २०५८ सालमा पहिलो पटक उत्खन गरेको थियो । यो पुरातत्वविद् आचार्यकै नेतृत्वमा भएको थियो । यस पटकको उत्खनन सातौँ हो । यसअघि २०३५ सालमा मेची बहुमुखी क्याम्पसका इतिहासका प्राध्यापक घनश्याम खनालको अगुवाइमा उत्खनन भएको थियो । विराट राजाको सेनापति एवं सालो कीचकले सैरन्ध्रीको भेषमा रहेकी द्रौपदीको सतीत्व लुट्ने धृष्टता गर्दा भीमद्वारा मारिएका थिए ।
सम्बन्धित खबर